पिताको महत्त्व झल्काउने लघु चलचित्र ‘मेरो बा’
काठमाडौँ, १७ भदौ : कुशे औंशीको अवसर पारेर पिताको महत्त्व झल्काउने लघु चलचित्र ‘मेरो बा’ सार्वजनिक भएको छ । रमेश थापाको लेखन तथा निर्देशन रहेको यो लघु चलचित्र म्युजिक नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
सो लघु चलचित्रमा प्रभाकर न्यौपाने, विकास जोशी, अनुजा अधिकारी, मेघराज पौडेल, श्याम मगर, टेकबहादुर घले, दिपेन्द्र थापा, खगेन्द्र धामी, प्रान्जिल सापकोटाका अलावा बाल कलाकार रियांशी थापा र सन्तोष बटालाको अभिनय रहेको छ ।
सङ्कल्प भुजेलको छाँयाङ्कन रहेको यो लघु चलचित्रमा बालकृष्ण श्रेष्ठ र बिक्रम चिमौरियाको सम्पादन, सोम जिसीको मुख्य सहायक निर्देशन रहेको छ ।
तीजमा दर खाने चलनको बढ्दो विकृती, बाबुलाई छोराबुहारीले गर्नुपर्ने माया र सम्मानको कमीबाट उत्पन्न हुने कठिनाई यो लघु चलचित्रमा देखाइएको छ । आधुनिकताका नाममा अनपढ बाबु आमालाई त्यसपछिको पुस्ताले गर्ने व्यवहार राम्रो नभइरहेको अवस्थामा त्यसैको प्रतिनिधि कथामा लघु चलचित्र तयार गरिएको निर्देशक थापाले बताउनुभयो ।
चन्द्र विनायक फिल्म्सको ब्यानरमा निर्माण गरिएको यो लघुचित्रकी निर्मात्री दिपा मल्ल थापा हुनुहुन्छ ।
तारा एयरले मङ्गलबारदेखि पोखरा–जोमसोम उडान सुरु गर्दै
काठमाडौँ, १७ भदौ : तारा एयरले पोखरा–जोमसोम गन्तव्यमा भोलि मङ्गलबारदेखि पुनःउडान सुरु गर्ने भएको छ ।
प्रतिकूल मौसमका कारण उडान बन्द भएको उक्त गन्तव्यमा नियमित उडान गर्न लागिएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ । पर्यटकीय ‘सिजन’ सुरु हुन लागेको र मौसम पनि खुल्ने समय भएकाले उडान नियमित हुन लागेको तारा एयरका प्रमुख हवाई सुरक्षा अधिकृत सुदर्शन बर्तौलाले बताउनुभयो । उहाँका अनुसार जोमसोमको नियमित उडानका लागि तारा एअरले एउटा विमान पोखरामै रात्रि विसान गर्नेछ । कम्पनीका अनुसार हालका लागि मौसम अनुकूल भए दैनिक पाँच वटा उडान गर्नेगरी तालिका मिलाइएको छ ।
तारा एयरको उडान पोखराको पुरानो विमानस्थलबाटै सञ्चालन हुनेछ । मुस्ताङ जिल्लामा अवस्थित जोमसोम बिमानस्थल समुन्द्री सतहबाट दुई हजार सात सय ३६ मिटर उचाइमा रहेको छ भने यस एअरपोर्टको लम्बाई सात सय ३९ मिटर रहेको छ ।
असोज ४ देखि रामेछाप–दुक्ला उडान
यसैगरी पर्यटक सिजनका लागि तारा एअरले रामेछाप–लुक्ला– रामेछापका लागि असोज ४ अर्थात् सेप्टेम्बर २० देखि नियमित उडान गर्ने तालिका सार्वजनिक गरेको छ । सगरमाथा क्षेत्रमा जाने पर्यटकका लागि विभिन्न वायुसेवा कम्पनीले रामेछापको मन्थली विमानस्थलबाट सोलुखुम्बुको लुक्लासम्म पर्यटक सिजनमा उडान गर्दै आएका छन् ।
यस्तै यो सिजनका लागि तारा एअरको दुई वटा ट्वीनअटर विमानले रामेछापको मन्थली विमानस्थलबाट सोलुखुम्बुको लुक्लाका लागि दैनिक १० देखि १५ उडान गर्ने तालिका बनाएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अत्याधिक हवाई ट्राफिक बढेसँगै पछिल्लो समय एयरलाइन्सहरुले रामेछापको मन्थलीलाई आधार बनाई लुक्लाका लागि उडान भर्दै आएका हुन् । रामेछाप विमानस्थलमा ताराका दुईवटै विमानले रात्रि बिसान गरी डिसेम्बर १५ सम्म नियमित उडान गर्ने तालिका रहेको जानकारी तारा एयरले जानकारी दिएको छ ।
ताराले रामेछापदेखि लुक्लाको साथै काठमाडौँदेखि लुक्ला, फाप्लु, पोखराबाट जोमसोम तथा नेपालञ्जबाट रारा, हुम्ला, बाजुरा, जुम्ला, डोल्पालगायतका दुर्गम क्षेत्रमा उडान सेवा दिँदै आएको छ ।
विमानस्थलमा धावनमार्ग विस्तार, एकैपटि उडान चाप भइरहेको व्यवस्थापनमा सहज हुने सुरक्षा अधिकृत बर्तौलाको भनाइ छ । उहाँले रामेछाप विमानस्थलमा नेपाल नागरिक उड्डयन प्राधिकरणले यात्रुको सुविधाका लागि राम्रो प्रबन्ध गरेकाले एयरलाइन्सको उडानमा सहज हुने बताउनुभयो । उक्त विमानस्थलमा आठ वटा पाकिङ्ग, एक्सरे मेसिन पनि जडान भएकाले यात्रुलाई सजिलो भएको छ । यस्तै लुक्लामा एक्सरे मेसिन सञ्चालनमा आएकाले यात्रु व्यवस्थापनमा सहज हुने कम्पनीले जनाएको छ ।
अखिल (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलन असोज पहिलो साता
काठमाडौँ, १७ भदौः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकार)को २३औँ राष्ट्रिय सम्मेलन आगामी असोज पहिलो साता हुनेभएको छ ।
क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले आगामी असोज २ देखि ५ गतेसम्म सम्मेलन काठमाडौँमा गर्ने निर्णय गरिएको जानकारी दिनुभयो । उहाँले अहिलेसम्मका लागि जिल्ला अधिवेशन भइरहेको समेत बताउनुभयो । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी हुने भएको छ ।
सम्मेलनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ । सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको केन्द्रीय कमिटी चयन गर्ने महासचिव दीपेश पुनले जानकारी दिनुभयो । उहाँका अनुसार यसपटक सम्मेलनमा सहभागी प्रतिनिधिले पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्नेछन् ।
यस्तै, वर्तमान केन्द्रीय कमिटीले सम्मेलनमा सहभागी हुनका लागि आ–आफ्नो मातहतका कमिटीबाट निर्वाचित भएर आउनुपर्ने छ । यसअघि वर्तमान केन्द्रीय कमिटी स्वतः सम्मेलनको प्रतिनिधिका रुपमा रहँदै आएका थिए ।
सम्मेलनको उद्घाटन सत्र कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठान र बन्द सत्र कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभा हलमा हुने छ । क्रान्तिकारीले यही भदौ २० गतेसम्म जिल्ला अधिवेशन गरिसक्नुपर्ने निर्देशन दिएको छ ।
रुसद्वारा किएभमा ड्रोन, क्रुज र ब्यालेस्टिक मिसाइलद्वारा आक्रमण
किएभ, १७ भदौ : रुसले किएभमा ड्रोन, क्रुज तथा ब्यालेस्टिक मिसाइलद्वारा आक्रमण गरेको युक्रेनको वायुसेनाले सोमबार बिहान बताएको छ ।
सोमबार बिहान युक्रेनको राजधानीमा शृङ्खलाबद्ध धेरै विस्फोट भएका छन् र राजधानीका बासिन्दाहरूलाई बम आश्रय स्थलहरूमा पठाइएको छ ।
किएभका मेयर भिटाली क्लिट्स्कोले आपत्कालीन सेवाहरूलाई किएभको होलोसिभस्की जिल्लामा बोलाइएको बताउनुभयो । उहाँका अनुसार शेभचेनकिभ्स्की जिल्लामा भग्नावशेषमा खसेर एक व्यक्ति घाइते भएका छन् ।
“हरेक कुराको जवाफ हुनेछ, दुश्मनले यो महसुस गर्नेछ”, आक्रमणपछि राष्ट्रपति कार्यालयका प्रमुख एन्ड्री यरमकले टेलिग्राम पेजमा पोस्ट गर्नुभयो ।
वायुसेनाका अनुसार रुसले किएभलाई लक्षित गर्दै ब्यालेस्टिक मिसाइल प्रक्षेपण र केही ड्रोनका साथ क्रुज मिसाइलका धेरै समूहहरू प्रहार गरेको थियो ।
किएभ सहरका सैन्य प्रशासनका प्रमुख सेरही पोपकोले युक्रेनको राजधानी र यसका उपनगरहरूमा प्रहार गरिएका १० भन्दा धेरै क्रुज मिसाइल, करिब १० ब्यालेस्टिक मिसाइल र एउटा ड्रोनलाई युक्रेनको हवाई सुरक्षाले नष्ट गरेको बताउनुभयो ।
युक्रेनी सञ्चारमाध्यमका अनुसार युक्रेनको दोस्रो सबैभन्दा ठूलो सहर खार्किभमा पनि विस्फोट भएका छन् । खार्किभ क्षेत्रका प्रमुख ओलेह सिनिहबोभले खार्किभको इन्ड्रस्ट्रियलनी जिल्लामा बिहानै आक्रमणको पुष्टि गर्दै आक्रमणबाट एउटा आवासीय भवन र अन्य धेरैमा आगो लागेको बताउनुभयो ।
रुसको सेनाले करिब साढे दुई वर्षदेखि चलिरहेको युद्धको सबैभन्दा ठूलो युक्रेनी आक्रमणमा धेरै रुसी क्षेत्रलाई लक्षित गरी एक सय ५८ युक्रेनी ड्रोनहरूलाई रोकेको र नष्ट गरेको रिपोर्ट दिएको एक दिनपछि रुसबाट यो आक्रमण भएको हो ।
यो आक्रमण रुसको कुर्स्क क्षेत्रमा युक्रेनी सेनाको घुसपैठको केही सातापछि भएको हो । मस्कोको सेनाले अहिलेसम्म युक्रेनी सेनालाई पछाडि धकेल्नका लागि सङ्घर्ष गरेको छ र क्रेमलिनले यसको जवाफ दिने वाचा गरेको छ ।
एकीकृत समाजवादीद्वारा उपनिर्वाचन परिचालन कमिटी गठन
काठमाडौँ, १७ भदौः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेको संयोजकत्वमा उपनिर्वाचन परिचालन कमिटी गठन गरेको छ ।
स्थानीय तहमा रिक्त रहेका स्थानमा आगामी मङ्सिरमा हुने उपनिर्वाचनका लागि पार्टीले भूगोललाई केन्द्रित गरेर उपनिर्वाचन परिचालन कमिटी गठन गरेको पोलिटब्यूरो सदस्य मोहन गौतमले जानकारी दिनुभयो । आसन्न उपनिर्वाचन लक्षित उक्त कमिटीमा पार्टीका उपाध्यक्ष, उपमहासचिव, सचिव हुनुहुन्छ ।
कोशी प्रदेशको संयोजकमा उपाध्यक्ष जगन्नाथ खतिवडा, मधेसको संयोजकमा धर्मनाथप्रसाद साह, बागमतीको संयोजकमा डा गङ्गालाल लुलाधर, गण्डकीको संयोजकमा पार्टी सचिव श्रीनाथ बराल, लुम्बिनीको संयोजकमा उपमहासचिव मेटमणि चौधरी, कर्णालीको संयोजकमा पार्टी उपाध्यक्ष प्रकाश ज्वाला र सुदूरपश्चिम प्रदेशको संयोजकमा भानुभक्त जोशीलाई जिम्मेवारी तोकिएको छ । पार्टीका विभिन्न विभाग, इन्चार्जसहितका विभिन्न नेतालाई जिम्मेवारी छिट्टै तोकिने जनाइएको छ ।
नरैनापुरमा झाडापखालाबाट चारको मृत्यु : सातजना बिरामी
खजुरा (बाँके), १७ भदौः नरैनापुरमा झाडापखालाका कारण चारजनाको मृत्यु भएको छ । बाँकेको नरैनापुर गाउँपालिका–३ गेगली गाउँमा फैलिएको झाडापखालाबाट सातजना बिरामी परेका छन् । नरैनापुर–३ का वडाध्यक्ष अजय मिश्राले झाडापखालाबाट गेगलका २५ वर्षीय रुसा पासी र उहाँकी डेढ वर्षकी छोरी नन्दनी पासी, ६० वर्षीया शान्ति पासी र १० वर्षीय युसुफ अलीको आइतबार मृत्यु भएको जानकारी दिनुभयो ।
भारतीय सीमासँग जोडिएको गाउँ गेगलीमा झाडापखाला फैलिएको नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्रकुमार साहले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“ आफूसहित अन्य स्वास्थ्यकर्मीको टोलीले गाउँमै पुगेर बिरामीको उपचार गरिरहेका छौँ ।” झाडापखाला नियन्त्रण गर्न स्वास्थ्य कार्यालय बाँकेसँग समेत समन्वय भएको छ गर्मी र खानेपानी दूषित भएका कारण झाडापखाला फैलिएको हुनसक्ने स्वास्थ्यकर्मीको भनाइ छ ।
चितवनमा डेङ्गी सङ्क्रमणबाट मृत्यु
चितवन, १७ भदौः डेङ्गी सङ्क्रमणका कारण जिल्लामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२ का ६३ वर्षीय पुरुष रहेका छन् ।
चितवन मेडिकल कलेजमा उपचारका क्रममा उनको गत शनिबार मृत्यु भएको जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत विमल पटेलले जनाकारी दिनुभयो । उहाँका अनुसार ती बिरामी ज्वरो आएर शुक्रबार मेडिकल कलेजमा भर्ना भएका थिए ।
जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये सात सय २७ जनामा डेङ्गीको सङ्क्रमण देखिएको छ । तीन हजार ४४ जनाको परीक्षणका क्रममा उनीहरूमा यो रोगको सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमितमध्ये पाँच सय ३२ जना चितवनका र अन्य जिल्लाका छन् ।
बालमन्दिरका जग्गा संरक्षण गर्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ, १६ भदौः प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल बालसङ्गठन (बालमन्दिर)का देशभर छरिएका भौतिक सम्पत्तिको पूर्ण संरक्षण र उपयोग गराउन निर्देशन दिनुभएको छ ।
सो सङ्गठनका पदाधिकारसँग आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले जे–जति जमिन, भवन र सम्पत्ति छन् तिनको पूर्ण सुरक्षाका लागि आवश्यक परे कठोर कदम पनि चाल्न निर्देशन दिनुभएको हो ।
नवनियुक्त मुख्यसचिव एकनारायण अर्याल, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव फणिन्द्र गौतमलगायतसहित भएको छलफलमा प्रधानमन्त्री ओलीले भन्नुभयो, “बाल मन्दिरका जग्गा कसैले अतिक्रमण गरेको वा नियमबमोजिम भाडा सम्झौता नगरी बसेको छ भने कडाइ र तीव्रताका साथ तिनको नियन्त्रण र प्रयोग हुनुपर्छ । धनी पुर्जाबिना लामो समयदेखि सङ्गठनले भोगाधिकार लिँदै आएको छ भने पनि ती जग्गा सङ्गठनकै नाममा ल्याइनुपर्छ ।”
प्रधानमन्त्री ओलीले सङ्गठनको नयाँ विधान स्वीकृतिका लागि मन्त्रिपरिषद्मा प्रस्ताव ल्याउन, सङ्गठनको जिम्मामा रहेका बालबालिकालाई सन्तुलित आहार, उचित लत्ताकपडा र माया ममता दिन र गुणस्तरीय शिक्षा उपलब्धताको सुनिश्चितताका लागि आग्रह गर्नुभयो ।
“बाल सङ्गठनका बालबालिकाले हुने खाने परिवारका बालबालिकाले पाएसरह सुविधा पाउनुपर्छ । उनीहरु स्वस्थ्य हुनुपर्छ । उचित शिक्षा र मायाा पाउनुपर्छ । त्यसका लागि सरकारले सक्दो सहयोग गर्छ ।”
सङ्गठनका अध्यक्ष विद्या न्यौपानेले विशिष्ट सङ्गठनको स्पष्ट पहिचानसहित परिमार्जित र आधिकारिक विधान स्वीकृत गर्न, बजेटको व्यवस्था गर्न, जग्गा जमिनको संरक्षण गर्न, जन्मदार्ता र नागरिकता पाउन समस्या हुने बालबालिकाका लागि आवश्यक सहजीकरण गर्न सरकारसँग आग्रह गर्नुभएको थियो । हाल सो सङ्गठनअन्तर्गतका आश्रयमा करिब तीन सय बालबालिका छन् ।
युक्रेनद्वारा सहयोगी राष्ट्रसँग लामो दूरीका हतियार माग
किएभ, १६ भदौ : युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राज्य अमेरिका, बेलायत, फ्रान्स र जर्मनीजस्ता पश्चिमा मित्रराष्ट्रहरूसँग लामो दूरीसम्म हान्न सक्ने हतियारको पहुँच युक्रेनलाई तत्काल दिनुपर्नेमा जोड दिनुभएको छ।
जेलेन्स्कीले भन्नुभएको छ, “अहिले युक्रेनी प्रथम उपप्रधानमन्त्री, रक्षामन्त्रीलगायत युक्रेनी प्रतिनिधिमण्डल वासिङ्टनमा काम सहयोग जुटाउनका लागि काम गरिरहेको छ ।”
युक्रेनको उच्च प्राथमिकता रूसको आक्रमण रोक्न आफ्नो रक्षा बललाई लामो दूरीको क्षमताले सुसज्जित गर्नु रहेको राष्ट्रपति जेलेन्स्कीले बताउनुभयो ।
उहाँले भन्नुभयो, “विभिन्न स्तरमा बैठकहरू भएका छन्, र हाम्रो शीर्ष प्राथमिकतामध्ये एक हाम्रो रक्षा बलहरूको लागि दीर्घकालीन क्षमताहरू सुरक्षित गर्नु हो। खार्किभ र युक्रेनका अन्य शहरहरूले सहन बाध्य भएको आतङ्कलाई रोक्न यो महत्त्वपूर्ण छ ।”
जेलेन्स्कीले शहरहरूको सुरक्षाका साथै ऊर्जा पूर्वाधारको सुरक्षामा मद्दत गर्न युक्रेनले आफ्ना सहयोगीहरूसँग हवाई प्रतिरक्षाको बारेमा छलफल गरिरहेको पनि बताउनुभएको छ ।
‘नारायणी रङ्गशाला निर्माण सरकारको पहिलो प्राथमिकतामा’
वीरगञ्ज (पर्सा), १६ भदौ : युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले आफ्नो कार्यकालभित्र नारायणी रङ्गशाला निर्माण सरकारको पहिलो प्राथमिकतामा रहेको बताउनुभएको छ ।
आज वीरगञ्जस्थित मधेश प्रदेशको पुरानो र ठूलो नारायणी रङ्गशालाको स्थलगत अवलोकलन गर्दै मन्त्री चौधरीले दातृनिकायसँग समन्वय र आवश्यक बजेट व्यवस्थापन गरी रङ्गशाला निर्माण गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
“यो रङ्गशाला बनाउनुपर्ने दुई कारण छन्”, उहाँले भन्नुभयो, “मधेश प्रदेशको सबैभन्दा पुरानो र ठूलो रङ्गशालाका हो । साथै ११औँं राष्ट्रिय खेलकुद प्रतियोगिता मधेशमा हुने भएकाले आवश्यक पूर्वाधारका लागि पनि रङ्गशाला निर्माणलाई सरकारले पहिलो प्राथमिकतामा राखेको छ ।”
मन्त्री चौधरीले ११आँंै राष्ट्रिय खेलकुद प्रतियोगिता मधेश प्रदेशमा हुने भएकाले रङ्गशाला बनाउनुपर्ने अवस्था रहेको जिकिर गर्नुभयो । “मेरो कार्यकालमा कुनै पनि सर्तमा नारायणी रङ्गशाला बन्नेछ । प्रतियोगिता हुनु अगावै खेल अभ्यासका लागि पनि पूर्वाधार आवश्यक पर्दछ”, उहाँले भन्नुभयो, “दातृनिकाय तथा सरोकार भएकासँग समन्वय र सहकार्य गरेर रङ्शाला निर्माण गर्नेछौँ ।”
मन्त्री चौधरीले सङ्घीय सरकारले चालु आर्थिक वर्षको बजेटमा नारायणी रङ्गशालाका लागि आवश्यक पर्ने बजेट विनियोजन नगरेकाले दातृनिकायसँग समन्वय गरेर निर्माण प्रक्रिया अघि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
“दातृनिकायले नारायणी रङ्गशालाको विषयमा चासो देखाइरहनुभएको छ”, उहाँले भन्नुभयो, “रङ्गशालाको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) उपलब्ध गराउन भनिरहनुभएकाले उहाँहरुसँग समन्वय गरी काम गरिरहेको छु । यथाशीघ्र निर्माण प्रक्रिया अघि बढाउनेछौँ ।”
मन्त्री चौधरीले सङ्घीय सरकारले चालु आवको बजेटमा रङ्गशाला निर्माण गर्न बजेट विनियोजन नगरेको स्पष्ट पार्नुभयो । “खेलकुद मन्त्रीको शपथ खाएसँगै मधेश प्रदेशका रङ्गशाला निर्माण प्रक्रियाबारे युवा तथा खेलकुद सचिव, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिवलगायत सरोकार भएकासँग छलफल गरेका थियौँ”, उहाँले भन्नुभयो, ११औँं राष्ट्रिय खेलकुद प्रतियोगिता मधेशमा हुने भएकाले रङ्गशाला निर्माणलाई कसरी प्रभावकारी रुपमा अघि बढ्न सकिन्छ भनेर सुझाव पनि लिएका छौँ ।”
युवा तथा खेलकुदमन्त्री चौधरीले मधेश प्रदेशका रङ्गशाला मर्मतसम्भारका लागि केहीदिअघि अर्थमन्त्री विष्णु पौडेलसँग पनि आवश्यक बजेट उपलब्ध गराइदिनका लागि आग्रह गरेको बताउनुभयो । “अर्थमन्त्रीले पनि रङ्गशाला मर्मतसम्भार गर्न आवश्यक स्रोत जुटाउन सहजीकरण गर्ने बताउनुभएको छ”, उहाँले भन्नुभयो ।
रङ्गशालाको अवलोकलनका क्रममा प्रदेशका खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोदकुमार जयसवालले नारायणी रङ्गशाला निर्माण गर्न सङ्घीय सरकारले बजेट व्यवस्थापनका साथै आवश्यक सहजीकरण गर्नुपर्नेमा जोड दिनुभयो । “प्रदेश र सङ्घीय सरकारबीच समन्वय गरेर रङ्गशाला निर्माण अघि बढाउने छौँ”, उहाँले भन्नुभयो ।
वीरगञ्जमा नारायणी रङ्गशाला विसं २०४२ मा निर्माण गरिएको थियो । नियमित मर्मतसम्भार र जीर्णाेद्धारको अभावमा रङ्गशाला जीर्ण बन्दै गएको छ । रङ्गशाला परिसरमा पानी जमेर पशुचौपाया पौडी खेल्ने ठाउँका रुपमा परिणत भएको स्थानीय बताउँछन् । उक्त रङ्गशाला १८ बिघा क्षेत्रफलमा फैलिएको छ ।




















