मलाई नेतृत्वबाट यताउता गर्न पाउनुहुन्न भन्ने कायकर्ता पङ्क्तिकोे प्रेसर छ : अध्यक्ष प्रचण्ड
राँझा (बाँके), १६ भदौः नेपाल कम्युनिष्ट पार्टीका (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी अध्यक्ष पद टीका लगाएर हस्तान्तरण गर्ने चिज नभएको बताउनुभएको छ । प्रेस सेन्टर बाँकेले आज नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले पार्टीमा सिस्टम बनाएर उत्तराधिकारी नेता बनाउने तयारी भएको उल्लेख गर्नुभयो ।
“म सधैँभरि नेतृत्वमा भइरहनुपर्छ भन्ने छैन, मेरा लागि अध्यक्ष पद नभई नहुने छैन”, अध्यक्ष प्रचण्डले भन्नुभयो, “पार्टीको अध्यक्ष पद टीका लगाएर हस्तान्तरण गर्ने चिज होइन, सिस्टम र विधि बनाएर उत्तराधिकारी तयार गर्दैछु ।”
आफूलाई अध्यक्ष भइरहने रहर नभएको उहाँले दाबी गर्नुभयो । तर आफूले छाड्दा नेतृत्व हस्तान्तरण वा पुस्तान्तरण भइहाल्छ भन्ने नलागेको उहाँको भनाइ छ । “अब मलाई पार्टीमा अध्यक्ष भइरहने रहर छैन । मेरो लागि अध्यक्षभन्दा प्रचण्ड भन्ने नै ठूलो छ”, उहाँले भन्नुभयो, “तर अहिले नै नेतृत्वबाट यताउता गर्न पाउनुहुन्न भन्ने कायकर्ता पङ्क्तिको ठूलो प्रेसर छ ।”
पार्टीलाई सुदृढ बनाउन देशव्यापी अभियान सञ्चालन गरेको जनाउँदै उहाँले प्रदेशस्तरीय भेलामा भएको परामर्शको आधारमा पार्टीलाई एकरुपता र एकढिक्का बनाएर अगाडि बढाउने उहाँले उल्लेख गर्नुभयो । “हाम्रो पार्टी एकढिक्का छ, पार्टी फुट्छ भन्ने कुरा निराधार हो”, उहाँले भन्नुभयो, “त्यत्तिकै कोही नेता बन्दैन, लामो कालखण्ड गुजारेर नेतृत्व स्थापित हुने हो, अब केही तयारी गरेर नेतृत्व हस्तान्तरण गर्ने हो ।”
अध्यक्ष प्रचण्डले समाजवादी मोर्चालाई व्यवस्थित गर्दै विचार मिल्ने दलहरूबीच पार्टी एकता गर्दै जाने योजना रहेको बताउनुभयो । उहाँले आफूले राम्रो गर्दागर्दै पनि दुई ठूला दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसले बलमिच्याइँ गरेर प्रधानमन्त्रीबाट हटाएको आरोप लगाउनुभयो ।
प्रेस सेन्टर बाँकेका कार्यवाहक अध्यक्ष सङ्गीन शर्माको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपमहासचिव पम्फा भुसाल, सचिव चक्रपाणि खनाललगायत नेताहरूको सहभागिता थियो ।
अल्लोको कपडा बुनेरै घरखर्च धानेका कुलुङ दम्पती
नारायणगढ (चितवन), १६ भदौ : सङ्खुवासभाका कुलुङ दम्पती यतिबेला चितवन उद्योग सङ्घको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा सञ्चालित तिजविशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलामा अल्लोको कपडा बेच्नमा व्यस्त हुनुहुन्छ । आफ्नै उद्योगमा अल्लोको धागोबाट आफैँले बनाएको कोट, टोपी र झोला बेच्न उहाँहरू सङ्खुवासभाबाट चितवन आउनुभएको हो ।
चितवन उद्योग सङ्घ महिला उद्यमी मञ्चको निमन्त्रणा पाएपछि आफ्नो व्यवसाय प्रवर्द्धन गर्नुका साथै चितवन पनि घुम्न पाइन्छ भनेर मनकला कुलुङ र उहाँका श्रीमान् देवेन्द्र कुलुङले यहाँ आउने निधो गर्नुभएको हो । मनकलाले भन्नुभयो, “हाम्रो खाँदबारीमा अल्लो व्यवसायी सङ्घ छ । यहाँबाट निमन्त्रण गएको रहेछ । यसपालि हामी आउने निर्णय भयो, त्यहीअनुरुप आएका हौँ । पहिलोपटक चितवन आएर आफ्नो उत्पादन प्रदर्शन गरी बेच्न पाउँदा निकै खुसी लागेको छ ।”
सिलिचोङ गाउँपालिका पाङसिम्मा स्थायी घर भएका कुलुङ परिवारको अहिले सङ्खुवासभास्थित खाँदबारी नगरपालिका–७ नयाँबजारमा अल्लोको कपडा बनाउने उद्योग छ । मनकलाले सानै उमेरदेखि अल्लोको कपडा बुन्ने काम गर्नुहुन्थ्यो । त्यसैको जगमा उहाँ आज एक व्यवसायी बन्न सफल हुनुभएको हो । उहाँले सुनाउनुभयो, “म सानो छँदा मेरो दिदीले गाउँमै अल्लोको कपडा बनाउने गर्नुहुन्थ्यो, त्यहीँ बेला दिदीसँग मैले पनि यो बुन्न सिकेकी थिएँ । पछि विवाह भयो । अनि यसैमा काम गर्न थाले ।”
पहिले मनकलाले गाउँमै रहेका साना उद्योगमा काम गर्दै आउनुभयो । श्रीमान् देवेन्द्र पनि गाउँमै जडीबुटीलगायत काम गनुर््हुन्थ्यो । जब उहाँहरूको सन्तानको जन्म भयो तब गाउँको कमाइले घर चल्न र बच्चा पढाउन पुग्लाजस्तो लागेन । गाउँमा बच्चा पढाउने विद्यालयको असुविधाका कारण उहाँहरु सदरमुकाम खाँदबारीतर्फ लाग्नुभयो ।
सदरमुकाम आएर जेनतेन यही काम अरूको उद्योगमा गर्दै आउनुभएकी मनकलालाई आफैँ व्यवसायी बनेर उद्योग खोल्ने मन भयो । त्यसो त उक्त निर्णयमा उहाँका श्रीमान्को साथ र आफन्तको सहयोग पनि रह्यो । अनि सुरु भयो, ‘हिमाली अल्लो तथा सुती कपडा उद्योग’ ।
कुलुङ दम्पतीसँग उद्योगमा सुरुमा धेरै लगानी गर्ने पैसा थिएन । सरसापट र आफूहरूसँग भएको अलिअलि गरी रु एक लाखजति लगानी गरेर सानो उद्योग दर्ता गरेर काम सुरु गरेको मनकला बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “कच्चा पदार्थ गाउँमै पाइन्छ । नपुग भएमा छिमेकी जिल्ला सोलुखुम्बुबाट पनि ल्याउँछौँ, अहिले व्यापार राम्रै चलेको छ ।”
अल्लो एक प्रकारको सिस्नोको प्रजाति हो । यो विशेष गरेर मङ्सिर र पुसमा टिप्ने गरिन्छ । सुरुमा जङ्गलमा गएर अल्लो काटिन्छ । त्यसपछि बोक्रा निकालेर सुकाउने काम हुन्छ । सुकेका बोक्रा फेरि पानीमा भिजाएर खरानीसँग पकाउने काम हुन्छ । खरानीमा पकाएको अल्लोलाई बोक्राको कालो जानेगरी धोएर कमेरो माटोमा घोलेर सुकाउने गरिन्छ । कमेरो पखालेपछि अल्लोको धागो तयार हुन्छ । धागोबाट उद्योगमा विभिन्न प्रकारका चाहेअनुसारका कपडा तयार गरिन्छ ।
कुलुङ दम्पतीलाई उत्पादन गरेका कपडाको बजार खोज्दै हिँड्न पर्देन । उद्योगबाट महिनाको २०० मिटर कपडा तयार गर्ने गरेको उहाँहरुको भनाइ छ । उत्पादीत अल्लोको कपडाको बजार इलाम, ताप्लेजुङ, बिराटनगर, धरान र काठमाडौँ हो । मनकलाले भन्नुभयो, “फोन गरेर अर्डर गर्नुहुन्छ त्यही अनुसार हामिले कपडा पठाउँछौं बिक्री गर्नका लागि कुनै समस्या छैन ।”
कुनैबेला आफैँ कामदार रहनुभएकी मनकलाको उद्योगमा अहिले चार कर्मचारी छन् । सिजनको बेलामा अन्य कामदार थप्ने गरेको उहाँ बताउनुहुन्छ । अल्लोको कपडाको खास सिजन असोजदेखि वैशाखसम्म हो । आफू कामदार हुँदा र व्यवसायी हुँदा आकाश–जमिन फरक पाएको मनकलाले सुनाउनुभयो, “आफ्नो काम गरेको हिसाब हुँदैन जतिबेरसम्म गरे पनि आफ्नै हो, फाइदा आफैँलाई हो”, उहाँले भन्नुभयो । श्रीमान्कोे निरन्तर साथ र सहयोग तथा आफ्नो खटाइले आज यो स्थानसम्म आइपुगेको मनकलाले बताउनुभयो ।
देवेन्द्रले मनकलाको सीप र जाँगरलाई आफूले हौसला थप्ने काममात्र गरेको भन्दै सुनाउनुभयो, “सबै योजना उनकै (मनकला) हो ।” उद्योगबाट ठूलो सपना नबोक्नुभएका कुलुङ दम्पतीलाई यतिबेला छोराछोरीको भविष्य राम्रो बनाउने ध्याउन्न छ । उहाँहरूका एक छोरी खाँदबारीमै प्राविधिक विषयमा अध्ययनरत हुनुहुन्छ भने छोरा विद्यालयस्तरमा अध्ययनरत हुनुहुन्छ ।
चितवनमा लागेको मेलाको कक्षमा बस्दै गर्दा धेरै अनुभव प्राप्त गरेको कुलुङ दम्पती सुनाउनुहुन्छ । देवेन्द्रले भन्नुभयो, “धेरैलाई अल्लोको कपडा भनेको थाहा रहेनछ । आउनुहुन्छ हेर्नुहुन्छ अनि जानुहुन्छ ।” ग्राहक आएर किने पनि नकिने पनि अल्लोको कपडाका बारेमा बुझाउन पाउँदा उहाँलाई खुसी लागेको उहाँले बताउनुभयो । स्वास्थ्यका लागि लाभदायी हुने अल्लोको कपडा उद्योगलाई आगामी दिनमा थप व्यवस्थित बनाएर लैजाने कुलुङ दम्पतीको योजना छ ।
संस्कृति संरक्षण गर्न धाननाच स्तम्भ बनाइने
फुङ्लिङ (ताप्लेजुङ), १६ भदौ : लिम्बू समुदायको ऐतिहासिक धान नाचलाई उजागर गर्न ताप्लेजुङ सदरमुकाम फुङ्लिङको तोक्मेडाँडामा ‘ताक्वाचङ तक्मा याराक्मा तेन’ नामक धाननाच स्तम्भ निर्माण गरिने भएको छ । किरात याक्थुङ चुम्लुङको पहलमा सो स्तम्भ निर्माण गर्न लागिएको हो ।
धाननाच लिम्बू समुदायको परम्परागत संस्कृति हो । यसले विगतमा युवायुवतीलाई एकीकृत गर्दै सांस्कृतिक सामूहिकता प्रदर्शन गर्न भूमिका खेल्थ्यो । तर, आधुनिकताको प्रभाव र समयको परिवर्तनसँगै धाननाच लोपोन्मुख अवस्थामा पुगेको छ । धाननाच स्तम्भ निर्माण गर्न करिब रु ५० लाख लाग्ने किरात याक्थुङ चुम्लुङ ताप्लेजुङकी अध्यक्ष इन्दिरा मेन्याङबोले बताउनुभयो । लाखे जात्राका अवसरमा यो निर्माण कार्य सुरु गरिने छ ।
“तोक्मेडाँडाको भित्तामा निर्माण गरिने उक्त स्तम्भको पछाडिपट्टि कञ्चनजङ्घा र कुम्भकर्ण हिमालको दृश्य समावेश गरिने छ”, उहाँले भन्नुभयो । स्तम्भको अगाडि धाननाच प्रस्तुत गर्दै गरेका दुई पुरुष र दुई महिलाको आकृति राखिने छ । प्रत्येक आकृति ६ फिट अग्ला हुनेछन् । यसले धाननाचको मौलिकतालाई प्रदर्शन गर्नेछ । धाननाच स्तम्भ निर्माण गर्न रु ३२ लाखमा स्थानीय कालीगढसँग समझदारी भएको अध्यक्ष मेन्याङबोले बताउनुभयो । स्तम्भ निर्माणस्थल वरिपरि सिँढी बनाइनेछ र घेराबेरा गरेर स्थललाई आकर्षक बनाउन अतिरिक्त संरचना थपिनेछन् ।
किरात याक्थुङ चुम्लुङका उपाध्यक्ष डम्बर पालुङवाका अनुसार, स्तम्भ निर्माणले लिम्बू समुदायको सांस्कृतिक सम्पदाको संरक्षणका साथै पर्यटन प्रवर्द्धनमा पनि मद्दत पुग्ने छ । “स्तम्भ चार महिनाभित्र निर्माण सम्पन्न गर्ने योजना छ”, उहाँले भन्नुभयो । यसअघि पनि पाथीभरा मन्दिरको बाहिर लिम्बू संस्कृति झल्कने च्याबु्रङ स्तम्भ बनाइएको थियो । धाननाच, लिम्बू समुदायको महत्त्वपूर्ण सांस्कृतिक अभ्यास हो । यो विशेषगरी वैवाहिक क्रियाकलापमा नाचिन्छ ।
मनमोहक सुन्दरताको उत्कृष्ट गन्तव्य माग्दीको पुनहिल
म्याग्दी, १५ भदौ : निलो आकाश । पृष्ठभूमिमा सेता हिमालको लामो लर्कन । चारैतिर हरियाली जङ्गलको बिचमा पहाडको टाकुरा । शान्त वातावरणमा सुनिने चरा र जङ्गली जनावरको आवाज । भूइँमा झुलेका लेकाली बुकी फूल । कुनै चित्रकारले मेहनतका साथ तयार पारेको क्यान्भास अवलोकन गरेको आभास दिलाउने यो दृष्य म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको पुनहिलमा आज बिहान देखिएको हो ।
समुन्द्री सतहदेखि तीन हजार दुई सय १० मिटरको उचाईमा रहेको पुनहिलबाट मौसममा सुधार हुन थालेसँगै मनमोहक र रमणीय दृष्य देखिन थालेको छ ।
बेनीका ओक्कार श्रेष्ठले पुनहिलको हरियाली सहितको दृष्यले मोहित बनाएको अनुभव सुनाउनुभयो । “बेनीदेखि पोखरेबगर–घार–शिख–फलाते–चित्रे हुँदै घोडेपानी जोड्ने सडकमा मोटरसाइकल र घोडेपानीदेखि पुनहिल हाइकिङ गर्न २४ जना एक्सपल्स ब्राण्डको मोटरसाइकल प्रयोगकर्ता आएका थियौँ,” उहाँले भन्नुभयो “कच्ची सडकमा मोटरसाइकल र उकालोमा हिड्दाको सबै थकान पुनहिलको दृष्यले मेटाइदियो ।”
चुरेन, पुथा, गुर्जा, धौलागिरि, मानापाथि, निलगिरि, अन्नपूर्ण, बराह शिखर, माछापुच्छ्रे, लमजुङ र मनास्लु हिमालका साथै सूर्योदयको अवलोकन गर्न पाउँदा उमङ्ग र उत्साह थपिएको धवलागिरि गाउँपालिका–७ का दिपेन्द्र न्यौपानेले बताउनुभयो । एकान्त वातावरणमा योग, ध्यान गरेर तनाव व्यवस्थापन गर्नका लागि पनि यो ठाउँ उपयुक्त भएको बेनीका व्यवसायी मुकुन्द शर्माले बताउनुभयो । “शीतल हावापानी र शान्त वातावरणले तनाव भुलायो,” उहाँले भन्नुभयो “छुट्टी मनाउन र छोटो अवधिको पारिवारिक भ्रमणका लागि पुनहिल उपयुक्त गन्तब्य रहेछ् ।” अन्य समयमा सुख्खा हुने पुनहिल बर्खा ऋतुमा हरियाली हुन्छ ।
घोडेपानीका होटल व्यवसायीसमेत रहेका अन्नपूर्ण गाउँपालिकाका पूर्व अध्यक्ष डमबहादुर पुनले शान्त र एकान्त वातावरण रुचाउने पर्यटकका पुनहिल घुम्न उपयुक्त समय भदौ, असोज र कात्तिक भएको बताउनुभयो । “पुनहिलमा ऋतु अनुसार फरक÷फरक दृष्य अवलोकन गर्न सकिन्छ,” उहाँले भन्नुभयो “एकै ठाउँबाट धेरै हिमाल, वनजङ्गल, पहाडी भूगोल, सूर्योदय तथा सूर्यास्तको दृष्य अवलोकन गर्न पाउनु पुनहिलको विषेशता हो ।”
पर्यटकीय राजधानी पोखरा नजिकै सहज र आकर्षक गन्तव्य खोज्नेहरुको लागि चक्रीय अन्नपूर्ण पदयात्रामा समेटिएको पुनहिल÷घोडेपानी आकर्षक र रोमाञ्चक गन्तव्य हो । पोखरादेखि कास्कीको नयाँपुलसम्म गाडी र त्यहाँदेखि पदयात्रा गरेर एकै दिनमा पुगिने घोडेपानीदेखि आधा घण्टाको उकालो हिँडेपछि पुनहिल पुगिन्छ । म्याग्दीको बेनीदेखि अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर हुँदै साँढे दुई घण्टामा सवारी साधनमार्फत घोडेपानी पुगिन्छ । पुनहिल र घोडेपानी पदयात्रामा निस्कनेहरू धम्पुस वा घान्द्रुकसम्म घुमेर आउन सक्छन् । घोडेपानीमा बास बसेका पर्यटक सूर्योदय र हिमाल हेर्नका लागि मिर्मिरेमै पुनहिल पुग्छन् । सूर्योदयको बेलामा घामको झुल्कोसँगै देखिने हिमालको सुन्दरताले मन लोभ्याउँछ ।
घोडेपानी होटल व्यवस्थापन उपसमितिका अध्यक्ष मीना पुनले दैनिक एक हजार जना बास बस्न सक्ने २५ वटा सुविधायुक्त होटल रहेको बताउनुभयो । “गुराँसको जङ्गलको बिचमा अवस्थित घोडेपानीका होटलको कोठाबाटै हिमाल देखिन्छ,” उहाँले भन्नुभयो “मगर सङ्ग्रहालय र संस्कृति तथा जीवनशैली पनि घोडेपानीको आकर्षण हो ।” वार्षिक ३० हजार जनाको अनुपातमा विदेशी पर्यटकले भ्रमण गर्ने घोडेपानी–पुनहिल क्षेत्र घुम्न सो भन्दाबढी सङ्ख्यामा नेपाली पर्यटक आउने पर्यटक प्रहरी चौकी घोडेपानीले जनाएको छ । पुनहिल भ्रमणका लागि अन्नपूर्ण गाउँपालिकालाई नेपालीले प्रतिव्यक्ति रु ५० र विदेशीले रु एक सय ५० का दरले प्रवेश शुल्क तिर्नुपर्छ ।
पुनहिलमा प्रवेश शुल्क उठाउन र चिया पसल सञ्चालन गर्न गत वर्ष गाउँपालिकाले रु ६६ लाखमा ठेक्का लगाएको थियो । यस वर्ष रु ५५ लाख न्यूनतम मूल्य राखेर दुई पटक ठेक्का आह्वान गरेपनि प्रस्ताव नपरेकाले तेस्रो पटक सूचना खुलाउने तयारी गरेको गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले बताउनुभयो । पुनहिलको आम्दानी स्थानीयवासीको माग र आवश्यकताका योजनाका साथै गाउँपालिकाको विकास निर्माण तथा पर्यटन प्रवद्र्धनमा परिचालन गरिएको उहाँले बताउनुभयो ।
कोशी प्रदेशसभा बैठकः प्रदेश निजामती सेवा ऐनमाथि सैद्धान्तिक छलफल
मोरङ, १५ भदौः कोशी प्रदेशसभाको आजको बैठकमा प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयकमाथि सैद्धान्ति छलफल भएको छ । यस अगाडि बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले सो संशोधन विधेयमाथि सैद्धान्ति छलफल गरियोस् भन्ने प्रस्ताव सदन समक्ष पेश गर्नुभएको थियो । सभामुख अम्बरबहादुर विष्टले विधेयक सर्वसम्मतले पारित भएको सभा समक्ष जानकारी दिनुभएको थियो ।
संशोधन विधेयकको सैद्धान्तिक छलफल भाग लिँदै प्रदेशसभा सदस्य रामदेव यादव, भूपेन्द्र राई, प्रदीपकुमार सुनवार,शोभा चेम्जोङ, गेम्बु शेर्पा, विदुरकुमार लिंथेप, रमेशकुमार बस्नेत लगायतले विधेयकमा जनसङ्ख्याको आधारमा आरक्षण हुनुपर्ने, संशोधन विधेयकमा समानता रहेको विचार राख्नुभयो ।
आन्तरिक मामिला तथा कानुनमन्त्री अधिकारीले सैद्धान्तिक छलफलमा उठेका जिज्ञासामा जवाफ दिनुहुँदै विधेयक समयानुकूल परिमार्जन गर्न ल्याएको बताउनुभयो । उहाँले विधेयकले स्थायी सरकारको रूपमा रहेका कर्मचारीलाई चुस्तदुरुस्त एवं जनमुखी बनाउन सहयोग पुग्ने छ भन्नुभयो । सभाको अर्काे बैठक आइतबार दिउँसो १ बजे बस्नेछ I
सामूहिक रुपमा न्वागी मनाउँदै चेपाङ समुदाय
मुग्लिन (चितवन), १५ भदौ : चेपाङ समुदायले छोनाम (न्वागी) पर्व सामूहिक रुपमा मनाउने भएका छन् । चेपाङ समुदायको राष्ट्रिय धार्मिक पर्वका रुपमा हरेक वर्ष भदौ २२ गते छोनाम (न्वागी) पर्व मनाउने गर्दछन् ।
यस वर्ष जिल्लामा रहेका चेपाङ समुदायले सामूहिक रुपमा छोनाम पर्व मनाउने निर्णय भएको नेपाल चेपाङ सङ्घका केन्द्रिय अध्यक्ष गोविन्दराम चेपाङले जानकारी दिनुभयो । उहाँका अनुसार गोरखाको गण्डकी गाउँपालिका–६ तोमनडाडाँमा सामूहिक रुपमा न्वागी मनाउन लागिएको हो ।
चेपाङको बाहुल्यता रहेको चितवन, मकवानपुर, धादिङ र गोरखामा हरेक वर्ष पालैपालो भदौ २२ गते राष्ट्रिय न्वागी पर्व मनाउने गरिएको अध्यक्ष चेपाङले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “हामीले समुदायको बाहुल्यता रहेको चितवन, मकवानपुर, धादिङ र गोरखा गरी चार जिल्लामा पालैपालो न्वागी मनाउने गरेका छौँ, यो वर्ष गोरखामा मनाउँदै छौँ ।” उहाँका अनुसार चेपाङ समुदायले विगत नौ वर्षदेखि सङ्घको पहलमा सामूहिक रुपमा उत्सव जस्तै गरी न्वागी मनाउँदै आएका छन् ।
उत्सवमा सहभागी हुन नपाउनेले आ–आफ्नो घर र समुदायमा मनाउने गर्छन् । भदौ २२ गते सामूहिक रुपमा न्वागी मनाउँदै आए पनि आफ्नो कूलअनुसार चेपाङ समुदायले भदौको पूर्णिमादेखि भदौभरि न्वागी मनाउने परम्परा रहेको अध्यक्ष चेपाङले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “हामीले भदौ २२ गतेलाई राष्ट्रिय रुपमा मनाउँदै आएका छौँ, हाम्रो जातिमा पनि विभिन्न थर हुन्छन् उहाँहरुको कूलअनुसार भदौको पूर्णिमादेखि महिनाभरि मनाउने गरिन्छ ।” अध्यक्ष चेपाङका अनुसार चेपाङ समुदायमा पितृलाई नचढाँइ र पूजा नगरी नयाँ फलफूल र अन्नपात खान हुँदैन भन्ने धार्मिक मान्यता छ ।
न्वागी पर्वका दिन घैया धानको चामल, काउनो, पिँडालुलगायत अन्न र फलफूल भूमि र पितृलाई चढाउने गरिन्छ । यो पर्व चेपाङले नयाँ अन्न खाने दिनका रुपमा रहेको अध्यक्ष चेपाङले जानकारी दिनुभयो ।
न्वागीमा चेपाङ झाँक्री (पान्दे) ले ढ्याङ्ग्रो ठोक्दै कुखुराको बलि चढाउँछन् । यस दिन चेपाङले कुनै काम नगरी नाता कुटुम्बलाई पनि निम्तो गरेर सामूहिक भोज खाने, नाचगान गर्ने र सुखदुःख साट्ने गर्छन् । न्वागी चेपाङ जातिको जीवनशैली र संस्कृतिसँग जोडिएको पर्व हो ।
जनगणना २०७८ का अनुसार नेपालमा ८४ हजार तीन सय ६४ जना चेपाङ रहेका अध्यक्ष चेपाङले जानकारी दिनुभयो । उहाँका अनुसार सबैभन्दा धेरै चितवनमा ३५ हजारको सङ्ख्यामा चेपाङ समुदायका मानिस बसोबास गर्छन् भने २६ जिल्लामा चेपाङ समुदायको बसोबास रहेको छ ।
चेपाङहरुको राष्ट्रिय पर्व न्वागीका अवसरमा बागमती प्रदेश सरकारले विसं २०७९ देखि चितवन, मकवानपुर र धादिङमा भदौ २२ गते सार्वजनिक बिदासमेत दिँदै आाएको अध्यक्ष चेपाङले बताउनुभयो ।
एउटा विद्यालयमा दुईजना प्रधानाध्यापक नियुक्त भएपछि ...
झापा, १५ भदौः जिल्लाको कमल गाउँपालिका–३ स्थित सहिद धर्मभक्त माध्यमिक विद्यालयमा दुईजना शिक्षकलाई प्रधानाध्यापक नियुक्त गरेपछि १५ दिनदेखि विद्यालयको शैक्षिक वातावरण तनावग्रस्त बनेको छ ।
गाउँपालिकाले गत साउन २९ गते शिक्षक नवराज नेम्वाङलाई विद्यालयको प्रधानाध्यापक पदमा नियुक्त गरेको थियो । लगत्तै भोलिपल्ट साउन ३० गते व्यवस्थापन समितिले पालिकाको निर्णय अस्वीकार गर्दै शिक्षक शिवप्रसाद भट्टराईलाई प्रधानाध्यापक नियुक्त गरेको थियो ।
एउटा विद्यालयमा दुईजना प्रधानाध्यापक नियुक्त भएपछि विद्यालयको शैक्षिक वातावरण खल्बलिएको विद्यार्थी सञ्जालका अध्यक्ष लक्ष्मण चौधरीले बताउनुभयो । “प्रधानाध्यापक को बन्नुभयो भन्ने विषयमा भन्दा पनि विद्यालयको पठनपाठन बिथोलिनु हुँदैन भन्नेमा हामी कृन्द्रित छौँ”, उहाँले भन्नुभयो, “बाहिरका नचिनेका व्यक्ति यसलाई बनाउनुपर्यो र उसलाई बनाउनुपर्यो भन्दै विद्यालयको हाताभित्र पसेर होहल्ला मच्चाउँछन् । यसले पठनपाठन प्रभावित भइरहेको छ ।”
विद्यार्थी सञ्जालले पठनपाठन नबिथोल्न आग्रह गर्दै विवाद, छलफल र विरोधका कार्यक्रम विद्यालयभित्र नगरिदिन सबै पक्षको ध्यानाकर्षण गराएको सञ्जालका अध्यक्ष चौधरीले बताउनुभयो । उहाँका अनुसार सञ्जालले ध्यानाकर्षण पत्र व्यवस्थापन समिति, वडा कार्यालय र स्थानीय प्रहरी कार्यालयमा बुझाएको छ ।
हजारौँ विद्यार्थी अध्ययनरत उक्त विद्यालयमा गाउँपालिकाले शिक्षक नेम्वाङलाई शिक्षा ऐनमा भएको व्यवस्थाविपरीत नियुक्त गरेको व्यवस्थापन समितिको आरोप छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखनाथ खतिवडाले शिक्षा ऐनमा स्थायी शिक्षकमध्येबाट १० वर्ष सेवा अवधि पूरा गरेका ज्येष्ठ शिक्षकलाई प्रधानाध्यापक नियुक्त गर्ने प्रष्ट व्यवस्था रहेको जानकारी दिनुभयो ।
“कस्तो योग्यता र अनुभवप्राप्त शिक्षकलाई प्रधानाध्यापक नियुक्ति गर्ने भनेर ऐनमा भनिएकै छ”, अध्यक्ष खतिवडाले भन्नुभयो, “त्यही नियमलाई टेकेर व्यवस्थापन समितिको बैठकले स्थायी शिक्षकमध्ये १० वर्ष सेवा पूरा गरिसक्नुभएको ज्येष्ठ शिक्षक भट्टराईलाई नियुक्त गरेको हो ।”
विद्यालयमा नियुक्ति पाएका दुवैजना प्रधानाध्यापकको पक्षमा दिनहुँजसो विद्यालय परिसरमा शक्ति प्रदर्शन हुन थालेको छ । गाउँपालिकाले गरेको नियुक्ति कार्यान्वयन हुनुपर्यो भन्दै एउटा समूहले संयुक्त सङ्घर्ष समिति गठन गरेको छ ।
विद्यालयको वातावरण पठनपाठन प्रभावित हुन थालेपछि तत्काल समस्या समाधान गरी पठनपाठनको वातावरण बनाउन व्यवस्थापन समिति, वडा कार्यालय र स्थानीय प्रहरीलाई ध्यानाकर्षण पत्र बुझाइएको विद्यार्थी सञ्जालका अध्यक्ष चौधरीले बताउनुभयो ।
नियुक्ति पाएका दुवै प्रधानाध्यापकका विषयमा विवाद चलिरहेकाले हाल निमित्त प्रधानाध्यापक प्रभाकर काफ्लेले विद्यालयको नेतृत्व गरिरहनुभएको छ ।
सिन्का बेचेर जीवन निर्वाह गर्दै उनान्असी वर्षीय धनबहादुर
टक्सार (भोजपुर), १५ भदौः इच्छाशक्ति भएमा उमेरले नछेक्ने उदाहरण बन्नुभएको छ– भोजपुर नगरपालिका–११ आम्तेकका धनबहादुर राई । उमेरले ७९ वर्ष पुग्नुभएका राई बाँसको सिन्का बनाएर भोजपुर बजारसम्म बिक्रीका लागि ल्याउने गर्नुहुन्छ ।
धनबहादुरमात्र होइन, उहाँका दाजु रणबहादुरले पनि पहिला बाँसबाट सिन्का बनाएर बिक्री गर्दै आइरहनुभएको थियो । धनबहादुरले भन्नुभयो, “विगतमा रु १० देखि २० मुठाका दरले सिन्का बेच्ने गरेको थिएँ, अहिले भने रु एक सय २० सम्ममा बिक्री गर्दै आइरहेको छु ।” सिन्का बनाउन धेरै समय र मेहनत लाग्ने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “असी वर्ष पुग्न लाग्दा पनि पुरानो पेशा गरिरहेको छु, बजारमा ल्याएको सिन्का सबैले किन्ने गरेका छन् । धैरेले त तराईतिर लान पनि ल्याइदिनु है बाजे पनि भन्छन् ।”
आफ्नै घर नजिकै बाँसको झ्याङ रहेको र अन्यकोबाट किन्नु नपर्ने भएकाले पनि आफूहरू सानैदेखि नै यो पेशामा लागेको धनबहादुर सुनाउनुहुन्छ । उहाँ भन्नुहुन्छ “अहिले त खाली युवाहरु विदेश जान तम्सिन्छन् तर, जोशजाँगर भए त गाउँघरमै पनि त्यत्तिकै त बस्नु पर्दैन। ”
घरबाट १६ मुठा सिन्का लिएर बिक्रीका लागि सदरमुकाम आउनुभएका उहाँले केही समयमा नै ती सिन्का बिक्री गरिसकेको बताउनुभयो । उहाँले ती सिन्का बिक्रीबाट रु एक हजार पाँच सयमाथि कमाएको बताउनुभयो । सिन्का बिक्रीबाट राईले घरका लागि नुन, तेल किन्न सहजता भएको बताउनुभयो । यस्तो काममा अहिलेका युवाले चासो नदेखाउँदा अबका दिनमा सिन्का पाउन मुस्किल हुने उहाँको भनाइ छ ।
उहाँ भन्नुहुन्छ, “अहिलेसम्म त भनेकाहरूलाई मैले सिन्का ल्याइदिएको छु, अब मैले छाडेपछि समस्या हुन्छ, त्यसपछि धार्मिक कार्यमा प्रयोग हुने दुनाटपरी कसरी बनाउने ।”
‘प्यारालाइसिस’ एञ्जिलाको उपचारमा सहयोगको अपिल
खोटाङ, १५ भदौः देब्रेतिरको हात र खुट्टा नचल्ने समस्याबाट बिरामी बराहपोखरी गाउँपालिका–१ बराहपोखरीकी एञ्जिला परियारको उपचारका लागि सहयोग जुटाउन अभियान थालिएको छ । मस्तिष्कघातबाट प्यारालाइसिस भएपछि हाल नोबेल अस्पताल विराटनगरमा आइसीयूमा राखेर उपचार गराइरहेकी एञ्जिलाको सहयोगार्थ बाराहापोखरी सेवा समाज खोटाङ, काठमाडौँको पहलमा सहयोग सङ्कलन सुरु गरिएको हो ।
विपन्न परिवारका एञ्जिलाको उपचारका लागि अझै रु सात लाख उपचार खर्च लाग्ने भएपछि भदौ ९ गतेदेखि ‘एञ्जिला परियार बचाऔँ अभियान’ थालिएको अभियानका संयोजक इन्द्रबहादुर लिमेलले बताउनुभयो । एञ्जिलालाई उदयपुरको गाईघाट हुँदै विराटनगर पुर्याएपछि मस्तिष्कघात भएको र त्यही कारण देब्रेहात र खुट्टा नचल्ने समस्या भएको पुष्टि भएको थियो ।
एञ्जिलाको साउन ३२ गतेदेखि नोबेल अस्पतालमा आइसीयूमा राखेर उपचार भइरहेको बुबा मनोज परियारले जानकारी दिनुभयो । “घरकी माइली छोरी एञ्जिलालाई सुरुमा केही दिन ज्वरो आएको थियो । औषधोपचार गरेपछि ठिक भएको थियो । पुनः तीन-चार दिनपछि कडा ज्वरो आएपछि देब्रे हात र खुट्टा चल्नै नसक्ने अवस्थामा पुगेको छ”, उहाँले भन्नुभयो, “एञ्जिलालाई अझै दुई हप्ता आइसीयूमा राखेर उपचार गर्नुपर्ने उपचारमा संलग्न स्वास्थ्यकर्मीले बताएका छन् । घरको अर्थावस्थाले धान्ने स्थिति छैन । त्यसैले छोरीको जीवनरक्षाका लागि सबैसँग हात फैलाएका हौँ ।”
एञ्जिलालाई सहयोग गर्न बराहापोखरी सेवा समाजको खातामा जम्मा हुनेगरी क्यूआर गरेर सहयोग रकम प्रदान गर्ने व्यवस्था मिलाइएको छ । एञ्जिलाको सहयोगार्थ स्वदेशदेखि विदेशसम्म अभियान्ता तोकिएको संयोजक लिमेलले बताउनुभयो । परिवारको अर्थावस्था दयनीय भएको भन्दै वडा कार्यालय बराहपोखरीले पनि आर्थिक सहयोग गर्न भदौ २ गते सिफारिस दिएको थियो । वडा कार्यालयले दिएको सिफारिसका आधारमा ‘एञ्जिला परियार बचाऔँ अभियान’ थालिएको संयोजक लिमेलले जानकारी दिनुभयो ।
पर्यटकको मन लोभ्याउँदै भोजपुरको महभिर झरना
भोजपुर, १५ भदौ : भोजपुरको टेम्कमैयुङ गाउँपालिकामा पर्ने महभिर झरना पर्यटकको मन लोभ्याउने स्थानका रूपमा विकसित भएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर संरक्षण तथा विकासको काम गरिएसँगै यो स्थान पर्यटकको आकर्षक गन्तव्यका रूपमा स्थापित भएको हो ।
टेम्कमैयुङ–४ नागीमा रहेको यो झरना करिब ६० मिटर अग्लो छ । विगतका वर्षहरूमा भिरमौरी बस्ने भएकाले यो झरनाको नाम नै महभिर झरना रहेको स्थानीयले बताउने गरेका छन् । झरनाबाट झरेको पानीको फोहोराले पर्यटकको मनै लोभ्याउने गरेको छ । दैनिक दर्जनाँै मानिस झरनामा रमाइलो गर्न पुग्ने गरेको स्थानीयवासीको भनाइ छ । यो झरना भोजपुर सदरमुकामबाट करिब २९ किलोमिटर र गाउँपालिका केन्द्रबाट करिब साढे चार किलोमिटर पश्चिममा अवस्थित रहेको छ । सडकको सहज पहँुच भएसँगै पर्यटकको आवागमन बढेको स्थानीयवासीको भनाइ छ ।
झरनाको अझ प्रचारप्रसारसँगै आवश्यक पूर्वाधारको थप विकास गर्नसके गाउँपालिकालाई आर्थिक स्रोत विकासमा टेवा पुग्ने स्थानीयवासी बुद्धप्रसाद राईले बताउनुभयो । विषेशगरी गर्मी याममा धेरै पर्यटकको जमघट हुने उहाँको भनाइ छ । शनिबार र अन्य बिदाको समयमा मानिस विभिन्न ठाउँबाट घुम्न आउने गरेको उहाँले जानकारी दिनुभयो ।
“महभिर झरनामा पर्यटकको आकर्षक केन्द्रका रूपमा स्थापित भइरहेको छ”, उहाँले भन्नुभयो, “दैनिकजसो दजनौँ मानिस आउने गरेका छन् । यसलाई अझ प्रचार–प्रचारमा ध्यान दिन सक्ने हो भने गाउँपालिकाको राम्रो आर्थिक स्रोत बन्न सक्छ ।”
भोजपुर र खोटाङको सदरमुकाम दिक्तेल जोड्ने मध्यपहाडी लोकमार्ग यही क्षेत्र भएर विस्तार भएकाले झरना हेर्ने मानिसको सङ्ख्यामा वृद्धि भएको स्थानीयवासी राईको भनाइ छ । झरना मुख्य राजमार्गबाट करिब साढे दुई किलोमिटरभित्र छ । यो क्षेत्र भएर यात्रा गर्ने मानिस प्रायः झरनाको अवलोकन गर्न जाने गरेका छन् ।
खास गरेर यहाँ गर्मीयाममा बढी मानिस झरनाको मज्जा लिन पुग्ने गरेका छन् । गाउँपालिकाले यहाँ पुग्ने बाटोको विस्तारसँगै झरना वरिपरि पर्यटकलाई लक्षित गरेर आवश्यक संरचना निर्माणको काम गरिएको प्रमुख प्रशासकीय अधिकृत विकेन पौडेलले बताउनुभयोे । यो झरना गाउँपालिकाको पर्यटकीय क्षेत्रका रूपमा स्थापित भइरहेको उहाँको भनाइ छ । पर्यटनलाई गाउँपालिकाको आर्थिक पक्षसँग जोड्ने लक्ष्य रहेको उहाँको भनाइ छ ।
“महभिर झरना पर्यटकको रोजाइमा पर्ने पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ”, प्र्रशासकीय अधिकृत पौडेलले भन्नुभयो, “यसको विकास तथा संरक्षणमा ध्यान दिएका छौँ । यसको थप विकास तथा विस्तारमा भावी दिनमा काम गर्ने योजना छ ।”
महभिर झरनालाई पर्यटकीय क्षेत्रका रूपमा स्थापित गराउने उद्देश्यका साथ विकासको काम गरिरहेको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताउनुभयो । टेम्केमैयुङ प्राकृतिक स्रोत तथा पर्यटकीय क्षेत्रको धेरै सम्भवना रहेकाले यसलाई पर्यटनसँग जोडेर अगाडि बढाउने उपाध्यक्ष राईले जानकारी दिनुभयो । मुख्य रूपमा गाउँपालिकाको कृषि र पर्यटनको विकासमा योजनाबद्ध रूपमा काम भइरहेको उपाध्यक्ष राईले बताउनुभयो ।
“यहाँ धेरै पर्यटकीय क्षेत्र छन्, पर्यटन र यहाँको कृषिलाई जोडेर विकासमा जुटेका छौँ । महभिर झरना एक स्थापित पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको छ । यसलाई अझ व्यवस्थित बनाउने योजनाका साथ काम गरिरहेका छौँ ।”
यो झरनासँगै गाउँपालिकाभित्र रहेका पर्यटकीय क्षेत्रको विकासमा प्राथमिकताका साथ काम गर्ने गाउँपालिकाले जनाएको छ । यो झरना हुँदै पदमार्ग विस्तार गरेर पर्यटकलाई सहज आवागमनका लागि काम गर्ने योजना रहेको गाउँपालिकाले जनाएको छ ।
महभिर झरना संरक्षण तथा विकाससँगै यहाँको अवलोकन गर्ने मानिसको सङ्ख्या बढेको वडाध्यक्ष हर्कराज राईले जानकारी दिनुभयो । सडकको सहजतासँगै पर्यटकको आवागमन बढेको उहाँको भनाइ छ । वडाध्यक्ष राईले भन्नुभयो,“वडाभित्रका पर्यटकीयस्थलको योजनाबद्ध विकासमा जुटेको छ । ”






























