तनहुँ बस दुर्घटनाः मृतक सबैको शव परीक्षण चितवनमा हुने

पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मस्र्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो । त्यसमध्ये २६ जनाको आँबुखैरेनी र एक जनाको चितवनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
आँबुखैरेनी अस्पतालमा मृत्यु भएका २६ जनाको शव शुक्रबार राति चितवन पठाइएको प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिनुभयो ।
दुर्घटनामा १६ जना घाइते भएको र उनीहरुलाई शुक्रबार नै हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको थियो । उनीहरुको त्रिभुवन शिक्षण अस्पतालमा उपचार भइरहेको प्रनाउ रायले बताउनुभयो । मृतक र घाइते सबै भारतको महाराष्ट्र प्रदेश जलगाउँ जिल्लाका रहेको प्रहरीले जनाएको छ ।
दुर्घटना लगत्तै इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट प्रहरी निरीक्षक शिव थापाको नेतृत्वमा दश जना र जिल्ला प्रहरी कार्यालय तनहुँबाट प्रहरी उपरिक्षक वीरेन्द्रबहादुर शाहीको नेतृत्वमा ५१ जना, सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन गण कुरिनटारबाट प्रहरी नायब उपरीक्षक विजय हमालको नेतृत्वमा ३५, नेपाली सेनाको कालीभञ्जन गण (इ) बाट सेनाको टोली उद्धारमा जुटेको थियो ।
अण्डाको माग बढ्यो, मूल्य बढाइयो
चितवन, ८ साउनः भदौ लागेपछि अण्डाको माग बढेको छ । साउनमा व्रत बस्ने र चोखो खाने धार्मिक मान्यतालगायतका कारण अण्डा उपभोग घटेकोमा भदौ लागेसँगै माग बढेको व्यवसायीले बताएका छन् ।
दाउन्ने एग्रो फार्म लिमिटेडका कार्यकारी निर्देशक विनोद पोखरेलले भदौ लागेसँगै अण्डाको माग बढेको बताउनुभयो । उहाँका अनुसार माग बढेसँगै फार्महरुले अण्डाको मूल्य बढाएका छन् । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उत्पादकले मात्रै मूल्य तय गर्न निर्देशन गरेपछि फार्महरुले आफैँ मूल्य निर्धारण गर्ने गरेका छन् ।
पोखरेलका अनुसार आजदेखि बिक्री मूल्य बढाइएको छ । दाउन्ने एग्रो फार्मले चितवनलाई आधार बनाएर एक्सल अण्डा प्रतिक्रेट (३० वटाको) रु पाँच सय पाँच तय गरेको छ । ठूलो अण्डा रु चार सय ९५ र मध्यम अण्डाको मूल्य रु चार सय २५ तोकिएको हो ।
हिमचुली पोल्ट्री फार्मका अध्यक्ष राजेन्द्र लामिछानेले आफ्नो फर्मले पनि अण्डाको मूल्य बढाएको बताउनुभयो । उहाँले एक्सेल अण्डाको मूल्य प्रतिक्रेट रु पाँच, ठूलो र मध्यमको रु १० ले बढाइएको बताउनुभयो । सबै फार्महरुले मूल्य बढाएको उहाँले जानकारी दिनुभयो । लामिछानेले भन्नुभयो “मूल्य बढ्दा पनि लागत मूल्यमा पुग्न अझै सकिएको छैन ।”
अण्डा उत्पादक कृषकहरु नेपाल लेयर्स कुखुरा पालक सङ्घ गठन गरेर बजारीकरणमा जुटेका छन् । सङ्घका अध्यक्ष समेत रहनुभएका पोखरेलले ७५ प्रतिशत किसान विस्थापित भइसकेको उल्लेख गर्दै केही किसानहरु फेरि व्यवसायमा फर्किएको बताउनुभयो । साउनमा बिक्री हुन बाँकी अण्डाहरु बिक्री भईसकेकाले अब केही सहज बन्ने पोखरेलको भनाई छ ।
खिलुङ काली पोल्ट्री फार्मका सञ्चालक भेषराज अर्यालले भदौ लागेसँगै व्रतहरु सकिएको, पहाडी क्षेत्रका केही भागका सडकमा केही सुधार आएको, चाडपर्व सुरु भएको, विद्यालय, क्याम्पस सञ्चालनमा आएका, पर्यटकको आगमन बढेकाले अण्डाको माग बढेको बताउनुभयो ।
उद्योग सङ्घ चितवनका पूर्वअध्यक्ष पोल्ट्री व्यवसायी त्रिलोचन कँडेलले माग बढेको तर उत्पादन घटेको बताउनुभयो । झण्डै दुई महिना अघि २५ देखि २६ लाख दैनिक अण्डा उत्पादन हुँदै आएकोमा अहिले घटेर २३ देखि २४ लाखमा झरेको उहाँले जानकारी दिनुभयो । केही महिनाअघि विज्ञहरुले अण्डाको लागत मूल्य प्रतिगोटा रु १६ दशमलव ५६ कायम गरेका थिए ।
माओवादी बैठकः जनपरिचालनका कार्यक्रम तय गर्न पार्टी नेतृत्वलाई सुझाव
काठमाडौँ, ७ भदौः नेकपा (माओवादी केन्द्र)का नेताहरुले सङ्गठन विस्तारलाई विशेष ध्यान दिन एवं प्रभावकारी तवरले जनपरिचालनका कार्यक्रम तय गर्न पार्टी नेतृत्वलाई सुझाव दिनुभएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको उपत्यका विशेष प्रदेश र सम्पर्क समन्वय प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको परामर्श बैठकमा आफ्नो धारणा राख्दै नेताहरुले पार्टीभित्र आन्तरिक एकतालाई सुदृढ गरेर संगठन विस्तारलाई ध्यान दिनुपर्नेमा जोड दिनुभएको थियो ।
आजको बैठकमा नेताहरु झक्कु सुवेदी, श्रीकृष्ण अधिकारी, विष्णु सापकोटा, लेखनाथ न्यौपानेलगायत नेताहरुले पार्टीको पछिल्लो अवस्था, संगठन विस्तार एवम् आन्तरिक एकतामा जोड दिनुभएको थियो ।
बैठकलाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई बलियो बनाउनका लागि खुल्ला छलफल भएको र त्यसलाई अन्यथा रुपमा लिन नहुने बताउनुभएको थियो । उहाँले अब व्यापक रुपमा पार्टी निर्माणतिर जाने र समाजवादी धारका शक्तिलाई सहकार्यको बाटो पहिल्याउने गरी अग्रसर हुने बताउनुभएको थियो ।
बैठकमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपाध्यक्षद्वय पम्फा भुसाल, अग्निप्रसाद सापकोटा, महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा र नेता हितमान शाक्यलगायतको उपस्थिती थियो ।
साफ च्याम्पियनसिपमा भारत सेमिफाइनलमा
काठमाडौं, ७ भदौ : माल्दिभ्सलाई पराजित गर्दै भारत साफ यु–२० च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको समूह ‘बी’ अन्तर्गत समूह चरणको अन्तिम खेलमा भारतले माल्दिभ्सलाई १–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । भारतले खेलको दोस्रो हाफको अतिरिक्त समयमा गोल ग¥यो । भारतका किपगेनले डिबक्स बाहिरबाट हानेको प्रहारले जाली चुमेको थियो ।
यस खेलसँगै सेमिफाइनलमा पुग्ने चार टोलीको टुङ्गो लागेको छ । समूह ‘बी’ बाट भारत समूह विजेता बनेको छभने भूटान उपविजेता बनेको छ ।
यसैगरी समूह ‘ए’ बाट नेपाल विजेता र बङ्गलादेश उपविजेता बन्दै सेमिफाइनलमा पुगेका छन् । अब पहिलो सेमिफाइनल खेलमा नेपाल र भूटानबीच यही भदौ ९ गते प्रतिस्पर्धा हुनेछ । त्यस्तै, दोस्रो सेमिफाइनलमा भारत र बङ्गलादेश भिड्नेछन् । उक्त खेल भने भदौ १० गते हुनेछ ।
किमाथाङ्का नाका खुलेपछि सात सय बढी नागरिकलाई सीमा पास वितरण
किमाथाङ्का (सङ्खुवासभा), ७ भदौ : सङ्खुवासभाको उत्तरी क्षेत्र किमाथाङ्का नाका सञ्चालनमा आएपछि जिल्ला प्रशासन कार्यालयले सीमा पास वितरण गरिरहेको छ । गत जेठ १२ मा १४ नाकासहित एकैसाथ सञ्चालनमा आएको किमाथाङ्का नाका आवतजावतका लागि सात सय ९९ सीमा पास वितरण गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत भोगेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । भोटखोलामा मात्र घुम्ती टोलीमार्फत पाँच सय ६४ वटा सीमा पास वितरण गरिएको उहाँले बताउनुभयो ।
भोटखोला र मकालु गाउँपालिकाभित्र नागरिकले सीमा पास र परिचयपत्रका आधारमा किमाथाङ्का नाका पारी पुगेर चिनियाँ बजारबाट दैनिक उपभोग्य वस्तु खरिद गर्दै आइरहेका छन् । नाका खुलेसँगै सीमा पास वितरण भएपछि भोटखोलाका नागरिकलाई खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुका लागि र रोजगारीका लागि सीमावर्ती नाका आवतजातवत गर्न सहज भएको छ । भोटखोला गाउँपालिकाका वडा नं १, २ र ३ छिमेकी चीनको भूभागसँग जोडिएका छन् । यस क्षेत्रमा करिब पाँच हजारको बसोबास रहेको छ भने यहाँ आलु र कोदो मात्र उत्पादन हुँदै आएको छ । किमाथाङ्कावासी सीमापारिको चाँगा बजारमा गएर दैनिक रोजगारी गरेर जीविका चलाउँदै आएका छन् । कोरोना सङ्क्रमण फैलिने डरले चीन सरकारले विसं २०७६ माघ ५ देखि किमाथाङ्कासहित चीनसँग जोडिएका विभिन्न नाका बन्द गरेको थियो ।
विसं २०३५ मा भन्सार कार्यालय स्थापित किमाथाङ्का नाका द्वन्द्वलगायत कारणले विसं २०५७ देखि सदरमुकाम खाँदबारीमा सारिएको थियो । खाँदबारीदेखि किमाथाङ्काको दुरी एक सय ६२ किलोमिटर छ । यहाँ अझै पनि सडक सञ्जाल नपुगेकाले सडक पुगेको स्थानबाट दुई दिन हिँडेर नाकासम्म पुग्न सकिन्छ । खाँदबारी किमाथाङ्का सडक निर्माणाधीन अवस्थामा छ ।
गोरखा मिडिया नेटवर्क प्रालिका पूर्व पदाधिकारीसँग सोधपुछ
काठमाडौँ, ७ भदौः सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले आज गोरखा मिडिया नेटवर्क प्रालिका पूर्व सञ्चालक एवं प्रबन्ध निर्देशक रवि लामिछानेसँग सोधपुछ गरेको छ ।
समितिको आज बसेको बैठकमा समितिको कार्यविधिअनुसार विभिन्न सहकारी र कम्पनीको रकम दुरुपयोगमा संलग्नका रुपमा आरोपितमध्ये पूर्वउपप्रधानमन्त्री समेत रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेसँग सोधपुछ गरिएको समिति सभापति सूर्य थापाले जानकारी दिनुभएको छ ।
समिति सचिव बविता मिश्रकाअनुसार आजै गोरखा मिडिया नेटवर्क प्रालिका पूर्व सञ्चालक छविलाल जोशीसँग पनि सोधपुछ गरिएको थियो ।
समितिले विभिन्न सहकारी र कम्पनीको रकम दुरुपयोगमा सङ्लग्नको रुपमा आरोपित व्यक्तिहरुसँग सोधपुछ तथा बयान लिइरहेको छ । विभिन्न सहकारी संस्थाका सदस्य (शेयरधनी) एवम् बचतकर्ताको रकम हिनामिना, अपचलन, अनुचित लेनदेन भएको विषयमा अध्ययन गर्ने कार्यादेश समितिले पाएको छ ।
विभिन्न सहकारी संस्थाहरुबाट प्रवाह भएको रकमको स्थिति, सो रकम गैरकानुनी रुपमा प्रवाह भए वा नभएको र त्यस्तो गैरकानुनी वा अनुचित कार्यमा कोही संलग्न देखिएमा त्यस्ता व्यक्तिहरुको बारेमा अध्ययन छानबिन गरी जोखिममा परेको रकमको असुलीको उपाय र संलग्न देखिएका व्यक्तिलाई कानून बमोजिम कारबाहीका लागि आवश्यक सिफारिस गर्ने कार्यादेश समितिले पाएको छ ।
छानबिन समितिले समस्याग्रस्त घोषणा भएका र सामाजिक रुपमा प्रश्न उठेका सहकारी संस्थाहरुको अध्ययन गरिरहेको छ । समस्याग्रस्त घोषणा भएका बाहेक स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी, सुमेरु बचत तथा ऋण सहकारी, सूर्यदर्शन बचत तथा ऋण सहकारी, सुप्रिम बचत तथा ऋण सहकारी, सानो पाइला बचत तथा ऋण सहकारी, समानता बचत तथा ऋण सहकारी, इमेज बचत तथा ऋण सहकारी, आइडियल यमुना बहुउद्देश्यीय संस्थाको रकम हिनामिना भएको विषयमा समितिले अध्ययन गरिरहेको छ ।
हसिनाको कूटनीतिक राहदानी खारेज
ढाका, ७ भदौ (रासस/एएफपी) : बङ्गलादेशको अन्तरिम सरकारले पूर्वप्रधानमन्त्री शेख हसिनाको कूटनीतिक राहदानीलाई बिहीबार रद्द गरेको छ ।
संयुक्त राष्ट्रसङ्घको एक टोली कथित मानव अधिकार उल्लङ्घनको अनुसन्धान गर्ने कि नगर्ने भनेर मूल्याङ्कन गर्न ढाका पुगेको एक दिनपछि हसिनाका दस्तावेजहरू रद्द गर्ने कदमले उहाँको भविष्यको योजनालाई अन्योलमा पार्नसक्छ ।
सरकारी जागिरमा व्यवस्था गरिएको आरक्षण दुरूपयोग गरिएको भन्दै यसको विरोधमा सुरू भएको विद्यार्थी आन्दोलनमा सहभागिता बढ्दै जाँदा पूर्व प्रधानमन्त्री हसिना आफ्ना अति निकटस्थ सदस्यसहित हेलिकप्टरमार्फत् नयाँदिल्लीमा शरण लिन पुग्नुभएको थियो । आन्दोलनकारी ढाकास्थित उहाँको सरकारी निवासमा पुगी तोडफोडसमेत गरेका थिए ।
उहाँको १५ वर्ष लामो शासनको अन्त्यमा भएको आन्दोलनका क्रममा ४५० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो ।
गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै हसिनाको राहदानी र सरकारका पूर्वमन्त्री तथा पूर्वसांसदको राहदानी रद्द गर्नुपर्ने जनाएको छ ।
यसले हसिनालाई शरण दिइरहेको क्षेत्रीय शक्तिराष्ट्र भारतका लागि पनि कूटनीतिक दुविधा खडा गरेको छ । भारतले हसिनालाई शरण दिएपनि प्रधानमन्त्री मोदीले बङ्गलादेशका नयाँ नेता नोबेल पुरस्कार विजेता मोहम्मद युनुसलाई पनि समर्थन गर्नुभएको छ ।
बङ्गलादेशको गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “पूर्वप्रधानमन्त्री, उनका सल्लाहकार, पूर्व मन्त्रीमण्डल र विघटित राष्ट्रिय सभाका सबै सदस्य आफ्नो ओहदाका आधारमा कूटनीतिक राहदानीका लागि योग्य थिए ।”
“यदि उनीहरूलाई पदबाट हटाइएको वा अवकाश दिइएको अवस्थामा उनीहरूको र उनीहरूका पति वा पत्नीको कूटनीतिक राहदानी रद्द गर्नुपर्नेछ,” विज्ञप्तिमा भनिएको छ ।
ढाकाका नयाँ अधिकारीहरूले हसिना र उहाँको कार्यकालमा अन्य पूर्व उच्च अधिकारीहरूले विशेष राहदानीका लागि आवेदन दिन सक्ने तर ती कागजातहरू स्वीकृतिमा निर्भर रहेको बताएका छन् ।
“माथि उल्लेखित व्यक्तिले सामान्य राहदानीका लागि नयाँ आवेदन दिँदा दुई वटा सुरक्षा निकायले राहदानी जारी गर्नका लागि आफ्नो आवेदन स्वीकृत गर्नुपर्नेहुन्छ,” मन्त्रालयले भनेको छ।
हसिनाको सरकारमाथि विपक्षी नेता तथा कार्यकर्ता र सर्वसाधारणमाथि व्यापक दुव्र्यवहार गरेको आरोप लागेको छ । यसमा राजनीतिक विरोधीहरूको सामूहिक हिरासत र गैरन्यायिक हत्या पनि समावेश छ ।
संयुक्त राष्ट्रसङ्घको मानवअधिकार कार्यालयले गत साता एक प्रारम्भिक प्रतिवेदनमा सुरक्षा बलले अनावश्यक र असमान बल प्रयोग गरेको भन्ने बलियो सङ्केत र थप स्वतन्त्र अनुसन्धानको खाँचो रहेको बताएको थियो ।
युनुसले आफ्नो प्रशासनले संयुक्त राष्ट्रसङ्घका अनुसन्धानकर्तालाई आवश्यक पर्ने सबै सहयोग उपलब्ध गराउने बताउनुभएको छ ।
प्रर्वप्रधानमन्त्री हसिनाले गठन गरेको बङ्गलादेशी युद्ध अपराध न्यायाधिकरणले हालैको अशान्तिलाई लिएर आफ्ना संस्थापकमाथिको ‘सामूहिक हत्या’ सम्बन्धमा तीनवटा मुद्दामा अनुसन्धान अगाडि बढाएको जनाएको छ ।
‘विदेशमा दुःख गर्नुभन्दा बुकीमै भैँसी पाल्दा सजिलो लागेको छ’
म्याग्दी, ७ भदौ : परम्परादेखि भेडा पाल्दै आएका बागलुङको तमानखोला गाउँपालिका–५ खुङखानीका ७२ वर्षीय रनबहादुर विकले भेडाबाख्राको संख्या घटाउदै जानु भएको छ । पूर्वी रुकुम, बागलुङ र म्याग्दीमा फैलिएको ढोरपाटन शिकार आरक्षको गर्पाछोडाको बुकी पाटनमा गत साउन अन्तिम साता भेटिएका विकले ३२ वर्र्षदेखि पाल्दै आएको भेडाको गोठ बेच्ने योजना रहेको जानकारी दिनुभयो ।
“पहिले एक सय भेडाबाख्रासँगै आठ÷दश वटा गाईभैँसीको गोठ लिएर बुकी र बेशी गर्दथे । गाईभैँसी बेचेर सकिए । ४० भेडाबाख्रा छन,” उहाँले भन्नुभयो “छोराछोरीले यो पेशा रोजेनन् । विदेश तिर लागे । बढ्दो बुढ्यौलीसँगै हिडडुल गर्न गाहे हुन थालेकाले म पनि भएका भेडाबाख्रा बेचेर विश्राम लिने योजनामा छु ।”
ढोरपाटनका ७४ वर्षीय लक्षुमन थापाले पनि भएका भैँसीहरु छोराछोरीलाई दिएर आउँदो वर्षदेखि बुकी नउक्लने तयारी गर्नुभएको छ । “छोराछोरी विदेश र सरह पसेपछि हामी बुढाबुढीले घर कुर्नेकी गोठ कुर्ने भएको छ,” उहाँले भन्नुभयो “घुम्ति गोठमा गाईभैँसी पाल्ने चलन हाम्रो पुस्तासँगै हराउने भयो ।” १५–२० वर्षअघि बर्खामा गाईभैसी, भेडाबाख्रा र घोडाले भरिने गर्पाछेडा, दहखर्क, टिकाधुरी लगायत ढोरपाटनका बुकीका खर्कहरु अहिले रित्ता हुदै गएका थापाले बताउनुभयो । खुङखानीका रनबहादुर र ढोरपाटनका लछुमन थापा जस्तै ६० वर्ष उमेर पुगेका वृद्धहरुले धानेको घुम्ती गोठहरु उनिहरुको बढ्दो उमेरसँगै घट्दै गएका छन् । युवा र बयस्क उमेरका गोठाला भेटिदैनन् ।
वैदेशिक रोजगारी प्रतिको आकर्षण, स्वदेशमै मेहनत गर्नुपर्छ भन्ने भावना र काम गर्ने वातावरण नहुँदा जिविकोपार्जनसँगै आम्दानीको राम्रो स्रोत घुम्ती पशुपालन पेशा संकटमा परेको ढोरपाटनको छेन्तुङमा बस्दै आउनुभएका धवलागिरी गाउँपालिका–७ ताकमका पुर्व प्रधानपञ्च बिष्णुबहादुर थापाले बताउनुभयो ।
८३ वर्षीय थापाका अनुसार धारापानी, ताकम, मुना, मुदी, लुलाङबाट केही वर्षयता बर्खामा बुकीमा गोठ लैजान छाडेका छन् । गर्मी बढेपछि हिमाली क्षेत्रको जडिवुटीयुक्त चरन क्षेत्रको पोषीलो घाँस खुवाउन बुकीमा पशु चराउन लैजाने चलन छ । बुकीमा चरेका पशुहरु निरोगी, मोटा हुने, दूध धेरै दिने र मासु स्वादिष्ट हुने थापाले बताउनुभयो ।
असारदेखि भदौसम्म लेकाली क्षेत्रमा रहने पशु गोठहरु चिसोसँगै बेशीतर्फ झार्ने चलन छ । अस्थायी टहरामा महिनौसम्म घरपरिवारसँग सम्पर्क बिहिन भएर पशुहरुसँगै बुकीमा बस्न नयाँ पुस्ताले दुःख र झञ्जट मानेका छन् । पाँच वर्ष साउदीमा काम गरेर फर्किएर पुख्यौली गोठाला पेशालाई निरन्तरता दिएका ढोरपाटनका शक्तिबहादुर कायत भने जहाँ गएपनि दुःख नगरी आम्दानी नहुने भएकाले विदेश भन्दा गोठनै राम्रो भएको अनुभव सुनाउनुहुन्छ ।
“दुखः त यहाँ भन्दा विदेशमा कति हो कति,” उहाँले भन्नुभयो “मलाई खाडीको तुलनामा बुकीमै भैँसी पाल्दा सजिलो लागेको छ ।” २१ भैँसी पालेका शक्तिबहादुरले घ्यु, रागा भैसी, छुर्पी बेचेर छ जना छोराछोरी पढाउने र घरखर्च चलाउने गरेको बताउनुभयो ।
सवारी चलाएरै बहिनीलाई डाक्टर बनाउने किशोरीको सपना
टीका खतिवडा
मङ्गलबारे (इलाम), ७ भदौः छेकी शेर्पा १९ वर्षकी हुनुभयो । उहाँ इलामको कच्ची सडकमा सवारी चलाउनुहुन्छ । साहस र आँटिलो स्वभावकी छेकीले डेढ वर्षयता निरन्तर बोलेरो जिपमा यात्रु बोक्ने काम गर्दै आउनुएको छ ।
त्यसो त सवारी चलाउने महिला नभएका हैनन् । तर पहाडी जिल्लाको कच्ची बाटोमा सार्वजनिक यातायातको साधन चलाउने महिलाको सङ्ख्या नगण्य छ । यात्रुसहितको सवारी चलाउने उहाँ इलाम जिल्लाको मात्र नभई पूर्वी पहाडीकै एकमात्र किशोरी हुनुहुन्छ ।
पहाडको कच्ची सडकमा खोलानाला र भिरालो सडकमा गाडी चलाउन जो कोहीले हिम्मत गर्दैनन् । घरपरिवारले गाडी खरिद गरिदिएपछि उहाँले गाडी चलाउन थाल्नुभएको हो । बोलेरो डबल क्यापको जिपमा यात्रु र भारीसहित उहाँ बिहान इलाम सन्दकपुरको जमुनास्थित सिस्नेबाट इलाम सदरमुकाम जानुहुन्छ । दिउँसो सदरमुकाम तथा बिब्ल्याँटेबाट जमुना फिर्ने गर्नुहुन्छ ।
उहाँको बुवा पहिलेदेखि सवारी चालकको काम गर्नुहुन्थ्यो । घरमा तीन छोरी भएका कारण बुवाकै सहयोगमा चालक बनेको उहाँ बताउनुहुन्छ । सुरुमा बुवाले नजिकैको दूरीमा गाडी चलाउन सिकाएपछि उहाँले विस्तारै राम्रोसँग चलाउन थाल्नुभयो । छोरीले राम्रोसँग गाडी चलाउन जानेपछि छोरीलाई चलाउन दिएको फुर्वा शेर्पाले बताउनुभयो ।
“मलाई बुवाले नै गाडी चलाउन सहयोग गर्नुभएको छ । परिवारको साथ पाएरै म राम्रोसँग गाडी चलाउन सक्ने र यही पेसा गर्नसक्ने भएकी छु”, उहाँले भन्नुभयो । छेकीले गाडी चलाउँदा केही यात्रुहरुले सुरुमा विश्वास गर्दैनथे । उहाँले चलाएको गाडीमा चढ्नै मान्दैनथे । तर, हिजोआज यात्रुहरुले छेकीमाथि यति विश्वास गर्न थाले कि उहाँले चलाएको गाडी खोजी खोजी चढ्न थालेका छन् ।
उहाँले बर्खायाममा पनि खर्च कटाएर मासिक रु ३० हजारभन्दा बढी कमाउने गर्नुभएको छ । बर्खामा हिलो बाटोका कारण गाडी मर्मत धेरै गर्नुपर्ने हुँदा पैसा थोरै बच्ने गरेको छ । हिउँद याममा धेरै आम्दानी हुने गरेको उहाँको भनाइ छ । सिजनमा मासिक रु एक लाख हाराहारी कमाउने गरेको सो क्षेत्रका सवारी चालकहरु बताउँछन् ।
कक्षा १२ सम्म अध्ययन गर्नुभएकी उहाँले पढ्दै गरेको समयमा पनि गाउँमा गाडी कुदाएको स्थानीयको भनाइ छ । उहाँले गाडी चलाएरै बहिनीलाई डाक्टर बनाउने सपना देख्नुभएको छ । “दाजुभाइ नहुँदा सानैदेखि हामीले छोरा र छोरी दुवैको काम गर्दै आएका छौँ”, उहाँले भन्नुभयो । रोजगारीको खोजीमा धेरै नेपाली महिला विदेसिने गरेका छन् । तर महिलाले गाउँमै सवारीचालकको काम पनि गर्न सकिने काम रहेछ भनेर उदाहरण दिनुभएको छ छेकीले ।
जोखिमपूर्ण सडकमा पनि एकदमै सरल तरिकाले गाडी चलाउने गरेकाले यात्रुहरूले उहाँको गाडी रोज्ने गरेको बताउँछन् । “केही पुरुष चालकहरुले मादक पदार्थ सेवन गरेर पनि सवारी चलाएको पाएका छौँ”, स्थानीय यात्रु दावा शेर्पाले भन्नुभयो, “तर उहाँले त मदिरा सेवन समेत नगर्ने हुँदा हामी ढुक्कले यात्रा गर्छौँ ।”
भारतीय नम्बर प्लेटको बस मर्स्याङ्दी नदीमा खस्यो, उद्धार जारी
दमौली (तनहुँ), ७ भदौ : पृथ्वीराजमार्ग अन्र्तगत तनहुँको आँबुखैरेनी नजिकै भारतीय नम्बर प्लेटको बस मस्याङ्दी नदीमा बस खसेको छ । आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐना पहराबाट यात्रुबाहक बस केहीबेर अघि मस्र्याङ्दी नदीमा खसेको हो ।
पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको बस नदीमा खसेको तनहुँका प्रहरी नायव उपरीक्षक दीपककुमार रायले जानकारी दिनुभयो । उहाँका अनुसार बसमा भारतीय पर्यटक रहेका थिए । यात्रुको सङ्ख्या भने एकिन हुन सकेको छैन ।
अहिले प्रहरी टोली घटनास्थलमा पुगेर यात्रुको उद्धार गरिरहेको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।






























