बाढीले गाडी बगायो, विद्यालय र ज्येष्ठ नागरिक आश्रमको भवनमा क्षति
म्याग्दी, ९ भदौः शनिबार रातिको मुसलधारे वर्षाले बेनीबजार आसपासका क्षेत्रमा बाढीबाट प्रभावित भएका छन् । यहाँका विद्यालय, ज्येष्ठ नागरिक आश्रमको भवन, सडकलगायत भौतिक संरचनामा क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार पोखराबाट बेनीतर्फ आइरहेकोे ग२च ९३५५ नम्बरको बोलेरो जिपलाई बागलुङ–बेनी सडकअन्तर्गत बेनी नगरपालिका–१ हुलाकेको खोल्साको बाढीले बगाएको छ । यात्रु र चालकले भागेर ज्यान जोगाएका छन् । बेनी नगरपालिका–९ मा रहेको जडभरत संस्कृत माध्यमिक विद्यालयको पाँचकोठे भवनको कक्षाकोठाभित्र बाढी पसेर पुरिएको छ ।
सशस्त्र प्रहरी बल आश्रित गुल्म गलेश्वरका प्रहरी नायब उपरीक्षक नवराज नेपालका अनुसार बेनी–जोमसोम सडकमा पहिरो खसेपछि खोल्सा र नालीको पानी बस्तीतर्फ सोझिँदा विद्यालयसँगै रहेको पुलहपुलत्स्य अन्नक्षेत्र र गलेश्वर ज्येष्ठ नागरिक आश्रमको भोजनालयमा बाढी पसेको छ । राति नै बाढी तर्काएका सशस्त्र प्रहरी, स्थानीयवासी बिहानैदेखि कक्षाकोठा र भोजनालयमा पसेको बाढी पन्छाउन जुटेका प्रनाउ नेपालले बताउनुभयो ।
बेनी नगरपालिका–८ कालीपुल बसपार्क र प्रवेशद्वार क्षेत्रमा पनि खोल्सामा आएको बाढीले क्षति भएको छ । बाढी र पहिराका कारण म्याग्दीका प्रमुख सडक अवरुद्ध भएका छन् । बागलुङ–बेनी सडक हुलाकेमा, बेनी–जोमसोम सडक गलेश्वरमा, बेनी–दरबाङ सडक अग्निखेत, सिङ्गा, घुमाउनेमा, मालढुङ्गा–बेनी सडक जलजला गाउँपालिकाको विभिन्न ठाउँमा खसेको पहिराका कारण अवरुद्ध बनेको प्रहरी निरीक्षक राजन रायमाझीले बताउनुभयो । सम्बन्धित स्थानीय तह, पूर्वाधार विकास कार्यालय, बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत पहिरो पन्छाउने र सडक मर्मत गरेर यातायात सञ्चालनका लागि समन्वय भएको प्रहरी निरीक्षक रायमाझीले बताउनुभयो ।
जिल्ला सदरमुकाम बेनीदेखि ग्रामीण क्षेत्र, छिमेकी जिल्ला बागलुङ, पर्वत र मुस्ताङसँगै म्याग्दीको यातायात सम्पर्कविच्छेद भएको छ ।
महिला उद्यमीबाट उत्पादित सामग्रीको बिक्री तथा प्रदर्शनी
त्रिशूली (नुवाकोट), ९ भदौः तीज पर्वका अवसरमा नुवाकोट उद्योग वाणिज्य सङ्घले ‘महिला उद्यमीले उत्पादन गरेको कृषि उब्जनी तथा हस्तकलाको सामग्री बिक्री तथा प्रदर्शनी’मा राखेको छ ।
तीज विशेष कार्यक्रमसहित जिल्लाका किसान तथा उद्यमी महिलाले तयार गरेको स्थानीय उत्पादनलाई शनिबारदेखि प्रदर्शनी तथा बिक्री कक्षमार्फत उद्यमी र उपभोक्तालाई प्रत्यक्ष लाभ पुग्ने कार्यक्रम सञ्चालनमा ल्याएको सचिव मधुसुदन थपलियाले जानकारी दिनुभयो ।
सचिव थपलियाका अनुसार तीजपर्व सुरु हुनुभन्दा धेरैअघिदेखि उत्पादित सामग्रीको बिक्री तथा प्रदर्शनीबाट उद्यमी र उपभोक्ता दुवै पक्ष लाभान्वित भएका छन् । “प्रदर्शनीमा हस्तकला, साना तथा घरेलु उद्योगबाट उत्पादित ढाका सरसफाइलगायत दैनिक उपभोगका सामग्रीको कारोबार उत्साहजनक छ ।” सहुलियतमा स्थानीय उत्पादन उपलब्ध भएकामा महिला उद्यमीलाई प्रोत्साहन मिलेको विदुर नगरपालिका–२ शेराका सरस्वती अधिकारीले बताउनुभयो ।
अरनिको र हेलम्बु राजमार्ग अवरुद्ध
काभ्रेपलाञ्चोक, ९ भदौः अरनिको राजमार्गअन्तर्गत काभे्रपलाञ्चोकको भुम्लु गाउँपालिका–८ बन्देउमा र हेलम्बु राजमार्गको पाँचखाल नगरपालिका–४ स्थित फेदीमा सुक्खा पहिरो खस्दा अरनिको र हेलम्बु राजमार्ग अवरुद्ध भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान पहिरो खस्दा दुवै राजमार्ग अवरुद्ध भएका हुन् । बाटो खुलाउने प्रयास जारी छ । वैकल्पिक मार्गबाट साना सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको उक्त कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताउनुभयो । उक्त राजमार्गको जिरोकिलो–दोलालघाट खण्ड पटकपटक अवरुद्ध हुँदै आएको छ ।
मानसरोवर कैलास जाने राजमार्ग अवरुद्ध
रसुवा, ८ भदौः वर्षाका कारण चीनतर्फको सडकमा क्षति हुँदा मानसरोवर कैलास दर्शनका लागि जाने दर्शनार्थीहरू प्रभावित भएका छन् ।
रसुवाका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले रसुवागढीको मितेरिपुलबाट पाँच किलोमिटर उत्तर चिनियाँ भूभागअन्तर्गत केरुङ खोलामा आएको बाढीले राजमार्ग कटान गर्दा सवारी आवागमन बन्द भएको जानकारी दिनुभयो । यातायातका साधन बन्द भएपछि कैलासबाट नेपाल फर्किन लागेका करिब पाँच सय यात्रु केरुङमा र तीर्थ जाँदै गरेका एक सय यात्रु रसुवागढीमा रोकिएका छन् । उहाँहरूको सहयोगार्थ नेपाल प्रहरी र सशस्त्र प्रहरी बल २० नं गुल्म रसुवाले समन्वय गरिरहेको प्रजिअ खनालले जानकारी दिनुभयो ।
राजधानी काठमाडौँदेखि केरुङसम्म करिब एक सय ७१ किमी दूरी रहेको बताइएको छ । चाँडोे राजमार्ग खुलाई कैलास दर्शनका लागि हिँडेका यात्रुलाई सहज पारिदिन केरुङ प्रशासकलाई अनुरोध गरिसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । टिमुरे क्षेत्रमा रोकिएका यात्रुहरूको सहयोगका लागि नेपाल प्रहरीले समन्वय गरिरहेको प्रहरी नायब उपरीक्षक केशव भट्टराईले जानकारी दिनुभयो ।
बागमती नदी जोगाउन सबै लागौँ : उपप्रधानमन्त्री सिंह
ललितपुर, ८ भदौ : उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले देशको गौरव बागमती नदी सफा राख्न र जोगाउन आफ्नो क्षेत्रबाट सबै लाग्नुपर्ने बताउनुभएको छ ।
ललितपुरमा आज नेपाल नदी संरक्षण संस्था तथा फ्रेन्ड्स क्लब कुपण्डोलको संयुक्त रुपमा आयोजना गरेको महा जलजात्राको समापन कार्यक्रममा उपप्रधानमन्त्री सिंहले सहरीकरण तीव्र रुपमा बढेकाले त्यसको असर बागमती नदीमा परेको हुँदा यसको दीर्घकालीन असर समाधान गर्ने विषयमा सबैले सोच्नुपर्ने उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “बागमती नदी वर्षात्को समयमा बगे पनि सुक्खा समयमा निकै दुर्घन्धित हुने हुँदा यस्तो समस्याको समाधन गर्ने प्रयास सरकारको तर्फबाट भइरहेको छ ।”
बागमती नदी सफा राख्न र बागती जोगाउन विभिन्न समाजसेवी तथा अभियन्ता सधँै सक्रिय रुपमा लागेकामा उपप्रधानमन्त्री सिंहले खुसी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “बागमती सभ्यतालाई जोगाउन र नदी सफा राख्न जुटेका सबै संस्था र अभियन्तासँग सहरी विकास मन्त्रालय सहकार्य गर्न चाहन्छ ।”
उपप्रधानमन्त्री सिंहले बागमती नदीको दुर्गन्धले कति असर गर्छ भन्ने आफूले पनि महसुस गरेको कारण लामो सभ्यता बोकेको बागमती नदीलाई दुर्घन्धरहित र हरियाली बनाउन सरकारले प्रयास गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “तीव्र सहरीकरणको कारण वर्षौँदेखि दुर्घन्धित अवस्थामा रहेको बागमती नदीको समस्या तत्काल समाधान नभए पनि समस्या समाधानका लागि सरकार लागिपरेको छ ।”
ललितपुरको बागमती नदी करिडोरमा आयोजित बागमती नदी महोत्सव (२१ औँ शताब्दीको महोत्स्व) महा—जल जात्रा २४औँ संस्करणमा मैत्री जल विहार, बागमती सभ्यता संवादलगायत कार्यक्रम आयोजना गरिएका छन् ।
तनहुँ दुर्घटनाः मृतकको शव भारत पठाइयो
भरतपुर (चितवन), ८ भदौः तनहुँको ऐनापहरामा बस दुर्घटनामा परेर मृत्यु भएकाहरूको शव भारत पठाइएको छ । भरतपुर अस्पतालमा शव परीक्षण सकेपछि भारतीय एयरफोर्सको जहाजबाट आज अपराह्न भरतपुर विमानस्थलबाट ती शव भारत पठाइएको हो ।
मृतक २७ मध्ये २५ जनाको शव जहाजबाट पठाइएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । उहाँका अनुसार बसका चालक र सहचालकको शव भने स्थलमार्गबाट गोरखपुरतर्फ पठाइएको छ ।
मृतकको शव लिन भारतकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षानिखिल खड्से भरतपुर आउनुभएको थियो । मृतक यात्रुका शव शुक्रबार राति आँबुखैरेनीबाट भरतपुर ल्याइएको प्रजिअ यादवले बताउनुभयो । उहाँका अनुसार पशुपतिनाथ दर्शन गर्न जाँदै गरेको भारतीय पर्यटक बोकेको बस शुक्रबार बिहान तनहुँको आबुखैरेनी नजिकै सडकबाट मस्र्याङ्दी नदीमा खस्दा २७ पर्यटकको मृत्यु भएको हो । मृतकमध्ये १५ महिला, ११ पुरुष र एकजना चार वर्षीया बालिका रहेकी छन् । घाइते हुनेमा छ पुरुष र १० महिला छन् ।
प्रहरीका अनुसार बसमा ४३ जना सवार थिए । घाइतेहरूको काठमाडौँमा उपचार भइरहेको छ । मृतक र घाइते भारतको महाराष्ट्रको जलगाउँ जिल्लास्थित भुसावल गाउँका रहेका प्रजिअ यादवले जानकारी दिनुभयो । पोखराबाट काठमाडौँ जाँदै गरेको युपी ५३ एसटी ७६२३ नम्बरको बस आँबुखैरेनी नजिकैबाट मस्र्याङ्दीमा खसेको थियो । दुर्घटनालगत्तै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले उद्धार गरेका थिए ।
नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले भारत सरकारका राज्यमन्त्री खड्सेलाई भरतपुर विमानस्थलमा भेटी सो घटनाप्रति दुःख व्यक्त गर्नुभएको थियो ।
तालिबानद्वारा महिलालाई सार्वजनिक रुपमा बोल्न र अनुहार देखाउन प्रतिबन्ध
काबुल, ८ भदौ (रासस / एएनआई) : तालिबान सरकारको मन्त्रालयले महिलालाई सार्वजनिक रुपमा बोल्न र अनुहार देखाउन प्रतिबन्ध गर्ने नयाँ कानून लागु गरेको ग्लोबल न्यूजले जनाएको छ । यो कानुनले अफगानिस्तानमा महिलाको जीवन अझ सीमित गर्ने भएको छ ।
अफगानिस्तानमा तालिबानको कब्जापछि सन् २०२१ मा स्थापना भएको “सद्गुणको प्रचार र दुराचारको रोकथाम” मन्त्रालयले बुधबार नयाँ कानुन जारी गरेको हो ।
एक सय १४ पृष्ठको कानुनी दस्तावेजले अफगानिस्तानको सार्वजनिक जीवनका पक्षहरूलाई समेटेको छ ।
मन्त्रालयका प्रवक्ता मौलवी अब्दुल गफर फारूकले बिहीबार भन्नुभयो “ हामी आश्वासन दिन्छौं कि यो इस्लामिक कानूनले सद्गुणको प्रवर्द्धन र दुराचार उन्मूलनमा ठूलो मद्दत गर्नेछ ।”
दस्तावेजको धारा १३ मा महिलाले सार्वजनिक रूपमा प्रस्तुत हुँदा कसरी लुगा लगाउनु पर्छ र कस्तो व्यवहार गर्नुपर्छ भन्ने कुराको व्याख्या गरिएको छ ।
महिलाले आफू प्रलोभनमा नपर्न र अरूलाई प्रलोभनमा नपार्न सार्वजनिक रूपमा प्रस्तुत हुँदा अनुहारसहित आफ्नो सम्पूर्ण शरीर ढाक्न आवश्यक रहेको नयाँ कानुनले जनाएको छ । महिलाहरुले सामान्यतया लगाउने हिजाब जसले कपाल र घाँटी मात्र ढाक्छ अब नयँ कानुनअनुसार स्वीकार्य नभएको ग्लोबल न्यूजले जनाएको छ ।
महिलाको आवाज बढी ‘लालाहित’ हुने व्याख्या गर्दै नयाँ कानुनले अब महिलालाई सार्वजनिक रूपमा गाउन वा चर्को स्वरमा बोल्न निषेध गरेको छ ।
महिलालाई रगत वा विवाहद्वारा सम्बन्धित नभएका पुरुषलाई हेर्ने अनुमति नभएको व्याख्या नयाँ कानुनले गरेको छ ।
यी नियमहरू उल्लङ्घन गर्दा सजायस्वरुप सम्पत्ति जफत वा तीन दिनसम्म हिरासतमा राख्न सकिने चेतावनी दिइएको छ । मन्त्रालयले पहिले नै समान नैतिक मापदण्डहरू लागू गर्दै यसको उल्लङ्घनका लागि हजारौंलाई हिरासतमा लिएको छ ।
ह्युमन राइट्स वाचको महिला अधिकार विभागका सहयोगी निर्देशक हिथर बारले नयाँ नियमको टिप्पणी गर्दै भन्नुभयो “यी नियमहरू पहिले नै थिए तर औपचारिक थिएनन्, अब औपचारिक बनाइएको छ । मलाई लाग्छ यो हामीले विगत तीन वर्षदेखि देखिरहेका कुराको सङ्केत हो, दमनको क्रमिक वृद्धि हो ।”
तालिबानले अफगानिस्तान कब्जा गरेदेखि महिलाको स्वतन्त्रतामा कडा प्रतिबन्ध लगाउदै आएको छ । सन् २०२२ मा तालिबानले महिलाहरूलाई छैटौँ कक्षाभन्दा माथि विद्यालय जानबाट प्रतिबन्ध लगाएको थियो ।
त्यसैगरी सन् २०२२ मा तालिबानले महिलालाई गैरसरकारी संस्था (एनजिओ)मा काम गर्न प्रतिबन्ध लगाएको थियो । ग्लोबल न्यूजसँग कुरा गर्ने एक महिलाले एनजिओमा जागिर गुमाएपछि आफ्नो परिवार गरिबीमा डुबेको बताउनुभएको छ ।
“म मेरो परिवारको आर्थिक भार बोक्ने एकमात्र आधार हुँ । हामी परिवारमा चार जना मात्रै छौँः म, मेरी बहिनी र मेरा आमाबाबु । मेरो बुबा अहिले बिरामी हुनुहुन्छ । हामीलाई बिहान बेलुका खान पनि समस्या छ”, उहाँले भन्नुभयो ।
महिलामाथि लगाइएको नयाँ प्रतिबन्धका अतिरिक्त बुधबार पारित भएको कानुनले सङ्गीत बजाउन पनि निषेध गरेको छ । यसले पुरुषलाई दाह्री काट्न पनि निषेध गरेको छ । यस कानुनले चालकहरूलाई पुरुष अभिभावकबिना महिलालाई ओसारपसार गर्न निषेध गरेको छ ।
गत महिना संयुक्त राष्ट्रसङ्घको एक प्रतिवेदनले मन्त्रालयले आफ्नो आदेश र कार्यान्वयन विधिमार्फत अफगानीबीच डर र धम्कीको वातावरणलाई बढावा दिइरहेको सङ्केत गरेको थियो ।
तालिबानले संयुक्त राष्ट्रसङ्घको प्रतिवेदनलाई अस्वीकार गरेको छ ।
रूस र युक्रेनबीच २३० युद्धबन्दी आदानप्रदान
किएभ, युक्रेन, ८ भदौ (रासस/एएफपी) : रुसको कुस्र्क क्षेत्रमा किएभले अचानक आक्रमण गरेको दुई साता नबित्दै रूस र युक्रेनले शनिबार २३० जना युद्धबन्दीको आदानप्रदान गरेको घोषणा गरेका छन् । आदानप्रदानमा दुबैतर्फका बराबर युद्धबन्दी रिहा भएका मध्यस्थकर्ता संयुक्त अरब इमिरेट्स (युएई) ले जानकारी गराएको छ ।
कुस्र्कमा युक्रेनले आफ्नो आक्रमण बढाउँदै गर्दा र रूसले पूर्वी युक्रेनी शहरलक्षित आक्रमणको तयारी गरिरहेको समाचार आइरहेका समय यो आदानप्रदान भएको हो । युक्रेनी स्वतन्त्रता दिवसमा पनि यस्तो आदानप्रदान भएको थियो ।
दुवै देशले कैदी अदलाबदली सम्झौतामा मध्यस्थता गरेको युएईप्रति आभार प्रकट गरेका छन् ।
“हाम्रा अन्य ११५ देशभक्त सुरक्षाकर्मी आज घर फर्किसकेका छन्,” युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भन्नुभयो । “यी सैनिकहरू नेशनल गार्ड, आम्र्ड फोर्सेज, नेभी, स्टेट बोर्डर गार्ड सर्भिसका सैनिक हुन्,” उहाँले युक्रेनको झन्डा बेरेर बसेका मानिसहरूको फोटोसहित जारी गरेको सन्देशमा भन्नुभएको छ ।
किएभले गत अगष्ट ६ मा भएको कुस्र्क आक्रमणमा सयौं रूसी सैनिकलाई बन्धक बनाएको यसअघि बताएको थियो ।
मस्कोले उक्त आदानप्रदानको पुष्टि गर्दै कुस्कमा बन्दी बनाइएका ११५ सैनिकलाई फिर्ता गरिएको जनाएको छ ।
रूसी रक्षा मन्त्रालयले भनेको छ, “वार्ता प्रक्रियाको परिणामस्वरुप कुस्र्क क्षेत्रमा बन्दी बनाइएका ११५ जना रूसी सैनिकलाई किएभ शासनको नियन्त्रणमा रहेको इलाकाबाट फिर्ता गरिएको छ ।
“ती सैनिकहरू अहिले छिमेकी बेलारूसमा रहेका छन्, उनीहरूलाई ‘मनोवैज्ञानिक–चिकित्सा सहायता’ प्राप्त भइरहेको छ र चाँडै नै उनीहरूलाई स्वदेश ल्याइनेछ,” मन्त्रालयले भनेको छ ।
युएईले रूसी सङ्घ र गणतन्त्र युक्रेनबीच नयाँ बन्दी आदानप्रदानमा सफलतापूर्वक मध्यस्थता गरेको जनाएको छ ।
किएभ र मस्कोबीच दुई वर्षभन्दा लामो युद्ध जारी रहेपनि युद्धका क्रममा विपक्षीको नियन्त्रणमा गएका कैदीहरूको पटक पटक आदानप्रदान पनि हुँदै आएको छ ।
ताप्लेजुङ गोल्डकपः सिरहा फाइनमा
फुङलिङ (ताप्लेजुङ), ८ भदौः अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको आज भएको दोस्रो सेमिफाइनल खेलमा सहलेश फुटबल क्लब सिरहा फाइनलमा प्रवेश गरेको छ । चार–दुई गोलअन्तरले बिर्तामोड फुटबल क्लब झापालाई पछि पार्दैै सिरहा फाइनलमा प्रवेश गरेको हो ।
खेलको १८औँ मिनेटमा सहलेश फुटबल क्लबका खेलाडी जुना ग्लोरीले पहिलो गोल गरेका थिए । त्यस्तै प्रतिरक्षाका लागि खेल सुरु भएको ५६औँ मिनेटमा बिर्तामोड क्लबका खेलाडी सञ्जय सुब्बाले गोल गरेसँगै खेल बराबर भएको थियो ।
निर्धारित समयमा बराबर भएपछि १५ मिनेट समय थप गरिएको थियो । थप समयमा पनि गोल हुन नसकेपछि पेनाल्टीमा ४–२ गोलअन्तरले सिरहा फाइनलमा प्रवेश गरेको हो । सिराहाका खेलाडी जय गुरुङ, आदित्य शाक्य, सन्तोष खत्री र प्रवेश दनुवारले गोल गरेका थिए । त्यस्तै झापाका खेलाडी प्रदीप भण्डारी र रोहन कार्कीले मात्र गोल गर्दा खेल सिरहाको पक्षमा भएको थियो ।
झापाले विभागीय टिम त्रिभुवन आर्मीलाई र सिरहाले पाँचथरलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका हुन् । शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा ताप्लेजुङको सङ्घर्ष स्पोर्टिङ फुटबल क्लबलाई २–१ ले पराजित गर्दै सगरमाथा युथ क्लब मोरङ फाइनलमा प्रवेश गरेको छ । सोमबार मोरङसँग फाइनल खेलमा प्रतिस्पर्धा गर्नेछन् ।
विजेताले रु पाँच लाख र उपविजेताले रु दुई लाख ५० हजार पाँच सय ५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
आरोप पुष्टि नहुने गरी प्रमाण बुझाएको छु : सभापति लामिछाने
भरतपुर (चितवन), ८ भदौ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी प्रकरणमा आफू संलग्न नभएको कागजपत्र छानबिन समितिलाई बुझाएको बताउनुभएको छ ।
भरतपुर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले गोरखा मिडियासँग आफू संलग्नका बारेमा लागेको आरोप पुष्टि नहुने गरी प्रमाण बुझाएको बताउनुभयो । “आरोपका आधार तथ्य प्रमाणको छानबिनका लागि संसदीय समिति बनेको हो”, उहाँले भन्नुभयो, “त्यसलाई मैले आफूमाथि लागेको आरोपको स्पष्टिकरण दिने अवसरका रुपमा हेरेको छु ।”
सभापति लामिछानेले शुक्रबार छानबिन समितिलाई १० घण्टा लामो बयान दिनुभएको थियो । उहाँले जिबी राईको विषयमा बेलैमा राम्ररी थाहा पाउन नसक्नु आफ्नो कमजोरी रहेको बताउनुभयो । ग्यालेक्सी टिभीका अध्यक्ष राईको सम्पत्तिको स्रोतको विषयमा हेर्ने काम राज्यका निकायको रहेको उहाँको भनाइ थियो ।
“मैले त्यहाँ हेरेर, जानेर र बुझेरै काम गरेको थिएँ । छोडेर गएको डेढ वर्षपछि विभिन्न अनुसन्धानबाट जानकारी आएपछि मात्र थाहा भएको कुरा हो । त्यतिखेर थाहा भएको कुरा होइन । त्यतिखेरै आएको भए त्यतिखेरै थाहा हुन्थ्यो । कतिपय कुरा जतिखेर उजागर हुन्छ त्यतिखेरै हेरिन्छ”, सभापति लामिछानेले भन्नुभयो, ‘उजागर नहुँदा त्यसबारेमा थाहा नहुनु स्वभाविक हो ।”
सभापति लामिछानेले पार्टीका निलम्बित महामन्त्री मुकुल ढकालले लगाएको आरोपबारे समयले बताउँदै जाने उल्लेख गर्नुभयो ।





























