विष्णु माझीको तीज गीत ‘आइन आमा यो तीजमा...’ सार्वजनिक
गण्डकी, १० भदौः लोकप्रिय गायिका विष्णु माझीको तीज गीत ‘आइन आमा यो तीजमा...’ शनिबार युट्युबमा सार्वजनिक हुँदा साथ वरिष्ठ गीतकार राजेन्द्र थापाले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभयो, “गीत सुन्दा गीतले मजा दिन छाडेको धेरै भइसकेको यस बेलामा अचानक यो गीत ! अदभूत !”
तीज गीतका नाममा मौलाइरहेको विकृतिलाई निरुत्साहित गर्न माझीद्वारा स्वरबद्ध उक्त गीतलाई करोडौँ ‘भ्यूज’ पुग्ने गरी दर्शक÷स्रोताले साथ दिनुपर्ने उहाँको भनाइ थियो । गायक एवं सङ्गीतकार बसन्त थापा माझीको तीज गीत आउँदा उत्साहित हुनुभयो । “बल्ल तीज आए झैँ भो, प्यासीले पानी पाए झैँ भो”, सामाजिक सञ्जालमा लेख्दै उहाँले भन्नुभयो । उहाँको पोष्टमा टिप्पणी गर्दै रमेश क्षेत्रीले लेख्नुभएको छ, “यसलाई भनिन्छ तीज गीत, त्यसैले आजबाट मेरा लागि तीज सुरु भयो ।”
सुनिता क्षेत्रीको टिप्पणी पनि उस्तै छ, “साँच्चै हो नि विष्णु माझीको गीत नआएसम्म तीज आएजस्तो हुँदैन ।” ‘सपना म्यूजिक इण्ड्रष्टिज’ युट्युब च्यानलबाट सार्वजनिक उक्त गीत लोकसङ्गीतप्रेमीको रोजाइमा परेको छ । सार्वजनिक भएको दुई दिन नबित्दै उक्त गीतको म्यूजिक भिडियो युट्युबमा ३१ लाखभन्दा बढी पटक हेरिएको छ । गीतको सर्वत्र चर्चा र प्रशंसा भइरहेको छ ।
तीज पर्वको परम्परा र मौलिकतालाई पछ्याएका कारण उक्त गीत धेरैले रुचाएको गायक तथा सङ्गीतकार आशिष अविरलले बताउनुभयो । “महिलाको संवेदना र मनोविज्ञान गीतमा झल्किएको छ, समग्रमा गीतको मौलिक पक्ष सशक्त छ, गायकीका हिसाबले विष्णु माझी अब्बल हुनुहुन्छ”, उहाँले भन्नुभयो, “तीज गीतको मुल प्रवृत्तिलाई यो गीतले पक्डेको छ ।”
विगत केही वर्षदेखि कतिपय तीज गीत विवादित हुने गरेका छन् । तीज गीतको विषयलाई लिएर राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले गायकगायिकालाई प्रतिबन्धलगाउनेसम्मको अवस्था सिर्जना भएको थियो । यस वर्षपनि दर्जनबढी तीज गीत विवादमा मुछिएका छन् ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रीता थापा मगरले तीज गीतमा देखिएको मौलिकताको खडेरीमा माझीको गीतले त्राण दिएको उल्लेख गर्नुभयो । उक्त गीतले पाएको चर्चा र प्रशंसालाई इङ्गित गर्दै उहाँले समाज सँधै स्तरीय सिर्जनाको खोजीमा रहने हुँदा गायिका माझीको गीत त्यही कोटीमा परेको बताउनुभयो । कलाकारितालाई धमिल्याएर क्षणिक लाभ लिनेले तीज गीतलाई विकृत पारिरहेका बेला विष्णु माझीको गीतले उनीहरु निरुत्साहित बनेको उहाँको बुझाइ छ ।
वरिष्ठ लोकगायिका हरिदेवी कोइराला तीज गीतमा महिलाले आफूले झेल्नुपरेका सामाजिक बन्धन, पारिवारिक अन्याय, अत्याचार आदि समेटिनुपर्ने मान्यता राख्नुहुन्छ । अन्धविश्वास र विसङ्गतपूर्ण व्यवहार तोडेर समानतामूलक समाज निर्माण गर्न तीज गीत सहयोगी बन्नुपर्ने उहाँको भनाइ छ ।
पौराणिककालदेखि तीज पर्व र गीतको बयान हुँदै आएको प्रसङ्ग जोड्दै उहाँले तीज गीतमा विशेष गरी नारी मुक्तिको आवाज मुखरित हुने गरेको स्मरण गर्नुभयो । बढ्दो व्यावसायिक बजार र अस्वस्थ प्रतिस्पर्धाले नेपाली सङ्गीतको मौलिकता गुम्दै जान थालेको कतिपय सङ्गीतकर्मी बताउँछन् । तीज गीतलगायत लोक गीतसङ्गीतमा भित्रिएको विकृति रोक्न स्वयं सर्जक÷कलाकारले स्वनियन्त्रण गर्नुपर्ने उनीहरुको भनाइ छ ।
माझीद्वारा स्वरबद्ध उक्त तीज गीतको शब्द र सङ्गीत दुवै सुन्दरमणि अधिकारीको हो । तीजमा माइत जान नपाएकी चेलीको मनोभावना गीतमा पाउन सकिन्छ । तीन वर्षअघि माझीको तीज गीत ‘चरी जेलैमा..’ चर्चित बनेको थियो । सार्वजनिकरुपमा देखा नपर्ने गायिका माझीले गुमनाम अवस्थामै नेपाली लोकसङ्गीतलाई अमर गीत दिइरहनुभएको विश्लेष गरिएको छ ।
‘किरात सिरीजङ्गा वर्णमाला’ सार्वजनिक
फिक्कल (इलाम), १० भदौः ‘किरात सिरीजङ्गा वर्णमाला’ सार्वजनिक गरिएको छ । याक्थुङ युवा मञ्च नेपालको तेस्रो केन्द्रीय परिषद् बैठक उद्घाटनको अवसरमा मञ्चद्वारा प्रकाशित उक्त वर्णमाला आज सार्वजनिक गरिएको हो । याक्थुङ युवा मञ्चका केन्द्रीय अध्यक्ष राजेन्द्र इधिङ्गो, मञ्चका सल्लाहकार मधुराज केरुङ, चुम्लुङ प्रदेश सल्लाहकार याम योङ्हाङ, चुम्लुङ इलाम अध्यक्ष बुद्धमाया सोङ्मी, चुम्लुङ इलाम सल्लाहकार बखतबहादुर आङ्देम्बेलगायतले संयुक्तरुपमा वर्णमाला सार्वजनिक गर्नुभएको हो ।
वर्णमाला सार्वजनिक हुनु किरात लिम्बु समुदायका लागि नयाँ इतिहास निर्माण भएको मञ्चका अध्यक्ष राजेन्द्र इधिङ्गोले बताउनुभयो । “किरात सिरीजङ्गा लिपिको उन्नयन र विकासका लागि हामीले पहिलोपटक वर्णमाला तयार गरेका छौँ,” अध्यक्ष इधिङ्गोले भन्नुभयो, “हामीले भाषा र लिपि संरक्षणमा नयाँ इतिहास रचेका छौँ ।”
किरात सिरीजङ्गा लिपि लिम्बु समुदायमा पहिलेदेखि अभ्यासमा रहेपनि किरात समुदायका अन्य जातिहरुले यही लिपि प्रयोग गर्न थालेपछि यसलाई ‘किरात सिरीजङ्गा लिपि’ नामाकरण गरी वर्णमालाको रुपमा पहिलो पटक प्रकाशन गरिएको याक्थुङ युवा मञ्चले जनाएको छ ।
पाकिस्तानमा सशस्त्र विद्रोहीद्वारा राजमार्गमा गाडी रोकी २२ जनाको हत्या
क्वेटा, पाकिस्तान, १० भदौ (रासस/एएफपी) : पाकिस्तानको दक्षिणपश्चिमी क्षेत्रमा बन्दुकधारीले सोमबार कम्तीमा २२ जनाको गोली हानी हत्या गरेको सरकारी अधिकारीहरूले बताएका छन् ।
सुरक्षा फौजले साम्प्रदायिक, जातीय र पृथकतावादी हिंसाविरुद्ध लडिरहेको बलुचिस्तान प्रान्तको मुसाखाइल जिल्लामा सोमबार बिहान उक्त आक्रमण भएको हो ।
मुसाखाइलका एक वरिष्ठ अधिकारी नजिबुल्लाह काकरले एएफपीसँग भन्नुभयो, “पञ्जाबलाई बलुचिस्तानसँग जोड्ने राजमार्गमा लडाकूहरूले धेरै बस, ट्रक र भ्यान रोक्दा भएको झडपपछि चलेको गोली लागी कम्तीमा २२ जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।”
उहाँले भन्नुभयो, “पञ्जाबबाट आउने र जाने सवारी साधनको निरीक्षण गरिएको र पञ्जाबबाट आएका व्यक्तिहरूको पहिचान गरी गोली हानिएको थियो ।”
काकरका अनुसार १९ जना पञ्जाबी र तीन जना बलोच सर्वसाधारण मारिएका छन् ।
जिल्लाका अर्का वरिष्ठ अधिकारी हमिद जेहरीले एएफपीलाई मृतकको सङ्ख्या पुष्टि गर्नुभएको छ ।
उहाँले भन्नुभयो, “यो आक्रमणका लागि बलोच लिबरेशन आर्मी (बीएलए) का लडाकू जिम्मेवार रहेको देखिन्छ ।
बलोच लिबरेशन आर्मी यस क्षेत्रको सबैभन्दा सक्रिय लडाकू पृथकतावादी समूह हो ।
बलुचिस्तान पाकिस्तानको सबैभन्दा ठूलो तर गरिब प्रान्त हो भने यहाँ अप्रयुक्त प्राकृतिक स्रोतहरूको प्रचुरता छ ।
फिदिममा विपद् सहायता सामग्रीको खुला कक्ष स्थापना
पाँचथर, १० भदौः यहाँको फिदिममा विपद् प्रतिकार्यमा प्रयोग हुने सहायता सामग्रीको खुलाकक्ष स्थापना भएको छ । फिदिम नगरपालिकाले फिदिम बजार क्षेत्रका तीन स्थानमा खुला कक्ष निर्माण गरी विपद् प्रतिकार्यमा प्रयोग हुने सामग्री राखेको हो । फिदिम बजारको गणतन्त्र चोक, पुरानो ट्राफिक कार्यालय र आहालगैरीमा विपद् प्रतिकार्यमा प्रयोग हुने सामग्री राखिएको नगरपालिकाले जनाएको छ । उक्त खुला कक्षमा आगलागी, बाढीपहिरोजस्ता विपत्तिका घटनाको प्रतिकार्य तथा उद्धारमा प्रयोग हुने विभिन्न प्रकारका सामग्री राखिएका छन् ।
उक्त विपद् सहायता सामग्री खुला कक्षको फिदिम नगरपालिकाका प्रमुख मित्रप्रसाद काफ्लेले आइतबार उद्घाटन गर्नुभयो । नगरप्रमुख काफ्लेले फिदिमका सार्वजनिकस्थलमा यस प्रकारका सामग्री राख्नाले आगलागी नियन्त्रण तथा विपद्मा उद्धारका सामग्री सहज रूपमा समयमै उपलब्ध हुने बताउनुभयो । “यी सामग्री व्यवस्थापनले विपत्तिबाट हुने क्षति कम गर्न मद्दत मिल्ने विश्वास लिएका छौँ”, नगरप्रमुख काफ्लेले भन्नुभयो, “सबै पक्षले यी सामग्रीको संरक्षण र सदुपयोगमा सहयोग गर्ने अपेक्षा लिएको छु ।”
खुला कक्षमा रहेका सामग्री प्रयोगपश्चात सोही स्थानमा ल्याई राख्ने प्रबन्ध गरिएको उहाँले बताउनुभयो । खुला कक्षमा रहेका सामग्रीलाई सबैले साझा सम्पत्तिका रूपमा लिने आशा गरिएको उहाँको भनाइ छ । नगरपालिकाले आगामी दिनमा यसरी अन्य स्थानमा पनि विपद् प्रतिकार्य सहायता सामग्री राख्दै जाने नगरप्रमुख काफ्लेले जानकारी दिनुभयो । सो खुला कक्षमा ‘फायर एक्सटिङग्युसर’, बाल्टी, बेल्चा, झम्पल, गैँती, खुर्पा, ‘फायरबल’लगायत सामग्री राखिएका छन् । सोही कार्यक्रममा नेपाली सेनाको फिदिमस्थित रणशेर गणले आगलागीबाट हुने जोखिम कम गर्ने उपायबारे नमूना अभ्यासको पनि प्रदर्शनी गरेको थियो ।
बागलुङको पञ्चकोटलाई अन्नदान क्षेत्र बनाइने
बलेवा (बागलुङ), १० भदौः पञ्चकोटमा एक सय ३५ फिट अग्लो कलश निर्माणसँगै अन्नदान क्षेत्र पनि सञ्चालन गरिने भएको छ । शनिबार बसेको विश्वशान्ति गण्डकी महासभाले अन्नदान क्षेत्र बनाउने निर्णय गरेको हो । महासभा बैठकले अन्नदान क्षेत्र बनाउने तयारी गरेको पञ्चकोटधाम व्यवस्थापन समितिका महासचिव माधव उपाध्यायले जानकारी दिनुभयो । इन्द्रनाथ आचार्य संयोजक रहेको समितिमार्फत यो कामलाई थालनी गरेर सञ्चालनमा ल्याइनेछ । “मुक्तिनाथ जाने भक्तजनलाई यहाँ आएर बस्ने र निःशुल्क भोजन गर्ने व्यवस्था हुनेछ”, पञ्चकोटधाम व्यवस्थापन समितिका अध्यक्ष जगन्नाथ आचार्यले भन्नुभयो, “पूर्वाधारलाई व्यवस्थित बनाउने, आमनागरिकको भरोसाको केन्द्र पनि बनाइने छ ।”
दश वर्षअघिदेखि कारिकोट, रायरायकोट, माझकोट, ताराजालकोट र संसारकोट मिलाएर पञ्चकोट नामकरण गरी पर्यटकीय र धार्मिक पूर्वाधार निर्माण भइरहेको छ । पञ्चकोटमा गत माघमा धान्याञ्चलमार्फत रु ११ करोड बढी रकम सङ्कलन गरिएको छ । यो रकमले पूर्वाधार निर्माणको काम सुरु हुने वडाध्यक्ष रुद्रबहादुर केसीले जानकारी दिनुभयो ।
यसबाहेक महासभाले पवित्र कालीगण्डकी नदी र नदीको सभ्यता जोगाउने अभियानलाई पनि देशव्यापी चलाउने निर्णय गरेको छ । मासिक रूपमा सञ्चालन भएको ३०औँ संस्करणमा विश्वशान्ति गण्डकी महासभाले नदी सभ्यताको अभियानलाई नागरिक तहमा लैजाने तयारी गरेको हो । कालीगण्डकीमा पाइने शालिग्राम संरक्षणसहित नदीलाई सरसफाइ गर्ने र दोहनबाट जोगाउन अभियान केन्द्रित हुनेछ ।
दामोदरकुण्डबाट त्रिवेणीसम्मका जिल्ला, प्रदेश, पालिकासम्म अभियान चलाएर नदी सभ्यता र जलाधार क्षेत्र संरक्षणको कार्यक्रम गरिने भएको हो । यसअघिका ३० वटा महासभा भने बागलुङ, तनहुँ र पोखरामा मात्र भएका थिए । कानुनी रूपमा बन्देज गरिएको असार, साउन र भदौमा पनि नदी दोहन भएको छ । पटकपटक दोहन भएकामा सभाले चिन्ता व्यक्त गरेको छ । “पहिलाका बूढापाकाले जानेरै नदीको सामग्री दोहन गरेनन्, बरु नदीको पूजा गरेर सभ्यता जोगाएका थिए”, महासभाका सदस्य तारानाथ शर्माले भन्नुभयो, “नदी सभ्यता, जलक्षेत्र जोगाउन सकिएन भने मानवजीवन पनि सङ्कटमा पर्छ ।” गण्डकीका दर्जनौँ क्षेत्रको पर्यटकीय विकास गरेर करोडौँ कमाउन सकिनेमा नदी दोहन रोक्नुपर्ने शर्माले बताउनुभयो ।
आजको मौसम : देशभर वर्षाको सम्भावना
काठमाडौँ, १० भदौः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानमा दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको जनाइएको छ । जल तथा मौसम विज्ञान विभागद्वारा आज जारी मौसम बुलेटिनका अनुसार हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ भने कोशी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।
विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । सातै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोबुलेटिनमा उल्लेख छ ।
यसैगरी, आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशको पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ । कोशी, बागमती र कर्णाली प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकोे बुलेटिनमा उल्लेख छ ।
सबै प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पनि जनाइएको छ । कोशी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम वा क्षतिबाट बच्न विभागले आग्रह गरेको छ । साथै यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध छ ।
भरतपुर महानगरको दुई सय ६६ विद्यार्थीले पूर्ण छात्रवृत्ति पाए
भरतपुर (चितवन), १० भदौः भरतपुर महानगरपालिकाले संस्थागत विद्यालयको कक्षा ११ मा अध्ययनरत दुई सय ६६ विद्यार्थीलाई पूर्ण छात्रवृत्ति गरेको छ । ती विद्यार्थीलाई अनलाइन आवेदन माग गरी शिक्षा ऐन तथा भरतपुर महानगरको छात्रवृत्ति व्यवस्थापन कार्यविधिअनुसार छात्रवृत्तिमा छनोट गरिएको हो । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले आइतबार आयोजित कार्यक्रममा विद्यार्थीको क्षमता र योग्यताका आधारमा कक्षा १२ सम्म पढ्नका लागि छात्रवृत्ति वितरण गरिएको बताउनुभयो ।
उहाँले शिक्षा क्षेत्रमा भरतपुर महानगरले उल्लेख्य फड्को मारेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “महानगरले शिक्षा क्षेत्रमा शैक्षिक तथा भौतिक रूपमा ठूलो फड्को मारेको छ ।” शिक्षामा सबैको पहुँच पुर्याउने उद्देश्यले महानगरपालिका अघि बढिरहेको उहाँले बताउनुभयो । सरकारी विद्यालयको सुधार गर्दै संस्थागत विद्यालयसरह बनाउनेगरी महानगरले शिक्षा क्षेत्रमा काम गर्दै आएको उहाँको भनाइ थियो ।
छात्रवृत्तिका लागि छनोट भएका विद्यार्थीलाई सिफारिसपत्र वितरण गरिएको छ । अल्पसङ्ख्यक र सीमान्तकृत समुदायका विद्यार्थीलाई पनि छात्रवृत्ति वितरण गरिएको छ । “जेहेन्दार विद्यार्थीलाई पढाइमा प्रोत्साहन गर्ने नीति लिएका छौँ”, शैक्षिक प्रशासन महाशाखा प्रमुख सुभाषचन्द्र आचार्यले भन्नुभयो । तीसवटा संस्थागत विद्यालयबाट छात्रवृत्ति दिइएको छ । छात्रवृत्ति पाएकामध्ये विज्ञानतर्फ एक सय ८९ र अन्य ७७ जना छन् ।
छात्रवृत्ति पाउनेमा जेहेन्दारतर्फ ९९, गरिब तथा विपन्नतर्फ ९६, आदिवासी जनजातितर्फ २६, दलिततर्फ १३, अपाङ्गता भएका आठ, जनआन्दोलनका घाइते तथा सहिदका सन्ततितर्फ २४ रहेका छन् । महानगरले वार्षिक रूपमा छात्रवृत्ति वितरण गर्दै आएको छ । गत वर्ष महानगरले दुई सय ७४ जनालाई छात्रवृत्ति दिएको थियो ।
नेपाल साफ च्याम्पियनसिपको फाइनलमा
काठमाडौँ, ९ भदौः भुटानलाई पराजित गर्दै नेपाल साफ यु–२० च्याम्पियनसिपको फाइनलमा पुगेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको पहिलो सेमिफाइनलमा नेपालले टाइब्रेकरमा भुटानलाई ४–१ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।
नेपालका गोलकिपर जियारथ शेखले टाइब्रेकरमा भुटानका तीन खेलाडीको प्रहार बचाएपछि नेपालको जित सुनिश्चित भएको हो । टाइब्रेकरको पहिलो प्रहारमा नेपालका लागि राम थापा र भुटानका जेत्सन दोर्जीले गोल गरे । त्यसपछि दोस्रो प्रहारमा नेपालका अभिनाश स्याङ्तानले गोल गर्दा भुटानका जिग्मे नाम्गेलको प्रहार बाहिरियो ।
त्यस्तै नेपालका सिमान्त थापाले तेस्रो प्रहारमा गोल गर्दा भुटानका उग्वेन जिग्मेको प्रहार जियारत शेखले नै बचाए । चौथो प्रहारमा जियारतले गोल गर्दै नेपाललाई फाइनल पु¥याए ।
त्यसअघि खेलको निर्धारित ९० मिनेटमा दुवै टोलीले १–१ गोल गरेका थिए । खेलको ५६औँ मिनेटमा भुटानले अग्रता लिएको थियो । जेत्सन दोर्जीले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको गोल भएको थियो ।
भुटान खेलको ७७औँ मिनेटमा १० खेलाडीमा सीमित बन्यो । भुटानका किन्जाङ तेन्जिङलाई रेफ्रीले रातो कार्ड देखाउँदै बाहिर पठाएका थिए । किन्जाङले नेपालका खेलाडीमाथि फाउल गरेका थिए । खेलको ७८औँ मिनेटमा नेपालले बराबरी गोल फर्कायो । रातो कार्डपछि नेपालले पाएको फ्रिकिक बलबाट आएको पासबाट निराजन धामीले करिब सिक्स यार्ड बक्समा हेड गर्दै बललाई जाली चुमाए ।
च्याम्पियनसिपको दोस्रो सेमिफाइनलमा भोलि भारत र बङ्गलादेशबीच प्रतिस्पर्धा हुनेछ ।
पर्यटक लोभ्याउने ‘ढोरपाटन बुकी’
डम्मर बुढामगर
ढोरपाटन (बागलुङ), ९ भदौ : अग्ला पहाडको शिरमा टक्क अडिएका समथर भू–भाग । कतै भिराला डाँडा, त कतै खोल्साखोल्सी । चारैतिर हरियाली । उत्तरतिर हेताम्य हिमाल । टाढा–टाढा छरिएर रहेका भेडीगोठ । भेडा र बाख्राका बथानले ढपक्क ढाकिएको बुकी हेर्न हजारौँ पर्यटक लालायित छन् । ढोरपाटनको बुकी हिजोआज चर्चामा छ । एक दशक अगाडिसम्म बर्खामा भेडा र भेडीगोठले भरिने बुकी क्षेत्र अहिले पर्यटकको चहलपहल बढ्न थालेको हो ।
नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन यसै पनि चर्चित छ । त्यसमाथि आन्तरिक तथा बाह्य पर्यटकको बढ्दो आगमनले यसको प्रचारले व्यापकता पाएको हो । प्राकृतिक सुन्दरताले परिपूर्ण ढोरपाटनमा धेरैको रोजाइमा परेको छ । ढोरपाटनसँगै पछिल्लो समय बुकी पनि पर्यटक आकर्षणको केन्द्र बन्दै गएको छ । गत वर्षसम्म बुकी जाने पर्यटक निकै कम थिए ।
बुकी पुगेका पर्यटकले त्यहाँको भिडियो तथा तस्बिर सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा फैलाएपछि भाइरल बन्यो । अहिले ढोरपाटन पुग्ने पर्यटक बुकीमा पुग्न चाहन्छन् । दशक अगाडिदेखि नै ढोरपाटन उपत्यका क्षेत्रमा फाट्टफुट्ट पर्यटक पुगे पनि अहिले बर्सेनि हजारौँको सङ्ख्यामा आउने गरेका छन् । ढोरपाटन उपत्यका समुन्द्री सतहदेखि करिब २९ सय मिटरको उचाइ पर्छ । ढोरपाटन उपत्यकादेखि बुकी पुग्न पैदल यात्रा गर्नुपर्छ । पैदल यात्रामार्फ बुकीमा तीनदेखि पाँच घण्टामा पुग्न सकिन्छ । २९ सयदेखि ४५ सय मिटरको उचाइमा रहेको बुकी क्षेत्र गोठालाको बासस्थान हो । यहाँ सयौँको सङ्ख्यामा गोठालाहरु अस्थायी गोठ बनाएर बसेका हुन्छन् । उनीहरुको हजारौँ भेडाबाख्रा, गाईभैँसी हुन्छन् ।
बर्खाको समयमा बढी चहलपहल हुने बुकी क्षेत्र हिउँदमा भने सुनसान हुन्छ । बर्खायाममा बुकी पुग्ने पर्यटकले हरियाली उच्च पहाड, पाटन, खर्क, दर्जनौँ हिमशृङ्खलाको दृश्यावलकन गर्न सक्छन् भने नजिकबाट गोठालाको जनजीवन अनुभूति गर्न सक्छन् । बागलुङको उच्च पहाडी क्षेत्र पर्ने बुकी निकै मनमोहक छ । प्रचारप्रसारको अभावमा आझेलमा परेको बुकी पछिल्लो समय पर्यटक पुग्न थालेपछि व्यापक प्रचार हुन थालेको छ । त्यसले गर्दा एकै महिनामा सयौँ आन्तरिक पर्यटक बुकी चढ्ने गरेको ढोरपाटन नगरपालिका–९ का व्यवसायी सन्देश थापाले बताउनुभयो । गत असारदेखि हालसम्म ८० समूहका करिब पाँच सय पर्यटकलाई आफूले मात्रै बुकीमा बास दिएको उहाँको भनाइ छ ।
बुकीमा गर्पाछेडा, दहखर्क, टीकाधारा, राजवन, स्याचुन, फुर्से देउराली, फागुने देउरालीलगायत थुप्रै ठाउँ पर्छन् । बुकी पुग्ने पर्यटक गोठालाको गोठमा बास बसेर फर्किने गरेका छन् । यस वर्षदेखि बुकी पुग्ने पर्यटकका लागि लक्षित आफूले गोठस्टे (गोठबास) सञ्चालन गरेको उहाँको भनाइ छ । बुकीमा टाढा–टाढाबाट पर्यटकहरु पुग्ने र त्यहाँ बास बस्नका र खानाको व्यवस्था नभएको हुँदा गत असार २९ गतेदेखि गोठस्टे सञ्चालन गरेको थापा बताउनुहुन्छ । बुकी पुग्ने पर्यटकले हरिया पाटनहरु, गोठलो जीवन, धौलागिरि, माछापुच्छ«े, पुठा हिमचुली, चुरेन, गुर्जा अन्नपूर्ण हिमशृङ्खला अवलोन गर्न सक्ने उहाँको भनाइ छ । बुकी चढ्ने सिजन जेठदेखि कात्तिक पहिलो साता भएको थापा बताउनुहुन्छ ।
थापाले भन्नुभयो, “बुकी त ढोरपाटनवासीको पशु चरन क्षेत्र हो, यो ठाउँ निकै मनोरम छ, अहिल जति पनि ढोरपाटन उपत्यकामा पर्यटक आउनुहुन्छ, उहाँहरुले यहाँको कुनै महसुस गर्न सक्नुभएको छैन, ढोरपाटन घुम्ने र रम्ने हो भने बुकीमा एकपटक पुग्नै पर्छ, गत वर्षसम्म त खासै मान्छे आउँदैनथे, फाट्टफुट्ट आएका पर्यटकले ‘भिडियो’ र फोटो खिचेर जानुभयो, ती भिडियो र फोटो भाइरल भएपछि अहिले बुकीमा आउने मान्छेको चाप बढेको छ ।”
कात्तिकदेखि चिसो बढ्ने हुँदा जेठसम्म बुकी सुनसान हुन्छ । गोठाला पनि बँेसी झर्ने हुँदा पर्यटक पनि बुकी उक्लिदैनन् । ढोरपाटन उपत्यका होटल व्यवसायी सङ्घका अध्यक्ष जीवन पुनले ढोरपाटन आउने पर्यटकको रोजाइमा बुकी पर्न थालेको बताउनुभयो । पाँच वर्षदेखि ढोरपाटन उपत्यकामा आउने पर्यटकको सङ्ख्या बढेको भन्दै पोहोर सालदेखि त बुकीमा समेत जान थालेको उहाँको भनाइ छ । बुकी चढ्ने पर्यटकलाई लेक लाग्ने हुँदा आफूहरुले प्राथमिक उपचारका बिधि सिकाउने र बेँसीबाट आएकाहरुलाई एकै पटक बुकी नचढ्न सुझाउने गरेको पुन बताउनुहुन्छ । यसै बर्खा लागे सयौँको सङ्ख्यामा पर्यटक बुकी उक्लिएको उहाँको भनाइ छ ।
“बुकीमा यति धेरै पर्यटक जालान् भन्ने लागेको थिएन तर नपत्याउँदो तरिकाले पर्यटक दिनदिनै बुकी उक्लिएको पाएका छौँ, शुक्रबार र शनिबार सबैभन्दा बढी पर्यटक बुकी जान्छन्, बुकी घुम्न र रमाउनका लागि निकै सुन्दर छ तर त्यहाँ जाँदा धेरै कुरामा ख्याल राख्नु पर्छ,” अध्यक्ष पुनले भन्नुभयो, “चार÷पाँच घण्टा यात्रा गर्नुपर्छ, यात्रा गर्दा लेक पनि लाग्न सक्छ, अति आवश्यक सामानहरु छुटाउनु हुँदैन, अब ढोरपाटन उपत्यकामा आउने धेरै पर्यटक बुकी पुग्ने देखियो, हामीहरुलाई पनि पर्यटकको आगमनले धेरै खुसी बनाएको छ ।”
गलकोटबाट घुम्न आउनुभएकी समिता अर्गेजाले बुकी मनमोहक रहेको बताउनुभयो । ढोरपाटन उपत्यकादेखि पाँच घण्टाको यात्रा गर्दा थकाइ लागेको सुनाउँदै बुकी पुगेपछि देखिएको दृश्यले एकै छिनमा थकान मेटाएको उहाँको भनाइ छ । अर्गेजाले चारजनाको टोली गएको भन्दै बुकी पुग्ने ठाउँ–ठाउँमा सूचना बोर्ड राखे बाहिरबाट आउने पर्यटकलाई ठाउँ पहिचान गर्न सहज हुने बताउनुभयो । बुकी प्रचारप्रसार गर्न सके देशै उत्कृष्ट पर्यटकी गन्तव्य बन्नेमा दुई मत नभएको उहाँ बताउनुहुन्छ । -रासस
कृषि र पशुपालनबाट वार्षिक १५ लाख कमाउँदै ८० वर्षीय वृद्ध
गाईघाट (उदयपुर), ९ भदौः यहाँको रौतामाई गाउँपालिका–७ मुर्कुचीका जीतुहर्क तामाङ उमेरले ८० वर्ष पुगिसक्नुभयो । तर उहाँ अहिले पनि कृषि र पशुपालनमा सक्रिय हुनुहुन्छ । यही पेशाबाट उहाँले वार्षिक रु १५ लाखसम्म आम्दानी गर्दै आउनुभएको छ ।
उहाँले १३ रोपनी जग्गामा फलफूलखेती गर्नुभएको छ । सबैभन्दा धेरै लिच्ची र कागती रोप्नुभएको छ । कागती बिक्रीबाट वार्षिक रु पाँच लाख आम्दानी गर्ने गरेको उहाँले जानकारी दिनुभयो । विगत ३० वर्षदेखि उहाँले खसीबाख्रा पाल्दै आउनुभएको छ । अहिले उहाँको गोठमा एक सयको सङ्ख्यामा खसीबाख्रा छन् । एक सयमध्ये ३८ वटा त खसीमात्र छन् ।
उहाँले एक हजारको सङ्ख्यामा लोकल कुखुरा र एक हजार हाँस पाल्नुभएको छ । खसीबाट वार्षिक रु सात लाखसम्म र हाँस कुखुरा बिक्री गरी रु चार लाखसम्म आम्दानी गर्नुहुन्छ । विगतमा राजनीतिमा समेत सक्रिय तामाङ अहिले राजनीति छाडेर कृषिमा मात्र सक्रिय हुनुहुन्छ ।
“मैले कृषि पेशा गर्दागर्दै पनि पञ्चायत व्यवस्थामा एकपटक प्रधानपञ्च भएँ । बहुदल आएपछि एकपटक गाविस अध्यक्ष पनि भएँ”, उहाँले भन्नुभयो, “राजनीति त सेवा हो, आर्थिक आम्दानी नगरी परिवार र जीवन नचल्ने हुनाले राजनीतिभन्दा कृषिलाई निरन्तरता दिएको हुँ ।”
अहिले पनि तामाङ दैनिक बिहान उज्यालो भएदेखि बेलुका ६ बजेसम्म फलफूल बगानमै भेटिनुहुन्छ । साँझ ७ बजेदेखि ९ बजेसम्म खसीबाख्रा, कुखुरा, हाँसको रेखदेखमा समय दिनुहुन्छ । उहाँका चार छोरामध्ये उहाँ साहिँला छोरासँग बस्नुहुन्छ । हजुरबुबा र बुबाको पालादेखि कृषि तथा पशुपालन सिकेको बताउनुहुन्छ उहाँ । उहाँलाई नजिकबाट जान्ने जनता मावि मुर्कुचीका प्राचार्य खड्ग थापामगर भन्नुहुन्छ, “उहाँ कर्मठ कृषक हुनुहुन्छ । यस्तो व्यक्ति देशमा बिरलै पाइन्छन्, तीमध्येका एक हुनुहुन्छ । उहाँ सफल कृषकमात्र नभई समाजसेवी पनि हुनुहुन्छ ।”
पञ्चायतकालमा प्रधानपञ्च हुँदा उहाँले रौता मुर्कुचीको जनता माध्यमिक विद्यालय स्थापना गर्नुभयो र नामेटार गाउँका दुईवटा विद्यालय स्थापना गर्न पहल गर्नुभएको प्राचार्य थापामगरले जानकारी दिनुभयो । रौतामाई गाउँपालिकाका अध्यक्ष वीरेन्द्र मगरले भन्नुभयो, “जीतुहर्क एक सङ्घर्षशील र सफल कृषक हो । गाउँका जनप्रतिनिधि हुँदा जनताको सेवा गर्नुभयो र त्यसपछि कृषि पेशामै फर्कनुभयो ।”
असी वर्षको उमेरमा अझै तन्नेरी जाँगर र जोशका साथ कृषि पेशामा सक्रिय तामाङ आफू यही पेशाले निरोगी भएको बताउनुहुन्छ । “सात वर्षको उमेरदेखि हजुरबुबा र बुबासँग खेतीपाती गर्न सिकेँ । जिन्दगीमा जेजे गरे पनि कृषिलाई छाड्न सकिँन”, उहाँ भन्नुहुन्छ, “यही काम गर्दागर्दै मर्न परोस् अरु मलाई केही चाहिएको छैन । म यसमै सन्तुष्ट छु ।”
उहाँ दैनिक दूधभात, मासु र फलफूल खाने गर्नुहुन्छ । आम्दानी राम्रो हुने गरेकाले गाउँघरका छिमेकीलाई आर्थिक सङ्कट पर्दा उहाँले सरसापटी दिने गर्नुभएको छ । ८० वर्षको उमेरमा पनि उहाँको जाँगर देख्ने जोकोहीले काम गर्न उमेरले नछेक्ने रहेछ भन्ने गरेको मुर्कुचीका स्थानीय देवप्रसाद खड्का बताउनुहुन्छ ।






































