शनिबार, १३ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01J5J9XYA9E2EJC9252GSC488T.jpg

जनतामा जानुको विकल्प छैन : अध्यक्ष दाहाल

_

_

काठमाडौँ, २ भदौ : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताका मुद्दालाई रक्षा गर्न सडक र सदनबाट प्रभावकारी कदम चालिने बताउनुभएको छ ।  पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा माओवादीका पूर्वकेन्द्रीय सदस्य एवं सहिद रामवृक्ष यादवको स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा उहाँले आफूलाई जनता र वर्गप्रति फर्कने अवसर प्राप्त भएको बताउनुभयो । पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष दाहालले भन्नुभयो, “जनताका मुद्दा खोसिने हुन् कि भन्ने आशङ्का जन्मिएको छ, प्रश्नहरू जन्मिएका छन् । जनताका मुद्दा रक्षा गर्न जनतामा जानुको विकल्प छैन । मैले सदन र सडकबाट सङ्घर्षको विकल्प देखेको छैन ।” उहाँले वर्तमान सत्तागठबन्धनको उद्देश्य गलत रहेको आरोप लगाउनुभयो । सरकारमा रहेर हामीले जनताको पक्षमा प्रभावकारी रुपमा कार्यसम्पादन गरेका कारण विरोधीहरू आत्तिएर नयाँ गठबन्धन बनाएको अध्यक्ष दाहालको भनाइ थियो ।     
     
पार्टीलाई थप सुदृढ बनाउनेतिर अगाडि बढेको र त्यसको परिणाम छिट्टै देखिने अध्यक्ष दाहालले बताउनुभयो । स्पष्ट कार्ययोजनाका साथ पार्टीलाई एकताबद्ध गर्दै जनपरिचालनको गृहकार्य भइरहेको उहाँले उल्लेख गर्नुभयो । भ्रष्टाचार नियन्त्रण र सुशासनको पक्षमा दृढतापूर्वक कदम चालिएका कारण आफ्नो नेतृत्वको सरकार विस्थापित गरिएको अध्यक्ष दाहालले बताउनुभयो । नेपाली जनताले प्रष्ट रुपमा बुझेको उल्लेख गर्दै उहाँले भ्रष्टाचारकाविरुद्ध आफूहरु लगातार उभिने दृढता व्यक्त गर्नुभयो । उहाँले जनताका मुद्दाका रक्षाका निम्ति माओवादी केन्द्रले सङ्घर्षको मोर्चालाई सुदृढ गर्नेसमेत बताउनुभयो ।     
     
अध्यक्ष दाहालले भन्नुभयो, “रामवृक्ष यादव मधेसी जनताको आन्दोलनको बीचबाट जन्मिएको लोकप्रिय नेता हुनुहुन्थ्यो । उहाँ पार्टीभित्र मात्र नभएर बाहिर पनि लोकप्रिय हुनुहुन्थ्यो । रामवृक्ष मृदुभाषी, बहुआयमिक प्रतिभाका धनी हुनुहुन्थ्यो । मधेसमा जनयुद्धको आधार तयार पार्न उहाँले महत्वपूर्ण भूमिका खेल्नुभयो ।”     
     
तत्कालीन एकता–केन्द्रका केन्द्रीय सदस्य रामवृक्ष यादव २०५१ सालमा सहिद हुनुभएको थियो । कार्यक्रममा पार्टी उपाध्यक्ष अग्निप्रसाद सापकोटा, महासचिव देवप्रसाद गुरूङ, उपमहासचिव गिरिराजमणि पोखरेललगायतका नेताहरूको सहभागिता रहेको थियो ।  


Subscribe to JawaafTV : श्रव्यदृश्यमा हरपलको खबर जवाफ टिभी मा...

प्रकाशित मितिः आइतबार, ०२ भदौ २०८१
https://jawaaf.com/storage/01J5J7NMZWX153VEZRDZ9GSSSB.jpg

परराष्ट्रमन्त्री नयाँ दिल्ली प्रस्थान

_

काठमाडौँ, २ भदौः परराष्ट्रमन्त्री डा आरजु राणा देउवा भारतको औपचारिक भ्रमणका लागि आज नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ । भारतीय विदेशमन्त्री एस जयशङ्करको निमन्त्रणामा उहाँ आज बिहान त्यसतर्फ प्रस्थान गर्नुभएको हो । उहाँ परराष्ट्रमन्त्री नियुक्त भएपछिको यो पहिलो विदेश भ्रमण हो ।     
     
 यस भ्रमणका क्रममा उहाँका भारतीय समकक्षी विदेशमन्त्री एस जयशङ्करसँग भेटवार्ता हुने कार्यक्रम तय भएको छ । दुई देशको आपसी हित, सहकार्य तथा थप सम्बन्ध विस्तारका विषयमा सो द्विपक्षीय वार्ताका क्रममा छलफल हुनेछ ।     
     
 मन्त्री डा राणालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्साललगायत परराष्ट्रका वरिष्ठ अधिकारीहरूले बिदाइ गर्नुभएको थियो । मन्त्री डा राणाको भ्रमण दलमा परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखा प्रमुख सहसचिव भृगु ढुङ्गाना पनि सहभागी हुनुहुन्छ ।     
     
 परराष्ट्रमन्त्री डा राणाको यो भ्रमण नेपाल भारतबीच हुने नियमित उच्चस्तरीय भ्रमण आदानप्रदानको परम्पराअनुसार नै भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री डा राणा यही भदौ ६ गते स्वदेश फर्कनुहुने छ ।     
 

_

प्रकाशित मितिः आइतबार, ०२ भदौ २०८१
https://jawaaf.com/storage/01J5J2MBDMMNNBHJ7T9YEFG88D.jpg

सुनको मूल्य हालसम्मकै उच्च

_

काठमाडौँ, २ भदौः लगातार उकालो लागेको सुनको मूल्यमा आज पुनः नयाँ ‘रेकर्ड’ कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा पनि लगातार बढिरहेको सुनको मूल्य आज स्थानीय बजारमा हालसम्मकै उच्च विन्दुमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाल सुन प्रतितोला रु एक लाख ५२ हजार छ सय पुगेको छ । गत शुक्रबार प्रतितोला रु एक लाख ४९ हजार छ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु तीन हजारले वृद्धि भएको हो ।

शुक्रबार चाँदी प्रतितोला रु एक हजार सात सय ६० मा कारोबार भएकामा आजका लागि भने एक हजार आठ सय १० निर्धारण भएको छ । चाँदीको मूल्य पनि तोलामा रु ५० ले वृद्धि भएको हो । 


_

प्रकाशित मितिः आइतबार, ०२ भदौ २०८१
https://jawaaf.com/storage/01J5J2466FD3MFGTCGJG8FBQRH.jpg

गाउँमै सिंहदरबार आएको सर्वसाधारणको अनुभूति

_

महोत्तरी, २ भदौः आफ्नै गाउँमा मालपोत कार्यालय सञ्चालनमा आएपछि गौशाला र आसपासका बासिन्दाले ‘गाउँमै सिंहदरबार’ आएको अनुभूति गरेका छन् । राज्यबाट आफ्नै घरआँगनमा सेवा पाएपछि गौशाला, औरही, सम्सी र सोनमासहितका स्थानीयतहका बासिन्दाले गाउँमा नै सिंहदरबारबाट प्रवाह हुने सेवा प्राप्त गरेको अनुभूत गरेका हुन् ।

“गाउँमै सिंहदरबार आएजस्तो भएको छ, जग्गा किनबेच, ऋण लिँदा गर्नपर्ने दृष्टिबन्धक र रोक्कासहितका काम अब घरकै खाना खाएर गर्न भ्याउने भइएको छ”, गौशाला–४ रजखोरका रिझन साह भन्नुहुन्छ, “यसले निकै राहत भएको छ ।” गौशालामा २०७८ साल वैशाखमा स्थापना भएको मालपोत कार्यालयले तीन वर्षपछि बल्ल गत सोमबारदेखि सेवा दिन थालेको हो ।

मालपोत कार्यालयले सेवा सुरु गरेपछि गौशाला नगरपालिकाका सुदुर दक्षिणपश्चिमी बस्ती फुलकाहा, मनरवा सोनमा गाउँपालिकाका मगरथाना, खैरबनी, सम्सी गाउँपालिकाका पर्सादेवाड, रघुनाथपुर र औरही नगरपालिकाका अगलेसरा, टिमकिया बस्तीका सर्वसाधारण लाभान्वित भएका छन् ।

भर्खरै सेवा सञ्चालन गरेको मालपोत कार्यालयले जनताका काम पनि शीघ्र सम्पादन गर्दा सर्वसाधारण मक्ख छन् । कर्मचारीले कानुनी अड्चन देखाउँदै ‘भोलि आउनू’ प्रवृत्ति परित्याग गर्दा आफूहरूलाई वास्तवमा नै गाउँमा सिंहदरबार आएको अनुभव भएको सोनमाको मगरथानाका रामविवेक राय बताउनुहुन्छ । 

विसं २०७८ वैशाख १७ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भूमि व्यवस्थामन्त्री शशि श्रेष्ठले गौशालामा मालपोत तथा नापी कार्यालय उद्घाटन गर्नुभए पनि कार्यालयसम्बन्धी कागजात जलेश्वरका लेखापढी व्यवसायीले ल्याउन नदिएपछि सेवा सञ्चालन हुनसकेको थिएन ।  गौशालाका उद्यमी, व्यापारी र सामाजिक सङ्घसंस्थाका प्रतिनिधिले साउन २१ गते राति प्रहरी प्रशासनको सहयोगमा कार्यालयसम्बद्ध कागजात र अभिलेख जलेश्वर कार्यालयबाट ल्याइएपछि यहाँ सेवा सञ्चालनको वातावरण बनेको हो ।

गौशालामा कार्यालयसम्बद्ध मठस्रेस्तासहितका कागजात र अभिलेख ल्याइएको एक साताभित्रै मालपोत कार्यालयले सेवा दिन थालेको हो । “हामीलाई कार्यालयमा कागजात व्यवस्थित गर्न एक साता लाग्यो, अब सेवा दिन थालियो”, कार्यालयका प्रमुख दीपेन्द्रकुमार झा भन्नुहुन्छ, “टाढाका सेवाग्राही काम गरेरै फर्कन सकुन् भन्ने ध्येयले काम गरेका छौँ ।” गौशालामा मालपोत कार्यालयसँगै नापी कार्यालयले पनि सेवा प्रवाह थालेको छ । 


_

प्रकाशित मितिः आइतबार, ०२ भदौ २०८१
https://jawaaf.com/storage/01J5HZZ4SNWK0X38EF6ARDZZGB.jpg

चुलाचुली पालिकाका अधिकांश सडक कालोपत्र

_

फिक्कल (इलाम), २ भदौः चुलाचुली गाउँपालिकाका अधिकांश मुख्यसडक कालोपत्र भएका छन् । सङ्घीय सरकार र प्रदेश सरकारसँगको साझेदारी एवं गाउँपालिकाको बजेटमा छवटै वडा कार्यालय जोड्ने सडक कालोपत्र गरिएको चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले जानकारी दिनुभयो ।     
     
चुलाचुली गाउँपालिकाले सबै टोलमा कालोपत्र सडक पुर्याउने उद्देश्यले थालेको पहिलो चरणको योजना पूरा गरेको हो । सबै वडामा कालोपत्र सडक पुुर्याउने पहिलो चरणको योजना सम्पन्न भएको गाउँपालिका अध्यक्ष केरुङले बताउनुभयो ।     
     
चुलाचुली गाउँपालिकाले छवटै वडा जोड्ने सडक कालोपत्र गर्ने योजना कार्यान्वयन गरेको हो । चुलाचुली गाउँपालिकामा हालसम्म विभिन्न सडकका १५ किलोमिटर सात सय मिटर सडक कालोपत्र भएको छ । पहिलो चरणमा उक्त दूरीमा कालोपत्र गरिएको हो ।     
     
गाउँपालिका अध्यक्ष केरुङका अनुसार आर्थिक वर्ष २०८०/८१ मा मात्र पाँच किलोमिटर तीन सय मिटर सडक कालोपत्र गरिएको छ । दुई किलोमिटर एक सय मिटर सडक गाउँपालिकाको आफ्नै स्रोतबाट कालोपत्र गरिएको हो । तीन किलोमिटर दुई सय मिटर सडक सङ्घीय सरकार र प्रदेश सरकारसँगको साझेदारीमा कालोपत्र गरिएको अध्यक्ष केरुङले जानकारी दिनुभयो ।     
     
वडा नं १ स्थित चुलाचुली मार्गको आठ सय मिटर सडक गाउँपालिकाको स्रोतबाट रु एक करोडको लगानीमा कालोपत्र सम्पन्न गरिएको छ । सोही सडकको अर्को सात सय ५० मिटर सडक सङ्घीय सरकारसँगको ५० प्रतिशत साझेदारीमा रु ८७ लाख ३८ हजारको लगानीमा कालोपत्र गरिएको छ ।     
     
त्यस्तै वडा नं २ स्थित हिमाली मार्गको एक किलोमिटर तीन सय मिटर सडक कोशी प्रदेश सरकारसँगको ३५ प्रतिशत साझेदारीमा रु ९९ लाख ९५ हजार सात सय ८२ लगानीमा कालोपत्र गरिएको अध्यक्ष केरुङले बताउनुभयो । सो सडकको चार किलोमिटर एक सय मिटर सडक पटकपटक गरी अघिल्लो आर्थिक वर्षमा कालोपत्र गरिएको थियो ।     
     
वडा नं ५ स्थित चुलाचुली मार्गको एक किलोमिटर दुई सय १५ मिटर सडक सङ्घीय सरकारसँगको ५० प्रतिशत साझेदारीमा रु ८७ लाख ३६ हजार दुई सय ३६ को लगानीमा कालोपत्र गरिएको छ । सो सडकको अर्को एक किलोमिटर दुई सय मिटर सडक अघिल्लो आव २०७९÷८० मा कालोपत्र गरिएको थियो ।     
     
त्यसैगरी वडा नं ६ स्थित चुलाचुली मार्गको एक किलोमिटर तीन सय मिटर सडक गाउँपालिकाको स्रोतबाट रु एक करोड ८७ लाखको लगानीमा सुरु भएको कालोपत्र अन्तिम चरणमा पुगेको चुलाचुली गाउँपालिकाका इन्जिनियर क्षितिज दाहाले जानकारी दिनुभयो । इन्जिनयर दाहालका अनुसार कालोपत्रका लागि ड्रेन, सबबेस र बेस हाल्ने काम सकिएको छ । वडा नं ३ र ४ कार्यालय जोड्ने सडक अघिल्लो वर्षहरूमा कालोपत्रे गरिएको थियो । वडा नं ३ मा आव २०७९÷८० मा चुलाचुली मार्गको एक किलोमिटर सात सय मिटर र वडा ४ मा सोही मार्गको पटकपटक गरी आव २०७९÷८० सम्ममा तीन किलोमिटर चार सय मिटर सडक कालोपत्र गरिएको थियो ।     
     
पूर्वपश्चिम लोकमार्ग र चुलाचुलीको माथिल्लो भेगमा निर्माणाधीन मदन भण्डारी लोकमार्गलाई जोड्ने लक्ष्यका साथ गाउँपालिकाले सडक कालोपत्र गर्न प्राथमिकता दिएको गाउँपालिका अध्यक्ष केरुङले बताउनुभयो । “वडा कार्यालय पुग्ने वडाका सडकलाई कालोपत्र गर्न कतिपय सडक सङ्घीय र प्रदेश सरकारसँगको साझेदारीमा कालोपत्र गरिएका छन्भने कतिपय सडक गाउँपालिकाले आफैं बजेट विनियोजन गरेर पिच गरिएको छ,’ अध्यक्ष केरुङले रासससँग भन्नुभयो, “आगामी दिनमा पनि सडक कालोपत्र गर्नेछौँ ।”     


_

प्रकाशित मितिः आइतबार, ०२ भदौ २०८१
https://jawaaf.com/storage/01J5HZKVT3VQADS4SSBNZ7KJDP.jpg

कुटपिट गरी श्रीमतीको हत्या

_

जलेश्वर (महोत्तरी), २ भदौः महोत्तरी गाउँपालिका–१ सोनुखडा गाउँमा एकजनाले श्रीमतीको कुटपिट गरी हत्या गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नकुल पोखरेल बताउनुभएको छ । स्थानीय ४५ वर्षीय हबिब नदाफले ३६ श्रीमती वर्षीया रोशना खातुनलाई कुटपिट गरी हत्या गरेका हुन् ।

श्रीमतीसँगको घरायसी  झगडामा हबिबले शनिबार रोशनालाई निर्घात कुटपिट गरेका थिए । समयमै उपचार नहुँदा  निजको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुमान छ । रोशनाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइको छ । घटनापछि फरार भएका निजका श्रीमान्को खोजी भइरहेको प्रहरीले जनाएको छ । 


_

प्रकाशित मितिः आइतबार, ०२ भदौ २०८१
https://jawaaf.com/storage/01J5HQ9GGTNEYQEJ3T2ZV0YTZA.jpg

हावाहुरीका कारण झापामा क्षति

_

झापा, २ भदाै: गएराति आएको हावाहुरीले ठूलो क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । हावाहुरीका कारण जताततै विजुलीका पोल ढलेका छन् भने घरका छाना उडाउनुका साथै रुखहरु समेत ढलेको प्रहरीले जनाएको छ । क्षतिको यकिन विवरण भने आउन बाँकी रहेको प्रहरी कार्यालयका प्रवक्ता कृष्णबहादुर चन्दले जानकारी दिनुभयो । उहाँले हावाहुरीका कारण मानवीय क्षति भने नभएको बताउनुभयो ।     
     
उहाँका अनुसार राजमार्गमा ढलेको रुखहरु राति नै जेसीबी लगाएर पन्छाइएको छ । चारआलीको पाउपाथीभरा मन्दिरस्थित पूर्वपश्चिम राजमार्गमा सखुवाको रुख ढल्दा एउटा कारमा क्षति समेत पुगेको छ । चारआलीबाट बिर्तामोडतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-०२३च ५०९३ नं को कारमा क्षति भएको उहाँले जानकारी दिनुभयो । कारमा पाँच जना सवार रहेका र सबै सकुशल रहेको उहाँको भनाइ छ ।     
     
हावाहुरीले बिजुलीको पोल ढाल्दा मेचीनगरको धुलाबारी, धाइजन, र काँकरभिट्टामा विद्युत् अवरुद्ध भएको छ ।    


_


प्रकाशित मितिः आइतबार, ०२ भदौ २०८१
https://jawaaf.com/storage/01J5HP909CTS2V5P8GTSXGCS3F.jpg

ढोरपाटन पुग्ने भक्तजनलाई सास्ती

_

ढोरपाटन (बागलुङ), २ भदौ : हरेक वर्ष जनैपूर्णिमामा नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा ठूलो धार्मिक मेला लाख्छ । यस वर्ष पनि मेला सुरु भएको छ । देशभरबाट ढोर बराह मन्दिरमा पूजाआजा गर्न आउने भक्तजन शनिबारदेखि नै ढोरपाटन पुग्न थालेका छन् ।     
एक दशक अगाडिसम्म बुर्तिबाङ बजारदेखि भक्तजन हिँडेरै ढोरपाटन पुग्ने गर्थे भने अहिले सडक पुगेको छ । विसं २०७१ सालमा ढोरपाटन सडकले जोडिएपछि अहिले धेरै जसो गाडीमै जाने गर्छ । ढोरपाटन जोडिएको सडक राष्ट्रिय प्राथमिकताको आयोजना ‘सालझण्डी–ढोरपाटन सडक’ पर्छ । रुपन्देहीको सालझण्डीदेखि नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन जोडिएको यो सडक एक दशक अगाडि ट्रयाक खले पनि स्तरोन्नती नहुँदा यात्राका लागि जोखिमयुक्त भएको हो ।     
     
बागलुङको बुर्तिबाङदेखि ढोरपाटन उपत्यकासम्मको करिब ३२ किलोमिटर सडकको अवस्था झनै खराब बनेको छ । जनैपूर्णिमाका बेला एकै दिन दसौँ हजार भक्तजन पुग्ने हुँदा सवारी साधानको पनि चाप निकै हुन्छ । मनोकांक्षा पूरा हुने जनविश्वासले ढोरपाटन आउने भक्तजन सडकका कारण सास्ती खेप्न बाध्य छन् । सडकको दुरावस्थाको कारण कयौँको गाडी बीच सडकमै बिग्रिने हुँदा ढोरपाटन पुग्न समस्या हुने गरेको छ । सालझण्डी–ढोरपाटन सडकको बागलुङ खण्डमा करिब ६१ किलोमिटर सडक पर्छ ।     
     
त्यसमध्ये अहिलेसम्म कुनै पनि स्थानमा स्तरोन्नती हुन सकेको छैन । तीन वर्ष अगाडि बुर्तिबाङदेखि फल्लेघरसम्मको २२ किलोमिटर सडक स्तरोन्नतीका लागि ठेक्का लगाए पनि निर्माण कम्पनीले काम नगर्दा सडकको दुरावस्था छ ।     
     
मेलामा आउने भक्तजन र पर्यटकलाई लक्षित गरि ढोरपाटन नगरपालिकाले दुई दिनदेखि मेसिन र मजदुर लगाएर सडकका खाल्डाखुल्डी पुर्ने काम गरेको छ । चार वर्ष अगाडि भूजीखोलामा आएको बाढीले सडकको धेरै स्थानमा क्षति पु¥याएको छ । ती स्थानमा अहिले सामान्य मर्मत गरेर सकसपूर्ण रुपमा सवारी साधान ओहोरदोहोर गर्छन् । जनैपूर्णिमामा ढोरपाटन जाने भक्तजनको सहजताका लागि अप्ठ्यारो ठाउँमा सडक मर्मत सम्भारको काम गरिरहेको ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायत (कल्याण)ले जानकारी दिनुभयो । यो सिजनमा भक्तजनसहित बुकी चढ्न हजारौँ पर्यटक आउने हुँदा सडकको दुरावस्थाका कारण दुःख पाउने गरेको उहाँको भनाइ छ ।     
     
उपप्रमुख कायतले भन्नुभयो – “यो सडक संघीय सरकार मतहतको आयोजना हुँदा नगरपालिकाले काम गर्न नमिल्ने रैछ, धेरै पटक बन्द हुँदा खुलाउने काम भने गर्दै आएका छौँ, अहिले पनि मेसिन लगाएर सडक संचालन हुने गराएका छौँ, तर निर्माण कम्पनीले काम पोहोर सालनै सक्नु पर्ने हो तर कत्ति पनि काम गर्न सकेको छैन, यसले पर्यटकलाई सास्ती बनाएको छ, जनैपूर्णिमामा ढोरपाटन आउने भक्तजनलाई सहजताको लागि ठाउँ ठाउँमा सडक मर्मत गरेका छौँ, केही अप्ठ्यारो नपरो भनेर ठाउँ–ठाउँमा मेसिन ‘स्ट्याण्ड बाई’ राखेका छौँ ।”     
     
सडकको धेरै ठाउँमा खाल्डाखुल्डी र बीचमा ठूला–ठूला ढुङ्गा हुँदा गाडी बिग्रिएर पर्यटक बीच बाटोमा अलपत्र पर्ने गरेका छन् । बिग्रिएको गाडी बनाउनका लागि नजिकमा ग्यारेजसमेत नहुँदा पर्यटक निरास बनेर फर्किने गरेको ढोरपाटन नगरपालिका–९ का स्थानीय गुनबहादुर विक बताउनुहुन्छ । उहाँले बर्खाले गर्दा धेरै ठाउँमा सडक बिग्रिएको हुँदा यात्रा गर्न किनै कठिन हुने बताउनुभयो । यति बेला धेरै भक्तजनहरु पैदल यात्रा गरेरै ढोरपाटन जाने गरेको उहाँको भनाइ छ ।     
     
“धेरै वर्ष भयो यो बाटो बिग्रिएको, अहिलेसम्म मर्मत भएको छैन, हिउँदमा यस्तैमा पनि गाडीहरु चल्छन्, बर्खामा धेरै गाडी ठाउँ–ठाउँमा बिग्रिन्छन्, ढोरपाटन धेरै सुन्दर छ, त्यही देखेर मान्छेहरु घुम्न आउँछन् तर बाटो देखे भने अर्को पटक आउन धेरै सोच्छन्” उहाँले भन्नुभयो – “ढोरपाटन पुग्ने बाटोमा राम्रो होटलहरु पनि छैनन्, गाडी बिग्रिएर बीच बाटोमा पर्यटक रोकिए भने बास पाउन पनि गाह्रो हुन्छ, सरकारले यो बाटोलाई गम्भीर रुपमा लिएर स्तरोन्नती नगरे धेरैले दुःख पाउँछन् ।”     
     
तराई र पहाडलाई जोड्ने गरि रुपन्देहीको सालझण्डीदेखि अर्घाखाँची हुँदै ढोरपाटन जोड्ने यो सडकको बागलुङ खण्ड वि.सं. २०७१ सालमा ट्रयाक खुलेको थियो । बडिगाडको गङ्गरेदेखि ढोरपाटनसम्म ६१ किलोमिटर सडक बागलुङमा पर्छ । सालझण्डीदेखि ढोरपाटनसम्म १९७ किलोमिटर रहेको छ । बडिगाड गाउँपालिका–१० गङ्गरे, निसीखोला गाउँपालिका–७ राजकुट, वडा नम्बर १ देविस्थान हुँदै ढोरपाटन जोडिएको सडक स्तरोन्नतीका लागि तीन वर्ष अगाडि कार्तिकमा ठेक्का सम्झौता भएको थियो ।     


_


Subscribe to JawaafTV : श्रव्यदृश्यमा हरपलको खबर जवाफ टिभी मा...

 

प्रकाशित मितिः आइतबार, ०२ भदौ २०८१
https://jawaaf.com/storage/01J5G1X831VDSZMQMA01XV7SFV.jpg

सहकर्मी हत्याको विरोधमा भारतीय चिकित्सकहरु देशव्यापी हडतालमा

_

नयाँदिल्ली, १ भदौ (रासस / एएफपी):  सहकर्मीको बलात्कार र हत्यापछि भारतीय चिकित्सकहरुले शनिबार राष्ट्रव्यापी विरोध र हडताल गरेका छन् ।     
     
पूर्वी सहर कोलकाताको एक सरकारी अस्पतालमा अगस्ट ९ मा ३१ वर्षीया डाक्टरको रगतले लतपतिएको शव प्राप्त भएपछि देशव्यापी विरोध प्रदर्शन सुरु भएको हो ।     
     
स्वास्थ्यकर्मीहरुले हड्तालको नेतृत्व गरेका छन् भने दोषीलाई कारबाहीको माग गर्दै दशौँ हजार सर्वसाधारण पनि हडतालमा सहभागी भएका छन् ।     
     
 प्रदर्शनकारीहरु “निको हुने हातबाट रगत बग्न हुँदैन”, “इनफ इज इनफ” “बलात्कारीलाई फाँसी दे “ आदि लेखिएको प्लेकार्डसहित विरोधमा उत्रिएका छन् ।     
     
मृतक चिकित्सकको शव शिक्षण अस्पतालको सेमिनार हलमा फेला परेको थियो । शवपरीक्षण प्रतिवेदनबाट यौन उत्पीडनको पुष्टि भएको छ भने अदालतमा दर्ता भएको निवेदनमा पीडितका आमाबाबुले छोरीलाई सामूहिक बलात्कार गरेको आशङ्का व्यक्त गरेका छन् ।     
     
कोलकाताको प्रहरीले उक्त मुद्दालाई गलत तरिकाले लिएको आरोप लगाई उच्च अदालतले “जनताको विश्वास जगाउन“ अनुसन्धानलाई भारतको शीर्ष केन्द्रीय अनुसन्धान ब्यूरोलाई हस्तान्तरण गरेको छ ।     
     
धेरै राज्यका सरकारी अस्पतालहरूमा उनीहरूले विरोध स्वरूप सोमबार वैकल्पिक सेवाहरू ‘अनिश्चित कालका लागि’ बन्द गरेका छन् । सरकारी तथा निजी दुवै प्रणालीमा धेरै चिकित्सा सङ्गठनहरूले हडतालको समर्थन गरेका छन् ।     
     
हड्तालमा संलग्न चिकित्सकहरुले स्वास्थ्य सेवाकर्मीलाई हिंसाबाट जोगाउन केन्द्रीय सुरक्षा ऐन लागु गर्न माग गरिरहेका छन् ।     
     
हडतालले नियमित स्वास्थ्य सेवा प्रवाहमा समेत बाधा पुर्याएको छ ।     


_

प्रकाशित मितिः शनिबार, ०१ भदौ २०८१
https://jawaaf.com/storage/01J5G1MXKGG38DKWGS8XBJPSFP.jpg

बेनीमा परम्परागत ‘वर्षे नाच’को रौनकता

_

बेनी(म्याग्दी), १ भदौः सदरमुकाम बेनीमा परम्परागत ‘वर्षे नाच’को रौनकता छाएको छ । बेनी बजारमा बस्ती बसेदेखि नै देखाउन थालिएको परम्परागत वर्षे नाचलाई नेवार समुदायको अगुवाइमा निरन्तरता दिइँदै आइएको छ ।     
     
घण्टाकर्ण चर्तुदर्शीदेखि सुरु भएको वर्षे नाच हरितालिका तीजको दिनसम्म एक महिनाभन्दा बढी समय देखाउने गरिन्छ । बेनीमा नेपाल भाषामंकाः खलः अन्तर्गतका युवाहरुको समूह ल्याम्हः पुचःको नेतृत्वमा वर्षे नाच देखाउने गरिएको छ ।     
     
यस वर्ष लाखे नाच, घोडा नाच, जोग नाच, नागनागिनी नाचसहित श्रीकृष्ण रथयात्रा लगायतका कार्यक्रम समावेश गरिएको ल्याम्हः पुचःका अध्यक्ष जेनेश श्रेष्ठले बताउनुभयो । अघिल्ला वर्षहरुमा रोपाइँ, धानको बाला, गोरु लगायतका नृत्यसमेत वर्षे नाचमा समावेश गरिएको भए पनि यस वर्ष नाच व्यवस्थापनमा जनशक्ति थोरै भएकाले लाखे, घोडा, जोगीर नागनागिनी नाचलाई प्राथमिकता दिएर देखाउने गरिएको उहाँको भनाइ छ ।     
     
पुर्खाले सुरु गरेको परम्परागत नाचलाई तालिम र अभ्यासका माध्यमबाट युवा तथा बालबालिकामा समेत सिप हस्तान्तरण गर्ने गरिएको अध्यक्ष श्रेष्ठको भनाइ छ । बेनी बजारमा दिनहुँजसो साँझपख विभिन्न नाच देखाउन थालेपछि वर्षे नाचको रौनकता बढेको छ । सडक र चोक चोकमा देखाइने वर्षेनाच हेर्न बालबालिका, युवायुवति देखि बृद्धबृद्धासम्म सडकतीर जम्माहुने गर्छन् ।     
     
वर्षे नाचमा नेवार समुदायका साथै बेनीमा बसोबास गर्ने अन्य जातजातिका युवायुवती र बालबालिकासमेत सहभागी हुने गर्छन् । बेनीकै सांस्कृतिक पहिचानका रुपमा रहेको वर्षे नाचमा नयाँनयाँ कलाकारहरुको आगमनले मौलिक नाचको संरक्षण र निरन्तरतामा सहयोग पुगेको लाखे नाचका संयोजक सन्दिप श्रेष्ठले बताउनुभयो ।     
     
परम्परागतरुपमा देखाइँदै आएको वर्षे नाचलाई संरक्षण गर्दै हराएर जाने अवस्थामा पुगेका नाचहरुलाई समेत निरन्तरता दिने गरिएको छ । वर्षे नाचमा समावेश गरिने नागनागिनी नाच नेपालभरमा म्याग्दीमा मात्र देखाउने नाचको रुपमा परिचित छ । जनैपूर्णिमा पर्वको दिनमा वर्षभरी दिवंगत भएका नेवार समुदायका व्यक्तिहरुको सम्झनामा सापारु अर्थात् नागनागिनी नाच देखाउने चलन रहेको छ ।     
     
दुई सय वर्षभन्दा पुरानो वर्षे नाचको निरन्तरताको लागि बेनीमा नयाँ कलाकारलाई तालिम दिने गरिएको छ । परम्परादेखि चलिआएको संस्कृतिको निरन्तरता र मौलिकताको संरक्षणमा युवाहरुको उत्साहजनक सहभागिताले सहयोग पुगेको युवा कलाकार अभिनेष श्रेष्ठले बताउनुभयो । आधुनिकताको प्रभावले मौलिक र रैथाने संस्कृति लोप हुँदै गइरहेको सन्दर्भमा वर्षे नाचलाई संरक्षण गर्ने दायित्व युवाको काँधमा आएको उहाँको भनाइ छ ।     
     
वर्षे नाचमा मृढृङ्गा र मादलको तालमा नृत्य देखाउने गरिन्छ । सबैजसो नाचमा परम्परागत समाजको चित्रण गर्ने चलन छ । खास गरि लाखे नाचमा परापूर्व कालमा समाजमा दुःख दिएको र विकृती फैलाएको घण्टाकर्ण नामको राक्षसको हत्यापछि राक्षसकी श्रीमतीले पति वियोगमा गरेको चरित्रलाई देखाउने गरिन्छ । वर्षे नाचअन्तर्गत तिजको दिनमा दानवीय स्वरुपको लाखेलाई भगवान श्रीकृष्णले बध गरेपछि असत्यमाथि सत्यको विजयी हुने सन्देशसहित यो नाच समापन गरिने चलन छ ।     


_

प्रकाशित मितिः शनिबार, ०१ भदौ २०८१