किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउन प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ, ३२ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले किसानलाई समयमा रासायनिक मल उपलब्ध गराउने र व्यावसायिक उत्पादनमा लगाउने विषयमा चासो दिनुुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज कृषि क्षेत्रका विद्यमान अवस्था, चुनौती र सुधारका विषयबारे कृषि तथा पशुपन्क्षीमन्त्री रामनाथ अधिकारी र उच्चाधिकारीसहितको छलफलमा प्रधानमन्त्री ओलीले आगामी मङ्सिरमा कति मल चाहिने हो त्यसको आँकलन गरेर अहिलेदेखि नै खरिद प्रक्रिया थाल्न निर्देशन गर्नुभयो ।
सो मन्त्रालयको कूल बजेटको ५६ प्रतिशत बजेट रासायनिक मल अनुुदानमा रहेको छ । किसानले किन्ने रासायनिक मलमा ६७ प्रतिशतसम्म अनुदान दिँदै मन्त्रालयले खरिद प्रक्रियालाई सरलीकरण बनाउन प्रधानमन्त्री ओलीसँग आग्रह गरेको थियो ।
प्रधानमन्त्री ओलीले किसानलाई नाफा हुने खालका खेती मात्रै गर्ने वातावरण सृजनाका लागि उपयुुक्त जग्गामा सामूूहिक खेती प्रणालीमा जान सुुझाव दिँदै स्वदेशमा उत्पादन नहुने खाद्य पदार्थ समयमै किनेर ल्याउन आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले माछापालन, दूध उत्पादन, सुन्तला, काजुु, ल्याङ र मसलालगायत उपयुक्त खेतीका लागि कहाँ कहाँ के के गर्न सकिन्छ भन्ने स्पष्ट योजना ल्याउन निर्देशन दिनुुभयो ।
“म कृषि विज्ञ होइन । किसानको छोरा हुँ । सानो हुँदा खेती गरिन्थ्यो, ठूलो भएपछि भ्याइएन तर मेरो रगतमा किसानको जिन छ । म बोट बिरुवालाई माया गर्छु । मलाई बोट बिरुवाले माया गर्छन् ।”, प्रधानमन्त्री ओलीले भन्नुुभयो, “हामीले बोट बिरुवालाई माया गरेका उनीहरु खुुसी भएर धेरै फल दिन्छन् ।”
उहाँले पशुुपन्क्षी नेपालभित्र ल्याउँदा र विदेश पठाउँदा स्वास्थ्य जाँच अनिवार्य गराउन, आगामी तीन वर्षभित्र खोरेत रोग उन्मूलन गर्न, कालोबजारी रोक्न, अनुुदानको निरन्तरताभन्दा पनि लाभग्राहीले तिर्ने परिपाटीमा जान पनि सुुझाव दिनुुभयो ।
जलवायु क्षेत्रका ५० अभियान्ताका पाँच प्रतिबद्धता
काठमाडौँ, ३२ साउनः वातावरणीय न्यायमा काम गर्ने ५० जना अभियान्ताहरुले जलवायु परिवर्तनको जोखिम कम गर्दै र चाडपर्वलाई वातावरणमैत्री बनाउन देशव्यापी अभियान सुरु गर्ने घोषणा गरेका छन् । उनीहरुले आज काठमाडौँ आयोजित एक कार्यक्रमकाबीच कार्बन उत्सर्जन घटाउने विभिन्न पाँच बुँदामा सामुहिक प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका हुन् । त्यसमा फोहोर घटाउने, प्लास्टिकको प्रयोग कम गर्ने, सामानको पुनःपयोग गर्ने, वातावरण जोगाउन जनचेतना लगाउनेलगायत छन् ।
वातावरण र जलवायु परिवर्तनको क्षेत्रमा काम गर्दै आएको साथसाथै फाउण्डेशनले वन तथा वातावरण मन्त्रालयको सहकार्यमा आयोजना गरेको कार्यक्रममा नयाँ अभियानको थालनी गरिएको हो ।
साथसाथैका अध्यक्ष प्रजिता कार्कीले तीजलगायतका चाडपर्वलाई वातावरणमैत्री र हरियाली बनाउन संस्थाको कार्यक्रम केन्द्रित हुने जानकारी दिनुभयो । “हरित तीजका लागि महिलाले परिवर्तनको नेतृत्व गरिरहेका छन्”, उहाँले भन्नुभयो,“ साथसाथैले नजिकिएको तीज पर्वलाई लक्षित गरी वातावरणीय पक्ष ख्याल गर्दै ‘ग्रीन, वुमन लिडिङ द चेन्ज’ कार्यक्रम सुरु गरेको हो ।”
पचास जना अभियन्ताहरुमा भूमिका श्रेष्ठ, रेखा थापा, सुनिता बराल, बिना लामा, प्रदा कार्की, श्रद्धा श्रेष्ठ, निमा ग्याल्जेन शेर्पा, मित्र जिरेल, रेणुदेवी साह, सुजनकुमारी बर्देवा, रोजिना प्रधान राई, सृच्छा प्रधान, लिवर्टी भण्डारी, रिना चौधरी, अस्मिता बादे, गौरा नेपाली, स्मृति शर्मा, देविका राई रहनुभएको छ ।
त्यस्तै कृष्णा कार्की, सीता मिजार, उमा प्रधान, जोनी मैनाली, बिमला तुम्खेवा, विनिता कठायत, उषाकिरण भण्डारी, अञ्जिला सुब्बा, इन्दु बर्मा, अरुणा साह,पार्वता चौधरी, रञ्जु दर्शना, रोशनी अधिकारीलगायत हुनुहुन्छ । अभियन्ताहरु राजनीति, शिक्षा, स्वास्थ्य, कानुन, खेलकुद, बैंक तथा वित्तीय संस्था, पर्यटन, कृषि, कलाकारिता, पत्रकारितालगायत क्षेत्रमा क्रियाशील हुनुहुन्छ ।
साथसाथैले विगत तीन वर्षदेखि वातावरण एवं जलवायु न्यायका लागि क्रियाशील रही जलवायु परिवर्तन्को असर र त्यसका न्यूनीकरणका लागि विभिन्न प्रदेशमा पुगी रचनात्मक काम गर्दै आइरहेको छ ।
संस्थाले वर्षभरी नै विभिन्न सांस्कृतिक पर्वलाई वातावरणीय दृष्टिले हरितमैत्री बनाउन विभिन्न कार्यक्रमहरु तय गरेको छ । त्यसमा यस्ता पर्वलाई हरितमैत्री बनाउन सामानको पुनःप्रयोग गर्ने, प्लाष्टिकको प्रयोगलाई निरुत्साहित गर्ने, चाडपर्वलाई वातावरणमैत्री बनाउनेलगायत छन् ।
अभियान घोषणा कार्यक्रममा अभिनेत्री रेखा थापाले प्रकृतिको संरक्षणका लागि जलवायु परिवर्तनको जोखिम नियन्त्रण गर्न जागरुक हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “प्रकृतिलाई बचाउनुपर्छ भनेको आमालाई बचाउनुपर्छ भन्ने भावनाका साथ अगाडि बढ्नुपर्छ । यो कार्यक्रमलाई दूरदराजमा लैजानुपर्छ ।”
हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जलवायु परिवर्तनको जोखिम न्यूनीकरणका लागि बोलेर मात्रै नभई कार्यान्वयन तहमा जानुपर्ने खाँचो रहेको उल्लेख गर्दै आफ्नो गाउँपालिकाले प्लाष्टिकको प्रयोगलाई निरुत्साहित गरेको बताउनुभयो ।
नेपाल पर्यटन बोर्डका निर्देशक श्रद्धा श्रेष्ठले जलवायु परिवर्तनले सबैभन्दा बढी नेपालको पर्यटन क्षेत्रमा असर परेको, हिमाली पर्यटन, पर्वतारोहण र पदयात्रामा प्रभाव पारेको भन्दै यसको जोखिम न्यूनीकरणमा सबै सक्रिय रुपमा लाग्नुपर्नेमा जोड दिनुभयो ।
अधिकारकर्मी सरु श्रेष्ठ जोशीले चाडपर्वमा फजुल खर्च घटाएर पुराना कपडाको पुनःप्रयोगलाई प्रोत्साहन गर्दै त्यसलाई वातावरणमैत्री बनाइनुपर्ने बताउनुभयो ।
अभियन्ता भूमिका श्रेष्ठले चाडपर्वलाई तडकभडक नभई क्षमता अनुसार मनाइनुपर्ने बताउनुभयो । जलवायु परिवर्तनसँग सम्बन्धित कार्यक्रममा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई पनि सहभागी गराइएकोमा खुशी व्यक्त गर्नुभयो । अभियन्ता सविना काफ्लेले वातावरणलाई ख्याल राखेर चाडपर्व मनाईनुपर्ने धारणा राख्नुभयो ।
अभियन्ता यमुना घले र कृष्णा कार्कीले जलवायु र वातावरणमैत्री अभियानलाई सशक्त र प्रभावकारी बनाइनुपर्ने खाँचो औंल्याउनुभयो ।
गृहमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घीय आवासीय संयोजकको शिष्टाचार भेट
काठमाडौँ, ३२ साउन : गृहमन्त्री रमेश लेखकसँग संयुक्त राष्ट्रसङ्घीय आवासीय संयोजक हाना सिंगर हाम्डीले आज शिष्टाचार भेट गर्नुभएको छ ।
सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको उक्त द्विपक्षीय भेटवातार्मा गृहमन्त्री लेखकले संयुक्त राष्ट्रसङघको भूमिकाको प्रसंशा गर्नुभयो । सो अवसरमा उहाँले संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनमा नेपाली सेना र नेपाल प्रहरीको भूमिकाको प्रसंशा गर्दै शान्ति मिसनमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सङ्ख्या थप बढाउन पहल गरिदिन संयोजक हाम्डीलाई आग्रह गर्नुभयो ।
सो अवसरमा संयोजक हाम्डीले सङ्क्रमणकालीन न्यायको प्रगतिका लागि मन्त्री लेखकलाई धन्यवाद दिँदै यस प्रक्रियामा प्राविधिक र आर्थिक पक्षमा संयुक्त राष्ट्रसङघको पूर्ण सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । जलवायु परिवर्तनका जोखिम व्यवस्थापन, विपदमा पूर्व चेतावनी प्रणालीमा पूर्ण सहयोग रहने उहाँले उल्लेख गर्नुभयो ।
सोलुखुम्बुको थामेमा भीषण बाढी
सोलुखुम्बु, ३२ साउनः यहाँको खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित थामे गाउँभन्दा माथिबाट आज दिउँसो भीषण बाढी आएको छ । भीषण बाढीले थामे गाउँका एक होटल र दुई घर बगाएको बताइएको छ ।
खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष मिङ्मा शेर्पाले सो जानकारी दिँदै थामे क्षेत्रमा पर्ने हिमपोखरी फुटेको अनुमान गर्नुभयो । थामे गाउँमा बाढीले क्षति पु-याएको र दुधकोशी नदीमा पानीको प्रवाह वृद्धि भएको प्रमुख जिल्ला अधिकारी देवी पाण्डेले जानकारी दिनुभयो । उहाँले दूधकोशी नदीमा बाढी आइरहेकाले सचेत रहन तटीयक्षेत्रका स्थानीय बासिन्दालाई सचेत गराइएको बताउनुभयो ।
प्रजिअ पाण्डेका अनुसार नाम्चेबाट सुरक्षाकर्मी थामेतर्फ पठाइसकिएको छ । नाम्चेदेखि थामे पैदल हिँडेर पुग्न पाँच घण्टा लाग्ने नाम्चेका स्थानीय लामाकाजी शेर्पाले बताउनुभयो । स्थानीयले टासीलाप्चा आधारशिविरमा रहेका हिमपोखरी फुटेको अनुमान गरेका छन् । क्षतिको यकीन विवरण आउन भने समय लाग्ने स्थानीय प्रशासन र प्रहरीले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभागले एक सूचना प्रकाशित गरी सोलुखुम्बु जिल्ला खुम्बु पासाङ्ल्हामु गाउँपालिका वडा नं. ५ थामे आसपास ठुलो बाढी आएको जानकारी स्थानीयबाट प्राप्त भएकाले सोलुखुम्बुको जोरसल्लेदेखि तल दूधकोशीको तटीय क्षेत्रमा हुनेहरुले अर्को सूचना नभएसम्म उच्च सतर्कता साथ सुरक्षित रहन अनुरोध गरेको छ ।
सुनको मूल्य तोलामा नौ सयले घट्यो
काठमाडौँ, ३२ साउनः स्थानीय बजारमा सुनको मूल्य आज तोलामा रु नौ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, बिहीबार प्रतितोला रु एक लाख ५० हजार पाँच सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ४९ हजार छ सय निर्धारण भएको छ ।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु २० ले वृद्धि भएको छ । बिहीबार प्रतितोला रु एक हजार सात सय ४० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि रु एक हजार सात सय ६० निर्धारण भएको छ ।
सिनावात्रा थाइल्याण्डको प्रधानमन्त्री निर्वाचित
बैङ्कक, ३२ साउन (रासस/एएफपी) : थाइल्याण्डको संसदले ३७ वर्षीया छोरी पाएटोङ्टार्न सिनावात्रालाई शुक्रबार प्रधानमन्त्रीमा निर्वाचित गरेको छ । गठबन्धनमा रहेका अन्य १० दलमध्ये कसैले पनि विकल्प अघि नसारेपछि फेउ थाई पार्टीले बिहीबार पाएटोङ्टानलाई आफ्नो प्रतिस्थापन उम्मेदवारको रूपमा चयन गरेको थियो छ ।
फेउ थाइ पार्टीले थाइल्याण्डको राजनीतिमा प्रभावशाली परिवार मानिने सिनावात्रा वंशका तेस्रो सदस्य पेटोङ्टार्नलाई प्रधानमन्त्री बनाउने निर्णय गरी संसदीय प्रक्रियामार्फत् अनुमोदनका लागि शुक्रबार नै संसदमा प्रस्तुत गरेको थियो ।
पाएटोङ्टार्नका बुबा थाक्सिन सिनावात्रा र फुपु यङलिङ सिनावात्राले यसपहिले नै प्रधानमन्त्रीको रूपमा सेवा गरिसकेका छन् । थाइल्याण्डको संवैधानिक राजतन्त्रको इतिहासमा उहाँ सबैभन्दा कान्छो नेता हुनुहुन्छ ।
राज्यको संवैधानिक अदालतले निवर्तमान प्रधानमन्त्री श्रेता थाभिसिनलाई फौजदारी अभियोग लागेका व्यक्तिलाई मन्त्री नियुक्त गरेको भनी अदालतमा दायर मुद्दामाथि सुनुवाईपछि दोषी ठहर गर्दै पदमुक्त गरिएको थियो ।
पेटोङ्टार्न थाइल्याण्डको दोस्रो महिला प्रधानमन्त्री बन्नुभएको छ ।
सेना, राजावादी दलहरू र टेलिकम टाइकून तथा कुनै समय म्यानचेस्टर सिटीका मालिकसमेत बनेका पूर्वप्रधानमन्त्री थाक्सिनसँग जोडिएका पपुलिस्ट पार्टीहरूबीच लामो समयदेखिको तनावपछि निवर्तमान प्रधानमन्त्री स्रेथाको बहिर्गमन भएको थियो ।
संसदको तेस्रो ठूलो दल भुमजैथाईले शुक्रबारको मतदानमा फेउ थाईका उम्मेदवारलाई समर्थन गर्न सहमत भएको जनाएको छ ।
सन् २०२२ को अन्त्यमा राजनीतिमा प्रवेश गर्नुअघि पाएटोङ्टार्नले होटेल क्षेत्रको व्यावसाय हेर्दै आउनुभएको थियो र गत वर्षको आम चुनावको दौडान उहाँ चुनावी अभियानमा लगभग निरन्तर उपस्थित रहनुभएको थियो ।
विद्यार्थीद्वारा शिक्षकको निगरानी !
टीकापुर , ३२ साउन (रासस) : कैलालीको टीकापुर नगरपालिका वडा नं. ३ स्थित हिमालय माध्यामिक विद्यालय घिया पुछरीका विद्यार्थीहरुले शिक्षकको निगरानी गर्न थालेका छन् । विद्यालयमा शिक्षकको नियमित उपस्थिति र कक्षा समय बढाउन विद्यार्थीले शिक्षकको निगरानी गर्न थालेका हुन् । विद्यार्थीहरुले शिक्षक कक्षामा प्रवेश गर्ने र बाहिर निस्कने समयको ‘रेकर्ड’ राख्न थालेका छन् ।
विद्यालय प्रशासनले शिक्षक पूरा समय कक्षामा बस्नै पर्ने गरी यो नियम लागू गरेर ‘रेकर्ड’ राख्ने जिम्मा विद्यार्थीलाई दिएको हो । विद्यालयले कक्षा लिडर (मनिटर) ले यो रेकर्ड राख्नुपर्ने जिम्मा दिनुका साथै मासिक विवरण राख्न लग बुक दिएको छ । विद्यालयमा गत शैक्षिक शत्रबाट यो अभ्यास थालिएको हो ।
कक्षा ८ का मनिटर नमूना पौडेल कक्षाकोठामा शिक्षक प्रवेश गरेपछि शिक्षक आएको गएको रेकर्ड राख्ने र महिना पुगेपछि प्रधानाध्यापकलाई बुझाउने गरेको बताउनुभयो । ‘‘शुरुमा अप्ठ्यारो लागेको थियो, विद्यालयले हामीलाई लगबुक दिएको छ’’, उहाँले भन्नुभयो, ‘‘हरेक शिक्षक आएको र गएको समय लेख्छौँ ।’’
शिक्षक कक्षाकोठामा प्रवेश गरेको र बाहिरिएको समय लेख्ने गरिएको कक्षा ६ का मनिटर मनोज चौधरीले बताउनुभयो । ‘‘हामीले महिनाभरिको रेकर्ड राख्छौँ र विद्यालयमा बुझाउने गछौँ’’, उहाँले भन्नुभयो, ‘‘शिक्षकको रेकर्ड राख्न थालेपछि विद्यार्थी पनि अनुशासित भएका छन् । हामी पनि कक्षा अवधिभर बाहिर निस्कदैनौँ ।’’
हिमालय मावि घियाका प्रधानाध्यापक बुद्धिराम चौधरी शिक्षकको कक्षाकोठामा नियमित उपस्थिति बढाउन विद्यार्थीले शिक्षकको रेकर्ड राख्न थालिएकोे जानकारी दिनुभयो । ‘‘केही शिक्षकहरु १० मिनेट ढिलो कक्षामा प्रवेश गर्ने, ५ मिनेट पहिल्यै कक्षा छोड्ने गरेको देखिन्थ्यो, यसैलाई रोक्न निगरानी गर्ने जिम्मा विद्यार्थीलाई दियौँ’’, उहाँले भन्नुभयो, ‘‘शुरुमा विद्यार्थीले निगरानी गर्ने भनेपछि केही शिक्षकले यस्तो शैली मन पराएका थिएनन् । यसले शैक्षिक सुधारमा सघाउँछ । सबै शिक्षकलाई जिम्मेवार बनाउँछ भनेपछि शिक्षक साथीहरु तयार हुनुभयो ।’’
विद्यार्थीले शिक्षक कक्षा प्रवेश गरेको र निस्किएको रेकर्ड राख्न थालेपछि शिक्षकले जिम्मेवारी र अनुशासन पालना गरेको उहाँको भनाइ छ । ‘‘इमानदार शिक्षकलाई यस कार्यले खुशी दिएको छ । कक्षाकोठामा नियमित शिक्षण सिकाइ क्रियाकलाप पूरा गर्न शिक्षकले लापरवाही गर्न पाइदैन भन्ने हो’’, प्रअ चौधरीले उहाँ भन्नुभयो, ‘‘४५ मिनेट पूरा विद्यार्थीलाई दिनुपर्छ भन्ने हो । समय ख्याल नगरे पठनपाठन र नियमित क्रियाकलापमा असर पार्छ ।’’ प्रअ चौधरीका अनुसार सुरुमा शिक्षकको मूल्याकंन विद्यार्थीले गर्ने भनी शिक्षकहरुलार्ई नरमाइलो लागेको थियो तर सकारात्मक पक्ष, समय पालना नियमित हुन्छ भनी लागू गर्दा, अहिले शैक्षिक सुधार भएको छ ।
प्रधानमन्त्री ओलीसँग अमेरिकी उपविदेशमन्त्रीको शिष्टाचार भेटवार्ता
काठमाडौँ, ३२ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहनुभएका संयुक्त राज्य अमेरिकाका व्यवस्थापन तथा स्रोतसम्बन्धी उपविदेशमन्त्री रिचार्ड आर वर्माले शिष्टाचार भेट गर्नुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज भएको भेटमा उहाँहरुबीच दुईपक्षीय सम्बन्ध र आपसीहितका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । नेपालको आर्थिक र सामाजिक विकासका क्षेत्रमा सन् १९५० देखि अमेरिकी सरकारले गर्दै आएको निरन्तर सहयोगका लागि प्रधानमन्त्री ओलीले आभार व्यक्त गर्नुभयो । उहाँले नेपालको विकासका विविध क्षेत्रमा अमेरिकी सरकारको सहयोगको अपेक्षासमेत गर्नुभयो ।
प्रधानमन्त्री ओलीले नेपाल सन् २०२६ भित्र अल्पविकसित मुलुकबाट स्तनोन्नति हुने क्रममा रहेको र राजनीतिक सहमतिका आधारमा नेपालको सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनका विषय टुङ्गो लाग्ने क्रममा रहेको उल्लेख गर्नुभयो ।
सो अवसरमा उपविदेशमन्त्री वर्माले दुई देशबीचको ७७ वर्षदेखिको दुईपक्षीय सम्बन्धको स्मरण गर्दै नेपालको विकासमा साझेदार हुन पाउनु अमेरिकाका लागि खुसीको विषय भएको बताउनुभयो । उहाँले नेपालको सङ्क्रमणकालीन न्याय टुङ्गोमा पुग्न लागेकामा बधाई दिनुभयो । भेटका अवसरमा प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, पराराष्ट्र मन्त्रालयका अधिकारीलगायत सहभागी हुनुहुन्थ्यो ।
सहकर्मीको हत्यापछि भारतीय चिकित्सकहरू हडतालमा
नयाँदिल्ली, ३२ साउन (रासस/एएफपी) : सहकर्मीको बलात्कार र हत्यापछि भारतीय चिकित्सकहरूले शुक्रबार देशव्यापी विरोध प्रदर्शन र हडताल बढाउने बताएका छन् । उक्त क्रुर हत्याले महिलाविरुद्ध हिंसाको पुरानो मुद्दामा आक्रोशलाई केन्द्रीत गरेको छ ।
पूर्वी सहर कोलकाताको एक सरकारी अस्पतालमा अगस्ट ९ मा ३१ वर्षीया व्यक्तिको रगतले लतपतिएको र क्रुर शव प्राप्त भएपछि देशव्यापी विरोध प्रदर्शन सुरु भएको हो ।
नयाँदिल्लीमा सरकारद्वारा सञ्चालित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) अस्पतालबाट शुभ्राङ्कर दत्ताले शुक्रबार भन्नुभयो, “हामीले हाम्रा सहकर्मीलाई न्यायको माग गर्न विरोध प्रदर्शनलाई तीव्रता दिइरहेका छौँ ।”
धेरै राज्यका सरकारी अस्पतालहरूमा उनीहरूले विरोध स्वरूप सोमबार वैकल्पिक सेवाहरू ‘अनिश्चित कालका लागि’ बन्द गरेका छन् । सरकारी तथा निजी दुवै प्रणालीमा धेरै चिकित्सा सङ्गठनहरूले हडतालको समर्थन गरेका छन् ।
हत्याको निन्दा गर्नका लागि हजारौँले बुधबार रातभर कोलकाताको सडकहरूमा जुलुस निकाले र मध्यरातमा भारतको स्वतन्त्रता दिवसको सुरुआतका साथ मैनबत्तीको उज्यालोमा जुलुस निकाले ।
इन्डियन मेडिकल एसोसिएसनले निजी अस्पतालहरूमा सबै अनावश्यक र चिकित्सा प्रक्रियाहरू निलम्बन गर्दै शनिबार २४ घन्टाका लागि ‘देशव्यापी सेवाहरू बन्द गर्न’ आह्वान गरेको छ ।
शिक्षण अस्पतालको सेमिनार हलमा हत्या गरिएकी चिकित्सक फेला परेको र उनी लामो सिफ्टका क्रममा केही समयका लागि आराम गर्न त्यहाँ गएको भारतीय सञ्चारमाध्यमले बताएका छन् ।
भारतीय प्रसारक एनडिटिभीका अनुसार शव परीक्षणले यौन दुर्व्यवहार भएको पुष्टि गरेको छ । अदालतमा निवेदनमा पीडितका बुबाआमाले आफ्नी छोरीमाथि सामूहिक बलात्कार भएको आशङ्का गरेका छन् ।
अत्याचार
प्रहरीले अस्पतालमा व्यस्त लाइनमा सहयोगीको काम गर्ने एक व्यक्तिलाई हिरासतमा लिएको छ । राज्य सरकारका अधिकारीहरूमाथि यो विषयलाई दुरुपयोग गरेको आरोप लगाइएको छ ।
भारतमा महिलाविरुद्ध यौन हिंसा व्यापक समस्या हो । एक अर्ब ४० करोड जनसङ्ख्या भएको मुलुकमा सन् २०२२ मा प्रतिदिन औसत करिब ९० बलात्कारको घटना रिपोर्ट गरिएको छ ।
धेरैका लागि आक्रमणको विभत्स प्रकृतिले सन् २०१२ मा दिल्ली बसमा एक युवतीमाथि भएको भयानक सामूहिक बलात्कार र हत्यासँग तुलना गरेको छ ।
ती महिला महिलाविरुद्ध यौन हिंसाको सामना गर्न सामाजिक रूपमा रूढिवादी मुलुकको असफलताको प्रतीक बनिन् । उनको मृत्युपछि दिल्ली र अन्य स्थानमा ठूलो मात्रामा कहिलेकाहीँ हिंसात्मक प्रदर्शनहरू भए ।
दबाबमा सरकारले बलात्कारीहरूका लागि कठोर सजाय र बारम्बार अपराध गर्नेहरूका लागि मृत्युदण्डको व्यवस्था गर्यो ।
धेरै नयाँ यौन अपराध पनि सुरु भए । यसमा पछ्याउने पनि सामेल छ । साथै बलात्कारको उजुरी दर्ता गर्न अस्वीकार गर्ने अधिकारीहरूलाई अब जेल सजाय हुनसक्छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार महिलाविरुद्ध ‘राक्षसी’ कृत्य गर्नेहरूलाई तत्काल सजाय दिन माग गर्नुभयो । “हाम्रा आमा र दिदीबहिनीमाथि भएको अत्याचारप्रति आक्रोश छ”, उहाँले भन्नुभयो, “महिलाविरुद्धका अपराधको शीघ्र छानबिन हुनुपर्छ, महिलाविरुद्धको राक्षसी व्यवहारलाई कडा र तत्काल सजाय दिनुपर्छ ।”
चिकित्सकहरूले स्वास्थ्यकर्मीहरूलाई हिंसाबाट बचाउन केन्द्रीय संरक्षण ऐन, विधेयक लागु गर्न माग गरेका छन् ।
मर्मतसम्भारको अभावमा जीर्ण बन्दै औलिया मठ

मठको गद्दीदेखि मूर्तिसम्म गद्दीसम्मका संरचना जीर्ण बनाकाले तत्काल मर्मतसम्भार थाल्नुपर्ने उहाँको माग छ । उहाँले धार्मिक एवं पुरातात्विक महत्वका यस्ता सम्पदा संरक्षणको दायित्व समाजका सबै वर्गको भएको बताउनुभयो । जीर्णोद्वारका लागि गुठी संस्थानलाई पत्राचार गरिएको उहाँले बताउनुभयो ।
महन्त पुरीका अनुसार शिवालयभित्रको स्वर्णजडित शिवलिङ्ग, शिवलिङ्गको स्वर्णजडित नाग, स्वर्णजडित पञ्चमुखी शिवलिङ्ग, सङ्गमर्मरद्वारा निर्मित औलिया बाबाको मूर्ति, पत्थरको द्वारा निर्मित अष्टभूजा भैरवको मूर्ति, औलिया बाबाको गद्दी तत्काल जीर्णोद्वार गर्नुपर्ने भएको छ । धर्मशास्त्रले खण्डित मूर्ति पूजा गर्न नहुनेमा जोड दिएको उहाँले बताउनुभयो ।




















