शनिबार, १३ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01J5CPY2FJY9XEH9FG04YS8AEC.jpg

नयाँ पुस्तालाई कला, संस्कृति सिकाउँदै नेवार समुदायका अगुवा

_

मध्यविन्दु (नवलपरासी), ३२ साउनः बर्दघाट सुस्तापूर्वको कावासोतीका नेवार समुदायले आफ्नो परम्परागत कला, संस्कृति नयाँ पुस्तालाई सिकाउन थालेको छ । यहाँका अगुवाले तालिम सञ्चालन समुदायको संस्कृतिक र कलाबारे नयाँ पुस्तालाई सिकाएका हुन् ।   

सीका नेवाः गुठी अध्यक्ष रामचन्द्र श्रेष्ठका अनुसार गुठीले बालबालिका र युवालाई कला, संस्कृति जगेर्ना गर्न लाखे नाच, धिमेबाजा, मादल र झ्याली संरक्षण अभियान सुरु गरेकोे हो । लाखेनाच, धिमेबाजा नेवार समुदायको परम्परागत सांस्कृतिक महत्त्वसँग जोडिएको तर नयाँ पुस्ताले आधुनिकतासँगै यो बिर्सने थालेकाले संरक्षण अभियान थालिएको हो ।  

सीका नेवाः गुठीले नेवारी कला, संस्कृति र सीप संरक्षणका लागि गत वर्ष पनि ४५ दिनको धिमे बाजा प्रशिक्षण सञ्चालन गरेको थियो । गत वर्षको प्रशिक्षणले सकारात्मक प्रभाव पारेपछि यस वर्ष पनि लाखे नाचसहितको प्रशिक्षण सञ्चालन गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।  “गाईजात्रामा बजाउनुपर्ने  धिमेबाजा, मादल, झ्याली र ढलकीको व्यावहारिक तािलम नयाँ पुस्तालाई दिइरहेका छौँ, पुरानो पुस्ताको सीप पनि क्रमशः हस्तन्तरण गर्दैछौँ”, उहाँले भन्नुभयो । 

बालबालिकालाई वाद्यवादन सीप र परम्परागत नाच सिकाउँदा उनीहरूले छिटो सिक्ने हुँदा नयाँ पुस्तामार्फत परम्परा संरक्षण अभियान थालिएको गुठीका सल्लाहकार झकनारायण श्रेष्ठले बताउनुभयो ।  नेवार समुदायमा बुवाको मुख हेर्ने, आमाको मुख हेर्ने, देगु पूजा, गुँ पुन्ही, येँया पुन्ही, चथाः, दसैँ, तिहार, म्हःपूजा, पाँहाचह्रे, योमरी पुन्हीलगायत चाडपर्वमा मौलिक बाजा बजाउने  चलन रहेको जानकारी उहाँले दिनुभयो ।


_

प्रकाशित मितिः शुक्रबार, ३२ साउन २०८१
https://jawaaf.com/storage/01J5CPEFAPWNX8KPE8Y8E6HMQB.jpg

दुर्व्यसनमुक्त पालिका बनाउने अभियानमा चुलाचुली

_


फिक्कल (इलाम), ३२ साउनः नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, सामाजिक अभियन्ता एवं स्थानीय बासिन्दासँगको सहकार्यमा चुलाचुली गाउँपालिका–३ ले गाउँपालिकालाई दुर्व्यसनमुक्त बनाउने उद्दश्यसहित लागुपदार्थ रोकथाम तथा नियन्त्रण अभियान सुरु गरेको छ ।     
     
चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङका अनुसार पालिकाका स्थानीय बासिन्दाको सहभागितामा लागुपदार्थविरुद्ध चेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै युवालाई यसविरुद्ध लाग्न प्रेरित गर्न घरदैलो भइरहेको छ ।     
     
प्रारम्भिक चरणमा सरोकारवालासँग अन्तक्र्रिया, अनुभव आदानप्रदान र सुझाव सङ्कलन गरी कुलतमा फसेका युवा र उनीहरूका अभिभावकसँग संयुक्त अन्तक्र्रिया, विभिन्न टोल तथा विद्याललयमा लागुपदार्थ रोकथाम तथा नियन्त्रण सम्बन्धी कार्यक्रम सञ्चालन भएको छ ।     
     
लागुपदार्थ दुर्व्यसनले व्यक्ति, परिवार र समाजमा पर्ने असरलाई दृष्टिगन गरी यसविरुद्ध विशेष अभियान तीव्र पारिएको अध्यक्ष केरुङले बताउनुभयो । “पहिलो चरणमा कुलतमा फसेका ६० जना युवा पहिचान गरी उनीहरुका घरदैलोमा गएर अभिभावकसँग छलफल गरी दुव्र्यसनबाट अलग गराई समाजमा पुनःस्थापनाको प्रयास भएको छ, “उहाँहरु समाजमा पुनःस्थापित हुन तयार हुनुहुन्छ, पालिकामा उपस्थित गराएर कुलतबाट मुक्त भएको प्रतिबद्धतापत्रमा हस्ताक्षर गराई समाजमा पुनःस्थापना गरिनेछ”, अध्यक्ष केरुङले भन्नुभयो ।     
     
वडा नं ३ बाट सुरु गरिएको अभियानलाई सबै वडाको टोलटोलमा पुर्याइने उहाँले बताउनुभयो । अभियानका क्रममा सन्देशमूलक सामग्रीहरुको प्रदर्शनी, लागुपदार्थ र लागुऔषधले गर्ने हानीबारे जानकारी दिइने बताउनुभयो ।     
     
खुला सीमाका कारण भारतीय बजारबाट लागुपदार्थ भित्र्याउने, विभिन्न स्थानमा पुर्याएर बेच्ने तथा प्रयोग गर्ने बढेका प्रहरीले जनाएको छ ।     
     
नेपाल लागुऔषध प्रयोगकर्ता सर्वेक्षण २०७६ का अनुसार देशमा एक लाख ३० हजार चार सय २४ जना लागुऔषध प्रयोगकर्ता रहेका अनुमान छ । उनीहरु १५ देखि ५० वर्ष उमेर समूहका छन् । यसअघि २०६९ मा गरिएको सर्वेक्षणमा ९१ हजार पाँच सय ३४ जना प्रयोगकर्ता रहेका जनाइएको थियो ।     
     
विश्व स्वास्थ्य सङ्गठनको सन् २०२१ को प्रतिवेदनअनुसार विश्वमा झण्डै २९ करोड ६० लाख मानिस लागुऔषधको दुरुपयोग गरिरहेका छन्भने तीमध्ये तीन करोड ९५ लाख विभिन्न स्वास्थ्य समस्याबाट पीडित छन् ।     


_

प्रकाशित मितिः शुक्रबार, ३२ साउन २०८१
https://jawaaf.com/storage/01J5CF1MKESTZV8JT6E0BN332S.jpg

म्याग्दीमा आठवटा झोलुङ्गे पुल निर्माण

_


म्याग्दी, ३२ साउनः आर्थिक वर्ष २०८०/८१ मा म्याग्दीका ग्रामीण भेगमा आठवटा झोलुङ्गे पुल निर्माण भएका छन् भने तीनवटा निर्माणाधीन छन् । झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रम (स्वाप), टिबिएसयु, गण्डकी प्रदेश सरकार, स्थानीय तह, समुदाय र गैरसरकारी संस्था मिलन म्याग्दीको साझेदारीमा ती पुल निर्माण भएका हुन् ।     
     
झोलुङ्गे पुल निर्माणका लागि सामुदायिक परिचालन र प्राविधिक सहयोग गर्दै आएको स्थानीय साझेदारी संस्था मिलन म्याग्दीका कार्यकारी निर्देशक दिलमाया बिटालुले रु २० करोडभन्दा बढीको लागतमा ती पुल निर्माण सकिएका र निर्माण भएका बताउनुभयो ।     
     
मालिका गाउँपालिका–६ को म्याग्दीखोलामा एक सय १४ मिटर, मङ्गला गाउँपालिका–५ पिपलबोटको म्याग्दीखोलामा ७३ मिटर, धवलागिरि गाउँपालिका–७ को म्याग्दीखोलामा एक सय एक मिटर, धवलागिरि–४ खोलाखर्कमा एक सय १२ मिटर, अन्नपूर्ण गाउँपालिकाको दोबिल्ला खोलामा ६० मिटर र ठूलोखोलामा ६४ मिटर लामो पुल निर्माण भएको हो ।     
     
यसैगरी, गण्डकी प्रदेश सरकारको पूर्वाधार विकास कार्यालयले निर्माण गरेको कालीगण्डकी खोलामाथि भुरुङ तातोपानीबाट पाउद्धार तातोपानी कुण्ड जाने एक सय २६ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको हो । बेनी नगरपालिका–७ मङ्गलाघाटस्थित म्याग्दीखोलामा निर्माणाधीन ४६ मिटर लामो पुलको ८५ प्रतिशत, रघुगङ्गा गाउँपालिका–८ को लामो खोसेरा खोलाको ३२ मिटर लामो पुलको ६५ प्रतिशत र मालिका–४ मा ७० मिटर लामो कुमालघारे खोला पुलको ३० प्रतिशत निर्माण सकिएको छ । 


_

प्रकाशित मितिः शुक्रबार, ३२ साउन २०८१
https://jawaaf.com/storage/01J5CEK73TQ4M1RM7KJF874Y5Z.jpg

डोटीमा यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते

_

डोटी, ३२ साउनः दिपायल सिलगढी नगरपालिका–४ समूहगाडमा यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । धनगढीबाट दिपायलतर्फ आइरहेको शैलेश्वरी यातायातको ना५ख ४४५१ नम्बरको बस आज बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी भीमलाल भट्टराईले जानकारी दिनुभयो ।     
     
दुर्घटनामा घाइते भएकाहरूको राजपुरस्थित सुजङ अस्पतालमा उपचार भइरहेको छ । बस सडकबाट करिब ३५ मिटर तल खसेको छ ।   

 
 

_

प्रकाशित मितिः शुक्रबार, ३२ साउन २०८१
https://jawaaf.com/storage/01J5CEE6HDP2ADV3GN6P79AAY3.jpg

देशभर मनसुनी वायुको प्रभाव कायम

_

काठमाडौँ, ३२ साउनः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ ।     
     
विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । सबै प्रदेशका केही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।     
     
त्यसैगरी आज राति देशभर साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै पानी पर्ने सम्भावना छ ।     
     
आगामी २४ घण्टामा सबै प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा हुने तथा कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने बाढीपहिरोको जोखिमबाट जोगिन विभागले सम्बद्ध सबैमा आग्रह गरेको छ । ती स्थानको दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले सतर्कता अपनाउन पनि विभागले अनुरोध गरेको छ । 


_

प्रकाशित मितिः शुक्रबार, ३२ साउन २०८१
https://jawaaf.com/storage/01J5B1K43NG87P2GZV84NFZ4C7.jpg

साफ च्याम्पियनसिपः मैदानको टुङ्गो अझै लागेन

_

काठमाडौँ, ३१ साउनः दक्षिण एसियाली राष्ट्रहरुबीच हुने यु–२० पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता यही भदौ २ गतेदेखि नेपालमा सुरु हुँदैछ । प्रतियोगिता सुरु हुन तीन दिन बाँकी रहँदा पनि खेल कुन मैदानमा हुने अझै टुङ्गो लागेको छैन । 

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का प्रवक्ता सुरेश शाहले खेल दशरथ रङ्गशाला वा सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने हो भन्ने अझै टुङ्गो नलागेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले दशरथ रङ्गशालामा प्रतियोगिताका खेल गर्ने तयारी गरेका थियौँ, तर सहिद स्मारक ए डिजिभन लिग विजेता चर्च ब्वाइज युनाइटेड क्लब र भुटानी लिग च्याम्पियन पारो एफसीको खेलमा मैदान बिग्रिएकाले साफ च्याम्पियनसिपको खेल कुन मैदानमा गर्ने टुङ्गो लागेको छैन ।” 

उक्त खेलमा बिग्रिएको खेलमैदानका कारण चर्को आलोचना भएको थियो । उहाँले आज एएफसीबाट दशरथ रङ्गशाला मैदानको निरीक्षण हुने र भोलिसम्म खेल मैदानको टुङ्गो लाग्ने बताउनुभयो । 

प्रवक्ता शाहले प्रतियोगिताको उद्घाटन खेल दशरथ रङ्शालामा हुन नसके वैकल्पिक रुपमा रहेको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुनसक्ने बताउनुभयो । प्रतियोगिताको उद्घाटन खेल भदौ २ गते नेपाल र श्रीलङ्काबीच हुनेछ । प्रतियोगिताको सेमिफाइनल र फाइनल भने दशरथ रङ्गशालामै हुने उहाँको भनाइ छ ।

भदौ १२ गतेसम्म चल्ने प्रतियोगितामा विभिन्न छ राष्ट्रको सहभागिता रहनेछ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । जसमा नेपाल समूह ‘ए’मा परेको छ । नेपालको समूहमा बङ्गलादेश र श्रीलङ्का छन् ।

त्यसैगरी समूह ‘बी’मा भारत, माल्दिभ्स र भुटान छन् । प्रतियोतिगामा सहभागिता जनाउन माल्दिभ्स आजै नेपाल आइपुगिसकेको छ । त्यसैगरी भुटान, श्रीलङ्का र भारत भोलि नेपाल आइपुग्नेछन् भने बङ्गलादेश आगामी भदौ १ गते नेपाल आइपुग्ने तय भएको आयोजक एन्फाले जनाएको छ ।


_

प्रकाशित मितिः बिहिबार, ३१ साउन २०८१
https://jawaaf.com/storage/01J5B0XK0NXC03RGS02P9JYT59.jpg

डेङ्गी नियन्त्रण गर्न स्थानीय तहका जनप्रतिनिसँग छलफल

_

काठमाडौँ, ३१ साउनः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले काठमाडौँ उपत्यकामा डेङ्गी नियन्त्रण गर्ने विषयमा उपत्यकाका स्थानीय तहका जनप्रतिनिधिहरुसँग छलफल गर्नुभएको छ । काठमाडौँ, भक्तपुर र ललितपुरमा डेङ्गी सङ्क्रमितको सङ्ख्या वृद्धि भएसँगै महामारीको रुप लिनसक्ने जोखिम देखिएपछि नियन्त्रणका लागि आवश्यक सहकार्य गर्न मन्त्री पौडेलले स्थानीय तहका जनप्रतिनिधिहरुसँग छलफल गर्नुभएको हो ।     
     
छलफलमा मन्त्री पौडेलले स्थानीय तहसँग मिलेर काम गर डेङ्गीे नियन्त्रण गर्न सकिने बताउनुभयो । उहाँले नीतिगत निर्णय र थप सहकार्यका लागि मन्त्रालय तयार रहेको उल्लेख गर्नुभयो । “उपत्यकामा डेङ्गी नियन्त्रण हामीले प्राथमिकतामा राखेका छौँ”, उहाँले भन्नुभयो, “आम नागरिकलाई जोगाउन सहकार्य जरुरी छ ।”     
     
साउनदेखि फैलिएको डेङ्गी भदौ र असोजमा थप फैलन सक्ने जोखिम रहेको विज्ञहरुको भनाइ उद्धृत गर्दै मन्त्री पौडेलले भयावह हुन नदिन स्थानीय तहबाट साथ र सहकार्यको अपेक्षा गरेको बताउनुभयो । उहाँले सरसफाइको कमीका कारण सङ्क्रमण फैलने भएकाले मन्त्रालयले देशैभर सातामा एक दिन एकै समयमा सफाइ अभियान सञ्चालन गर्न लागेको जानकारी दिनुभयो । उक्त सफाइ अभियानमा स्थानीय तह र प्रदेशको साथ मिलेमा देशैभर सफाइ अभियान थालिने बताउनुभयो ।     
     
हाल मन्त्रालयले डेङ्गी जोखिमलाई ध्यानमा राखेर सातै प्रदेशका अस्पतालमा बेग्लै डेस्क स्थापना गरी उपचार थालेको छ । अब उपचारसँगै थप सङ्क्रमण हुन नदिन वडा तहसम्म सचेतना विस्तार गर्न उहाँले आग्रह गर्नुभयो । मन्त्रालयले स्थानीय तहलाई हरसम्भव साथ दिने प्रतिबद्धता उहाँले जनाउनुभयो ।     
     
मन्त्रालयका अतिरिक्त सचिव दीपेन्द्ररमण सिंहले जमेको पानी मात्र कम गर्न सकिए सङ्क्रमण न्यूनीकरणमा धेरै सहयोग हुने धारणा राख्नुभयो । छलफलमा सहभागी काठमाडौँ, भक्तपुर तथा ललितपुरका स्थानीय तहका प्रमुख तथा उपप्रमुखले आफ्ना तर्फबाट भएका प्रयासहरुको जानकारी गराउनुभएको थियो । उहाँहरुले डेङ्गी तथा हैजा नियन्त्रणमा हातेमालो गर्न तयार रहेको प्रतिबद्धता जनाउनुभयो ।     
     
गाउँपालिका तथा नगरपालिका महासङ्घका प्रतिनिधिहरुले पनि एक्लाएक्लै काम गर्ने प्रवृत्ति रहेकाले तीनै तहका सरकारबीच सहकार्य आवश्यक रहेको बताउनुभयो । “हामीलाई पहिलोपटक मन्त्रालयले महामारी नियन्त्रणको छलफलमा सम्झेको छ,” नागार्जुन नगरपालिकाकी उपप्रमुख सुशीला अधिकारीले भन्नुभयो, “हामी डेङ्गी नियन्त्रणमा सहकार्य गर्न तयार छौँ ।”     
     
स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुले खानेपानीको गुणस्तर कायम नगर्नेहरुलाई कारबाही गर्न तथा निजी अस्पतालहरुबाट तथ्याङ्कमा सहयोग प्राप्त नगरेकाले मन्त्रालयको सहयोग आवश्यक रहेको बताउनुभयो ।     
 


_

प्रकाशित मितिः बिहिबार, ३१ साउन २०८१
https://jawaaf.com/storage/01J5AZ67Y7AA2A7AZJ00NAFNY0.jpg

ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्य, ट्रक तोडफोड, सडक ठप्प

_

भक्तपुर, ३१ साउनः भक्तपुरको गठ्ठाघरमा ना६ख २१७३ नम्बरको ट्रकले बा३९प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार एक महिलाको घट्नास्थलमै मृत्यु भएको छ । 

प्रत्यक्षदर्शीका अनुसार कौशलटारबाट गठ्ठाघरतर्फ गइरहेको ट्रकले ट्राफिक चेकिङ्गमा रोकिराखेको स्कुटरलाई ठक्क दिँदा स्कुटर चालक घट्नास्थलमै मृत्यु भएको हो । तीव्र गतिको ट्रकले करिब एक सय परसम्म स्कुटरलाई घिसारेको प्रत्यक्षदर्शीले बताएका छन् । चालकको शरीर क्षतविक्षत भएको छ भने परिचय अझै नखुलेको प्रहरीले जनाएको छ । घटनास्थलमा झोला र किताब–कापी भेटिएका छन् ।

दुर्घटनापछि आक्रोशित भीडले ट्रकमा तोडफोड गरेका छन् । स्थानीय आन्दोलित भएपछि भक्तपुर–कोटेश्वर सडकखण्ड र सानोठिमी–जडीबुटी–पेप्सीकोला सडकमा यातायात ठप्प भएको प्रहरीले जनाएको छ ।


_

प्रकाशित मितिः बिहिबार, ३१ साउन २०८१
https://jawaaf.com/storage/01J5AV2W3C132B6R8GK0HJDBSZ.jpg

शेयर कारोबारमा कीर्तिमान, झण्डै ३० अर्बको कारोबार

_

काठमाडौँ, ३१ साउन : धितोपत्र बजारमा आज अर्को कीर्तिमान कायम भएको छ । कारोबार रकम हालसम्मकै उच्च विन्दुमा पुगेको हो । आज झण्डै रु ३० अर्ब बराबरको कारोबार भएको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ४३ दशमलव शुन्य पाँच अङ्कले उकालो लागेर तीन हजार दशमलव ८१ मा पुगेको छ । 

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसुचक १६ दशमलव शून्य  एक अङ्कले उकालो लागेर पाँच सय ३५ दशमलव ५१ मा पुगेको छ । कूल ६ करोड ८९ लाख ८० हजार तीन सय ४६ कित्ता शेयर रु २९ अर्ब ९५ करोड ८५ लाख १९ हजार दुई सय १६ मुल्यमा कारोबार भयो । 

नेप्सेका अनुसार, बुटवल पावर कम्पनी, राष्ट्रिय बीमा कम्पनी र मोदी इनर्जीको शेयर मूल्यमा १० प्रतिशतले बृद्धि भई सकारात्मक सर्किट लागेको छ । यस्तै, नेपाल इन्भेस्टमेन्ट मेघा बैंक नौ  दशमलव ६४ र एनएमबी बैंकका लगानीकर्ताले नौ दशमलव ४२ प्रतिशतले कमाएका छन् । 

यस्तै, नेपाल फाइनान्स १०, विन्दबासिनी हाइड्रोपावर सात दशमलव २२, सुभम पावर सात दशमलव १०, मिड सोलु हाइड्रोपावर ६ दशमलव २८ र अप्पर हेवाखोला हाइड्रोपावरका लगानीकर्ताले पाँच दशमलव ६८ प्रतिशतले गुमाएका छन् । 

नेप्सेका अनुसार, बैकिङ, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत् लगानी, सामूहिक लगानी कोष निर्जीवन बीमा र व्यापार उपसमूहको शेयर मूल्यमा बृद्धि भएको छ । 


_

प्रकाशित मितिः बिहिबार, ३१ साउन २०८१
https://jawaaf.com/storage/01J5AR1H4GRFY7ER2RZNH771AK.jpg

साफ च्याम्पिनयशिप खेल्न माल्दिभ्स टोली नेपालमा

_

काठमाडौँ, ३१ साउनः घरेलु मैदानमा आयोजना हुने दक्षिण एसियाली राष्ट्रहरुबीच हुने यु–२० साफ च्यामिपयनशिप फुटबल प्रतियोगितामा सहभागिता जनाउनका लागि आज माल्दिभ्सको टोली नेपाल आइपुगेको छ ।     
     
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा माल्दिभ्सको टोलीलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का पदाधिकारीले स्वागत गर्नुभयो । साफ च्यामिपयनशिप आगामी भदौ २ गतेदेखि सञ्चालन हुनेछ । विभिन्न छ राष्ट्र सहभागी उक्त प्रतियोगितामा नेपाल समूह ‘ए’मा परेको छ ।     
     
नेपालको समूहमा बङ्गलादेश र श्रीलङ्का छन् । त्यसैगरी, समूह ‘बी’मा भारत, माल्दिभ्स र भूटान छन् । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक नेपाल र श्रीलङ्काबीच प्रतिस्पर्धा हुनेछ । त्यसैगरी, भूटान, श्रीलङ्का र भारत यही साउन ३२ गते नेपाल आइपुग्नेछन्भने बङ्गलादेश भदौ १ गते नेपाल आइपुग्ने तय भएको आयोजक एन्फाले जनाएको छ ।     
     
नेपाली टोलीमा जियारथ शेख, कृशल मोक्तान, विशाल केसी, सिमान्त थापा, अश्विन घोरासैनी, विक्रम तामाङ, आयुष तिम्सिना, अविनाश स्याङ्तान, जनप्रकाश बम, लक्षु थापा र मदन पौडेल छन् । त्यसैगरी, राम थापा, समिन घिमिरे, सरोज दर्लामी, निनसाङ लिम्बू, कुशल देउवा, निरज कार्की, हरिश राज भट्ट, धर्मेन्द्र कुँवर, अनिल बम्जन, समिर तामाङ, निराजन धामी र रोहन खड्गी छन् ।     


_

प्रकाशित मितिः बिहिबार, ३१ साउन २०८१