बाढीले बगाएका मजदुरको शव फेला
टक्सार (भोजपुर), १६ साउन : बाढीले बगाएर बेपत्ता भएका एक मजदुरको शव फेला परेको छ । भोजपुरको उत्तरी क्षेत्र साल्पासिलिछो गाउँपालिका–४ गोथे बजारमा निर्माणाधीन इखुवा खोलाको इखुवा जलविद्युत् आयोजनामा कार्यरत मजदुर बर्दियाको बारा बर्दिया गाउँपालिका–३ का ३० वर्षीय रमेश थारुको शव आज अरुण नदीको सतिघाटमा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक युवराज तिम्सिनाले जानकारी दिनुभयो ।
इखुवा खोलाको बाढीले मङ्गलबार इखुवा जलविद्युत् आयोजनामा कार्यरत दुई मजदुरलाई बगाएको थियो । थारुसँगै बगेका २६ वर्षीय श्यामकुमार थारु हालसम्म बेपत्ता छन् । उनको खोजी कार्य जारी रहेको प्रहरी नायव उपरीक्षक तिम्सिनाले बताउनुभयो । यस्तै बाढीमा परेका २६ वर्षीय रामकिसन थारुको भने स्थानीयले उद्धार गरेका थिए । बेपत्ताको खोजी गर्न प्रहरी चौकी चौकीडाँडा, इलाका प्रहरी कार्यालय दिङ्ला तथा सशस्त्र प्रहरी बलको अस्थाइ बेश क्याम्प चौकीडाँडाको टोली खटिएको छ ।
यसैबीच मङ्गलवार राति आएको बाढीले षडानन्द नगरपालिका–२ मा दुई घर बगाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिपक श्रेष्ठका अनुसार स्थानीय चित्रबहादुर दर्जी र निर्मला राईको घर बाढीले बगाएको हो ।
बाढीले बगाएका चित्रकी श्रीमती ६५ वर्षीया चन्दकुमारी दर्जीलाई स्थानीयवासीले उद्धार गरेका थिए । बाढीले एक तले घर र गोठ बगाउँदा रु ६ लाख बरावरको क्षति भएको प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभयो । बाढीले गोरु, बाख्रा र कुखुरा पनि बगाएको छ । घर बगाएपछि ६ जनाको परिवार बिचल्लीमा परेको छ । उनीहरुलाई स्थानीय महेन्द्र राईको घरमा बस्दैआएका छन् ।
बाढीले निर्मलाको घर, रु ५० हजार, चार तोला सुन, ६ तोला चाँदी र घर भित्र रहेको सम्पुर्ण सामान बगाएको प्रहरीले जनाएको छ । उनको करिब रु १० लाख बरावरको क्षति भएको छ । निर्मलाको परिवार स्थानीय राम राईको घरमा बस्दैआएको प्रहरीले जनाएको छ ।
सडक दुर्घटनामा सैनिक जवानको मृत्यु
चितवन, १६ साउनः भरतपुर महानगरपालिका–१ पोखरा बसपार्कमा मोटरसाइकल र कार ठोक्किँदा एकजना सैनिक जवानको मृत्यु भएको छ । नेपाली सेनाको नम्बर २ विपद् व्यवस्थापन गण रसौलीमा कार्यरत २७ वर्षीय सिपाही निगम नेपाली सार्कीको मृत्यु भएको हो । उहाँ तनहुँ भानु नगरपालिका–१२ का स्थायी बासिन्दा हुनुहुन्छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालका अनुसार सोही गणमा कार्यरत बन्दीपुर गाउँपालिका–३ का २६ वर्षीय दिनेश थापा गम्भीर घाइते हुनुभएको । गए राति बसपार्कबाट रामनगरतर्फ गइरहेको कारले विपरीत दिशाबाट आइरहेको उहाँहरू सवार मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा घाइते दुवै जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको थियो । उपचारका क्रममा सैनिक जवान सार्कीको मृत्यु भएको हो ।
काठमाडौँमा बाढीः ३६ जनाको उद्धार
काठमाडौँ, १६ साउन : भारी वर्षासँगै काठमाडौँका नदी–खोलाको बाढीबाट यहाँको जनजीवन प्रभावित भएको छ । नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीका अनुसार काठमाडौँबाट १२ र ललितपुरबाट २४ जनाको उद्धार गरिएको छ ।
काठमाडौँको कुलेश्वर र बल्खु क्षेत्रबाट ११ जना तथा नयाँ बसपार्क क्षेत्रबाट एकजनाको उद्धार गरिएको हो । काठमाडौँको बल्खु, तरकारी बजार, बाफल, धोबिखोला करिडोर, सुन्दरीघाट क्षेत्रमा डुबान भएको थियो । काठमाडौँको फुटुङको नागपोखरीमा पहिरो खस्दा एक घरमा क्षति भएको छ । नयाँ बसपार्क, मितेरी पुल क्षेत्र पनि डुबानमा परेको छ ।
ललितपुरको युएन पार्क क्षेत्रबाट डुबान प्रभावित दुई, सुन्दरीघाटबाट आठ, बालकुमारी पुलमुनिबाट एक, महालक्ष्मी नगरपालिका–८ चागाथलीबाट ७ र महालक्ष्मी नगरपालिका राममन्दिरबाट छजनाको उद्धार गरिएको छ ।
नेवाद्वारा बागलुङमा दुई वर्षमा एक हजार आठ सय १५ धारा जडान
ढोरपाटन (बागलुङ), १६ साउन : नेपाल स्वास्थ्यका लागि पानी (नेवा)ले उपभोक्ता र स्थानीय सरकारसँगको सहकार्यमा जिल्लाका विभिन्न भागमा एक हजार आठ सय १५ धारा जडान गरेको छ । दुई वर्षको अवधिमा उक्त संस्थाले ती धारा जडान गरेको हो ।
खानेपानीको अभाव झेलिरहेका ढोरपाटन नगरपालिका, निसीखोला, बडिगाड, तमानखोला गाउँपालिकाका साथै बागलुङ नगरपालिका, जैमिनी नगरपालिकाका बासिन्दालाई स्वच्छ पेयजलको व्यवस्था उक्त संस्थाले गरेको हो । नेवाले ग्रामीण भेग र सहरी क्षेत्रमा एक घर एक धारा जडानलाई तीव्रगतिमा अघि बढाएको छ । नेवाको सहयोगमा १९ हजार एक सय १८ जनाले शुद्ध खानेपानी सुविधा पाएका छन् ।
आर्थिक वर्ष २०७९/०८० मा नेवाले जिल्लाको निसीखोला, तमानखोला, बडिगाड, ताराखोला, ढोरपाटन नगरपालिका, बागलुङ नगरपालिका जैमिनी नगरपालिकाको ३० स्थानमा आयोजना सञ्चालन गरेको थियो ।
तीस वटा आयोजना सम्पन्न गर्न नेवाले रु छ करोड २० लाख पाँच हजार सात सय २५, पालिकाहरुको रु एक करोड ६४ लाख ९५ हजार नौ सय १४, उपभोक्ताबाट रु ३४ लाख ८३ हजार पाँच सय १२ र रु दुई करोड पाँच लाख १२ हजार तीन सय १२ बराबरको श्रमदान भएको थियो ।
भोजपुरमा बाढीः जलविद्युत् आयोजनाका दुई मजदुर बेपत्ता
टक्सार (भोजपुर), १६ साउनः अविरल वर्षाका कारण आएको बाढीले बगाएर भोजपुरमा दुई जना बेपत्ता भएका छन । भोजपुरको उत्तरमा रहेको साल्पासिलिछो गाउँपालिकामा निर्माणाधीन ईखुवा जलविद्युत आयोजनामा कार्यरत दुई मजदुरलाई बाढीले बगाएको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख युवराज तिम्सिनाका अनुसार गए रातिको बाढीले जलविद्युत् आयोजनाका दुईजना कामदार हराएका हुन् । बर्दियाको बाराबर्दिया गाउँपालिका–३ का २६ वर्षीय श्यामकुमार थारू र सोही ठाउँका ३० वर्षीय रमेश थारू बेपत्ता भएका हुन् । बाढीमा परेका २६ वर्षीय राम किसन थारूको उद्धार गरिएको छ । सामान्य घाइते भएका उनको स्थानीय स्वास्थ्य चौकी कुलुङमा उपचार भइरहेको छ । बेपत्ता भएकाको खोजी जारी छ ।
प्रहरी चौकी चौकीडाँडाबाट करिब तीन किलोमिटर पश्चिममा घटनास्थलमा इलाका प्रहरी कार्यालय दिङलाबाट प्रहरी निरीक्षक कैलाशकुमार अधिकारीको कमाण्डमा चारजनाको टोली र सशस्त्र प्रहरीको अस्थायी बेसक्याम्प चौकीडाँडाबाट प्रयोजन घिमिरेको कमाण्डमा सातजनाको टोली खोजीको लागि खटिएको छ ।
खोटाङमा दलित बालबालिकाको उद्धार
खोटाङ, १६ साउन : जिल्ला प्रहरी कार्यालयले रावाबेँसी गाउँपालिका–२ खार्पास्थित डाँडागाउँका तीनजना सहाराविहीन दलित बालबालिकाको उद्धार गरेको छ । स्थानीय टेकबहादुर नेपालीका १० वर्षीया छोरी मनकुमारी, नौ वर्षीया छोरी भूमिका र सात वर्षीय छोरा माधव नेपालीलाई प्रहरीले उद्धार गरेको हो ।
उद्धार गरिएका सहाराविहीन ती बालबालिकालाई विराटनगरस्थित बालसेवा आश्रम पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिनुभयो । “टेकबहादुर यही साउन ६ गतेदेखि जबर्जस्ती करणी मुद्दाको अनुसन्धानको क्रममा प्रहरी हिरासतमा छन् । उनकी २२ वर्षीया श्रीमती निर्मलाको २०८० फागुन २२ गते निधन भएको जानकारी प्राप्त भएको छ”, उहाँले भन्नुभयो, “घरमा बुबाआमा दुवै नभएपछि सहारासाविहीन उनीहरूको उद्धार गरिएको हो ।”
प्रहरीले यसअघि दिक्तेल बजारमा कष्टपूर्ण जीवन बिताइरहेका दुईजना सडक मानवको उद्धार गरेको थियो । उद्धार गरिएका उनीहरु अहिले सोही आश्रममा जीवनयापन गरिरहेका छन् ।
बितेकाघण्टामा देशभर वर्षा, केही प्रदेशमा आज पनि मुसलधारे वर्षा हुने
काठमाडौँ, १६ साउनः पछिल्लो १२ घण्टामा देशभर वर्षा भएको तथा विशेष गरी कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धैरै स्थानमा र बाँकी प्रदेशका केही क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा भारीदेखि धेरै भारी वर्षा मापन गरिएको विभागले बताएको छ ।
हाल देशभर साधारणतया बदली रहेको बागमती र मधेस प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही भेगमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
विभागका अनुसार आगामी २४ घण्टामा सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।
कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा बागमती, गण्डकी, र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरोबाट बच्न विभागले अनुरोध गरेको छ ।
नेपाली पौडीबाज एलेक्जेन्डरको राष्ट्रिय कीर्तिमान
काठमाडौँ, १५ साउन : नेपाली पौडीबाज एलेक्जेन्डर शाहले पेरिस ओलम्पिक–२०२४ को पुरुष एक सय मिटर फ्रिस्टाइलमा आज नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।
फ्रान्सको पेरिस ला डिफेन्स एरिनामा भएको खेलमा निर्धारित दूरी ५१.९१ सेकेन्डमा पूरा गर्दै आफ्नै नाममा रहेको ५२.१७ सेकेन्डको कीर्तिमानमा सुधार गरेका हुन् । आज पुरुष एक सय मिटर फ्रि–स्टाइलमा उनले प्रतिस्पर्धा गरेका आठ खेलाडीले प्रतिस्पर्धा गरेको हिट ३ मा उनले ५१.९१ सकेन्डको समय निकालेका हुन् । उनी हिट ३ मा तेस्रो भएका हुन् । सोही स्पर्धामा जम्मा ७९ खेलाडीले भाग लिएका थिए । जसमा एलेक्जेन्डर ५९औँ स्थानमा रहे ।
एलेक्जेन्डरसँगै ओलम्पिकमा टेबलटेनिसका श्यान्टु श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल, पौडीकी डुवाना लामा र जुडोकी मनिता श्रेष्ठ प्रधान पहिलो चरणबाटै बाहिरिएका छन् ।
पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाउन सांसद बेलबासेको सुझाव
काठमाडौँ, १५ साउनः सांसद गङ्गाकुमारी बेलबासेले राजनीतिक स्थिरता र विकास निर्माणका लागि पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने धारणा व्यक्त गर्नुभएको छ । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा उहाँले पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जाने गरी काम गर्न आग्रह गर्नुभयो ।
“खर्चिलो चुनाव भयो भनिएको छ । जनताबाट निर्वाचित भएको कार्यकारी प्रमुखलाई निर्वाचन गर्न हामी पहिलेदेखि नै तयार छौँ । यो पक्षमा जाने आँट गर्नुहुन्छ भने हामी समर्थन जनाउँछौँ”, उहाँले भन्नुभयो । उहाँले पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्बन हुँदा स्थिर सरकार बन्न सक्ने धारणा राख्नुभयो ।
सांसद आनन्दप्रसाद ढुङ्गाना संविधान संशोधन गर्नु भनेको समावेशी प्रणाली विरोधी नभएको बताउनुभयो । उहाँले प्रतिपक्षी दलले संविधान संशोधन गर्नु भनेको समावेशी विरोधी भएको भन्दै लगत भाष्य प्रचार गरेको बताउनुभयो ।
उहाँले राजतन्त्र हटाएर गणतन्त्र ल्याउँदा र संविधान बनाउदासमेत सत्तापक्ष पार्टी सधैँ समावेशीकै पक्षमा रहदै आएको बताउनुभयो । “समानुपातिक समावेशी नेपाली जनताले पाइसकेको अधिकार हो”, उहाँले भन्नुभयो, “सरकार विरोधी होइन, प्रतिपक्षीको गलत प्रचार हो ।”
उहाँले जनताले अब सरकारसँग परिणाम खोजेको उल्लेख गर्दै त्यसतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो । संविधान संशोधन निकासको अर्को आधार भएको उहाँको तर्क थियो । गठबन्धन सरकारले संविधानको संशोधनको कुरा उठाउनु मुलुकलाई निकास दिनका लागि भएको उहाँले बताउनुभयो । संविधान बनेको दश वर्षपछि यसका सबल र निर्वल पक्षमाथि समीक्षा गर्नुपर्नेमा उहाँले जोड दिनुभएको हो ।
अत्यधिक वृद्धिभएको खानेपानीको महसुल फिर्ता हुनुपर्छ : जसपा अध्यक्ष नगेन्द्र पारघरी
धरान, १५ श्रावण l धरानको समसामयिक विषय खानेपानी मूल्य वृद्धि सम्बन्धी केन्द्रित रहेर जवाफ डिजिटल पत्रिकाले जनता समाजवादी पार्टीका धरान नगर अध्यक्ष नगेन्द्र पारघरी सँग गरिएको संक्षिप्त संवादको सम्पादित अंश…
- नगेन्द्र जी नमस्कार I
नमस्कार ।
- भर्खरै जसपाको धरान नगर अध्यक्ष हुनु भएको छ बधाई छ कार्यकाल सफल रहोश शुभकामना पनि छ ।
धन्यवाद, राम्रो गर्ने कोसिस गर्छु ।
- धरान उपमहानगरपालिकाले अत्यधिक खानेपानी महसुल बृद्धि गरेको छ । यस बारेमा तपाई र तपाई को दल को धारणा के हो?
धरान उपमहानगरपालिकाले खाने पानीको महसुल र जडान मूल्य अत्यधिक वृद्धि गरेको प्रति हाम्रो विरोध छ । यो फिर्ता गर्नु पर्छ । खानेपानी जस्तो घन्टा घन्टा मिनेट मिनेटमा आवश्यक पर्ने अति आवश्यक चिजको जडान र प्रयोग गरेबापत जसरी मूल्य वृद्धि गरिएको छ यो विरोध लायक छ । यसमा हाम्रो समर्थन हुदैन ।
- अन्य दल हरूले सडक मै आयर महसुल वृद्धिको विरुद्ध आन्दोलन गरिरहेका छन । तपाइहरूको पनि विरोध छ भन्नु हुन्छ नगरपालिका ले तपाईहरूको विरोधले महसुल घटाउला त ?
अरू दलहरूले जे गर्छन् विरोधको शैली त्यही अपनाउनु पर्छ भन्ने छैन । जहाँ सम्म एमाले, काङ्ग्रेस, माओवादीको कुरा छ । वहाँ हरूको विरोधको के अर्थ रहला र ? किन कि यहाँ पानीको मात्र मूल्य वृद्धि गरिएको छैन स्थानीय तहले दिने विभिन्न सेवा सुल्कहरूमा पनि मूल्य वृद्धि गरीको छ त्यसमा एमाले, काङ्ग्रेस र माओवादी बाट निर्वाचित प्रतिनिधिको निर्णय प्रक्रियामा सहभागिता छ । त्यस कारण हाम्रो विरोधको विशेष अर्थछ ।
- उच्च प्रतिशत र असमान ढंगले मूल्यवृद्धि गरिएको भन्ने छ । यस्तो अन्याय पूर्ण मूल्य वृद्धि प्रति तपाई के भन्नु हुन्छ ?
समग्रमा मूल्य वृद्धि प्रति हाम्रो विरोध छ । जहाँ सम्म असमानताको विषय छ हाम्रो प्रस्ट बिचार छ । सामान्य प्रयोजन र ब्यापारी प्रयोजन बिचमा फरक चाहिँ हुनु पर्छ । दैनिक उपभोग्य र स्विमिङ्ग पुल लाई वा दैनिक उपभोग्य भन्दा अन्य प्रयोजन लाई भिन्न भने हुनै पर्छ ।
- धरानमा खानेपानीका लागि ए.डी.बि. सँग लिएको ऋण मूल्य नबढाई कसरी तिर्न सकिन्छ भन्ने भनाई पनि छ नि ?
यो चाहिँ तिर्ने बेलामा गर्ने तर्क होइन । यो ऋण लिने बेलानै सोच्ने विषय हो । आयोजना को सम्झौता हुँदाखेरिनै सोच्न पर्थ्यो । खाली दैनिक उपभोग्ता र धारा जडान बाट आएकोले मात्रै ऋण चुक्ता गर्छु् भन्ने सोच नै बेकार हो । खानेपानी व्यवस्थापन बोर्ड ले अलि फराकिलो ढंगले सोच्नु पर्यो पानीलाई बोटलिङ्ग गरेर वा अन्य व्यावसायिक योजना बनाएर खानेपानी व्यवस्थापन बोर्डले आय आर्जन गर्ने योजना पनि बनाउनु पर्यो ।
- धरानमा खाने पानीकै समस्या छ । बोटलिङ्ग को सम्भावना छ र ?
यो बोर्डको इच्छा शक्तिको कुरामा भर पर्छ । नगरपालिकाले पनि बोर्डलाई काम काजी बनाउनु पर्यो । बोर्डले पनि आफ्नो दक्षता प्रदर्शित गर्नु पर्छ । खाने पानी व्यवस्थापन बोर्ड नाम चाहिँ दिने तर व्यवस्थापन नगर्ने हो भने त किन बोर्ड गठन गर्नु पर्यो र ।