शनिबार, १३ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01J48RN09FE9VBTF91J69YJWVN.jpg

क्षमता अभिवृद्धि गर्न रास्वपाको कार्यशाला

काठमाडौँ, १८ साउन : पार्टी पदाधिकारीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुईदिने बन्द कार्यशाला केन्द्रीय कार्यालयमा सुरु भएको छ । 

“कार्यशालामा विचार, सङ्गठन, राजनीतिक मूल्य–मान्यता, संसदीय मामिला, ‘लिडरसीप एकेडेमी’ र ‘क्यान्डिडेट क्लब’ तथा पार्टी अभियानबारे गहन छलफल हुँदैछ”, कार्यवाहक प्रवक्ता मनिष  झाले भन्नुभयो । 

यही साउन १० गतेको केन्द्रीय समिति बैठकले पार्टीका पदाधिकारी तथा नेतृत्वमा रहेकाहरूको क्षमता अभिवृद्धि गर्न सघन प्रशिक्षण र आगामी अभियानका लागि दुईदिने बन्द कार्यशाला (क्लोज क्याम्प) सञ्चालन गर्ने निर्णय गरेको थियो । यस कार्यशालामा केन्द्रीय पदाधिकारी, सदस्य र केन्द्रीय विभागका गरी ५० जना सहभागी हुनुहुन्छ । 

प्रकाशित मितिः शुक्रबार, १८ साउन २०८१
https://jawaaf.com/storage/01J48QYEM057E8088A3E0YDRGP.jpg

सङ्खुवासभाका दुई हजार बढी निःशुल्क सेवाबाट लाभान्वित

किमाथाङ्का (सङ्खुवासभा), १८ साउन : जिल्ला अस्पतालमा सामाजिक सेवा एकाइबाट दुई हजार बढीले निःशुल्क उपचार सेवा लिएका छन् । जिल्ला अस्पतालका सूचना अधिकारी शेखर खत्रीका अनुसार उपचारमा सामाजिक सेवा एकाइमार्फत ५० देखि शतप्रतिशतसम्म छुट प्राप्तिको प्रावधान छ । स्वास्थ्य बीमा गर्न नसक्ने विपन्न वर्गका बिरामी एकाइको सहयोगबाट लाभान्वित भएका छन् । एकाइमार्फत एकमा दुई हजार छ सय ३० जनाले सेवा लिएका छन् । 

सामाजिक सेवा एकाइमार्फत एक हजार सात सय ७२ जना ज्येष्ठ नागरिक, अति गरिब छ सय २२, लैङ्गिक हिंसापीडित ७८ र थुनुवा कैदी ४४, अपाङ्गता भएका ५१, असाहय २४ र अन्य ३१ जनासहित दुई हजार छ सय ३० जनाले उपचार सेवा लिएको सूचना अधिकारी खत्रीले बताउनुभयो । 

सामाजिक सेवा एकाइमार्फत प्रदान गरिएको उपचार सेवामा अस्पतालको रु २८ लाख १२ हजार नौ सय ३७ खर्च भएको अस्पतालले जनाएको छ । यो अस्पतालमा एक वर्षमा ६३ हजार छ सय जनाले सेवा लिएका छन् । स्वास्थ्य बीमा कार्यक्रमबाट गत आवमा १८ हजार ८६ जनाले सेवा लिएका थिए । 

प्रकाशित मितिः शुक्रबार, १८ साउन २०८१
https://jawaaf.com/storage/01J48NQ1WN4S5TS3NRQJXDSS76.jpg

नवलपरासी पूर्वका अधिकांश स्थानमा सकियो रोपाइँ

मध्यविन्दु (नवलपरासी), १८ साउन : बर्दघाट सुस्तापूर्वका अधिकांश खेतमा रोपाइँ सम्पन्न भएको छ । जिल्लामा धानखेती हुने क्षेत्रफलमध्ये हालसम्म ९३ प्रतिशतमा रोपाइँ सकिएको नवलपुर कृषि ज्ञान केन्द्रले जनाएको छ ।     
     
नवलपरासी (बर्दघाट सुस्तापूर्व)को १८ हजार सात सय १६ हेक्टर जमिनमध्ये अहिलेसम्म १७ हजार चार सय पाँच हेक्टरमा रोपाइँ सकिएको छ । जिल्लाको गैँडाकोट, देवचुली, कावासोती र मध्यविन्दु नगरपालिका, हुप्सेकोट र विनयी त्रिवेणी गाउँपालिकामा पनि रोपाइँ सकिएको छभने बौदीकाली र बुलिङटार गाउँपालिकामा केही स्थानमा रोपाइँ बाँकी छ ।     
     
कृषि ज्ञान केन्द्रका सूचना अधिकारी विश्वास काफ्लेका अनुसार जिल्लाको कुल खेतीयोग्य ६१ हजार तीन सय हेक्टरमध्ये ५५ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा उपलब्ध छभने ४५ प्रतिशत जमिनमा अकासे खेती गर्नुपर्ने बाध्यता छ । यो जिल्लामा मनसुली, सावित्री, अनदी, झिनुवालगायत हाइब्रिड जातका धान रोपिएको छ ।  

प्रकाशित मितिः शुक्रबार, १८ साउन २०८१
https://jawaaf.com/storage/01J48N3ZQRZEDEQV1740HYM0BG.jpg

कर्णालीमा तीन सय ११ सहकारी, पुँजी १५ अर्ब

कर्णाली, १८ साउनः सुर्खेतस्थित भूमि व्यवस्था तथा सहकारी रजिष्ट्रारको कार्यालय दर्ता भएका कर्णालीका तीन सय ११ सहकारीको पुँजी रु १५ अर्ब पुगेको छ ।

दश जिल्ला तथा दुईभन्दा बढी पालिकालाई कार्यक्षेत्र बनाएर आफ्नो कार्यसञ्चालन गरेका सहकारीको पुँजी रु १५ अर्ब रहेको रजिष्ट्रार खुमप्रसाद सुवेदीले जानकारी दिनुभयो । ती सहकारीको सेयर पुँजी रु एक अर्ब ७५ करोड ३८ लाख ३३ हजार एक सय ४२ हुँदा बचत रु आठ अर्ब १९ करोड ४४ लाख ९३ हजार छ सय ३२ छ । रु ११ अर्ब ५१ करोड ६४ लाख ९७ हजार नौ सय ४० ऋण लगानी गरेका सहकारीको जगेडा कोषमा रु ७१ करोड ४२ लाख ६८ हजार रहेको उहाँले बताउनुभयो । 

रजिष्ट्रार सुवेदीले सहकारीबाट यहाँका एक हजार पाँच सय जनशक्तिले रोजगारी प्राप्त गरेको जनाउनुभयो । कर्णालीमा बचत तथा ऋण, कृषि, बहुउद्देश्यीय, उपभोक्ता, जडीबुटी, तरकारी बीउ उत्पादन, सामाजिक उद्यमी, विद्युत्, उर्जा सोलार, मौरीपालन, सञ्चार, साना किसान, स्वास्थ्य, पर्यटन, वातावरण संरक्षण, निर्माण मजदुर, दुग्ध, घरेलु, शैक्षिकलगायत सहकारी सञ्चालनमा रहेको सहकारी रजिष्ट्रारको कार्यालय सुर्खेतले जनाएको छ ।

सुर्खेतका एक सय दुई, दैलेखका ३७, जुम्लाका ३४, कालीकोटका ३२, जाजरकोटका २७, सल्यानका २५, रुकुमपश्चिमका २३, हुम्लाका १५, मुगुका ११ र डोल्पाका पाँच सहकारी भूमि व्यवस्था तथा सहकारी रजिष्ट्रारको कार्यालयमा दर्ता भएर सञ्चालन रहेका उहाँले जनाउनुभयो । 

प्रकाशित मितिः शुक्रबार, १८ साउन २०८१
https://jawaaf.com/storage/01J48FWZRYNACVC3PYM379J2G6.webp

सवारी दुर्घटनामा दुईजनाको मृत्यु

भद्रपुर (झापा), १८ साउनः स्थानीय हल्दिबारीमा सवारी दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ । हल्दिबारी–५ स्थित हुलाकी राजमार्गमा पिकअप भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवै जनाको ज्यान गएको हो ।
 
जिल्ला ट्राफिक कार्यालयका प्रहरी नायब निरीक्षक पूर्णप्रसाद गौतमका अनुसार मोटरसाइकल चालक हल्दिबारी गाउँपालिका–५ का ३१ वर्षीय प्रेम प्रसाईँ र सुनसरीको बराक्षेत्र नगरपालिका–१० प्रकाशपुरका डिकेस कार्कीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका दुवैजनालाई बिर्तामोडस्थित बीएण्डसी अस्पातालमा पुर्याउनासाथ चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका थिए । 

पिकअप भ्यान र त्यसका चालक भद्रपुर नगरपालिका–२ का ३७ वर्षीय दिपेन राईलाई प्रहरीले हिरासतमा राखेर अनुसन्धान थालेको छ ।

प्रकाशित मितिः शुक्रबार, १८ साउन २०८१
https://jawaaf.com/storage/01J48FPSMDDQGJJ1SBEJBY7TZW.jpg

झोलुङ्गे पुल बनेपछि डुङ्गा चढेर सुनकोशी नदी वारपार गर्नुपर्ने बाध्यता अन्त्य

खोटाङ, १८ साउनः हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवास्थित बाइटार र उदयपुरको कटारी नगरपालिका–१० सोरुङछबिसेको चिपटार जोड्न सुनकोशी नदीमा बनाइएको झोलुङ्गे पुल सञ्चालनमा आएको छ ।     
     
पूर्वाधार विकास कार्यालय गाईघाट मार्फत प्रदेश सरकारबाट प्राप्त रु तीन करोड ५० लाख लगानीमो पुल निर्माण भएको हो । पुल सञ्चालनमा आउनुअघि साबिकको डिकुवा–३ बाइटार र बलुई तथा साविकको डिकुवा–२ टारगाउँका बासिन्दा जोखिम मोलेर डुङ्गाबाट नदी तर्दै आएका थिए । पुलका दुवै विन्दुमा कच्ची सडक पनि निर्माण भएको छ । यसबाट डिकुवाका सर्वसाधारण लाभान्वित भएका छन् । 

प्रकाशित मितिः शुक्रबार, १८ साउन २०८१
https://jawaaf.com/storage/01J48FEQRJFVE3HAQTGTGP5Q4Y.jpg

आठ सय २७ हेक्टरमा सिँचाइ सुविधा विस्तार

भद्रपुर (झापा), १८ साउनः झापामा आठ सय २७ हेक्टर सिँचाइ सुविधा विस्तार भएको छ । आर्थिक वर्ष २०८०/८१ मा एक सय ३० हेक्टरमा सुविधा विस्तार तथा छ सय ९७ हेक्टरमा सिँचाइ सेवा पुनःस्थापना गरिएको हो ।     
     
जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख शैलेश पोखरेलका अनुसार साना–ठूला गरी एक सय ३२ आयोजना सम्पन्न भएसँगै सिँचाइ सुविधा विस्तार भएको हो । “गत आवमा कार्यालयको पुँजीगतर्फ विनियोजित रकम रु ३१ करोड ८९ लाख ४८ हजारमध्ये रु २९ करोड आठ लाख ३८ हजार चार सय ७४ खर्च भएको छ । चालुतर्फ पनि विनियोजित बजेटको ९२ दशमलव ७ प्रतिशत खर्च भयो । गत वर्ष कोशी प्रदेश सरकार सञ्चालनमा विवाद हुँदा बजेट ढिलागरी प्राप्त भएकाले आयोजना सञ्चालनमा ढिलाइ भएको प्रमुख पोखरेलले बताउनुभयो ।     
     
यसैगरी उक्त कार्यालयले नदी व्यवस्थापनतर्फ सात हजार एक सय नौ मिटर सम्पन्न गरी एक हजार छ सय ८४ हेक्टर जमिन संरक्षण र ६० हेक्टर जमिन उकास गरेको छ । यी योजना सम्पन्न भएसँगै दुई हजार छ सय चार परिवार लाभान्वित भएका डिभिजन प्रमुख पोखरेलले बताउनुभयो ।     
     
बहुवर्षीय योजनाहरू मेचीनगर–८ मा सञ्चालित निन्दाखोला सिँचाइ योजना, मेचीनगर–७ मा पालिया पूर्व सिँचाइ योजना र गौरीगञ्जमा सञ्चलित तल्लो किस्ने सिँचाइ योजना अन्तिम चरणमा रहेका उक्त कार्यालयले जनाएको छ । यी योजना सम्पन्न भएसँगै दुई हजार एक सय पाँच हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुग्ने छ । 

प्रकाशित मितिः शुक्रबार, १८ साउन २०८१
https://jawaaf.com/storage/01J48F12WN7XYFHE7ESETXF9R0.jpg

पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ

गोलबजार (सिरहा), १८ साउन : लहान–ठाडी सडक खण्ड अन्तर्गत  सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशबारी  चोकबाट प्रहरीले पेस्तोल सहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख रमेश पण्डितका अनुसार बिहीबार साँझ इलाका प्रहरी कार्यालय महेशबारीले ठाडीबाट लहानतर्फ जाँदै गरेको यात्रुवाहक बसमा जाँच गर्दा भारतको मधुवनी जिल्ला पिपराही ग्राम पञ्चायत झझरीका सुदेश्वर पासवानका छोरा १८ वर्षीय नीरजकुमार पासवान र सोही ग्राम पञ्चायत अन्तर्गत बलानशेर टोलका श्रीप्रसाद साहका छोरा ३७ वर्षीय अरुण साह एक थान पेस्तोलसहित पक्राउ परेका हुन् । 

प्रकाशित मितिः शुक्रबार, १८ साउन २०८१
https://jawaaf.com/storage/01J46YTT4ZXCGMZQWWN6W2ADNC.jpg

एमाले सचिवालय : उपाध्यक्षमा गुरु बराल मनोनीत, १७ केन्द्रीय सदस्य थप

काठमाडौँ, १७ साउनः नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले रिक्त रहेको उपाध्यक्ष पदमा गुरु बराललाई मनोनीत गर्ने निर्णय गरेको छ । 

एमालेको आज बसेको सचिवालय बैकठले स्थायी कमिटी सदस्य बराललाई उपाध्यक्षमा मनोनयन गर्ने निर्णय गरेको एमाले महासचिव शङ्कर पोखरेलले जानकारी दिनुभयो । उपाध्यक्ष सुभासचन्द्र नेम्बाङको निधन भएपछि उक्त पद रिक्त रहेको थियो । 

यस्तै, मुकुन्द न्यौपाने र लीलानाथ श्रेष्ठलाई स्थायी कमिटीमा मनोनीत गर्ने निर्णय गरिएको छ । 

सत्रजना केन्द्रीय सदस्यमा मनोनीत

महासचिव पोखरेलले बैठकले पार्टी प्रवेश, महिला र विभिन्न जनवर्गीय सङ्गठनबाट १७ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको जानकारी दिनुभयो । उहाँका अनुसार सुवास कर्माचार्य ( सिन्धुपाल्चोक), कुन्दन कुशवाह (रौतहट), जितेन्द्र देव (सप्तरी), रामप्रीत पासवान (सिरहा), कृष्णभक्त पोखरेल (चितवन), कमलकृष्ण तिमिल्सिना (अछाम) र गोविन्द पुन (सल्यान) रहनुभएको छ । 

यस्तै,  केदार सिग्देल (तनहुँ), मनमोहन पौडेल (पर्वत), हरदेव जोशी (दार्चुला), हरि उप्रेती (सर्लाही), इन्द्र भण्डारी (झापा), महेश बर्तौला (मकवानपुर), सरिता भुसाल–किसान महासङ्घ, प्रभा बराल (कास्की), मञ्जु शर्मा चालिसे (बागलुङ) र आशा जवेगु (पाँचथर) रहनुभएको छ ।

प्रदेश इन्चार्ज हेरफेर

यस्तै, एमालेले प्रदेश इन्चार्ज हेरफेर गरेको छ । 

महासचिव पोखरेलका अनुसार शेरधन राईलाई कोशी प्रदेश, लीलानाथ श्रेष्ठलाई मधेस प्रदेश, डा राजन भट्टराईलाई बागमती प्रदेश, किरण गुरुङलाई गण्डकी प्रदेश, पद्मा अर्याललाई लुम्बिनी प्रदेश, गोरखबहादुर बोगटीलाई कर्णाली प्रदेश र लेखनाथ भट्टलाई सुदूरपश्चिम प्रदेश इन्चार्ज तोकिएको छ । 

यस्तै, बैठकले निर्वाचन आयोग र सल्लाहकार परिषद्मा पनि मनोनीत गरेको छ ।

प्रकाशित मितिः बिहिबार, १७ साउन २०८१
https://jawaaf.com/storage/01J46SK9TDMWM25KKTMWKTKCX2.jpg

कानुन बेगर मुद्दा चल्दैनः गृहमन्त्री लेखक

काठमाडौँ, १७ साउनः गृहमन्त्री रमेश लेखकले लोकतन्त्रका आधारभूत तत्वमध्ये विधिको शासन एउटा तत्व भएको बताउनुभएको छ । बिहीबार सिंहदरबारमा विकास, आर्थिक मामिला तथा सुशासन समितिले ‘सुशासन प्रवर्द्धनका लागि राष्ट्रिय सदाचार नीतिको आवश्यकता’ विषयक छलफलमा उहाँले लोकतन्त्रमा कानुन बेगर मुद्दा चल्न सक्दैन भन्नुभयो ।     
     
“फाइल खोल्ने भन्या के हो ? मुद्दा चलाउने भन्या होला नि, लोकतन्त्रमा मुद्दा कानुन बेगर चल्छ ?, रहरमा मुद्दा चल्दैन, कसैका चाहनाले मुद्दा चल्दैन, कानुनबमोजिम चल्छ भन्ने मेरो आग्रह छ,” उहाँले भन्नुभयो, “कुनै मुद्दा चलेको छभने छट्नु पनि कानुनबमोजिम छुट्छ भन्ने मेरो आधारभूत मान्यता हो ।”     
     
सदाचार मानिसले आफ्नो भित्रबाट राम्रो गर्र्न उत्प्रेरित गर्ने विषय भएको उहाँको भनाइ थियो । “यो विषयलाई सरकारले प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु,” उहाँले भन्नुभयो, “समितिबाट सरकारलाई आवश्यक सुझाव दिन आग्रह गर्दछु ।”     
     
त्यसैगरी, प्रहरी कर्मचारी सरुवाको विषय निरन्तरको प्रक्रिया भएको उहाँले बताउनुभयो । “कर्मचारीको सरुवा र बढुवा हुन्छ । कहिलेकाहीँ सामान्यतया अवधि तोकेको हुन्छ तर कहिलेकाहीँ अवधिभन्दा पहिले पनि हुन्छ,” मन्त्री लेखकले भन्नुभयो, “जुन पदको सरुवाको कुरो छ उहाँ अत्यन्त योग्य मानिस हो र योग्यतम ठाउँमा पुग्नुभएको छ किनभने प्रहरीलाई तालिम दिने भन्या त सबैभन्दा बढी पढेलेखेको चाहियो नि, प्रहरी राम्रो बनाउनु प¥यो । अनि राम्रो प्रहरीलाई राम्रो तालिम दिन राम्रो मान्छे पठाउँदा के समस्या भयो ?” उहाँले यो प्रक्रियालाई सामान्य रुपमा लिन आग्रहसमेत गर्नुभयो ।    

प्रकाशित मितिः बिहिबार, १७ साउन २०८१