इलाममा ३४ करोड ८७ लाखमा बने ५९ कुलो
फिक्कल (इलाम), १७ साउनः इलाममा आर्थिक वर्ष २०८०/८१ मा रु ३४ करोड ८७ लाख १६ हजार नौ सय ३४ लागतमा ५९ वटा पक्की कुलो निर्माण भएका छन् । माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान आसमान योङहाङलाई यस वर्ष धानखेती गर्न कुनै समस्या भएन । वर्षौँदेखि अकासे खेतीमा निर्भर उहाँ यस वर्षदेखि सिँचाइ सुविधा पाएर दङ्ग हुनुहुन्छ ।
गजुरमुखीमा साना सिँचाइ कार्यक्रमअन्तर्गत व्यवस्थित सिँचाइ कुलो निर्माणपछि योङहाङसहित सयौँ किसान यतिबेला खुसी भएका हुन् । उहाँको टोलमा रु ३९ लाख २१ हजारको लागतमा फुङखोलाबाट घुमाउरो पाक्रुम्बा कुलो निर्माण भएको हो ।
माईजोगमाई गाउँपालिका–२ लप्सीबोटेका किसान कुमार राई पनि खुसी हुनुहुन्छ । राईगाउँ–लाप्चागाउँ–निगालेगाउँमा रु ५० लाख ५५ हजार आठ सय ८३ लागतमा ५८ घरपरिवारका किसान प्रत्यक्ष लाभान्वित हुनेगरी बजुरखोलामा कुलो निर्माण भएको छ ।
योङहाङ र राई प्रतिनिधि उदाहरण मात्र हुनुहुन्छ । इलामका विभिन्न पालिकामा सञ्चालितका साना सिँचाइ कार्यक्रमबाट हजारौँ किसान लाभान्वित भएका छन् । इलाममा आर्थिक वर्ष २०८०/८१ मा रु ३४ करोड ८७ लाख १६ हजार नौ सय ३४ लागतमा ५९ वटा पक्की कुलो निर्माण भएका छन् । सूर्योदय नगरपालिकामा रु चार करोड १९ लाख २६ हजार छ सय ३४ को लागतमा १०, इलाम नगरपालिकामा रु छ करोड ८६ लाख ५१ हजार ६४ को लागतमा नौ, माङसेबुङ गाउँपालिकामा रु तीन करोड ४२ लाख ९४ हजार छ सय ६४ को लागतमा आठ, माई नगरपालिकामा रु चार करोड पाँच लाख ९८ हजार चार सय ७५ को लागतमा सातवटा सिँचाइ योजना सम्पन्न भएको साना सिँचाइ कार्यक्रम प्रमुख केशव लामाले जानकारी दिनुभयो ।
योजनाबाट इलामका एक हजार २९ हेक्टर क्षेत्रमा सिँचाइ सुविधा विस्तार भएको छ । सिँचाइ सुविधा विस्तारसँगै जिल्लाका दुई हजार एक सय ४२ परिवार लाभान्वित भएका छन् । योजना सञ्चालनका लागि स्वीस सरकारको ३० प्रतिशत, सङ्घीय सरकार, प्रदेश सरकार र सम्बन्धित पालिकाले २०-२० प्रतिशत र स्थानीय उपभोक्ताहरुको १० प्रतिशत लागत साझेदारी गरेको थियो ।
काठमाडौँको ढल्कुमा दुई समूहबीच झडप हुँदा एकको मृत्यु, छ घाइते
काठमाडौँ, १६ साउन : काठमाडौँ महानगरपालिका–१७ ढल्कुमा आज दुई समूहबीच भएको झडपमा परी एकको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् ।
झडपका क्रममा धारिलो हतियार प्रहारबाट ढल्कु पोडेटोल निवासी ३३ वर्षीय अनित पुजारीको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो । यस्तै झडपमा परी ५२ वर्षीय सुविन्द्र पोडे, ५४ वर्षीय किरण पुजारी, ४९ वर्षीय दिनेश पुजारी, ४२ वर्षीया माया पुजारी, ३९ वर्षीय विक्रम पुजारी र २३ वर्षका अमृत पुजारी घाइते भएका छन् ।
घाइतेको शिक्षण अस्पताल महाराजगञ्ज, राष्ट्रिय ट्रमा सेन्टर र पिपुल्स अस्पतालमा उपचार भइरहेको प्रवक्ता अधिकारीले बताउनुभयो । उहाँका अनुसार उक्त घटनामा पोडेटोलका सात जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१७ पोडेटोल बस्ने १९ वर्षीय सुजल देउला, ३५ वर्षीय अमृत पुजारी, ३४ को सागर देउला, ४६ वर्षीय रवीन्द्र पोडे, २९ वर्षीया कलेनी पुजारी, ३५ वर्षीया टिकामाया पुजारी तथा २२ वर्षीया सञ्जाली पुजारी रहेका छन् ।
नेपालमा वैदेशिक लगानी बढाएर सहयोग गर्न स्वीस राजदूतलाई प्रधानमन्त्रीको आग्रह
काठमाडौँ, १६ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको आर्थिक विकास र समृद्धिका लागि बढीभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानीकर्ता भित्र्याएर सहयोग गर्न स्वीट्जरल्याण्ड सरकारलाई आग्रह गर्नुभएको छ ।
शिष्टाचार भेटका लागि आज प्रधानमन्त्री निवास बालुवाटार आउनुभएका नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत डानियल मेउल्ली मोन्टेलोनेसँग प्रधानमन्त्री ओलीले नेपालको विकासका लागि वैदेशिक सहयोग उत्प्रेरक हुने बताउनुभयो । उहाँले समावेशी लोकतान्त्रिक संरचनाको विकासका लागि स्वीट्जरल्याण्डको अभ्यास स्थापित भएको उल्लेख गर्दै नेपाल सरकारले लोकतन्त्रको सबलीकरण गर्दै राज्यका संरचनालाई भूइँतहका जनताप्रति उत्तरदायी बनाउने प्रयत्न गरिरहेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले प्रत्यक्ष वैदेशिक लगानी बढाउन सरकारले आवश्यक सुधारात्मक कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दै हालै सम्पन्न नेपाल लगानी सम्मेलनमा ५० मुलुकबाट उत्साहजनक सहभागिता भएको उल्लेख गर्नुभयो । नेपाल सन् २०२६ सम्ममा अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने र सन् २०३० सम्ममा मध्यम आय भएको मुलुक बन्ने लक्ष्य लिएकाले विकास साझेदारबाट सहयोग अभिवृद्धिको अपेक्षा व्यक्त गर्नुभयो ।
सो अवसरमा प्रधानमन्त्री ओलीले नेपालको विकासमा निरन्तर सहयोग, कोभिड—१९ को रोकथाममा सहयोग तथा शान्ति प्रक्रियामा सहयोग र सद्भावका लागि स्वीट्जरल्याण्ड सरकारलाई धन्यवाद दिनुभयो । प्रधानमन्त्री ओलीले गत जुलाइमा राष्ट्रपति रामचन्द्र पौडेलबाट भएको स्वीट्जरल्याण्ड भ्रमण र सन् २०१९ मा आफू प्रधानमन्त्री हुँदा डाभोसमा सम्पन्न विश्व आर्थिक मञ्चमा सहभागिताको स्मरण गर्दै यस्ता उच्चस्तरीय भ्रमण र बैठक आदानप्रदानबाट आपसी सम्बन्धमा नयाँ आयाम थपिने बताउनुभयो ।
राजदूत डानियलले प्रधानमन्त्री ओलीलाई कार्यकाल सफलताको लागि बधाई र शुभकामना दिँदै दुई पक्षीय पारस्परिक हित तथा सहयोग र सहकार्यलाई निरन्तरता दिने विश्वास दिलाउनुभयो । भेटका अवसरमा प्रधानमन्त्री ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, परराष्ट्र मन्त्रालयका अधिकारीलगायत सहभागी हुनहुन्थ्यो ।
तीन प्रदेश प्रमुख नियुक्त
काठमाडौँ, १६ साउन: राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को यही साउन १४ गतेको बैठकको निर्णय एवं सिफारिसमा विभिन्न तीन प्रदेशका प्रदेश प्रमुख नियुक्त गर्नुभएको छ ।
उहाँले नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम बागमती प्रदेशमा दीपकप्रसाद देवकोटा, लुम्बिनी प्रदेशमा कृष्णबहादुर घर्तीमगर र कर्णाली प्रदेशमा यज्ञराज जोशीलाई प्रदेश प्रमुखमा आज नियुक्त गर्नुभएको राष्ट्रपतिको कायालयले जनाएको छ ।
नेपाली सेनाको कामु प्रधान सेनापति सिग्देल
काठमाडौँ, १६ साउन: राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको कायममुकायम प्रधान सेनापतिमा बलाधिकृत रथी अशोकराज सिग्देललाई तोक्नुभएको छ । प्रधान सेनापति प्रभुराम शर्मा तीनवर्षे पदावधि आगामी भदौ २४ गते समाप्त भई अनिवार्य अवकाश पाउनुहुने भएकाले राष्ट्रपतिले उहाँलाई आज कामु प्रधानसेनापति तोक्नुभएको हो । राष्ट्रपति नेपाली सेनाका परमाधिपति हुनुहुन्छ । प्रधानसेनापति अवकाश हुनु एक महिना घर बिदामा बस्ने प्रावधान छ ।
बलाधिकृत सिग्देललाई हाल ज्येष्ठताका आधारमा मन्त्रिपरिषद्को सिफारिसमा साउन २५ गतेदेखि लागू हुनेगरी कामु प्रधानसेनापति तोकिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
अध्यक्ष नेपालको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन
काठमाडौँ, १६ साउन : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटीलाई पूर्णता दिन अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आज बसेको केन्द्रीय कमिटी बैठकले गठन गरेको कार्यदलमा सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल पनि हुनुहुन्छ ।
सबै प्रदेशले केन्द्रीय सदस्यका लागि केन्द्रमा पठाएको सिफारिसका आधारमा नेताहरूको योगदान र क्षमताको मूल्याङ्कन गरी कार्यदलले पदाधिकारी र केन्द्रीय सदस्यको नाम सिफारिस गर्ने नेता सोमप्रसाद पाण्डेयले जानकारी दिनुभयो ।
विधानअनुसार पार्टीमा दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको व्यवस्था गरिएको छ । समावेशिताको अनुपात र सङ्ख्याअन्तर्गत दलित, आदिवासी जनजाति र खुला समूह निर्धारण गरी क्लष्टर छुट्टाइएको छ । समावेशी महिला र समावेशी २५ देखि ४५ वर्षको उमेर समूह तथा खुला उमेर समूह निर्धारण गरिएको छ ।
हालै सम्पन्न महाधिवेशनले अध्यक्ष, सम्मानित नेता र महासचिवसहित तीन पदाधिकारी, ९० केन्द्रीय सदस्य सर्वसम्मत चयन गरेकाले बाँकी दुई सय छ केन्द्रीय सदस्य पद रिक्त छन् ।
बैठकमा मुलुकको समसामयिक राजनीतिक विषयवस्तुको समीक्षाका साथै पार्टीको भावी कार्ययोजनाबारे छलफल गरिएको जनाइएको छ ।
म्यान्मामा थप छ महिनाका लागि सङ्कटकाल अवधिको घोषणा
याङ्गुन, १६ साउन: म्यानमाको सेनाप्रति बफादार (जुन्टा) ले बुधबार आपतकालीन अवस्थालाई छ महिनाका लागि विस्तार गरेको छ । सरकारले आपतकालिन अवस्थाको अवधि थप छ महिनाका लागि विस्तार गर्ने सर्वसम्मतिले निर्णय गरेको स्थानीय प्रसारक एमआरटिभीले जनाएको छ ।
सेनाले सन् २०२० को चुनावमा धोखाधडीको अप्रमाणित आरोप लगाएर सन् २०२१ मा आङ साङ सुकी नेतृत्वको निर्वाचित सरकारलाई सैन्य ‘कु’मार्फत हटाएर सत्ता कब्जा गरेको थियो । स्थापित जातीय अल्पसङ्ख्यक सशस्त्र समूह र नयाँ प्रजातन्त्र समर्थक ‘पिपुल्स डिफेन्स फोर्स’ द्वारा जुन्टा विरुद्धको सशस्त्र विरोधलाई दमन गर्न सङ्घर्ष गर्दा यसले आपतकालिन अवस्थालाई धेरै पटक विस्तार गरेको छ ।
म्यानमाको सेनाले बनाएको सन् २००८ को संविधान जुन्टाले अझै पनि लागु गरिरहेको छ । संविधानले आपतकालिन अवस्था हटेको छ महिनाभित्र नयाँ चुनाव गर्न निर्देश गरेको छ । संयुक्त राष्ट्रसङ्घका अनुसार म्यान्मामा सेना र विपक्षीबिचको झडपका कारण २७ लाख मानिस आफ्नो घर छोड्न बाध्य भएका छन् ।-रासस/एएफपी)
यो सरकार प्रचारबाजी होइन, काम गर्न आएको हो : मन्त्री डा राणा
काठमाडौँ, १६ साउन : परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले वर्तमान सरकार हल्ला अथवा प्रचारबाजी गर्नका लागि नभएर काम गर्नका लागि आएको बताउनुभएको छ ।
राहादानी र कन्सुलर सेवा विभागमा सेवा प्रवाहको अवस्थाको निरीक्षण भ्रमणपछि प्रतिक्रिया दिँदै उहाँले भन्नुभयो “वर्तमान सरकारले आफ्नो प्रचारबाजी गर्दैन, काम गर्छ । यो सरकार कुनै सस्तो लोकप्रियताका लागि र हल्ला गर्नका लागि नभएर काम गर्न आएको हो ।”
नेपाली कांग्रेस र नेकपा (एमाले) यो देशमा ठूलो राजनीतिक परिवर्तनका साक्षी र सहयात्री रहेका तथा दुवै दलका नेताहरुले धेरै कुरा बुझेर र देशको आवश्यकता हेरेर नै सहकार्य गरेकाले यो सरकारको स्थायित्वका बारेमा प्रश्न नगर्न मन्त्री डा राणाको आग्रह थियो । उहाँले भन्नुभयो “नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी ओलीले धेरै कुरा बिचार गरेर मुलुकलाई निकास दिने उद्देश्यका साथ यो सरकार निर्माणका लागि लाग्नुभएको हो, त्यसैले यो सरकारले देशका लागि केही गरेर देखाउनेछ ।”
एक प्रश्नको जवाफमा मन्त्री डा राणाले नयाँ बनेको सत्तासमीकरण कुनै एक व्यक्तिका कारणले नभएर मुलुकका दुई ठूला दलले आवश्यकताको बोध गरेर निर्माण भएको स्पष्ट गर्नुभयो । हिजो मात्र प्रधानमन्त्री केपी ओलीले यस विषयमा स्पष्ट गरेको स्मरण गर्दै उहाँले सरकार ढल्छ भन्ने या अरु कुनै पनि कारणले काममा ढिलासुस्ती गर्ने तथा नागरिकलाई डेलिभरी दिने काममा ढिला गर्ने छुट सरकार र कर्मचारी कसैलाई नभएको स्पष्ट गर्नुभयो ।
मन्त्री डा राणाले कहीँ कतै प्रमाण या उजुरी नहुँदा नहुँदै पनि आफ्नो नाममा विभिन्न काण्ड खडा गरेर जोड्ने गरिएकामा आपत्ति जनाउनुभयो । उहाँले भन्नुभयो, “कतै तथ्य छैन, कुनै गल्ती गरेको अवस्था छैन । तर पनि कतिले सोसियल मिडिया त कतिले मिडियाबाट नै मेरो नाम मुछ्ने गरेका छन् ।” उहाँले नक्कली भुटानी शरणार्थी प्रकरणमा जसले आफ्ना विरुद्ध बयान दियो भनेर दुष्प्रचार गरियो उसैले पछि मलाई चिन्दिन भनेको प्रसंग उल्लेख गर्दै अनावश्यक रुपले आफ्नो नाम जोड्न लगाइएको र एक किसीमले भन्दा मिडिया ट्रायल नै गरिएको आफ्नो अनुभव रहेको बताउनुभयो ।
टीकापुर जग्गा प्रकरणमा आफ्नो नाम जोडिएको विषयमा मन्त्री डा राणाले भन्नुभयो “म यहाँहरुलाई अनुरोध गर्छु कि यो सूचनाको हक भएको देश हो, यहाँहरु फिल्डमै जानुस् र के हो भन्ने तथ्य आफैँ थाहा पाउनुहोस्, कहीँ कतै मेरो गल्ती देख्नुभएछ भने म यहाँहरुसँग त्यतिबेलै कुरा गरौँला ।” उहाँले भन्नुभयो “कस्तो दुष्प्रचार होला हेर्नु त ? प्रहरीको बयानमा मेरो नाम लियो रे भनेर पहिला प्रचार गरियो, तर पछि सोही व्यक्तिले उहाँलाई मैले चिन्दिन, नाम नै सुनेको छैन भन्यो । यसलाई कहाँसम्मको दुष्प्रचार भन्ने ?”
मन्त्री डा राणाले राहदानी र कन्सुलर सेवा प्रवाहको अध्ययन गरी यी दुवै सेवा नेपाली नागरिकका लागि अति आवश्यक र परराष्ट्रले दिनुपर्ने सबैभन्दा महत्वपूर्ण र संवेदनशील सेवा रहेकाले नेपाली नागरिकलाई केन्द्रमा राखेर काम गर्न सबै कर्मचारीलाई निर्देशन दिनुभयो ।
नयाँ बसपार्कमा बसभित्र युवकको शव फेला
काठमाडौँ, १६ साउन : काठमाडौँको नयाँ बसपार्कमा पार्किङ गरेर राखेको बसभित्र एक युवाको शव फेला परेको छ । काठमाडौँ महानगरपालिका–२६ नयाँ बसपार्कभित्रको ३ नम्बर गेट नजिक पार्किङ गरेर राखेको बा२ख २३४४ नम्बरको बसभित्र युवकको शव फेला परेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारीले इटहरी उपमहानगरपालिका–१३ घर भएका ३७ वर्षीय प्रल्लाद अधिकारीको शव फेला परेको जानकारी दिनुभयो । उनको शव परीक्षण गर्न त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज लगिएको प्रहरीले जनाएको छ ।
भारतमा पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १४३ पुग्यो, उद्धार कार्य जारी
केरला, भारत, १६ साउन:भारतको वायनाडमा गएको पहिरोमा परि ज्यान गुमाउनेको सङ्ख्या १४३ पुगेको छ । पहिरो प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्य जारी रहेको केरलाको स्वास्थ्य विभागले जनाएको छ ।
विनासकारी पहिरोले आवास तथा सडकहरू क्षतिग्रस्त हुनुका साथै जलप्रवाह बढेकाले उद्धार कार्यमा बाधा पु¥याएको जनाइएको छ ।
यसैबीच, मङ्गलबार केरला विधान सभामा राष्ट्रिय झण्डा आधा झुकाएको छ भने दुई दिने शोकको घोषणा गरेको छ ।
मङ्गलबार सङ्घीय मन्त्री जर्ज कुरियनले जारी राहत कार्यको समीक्षा गर्न वायनाड पुगी एनडीआरएफ, सीआरपीएफ र सेनाका वरिष्ठ अधिकारीहरूसँग भेट गरेको र राहत शिविरकोसमेत अवलोकन गरेको सामाजिक सञ्जाल एक्समार्फत जानकारी गराउनुभएको छ ।
मन्त्री जर्जले यसअघि, वायनाड पहिरोकोे जारी अवस्थाको मूल्याङ्कन गर्न स्वास्थ्य विभाग निर्देशनालयको भ्रमण गरी प्रभावित क्षेत्रमा उपचारको व्यबस्था मिलाउन निर्देशन दिनु भयो । मन्त्री जर्जले आवश्यकताअनुसार अस्थायी अस्पताल स्थापना गर्न सिफारिससमेत गर्नु भयो ।
यसैबीच, भारतीय मौसम विज्ञान विभाग (आइएमडी) ले जुलाई ३१ र अगष्ट १ मा केरलामा भारी वर्षा हुने पूर्वानुमान गरेको छ ।
मुख्यमन्त्री पिनाराई विजयनले वायनाडको पहिरो प्रभावित चुरालमालामा उद्धार कार्र्य द्रूत बनाउन उच्चस्तरीय बैठक आयोजनमा गर्नु भएको थियो । यसमा विभिन्न केन्द्रीय सङ्घसंस्था र सेनासँगको सहकार्यमार्फत राहत अभियान अघि बढाउने विषयमा छलफल भएको थियो ।-रासस/एएनआई