शनिबार, १३ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01J3G1GJNNX21F74CFD3D1RS8J.jpg

मदन पुरस्कारका लागि पाँच कृति छनोटमा

काठमाडौँ, ८ साउन I मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार २०८०’ का लागि पाँच कृति छनोट गरेको छ । गुठीले आज ०८० मा प्रकाशित भएका विभिन्न तीन सय चार वटा पुस्तकमध्ये पाँच वटा कृति छनोट गरी सार्वजनिक गरेको हो ।   
  
गुठीले भक्त स्याङ्तानको ‘डम्फुको आत्मालाप’, मोहन मैनालीको ‘मुकाम रणमैदान’, जीवन क्षेत्रीको ‘नुन–तेल’, भावेश भुमरी र प्रणिता चामलिङको ‘भावलिपि’ र रोशन थापा नीरवको ‘सन्त्रासका साठी दिन’लाई उत्कृष्ट कृतिमा छनोट गरेको छ । छनोट भएका पाँचमध्ये सबैभन्दा बढी उत्कृष्ट कृतिले २०८० सालको मदन पुरस्कार प्राप्त गर्नेछ ।  

प्रकाशित मितिः मङ्गलबार, ०८ साउन २०८१
https://jawaaf.com/storage/01J3FVBE5TH6YVJVJGZDPSXG4B.jpg

एम्बुलेन्समा रङ, साइरन र अन्य सङ्केतमा एकरूपता ल्याउन निर्देशन

काठमाडौँ, ८ साउन I सरकारले देशभरका एम्बुलेन्सको रङ, साइरन र अन्य सङ्केतमा एकरूपता ल्याउन निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रादेशिक एम्बुलेन्स व्यवस्थापन समिति र जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिलाई परिपत्र गर्दै त्यस्तो निर्देशन दिएको हो । 

मन्त्रालयका शाखा अधिकृत बद्रीराज ढकालले राष्ट्रिय एम्बुलेन्स निर्देशिका–२०७८ को दफा १५ ले निर्देशित गरेको मापदण्डअनुसार एकरूपता नआएको भन्ने जनगुनासो आइरहेकाले प्रादेशिक र जिल्लास्तरमा रहेका एम्बुलेन्स व्यवस्थापन समितिलाई मापदण्डको पालना गर्न निर्देशन दिएको जानकारी दिनुभयो ।  

मन्त्रालयले मापदण्ड पूरा गरेको अवस्थामा मात्र एम्बुलेन्स सञ्चालन अनुमति नवीकरण गर्न निर्देशन दिएको छ । निर्देशिकामा एम्बुलेन्सले राष्ट्रिय प्रदूषण मापदण्ड अनिवार्य पालना गरेको, एम्बुलेन्सको पहिचान हुने आवाज (साइरन), रातो लामो रङको सङ्केत बत्ती जडान भएको, एम्बुलेन्समा एम्बुलेन्स शब्द अगाडि उल्टो अक्षरबाट र तीन अङ्कको १०२ टेलिफोन नम्बर अङ्ग्रेजी र नेपाली दुवै भाषामा लेखिएको हुनुपर्ने उल्लेख छ । 

यस्तै सरकारबाट राजस्वमा छुट प्राप्त एम्बुलेन्स भनेर स्पष्ट देखिने गरी लेखिएको, एम्बुलेन्सको वर्गीकरण खुल्ने गरी वर्ग उल्लेख भएको हुनुपर्ने निर्देशिकामा उल्लेख छ । 

प्रकाशित मितिः मङ्गलबार, ०८ साउन २०८१
https://jawaaf.com/storage/01J3FRTHG400EEBNYMNKCTZACJ.jpg

उद्योगमा विद्युत् लाइन जडान गर्ने निर्णय

काठमाडौँ, ८ साउन I नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले विभिन्न छ उद्योगमा विजुलीको लाइन जडान गर्ने निर्णय गरेको छ । सञ्चालक समितिको आजको बैठकले सर्तसहित विद्युत् लाइन जोड्ने निर्णय गरेको छ ।

प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत रहनुभएका ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको अध्यक्षताको बैठकले उद्योगमा काटिएका लाइन पुनःजडान गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

प्राधिकरण सञ्चालक समितिले गरेको निर्णयमा भनिएको छ, “तीन महिनाभित्र उद्योगीहरुको बक्यौता विद्युत् भुक्तानी नगरेमा पुनःबक्यौता असुल गर्न कारबाही अगाडि बढाउने गरी विद्युत् नियमन आयोगको निर्देशनअनुसार उद्योगहरुको विद्युत् लाइन जोड्ने निर्णय गरिएको छ ।”

विद्युत् काटिएका छ वटा उद्योगमा आज साँझबाट क्रमिक रुपमा लाइन जडान गरिने जनाइएको छ । 

उद्योगहरुले विद्युत् महसुलको बक्यौता नतिरेपछि गत असार २५ गतेदेखि रिलायन्स स्पिनिङ मिल, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट, जगदम्बा स्टील, जगदम्बा सेन्थेटिक र हुलास स्टीलको लाइन काटेको थियो । 

प्रकाशित मितिः मङ्गलबार, ०८ साउन २०८१
https://jawaaf.com/storage/01J3FPW2QHQRXAJYT1WA17AHT8.jpg

संसद्का संयुक्त र विषयगत समितिका सदस्यको नाम हेरफेर

काठमाडौँ, ८ साउन I प्रतिनिधिसभाले संसदीय सुनुवाइ र विषयगत समितिमा सदस्य थप र हेरफेर गरेको छ । सभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले राख्नुभएको सदस्यको नाम हेरफेर सम्बन्धी प्रस्तावलाई सभाले सहमति जनाएको थियो । 

सभामुख घिमिरेले संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली, २०८० को नियम २५ को २ बमोजिम संसदीय सुनुवाइ समितिमा सदस्यहरूको नाम हेरफेरको प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । उक्त समितिमा सांसद रमेश लेखकको स्थानमा सांसद श्यामकुमार घिमिरे र सांसद डा स्वर्णीम वाग्लेको स्थानमा डोलप्रसाद अर्याललाई हेरफेर गरिएको छ ।

यस्तै राज्य व्यवस्था तथा सुशासन समितिमा सांसद पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्णबहादुर खड्का, रवि लामिछाने र राजेन्द्रकुमार राई थपिनुभएको छ । सांसद हरि ढकाललाई राज्य व्यवस्था तथा सुशासन समितिबाट सार्वजनिक लेखा समितिमा लगिएको छ । 

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा सांसद रेखा शर्मा र सुमना श्रेष्ठ थपिनुभएको छ । यस समितिबाट सांसद मीना यादवलाई कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा सारिएको छ । अर्थ समितिमा सांसद पदम गिरी, भगवती चौधरी, वर्षमान पुन र विराजभक्त श्रेष्ठलाई थपिएको छ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा सांसद हरिप्रसाद उप्रेती र हितबहादुर तामाङ थपिनुभएको हो ।  

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिमा सांसद रघुवीर महासेठ र डोलप्रसाद अर्याल थपिनुभएको छ । यस्तै कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा सांसद ज्वालाकुमारी साह र पूर्वाधार विकास समितिमा शक्तिबहादुर बस्नेत थपिनु भएको छ । 

प्रकाशित मितिः मङ्गलबार, ०८ साउन २०८१
https://jawaaf.com/storage/01J3FK7PJKTCT409AN45NHY47D.jpg

ज्येष्ठ नागरिकलाई घरमै सामाजिक सुरक्षा भत्ता

गोरखा, ८ साउन I यहाँको बारपाक सुलिकोट गाउँपालिकाले पालिकाभित्रका ज्येष्ठ नागरिक, अशक्त तथा अपाङ्गता भएका व्यक्तिहरुलाई घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ । सबै वडामा गाउँपालिका, वडा र बैङ्कका कर्मचारीसहितको टोली पुगेर भत्ता वितरण गरिएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिनुभयो ।   
  
गाउँपालिकाले समय तालिका बनाएर गाउँमै बैङ्किङ प्रणालीमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरेको उहाँले बताउनुभयो । “बारपाक सुलिकोट भौगोलिक हिसाबले जटिलता भएको पालिका हो,” अध्यक्ष भट्टले भन्नुभयो, “सामाजिक सुरक्षा भत्ताका लागि असहाय, अपाङ्गता भएका तथा ज्येष्ठ नागरिक बैङ्कसम्म पुग्न कठिनाइ हुने भएकाले टोलटोलमै पुगेर वितरण गर्दै आएका छौँ ।”   
  
सामाजिक सुरक्षा भत्ता बैङ्कमार्फत वितरण गर्नुपर्ने भएकाले गाउँपालिकाले बैङ्कसँग आवश्यक समन्वय गरी टोलटोलमा लाभग्राहीलाई बैङ्किङ प्रक्रिया पूरा गरी भत्ता उपलब्ध गराउने गरेको उहाँको भनाइ छ । टोलटोलबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेपछि लाभग्राही खुसी भएका छन् ।   
  
भौगोलिक अवस्थितिअनुसार गाउँपालिकाले प्रत्येक वडामा सामाजिक सुरक्षा भत्ता वितरण टोली परिचालन गरेको छ । हालै गाउँपालिका–४ स्थित सौरपानीबाट भत्ता वितरणको काम सुरु गरिएको छ । “बैङ्कसम्म सुरक्षा भत्ताका लागि धाउनुपर्दा एकतर्फ हैरानी खेप्नुपर्ने र अर्कोतर्फ अशक्त र असहाय व्यक्तिले गाडी ‘रिजर्भ’ गरेर आउजाउ गर्नुपर्दा खर्चिलोसमेत हुने गरेको थियो,” अध्यक्ष भट्टले भन्नुभयो ।  

प्रकाशित मितिः मङ्गलबार, ०८ साउन २०८१
https://jawaaf.com/storage/01J3FGK1Z5HCRTETJNGKA8GDW0.jpg

बङ्लादेशको विभिन्न सरकारी निकायको वेबसाइट ह्याक

ढाका, ८ साउन (रासस,एएनआइ) I बङ्गलादेशमा चर्किरहेको आरक्षण विरोधी आन्दोलका बीच बङ्लादेशको प्रधानमन्त्री कार्यालय, केन्द्रीय बैँक र प्रहरीको आधिकारिक वेबसाइटहरू द रेजिष्टेन्स' नामक समूहद्वारा ह्याक गरिएको छ ।   
  
तिनवटै वेबसाइटहरूमा , “अपरेसन हन्टडाउन, विद्यार्थीहरूको हत्या रोकौँ । अब यो विरोध मात्र नभई एक युद्ध हो" भनी रातो अक्षरमा समान सन्देश जारी गरिएको छ ।   
  
सन्देशमा विद्यार्थीको शान्तिपूर्ण विरोध प्रदर्शनलाई सरकारलगायत राजनीतिक सहयोगीको क्रूर हिंसा र हत्याको सामना गर्नु परेको उल्लेख गर्दै अब यो विरोध मात्र नभई न्याय, स्वतन्त्रता र भविष्यका लागि युद्ध भएको जनाइएको छ ।   
  
समूहले तत्काल ह्याकर, 'ओएसआइएनटी' अन्वेषक र पत्रकारलाई आफ्नो उद्देश्यमा सहभागी हुन आह्वान समेत गरेका छन् ।   
  
“न्यायका लागि लडाइँ सुरु भइसकेको छ , तयार रहनुहोस् ", ह्याकरहरुले चेतावनी दिएका छन् ।   
  
उनीहरूको बारेमा विवरण उल्लेख नगरी पाँच जना पुरुष र दुई वटा कुकुरसहितको तस्बिर वेबसाइटमा प्रस्तुत गरिएको छ ।   
  
बङ्गलादेशमा सन् १९७१ मा स्वतन्त्रताको लडाइँ लडेकाहरुको सन्तानका लागि प्रदान गरिएको ३० प्रतिशत आरक्षण कोटा प्रणालीको सुधारको माग गर्दै विद्यार्थीहरू लामो समयदेखि आन्दोलनमा रहेका थिए । 

प्रकाशित मितिः मङ्गलबार, ०८ साउन २०८१
https://jawaaf.com/storage/01J3FG44WF71HFE8Q9RW2KQPF1.jpg

ताप्लेजुङमा सालकको उद्धार

फुङ्लिङ (ताप्लेजुङ), ८ साउन I ताप्लेजुङमा एक सालकको उद्धार गरिएको छ । सोमबार फुङ्लिङ नगरपालिका–७ ऐश्वर्या चोकको सडकबाट प्रहरीले सालकको उद्धार गरेको हो ।   
  
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कमलकुमार लुङ्गेलीका अनुसार प्रहरी टोलीले सालकलाई उद्धार गरी जिल्ला प्रहरी कार्यालयमा ल्याएको थियो । सालकलाई उचित हेरचाह र स्थानान्तरण सुनिश्चित गर्न ताप्लेजुङस्थित डिभिजन वन कार्यालयलाई घटनाको बारेमा तुरुन्तै जानकारी गराइएको थियो ।   
  
आज बिहान उप–डिभिजन वन कार्यालयका कर्मचारीलाई सालक हस्तान्तरण गरिएको लुङ्गेलीले बताउनुभयो । वन कार्यालयका कर्मचारीले सालकलाई उपयुक्त बासस्थानमा सुरक्षित फिर्ता गर्ने जनाएको छ ।   
  
लोपोन्मुख मानिने सालकको अस्तित्व सुनिश्चित गर्नु सबैको कर्तव्य रहेको डिभिजन वन कार्यालय ताप्लेजुङले जनाएको छ ।

प्रकाशित मितिः मङ्गलबार, ०८ साउन २०८१
https://jawaaf.com/storage/01J3FFQYZEKMVWRF54A6B6KEP7.jpg

रुसी भलिबल खेलाडीसँग प्रधानमन्त्री ओलीका भावनात्मक कुरा...

काठमाडौँ, ८ साउन I  “मेरो दोस्रोपटक मिर्गाैला प्रत्यारोपण गर्ने चिकित्सक रुसमा पढेका र रुसका ज्वाइँ हुनुहुन्छ । अहिले म स्वस्थ छु । यसले पनि देखाउँछ कि रुसबाट पढेर आएकाहरु कति सक्षम हुन्छन् भन्ने,” रुसी महिला भलिबल टोलीसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले आफ्ना भावनात्मक कुराहरु पोख्दै भन्नुभयो, “नेपाल र रुस दुई पुराना मित्रहरु हुन् । हाम्रा सम्बन्धका अनेक आयाम छन् ।   
  
रुसले नेपालको शिक्षा, यातायातलगायत विविध क्षेत्रमा सोभियत सङ्घ हँुदादेखि नै सहयोग गर्दै आएको छ । दुई देशबीचका हाम्रा सम्बन्धलाई अझ पुनःताजगीकरण गराउन हामी लाग्नेछौँ । प्रधानमन्त्री ओलीको २०७६ फागुन २१ गते प्राडा प्रेम ज्ञवाली नेतृत्वको चिकित्सक टोलीबाट त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा दोस्रोपटक मिर्गाैला प्रत्यारोपण भएको थियो ।   
  
सो अवसरमा प्रधानमन्त्री ओलीले पारस्परिक लाभ र सम्मानका आधारमा नेपाल र रुसबीचको पुरानो सम्बन्धलाई पुनःताजगीकरण गर्नुपर्ने बताउनुभयो ।   
  
भेटका क्रममा प्रधानमन्त्री ओलीले दुई देशबीच सोभियत सङ्घ हुँदादेखि नै रुसबाट नेपालले विभिन्न क्षेत्रमा सहयोग पाउँदै आएको उल्लेख गर्दै खेलका लागि रुस एक प्रकारको बादशाह नै भएको बताउनुभयो । दुई देशका भलिबल टोलीबीच मैत्रीपूर्ण खेल हुनुलाई सकारात्मक रुपमा लिँदै प्रधानमन्त्री ओलीले यस्ता खेलका साथै रुसको ग्रेट मस्को सर्कस र नेपालको मौलिक नृत्य, अर्केष्ट्रा संस्कृतिको आदानप्रदानमा अर्थपूर्ण निरन्तरता हुनुपर्नेमा जोड दिनुभयो ।   
  
रुसलाई उपनिवेशबाट मुक्त गर्न तथा हिटलरको तानाशाही शासनका विरुद्धको स्वतन्त्रताको लडाइँका लागि भ्यादिमिर लेनिनले गर्नुभएको नेतृत्वदायी भूमिकाको प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले आफूलाई दोस्रो पटक मिर्गाैला प्रत्यारोपण गर्ने चिकित्सक रुसमा पढेका र रुसका ज्वाइँ पनि भएकाले दुई देशबीचको सम्बन्धका अनेक आयामहरु रहेको चर्चा गर्नुभयो । प्रधानमन्त्री ओलीले नेपाल बसाइका क्रममा रुसका भलिबल टोलीलाई अनुकूल भएमा ‘माउन्टेन फ्ल्याइट’ गर्न सुझाव दिनुभयो ।   
  
सो अवसरमा नेपालका लागि रुसी राजदूतावासका प्रथम सचिवले प्रधानमन्त्री ओलीलाई कार्यकाल सफलताको कामना गर्दै प्रधानमन्त्री ओलीको नेतृत्वमा दुई देशबीचको राजनीतिक, आर्थिक, सामाजिक र खेलकुदलगायत क्षेत्रका सम्बन्ध अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।   
  
सङ्घले आगामी २०८२ जेठ ८ मा पर्यटन वृद्धिमा समेत योगदान दिने लक्ष्यका साथ सगरमाथा आधार शिविरमा राष्ट्रिय भलिबल दिवस मनाउन तयारी गरेकाले त्यसमा नेपाल सरकारबाट सहयोगको अपेक्षा गरेको थियो । महासचिव श्रेष्ठले नेपालमा अन्तर्राष्ट्रियस्तरको कभर्ड हल निर्माणका लागि आग्रह गर्दा प्रधानमन्त्रीले ओलीले निर्माण गर्न पहल गर्ने बताउनुभएको थियो ।   
  
सो अवसरमा गैह्रआवासीय नेपाली सङ्घ, अन्तर्राष्ट्रिय समितिका संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, नेपाल भलिबल सङ्घका अध्यक्ष जितेन्द्रबहादुर चन्द, महासचिव रोशन श्रेष्ठलगायत सहभागी हुनुहुन्थ्यो ।  

प्रकाशित मितिः मङ्गलबार, ०८ साउन २०८१
https://jawaaf.com/storage/01J3ETVJ7SJX4H8673C1Y5XEFE.jpg

विचार: हराउँदै गएको विद्वत् पूजा परम्परा

काठमाडौँ, ६ I इतिहासको खोज र लेखनमा आजीवन आफूलाई समर्पित गरेका साधक ज्ञानमणि नेपालले ९२ वर्षको उमेरमा भौतिक देह त्याग गरेको धेरै समय भएको छैन । उनको साधनाबाट तीन दर्जनभन्दा बढी इतिहासका महत्वपूर्ण ग्रन्थहरु नेपाली समाजले प्राप्त गर्नु सामान्य उपलब्धि होइन । नेपाल देशको नाम कसरी नेपाल रहन पुग्यो भन्ने विषयको जिज्ञासा मेट्न उनले लेखेको “नेपाल निरुक्त” र “नेपालनिरुपण” पढे पुग्छ ।     
     
इतिहासमा लामो कालखण्ड नेपाली राजनीतिको केन्द्रको रुपमा रहेको राजदरबारभित्र हुने गरेका षडयन्त्र, काटमार र खतरनाक खेलचुक्लीले देश कहाँ पुग्यो भन्नेबारे जिज्ञासा मेट्न उनको “नेपालको महाभारत” पढे पुग्छ । यस्ता महत्त्वपूर्ण इतिहासका ग्रन्थहरु देशका लागि समर्पण गरेर भौतिक रुपमा यो संसारसँग विदा माग्ने बेलामा पनि उनको सक्रिय चेतनाले नेपालको इतिहाससम्बन्धी चिन्ता ब्यक्त गरिरहेको उनीसँग भेट गर्न जानेहरुको अनुभव पढ्दा र सुन्दा थाहा हुन्छ । तर एउटा दुःखको कुरा के भने यतिका वर्ष इतिहासकार ज्ञानमणि नेपालले देशको इतिहास अन्वेषण र लेखनमा आफूलाई समर्पण गरे तापनि उनलाई राष्ट्रिय स्तरका पुरस्कार र सम्मान मिलेको खबर सुन्ने, हेर्ने र पढ्ने अवसर पाइएन । उनको छाँतीमा तक्मा सजिएको पनि देख्न पाइएन । यस अर्थमा ज्ञानमणि नेपालले देशका लागि जे जति दिए, बरु जीवनमा केही नलिई गए । सायद गीताको निष्फल कर्मप्रति उनलाई विश्वास थियो, त्यसैले यसबारे उनले कतै कहीँ गुनासो गरी लेखेको वा अन्तर्वार्ता दिएको पढ्न, हेर्न र सुन्न पाइएको छैन ।     
     
ज्ञानमणि नेपालजस्ता सच्चा साधकले पुरस्कार वा सम्मान मागेर हिड्न पनि सुहाउने कुरा पनि भएन । यो त पुरस्कार तथा सम्मानका संस्थापक र ब्यवस्थापकहरु स्वयम्ले मूल्याङ्कन गर्ने पक्ष हो । तर इतिहासकार नेपालको जीवनभर उनको पक्षमा यस्तो मूल्याङ्न भएको देखिएन । अर्का इतिहासकार दिनेशराज पन्तका शब्दमा इतिहासकार नेपाल मुर्खमण्डलीको घेराबन्दीमा परे । मुर्खमण्डलीले इतिहासकार नेपालको योगदानको बारेमा सोधीखोजी गर्न आवश्यक नै ठानेन ।     
     
 हराउँदैछ विद्वत पूजा परम्परा     
     
राजा जनक यस्ता राजा थिए, जसको दरबारमा विद्वानहरुको नियमित जमघट हुन्थ्यो, शास्त्रार्थ चल्थ्यो । शास्त्रमा ठूलो विश्वास थियो, राजा जनकमा । राजा जनककै समयमा एउटा अत्यन्तै तीक्ष्ण दिमागका किशोर थिए । उनको शरिर आठ ठाउँमा बाङ्गिएकाले उनको नाम नै अष्टाबक्र थियो । शरिर अनाकर्षक र कुरुप भए पनि अष्टाबक्र साधनाले खारिएको दार्शनिक र शास्त्रज्ञानी थिए ।     
     
एक दिन राजा जनक घुम्न निस्किएका थिए । उनले बाटामा ऋषि भेषधारण गरेका एक ब्यक्तिलाई देखे । उनी तत्कालै घोडाबाट ओर्ले, र ऋषिलाई प्रणाम गरे । तर ऋषिको अत्यन्तै अनौठो र अनाकर्षक शरिर देखेर राजा जनक तीनछक्क परे । अष्टाबक्रले थाहा पाइहाले कि, राजा जनकले आफ्नो शरिर देखेर आफूप्रति घृणाको धारणा बनाइरहेछन् । त्यसपछि उनले राजा जनकलाई भने,“हे, राजन् ! कुनै पनि मन्दिर टेढो भएर त्यो माथिको आकास टेढो हुँदैन । कुनै पनि मन्दिर गोलो वा लाम्चो हुँदैमा आकास पनि गोलो वा लाम्चो हुने होइन । किनकी आकासको मन्दिरसँग कुनै सम्बन्ध हुँदैन । आकास मन्दिरजस्तो आकारयुक्त हँुदैन, निराकार हुन्छ । त्यस्तै आत्मा पनि निराकार हुन्छ । आत्मा आकासजस्तै निराकार भएकैले नित्य हुन्छ, तर शरिर अनित्य हुन्छ । शरिरको बाङ्गोटिङ्गो आकार आत्मामा आउन सक्दैन । त्यसैले हे, राजन् ! ज्ञानीहरुसँग आत्मदृष्टि रहन्छ भने अज्ञानीसँग केवल चर्मदृष्टि रहन्छ । चर्मदृष्टि त्यागेर आत्मदृष्टि ग्रहण गरी जब हेरिन्छ, तब चित्तबाट घृणा दूर भएर जान्छ । चर्मदृष्टिबाट त अज्ञानीले मात्रै हेर्छ, ज्ञानीहरुले चाहिँ आत्मदृष्टिबाट हेर्छ ।”     
     
अष्टाबक्रको यस्तो विद्वत वाणीले राजा जनक तत्काल पग्लिहाले । उनले अष्टाबक्रलाई आफ्नो दरबारमा आउन निम्तो दिए । आफ्नो दरबारमा सम्मानजनक आसनमा बसाई राजा जनकले अष्टाबक्रसँग अनेकौँ जिज्ञासाहरु राखे । उनै राजा जनकको प्रश्न र अष्टाबक्राको उत्तरले कालान्तरमा “अष्टाबक्र गीता”को जन्म भयो । यसलाई पूर्वीय दर्शनमा महत्त्वपूर्ण ग्रन्थ मानिन्छ । उनै अष्टाबक्रजस्ता विद्वत प्रतिभाहरुको कदर गर्ने भएकाले राजा जनकको नाम आज पनि श्रद्धाका साथ लिइन्छ ।     
     
 हाम्रो देशमा विद्वानहरुसँग नजिक हुने, उनीहरुसँग जिज्ञासा राख्ने र उनीहरुबाट ज्ञान र दर्शनहरु सङ्ग्रह गर्ने परम्परा क्रमशः हराउँदै जान थालेको छ । त्यसमाथि पनि ज्ञानमणि नेपालजस्ता विद्वत इतिहासकारहरुले बडो मेहनत गरेर तयार पारिदिएका ग्रन्थहरु पढ्ने, त्यसको विश्लेषण गर्ने र पाठ सिक्ने परम्परा अब एकादेशको कथाजस्तै हुन पुगेको छ । यस्तो परम्परा कायम रहे देशमा मुर्ख वा तजबिजी पुस्ताको मात्रै जन्म हुनेछ । विद्वत् पूजा परम्परा हराउँदै जाँदा बौद्धिक जगत पाखा पर्दै जानेछन् । देश र समाजलाई मार्गदर्शन गर्ने पक्ष पाखा पर्दै जाने क्रम जारी रहे देश कहाँ पुग्ला ?     
     
 विद्वत् पूजाको दूर्लभ अभियान     
     
एक जना अभियन्ता छन्, जो लामो समयदेखि विद्वत पूजा अभियानमा एक्लै जस्ता छन् । उनी हुन्, शेषराज शिवाकोटी । लामो समय न्यायसेवामा समर्पित उनी हाल सेवानिवृत्त छन् । उनी विद्वत पूजालाई नै आफ्नो धर्म र कर्म ठान्दै स्वयम्सेवा गरिरहेछन्, लामो समयदेखि । शिवाकोटी बेलाबेलामा विद्वत ब्यक्तित्वहरुको सम्मान गर्छन् र उनीहरुलाई केवल ताम्रपत्र र दोसल्लाले सम्मान गरेर औपचारिकता मात्र निर्वाह गर्दैनन्, सम्मानीत प्रतिभाको अभिनन्दन ग्रन्थ नै प्रकाशित गर्छन् । एकै व्यक्तिको अभिनन्दन ग्रन्थको सङ्ख्या धेरै पनि हुनसक्छ । उदाहरणका लागि, एकै जना विद्वान नयराज पन्तको विषयमा उनले ३० अङ्क अभिनन्दन ग्रन्थ प्रकाशित गरेका छन् । जीवित हुँदा १० र निधनपछि २० अङ्क अभिनन्दन ग्रन्थ प्रकाशित भए । यस्तै रोचक घिमिरेबारे १० र धनबज्र बज्राचार्यबारे नौ अङ्कसम्म अभिनन्दन ग्रन्थ प्रकाशित गरेर विद्वत पूजा परम्परालाई धानेका उनले प्रकाश दर्नालसम्म आइपुग्दा अभिनन्दन ग्रन्थ प्रकाशन हुने “ज्ञानगुन”ले दुई सय २४ अङ्क पार गरिसकेको छ ।     
     
नारायणगोपाल र पारिजातको निधनपछि यस्ता स्मृति र अभिनन्दन ग्रन्थ प्रकाशनमा ल्याउने चलन चलाएका उनले जीवित ब्यक्तित्त्वहरुको पनि अभिनन्दन ग्रन्थ प्रकाशित गर्न पर्छ भन्ने मान्यताका साथ प्रशिद्ध हास्यब्यङ्ग्यकार बासुदेव लुइँटेलबाट यस्तो चलन सुरु गरे । हालै भौतिक रुपमा यो संसारबाट टाढा हुन पुगेका इतिहासकार ज्ञानमणि नेपालका बारेमा पनि तीनवटा अभिनन्दन ग्रन्थ शिवाकोटीले प्रकाशनमा ल्याए । शिवाकोटीले २०७९ माघ २७ गते श्रीपञ्चमीमा “ज्ञानगुन”को दुई सय ११ औं अङ्कलाई इतिहासकार नेपालको औँ शुभजन्मोत्सव अङ्कका रुपमा प्रकाशित गरेर नेपालको ९१ औँ जन्म दिनलाई भब्यता प्रदान गरेका थिए ।     
     
यसरी विद्वानहरुको पूजा परम्परा कायम राख्दा शिवाकोटीले ब्यहोर्नु परेको अवस्थाको बान्की पनि अचम्मको छ । कुनै बेला नयराज पन्तको स्मृतिमा कार्यक्रम आयोजना गर्दा एउटा सानो कोठामा आफूसहित सात जना मात्रै भेला हुनु परेको पनि शिवाकोटीका लागि बिर्सिनसक्नुको घटना हुन पुगेको छ । हुन त असल मानिसहरुको सानो जमात् मुर्खमण्डलीको ठूलो भीडभन्दा कैयौँ गुणा उत्तम हुन्छ । मुर्खको उपदेशभन्दा विद्वानको गाली महिमायोग्य र उपयोगी हुन्छ । सिद्धार्थ गौतम जब ज्ञान प्राप्त गरेपछि बुद्ध बने, त्यसबेला उनको उपदेश सुन्ने केवल चार जना मात्रै थिए । तिनै चार जना बुद्धको सन्देश बोकेर चारैतिर फैलदा बुद्धका अनुयायीहरु प्रशस्तै जन्मिए । विद्वत् पूजा परम्परा धानिरहेका शिवाकोटीजस्ता दुर्लभ अभियन्ताहरुलाई पनि राज्य र समाजले चिन्न आवश्यक छ ।     
     
 केका लागि विद्वत् पूजा ?     
      

समाजका घटनालाई सुक्ष्मतम दृष्टिकोणले अध्ययन गर्ने र अनुभवहरुलाई समेत निफनेर घटनाका कारणहरु पत्ता लगाउने काम समाज विज्ञानका विद्वानहरुले गर्ने गर्छन् । समाजका घटना र अनुभवहरुको अध्ययन र विश्लेषणबाटै सामाजिक दर्शन र सिद्धान्तहरुको प्रतिपादन हुन्छ । यसका लागि विशेष धैर्यता, बुद्धि र मेहनत आवश्यक हुन्छ । साधनाबिना यस्ता कठिन काम सम्पन्न हुन सक्दैन । मानिसले एउटै दर्शन वा सिद्धान्त प्रतिपादन गर्न पनि सम्पूर्ण जीवन समर्पण गरेको उदाहरण प्रशस्तै पाउँछौँ ।     
      
विद्वत् वर्गबाट प्रतिपादित दर्शन वा सिद्धान्तले समाज र राज्यलाई उचित दृष्टि दिन्छ । यसले शान्ति, प्रगति, उन्नति र भातृत्वको विकासमा सयोग पुर्‍याउँछ । त्यसैले विद्वत् वर्गबाट राज्य र समाज ऋणी हुन्छ । त्यहीँ ऋण चुक्ता गर्न पनि विद्वत पूजा परम्पराको आवश्यकता हुन्छ । जुन देशमा विद्वत पूजा हुन्छ, त्यो देश जहिल्यै प्रगतिपथमा लम्केको हुन्छ । इतिहासकार ज्ञानमणि नेपालले आफ्नो बुद्धि र साधनाले देश र समाजलाई ऋण बोकाएर गएका छन् । (लेखक राजकुमार दिक्पाल पत्रकार हुनुहुन्छ)     

प्रकाशित मितिः मङ्गलबार, ०८ साउन २०८१
https://jawaaf.com/storage/01J3DE1EK6GGNP8F5GBGF2M2X3.png

नेपाल रसियन टोलीसँग फेरि पराजित

काठमाडौँ, ७ साउन I नेपाली महिला राष्ट्रिय भलिबल टोलीले दोस्रो मैत्रीपूर्ण खेलमा पनि रसियन टोलीसँग पराजित भएको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा आज भएको खेलमा नेपाल रसियन टोलीसँग ३–० को सोझो सेटमा पराजित भएको हो नेपालले पहिलो सेट १४–२५, दोस्रो सेट २३–२५ र तेस्रो सेट २२–२५ ले गुमायो ।

आइतबार सम्पन्न पहिलो मैत्रीपूर्ण खेलमा पनि नेपाल ३–० कै सेटमा पराजित भएको थियो । नेपालस्थित रसियन दूतावासको विशेष सहयोगमा मैत्रीपूर्ण खेल भएको हो ।

प्रकाशित मितिः सोमबार, ०७ साउन २०८१