शनिबार, १३ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01J3AH47TWTY26CNTMYCZRDGAT.jpg

भ्रष्टाचारका मुद्दामा निष्पक्ष छानबिन हुनेमा आशङ्का : सभापति लामिछाने

काठमाडौँ, ६ साउन I राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विगतमा भएका भ्रष्टाचार काण्डको अनुसन्धान गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।   
  
प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफलका क्रममा उहाँले बजेट पास भएको दुई महिनाभित्र विगतका विभिन्न २५ वटा काण्डको फाइल अनुसन्धान गर्न शक्तिशाली आयोग गठन गर्ने अघिल्लो सरकारको निर्णयलाई निरन्तरता दिन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “जहाँ जहाँ हामीले भ्रष्टाचारका विषय उठायौँ त्यहाँ त्यहाँ पुरस्कार दिएको देखियो । त्यसैले भ्रष्टाचारका मुद्दामा निष्पक्ष छानबिन हुनेमा हामीलाई आशङ्का छ ।”   
  
सभापति लामिछानेले सदनका दुई ठूला राजनीतिक दलबीचको समीकरणले लोकतन्त्रको मूल्य र मान्यता जोगाउन सक्नुपर्नेतर्फ सचेत गराउनुभयो । उहाँले सदन आरोप प्रत्यारोप र हिलो छ्याप्ने थलो बनेको गुनासो गर्नुभयो । सभापति लामिछानेले उपसभामुख इन्दिरा राना मगरलाई बिनाप्रमाण मानव तस्करको आरोप लगाइएकामा आपत्ति जनाउनुभयो ।   
  
“उपसभामुख इन्दिरा राना मगरलाई एउटा विषय आउने बित्तिकै यो सम्मानित सदनमा मानव तस्करको आरोप लगाउने गरी हामी निर्मम भयौँ”, उहाँले भन्नुभयो, “विरोध गर्नूस, पाइन्छ । विषय उठेको छ तर प्रमाणित भएको छैन ।”   
   
निवर्तमान उपप्रधान एवं गृहमन्त्री लामिछानेले सदनलाई विश्वासको मतको विपक्षमा मतदान गर्ने जानकारी दिँदै सरकारले भ्रष्टाचारको मुद्दामा निष्पक्ष छानबिन गर्नेमा आशङ्का व्यक्त गर्नुभयो । उहाँले रास्वपा सक्षम प्रतिपक्ष बन्ने दाबीसमेत गर्नुभयो ।  

प्रकाशित मितिः आइतबार, ०६ साउन २०८१
https://jawaaf.com/storage/01J3AD6Y5GR3WK7DRJSNETA76D.jpg

नेप्से परिसूचक ६१ अङ्कले बढ्यो

काठमाडौँ, ६ असार I यो साता कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उच्च अङ्कले बढ्दा कारोबार रकम रु १५ अर्ब नाँघेको छ । आज नेप्से परिसूचक ६१ दशमलव ६१ अङ्क अर्थात् दुई दशमलव ५४ प्रतिशतले बढेर दुई हजार चार सय ८५ दशमलव ९४ को विन्दुमा कायम भएको हो ।   
  
आज तीन सय १५ कम्पनीको चार करोड ११ लाख ९५ हजार पाँच सय ३४ कित्ता शेयर एक लाख ७७ हजार चार सय ६७ पटक खरिदबिक्री हुँदा रु १५ अर्ब २३ करोड ८२ लाख ७१ हजार दुई सय ९० बराबरको कारोबार भएको छ । व्यापार समूहको उपसूचकमा सबैभन्दा धेरै छ दशमलव ८० प्रतिशतले बढेको छ । बैंकिङ तीन दशमलव ८६, विकास बैंक एक दशमलव ४१, वित्त एक दशमलव ५१, होटल तथा पर्यटन चार दशमलव २१, जलविद्युत् एक दशमलव ३७ र लगानी समूह दुई दशमलव ६८ प्रतिशतले बढेको छ ।   
  
उत्पादन तथा प्रशोधन दुई दशमलव ९७, लघुवित्त एक दशमलव ६१, म्युचुअल फन्ड एक दशमलव ५२, निर्जीवन बीमा शून्य दशमलव ६५ र अन्य समूह तीन दशमलव ३८ प्रतिशतले बढेको छ । युनाईटेड मोदी हाईड्रोपावर लिमिटेड, समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड र हिमालयन बैंक लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ भने सिक्लेस हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।   
  
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सोल्टी होटल लिमिटेडको रु ३४ करोड १० लाख ९६ हजार तीन सय सात बराबरको कारोबार छ । त्यस्तै कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै कुमारी बैंक लिमिटेडको १४ लाख ९० हजार पाँच सय ५० कित्ता शेयर किनबेच भएको छ ।

प्रकाशित मितिः आइतबार, ०६ साउन २०८१
https://jawaaf.com/storage/01J3ACWE50VTC1FWZG3G6Z9GV9.png

यस्तो छ कांग्रेस र एमालेबीच भएको सहमति

काठमाडौ, ६ साउन I प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच भएको सातबुँदे सहमतिबारे सदनलाई जानकारी गराउनुभएको छ ।   
  
प्रतिनिधिसभाको आजको बैठकमा विश्वासको मत माग्ने क्रममा प्रधानमन्त्री ओलीले गत असार १७ गते कांग्रेस र एमालेबीच भएको सातबुँदे सहमतिबारे सदनलाई जानकारी गराउनुभएको हो । उहाँले सदनलाई जानकारी गराउनुभएको सहमतिका सातवटा बुँदा यसप्रकार रहेका छन् ।   
  
१) आम जनताको चाहनाबमोजिम राष्ट्रिय हितको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्न, राष्ट्रको विकास निर्माण अभियानलाई तीव्रता दिन राजनीतिक स्थिरताका लागि अन्य राजनीतिक दललाई समेत सहभागी गराई संविधानको धारा ७६ (२) अन्तर्गत राष्ट्रिय सहमतिको सरकार निर्माण गरिने छ ।   
  
२) राष्ट्रिय सहमतिको सरकारले संविधान प्रारम्भ भएपश्चात् अभ्यासमा देखापरेका सवल पक्ष र दुर्वल पक्ष तथा जटिलताको समीक्षा गरी राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन र तदनुकूलको कानुन निर्माण गर्ने विषयलाई प्राथमिकता दिने छ ।   
  
३) अर्थतन्त्रमा देखिएको विद्यमान शिथिलतालाई अन्त्य गरी विश्वसनीय व्यावसायिक वातावरण तयार गरी आर्थिक गतिविधिलाई चलायमान बनाउने र आन्तरिक तथा बाह्य लगानीलाई प्रोत्साहन गरी मुलुकभित्र पर्याप्त र मर्यादित रोजगारी सिर्जना गरिने छ ।   
  
४) राष्ट्रिय सहमतिको सरकारको नेतृत्व सरकार गठन भएको मितिले दुई वर्षसम्म नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले तथा त्यसपछि २०८४ मङ्सिरमा हुने आम निर्वाचनसम्म नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गर्ने ।   
  
५) राष्ट्रिय हितको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्न, राष्ट्रको विकास निर्माणको अभियानलाई तीव्रता दिन राष्ट्रिय सहमतिको सरकार सञ्चालनका आधार र न्यूनतम साझा कार्यक्रम तर्जुमा गरी सोही आधारमा सरकार सञ्चालन गरिने छ ।   
  
६) राष्ट्रिय सहमतिको सरकारका लागि दुई प्रमुख राजनीतिक दलको नेतृत्वदायी भूमिका र समानताका आधारमा समान हैसियतमा सरकारमा सहभागिता रहने तथा अन्य राजनीतिक दललाई समेत सरकारमा समावेश गरिने छ ।   
  
७) राष्ट्रिय सहमतिको सरकारको मर्म र भावनाअनुरुप प्रदेश सरकारको गठन तथा सञ्चालन गर्ने र जनभावनाअनुरुप प्रदेश तथा स्थानीय तहमा हुने विकास निर्माणको कामलाई तीव्रता दिइने छ ।  

प्रकाशित मितिः आइतबार, ०६ साउन २०८१
https://jawaaf.com/storage/01J3ACHSD9HFTV08NEX4HX123X.jpg

जुनसुकै कालखण्डको भ्रष्टाचारको छानविन हुन्छ : प्रधानमन्त्री

काठमाडौँ, ६ साउन I प्रधानमन्त्री केपी शर्मा ओलीले जुनसुकै कालखण्डमा भएका भ्रष्टाचार र अनियमितताको छानविन गरी दोषीउपर कारबाही गरिने बताउनुभएको छ ।   
  
प्रतिनिधिसभामा आज विश्वासको मत माग्ने क्रममा प्रधानमन्त्री ओलीले भ्रष्टाचार नगर्ने र नसहने बताउनुभयो । उहाँले सुशासनका पक्षमा आफ्नो नेतृत्वको सरकार दृढताका साथ अगाडि बढ्ने स्पष्ट पार्नुभयो ।   
  
भ्रष्टाचारी एकदिन कानुनको कठघरामा पुग्ने विश्वास समाजमा स्थापित गराइने प्रधानमन्त्री ओलीको भनाइ थियो । सरकारले सहकारी पीडितका सन्दर्भमा उचित निर्णय लिने र सहकारी ठगलाई कानुनको कठघरामा उभ्याएरै छाड्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।  

प्रकाशित मितिः आइतबार, ०६ साउन २०८१
https://jawaaf.com/storage/01J3A6QPGJ9VZ5Z2PP530M123T.jpg

सिमलताल पहिरो : बेपत्ता यात्रुको खोजीमा दुई सय सुरक्षाकर्मी खटिए

काठमाडौँ, ६ साउन I नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोसँगै त्रिशूली नदीमा दुईवटा बस खस्दा बेपत्ता भएका यात्रुहरुको खोजी गर्न दुई सयभन्दा बढी सुरक्षाकर्मी खटिएका छन् । खोजीकार्यमा सुरक्षाकर्मीसँगै चितवन पुगेको भारतीय प्राविधिक टोलीले आज बिहानैदेखि घटनास्थल सिमलतालबाट खोजी थालेको हो ।     
      
चितवनका प्रहरी उपरीक्षक भावेश रिमालले नेपाली सुरक्षाकर्मीसहित भारतीय प्राविधिक टोलीले खोजीकार्य अघि बढाएको जानकारी दिनुभयो । शनिबार आवश्यक उपकरणसहित चितवन पुगेको टोलीले जिल्लास्थित सुरक्षा समितिसँत छलफल गरेको थियो । भारतको ‘राष्ट्रिय आपदा मोचन बल (एनडीआरइफ)’ का १२ जनाको प्राविधिक टोली चितवन आइपुगेको हो ।     
      
“टोलीले ३० मिटर गहिराइसम्मको वस्तु सङ्केत गर्नसक्ने सोनार क्यामेरालगायत प्रविधि प्रयोग गरिरहेको छ”, प्रहरी उपरीक्षक रिमालले भन्नुभयो, “जिल्ला सुरक्षा समितिको बैठकपछि शनिबार नै टोली कुरिनटार पुगेको थियो ।”     
      
गृहमन्त्री रमेश लेखक र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच केही दिनअघि भएको शिष्टाचार भेटमा सिमलताल पहिरोमा परी बेपत्ता भएका यात्रुको खोजी गर्न अत्याधुनिक प्रविधिसहित सहायता उपलब्ध गराउनेबारे छलफल भएको थियो । घटनापछि लगातार सुरक्षा निकाय खोजी कार्यमा जुटेको छ । हालसम्म बेपत्ता २५ जनाको शव भेटिएको छ । सात जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।     
      
प्रहरीका अनुसार खोजीकार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र भारतीय प्राविधिक टोली परिचालन गरिएको छ ।     

प्रकाशित मितिः आइतबार, ०६ साउन २०८१
https://jawaaf.com/storage/01J3A69TW0TTXX2Z6C7MMBV7JT.jpg

बङ्गलादेशबाट काठमाडौँ फर्किए नेपाली विद्यार्थी

काठमाडौँ, ६ साउन I बङ्गलादेशमा जारी रहेको विद्यार्थी आन्दोलनका कारण प्रभावित भएका नेपाली विद्यार्थी काठमाडौँ फर्किन थालेका छन् ।     
     
यसैक्रममा आज ५७ जना नेपाली विद्यार्थी काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । ती विद्याथीहरु बङ्गलादेशको सवार क्षेत्रको इनाम मेडिकल कलेजलगायत स्थानबाट स्वदेश फर्किएका परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत राईले जानकारी दिनुभयो ।     
     
आज केहीबेर अघि यहाँ आइपुगेका ती विद्यार्थीलाई परराष्ट्र मन्त्रालयका अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको थियो । परराष्ट्र मन्त्रालयले स्वदेश फर्कन चाहने विद्यार्थीको सहजीकरण गरिरहेको छ । मन्त्रालयले बङ्गलादेशको राजधानी ढाकास्थित नेपाली दूतावासका अधिकारीहरुलाई नेपाली विद्यार्थीको सुरक्षित वातावरण तथा नेपाल फर्कन चाहनेका लागि आवश्यक समन्वय गर्न निर्देशन दिएको छ ।     
     
परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले बङ्गलादेशमा विकसित पछिल्लो घटनाक्रमका कारण समस्यामा परेका नेपाली विद्यार्थीको सहयोगका लागि मन्त्रालयमा ‘हेल्प डेस्क’ स्थापना गर्न लगाउनाका साथै ढाकास्थित नेपाली दूतावाससँग आवश्यक समन्वय गर्न निर्देशन दिनुभएको छ ।     
     
परराष्ट्रमन्त्री डा राणा आफैँले ढाकास्थित नेपाली राजदूतावाससँग निरन्तर सम्पर्कमा रही त्यहाँ रहेका नेपाली विद्यार्थी एवं अन्य नेपाली नागरिक कुनै समस्यामा परेका भए उनीहरुलाई सहजताका लागि समन्वय गर्न निर्देशन दिनुभयो । साथै नेपाल आउन चाहनेहरुका लागि पनि आवश्यक वातावरण मिलाउन पनि उहाँले निर्देशन दिनुभयो ।     
     
परराष्ट्र मन्त्रालयले शनिबार नै एक सूचना जारी गरी त्यहाँ रहेका विद्यार्थीको सहजताका लागि आवश्यक सम्पर्क व्यक्तिसहित हेल्प डेस्कको व्यवस्था गरिएको जनाएको थियो । मन्त्रालयले समस्यामा परेका विद्यार्थी तथा अभिभावक एवं आफन्तका लागि आवश्यक जानकारी, सहयोग र सहजीकरणका लागि इमेल वा फोन नम्बरमा सम्पर्क गर्न एवं अनलाइन फाराम भर्न अनुरोध गरेको छ ।     
     
यस प्रयोजनका लागि नेपाली राजदूतावास ढाकामा द्वितीय सचिव योजना बम्जन र रिया क्षेत्री तथा सिंहदरबारस्थित मन्त्रालयमा शाखा अधिकृत महेश्वरमणि त्रिपाठीलाई सम्पर्क गर्न अनुरोध गरिएको छ । उता दूतावासले पनि विज्ञप्ति जारी गर्दै अत्यावश्यकबाहेक बाहिर ननिस्कन विद्यार्थीलाई सूचित गर्दै आवश्यक सहयोगका लागि दूतावासमा सम्पर्क गर्न भनिएको छ ।     
     
सरकारी सेवा प्रवेशमा निर्धारित आरक्षणको विरोधमा भएको आन्दोलनका कारण शनिबारसम्म करिब आठ सय नेपाली विद्यार्थी नेपाल आइसकेका मन्त्रालयले हिजो जनाएको थियो । 

प्रकाशित मितिः आइतबार, ०६ साउन २०८१
https://jawaaf.com/storage/01J3A0C00MBA87QJSR5MQKA155.jpg

बोलिभियामा सडक दुर्घटना हुँदा २२ जनाको मृत्यु

लापाज, ६ साउन  I  बोलिभियाको एन्डिज क्षेत्रकोे राजमार्गमा शनिबार ट्रक र बसबीच टक्कर हुँदा २२ जनाको मृत्यु हुनुका साथै १६ जना घाइते भएको प्रहरीले जनाएको छ ।     
     
मृतकमध्ये हालसम्म १४ जनाको मात्र पहिचान भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमध्ये एक जना चिलीका नागरिक रहेको चिलीको विदेश मन्त्रालयले बताएको छ ।     
     
दुवै सवारीका चालकको मृत्यु भएको अधिकारीले बताएका छन् ।     
     
बोलिभियाको पटाकामाया सहर र उत्तरी चिलीको टम्बो क्वेमाडो सहर जोड्ने सडकमा भएको दुर्घटनामा यस वर्षकै सबैभन्दा बढी मानवीय क्षति भएको ट्राफिक अधिकृत निलो टोरिकोले बताउनुभएको छ ।     
     
दुई दक्षिण अमेरिकी देशहरूलाई जोड्ने व्यस्त व्यापारिक र पर्यटन मार्ग हुँदै बस चिलीतर्फ गइरहेको थियो । “प्रारम्भिक अनुसन्धानअनुसार ट्रकले बसलाई गलत लेनबाट ओभरटेक गर्न खोजेको देखाइएको छ,” ट्राफिक अधिकृत टोरिकोले भन्नुभयो ।     
     
“ट्रकले सवारी नियमको उल्लङ्घन गरेको र यो दुर्भाग्यपूर्ण दुर्घटना भएको देखिन्छ,” उहाँले भन्नुभयो ।     
     
उद्धारकर्ताहरुले दुर्घटनाग्रस्त सवारी साधनहरूमा फसेका शवहरू निकाल्ने काम गरिरहेका टोरिकोले जानकारी दिनुभयो ।     
     
बोलिभियामा हरेक वर्ष औसत एक हजार ४०० जनाको सवारी दुर्घटनाबाट मृत्यु हुने गरेको सरकारी तथ्याङ्कले देखाएको छ । बोलिभियामा सडक दुर्घटना मुख्यतया चालकको लापर्बाही र पूराना सडक र गाडीका कारण हुने गरेको देखिन्छ ।     
     
अप्रिल ४ मा दक्षिणपश्चिमी बोलिभियाको व्यस्त सडकमा भएको दुर्घटनामा चौध जनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए। -रासस/एएफपी

प्रकाशित मितिः आइतबार, ०६ साउन २०८१
https://jawaaf.com/storage/01J39V7BF1Z2FBDHMRBMQJDDZR.jpg

पाइप बगेपछि बागलुङ बजारमा खानेपानी अभाव

गलकोट (बागलुङ), ६ साउन I बागलुङ बजारमा खानेपानीको अभाव भएको छ । भूदीखोलाले पानीको पाइप बगाएपछि एक सातादेखि नगरवासी खानेपानीको समस्याबाट पिरोलिएका हुन् ।     
     
बागलुङ नगरपालिकाले काठेखोला गाउँपालिकाको भूदीखोला मुहान, रेशखोला मुहान र रिठेखोला मुहानबाट खानेपानी आपूर्ति गर्दै आएको मुख्य मुहानको पाइप बगाउँदा समस्या भएको हो ।     
     
भूदिखोलाको मुहानको पाइप बगाउँदा खानेपानीको अभाव भइरहेको बताउँदै बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका सचिव जीवन आचार्यले पाइप मर्मत थालिएकाले शीघ्र समस्या समाधान हुने आश्वासन दिनुभयो ।   

प्रकाशित मितिः आइतबार, ०६ साउन २०८१
https://jawaaf.com/storage/01J39V2JYT4M8CB73FM364FPAZ.jpg

श्रमदान गरेर अवरुद्ध सडक सञ्चालन

भोजपुर, ६   साउन I जिल्लाको टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कवासीले श्रमदान गरेर अवरुद्ध सडक सञ्चालन गरेका छन् । वर्षाका कारण पाँचधारे–भोजपुर सडकको केही भाग राउतेखोलाले बगाएपछि श्रमदान गरेर सञ्चालनमा ल्याइएको हो ।     
     
वर्षाले बगेको सडक तीन सातासम्म बन्द रहेकाले स्थानीयवासीको सक्रियतामा मर्मत गरेर सञ्चालनमा ल्याइएको वडाध्यक्ष नवराज माङपाहाङले बताउनुभयो । “ अवरूद्ध सडक मर्मत गरेर सञ्चालनमा ल्याएका छौँ”, उहाँले भन्नुभयो, “सडक मर्मतपछि लामो समयबाट बन्द रहेको सडक सञ्चालन भएको छ । खहरे भएकाले पानी आउनासाथ सडकमा ठूलो क्षति हुन्छ । खोलाको कटानका कारण बर्सेनि ठूलो क्षति हुने भएकाले वैकल्पिक बाटो खोज्न आवश्यक छ ।”     
     
राउतेखोलाको शिरमा रहेको रुपाथुम्की आसपासको अर्को सडक पनि पहिराले बगाउँदा आवतजावतमा समस्या भएको उहाँले जानकारी दिनुभयो । करिब ७० जना स्थानीय भेला भएर तत्कालका लागि राउतेखोलाको अवरुद्ध सडक खुलाएको स्थानीयवासी अमृत लुइँटेलले बताउनुभयो । वडा कार्यालयको अगुवाइमा भइरहेको श्रमदान अभियानमा गाउँले सहभागी भएर सडक मर्मत गरिएको उहाँले बताउनुभयो ।     
     
यो सडक भएर छिमेकी जिल्ला खोटाङका नागरिकसमेत आवतजावत गर्दै आएका छन् । सडक अवरोध बनेपछि भोजपुरको पश्चिमी क्षेत्रका नागरिकसँगै छिमेकी जिल्ला खोटाङका नागरिकलाई आवतजावत दैनिक उपभोग्य वस्तुको ढुवानी समस्या हुने गरेको स्थानीयवासी अंजित गुरुङले बताउनुभयो ।     
     
हामी पश्चिमी क्षेत्रका नागरिकसँगै छिमेकी जिल्ला खोटाङवासीकमा निम्ति पनि महत्त्वपूर्ण सडक हो”, उहाँले भन्नुभयो, “सडक अवरोध हुँदा यहाँको दैनिकी निकै कष्टर हुन्छ । राज्यले यो सडकलाई बिना अवरोध बाह्र महिना सञ्चालनमा ल्याउन पहल गर्न आवश्यक छ ।” स्थानीयको सक्रियतामा मात्र सडक सञ्चालन गर्न निकै कठिन हुने उहाँ बताउनुहुन्छ ।     

प्रकाशित मितिः आइतबार, ०६ साउन २०८१
https://jawaaf.com/storage/01J39TX9QAN6KH3M5NHHTFG2FW.jpg

धर्मिक पर्यटन प्रवर्द्धन गर्न साइकल र्याली

धुलिखेल (काभ्रे), ६  साउन I जिल्लाका धार्मिक एवं ऐतिहासिक स्थलहरुको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले साइकल र्‍यालीको आयोजना गरिएको छ ।     
     
‘पनौती बाईक स्टेसन’को आयोजनामा पनौतीबाट प्रारम्भ भएको ¥याली धुलिखेल–भट्टीडाँडा–काभ्रेभञ्ज्याङ नमोबुद्ध हुँदै पुनःपनौती पुगेर समापन भएको थियो ।     
     
धार्मिक यात्राका लागि साइकलमार्ग तयार पारेर र्‍याली आयोजना भएको स्टेसन प्रमुख विपिन श्रेष्ठले बताउनुभयो । जिल्लाका धार्मिक पर्यटकीयस्थल साइकलबाटै घुम्न सकिने भन्ने सन्देश प्रवाह गर्न र्‍याली आयोजना गरिएको बताउनुभयो ।     
     
जिल्लाको मुख्य धार्मिकस्थलका साथै पनौती, धुलिखेल र नमोबुद्धका पर्यटकीय स्थलको आन्तरिक पर्यटन प्रवद्र्धन गर्न र्यालीबाट सहयोग पुग्ने पनौती नगरपालिका– ५ का वडा अध्यक्ष विनोद खत्रीले बताउनुभयो ।     
     
 पनौती नगरपालिका प्रमुख रामशरण भण्डारी र उपप्रमुख गीता बञ्जाराले र्यालीको शनिबार शुभारम्भ गर्नुभएको हो । र्‍यालीमा दुई सय जना सहभागी थिए ।    

प्रकाशित मितिः आइतबार, ०६ साउन २०८१