शनिबार, १३ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01J39TD5Y5DPKM4GVE50GYMEJT.jpg

सिमलताल पहिरोः बेपत्ता बस र यात्रीको खोजीमा जुट्यो भारतीय टोली

चितवन, ६ साउन I नारागणगढ–मुग्लिन सडकको सिमलतामा पहिरोले त्रिशूलीमा बगाएका दुईवटा बस र तिनमा सवार यात्रीको खोजीमा भारतीय टोली जुटेको छ । 

भारतको नेशनल डिजास्टर रेस्पोन्स फोर्स (एनडिआरएफ)को १२ सदस्यीय टोली आज बिहानदेखि खोजतलासमा जुटेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले  बताउनुभयो ।  

असार २८ गते शुक्रबार वीरगञ्जबाट काठमाडौँतर्फ गइरहेएको बागमती प्रदेश०३–००६ख १५१६ नम्बरको बस र काठमाडौँबाट गौरतर्फ गइरहेको बागमती प्रदेश०३–२४९५ख ००१ नम्बरको बस सिमलताल पहिरोमा बगेका थिए ।

बसमा सवार ६५ जनामध्ये तीनजना बाँच्न सफल  भएका थिएभने ६२ जना बेपत्ता भएका थिए । आजसम्म २५ जनाको शव विभिन्न क्षेत्रमा फेला पारिएको छ भने १७ जनाको सनाखत भएको छ । अझै ३७ यात्री र दुईवटै बसको अवस्था  अज्ञात छ । मुलुकमा अत्याधुनिक उपकरणसहितका जनशक्ति नहुँदा सरकारको अनुरोधमा भारतबाट उक्त टोली आएको हो । 

प्रकाशित मितिः आइतबार, ०६ साउन २०८१
https://jawaaf.com/storage/01J39QWHZMPM570T8ERRY8GEH5.jpg

उदयपुरको त्रियुगा क्षेत्रमा भाइरल ज्वरोका बिरामी बढे

उदयपुर (गाईघाट) ६ साउन I जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा भाइरल ज्वरोको बिरामी बढेका छन् । बिरामीको सङ्ख्या बढैसँगै जिल्ला अस्पतालमा शय्या अभाव भएको छ । 

अस्पताल प्रशासनका अनुसार पचास शय्या क्षमताको अस्पतालमा दैनिक तीन सय जना भाइरल ज्बरोका बिरामी आउने गरेका छन् । 

पर्याप्त शय्या अभावमा उपचार गर्न कठिन भएको अस्पतालका सूचना अधिकारी रमेश श्रेष्ठले राससलाई बताउनुभयो । “बिरामीलाई भूमिमा राखेर सेवा गर्नुपरेको छ, अन्य रोग लागेका बिरामीलाई बेड छैन । भाइरल ज्वरोका बिरामीको चाप अनपेक्षित रूपमा बढेको छ ” उहाँले भन्नुभयो । 
             
त्रियुगा नगरपालिका क्षेत्रको गाइघाट,पुरानो गाइघाट,असारी,मोतिगडा,देउरी,बगाहा,जलजले,राजाबास,चुहाडे, लक्ष्मीपुर,पोर्ताह,खैराहा झोडा,बिषणपुर,खैजनपुर,मोथ्याई, र जोगिदह क्षेत्रमा अहिले ब्यापक भाइरलको प्रकोप फैलिदै गएसंगै प्रत्यक घरमा एक,दुई देखि सम्पूर्ण परिवारहरुसमेत भाइरलबाट प्रभावित भइरहेका छन्  ।

त्रियुगा क्षेत्रमा भाइरलको प्रकोप बढेसंगै जिल्ला अस्पतालमा पनि बिरामीको चाप ह्वात्तै बढेको जिल्ला अस्पताल उदयपुरले बताएको छ ।

प्रकाशित मितिः आइतबार, ०६ साउन २०८१
https://jawaaf.com/storage/01J39MNGNA4571PC43Q2WX7BW0.jpg

एसिया कप क्रिकेटः नेपाल र पाकिस्तान भिड्ने

काठमाडौँ ६ साउन I एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज  नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ ।

श्रीलङ्काको  दम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने उक्त खेल  नेपाली समयानुसार बेलुका ७ः१५ बजे सुरु हुनेछ । प्रतियोगितामा लगातर दोस्रो जित निकाल्दै सेमिफाइनलमा पुग्ने लक्ष्यका साथ नेपाल मैदानमा उत्रनेछ ।

प्रतियोगिताको पहिलो खेलमा नेपालले युएईलाई छ विकेटले पराजित गरेको थियो । पाकिस्तान पनि पहिलो जित निकाल्ने उद्देश्यका साथ खेल्नेछ । यसअघि भएको पहिलो खेलमा पाकिस्तान भारतसँग सात विकेटले पराजित भएको थियो ।

सन् २०१६ मा भएको एसिया कपमा यी दुई टोलीको भेट भएको थियो । पाकिस्तानले नेपाललाई नौ विकेटले पराजित गरेको थियो । 

प्रकाशित मितिः आइतबार, ०६ साउन २०८१
https://jawaaf.com/storage/01J39F1NJRSAWE232RZCACWPTX.jpg

आज विश्वासको मत लिँदै प्रधानमन्त्री ओली

काठमाडौँ, ६ साउन I प्रधानमन्त्री केपी ओली आज प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै हुनुहुन्छ । प्रधानमन्त्री ओलीले आज अपराह्न १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने संसद्को कार्यसूची छ ।   
  
दुई वा दुई भन्दा बढी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार प्रधानमन्त्रीले विश्वासको मत लिन लाग्नुभएको हो ।   
  
यसैबीच, नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले विश्वासको मतको पक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई निर्देशन (ह्विप) जारी गरेको छ । पार्टीले प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका राजनीतिक दलदेखि स्वतन्त्र सांसदहरुलाई पनि पार्टी अध्यक्ष एवं प्रधानमन्त्रीलाई विश्वासको मत दिन आग्रह गरेको छ ।   
  
सत्ता साझेदार अर्को ठूलो राजनीतिक दल नेपाली कांग्रेसको आज बस्ने संसदीय दलको बैठकले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने निर्णय गर्दै पार्टीका सबै सांसद्लाई ह्विप जारी गर्ने दलका एक नेताले राससलाई जानकारी दिनुभयो ।   
  
दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि एक सय ३८ मत आवश्यक पर्दछ ।  

प्रकाशित मितिः आइतबार, ०६ साउन २०८१
https://jawaaf.com/storage/01J38BKNES94TPA5KC7DZSXMMB.jpg

कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा घिमिरे

काठमाडौँ, ५ साउन I नेपाली कांग्रेसको संसदीय दलको प्रमुख सचेतकमा श्यामकुमार घिमिरे मनोनित हुनुभएको छ ।

कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले घिमिरेलाई आज प्रमुख सचेतकमा मनोनित गर्नुभएको हो । पार्टीका प्रमुख सचेतक रमेश लेखक गृहमन्त्री भएसँगै घिमिरेले प्रमुख सचेतकको जिम्मेवारी पाउनुभएको हो ।

कांग्रेस केन्द्रीय सदस्यसमेत रहनुभएका घिमिरे गत निर्वाचनमा सिन्धुली क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

संसदीय दलका नेता देउवाले नेपाली कांग्रेसको संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४) को धारा १३ को उपधारा १ बमोजिम मनोनयन गर्नुभएको कांग्रेस संसदीय दलका निजी सचिव केशवराज जोशीले जानकारी दिनुभयो ।

प्रकाशित मितिः शनिबार, ०५ साउन २०८१
https://jawaaf.com/storage/01J38B799FVK2527RPZ8EE2DBZ.jpg

दाङमा जिप दुर्घटना हुँदा १० जना घाइते

तुलसीपुर, ५ साउन I दाङको दङ्गीशरण–७ बोगटी नजिकै जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् । 

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार आज दाङको तुलसीपुरबाट सल्यानको कालीमाटी जाँदै गरेको लु१ज १३८३ नंको जिप दुर्घटना हुँदा चालक सल्यान कालीमाटी गाउँपालिका–२ का ४१ वर्षीय खिमबहादुर बोपाल मगर, जिपमा सवार कालीमाटी–३ का १६ वर्षीय किरण बोहरा, सोही ठाउँका १४ वर्षीय विपिन केसी, १० वर्षीया आरती थापा, ३० वर्षीय गणेश केसी, ५० वर्षीया धनसरी खत्री, १५ वर्षीया  करिष्मा खत्री घाइते भएका छन् । 

दुर्घटनामा कालीमाटी–२ का ५४ वर्षीय हुकुमराज पुन, सोही ठाउँका ४९ वर्षीय भानुभक्त वली र बर्दियाको बासगडी नगरपालिका–४ की ३८ वर्षीया सङ्गीता राणासमेत घाइते भएका छन् । घाइतेहरूको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।
 
अटोलाई जोगाउन खोज्दा जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः शनिबार, ०५ साउन २०८१
https://jawaaf.com/storage/01J385SEY10Q9A9778DV69RN5Q.jpg

सुनुवारको ‘युद्धभूमिमा डामिएको मन’ लोकार्पित

काठमाडौँ, ५ साउन I लेखक तारादेवी सुनुवारको अनुभूति–निबन्ध सङ्ग्रह ‘युद्धभूमिमा डामिएको मन’ लोकार्पण गरिएको छ ।   
  
नियात्राकार प्रतीक ढकाल, साहित्यकार मोमिला, कवि डा नवराज लम्साल र समालोचक डा अशोक थापालगायतले आज यहाँ आयोजित समारोहमा उक्त कृति लोकार्पण गर्नुभयो ।   
  
मुलुकमा सशस्त्र युद्धपछि कल्पना गरिएको रोल्पा जिल्लामा जति रुपान्तरण हुनुपर्ने थियो त्यति नभएको बरु युद्धको स्मृति दिलाउने रोग, भोक, गरिबी र समस्याबाट अझ ग्रसित भएको विम्ब पुस्तकमा समेटिएको छ । लेखकले रोल्पाबाटै किन माओवादीले दशवर्षे जनयुद्धको जग बसालेको होला भन्ने प्रश्न गर्दै अहिले युद्ध बैठान भइसक्दा समेत के साँच्चै रोल्पाली जनता खुसी छन् त भनी प्रतिप्रश्न गर्नुभएको छ ।   
  
रोल्पालाई फन्को मार्दा लेखकले समुदायमा देखेको, भोगेको, सुनेको विषयवस्तु समेटिएको कृतिमा त्यहाँका महिलालाई युद्धले गराएको परिवर्तन, चेतनाको स्तरसमेत वर्णन गरिएको छ ।   
  
त्यस कृतिमा एउटै जिल्लामा एक हजार चार सयभन्दा बढी नागरिक बेपत्ता भएको, द्वन्द्वका नाममा नौ सय ४६ जना मारिएका, ३३ जना बेपत्ता भएका, दुई सय एकजना अपहरणमा परेको तीन सय २३ महिलाको सिउँदो पुछिएको मार्मिक विषय र तथ्य–तथ्याङ्क प्रस्तुत छ ।   
  
धेरैजना अपाङ्ग भई वैशाखी र ह्वील चियरको सहायतमा जीवन बिताउनुपरेको तथा एक सय ८० जना बालबालिकाले बाबुआमा दुवै गुमाएर अभिभावकविहीन बन्नुपरेको तथा घरपरिवार नै छाड्न बाध्य भएका घटनासम्बन्धी विषयवस्तु समावेश छ ।   
  
सङ्ग्रहमा शिक्षा, स्वास्थ्य तथा भैतिक पूर्वाधारको क्षेत्रमा समेत ठूलो नोक्सानी भएको विगतको सशस्त्र द्वन्द्वको फाइदा टाठाबाठाले लिन सफल भए पनि गरिब र निमुखा भने अहिले पनि मारमै रहेको घटना उल्लेख छ । द्वन्द्वको चुरो कुरोदेखि त्यो इतिहास र यो जनयुद्ध, सबैले पाएको कष्ठ उस्तै, विवाहको महत्त्व थाहै नपाई विधवा भइयो, सहिदमार्गको नालीबेली, केही नयाँ छैन भन्नेलगायतका शीर्षकमा विविध विषय समेटिएको छ ।   
  
सङ्ग्रहका लेखक सुनुवारले रोल्पामा महिला, बालबालिकाले युद्धमा के भोगे र अहिले के भयो भन्ने विषयवस्तुको सेरोफेरोमा रही कृति लेखिएको जानकारी दिनुभयो ।  

प्रकाशित मितिः शनिबार, ०५ साउन २०८१
https://jawaaf.com/storage/01J37WT1E0KMQ5JC5JH4DD0P0J.jpg

‘बाबुराम : अ भिजनरी रिबेल’ पुस्तक सार्वजनिक

काठमाडौँ, ५ साउन I  नेपालको राजनीतिक इतिहासमा पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईको भूमिका समेटिएको ‘बाबुराम : अ भिजनरी रिबेल’ पुस्तक सार्वजनिक गरिएको छ । 

‘द राइजिङ नेपाल’का पूर्वसम्पादक डा मुक्ति रिजालले लेख्नुभएको उक्त पुस्तकको आज पूर्वप्रधानमन्त्री भट्टराई, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसाल र राष्ट्रिय स्वतन्त्र पार्टीका नेत्री सुमना श्रेष्ठले संयुक्त रुपमा विमोचन गर्नुभयो । 

पुस्तकमा माओवादी आन्दोलनमा डा भट्टराईको भूमिका, माओवादी छाडेपछिको अवस्था र वैकल्पिक शक्ति निर्माणको अभियानसम्मका गतिविधि विभिन्न १७ वटा आलेखमा समेटिएका छन् । 

सो अवसरमा डा भट्टराईले आफू फरक पृष्ठभूमिबाट आएको भए पनि सोच, विचार र शैलीले नयाँ रहेकाले पुरानाको कार्यशैलीको सम्मान गर्दै नयाँमा टेकेर राजनीतिक दल अगाडि बढ्नुपर्ने बताउनुभयो । 

“म माओवादीबाट एक्लै निस्किएको हो । वैकल्पिक शक्ति निर्माण गर्ने सकारात्मक सोचका साथ अघि बढेको हो”, अध्यक्ष डा भट्टराई भन्नुभयो, “मैले कसैलाई छाडेको पनि होइन, गाली गरेको पनि होइन ।” वैकल्पिक पार्टी बन्न वैकल्पिक सोच र कार्यक्रम आवश्यक पर्नेमा उहाँले जोड दिनुभयो ।  

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले मुलुकमा दुई ठूला दल सरकार सञ्चालनमा केन्द्रित हुँदा प्रतिपक्षमा रहेका दलहरुले आफ्नो भूमिकालाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । वर्तमान सरकारलाई गलत बाटोमा हिँड्ने छुट नभएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “सरकारले गलत काम गरेमा कांग्रेस मौन बस्दैन ।”

एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले तत्कालीन माओवादी जनयुद्धको परिकल्पनाकारका रूपमा रहनुभएको बताउँदै उहाँद्वारा उठाइएका मुद्दालाई सिद्धान्तको उचाइबाट हेर्न र विश्लेषण गर्न सक्ने क्षमता नेता भट्टराईसँग भएको बताउनुभयो ।

नेपालका राजनीतिक दल इमान्दार हुने हो भने मुलुकलाई समृद्ध बनाउन सकिने उल्लेख गर्दै संसद्का दुई ठूला दल सम्मिलित सरकारले जनताका समस्या समाधान गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । 

“राज्य स्रोतको दोहन नगर्ने र दलाल पुँजीवादबाट मुक्त पार्टी बनाऔँ,” महासचिव भुसालले भन्नुभयो, “त्यस्तो पार्टीले मात्र समाजवादको यात्रा अघि बढाउन सक्छ ।” राष्ट्रिय स्वतन्त्र पार्टीका नेत्री श्रेष्ठले आफ्नो पार्टी नयाँ सोचका साथ अघि बढ्ने बताउनुभयो । 

अङ्ग्रेजी भाषमा लेखिएको सो पुस्तक एक सय २५ पृष्ठको छ । उक्त पुस्तकको मूल्य रु तीन सय ५५ तोकिएको छ । 

प्रकाशित मितिः शनिबार, ०५ साउन २०८१
https://jawaaf.com/storage/01J37MAMRZ6VQNB14H0WNSBGXD.png

छैनन् मैथली भाषाका स्वदेशी चलचित्र

काठमाडौँ, ५ साउन I नेपालमा नेपालीसँगै अन्य भाषामा पनि चलचित्र बन्ने गरेका छन् । ती चलचित्र कम सङ्ख्यामा निर्माण हुनुका साथै निश्चित भेगमा मात्र सीमित छन् । उनीहरू आफ्नो भाषाको बाहुल्यता भएका दर्शक माँझ मात्र प्रदर्शन भइरहेका छन् । यद्यपि तराई क्षेत्रमा बोलिने मैथली भाषालाई लक्षित गर्दै चलचित्र निर्माण रोकिएको झैँ छ ।   
  
तराईमा चलचित्र भवनको सङ्ख्या राम्रो भए पनि हिन्दी र भोजपुरी भाषामा तयार भएका चलचित्रको दबदबा छ । तराईमा बोलिने मैथली भाषामा चलचित्र निर्माण नभएपछि ती चलचित्र भवनमा फाट्टफुट्ट नेपाली भाषाका चलचित्र प्रदर्शन हुन्छन् । मैथली भाषामा बन्ने चलचित्र, लघुचलचित्रको सङ्ख्या निक कम छ ।   
  
मिथिला संस्कृति र मैथली भाषालाई प्रवर्द्धन गर्ने उद्देश्यले केही समय अगाडि जनकपुरधाममा पहिलोपटक दुई दिने ‘मैथली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ आयोजना गरिएको थियो । उक्त महोत्सवमा नेपालसँगै भारतमा रहेर मैथली भाषाका चलचित्र, लघुचलचित्र र वृतचित्र निर्माण गरिरहेका व्यक्तिहरू उपस्थित थिए । त्यहाँ प्रदर्शन भएका चलचित्रमा नेपालबाट बनेको कुनै मैथली भाषाको चलचित्र थिएन । स्वदेशी मैथली भाषाको चलचित्र नहुनु दुःखद् रहेको निर्देशक तथा कलाकार रमेश रञ्जन झाले बताउनुभयो ।   
  
“छोटा चलचित्र बनेका छन्, तर ठूला चलचित्र नबन्दा यहाँका जनशक्ति बाहिरका उद्योगमा गएर काम गरिरहेका छन्, तर हामी आशावादी छौँ, किनकि अब नयाँपुस्ताले नवीतम सोच र कथा ल्याउने छन्, वीरगञ्जदेखि जनकपुर हुँदै तयारको बजारलाई लक्षित गर्दै कसैले त अवश्य प्रयास गर्नेछन्”, झाले भन्नुभयो ।   
  
उहाँ निर्माता तथा निर्देशकलाई प्रोत्साहन गर्न ‘मैथली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ हरेक वर्ष आयोजना गर्ने तयारीमा हुनुहुन्छ । उहाँका अनुसार अहिले निर्माण हुने ससाना चलचित्र रहरिया (रहर गर्ने) ले तयार गरेका छन् । अभिनेता तथा निर्देशक नीर शाहले चलचित्रकर्मी अन्तर सांस्कृतिक हुन नसकेका कारण त्यसको प्रभाव चलचित्रमा परेको विश्लेषण गर्नुभयो । उहाँले विविधतायुक्त देशको संस्कृतिले एकअर्कालाई एकताको सूत्रमा आबद्ध गरेको बताउनुभयो ।   
  
“अहिले विदेशी चलचित्रकर्मीसँग लगानीको अभाव छैन । धेरै ठूला बजेटमा चलचित्र बनेको खबर सुन्ने गरिन्छ, तर त्यसमा विषयवस्तुको अभाव देखिन्छ, त्यसकारण हामीले हाम्रो कथालाई हाम्रो भाषा र शैलीमा चलचित्रमा प्रस्तुत गर्न ढिलो गर्न हुँदैन, यसमा सम्बन्धित निकायको सहयोग र सहभागिता पनि जरुरी छ, नत्र हाम्रो कथालाई विदेशीले विदेशी भाषामा तयार गर्नेछन् र हामी हेर्न बाध्य हुनेछौँ, यो अवस्था नआउला भन्न सकिन्न्”, अभिनेता शाहले भन्नुभयो ।   
  
‘सस्ता जिन्दगी महङ्ग सिन्दुर’,‘गामक घर’, ‘ललका पाग’ जस्ता मैथली भाषामा बनेको चलचित्र नै अहिले पनि तराईमा स्मरण गरिन्छ । त्यसलाई भारतीय कम्पनीले निर्माण गरेको हो । पछिल्लो समय डिजिटल प्लेटफर्ममा केही चलचित्र उपलब्ध छन् । यद्यपि जनकपुर लगायतका तराईमा चलचित्र भवनमै प्रदर्शन गरिने चलचित्र लगभग छैन ।   
  
मैथली चलचित्रमा नयाँ पुस्ताले नवीतम सोच र कथा ल्याएको निर्देशक पुर्णेन्दु के झाको बुझाइ छ । विदेशमा मैथली भाषामा बनिरहेका चलचित्र हेर्नुका साथै ती चलचित्रकर्मीसँग संवाद गरेर उहाँ आफैँ पनि नयाँ चलचित्रको तयारीमा हुनुहुन्छ । उहाँ ‘लेवर’ नामक चलचित्र मैथली भाषामा तयार गरेर नेपाली र भोजपुरीमा स्वराङ्कन गराउने तयारीमा हुनुहुन्छ । यसले नेपालमै छरिएको बजारमा एउटै चलचित्रमार्फत पुग्न सकिने उहाँको बुझाइ छ ।   
  
“लगानीकर्ताले सुनिश्चित्ता चाहेका छन्, यहाँ उत्पादन भएका जनशक्ति बाहिरका चलचित्र उद्योगमा काम गरिरहेका छन्, हामीले गर्ने महोत्सवलगायत गतिविधिले मैथली चलचित्रकर्मीलाई जोड्ने काम गरिरहेका छौँ, यसले आगामी दिनमा संयुक्त रुपमा चलचित्र निर्माण गर्न प्रेरणा दिन्छ, आउँदो समय विस्तारै राम्रो हुन्छ भन्नेमा पूर्ण आशावादी छु”, निर्देशक झाले भन्नुभयो ।   
  
तराईमा विशेषत कोशी र मधेस प्रदेशमा मैथिली चलचित्रको राम्रो बजार बन्न सक्ने जानकारहरुको बुझाइ छ । किनकि त्यहाँ ‘सस्ता जिन्दगी महङ्ग सिन्दुर’ चलचित्रले गरेको व्यापारको चर्चा आज पनि हुन्छ । पछिल्लो समय चलचित्रसँगै गीतसङ्गीत, छोटा चलचित्रस्तरीय नबन्दा दर्शकले चासो देखाएका छैनन् । यसले गर्दा पनि मैथली भाषामा चलचित्र नबनेको धेरै समय भइसकेको छ ।  

प्रकाशित मितिः शनिबार, ०५ साउन २०८१
https://jawaaf.com/storage/01J37N77VJG525RSRKV0PAN3D5.jpg

धरानमा ‘कोरा राइड साइक्लिङ च्यालेन्ज’ सम्पन्न

धरान(सुनसरी), ५ साउन I प्लाडलर्स धरानको आयोजना तथा रोटरी क्लब अफ घोपाको संयोजनमा आज ‘कोरा राइड साइक्किङ च्यालेन्ज’ आयोजना सम्पन्न भएको छ । 

पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथै स्वास्थ्यका लागि साइकल लाभदायक भएको भन्दै स्वच्छ वातावरणसँगै धार्मिक तथा पर्यटकीयस्थलको प्रचारप्रसार गर्नका लागि ‘कोरा राइड साइक्लिङ च्यालेन्ज’ इभेन्ट धरानमा आयोजना गरिएको रोटरी क्लब अफ धरान घोपाका अध्यक्ष गौरवमान श्रेष्ठले बताउनुभयो । 

आज बिहान ७ बजे भानुचोकबाट सुरु भएको राइड पुतलीलाइन, दुर्गा चोक, मगलबारे, जानकी चोक, फुस्रे, अमरहाट, बिजयपुरको दन्तकाली मन्दिर, बुढासुब्बा मन्दिर, देउराली, धरान उपमहानगरपालिका–६ पानबारी हुँदै सबै मठमन्दिर पुगेर धरान–१९ स्थित हरियाली सामुदायिक वनमा पुगेर सम्पन्न भएको थियो । 

करिब २९ किलोमिटर दुरीमा भएको राइडमा दुई सय राइडर्सहरुले सहभागिता जनाएको प्याडलर्सका संयोजक किसन मास्केले बताउनुभयो । सहभागी भएका राइडर्सहरुबाट प्रतिव्यक्ति रु दुई सय लिइएको थियो । प्याडलर्स समाजसेवालाई प्राथमिकतामा राखी लिएको शुल्कबाट कोषको स्थापना गर्दै सामाजिक कार्यमा सहयोग पु¥याउँदै आएको छ । त्यसमा गतवर्ष आयोजना गरिएको कोरा राइडबाट उठेको रकलेम धरान १४ मा रहेको आधारभूत स्वास्थ्य केन्द्रलाई चाहिने आवश्यक सामग्रीसँगै विद्यालयलाई शैक्षिक सामग्री प्रदान गरेको छ । 

कोरा राइडमा सुनसरीसहित झापा, मोरङका साइक्लिष्टहरु सहभागी भएका थिए । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले कोरा राइड प्रत्येक वर्ष जुलाइमा हुँदै आएको संयोजक किसान मास्केले बताउनुभयो । धरानमा सन् २०१७ देखि नियमित आयोजना हुँदै आएको उहाँले बताउनुभयो । 

प्रकाशित मितिः शनिबार, ०५ साउन २०८१