तोलामा रु तीन सयले घट्यो सुनको मूल्य
काठमाडौँ, ३ साउन I स्थानीय बजारमा सुनको मूल्य आज तोलामा रु तीन सयले घटेको छ । बुधबार प्रतितोला रु एक लाख ४९ हजार आठ सयमा कारोबार भएको छापावाला सुन आज रु एक लाख ४९ हजार पाँच सय निर्धारण भएको छ । बुधबार सनुको मूल्यले नयाँ कीर्तिमान कायम गरेको थियो ।
बुधबार प्रतितोला रु एक लाख ४९ हजार एक सयमा कारोबार भएको तेजाबी सुन आजका लागि भने रु एक लाख ४८ हजार आठ सय निर्धारण भएको छ । त्यस्तै चाँदीको मूल्य तोलामा रु ३५ ले घटेको छ । बुधबार प्रतितोला रु एक हजार आठ सय ९५ मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार आठ सय ६० निर्धारण भएको छ ।
गोरखा–आरुघाट सडक अवरुद्ध
गोरखा, ३ साउनः गोरखाको बेनिघाट–आरुघाट सडखण्डअन्तर्गत पर्ने ज्यादुल खोलामा रहेको डाइभर्सन पुलमा बाढीले क्षति पुर्याएपछि सडक अवरुद्ध भएको छ ।
भीमसेन थापा गाउँपालिका–७ र सहिद लखन गाउँपालिका–९ जोड्ने ज्यादुल खोला डाइभर्सन पुल बगाएपछि सो सडकखण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको भीमसेन थापा गाउँपालिका–७ का वडाध्यक्ष नारायण श्रेष्ठले जानकारी दिनुभयो ।
गत वर्ष निर्माण भएको डाइभर्सन पुल एक वर्ष पूरा नहुँदै बाढीले क्षति पुर्याएको हो । भीषण बाढीले पुलको दायाँबायाँ रहेको ‘ग्याविन वाल’ पनि बगाएको छ । पुल भत्किएपछि बेनिघाट–आरुघाट सडकखण्डमा यातायात पूर्ण रूपमा ठप्प भएको छ ।
“सडक अवरुद्ध हुँदा काठमाडौँबाट बेनिघाट, आरुघाट हुँदै आर्खेतसम्म नियमित सञ्चालन हुने सवारीसाधान चल्न सकेका छैनन्, वडाधयक्ष श्रेष्ठले भन्नुभयो, “सिमलटार, पिपलटार महादेवटारलगायत तल्लो क्षेत्र हुँदै गोरखा सदरमुकामसम्म आवतजावत गर्न गर्न असहज भएको छ ।”
प्राकृतिक विपत्तिबाट कोशी प्रदेशमा ७७ जनाको मृत्यु
बेलबारी (मोरङ), ३ साउन I प्राकृतिक विपत्तिबाट कोशी प्रदेशमा गत आर्थिक वर्षमा ७७ जनाको मृत्यु भएको छ । कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार बाढीबाट मृत्यु हुनेको सङ्ख्या सबैभन्दा बढी छ ।
प्रदेशका विभिन्न एक सय १७ स्थानमा बाढीमा परी २२ जनाको निधन भएको छ भने २४ जना व्यक्ति घाइते भएका कोशी प्रदेश प्रहरी प्रवक्ता भीमबहादुर दाहालले जानकारी दिनुभयो । यसैगरी प्रदेशका विभिन्न एक हजार सात सय ३१ स्थानमा भएका आगलागीका घटनामा २० जनाले ज्यान गुमाएका र एक सय ३४ जना घाइते हुनुभएका छन् ।
प्रवक्ता दाहालका अनुसार जङ्गली जनावरको आक्रमणबाट १३ जनाको मृत्यु भएको तथा ५७ जना घाइते भएका, चट्याङ लागेर १३ जनाले ज्यान गुमाएका तथा ३६ जना घाइते भएका , चार सय ९६ स्थानमा पहिरो खस्दा नौजना पुरिएका र २० जना घाइते भएका छन् । एक वर्षमा प्रदेशभर सात हजार नौ सय आठवटा चौपाया मरेका घटना अभिलेखीकरण भएका छन् ।
व्यावसायिक बङ्गुरपालनबाट आकर्षक आम्दानी गर्दै सुगम
भोजपुर, ३ साउन I यहाँका केही युवाले व्यावसायिक रूपमा पशुपालन गरेर लोभलाग्दो आम्दानी गर्दै आएका छन् । पौवादुङमा गाउँपालिका–६ ठुलोदुम्मा छिदुवाका २७ वर्षीय युवा सुगम राई ती युवामध्येका एक हुनुहुन्छ । उहाँ व्यावसायिक बङ्गुरपालन र फलफूलखेतीमा जुट्नुभएको छ ।
उद्यमी राईले सेन्मायुङ कृषि तथा पशुपालन फार्म दर्ता गरेर व्यावसायिक बङ्गुरपालन, कागती, एभोकाडो, आँप, अनार, लिचीलगायत खेती गर्दै आउनुभएको छ ।
बङ्गुर फार्मबाट उत्पादन हुने मलको सदुपयोग गर्ने लक्ष्यले बङ्गुरपालनसँगै फलफूलखेती गरिरहेको उहाँले बताउनुभयो । व्यवसायी राईको फार्ममा अहिले ४१ वटा बङ्गुर छन् ।
भविष्यमा बङ्गुरपालन तथा फलफूलखेतीबाट वार्षिक रु ५० देखि ६० लाखसम्म कारोबार गर्ने लक्ष्यका साथ थप विस्तारमा जुटेको उहाँले बताउनुभयो । विदेशमा सात वर्ष बिताउनुभएका राईले त्यहाँ सिकेको सीपलाई सदुपयोग गर्दै व्यावसायिक कृषिमा जुटेको बताउनुभयो । “वार्षिक रु १२ देखि १५ लाखसम्म कारोबार हुन्छ । त्यसबाट खर्च कटाउँदा वार्षिक रु आठदेखि १० लाखसम्म आम्दानी हुन्छ ।”
स्वदेशमा व्यावसायिक रूपमा काम गर्नसके अर्काको देशमा गएर पसिना बगाउनु नपर्ने उहाँ बताउनुहुन्छ । आफ्नो फार्ममा उत्पादन भएका बङ्गुर खरिद गर्न ठेकेदार घरमा आउने उहाँले बताउनुभयो । फार्ममा स्थानीय जातसँगै उन्नत जातका हेमसार, धराने कालो बङ्गुरलगायत पालन गरिरहेको उहाँले बताउनुभयो । फार्ममा एक सय २० केजीदेखि एक सय ५० केजीसम्मको बङ्गुर छन् । “बङ्गुर बिक्रीको कुनै समस्या छैन”, उहाँले भन्नुभयो, “ धरान, विराटनगरबाट ठेकेदार नै आउँछन् । मागलाई धान्न धौ धौ छ । यो व्यवसायलाई अझ विस्तार गर्ने लक्ष्यका साथ काम गरिरहेको छु ।”
कृषि कर्ममा मेहनत गरेर लाग्न सके जीवन गुजारा गर्न समस्या नरहेको व्यवसायी राईले बताउनुभयो । उहाँलाई व्यवसायमा घरपरिवारले सहयोग गर्दै आएका छन् । व्यावसायिक कृषि कर्ममा लाग्ने किसानलाई राज्यले पनि आवश्यक सहयोग गर्नुपर्ने उहाँको धारणा छ । बङ्गुरपालन, फलफूल तथा तरकारीखेतीमा आफूले जानेको सीप अन्य किसानलाई सिकाउँदै आएको व्यवसायी राई बताउनुहुन्छ ।
भदौ ३ गतेदेखि ताप्लेजुङ गोल्डकप
फुङ्लिङ (ताप्लेजुङ), ३ साउन I जिल्लाकै ठूलो खेलकुद प्रतियोगिता ताप्लेजुङ गोल्डकप आगामी भदौ ३ गतेदेखि हुने भएको छ । लाखेजात्रा सञ्चालन समितिको आयोजना हुने उक्त प्रतियोगितामा देशका ‘ए’ डिभिजन क्लबलाई आमन्त्रण गर्ने निर्णय भएको समितिका अध्यक्ष देवराज गुरुङले बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभएको हो । प्रतियोगितामा प्रथम हुने टोलीले रु तीन लाख ११ हजार एक सय ११ र उपविजेताले रु एक लाख ११ हजार एक सय ११ प्रदान गरिने छ ।
मनसुनजन्य विपद्बाट एक सय ६३ राष्ट्रिय राजमार्ग प्रभावित
काठमाडौँ, २ साउन I बाढीपहिरो जस्ता मनसुनजन्य विपद्का कारण गएको २४ घण्टामा एक सय ६३ राष्ट्रिय राजमार्गमा प्रभाव परेको छ ।
सडक विभागको तथ्याङ्कअनुसार विपद्का कारण मुलुकभर १६ वटा राजमार्ग पूर्णरुपमा अवरुद्ध भएका छन् भने एक सय ४७ राष्ट्रिय राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा आएका छन् । यस्तै राष्ट्रिय राजमार्गमा पर्ने छवटा पक्की पुलमा अवरोध भई आवतजावतमा बाधा पुगेको छ ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाकानुसार आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आगामी शुक्रबारसम्म मुलुकका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै माहाशाखाले सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।
चर्च बोइज युनाइटेड क्लब विजयी
काठमाडौँ, २ साउन I राजधानीमा जारी एन्फा यु–१८ युथ लिग फुटबल प्रतियोगितामा चर्च बोइज युनाइटेड क्लबले पहिलो जित हासिल गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा चर्च बोइज थ्री स्टार क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो ।
चर्च बोइजको जितमा अमनबहादुर तामाङले गरेको एक गोल नै निर्णायक बन्यो । उनले खेलको ४५औँ मिनेटमा गोल गरेका हुन् ।
जितसँगै चर्चले तीन अङ्क जोडेको छ । यसअघि चर्च पहिलो खेलमा न्युरोड टिम (एनआरटी) सँग २–१ गोलले पराजित भएको थियो । थ्री स्टारको भने यो लगातार दोस्रो हार हो । थ्री स्टार लिगको पहिलो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबसँग ७–२ गोलले पराजित भएको थियो ।
उपप्रधानमन्त्री सिंहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको भेट
काठमाडौँ, २ साउन I उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग तीनवटा सुरक्षा निकायका प्रमुखले संयुक्त रूपमा शिष्टाचार भेट गर्नुभएको छ ।
सिंहदरबारस्थित मन्त्रालयलमा आज भएको भेटमा नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुवँर, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा सहभागी हुनुहुन्थ्यो ।
उहाँहरूले उपप्रधानमन्त्री सिंहलाई बधाई तथा शुभकामना दिनुका साथै आआफ्नो सुरक्षा निकायले गरेका कामबारे जानकारी गराउनुभएको थियोे । भेटमा उपप्रधानमन्त्री सिंहले मुलुकको पछिल्लो सुरक्षा अवस्थाबारे समेत जानकारी लिनुभएको उहाँको निजी सचिवालयले जनाएको छ ।
अर्को वर्ष देखि ई–पासपोर्ट जारी गर्ने श्रीलङ्काको योजना
कोलम्बो, २ साउन I श्रीलङ्काले सन् २०२५ जनवरीदेखि लागू हुने गरी आफ्ना नागरिकहरूलाई ई–पासपोर्ट उपलब्ध गराउने योजना बनाएको देशको अध्यागमन विभागले बुधबार बताएको छ । विभागले राहदानीका लागि आवेदन दिने नयाँ पद्धतिलाई सोहीअनुसार कार्यान्वयन गर्नेछ । यहाँ जुलाई १६ देखि लागू हुने श्रीलङ्काली राहदानीहरूका लागि आवेदन गर्न पूर्व दर्ता आवश्यक हुने र जुलाई १६ मा दर्ता भएका आवेदकहरूका लागि नयाँ पद्धति जुलाई १९ देखि सुरु हुने विभागले जनाएको छ ।
विभागले दर्ता गरेपछि प्राथमिकताका आधारमा नयाँ राहदानी वितरण गर्नेछ । यसअघि, विभागले कोलम्बो बाहिर बसोबास गर्नेहरूलाई राहदानी आवेदन वा नवीकरणका लागि कोलम्बोको मुख्य कार्यालय जाने आवश्यकता हटाउन अनलाइन राहदानी आवेदन प्लेटफर्म ल्याएको थियो । सन् २०२२ को आर्थिक सङ्कटपछि ठूलो सङ्ख्यामा श्रीलङ्कालीहरूले विदेशी काम खोज्दै नयाँ राहदानीका लागि आवेदन दिइरहेका छन् । -रासस/सिन्ह्वा
खानेपानी मन्त्री यादव र एडिबीका देशीय निर्देशक अर्नाउड बीच भेट
काठमाडौँ,२ साउन I खानेपानीमन्त्री प्रदीव यादव र नेपालका लागि एसियाली विकास बैंक (एडिबी) का देशीय निर्देशक अर्नाउड कौकोइसबीच आज मन्त्रालयमा शिष्टाचार भेट भएको छ ।
भेटका क्रममा मन्त्री यादवले गुणस्तरीय खानीपानी आपूर्ति तथा व्यवस्थापनका क्षेत्रमा भएका महत्वपूर्ण सहयोगका लागि एडिबीलाई धन्यवाद दिँदै भविष्यमा थप सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । मेलाम्ची खानेपानी आयोजनाको मुहानस्थलमा बाढीले पुयाएको क्षतिलाई दृष्टिगत गरी आवश्यक मर्मत सम्भार गर्न सम्बद्ध अधिकारीहरूलाई निर्देशन दिएको जानकारी दिँदै उहाँले याङ्ग्री र लार्केको पानीसमेत काठमाडौँमा ल्याउने परियोजना आफ्नै कार्यकालमा पूरा गर्न प्रयास गर्ने बताउनुभयो ।
एडिबीका देशीय निर्देशक अर्नाउडले खानेपानीको क्षेत्रमा नेपालले गरेको प्रगतिको प्रशंसा गर्दै सहयोग जारी रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यस अवसरमा खानेपानीको दीर्घकालीन प्रभाव, परियोजनाहरूको सफल कार्यान्वयन र भविष्यमा एडिबीको थप सहयोगको सम्भावनाका बारेमा छलफल भएको थियो ।