शनिबार, १३ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01J34BCYCCQJNG10WDN6WQFD6R.jpg

एक वर्षको अवधिमा तीस हजार पर्यटकद्वारा म्याग्दी भ्रमण

म्याग्दी, ४ साउन I एक वर्षको अवधिमा ३० हजार पर्यटकले म्याग्दी भ्रमण गरेका छन् । म्याग्दी जिल्ला प्रहरी कार्यालयका अनुसार गत आवमा २४ हजार एक सय ३० जनाले यो जिल्लाका र बाहिरिनेको पाँच हजार सात सय ८९ जना रहेको छ । घोडेपानी र दरवाङमा रहेको इलाका प्रहरी कार्यालयले जिल्ला भित्रने र बाहिरिने पर्यटकको विस्तृत विवरणसहितको तथ्याङ्क राख्ने गर्छन् ।     
     
आव २०७९/८० मा २९ हजार तीन सय २८ र २०७८/७९ मा सात हजार नौ सय २६ विदेशी पर्यटकले भ्रमण गरेका थिए । म्याग्दीमा आउने पर्यटकमध्ये ९० प्रतिशतभन्दा बढी पर्यटकको रोजाइमा अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानी, पुनहिल क्षेत्र पर्ने गरेको छ ।     
     
धवलागिरि र अन्नपूर्ण हिमाल आरोहण, प्राकृतिक तातोपानी कुण्ड, खोपारा, अन्नपूर्ण धवलागिरि, धवलागिरि सेञ्चुरी, धवलागिरि चक्रीय, धवलागिरि आइसफल, टोड्के, रुप्से झरना, अन्धगल्छी, गलेश्वर, बेनीबजारलगायत धार्मिक, प्राकृतिक र ऐतिहासिकस्थलको भ्रमणका लागि म्याग्दीमा पर्यटक आउने गर्छन् ।     
     
छिमेकी पर्यटकीय जिल्ला मुस्ताङमा म्याग्दीको सडक भएर जाने गर्छन् । अमेरिका, फ्रान्स, इटली, जर्मनी, कोरिया, चीन, भारत, पोर्चुगल, अष्टे«लिया, नेदरल्याण्डका साथै भारतीय पर्यटक धेरै आउने पर्यटकीयस्थल घोडेपानीको होटल व्यवस्थापन उपसमितिका अध्यक्ष मीना पुनले बताउनुभयो ।     
     
अघिल्लो वर्षको हाराहारीमा पर्यटक आए पनि अपेक्षाकृत नभएको उहाँले बताउनुभयो । सबैभन्दा बढी २०८० को चैतमा पाँच हजार आठ सय ४९ जना पर्यटक आएको तथ्याङ्क रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजन रायमाझीले बताउनुभयो । विसं २०८० साउनमा नौ सय ४७, भदौमा नौ सय ७२, असोजमा चार हजार दुई सय ९८, कात्तिकमा चार हजार तीन सय ५७, मङ्सिरमा तीन हजार एक सय ९९, पुसमा एक हजार छ सय २७, माघमा एक हजार पाँच सय ७७, फागुनमा दुई हजार चार सय ४४, २०८१ वैशाखमा चार हजार एक सय ७५, जेठमा ८६ र असारमा तीन सय ८८ जना पर्यटक आएका छन् ।     
     
आव २०७६/७७ मा ५० हजार, आव २०७५/७६ मा ७५ हजार एक सय ९१, २०७४/७५ मा ७४ हजार सात सय ३३, २०७३/७४ मा ६९ हजार आग सय ३७ विदेशी पर्यटकले म्याग्दी भ्रमण गरेका थिए । आव २०७२/७३ मा म्याग्दी भ्रमण गर्ने पर्यटकको सङ्ख्या ४३ हजार छ सय ३२ जना र २०७७/७८ मा शून्य थियो ।     

प्रकाशित मितिः शुक्रबार, ०४ साउन २०८१
https://jawaaf.com/storage/01J34B0T1JGRTTGGQKEV89TQER.jpg

खोटाङको एउटै पालिकामा ७४ मेट्रिक टन लिच्ची उत्पादन

खोटाङ, ४ साउन I यस वर्ष खोटाङमा एक सय ६८ मेट्रिक टन लिच्ची उत्पादन भएको छ । गत वर्ष एक सय ५३ मेट्रिक टन लिच्ची उत्पादन भएको थियो ।     
     
दश स्थानीय तह रहेको जिल्लामा ३१ हेक्टर क्षेत्रफलमा लिच्चीको व्यावसायिक खेती गर्ने गरिएको छ । यस वर्ष सबैभन्दा बढी रावाबेँसी गाउँपालिकामा ७४ मेट्रिक टन लिच्ची उत्पादन भएको जिल्ला कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत सञ्जयकुमार पण्डितले बताउनुभयो ।     
     
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा दुई मेट्रिक टन तथा हलेसी तुवाचुङमा २० दशमलव ५० मेट्रिक टन लिच्ची उत्पादन भएको छ । जन्तेढुङ्गा गाउँपालिकामा नौ मेट्रिक टन, बाराहापोखरीमा शून्य दशमलव ५०, खोटेहाङमा ३६, दिप्रुङ चुइचुम्मामा १८ दशमलव ५०, साकेलामा छ मेट्रिक टन, केपिलासगढीमा शून्य दशमलव ५० मेट्रिक टन र ऐसेलुखर्क गाउँपालिकामा एक मेट्रिक टन लिच्ची उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।     
     
जिल्लामा उत्पादित लिच्चीलाई प्रशोधन गरेर बिक्री गर्ने वातावरण सरकारले मिलाउनुपर्ने रावाबेँसी गाउँपालिका–१ कुभिण्डेका स्थानीय बासिन्दा एवं उद्यमी रामबहादुर राईले बताउनुभएको छ । “जिल्लामा उत्पादित लिच्ची दाना नै बिक्री गर्ने चलन छ । यसलाई प्रशोधन गरेर जुसलगायत पेय पदार्थ बनाउन सकिन्छ”, उहाँले भन्नुभयो, “यसप्रति तीनवटै तहका सरकारले योजना बनाउनुपर्छ । जबसम्म कृषि उपज उत्पादनलाई सरकारले प्राथमिकता दिँदैन तबसम्म देश विकास सम्भव छैन ।”     
     
जिल्लामा उत्पादित लिच्ची स्थानीय हाटबजार तथा राजधानी काठमाडौँलगायत सहरमा बिक्री हुने गरेको छ । जिल्लामा उत्पादिन लिच्ची बिक्रीबाट किसानले वार्षिक करोडौँ आम्दानी गर्ने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । लिच्चीबाट राम्रो आम्दानी गर्न सकिने सम्भावना भए पनि स्थानीय, प्रदेश र सङ्घीय सरकार यसप्रति उदासिन देखिएको किसानको गुनासो छ । आफूहरूले उत्पादन गरेको लिच्चीलाई स्थानीय सरकारले बजार व्यवस्थापन तथा उद्योग स्थापना गरेर प्रशोधन गर्ने वातावरण मिलाइ दिनुपर्ने किसानको माग छ ।     
     
लिच्ची उत्पादनबाट राम्रो आम्दानी हुने भएपछि स्थानीय सरकारले लिच्चीका बिरुवा भने निःशुल्क उपलब्ध गराउँदै आएको छ । एकपटक रोपिएका बिरुवाले १० देखि १५ वर्षसम्म फल दिने भएकाले जिल्लाका अन्य किसान पनि लिच्चीको व्यावसायिक खेतीमा आकर्षित हुन थालेका छन् ।   

प्रकाशित मितिः शुक्रबार, ०४ साउन २०८१
https://jawaaf.com/storage/01J333EK52C7QWFF683HS7YCGT.png

समानुपातिक प्रणालीलाई बलियो बनाउनुपर्नेमा सांसदहरुको जोड

काठमाडौँ, ३ साउन I संविधानको मर्मअनुरुप समानुपातिक प्रणालीलाई बलियो बनाउनुपर्नेमा सांसद तथा सरोकारवालाहरुको जोड रहेको छ । प्रतिनिधिसभाअन्तर्गत महिला तथा सामाजिक मामिला समितिको आज बसेको बैठकमा उहाँहरुले समानुपातिक समावेशीताको स्तर कमजोर भएकोमा चिन्ता व्यक्त गर्नुभयो । 

बैठकमा ‘राज्यको  मूलप्रवाहमा आदिवासी जनजाति समुदायको समावेशीताको अवस्था र यस सम्बन्धमा आदिवासी जनजाति आयोग र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले खेल्दै आएको भूमिका’ विषयक छलफल भएको थियो । उक्त छलफलमा आदिवासी जनजातिको सामाजिक, सांस्कृतिक र राजनीतिक अवस्थाबारे चर्चा गरिएको थियो । 

समितिका सभापति किरणकुमार साहले राज्यलाई समावेशी बनाउन सधैँ एकमत रहेको बताउँदै आदिवासी जनजाति आयोगको अहम भूमिका रहने बताउनुभयो । आयोगले सरकार समक्ष सिफारिस गर्ने मात्रै नभई कार्यान्वयनसमेत गर्न जोड दिनुपर्ने उहाँले बताउनुभयो । बैठकमा आदिवासी जनजाति आयोग र आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानको काम कारबाहीबारे प्रकाश पारिएको थियो । आयोगका सचिव नुरहरि खतिवडाले प्रतिवेदन प्रस्तुत गर्नुभयो । प्रतिष्ठानका योजना अधिकृत दिवस राईले प्रतिष्ठानको कार्य प्रगतिबारे जानकारी गराउनुभयो । 

आयोगका अध्यक्ष रामबहादुर थापाले विसं २०६३ देखि २०७९ सम्मको निर्वाचन समीक्षा गर्दा समानुपातिक समावेशीताको स्तर आरोलो लाग्ने क्रममा रहेको उल्लेख गर्नुभयो । आयोगले सरकारलाई बुझाएको प्रतिवेदनमा पनि विसं २०७४ को निर्वाचनपछि तीन प्रतिशतले समावेशीता घटेको उल्लेख छ । 

“समावेशी भए जस्तो देखिन्छ, वास्तवमा तथ्याङ्क नियाल्ने हो भने पछिल्लो समय घट्दै गएको छ”, उहाँले भन्नुभयो । प्रतिष्ठानका योजना अधिकृत राईले आदिवासी जनजातिको अवस्था उकास्न राज्यले अंश बनाएर पर्याप्त स्रोत नदिएको गुनासो गर्नुभयो । 

उहाँले सीमित स्रोतसाधनमा जनजाति समुदायको आर्थिक, सामाजिक, संस्कृति जोगाउन अर्थपूर्ण कार्यसम्पादन गरेको जिकिर गर्नुभयो । “आदिवासी जनजातिको जीवित सङ्ग्रहालय बनाउन प्रतिष्ठान लागि परेको छ”, उहाँले भन्नुभयो, “भाषा, कला र साहित्य संस्कृति जर्गेनामा लगानी गरेको छ ।” प्रतिष्ठानको अनुसन्धान तथ्याङ्कअनुसार राना थारु ६० र हुम्लीको सङ्ख्या ६१ पुगेको छ । 

थप लोपोन्मुख जनजाति समुदायको खोजी र अनुसन्धान गर्न बाँकी रहेको राईले बताउनुभयो । आयोग र प्रतिष्ठानमा पर्याप्त बजेट अभावका कारण अनुसन्धानमूलक कार्य गर्न कठिन भएको उहाँको भनाइ थियो । आयोगले आदिवासी जनजातिको समस्या सम्बोधन गर्न आदिवासी जनजाति मन्त्रालय हुनुपर्ने मागसमेत राख्दै आएको छ । 
 
बैठकमा सांसदहरु माया राई, कल्पना मिया, सरस्वती बजिमय, ईश्वरबहादुर रिजाल, हर्कमाया विश्वकर्मा, शान्ती श्रेष्ठ, शोभा ज्ञवालीलगायतले आदिवासी जनजातिको उत्थानका विषयमा र समानुपातिक समावेशी राज्य बनाउने कुरामा जोड दिनुभएको थियो ।

प्रकाशित मितिः बिहिबार, ०३ साउन २०८१
https://jawaaf.com/storage/01J32W8D0TMMHXAW7SSH3D5THF.jpg

राजनीतिक भागबन्डाका आधारमा नियुक्ति हुनुहुँदैनः सभापति लामिछाने

काठमाडौँ, ३ साउन I राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले राज्यका विभिन्न निकायमा राजनीतिक भागबन्डाका आधारमा नियुक्ति हुने संस्कारको अन्त्य हुनुपर्नेमा जोड दिनुभएको छ ।
 
रास्वपाले आज यहाँ आयोजना गरेको ‘नीति मन्थन’ अन्तरक्रियामा उहाँले राजनीतिक नियुक्तिको प्रभावलाई अन्त्य गर्न स्वायत्त निकायको स्थापना र स्वतन्त्र रुपमा काम गर्न सक्ने योग्य विज्ञ व्यक्तिको नियुक्ति हुनुपर्नेमा जोड दिनुभयो ।

रास्वपाको अर्थनीति विभाग र उद्योग तथा वाणिज्य विभागद्वारा आयोजित अन्तक्र्रियामा पूर्वउपप्रधान एवं गृहमन्त्री लामिछानेले राज्यका विभिन्न निकायमा हुने राजनीतिक नियुक्तिले मुलुकको सुशासनमा प्रभाव पर्ने धारणा राख्नुभयो । रास्वपाले कार्यकर्ता र भातृसंस्थाको भारी नबोक्ने स्पष्ट पार्दै उहाँले पार्टीभित्रै योगदान दिएका आधारमा नियुक्ति माग्ने प्रवृतिको अन्त्य हुनुपर्छ भन्नुभयो ।

क्रेडिट रेटिङ एजेन्सीबारे चर्चा गर्दै सभापति लामिछानेले रु ५० करोडभन्दा माथिको कर्जा रेटिङ गर्ने एजेन्सीहरुको नियमनमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । “यी रेटिङ एजेन्सीलाई कसले हेर्ने ? त्यसको नियमन गर्ने निकाय को ? यस्ता एजेन्सीमा केही सीमित घराना हावी छन्”, उहाँले भन्नुभयो । 

त्यस अवसरमा प्रतिनिधिसभा सदस्य एवं रास्वपाको उपसभापति स्वर्णीम वाग्लले विदेशी मुद्राको सञ्चितिको सदुपयोगमा गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले वित्तीय नियमनलाई समयअनुकूल बनाउनुपर्ने धारणा व्यक्त गर्नुभयो । 

उहाँले आधुनिक विश्वमा डिजिटल मुद्रा जस्तै पैसाप्रतिको अवधारणा र यसको नियमनलाई नयाँ शिराबाट बहस हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले केन्द्रीय बैंकको डिजिटल मुद्रा (सिबिडिसी)को भविष्यमा नेपालमा प्रयोगको सम्भावना र तयारीबारे समेत सचेत गराउनुभयो ।

अन्तक्र्रियामा आउँदै गरेको मौद्रिक नीतिबारे बहस गरिएको थियो । अन्तरक्रियामा नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापा, इक्रा नेपालका व्यापार प्रमुख वर्षा श्रेष्ठ र पूर्व बैंकर भुवनकुमार दाहाल सहभागी हुनुहुन्थ्यो । 

प्रकाशित मितिः बिहिबार, ०३ साउन २०८१
https://jawaaf.com/storage/01J32RCCHZ4ZTFS3WEG6C96492.jpg

‘वर्तमान सत्ता समिकरण २०८४ सालसम्म कायम रहन्छ’

जनकपुर, ३ साउन I नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले वर्तमान सत्ता समिकरण आगामी २०८४ सालसम्म कायम रहने बताउनुभएको छ । जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता निधिले वर्तमान सरकारलाई आ–आफ्नो तर्फबाट सहयोग गर्न नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । मधेश प्रदेश सरकारमा सहभागिताबारे उहाँले भन्नुभयो, “मन्त्रालय ठूलो कुरा होइन, मिलेर समस्या समाधान गरेर जानुपर्छ ।”

प्रकाशित मितिः बिहिबार, ०३ साउन २०८१
https://jawaaf.com/storage/01J32R6GARQ6KK5SC6P50B93RG.jpg

पीडितलाई न्याय महसुस हुनेगरी कार्यसम्पादन गर्नेछु : महान्यायाधिवक्ता बडाल

काठमाडौँ, ३ साउन I नवनियुक्त महान्यायाधिवक्ता रमेश बडालले संविधान र कानुनको दायरमा रहेर पीडितलाई न्याय महसुस हुनेगरी कार्यसम्पदान गर्ने बताउनुभएको छ । उहाँले आज पदवहालीका क्रममा संविधान र कानुनले निदृष्ट गरेका अधिकार पालना गर्दै पीडितलाई न्याय हुनेगरी कार्यसम्पादन गर्ने बताउनुभयो ।     
     
“पीडितलाई न्याय दिने दायित्व यस कार्यालयको हो, संवैधानिक दायराभित्र रहेर आफ्नो दायित्व पूरा गर्नेछौँ”, महान्यायाधिवक्ता बडालले भन्नुभयो, “मुद्दाको अभियोजन गर्दा दोषी व्यक्तिलाई मात्र गर्ने गर्छौँ ।” उहाँले सरकारी वकिललाई पहिलो न्यायाधीश मानिने भएकाले मुद्दाको राम्रो अध्ययन गरेर अघि बढ्न सुझाव दिनुभयो ।     
     
महान्यायाधिवक्ता कार्यालयले अभियोजन र सरकारलाई उचित कानुनी सल्लाह दिने, सरकारलाई परेको मुद्दाको प्रतिरक्षा गर्नेलगायत काम गर्ने भएकाले आफूले संवैधानिक दायित्व पूरा गर्ने बडालले प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले बिगो प्रणालीमा मापदण्ड निर्धारण गरी क्षतिपूर्ति निर्धारण गर्ने विषयमा छलफल गर्ने र अभियोजनमा एकरुपता ल्याई अदालतलाई न्याय प्रदान गर्ने काममा सबैबाट सहयोग पाउने विश्वाससमेत व्यक्त गर्नुभयो ।     
     
राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नवनियुक्त महान्यायाधिवक्ता रमेश बडाललाई पद तथा गोपनीयताको शपथग्रहण गराउनुभएको थियो । प्रधानमन्त्रीको सिफारिसमा बुधबार राष्ट्रपतिले सरकारको कानुनी सल्लाहकारका रूपमा बडाललाई नियुक्त गर्नुभएको थियो । यसअघि, बडाल छोटोे समयका लागि महान्यायाधिवक्ता हुनुभएको थियोे ।     

प्रकाशित मितिः बिहिबार, ०३ साउन २०८१
https://jawaaf.com/storage/01J32MG1QE5MXKN65ENKE3NPQ1.jpg

महान्यायाधिवक्ता वडालद्वारा शपथग्रहण

काठमाडौ, ३ साउन I राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नवनियुक्त महान्यायाधिवक्ता रमेश वडाललाई पद तथा गोपनीयताको शपथग्रहण गराउनुभएको छ ।     
     
शीतल निवासमा आज आयोजित समारोहमा प्रधानन्यायाधीश श्रेष्ठले महान्यायाधिवक्ता वडाललाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो । समारोहमा राष्ट्रपति पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाललगायतको उपस्थित रहेको थियोे ।     
     
सरकारको कानुनी सल्लाहकारका रूपमा वडाललाई प्रधानमन्त्रीको सिफारिसमा बुधबार राष्ट्रपति पौडेलले महान्यायाधिवक्ता पदमा नियुक्त गर्नुभएको थियो । 

प्रकाशित मितिः बिहिबार, ०३ साउन २०८१
https://jawaaf.com/storage/01J32M6EZMJ5HC3PDHFDXFH95N.jpg

शेयर बजारमा उछाल

काठमाडौँ, ३ साउन I धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झण्डै ६० अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५९ दशमलव ६८ प्रतिशतले उकालो लागेर दुई हजार चार सय २४ दशमलव ३२ मा पुगेको  छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ  परिसूचक १६ दशमलव ३७ अङ्कले उकालो लागेर चार सय ३६ दशमलव १४ मा पुगेको छ ।

नेप्सेका अनुसार कुल तीन करोड ९९ लाख ३८ हजार दुई सय ३७ कित्ता शेयर रु १८ अर्ब ५४ करोड ८८ लाख सात सय ३८ मा कारोबार भयो । नेपाल इन्भेष्टमेन्ट मेघा बैँक, नेपाल फाइनान्स लिमिटेड, आँखुखोला जलविद्युत कम्पनी, उपकार लघुवित्त वित्तिय संस्था तथा थ्रि स्टार हाइड्रोपावर कम्पनीको शेयर मूल्यमा दश प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लाग्यो ।

यस्तै, कुमारी सबल योजना पाँच दशमलव ७६, सिन्धु विकास बैँक चार दशमलव ५७, गुहेश्वरी मर्चेन्ट चार दशमलव २२, एनसिसी डिवेञ्चर तीन दशमलव ९३ र श्री इनभेष्टमेन्ट फाइनान्स कम्पनीका लगानीकर्ताले तीन दशमलव ९० प्रतिशतले गुमाए । 

प्रकाशित मितिः बिहिबार, ०३ साउन २०८१
https://jawaaf.com/storage/01J32BDYZDGPY0ATQDFBG4QXWV.jpg

डेङ्गीको आशङ्का लागेमा ११८० मा फोन गर्न कामपाको आग्रह

काठमाडौँ, ३ साउन I काठमाडौँ महानगरपालिकाले डेङ्गी लागेको आशङ्का लागेमा तत्काल ११८० मा सम्पर्क गरी परामर्श लिन नागरिकलाई आग्रह गरेको छ । अहिले नियमित पानी परिरहेकाले डेङ्गी सङ्क्रमण बढ्न सक्ने भन्दै कामपाले उक्त रोग लागेको शङ्का लागे तत्काल ११८० मा फोन गरी परामर्श लिन नागरिकलाई आग्रह गरेको हो ।     
     
परामर्श सेवाका लागि कामपाले निःशुल्क ‘हटलाइन टेलिफोन ११८०’ चौबिसै घण्टा सञ्चालनमा ल्याइएको कामपाको डेङ्गीसम्बन्धी स्रोतव्यक्ति (फोकलपर्सन) ऋषि भुसालले जानकारी दिनुभयो । उहाँले अकस्मात अस्पताल जानुपरे १०२ नम्बरमा सम्पर्क गरेर निःशुल्क एम्बुलेन्स सेवा प्रयोग गर्न पनि नागरिकलाई आग्रह गर्नुभयो ।     
     
कामपाले उक्त सङ्क्रमण फैलन नदिन हरेक बुधबार र बिहीबार ६४ स्वास्थ्यकर्मी र पाँच सय ५८ जना महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरी सचेतना अभियान अघि बढाइएको फोकलपर्सन भुसालले जानकारी दिनुभयो ।     
     
“डेङ्गी सार्ने र महामारी फैलाउने सबै प्रजातिका लामखुट्टे पानी जमेको ठाउँमा बस्छन् । उनीहरूको प्रजनन प्रक्रिया त्यहीँ पूरा हुन्छ । यसकारण पानी जम्न दिनु हुँदैन । यो काम व्यक्ति र समुदाय आफैँले गर्न सक्ने भएकाले यससम्बन्धी समुदायलाई जानकारी दिनु अभियानको मुख्य काम हो”, उहाँले भन्नुभयो । रोगको लक्षण देखिएका बिरामीको परीक्षण, औषधोपचारका लागि वडामा रहेको स्वास्थ्य प्रवर्द्धन केन्द्रमा सम्पर्क गर्न पनि भुसालले आग्रह गर्नुभयो ।     
     
  डेङ्गीको मुख्य लक्षण    
     
डेङ्गी सङ्क्रमण भएपछि बिरामीलाई ज्वरो आउने, आँखा रातो हुने र टाउको, पेट, जोर्नी र मांसपेसी दुख्ने, आलस्य हुनेलगायत लक्षणहरू देखा पर्ने कामपाको डेङ्गीसम्बन्धी फोकलपर्सन भुसालले बताउनुभयो ।     
     
 “टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, ढाड, जोर्नी तथा मांसपेसीहरू दुख्ने, शरीरमा बिमिरा आउने, वाकवाकी लाग्ने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने हुन्छ”, उहाँले भन्नुभयो, “एडिज जातको लामखुट्टेले बिहान र साँझको समयमा टोक्ने सम्भावना बढी भएकाले सो समयमा थप सचेत हुनुपर्छ ।”     
     
  यसबाट बच्ने तरिका     
      
डेङ्गीबाट बच्न घर वरिपरि, कार्यस्थल र सार्वजनिक ठाउँमा पानी जम्न नदिने, पानी राख्ने भाँडालाई लामखुट्टे नछिर्ने गरी छोपेर राख्ने, घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने, बिहान, दिउँसो, राति जुनसुकै बेला झूल लगाएर मात्र सुत्ने, बोतल, टायर, प्लास्टिकका वस्तुहरू पानी जम्न नमिल्ने गरी विसर्जन गर्ने जस्ता ककाम गर्नुपर्छ ।

प्रकाशित मितिः बिहिबार, ०३ साउन २०८१
https://jawaaf.com/storage/01J32ASJPAQ4C80Y01XXNPWZFP.jpg

अष्ट्रेलियामा बेरोजगारी दर वृद्वि, जून महिनामा बढेर ४.१ प्रतिशत

क्यानबेरा(अष्ट्रेलिया),३ साउन I अष्ट्रेलियाको बेरोजगारी दर जून महिनामा   बढेर ४.१ प्रतिशत पुगेको छ । यस अघि मे महिनामा बेरोजगारी दर ४.० प्रतिशत रहेको अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस) ले बिहीबार प्रकाशित गरेको आधिकारिक श्रम बलको तथ्याङ्कले देखाएको छ ।

तथ्याङ्क अनुसार गत मे – जुन महिनाको बिचमा कार्यरत अस्ट्रेलियालीको सङ्ख्या ५० हजार २०० ले बढेको थियो  ।  सोही अवधिमा बेरोजगार अस्ट्रेलियालीको सङ्ख्या पनि नौ हजार ७०० ले बढ्दा बेरोजगारीदर वृद्वि भएको हो ।
 
सहभागिता दरले काम गर्ने उमेरका अष्ट्रेलियालीको अनुपात मापन गर्दछ, । जसको सङ्ख्या मे महिनामा ६६.८ प्रतिशतबाट बढेर जूनमा ६६.९ प्रतिशत पुगेको छ  । जुन महिनामा सहभागिता दर सन् २०२३ नोभेम्बरमा ६७.० प्रतिशतको ऐतिहासिक उच्च भन्दा ०.१ प्रतिशत मात्र कम रहेको एबीएसका श्रम तथ्याङ्क प्रमुख ब्योर्न जार्विसले  विज्ञप्ति मार्फत उल्लेख गर्नु भयो । 
 
समग्रमा अस्ट्रेलियामा छ लाख आठ हजार २०० बेरोजगार व्यक्तिहरू जुन महिनामा सक्रिय रूपमा काम खोज्दै गरेको जार्विसले जनाउनु भयो । यसै गरी  बेरोजगारहरु सन् २०२२ अक्टोबरमा चार लाख एक हजारले बढेता पनि कोभिड–१९ महामारीको तुलनामा एक लाख मानिस कम रहेको उहाँले उल्लेख गर्नु भयो ।  

बेरोजगारी दर गत वर्ष जुन महिनाको तुलनामा ०.५ प्रतिशत बढी र सन् २०२० मार्च  को तुलनामा १.१ प्रतिशतले कम रहेको उहाँले जनाउनु भएको छ । एबीएसको तथ्याङ्क अनुसार अस्ट्रेलियालीले काम गर्ने घण्टाको सङ्ख्या मे –जुन महिनाको बिचमा ०.८ प्रतिशतले बढेको छ । बिरामी भएकाले ४.५ प्रतिशत अष्ट्रेलियालील जून माहिनामा सामान्य समयको जस्तो काम गर्न नसकेको  जार्विसले बताउनु भएको छ । -रासस/सिन्ह्वा

प्रकाशित मितिः बिहिबार, ०३ साउन २०८१