वीरगञ्ज महानगरले एञ्जल बस चालकका छोराछोरीको अध्ययनकाे जिम्मेवारी लिने
वीरगञ्ज (पर्सा), २ साउन I वीरगञ्ज महानगरपालिकाले सिमलताल पहिरोमा परी हराइरहेका एञ्जल बसका चालक जवाहीर महतोको तीनजना छोराछोरीको अध्ययनको सम्पूर्ण जिम्मेवारी लिने भएको छ । आज बिहान वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले एञ्जल बसका चालक जवाहीर महतोको परिवारसँग भेट गर्नुभयो ।
“बालबालिकाको अध्ययनको सम्पूर्ण जिम्मेवारी महानगरले लिनेछ”, नगरप्रमुख सिंहले भन्नुभयो, “जवाहीरको परिवारको जीविकोपार्जनका लागि आवश्यक व्यवस्था मिलाउन महानगरले योजना बनाएर कायाृन्वयन गर्नेछ ।” जवाहीरका एक छोरी र दुई छोरा छन् । महतोले चलाएको बागमती प्रदेश ०३ ०१–०० ख १५१६ नम्बरको एञ्जल डिलक्स रात्रि बस गत शुक्रबार बिहानीपख भरतपुर महानगरपालिका–२९ सिमलताल नजिकै पहिरोमा परेर त्रिशुली नदाी खसेको थियो ।
नगरप्रमुख सिंहले आजै एञ्जल बसमा सवार भएर दुर्घटनामा परेका अन्य परिवारका सदस्यलाई पनि भेट गर्दै महानगर पीडित परिवारको साथमा रहेको बताउनुभएको थियो ।
पिण्डेश्वर बाबाधाममा बोलबम मेला सुरु
धरान (सुनसरी), २ साउन I धरान उपमहानगरपालिका–१४ स्थित पिण्डेश्वर बाबाधाममा मङ्गलबार देखि बोलबम मेला सुरु भएको छ । बालसन्त मोहनशरण देवाचार्यले मेलाको उद्घाटन गर्नुभएको थियो ।
एक महिनासम्म सञ्चालन हुने मेलामा करिब तीन लाख भक्तजन सहभागी हुने अनुमान गरी सोहीअनुसार व्यवस्था मिलाइएको बोलबम मेला आयोजक समितिले जनाएको छ ।
साउनभरि लाग्ने मेलामा पिण्डेश्वर बाबाधाममा जल चढाउन तथा दर्शन गर्न आउने भक्तजनको सुविधाका लागि मूल आयोजक समितिले सुरक्षाका साथै वर्षाका बेला मन्दिरभित्र एक हजारभन्दा बढी भक्तजनलाई ओतको व्यवस्था गरेको समितिका सल्लाहकार वासुदेव बरालले बताउनुभयो ।
सप्तकोशी नदीको सङ्गमस्थलबाट ल्याएको जल चढाउँदा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहँदै आएकाले तीन लाख भक्तजनको आगमन हुने अपेक्षा गरिएको बरालले बताउनुभयो । मेलामा विशेषगरी पहँेलो लुगा लगाउने, खाली खुट्टा हिँडेर बराहक्षेत्रको चतरास्थित कोशीबाट जल ल्याएर पिण्डेश्वर मन्दिरमा चढाउने गरिन्छ ।
मेलामा देशमा पूर्वी क्षेत्रका अधिकांश जिल्लाका भक्तजन, पश्चिमका बैतडी, दाङ, बाजुरा, रौतहत, अछाम, डडेलधुराका साथै छिमेकी मुलुक भारतको सिक्किम, दार्जिलिङलगायत स्थानबाट भक्तजन आउने गरेका छन् ।
उद्घाटन कार्यक्रममा विजपुर र पिण्डेश्वरलाई केन्द्र मानी यहाँका धार्मिक क्षेत्र, दन्तकाली, बुढासुब्बा, पिण्डेश्वर, बराहक्षेत्र, प्राचीन हरिद्वार, कुम्भमेलालगायत पुराणमा कथालाई उद्धृत गरेर सल्लाहकार बरालले लेख्नुभएको ‘रुद्राक्षारण्य परिचय’ पुस्तकको विमोचन गरिएको थियो ।
कार्यक्रममा कोशी प्रदेशका सांसद रमेश बस्नेत, धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्रविक्रम बेघा, स्थानीय जनप्रतिनिधिलगायत उपस्थित हुनुहुन्थ्यो ।
‘सडक आश्रित मानवमुक्त राष्ट्र निर्माणमा सरकार प्रतिबद्ध’
काठमाडौँ, २ साउन I प्रधानमन्त्री केपी शर्मा ओलीले २०८२ सालसम्ममा नेपाललाई सडक मानवमुक्त बनाउने अभियानलाई सफल गराउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मानवसेवा आश्रमका प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री ओलीले वर्तमान सरकार गठन भएलगत्तै बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले २०८२ असार मसान्तसम्म सडक बालबालिकामुक्त गराउने निर्णय गरेको जानकारी दिनुभयो ।
प्रधानमन्त्रीले विभिन्न कारण सडक आश्रित हुन पुगेका सहयोगापेक्षी सडक आश्रित मानवमुक्त गराउने अभियानमा सरकार साथमा रहेको र यसका लागि आवश्यक सहयोग रहनेछ भन्नुभयो । सो अवसरमा घरपरिवार र आफन्तविहीन भई खुला आकाशमुनि कष्टपूर्ण जीवनयापन गर्न बाध्य, आफ्नो लागि आफैँ केही गर्न नसक्ने अवस्थामा रहेका, हेरचाह र पालनपोषण गरिदिने समेत कोही नभई सडक आश्रित हुन पुगेका सहयोगापेक्षी सडक आश्रित मानवहरुको उचित संरक्षण र पालनपोषण गर्दै आइरहेको मानवसेवा आश्रमका तर्फबाट प्रधानमन्त्री ओलीलाई बधाई ज्ञापनपत्र समेत दिइएको थियो ।
भेटमा आश्रमका प्रमुख संस्थापक एवं केन्द्रीय अध्यक्ष रामजी अधिकारीले नेपाल सरकारको आर्थिक वर्ष २०८१÷८२ को स्वीकृत नीति तथा कार्यक्रममा २०८२ सालसम्ममा नेपाललाई सडक मानवमुक्त बनाइनेछ भन्ने सङ्कल्पलाई साकार पार्न मानवसेवा आश्रम सरकारको सहयोगी भई यस अभियानलाई सफल बनाउन प्रतिबद्ध रहेको बताउनुभयो ।
यसैबीच, मानवसेवा आश्रमकी संरक्षक राधिका शाक्यले श्रावण सङ्क्रान्तिका अवसरमा मानवसेवा आश्रममा आश्रित आमाबुबाहरुका लागि हिजो साँझ विशेष भोजन सेवा प्रदान गर्नुभएको थियो ।
मानवसेवा आश्रमले २०८२ सालभित्र सहयोगापेक्षी सडक आश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माणको लक्ष्यसहित २०६९ सालदेखि देशव्यापीरुपमा सडकपेटी र सार्वजनिक स्थलहरुमा कष्टपूर्ण जीवन बिताउन विवश अनाथ, अपाङ्ग, अशक्त, असहाय, शारीरिक तथा मानसिकरुपमा अति कमजोर मानवहरुको उद्धार, उपचार, पालनपोषण एवं पारिवारिक पुनर्मिलनको सेवा दिँदै आएको छ । हाल देशभर सात प्रदेशको १९ जिल्लामा २४ वटा सेवा केन्द्र सञ्चालनमा रहेको आश्रमले ७७ जिल्लाबाट सहयोगापेक्षी सडक आश्रित मानवको उद्धार गर्दै आइरहेको छ । आजसम्म एक हजार सात सय बेसहारा सडक मानवको प्रत्यक्ष संरक्षण गर्दै आइरहेको यस आश्रमले १० हजारभन्दा बढीको उद्धार गर्नाका साथै चार हजारभन्दा बढीको सफल पारिवारिक पुनर्मिलन गराइसकेको जनाएको छ ।
सिमलताल घटना : कार्यदलले काम थाल्यो
काठमाडौँ, २ साउन I गत असार २८ गते चितवनको सिमलतालमा पहिरोसँगै बगेर त्रिशूली नदीमा दुई बस खसेर यात्रु बेपत्ता भएका घटनाको अध्ययन गर्न गृहमन्त्रालयद्वारा गठित कार्यदलले आफ्नो काम थालेको छ ।
गृहमन्त्री रमेश लेखकले पद बहालीका क्रममा उक्त घटना अध्ययन गरी प्रतिवेदन दिन मन्त्रालयका सहसचिव छवि रिजालको संयोजकत्वमा कार्यदल गठन गर्नुभएको थियो । दश दिनको कार्यादेश दिइएको कार्यदलले आज घटनास्थल पुगेर अध्ययन थालेको कार्यदलका सदस्य नेपाल प्रहरीका प्रहरी बरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले घटनास्थलको अध्ययन भइरहेको छ ।
रिजाल संयोजक रहेको कार्यदलमा प्रहरी वरिष्ठ उपरीक्षक खत्रीसहित सशस्त्र प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक शङ्कर खनाल, विपद् प्राधिकरणबाट सन्ध्या सिग्देल, यातायात व्यवसायी सरोज सिटौला र भौतिक पूर्वाधार मन्त्रालयका प्रतिनिधिका रूपमा प्रकाश भण्डारी रहनुभएको छ । आवश्यक घटनास्थल अध्ययन, प्रत्यक्षदर्शी, बाँचेका व्यक्ति, उद्धार टोली, स्थानीय प्रशासनलगायतसँग छलफल गरेर प्रतिवेदन तयार पार्ने कार्यदलले जनाएको छ ।
बसमा सवार ६५ जनामध्ये तीनजना बाँच्न सफल भएका थिए भने अरु सबै बेपत्ता भएका थिए । अहिलेसम्म १७ जनाको शव फेला परेको छ । अन्य यात्रुको अवस्था अज्ञात छ ।
मुख्यमन्त्री जम्कट्टेलले साउन ६ गते विश्वासको मत लिने
बागमती, २ साउन I बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले यही साउन ६ गते प्रदेशसभामा विश्वासको मत लिने तयारी गर्नुभएको छ । विश्वासको मत लिन प्रदेशसभा सचिवालयमा मुख्यमन्त्री जम्कट्टेलले पत्राचार गर्नुभएको छ ।
सत्तासाझेदार दलका नेताहरूसँगको छलफलपश्चात मुख्यमन्त्री जम्कट्टेल साउन ६ गते विश्वासको मत लिने निर्णयमा पुग्नुभएको बागमती प्रदेशसभामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का प्रमुख सचेतक रत्नप्रसाद ढकालले जानकारी दिनुभयो ।
सङ्घीय सरकार परिवर्तनसँगै प्रदेश सरकारमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट सहभागी पाँचजना मन्त्रीले गत असार २४ गते राजीनामा दिएपछि प्रदेश सरकार अल्पमतमा परेको छ । मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिने भएपछि त्यसको प्रक्रियाका लागि यही साउन ६ गते दिउँसो १ बजे बस्नेगरी प्रदेशसभाको बैठक आह्वान गर्ने तयारी गरिएको सभामुख भुवनकुमार पाठकले जानकारी दिनुभयो ।
गत २०७९ पुसमा नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को समर्थनमा माओवादी केन्द्रका नेता जम्कट्टेल मुख्यमन्त्री बन्नुभएको थियो ।
मुक्तकमैया पुनःस्थापनाको पर्खाइमा
भजनी (कैलाली), २ साउन I कमैया मुक्ति घोषणा भएको २४ वर्ष पुगेको छ । विसं २०५७ साउन २ गते सरकारले कमैया मुक्तिको घोषणा गरेको हो । अढाइ दशक बित्नै लागे पनि कैलालीको टीकापुर नगरपालिका शिवनगरका गणेश चौधरी पुनःस्थापनाको पर्खाइमा हुनुहुन्छ । राज्यले ऋण मिनाहासहित पुनःस्थापना गर्नेगरी कमैया मुक्तिको घोषणा गरे पनि आफूजस्तै सयौँ परिवार आज पनि पुनःस्थापनाको पर्खाइमा रहेको उहाँ बताउनुहुन्छ ।
“राज्यले पुनःस्थापनाको काम अझै गर्न सकेको छैन । आजसम्म कमैयाले आफ्नो क्षमताले एउटा बस्ने घरसम्म बनाउन सकेका छैनन । अरुकै सहारामा बाँच्नुपरेको छ”, चौधरी भन्नुहुन्छ, “पटकपटक आश्वासन पायौँ, सहारा कहिल्यै पाएनौँ ।”
शिवनगरकै रामफल चौधरीलाई बुढ्यौलीले छोइसकेको छ । सरकारले पुनःस्थापनाको ग्यारेन्टी गरेसँगै अरुको घरमा कमैया बसेर जीवन निर्वाह गर्दै आउनुभएका उहाँले २० वर्ष पुनःस्थापनाको आशामा शिविरमा बिताउनुभयो । “पुनःस्थापनाको सम्झौता मात्रै भयो, हामी दशकौँदेखि कष्टकर जीवन बिताउन बाध्य छौँ ।”
शान्ताराम चौधरीको समस्या पनि उस्तै छ । आज पनि उहाँलाई अरुको घरमा काम गरेर जीवन निर्वाह गर्नुपर्ने बाध्यता छ । “हिजो अरुको घरमा काम गर्दा आफ्नो स्वतन्त्रता थिएन, आज स्वतन्त्रता छ, फरक त्यतिमात्र हो ।”
दुई दशक पहिला टीकापुर बहुमुखी क्याम्पसको नाममा रहेको जग्गा अतिक्रमण गरेर सयौँ मुक्तकमैया आश्रय लिएर आजसम्म बसोबास गर्दै आएका छन् । सो क्षेत्रमा मुक्तकमैयामात्र नभई सयौँ सुकुम्बासी पनि बसोबास गर्दै आएका छन् । “राज्यले उचित व्यवस्थापन गरेको भए अरुको जग्गामा बस्नुपर्ने बाध्यता हँुदैनथ्यो”, स्थानीय छेदु चौधरीले भन्नुभयो, “जग्गा जमिन नभएका हामी यो जग्गा छाडेर कता जानसक्छौँ ।”
मुक्त कमैया समाज सुदूरपश्चिम प्रदेशका सचिव विमल चौधरीले कैलालीमा अझै चार हजार दुई सय छुट मुक्तकमैयाको पुनःस्थापना गर्ने बाँकी रहेको बताउनुभयो । प्रदेशमा झण्डै १२ हजार मुक्तकमैया परिवार छन् । टीकापुरमा मात्रै करिब ६ सय परिवार पुनःस्थापनाको पर्खाइमा छन् । मुक्तकमैया व्यवस्थापन गर्न तीनै तहको सरकारसँग समन्वय र सहकार्य गर्दै आएका सचिव चौधरीले बताउनुभयो ।
“राज्यले घोषणा गरेअनुसार सबै मुक्तकमैयाको व्यवस्थापन यथाशीघ्र हुनुुपर्छ”, उहाँले भन्नुभयो । शैलालीका ११ स्थानीय तहमा र कञ्चनपुरमा ६ स्थानीय तहमा मुक्तकमैया परिवारको बसोबास छ । कमैया मुक्तिको घोषणा भएको दिन स्थानीय तहले सार्वजनिक बिदा दिने गरेका छन् । मुक्तकमैया दिवसको अवसर पारेर टीकापुर नगरपालिका, भजनी नगरपालिका, जानकी गाउँपालिका, जोशीपुर गाउँपालिका, कैलारी गाउँपालिकालगायत स्थानीय तहले आज सार्वजनिक बिदा दिएका छन् ।
मुगुको दार्मा केन्द्रबिन्दु भएर भूकम्प
काठमाडौँ, २ साउन I मुगु जिल्लाको दार्मा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार मुगुको दार्मा आसपास केन्द्रबिन्दु भएर आज बिहान ४ बजेर ४० मिनेटमा तीन दशमलव नौ रेक्टरस्केलको भूकम्प गएको हो ।
यस अघि गत असार २६ गते नेपालको पूर्वी पहाडी जिल्ला ताप्लेजुङको तापेथोक केन्द्रबिन्दु भएर भूकम्प गएको थियो । नेपालमा पछिल्लो समय साना भूकम्प जाने क्रम जारी छ ।
परराष्ट्रमन्त्री राणासँग भारतीय राजदूत श्रीवास्तवको शिष्टाचार भेट
काठमाडौँ, १ साउन I परराष्ट्रमन्त्री डा आरजु राणासँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच नेपाल–भारत सम्बन्धका विविध विषयमा छलफल भएको छ । त्यसक्रममा नेपाल–भारत द्विपक्षीय हित, परराष्ट्र सम्बन्ध र जनस्तरको सम्बन्धका विविध आयामबारे छलफल भएको मन्त्री डा राणाको सचिवालयले जनाएको छ । भेटमा राजदूत श्रीवास्तवले परराष्ट्रमन्त्री राणालाई बधाई दिनुहुँदै कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नु थियो ।परराष्ट्रमन्त्री डा राणाले सोमबार पद तथा गोपनियताको सपथसँगै पदबहाली गर्नुभएको हो ।
बिग्रिएको सम्बन्ध पुनःस्थापना गर्न ईयू र बेलायतबिच वार्ता
ब्रसेल्स, बेल्जियम, १ साउन I बेलायतमा नयाँ सरकार गठन भएसँगै ब्रेक्जिटपछि खस्किएको युरोपेली सङ्घ (ईयू) र बेलायतबीच सम्बन्ध पुनःस्थापना गर्ने उदेश्यले दुई पक्षका शीर्ष अधिकारीहरूले सोमबार ब्रसेल्समा पहिलोपटक वार्ता गरेका छन् । बेलायतका नवनिर्वाचित प्रधानमन्त्री केइर स्टारमरले युरोपेली सङ्घसँगको वर्षौंदेखि विवादित रहेको सम्बन्धलाई सुधार्ने वाचा गर्नुभएको छ ।
यसै सन्दर्भमा ईयू सम्बन्धका लागी बेलायतका मन्त्री निक थोमस–साइमन्ड्सले ईयूका मारोस सेफकोभिकसँग वार्ता गर्नुभएको हो । “हामीले सम्बन्ध पुनस्थापना गर्ने कुरा गर्दा सुरक्षित र अधिक समृद्ध युरोप सिर्जना गर्न सुरक्षा र आर्थिक सहयोगलाई सुदृढ पार्ने बारेमा छलफल गर्यौं ”, थोमस–साइमन्ड्सले समाजिक सञ्जाल एक्समार्फत बताउनुभयो । सेफकोभिकले बैठकलाई रचनात्मक भएको बताउनुभयो । “हाम्रो सहकार्यको लागि तत्पर छौँ”, उहाँले भन्नुभयो ।
बेलायतका नयाँ प्रधानमन्त्रीले युरोपेली सङ्घसँगको व्यापार द्वन्द्व कम गर्ने वाचा गर्नुभएको छ । तर आफ्नो सरकारले ब्रेक्सिटलाई नउल्टाउने र युरोपेली एकल बजारको हिस्सा नबन्ने कुरामा अडिग रहेको जानकारी दिनुभयो ।
युरोपियन सङ्घले सम्बन्ध सुधारको उदेश्यले लन्डनबाट आएको प्रस्तावमा विचार गर्न इच्छुक रहेको बताएको छ । साथै बेलायतलाई सङ्घबाट बाहिर निस्कन कठिन ढङ्गले भएको वार्ताका सम्झौताहरू पुनः खोल्न इच्छुक नरहेको जनाएको छ । प्रधानमन्त्री स्टारमरले बिहीबार बेलायतको ब्लेनहेम प्यालेसमा हुने बैठकमा युरोपभरका नेताहरूलाई आमन्त्रित गर्नुभएको छ । उक्त सम्मेलनले नयाँ प्रधानमन्त्रीलाई युरोपेली सङ्घका समकक्षीहरूसँग आफ्ना विचारहरू प्रस्तुत गर्ने प्रमुख मञ्च प्रदान गर्नेछ । -रासस / एएफपी
लोक-संस्कृति र साहित्यिले राष्ट्रिय एकता र सामाजिक सद्भावलाई सुदृढ बनाउछः राष्ट्रपति
काठमाडौँ, १ साउन I राष्ट्रपति रामचन्द्र पौडेलले लोक-संस्कृति र साहित्यिक जगतले हाम्रो राष्ट्रिय एकता र सामाजिक सद्भावलाई सुदृढ तुल्याउन योगदान दिएको बताउनुभएको छ ।धर्मराज–सावित्री थापा प्रतिष्ठानद्वारा आज राष्ट्रपति भवन शितल निवासमा आयोजित जनकविकेशरी धर्मराज थापाको १००औँ जन्मजयन्ती तथा पुरस्कार वितरणका अवजसरमा उहाँले नेपालको गरिमा अभिवृद्धिमा स्रष्टा र साहित्यकारहरूको योगदान महत्वपूर्ण रहेको विचार व्यक्त गर्नुभयो ।
“लोक कलाकार तथा लोक–संस्कृतिकर्मी राष्ट्रका गहना हुन्, लोक–साहित्यकार, संस्कृतिविद् र कलाकारको चेतना राष्ट्रको चेतना हो, सिर्जनाको उपलब्धि राजनीतिक चेतनाभन्दा माथि उठ्छ”, उहाँले भन्नुभयो ।
नेपाल विभिन्न जातजाति, भाषाभाषी, संस्कृति तथा भौगोलिक विविधतायुक्त देश हो भन्दै राष्ट्रपति पौडेलले विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यवद्धता, सहिष्णुता र सद्भाव हाम्रो विशेषता हो भन्नुभयो ।
“हाम्रो भाषा, संस्कृति, साहित्य, इतिहास र परम्परा हाम्रा अमूल्य निधि हुन्, यसैको विकास, संरक्षण र प्रवद्र्धनसँगै नेपालको राष्ट्रिय एकतालाई अझै सुदृढ र जीवन्त बनाएर नेपालीपनको मौलिक परिचय दिनु आजको आवश्यकता हो भन्ने मलाई लाग्दछ”, राष्ट्रपति पौडेलले भन्नुभयो ।
नेपाली लोकजीवन, मनोभावना र नेपाली माटोको मर्मलाई गीत, संगीत र साहित्यका माध्यमबाट नेपाली वाङ्मयको श्रीवृद्धिमा जनकविकेशरी धर्मराज थापाको विशिष्ट योगदान रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले नेपाली लोकसाहित्यको अध्ययन, अन्वेषण, संरक्षण र प्रवद्र्धनमा उहाँको योगदान नेपाल र नेपालीले कहिल्यै विर्सने छैनन् भन्नुभयो । यस्ता कार्यक्रमले आफ्नो साधनामा समर्पित प्रतिभालाई समाज र राष्ट्रको विकासमा अघि बढ्न प्रेरणा प्रदान गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
त्यस अवसरमा संस्कृति पर्यटन मन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन तथा नागरिक उड्ययन मन्त्री बद्री पाण्डेले नेपालको संस्कृति नेपाली समाजको प्राण भएको बताउनुभयो । उहाँले धर्मराज थापाका गीतले नेपालको भाषा र लोक संस्कृतिको प्रवद्र्धनका सार्थ नेपाली लोक संस्कृतिलाई विश्वभर पहिचानमा टेवा पुगेको बताउनुभयो ।
“गायक थापाका गीतले राष्ट्रभावका साथ नेपालको त्यो बेलाको कृषिमा आधारित अर्थतन्त्र र नेपाली राष्ट्रवादको व्याख्या गरिएको छ । जसले विश्वभरका नेपालीहरूलाई समेटेको छ’’, मन्त्री पाण्डेले भन्नुभयो ।
उक्त अवसरमा वरिष्ठ साहित्यकार वैरागी काँईलाले गायक थापाले राष्ट्रभावलाई केन्द्रमा लोक गीत र लोक साहित्यको पहिचान र प्रवद्र्धनमा महत्वपुर्ण योगदान गरेको बताउनुभयो ।
संस्कृतिविद् डा जगमान गुरुङले नेपाली समाज र संस्कृतिमा सामाजिक सद्भाव रहेको भन्दै नेपालको भाषा र संस्कृतिको संरक्षणमा राज्यले विशेष ध्यान दिनुपर्ने खाँचो औँल्याउनुभयो ।
प्रा डा प्राध्यापक अभि सुवेदीले लोक साहित्य र संस्कृतिलाई विश्वभर पु¥याउन महत्वपुर्ण योगदान रहेको बताउनुभयो । प्रतिष्ठानका अध्यक्ष मदनराज थापाले नेपाली वाङ्मयको उत्थान प्रवद्र्धनका साथै स्रष्टाको सम्मानमा प्रतिष्ठानले भूमिका खेल्दै आएको बताउनुभयो ।
सो अवसरमा राष्ट्रपति पौडेलले रु ५० हजार राशिको धर्मराज सावित्री थापा लोकसंस्कृति साहित्य पुरस्कार २०८० साहित्यकार वैरागी काँइला र धर्मराज सावित्री थापा लोकगीत सङ्गीत पुरस्कार एलपी जोशीलाई प्रदान गर्नुभयो ।