‘रेडक्रसको छवि कमजोर पार्न र भ्रम सिर्जना गर्न खोजियो’
काठमाडौँ, २६ असार I नेपाल रेडक्रस सोसाइटीले प्रचलित कानुनअनुसार रक्त सञ्चार सेवा र संस्थागत सुशासनका गतिविधि अघि बढाइएको स्पष्ट पारेको छ । समाज कल्याण परिषद्को छानबिन प्रतिवेदनको सन्दर्भ उल्लेख गरी प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै रेडक्रसले मानवीय सेवाका क्षेत्रमा क्रियाशील संस्थाको छवि कमजोर पार्ने र भ्रम सिर्जना गर्ने प्रयास भइरहेको जनाएको छ ।
रेडक्रसको केन्द्रीय कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रा सुदर्शनप्रसाद नेपालले वर्तमान कार्यसमितिले रक्तसञ्चार सेवा र संस्थागत सुशासनको सम्बन्धमा थालनी गरेका सकारात्मक कदमप्रति नियोजित र प्रायोजित ढङ्गबाट दुष्प्रचार गरिएको दाबी गर्नुभयो ।
“नेपाल रेडक्रस सोसाइटीमाथि छानबिन गर्ने बहानामा कपोलकल्पित, मिथ्यापूर्ण तथ्य सिर्जना गरी कारबाहीको त्रास देखाउने काम प्रचलित कानुन विपरीत छन्”, उहाँले भन्नुभयो, “छानबिन समितिको आन्तरिक प्रतिवेदन रेडक्रसलाई प्राप्त नहुँदै विभिन्न पत्रपत्रिकामा प्रकाशित हुँदा आश्चर्यचकित भएका छौँ ।”
राजनीतिक हस्तक्षेप र लामो समय केन्द्रीय कार्यसमितिको अनुपस्थिति नहोस् भनी देशभरका रेडक्रसकर्मीको सहभागितामा विधिसम्मत वर्तमान कार्यसमिति चयन भएको जानकारी दिँदै उहाँले केही व्यक्तिले रेडक्रसको छवि बदनाम गराउने प्रयत्न गरेकामा चिन्ता व्यक्त गर्नुभयो ।
“वर्तमान केन्द्रीय कार्यसमिति मुलुकको कानुन, विधि, विधान र नियमभित्र रही मानवीय सेवामा तल्लीन छ”, अध्यक्ष नेपालले भन्नुभयो, “करचुक्ता, संस्था दर्ता नवीकरण, मानवीय सेवा र विपद् प्रतिकार्यका विभिन्न परियोजना व्यवस्थित गर्न कार्यसमिति सक्षम छ ।” उहाँले विद्यमान कार्यसमिति पारदर्शीता, जवाफदेहिता, आर्थिक अनुसशासन र सेवाको गुणस्तर पालना गर्न गराउन प्रतिबद्ध रहेको बताउनुभयो ।
नेपाल रेडक्रसका महामन्त्री भूपतिलाल श्रेष्ठले विश्व स्वास्थ्य सङ्गठन तथा अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडिए)लगायत गुणस्तर मापन गर्ने निकायमा सूचीकृत रिएजेन्ट, परीक्षण र उपकरणको प्रयोगबाट रक्तसञ्चार सेवा प्रवाह हुँदै आएको जानकारी दिनुभयो ।
उहाँले राष्ट्रिय रक्तसञ्चार नीति, २०७१ मा उल्लेख भएअनुसार रक्तदाताको छनोट, रक्तदान प्रक्रिया, रक्तसङ्क्रमण परीक्षण, उपकरणको मर्मतसम्भार र फोहर व्यवस्थापनका मापदण्ड पालना गरिएको स्पष्ट पार्नुभयो । रेडक्रसले उपलब्ध गराउने रगतमा कुनै प्रकारको कमीकमजोरी नरहेको उहाँको भनाइ थियो ।
नेपाल रेडक्रस अन्तर्राष्टिय रेडक्रस तथा रेडक्रिसेन्ट अभियानको अङ्गका रुपमा विसं २०२० मा स्थापना भई मानवीय सेवाका क्षेत्रमा सरकारको सहयोगीका रुपमा कार्यरत छ ।
घट्दो जनसङ्ख्या र बढ्दो बसाइसराइँले सयभन्दा कम विद्यार्थी भएका विद्यालय सङ्ख्या बढे
काठमाडौँ, २६ असार I घट्दो जनसङ्ख्या, बढ्दो बसाइसराइँ र सहरी क्षेत्रमा निजी विद्यालयको प्रभावसँगै मुलुकका पचास प्रतिशतभन्दा बढी सामुदायिक विद्यालयमा सयभन्दा कम विद्यार्थी हुन पुगेका छन् । सार्वजनिक शिक्षाको सुधारका लागि सरकारी र गैह्रसरकारी क्षेत्रबाट पहल जारी रहे पनि कूल सामुदायिक (सरकारी) विद्यालयमध्ये आधाभन्दा बढीमा सयभन्दा कम विद्यार्थी देखिएका हुन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हालै सार्वजनिक गरेको शैक्षिक सूचना, २०८० मा सयभन्दा कम विद्यार्थी भएका सामुदायिक विद्यालयको सङ्ख्या १५ हजार नौ सय ६५ उल्लेख छ । उक्त सङ्ख्या कूल सामुदायिक विद्यालयको सङ्ख्या (२७ हजार नौ सय ९०) को ५७ दशमलव ०३ प्रतिशत हो । आर्थिक वर्ष २०७६÷७७ मा सयभन्दा कम भएका सामुदायिक विद्यालयको सङ्ख्या १४ हजार रहेकामा विद्यालय समायोजन (मर्ज) को नीतिसमेत सञ्चालन भएको स्थितिमा हाल कम विद्यार्थी भएका विद्यालयको सङ्ख्या झन् बढेको देखिएको छ ।
सयदेखि पाँच सयसम्म विद्यार्थी भएका सामुदायिक विद्यालय नौ हजार सात सय चार, पाँच सय एकदेखि एक हजारसम्म विद्यार्थी भएका सामुदायिक विद्यालय एक हजार छ सय ३६, एक हजार एकदेखि १५ सयसम्म विद्यार्थी भएका सामुदायिक विद्यालय चार सय नौ, १५ सय एकदेखि दुई हजारसम्म विद्यार्थी भएका सामुदायिक विद्यालय एक सय ३६ र दुई हजारभन्दा बढी विद्यार्थी भएका सामुदायिक विद्यालयको सङ्ख्या मात्र सय रहेको छ । हाल २७ हजार नौ सय ९० सामुदायिक र सात हजार आठ सय ८६ संस्थागत (निजी) गरी कूल ३५ हजार आठ सय ७६ विद्यालय (आधारभूत तहदेखि कक्षा १२ सम्म) छन् । विसं २०७९ मा सामुदायिक, संस्थागत र धार्मिक विद्यालय गरी ३६ हजार पाँच सय दुई विद्यालय रहेका थिए ।
शिक्षा, विकास तथा मानव स्रोत विकास केन्द्रको आँकडा अनुसार २०८० सालमा सामुदायिक र संस्थागत दुवैमा गरी आधारभूत तह कक्षा ५ सम्म १७ हजार छ सय १७, आधारभूत तह कक्षा ८ सम्म छ हजार सात सय ६७, माध्यमिक तह कक्षा १० सम्म छ हजार छ सय ७२ र माध्यमिक तह कक्षा १२ सम्म चार हजार आठ सय २० विद्यालय रहेका छन् । केन्द्रका महानिर्देशक दीपक शर्मा जन्मदर कम हुँदै जानु, सहरी क्षेत्रमा संस्थागत (निजी) विद्यालयका विद्यार्थी बढ्नु र ग्रामीण क्षेत्रबाट नागरिकको सहरी क्षेत्रमा बसाइँसराइ बढ्नुले धेरै सामुदायिक विद्यालयमा विद्यार्थी कम भएको बताउनुहुन्छ ।
दोलखाको रोल्वालिङमा ११ परिवार मात्रै रहेको र त्यहाँ आठजना मात्रै विद्यालय उमेरका बालबालिका रहेको स्थितिमा त्यहाँको प्राथमिक विद्यालय बन्द वा समायोजन गराउने हो भने त्यहाँका बालबालिका अर्काे गाउँको विद्यालयमा पुग्न दुई घन्टासम्म हिँडेर जानुपर्ने अवस्था रहेको बारेमा पनि सोच्नुपर्ने उहाँको भनाइ छ । विद्यालय समायोजन नीतिमा आधा घन्टाभन्दा कम पैद दूरीमा पर्ने सामुदायिक विद्यालयमा १५ भन्दा कम विद्यार्थी भएमा नजिकैको विद्यालयमा मर्ज गर्नुपर्ने व्यवस्था रहेको छ ।
निःशुल्क तथा अनिवार्य शिक्षा ऐन, २०७५ ले बालबालिकालाई आधारभूत तहसम्म पायकपर्ने विद्यालयमा निःशुल्क शिक्षा दिनुपर्ने भएकाले न्यून विद्यार्थी भए पनि दुर्गम गाउँका विद्यालयलाई कायम गरिएको महानिर्देशक शर्माले बताउनुभयो । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सामुदायिक विद्यालयमा प्राविधिक धारका कार्यक्रमको नक्शाङ्कन गरी पुनःसंरचना गर्ने, विद्यालयमा प्राविधिक धारका कार्यक्रम सञ्चालन गर्न स्थानीय तहलाई प्रोत्साहित गर्ने, विभिन्न क्षेत्रमा सीप विकासका लागि दस कक्षा उत्तीर्ण विद्यार्थीका लागि विशेष कार्यक्रम लागू गर्ने योजना छ ।
नीति तथा कार्यक्रममा शिक्षा प्रणालीमा परिमार्जन गर्ने लक्ष्य लिएको यस नीति तथा कार्यक्रममा ज्येष्ठ नागरिकबाट नयाँ पुस्ताका बालबालिका तथा युवावर्गमा ज्ञान, सीप तथा अनुभव पुस्तान्तरण गर्न आवश्यक प्रबन्ध गरिने र विद्यालय शिक्षालाई प्रविधिमैत्री बनाइ शिक्षण सिकाइमा रहेको असमानता कम गर्न र गुणस्तरीय शिक्षामा सबैको पहुँच वृद्धि गर्न ‘एक पालिका एक स्मार्ट विद्यालय’ अवधारणा कार्यान्वयनमा ल्याइने उल्लेख छ ।
पुस्तक समीक्षा : अमेरिका जान चाहनेलाई उपयोगी पुस्तक ‘सपना र यथार्थमा अमेरिका’
काठमाडौँ, २६ असार I विपन्न र अविकसित देशका नागरिकका लागि सपनाको काल्पनिक संसार स्वर्गजस्तो लाग्ने अमेरिकाका बारेमा एउटा दृष्टिविहीनले हात्ती छामेजस्तो फरकफरक चर्चा र व्याख्या हुने गर्दछ । विश्व मानचित्रमा जनसङ्ख्या र भूगोलमा तेस्रो ठूलो देश अमेरिका पाँच सय वर्षको इतिहासमा अनेक आरोहअवरोह पार गर्दै विश्वको महाशक्ति राष्ट्र बनेको छ । करिब सात दशकदेखि धेरै नेपालीको गन्तव्य बनेको अमेरिका पछिल्लो दुई दशकयता झनै बढी आकर्षणको केन्द्र बनेको छ । एकातिर उच्चशिक्षाको अवसरमा जानेखोजिरहेका छन्भने अमेरिकाले डिभी योजना चलाएपछि भाग्यवश धेरै नेपाली यस ढोकाबाट पनि तानिएका छन् ।
अमेरिका जाने र सुन्दर भविष्यको सपना देख्ने नेपालीहरुको भीडमध्येका एक हुन्ुहुन्छ सानबाबु सिलवाल । लामो समय नेपालमा पत्रकारिता क्षेत्रमा कलम चलाउँदै आउनुभएका उहाँले सन् २००५ देखि अमेरिकालाई आफ्नो कर्मथलो बनाउनु भएको छ ।अमेरिकामा रहँदा आफूले खाएका अनेक हण्डरहरुको चर्चा मात्र गर्नुभएको छैन, भविष्यमा कसैले त्यस्तो अवस्थासँग जुध्न नपरोस् भनेर बाटो देखाउने काम ‘सपना र यथार्थमा अमेरिकामा’ नामक पुस्तकमार्फत गर्नुभएको छ ।
पुस्तक दुई सय ८३ पृष्ठको र नौ एकाइमा विभक्त रहेको छ । पुस्तकमा आर्थिक धरातलमा रहेर अमेरिकालाई चिनाउँदै अमेरिकामा रहेका नेपालीहरूको अनुभव, अमेरिकामा नयाँ जीवन सुरु गर्ने मार्गनिर्देशन, त्यहाँ उपलब्ध अवसरहरू, मुद्रा व्यवस्थापन, करलगायत विषयहरू समेटिएका छन् । पुस्तकमा अमेरिकी कानुनसम्बद्ध केही मुद्दाहरू, सडक सुरक्षा र नियमका प्रसङ्गहरु, संयुक्त राज्य अमेरिका र नेपालबीचको सम्बधजस्ता विविध विषयका बारेमा पनि जानकारी गराइएको छ ।
पुस्तकमा संयुक्त राज्य अमेरिकाको परिचय, अमेरिकामा नेपालीहरूको अवस्था, अमेरिकी जीवन प्रारम्भका लागि सुझावहरू, अमेरिकामा अवसर, कर प्रणाली, कानुनसम्बन्धी कुराहरू, सडक सुरक्षा र नियम, नेपालसँग अन्तरसम्बन्धलगायत विभिन्न विषय समावेश गरिएको छ । कृतिमा अमेरिकी कानुन, यातायात, पर्यटन, न्यायालय, अर्थ व्यवस्थाको व्याख्या गरिएकाले अमेरिकी समाजबारे धेरै जानकारी पाउन सकिन्छ ।
विश्वका धेरै मानिसका निम्ति अमेरिका सपनाको देश बनेको छ र अमेरिका पुग्न सक्नुलाई मात्र पनि ठूलो सफलता ठान्नेहरूको नेपाली समाजमा झनै बढी रहेको छ । समृद्धिको सपना देखेर प्रवासमा हाम्फालेका जो कसैले पनि यस पुस्तकबाट लाभ लिन सक्नेछन् । अमेरिकी भूमिका सङ्घर्ष गरिरहेका नेपालीलाई पुस्तकले बाटो देखाएको छ । केही न केही आफूले निरन्तर मिहिनेत र सङ्घर्ष गरेर व्यावसायिक सफलतातिर उन्मुख भएको र यो क्रममा आफ्ना प्रेरणाका स्रोतहरुको उल्लेख गर्नुभएको छ ।
पुस्तकको बारेमा भूमिका लेख्नुभएका वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले मूलतः अमेरिका जाने सोच बनाउनुअघि यो कृतिका प्रत्येक अक्षर, शब्द, आशय अध्ययन गर्नु र अमेरिका पुगेपछि गहिरोसँग मनन गर्नु जरुरी छ भन्दै पुस्तकको महत्वलाई उजागर गर्नुभएको छ । यो पुस्तक अमेरिकामा रहेका हुन् वा भविष्यमा अमेरिकाको सपना देखेका नेपाली हुन् सबैका लागि ‘डिस्नेरी’ बन्न सक्छ भन्ने उहाँको भनाइ छ । त्यस्तै अर्का वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठीले पनि आफ्नो भूमिकामा अमेरिकालाई नेपालीमा बुझ्न चाहनेहरुका निम्ति पुस्तक अत्यन्तै उपयोगी रहेको उल्लेख गर्नुभएको छ । गैरआवासीय नेपाली सङ्घका पूर्वअध्यक्ष जीवा लामिछानेले अमेरिकी समाजलाई लक्षित गरेर लेखिएको भए पनि अन्य क्षेत्रका मानिसका लागि समेत उत्तिकै उपयोगी हुनसक्ने विश्वास व्यक्त गर्नुभएको छ ।
गीता सिलवालले प्रकाशन गरेको पुस्तकको मूल्य पाँच सय रुपैयाँ रहेको छ । पुस्तक बिक्रीबाट आएको आम्दानीले लेखकले विपन्नहरुको निःशुल्क उपचारमा योगदान गर्न चाहनुभएको छ । समाजसेवामा अभिरुचि राख्ने लेखक अमेरिकामा रहँदा दुःखमा परेका नेपालीहरूलाई सहयोग गर्ने र मातृभूमिप्रति पनि उत्तिकै चिन्तित रहनुभएको पुस्तक पढ्दा धेरै दृष्टान्तहरुबाट थाहा हुन्छ । हालै राजधानमीमा आयोजित एक कार्यक्रममा पुस्तकको विमोचन गर्दै मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले सत्कर्म, सत्प्रयास, सत्चरित्रबाट नै मानिस सफल हुने बताउँदै अमेरिकामा रहेर पनि नेपाल र नेपालीप्रति चिन्ता राख्ने, नेपालीको भलाइका लागि लागिपर्ने लेखकको प्रशंसा गर्नुभयोे ।
लेखक सिलवालले पुस्तकमा आफ्नो भनाइ राख्दै अमेरिका बसिरहेका, यहाँ आउँदै गरेका र भविष्यमा आउने सोच बनाएका नेपाली अमेरिकी र नेपालीलाई लक्षित गरी आफ्ना अनुभवहरुसमेत बाँड्ने उद्देश्यले पुस्तक लेखेको बताउनुहुन्छ । अवसरको खोजी गर्दै अमेरिका पुगेका तर चुनौती सामना गरिरहेका नेपालीलाई मार्गदर्शन र सहयोग गर्ने आफ्नो उद्देश्य रहेको बताउनुहुन्छ । उहाँले अमेरिकामा समस्या अप्ठेरोमा रहेका नेपालीलाई सहयोग गर्न आफू निरन्तर लागिपरेको बताउँदै आफूलाई राती, बिहान दिउँसो हरेक क्षण समस्यामा परेका नेपालीको फोन आउने गरेको र आफू समाधानका लागि निरन्तर लागिरहेको कुरा पनि पुस्तकमा उल्लेख गर्नुभएको छ । हाल अमेरिकामा रहेका झन्डै पाँच लाख रहेका छन् ।
नेप्से परिसूचक २३ दशमलव २५ अङ्कले बढ्यो
काठमाडौँ, २६ असार I नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २३ दशमलव २५ अङ्कले बढेको छ । आज नेप्से परिसूचक एक दशमलव ०८ प्रतिशतले बढेर दुई हजार एक सय ७५ दशमलव ४० को बिन्दुमा कायम भएको हो ।
आज तीन सय २२ कम्पनीको एक करोड ५२ लाख ९६ हजार सात सय ३९ कित्ता शेयर ७२ हजार सात सय १४ पटक खरिदबिक्री हुँदा रु पाँच अर्ब ७४ करोड ४० लाख ८३ हजार बराबरको कारोबार भएको छ । विकास बैंक समूह शून्य दशमलव २९ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै बैकिङ समूह एक दशमलव ६९ प्रतिशतले बढेको छ ।
आजको कारोबारमा १० दशमलव २५ प्रतिशत एसबिएल डिबेञ्चर–२०८३ को शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने बुद्धभूमि नेपाल हाईड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हाथवे इन्भेस्टमेन्ट नेपाल लिमिटेडको रु १५ करोड आठ लाख ९९ हजार आठ सय ५९ बराबरको शेयर कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने लक्ष्मी उन्नती कोषको दश लाख सात हजार तीन सय ५० कित्ता शेयर किनबेच भएको छ ।
संविधान संशोधन गर्न आयोग बनाउने सहमति नभएको अध्यक्ष ओलीको स्पष्टोक्ति
काठमाडौँ, २६ असार I नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधान कार्यान्वयनको प्रक्रियामा आवश्यकताअनुसार संशोधन गर्दै जानुपर्ने बताउनुभएको छ । पार्टीको सचिवालय बैठकमा अध्यक्ष ओलीले नेपाली कांग्रेससँग पनि यसै विषयमा छलफल भएको तर, संविधानका यी धारा र यी विषयमा परिवर्तन गर्ने भन्ने बारेका कुनै सहमति नभएको प्रष्ट पार्नुभयो । संविधान संशोधनको लागि आयोग बनाउने सहमति पनि नभएको उहाँले बताउनुभयो ।
अध्यक्ष ओलीले एमाले र कांग्रेसबीचको समीकरण राजनीतिक स्थायित्व र विकासको लागि भएको बताउनुभयो । एमाले र कांग्रेस मिलेर संविधान र व्यवस्था नै समाप्त पार्न लागेको भ्रामक प्रचारप्रति उहाँले आपत्ति जनाउनुभयो । प्रदेशहरूमा महिना–महिनामा सरकार फेरिने स्थिति बनेका मापनि उहाँले चिन्ता व्यक्त गर्नुभयो ।
अध्यक्ष ओलीको सचिवालयका अनुसार निजी र दलगत स्वार्थलाई केन्द्रमा राखेर गतिविधि सञ्चालन गर्ने, देशको विकास निर्माण र जनताका कामलाई केन्द्रमा नराख्ने र अस्थिरतामा रमाउने प्रवृत्तिका विरुद्ध कांग्रेस–एमाले एक ठाउँमा आउनु परेको उहाँले प्रष्ट पार्नुभयो । “संविधान एउटा गतिशील दस्ताबेज हो, समाजको पथ प्रदर्शक हो, समाजलाई डो¥याउने मूल कानुन हो, यो मूल कानुन समय अनुकूल परिवर्तित, परिमार्जित हुँदै जानु उपयुक्त हुन्छ”, उहाँले भन्नुभयो,“त्यसैले कतिपय कुरामा संविधान संशोधन गर्नुपर्छ भनेर भनेको हो । त्यसबारेमा विस्तृतमा पछि छलफल हुनेछ । अहिले धेरै कुरा बजारमा आएको बताउँदै अध्यक्ष ओलीले कांग्रेससँग यस विषयमा डिटेलमा कुनै कुरा नभएको स्पष्ट पार्नुभयो ।
मन्त्रालय बाँडफाँट भएको छैन
उहाँले कांग्रेस र एमालेबीच मन्त्रालय बाँडफाँट नभएको बताउनुभयो । सरकारमा सबैदललाई स्थान दिने भन्ने विषयमा भने सहमति भएको उहाँले जानकारी दिनुभयो । उहाँले यदि उत्पादन बढाउन नसक्ने हो भने आयात वृद्धि हुने र नेपाल परनिर्भर हुने बताउनुभयो । सबै कुरा राष्ट्रिय उत्पादनमा निर्भर हुनेमा उहाँले जोड दिनुभयो ।
उद्यमशीलता, कृषिमा आधारित उद्योग, व्यावसायिकता, आधुनिकीकरण र यान्त्रिकीरणमा ध्यान दिनु, उत्पादनका लागि प्रविधिमा जोड दिनु आजको आवश्यकता भएको अध्यक्ष ओलीले बताउनुभयो ।
“सडक, पूर्वाधार, विद्युत्, सञ्चारलगायत क्षेत्रका आधारभूत काम भएका छन् , अब शिक्षालाई व्यवहारमुखी बनाउने तर्फ लाग्नुपर्छ । कृषि क्षेत्रको विकासका लागि विशेष कार्यक्रम बनाउन आवश्यक छ,” अध्यक्ष ओलीले भन्नुभयो ।
विपक्षमा मतदान गर्न एमालेको व्हीप
काठमाडौँ, २६ असार I नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टीका सम्पूर्ण प्रतिनिधिसभा सदस्यलाई यही असार २८ गतेको प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित भई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गर्ने विश्वासको प्रस्तावको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ । एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौला आज सो व्हीप जारी गर्नुभएको हो ।
भारतमा यात्रु बहाक बस र दुध ट्याङ्कर ठोक्किँदा १८ जनाको मृत्यु
नयाँदिल्ली, २६ असार I उत्तरी भारतीय राज्य उत्तर प्रदेशमा बुधबार यात्रु बहाक डबल डेकर बस दुध ट्याङ्करमा ठोक्किएर दुर्घटना पछि कम्तीमा १८ जनाको मृत्यु हुनुका साथै अन्य १९ जना घाइते भएको प्रहरीले जनाएको छ ।
उत्तर प्रदेशको राजधानी लखनऊबाट करिब ६८ किलोमिटर पश्चिममा उन्नाओ जिल्लाको गाढा गाउँ नजिकैको लखनऊ–आगरा एक्सप्रेस वेमा दुर्घटना भएको हो ।
प्रहरीका अनुसार बिहारको सीतामढीबाट दिल्ली जाँदै गरेको डबल डेकर बसले पछाडिबाट दुधको कन्टेनरमा ठोक्किएपछि दुर्घटना भएको हो ।
बुधबार बिहान ५ः१५ बिहारको मोतिहारीबाट आउँदै गरेको निजी यात्रु बस यहाँ राष्ट्रिय राजमार्गमा दूध ट्याङ्करसँग ठोक्किएको हो । दुर्घटनामा १८ जनाको ज्यान गएको र अन्य १९ जना घाइते भएका उन्नाओ जिल्ला मजिस्ट्रेट गौराङ राठीले मिडियालाई बताउनुभएको छ । प्रारम्भिक अनुसन्धानले बस अत्यधिक गतिमा रहेको औंल्याएको छ ।
घाइतेहरूको नजिकको स्वास्थ्य केन्द्रमा उपचार भइरहेको र पछि जिल्ला अस्पतालमा रेफर् गरिएको राठीले बताउनुभयो ।
दुर्घटनालगत्तै स्थानीयले प्रहरीलार्ई सुचना गरे पछि घाइतेहरूलाई अस्पताल पुरÞ्याउन उद्धार टोली र एम्बुलेन्सहरू घटनास्थलमा पुगेका थिए ।
घटनास्थलमा पुग्दासम्म केही स्थानीयले घाइतेलाई क्षतिग्रस्त बसबाट बाहिर निस्कन मद्दत गरिरहेको एक प्रहरी अधिकारीले बताउनुभयो । क्षतिग्रस्त बस र दुध ट्याङ्करलाई क्रेन प्रयोग गरेर सडकबाट निकालिएको छ ।
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै घाइतेको उचित उपचार सुनिश्चित गर्न अधिकारीलाई निर्देशन दिनुभएको छ ।
प्रहरीले मुद्दा दर्ता गरी दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धानको आदेश दिएको छ ।
भारतमा हरेक वर्ष लगभग पाँच लाख सडक दुर्घटनामा एक लाख ५० हजार मानिसहरूको मृत्यु हुने अधिकारीले बताएका छन् ।-रासस/सिन्ह्वा
अविरल वर्षा हुँदा भोजपुरमा सडक भासियो
भोजपुर, २६ असार I अविरल वर्षाका कारण मध्यपहाडी लोकमार्ग अन्तर्गत टेम्केमैयुङ गाउँपालिका– ३ मेस्पाङामा सडक भासिएको छ । भोजपुर –चखेवा सडक खण्डको मेस्पाङ भन्ने स्थानमा करिब ६० मिटर सडक भासिएको हो ।
कालोपत्र गरिएको सडक भासिएपछि यातायातका साधन रोकिएका टेम्केमैयुङ गाउँपालिकाकी उपाध्यक्ष रमादेवी राईले बताउनुभयो । उक्त स्थानमा आज बिहान सडक भासिएको हो । “वर्षाका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत मेस्पाङमा सडक भासिएको छ”, उपाध्यक्ष राईले भन्नुभयो,“सडकमा ठूलो क्षति भएको छ । यसरी नै निरन्तर वर्षा भयोभने अझ बढी क्षति हुनसक्छ ।”
बेलौरीका बाढी प्रभावित परिवार घर फर्कँदै
कञ्चनपुर, २६ असार I बेलौरी नगरपालिकामा तीन दिनअघि चौधर नदी र दोदा नदीको बाढी बस्तीमा पस्दा विस्थापनमा परेका परिवार मौसममा क्रमिक रूपमा सुधार आएपछि घर फर्कन सुरु गरेका छन् । डुबानबाट विस्थापनमा परेका एक हजार पाँच सय परिवारमध्ये दुई सय परिवार घर फर्केका छन् ।
बस्तीमा अझै डुबानकै अवस्था रहँदा एक हजार तीन सय परिवार विद्यालय, सामुदायिक भवन, धार्मिक भवनलगायत सुरक्षित स्थानमा बसेका छन् । विस्थापनमा परेका परिवारलाई नगरपालिकाले खाद्यन्न राहतका रूपमा उपलब्ध गराएको छ ।
विस्थापित भई सुरक्षित स्थानमा बसेका परिवार बसेको ठाउँमा पुगेर राहत वितरण सुरु गरिएको नगर उपप्रमुख जोगराम चौधरीले बताउनुभयो । “डुबान अझै रहेकाले हिँडेर विस्थापित परिवारसम्म पुग्न सकिने अवस्था छैन”, उहाँले भन्नुभयो, “ट्रयाक्टर मार्फत विस्थापित परिवारसम्म पुगेर राहत वितरण जारी राखेका छौँ ।” बेलडाँडीको इमलियास्थित निर्माण गरिएको माटोको बाँध भत्केर चौधर नदी नगरपालिकाको वडा नं १० को कुण्डा, बन्दाजाला, भुडा, भुडागौँडी, सडकघाट, शिवनगर वडा नं ८ को कानपुर, पिसिएन टोल, कलकत्ता, कलकत्ता बजार, पचुँइको पश्चिम टोलमा पसेको थियो । वडा नं ७ का १० घर र वडा नं २ का सात घर डुबानमा परेका थिए ।
यसैगरी, वडा नं ५ को रामनगरमा दोदा नदीको बाढीको पानी पस्दा स्थानीय बासिन्दा डुबानमा परेका थिए । बाढी अझै नघटेकाले धेरै विस्थापित परिवार सुरक्षित स्थानमा बसिरहेका छन् । घरभित्र अन्न भण्डारणका लागि राखेका माटोका भकारी (डेहरी) बाढीको पानीले भिजाउँदा फुटेका छन् । भकारी फुट्दा पूरै अन्न भिजेर कामै नलाग्ने भएको नगरउपप्रमुख चौधरीले बताउनुभयो । “भकारी फुट्दा केही अन्न भिजेर उम्रिने अवस्थामा पुगेको छ भने केही अन्न बाढीको पानीले बगाएको छ”, उहाँले भन्नुभयो । यसबाट आदिवासी जनजाति थारू समुदाय बढी प्रभावित भएका छन् । वर्षभरिका लागि खान राखेको अन्न पूरै बाढीको पानीमै विलिन भएपछि भोकमरीको अवस्था सृजना भएको उहाँले बताउनुभयो ।
धान, गहुँ, मकै, तोरी, केराउ, मुसुरो, चनालगायत अन्नसँगै घरभित्र दैनिक खानका लागि राखिएको चामल, पिठोलगायत बाढीको पानीले भिजाउँदा कामै नलाग्ने भएको छ । डुबान क्षेत्रमा सरुवा रोगको सङ्क्रमण फैलिन सक्ने अवस्थालाई मध्यनजर गरी दातृ सङ्घसंस्थासँग मद्दतका लाग गुहार मागिएको उपप्रमुख चौधरीले बताउनुभयो । स्वास्थ्य शाखाबाट पनि स्वास्थ्यकर्मीको टोलीलाई सतर्क अवस्थमा राखिएको छ । बेलडाँडी गाउँपालिका र दोधारा चाँदनी नगरपालिका बाढी प्रभावित परिवार पनि मौसममा सुधार हुन थालेपछि घर फर्कन थालेको बताइएको छ ।
दाउरा निकाल्ने क्रममा नदीले बगाउँदा बेपत्ता
तनहुँ, २६ असार I बाढीले बगाएर ल्याएको दाउरा सेतीनदीबाट झिक्ने क्रममा आज बिहान एक जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार व्यास नगरपालिका–१ भादगाउँ का ५५ वर्षका तालबहादुर थापा छाब्दीखोला दोभानमा बाढीले बगाएर ल्याएको दाउरा तान्दै गर्दा नदीमा बेपत्ता भएका हुन् ।
कार्यालयका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले थापाको खोजी जारी रहेको जानकारी दिनुभयो । बाढीले बगाएर ल्याएको दाउरा निकाल्न नदी किनार आसपासका मानिसको भीड लाग्ने गर्दछ ।
पहिराले अवरुद्व पृथ्वीराजमार्ग एकतर्फी सञ्चालन
म्याग्दे गाउँपालिका–६ मौरीओढारमा आज बिहान पहिरा खस्दा अवरुद्व पृथ्वीराजमार्गमा एकतर्फी सञ्चालनमा ल्याइएको छ । अविरल वर्षाका कारण खसेको लेदोसहितको पहिरोले राजमार्ग अवरुद्व भएको थियो । पृथ्वीराजमार्गअन्तर्गत पर्ने बन्दीपुर–५ याम्पा नजिक खसेको पहिरा पन्छाएर एकतर्फी सवारीसाधन सञ्चालनमा ल्याएको प्रहरीले जनाएको छ ।