पहिरोमा परी त्रियुगामा एकको मत्यु, दुईजना घाइते
उदयपुर (गाईघाट), २५ असार I गएरातिदेखिको निरन्तर वर्षाका कारण त्रियुगा नगरपालिका–१५ तोरीबारीमा पहिरोमा परी एकजनाको मृत्यु भएको छभने अन्य दुईजना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार आठ वर्षका रुपकला मगरको मृत्यु भएको तथा ४० वर्षीया हीरामाया मगर र निजका सात वर्षीय छोरा योगेश मगर घाइते भएका हुन् । गम्भीर भएका उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
तोरीबारीमा पहिरोले चार घर पुरेको छभने अन्य पाँच घर उच्च जोखिममा छन् ।
रास्वपाले महामन्त्रीबाट ढकाललाई हटायो
काठमाडौँ, २५ असार I राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी महामन्त्री मुकुल ढकाललाई पदबाट हटाएको छ । पार्टी केन्द्रीय समितिको आजको बैठकले पार्टी अनुशासन समितिको सिफारिसमा पार्टी केन्द्रीय सदस्य, प्रवक्ता र महामन्त्री पदबाट उहाँलाई हटाएको हो । उहाँलाई सर्वसम्मतिबाट पदमुक्त गरिएका कार्यवाहक प्रवक्ता मनिष झाले बताउनुभयो । उहाँको साधारण सदस्यता मात्र कायम गरिएको छ । पार्टी अध्यक्ष एवं उपप्रधानमन्त्री रवि लामिछानेको अध्यक्षतामा बसेको बैठकले ढकाललाई केन्द्रीय समितिको निर्णयप्रति असहमत भएमा पुनरावेदन गर्नसक्ने निर्णय गरेको छ । रास्वपाले पुनरावलोकन समिति सहमहामन्त्री विपीन आचार्यको संयोजकत्वमा गठन गरेको छ । पार्टीभित्र बोलेकै कारण महामन्त्री कारबाहीमा पर्ने कुरालाई स्वाभाविक रुपले लिन सकिन्छ र भन्ने प्रश्नमा प्रवक्ता झाले भन्नुभयो, “उहाँले राजनीतिक व्यवहार नदेखाएका कारण कारबाही गरिएको हो ।”
इलाम तथा पाँचथरका ग्रामीण क्षेत्र सम्म जोडिने फाल्गुनन्द सडक अवरुद्ध
दमक (झापा), २५ असार I बाढीपहिराका कारण दमकबाट दक्षिणी इलाम तथा पाँचथरका ग्रामीण क्षेत्रसम्म जोडिने फाल्गुनन्द सडक अवरुद्ध भएको छ । इलामको माङसेबुङ गाउँपालिका–३ स्थित बाघमारा पुल छेउमा पहिरो खसेका कारण सडक अवरुद्ध भएको माङसेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्त राईले जानकारी दिनुभयो । पहिराले बाटो अवरुद्ध गरेपछि दमकबाट छुटेका यात्रुवाहक सवारीसाधन बाटोमा रोकिएका छन् ।
माङसेबुङ पालिकाले पहिरोका कारण अवरुद्ध सडक खुलाउन स्काभेटर पठाइसकेको र अब एक–डेढ घण्टाभित्रै बाटो पूर्ववत् रुपमा सञ्चालनमा आउने अध्यक्ष राईले बताउनुभयो ।
धरान-धनकुटा सडक अवरुद्ध
धरान (सुनसरी), २५ असार I निरन्तरको वर्षाका कारण आएको बाढीपहिरोका कारण धरान–धनकुटा सडक अवरुद्ध भएको छ । धनकुटाको सागुरीगढी–६ स्थित फेदीमा पहिरो खसेपछि बिहानदेखि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राजबाबु महर्जनले जानकारी दिनुभयो ।
सो सडकखण्डमा पर्ने फेदी, घण्टे र नमस्ते झर्ना क्षेत्रमा पहिरो झरेकोले सवारी आवतजावतमा समस्या भएको उहाँले बताउनुभयो । गर्जुवा खोलाबाट आएको बाढीका कारण ढुङ्गा र माटोसहितको लेदोले सडक ढाकेको उहाँले बताउनुभयो । “बाटो खोल्ने काम भइरहेको छ, पानी परिरहेकोले कतिखेर कहाँ पहिरो झर्नसक्ने अवस्था हुनसक्ने भएकोले सजक भएर हिँड्नुपर्ने अवस्था छ”, उहाँले भन्नुभयो ।
बाढीका कारण बस्ती जोखिममा
निरन्तर वर्षासँगै आएको बाढीका कारण धरान उपमहानगरपालिका– १६ मा १० वटाभन्दा बढी घर जोखिममा परेका छन् । स्थलगत अनुगमनमा पुग्नुभएका धरान उपमहानगरपालिका– १६ का वडाध्यक्ष मुरारी भट्टराईले जोखिममा परेका दुई घरका परिवारलाई भने आफन्त र छिमेकीको पठाइएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “बाँकी परिवारलाई पनि अन्यत्र सार्ने काम जारी छ निरन्तर पानी परेकाले समस्या भएको छ ।” निरन्तरको वर्षाले पुलमा सामानय क्षति भएको छ ।
अविरल वर्षाका कारण देशका विभिन्न भागका ४१ पुल बाढीमा बगे, १० करोड बढीको क्षति
काठमाडौँ, २५ असार I अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढीपहिरोलगायत विपद्का घटनामा परेर हालसम्म ७८ जनाले ज्यान गुमाएका छ र रु १० करोडभन्दा बढीको क्षति भएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार गत जेठ २८ गतेदेखि हालसम्म देशका विभिन्न स्थानमा आएको बाढीपहिरामा परेर ७८ जनाको मृत्यु भएको हो । जेठ २८ देखि आज विहानसम्म बाढीपहिरा परेर ९० जनाघाइते र पाँचजना वेपत्ता भएका छन् ।
बाढीपहिराका कारण तीन सय ८१ पशु चौपायको मरेका, ९८ गोठमा क्षति भएको, पाँच सय ९५ घर विस्थापित भएका छन् । विपद् व्यवस्थापनका निम्ति पाँच हजार ४१ प्रहरी परिचालन गरिएको छ ।
बाढीपहिरोले एक विद्यालय र दुई सरकारी भवनमा क्षति पुगेको छ भने ४१ वटा पुल बगाएको छ । यस्तै, एक सय ६१ घर डुबानमा परेका र एक सय १६ रोपनी जग्गा पुरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
अविरल वर्षाका कारण देशभर एक हजार २८ घटना भएका र त्यसबाट रु १० करोड १८ लाख ८५ हजार सात सय बराबरको क्षति पुगेको प्रहरीले जनाएको छ । अच्युत रेग्मीशरद्
मोरङ र सुनसरीमा भारी वर्षा, सतर्क रहन अनुरोध
बेलबारी (मोरङ), २५ असार I मोरङ र सुनसरीमा राति देखिको भारी वर्षाका कारण साना खोलामा आकस्मिक बाढी आउन सक्ने हुँदा सचेत रहन जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
पछिल्लो तीन घण्टा सुनसरीको चतरा, धरान, इटहरी र मोरङका केराबारी, लेटाङ, सुन्दरहरैचा, बेलबारी आसपासमा भारी वर्षा भएको र अझ धेरै पानीपर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
सुनसरीको सेउती, सर्दु, सुनसरी खोला र मोरङको बूढीखोला, केसलिया, लोहन्द्रा, चिसाङलगायत खोलामा आकस्मिक बाढी आउनसक्ने विभागले जनाएको छ । आज मध्याह्न १२ बजेसम्म उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
तोलामा रु नौ सयले घट्यो सुनको मूल्य
काठमाडौँ, २५ असार I स्थानीय बजारमा सुन मूल्य प्रतितोला रु नौ सयले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला रु एक लाख ४५ हजारमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ४४ हजार एक सय निर्धारण भएको छ ।
यस्तै, सोमबार प्रतितोला रु एक लाख ४४ हजार तीन सयमा कारोबार भएको तेजाबी सुन आजका लागि भने रु एक लाख ४३ हजार चार सय निर्धारण भएको छ । चाँदीको मूल्य भने तोलामा रु पाँचले घटेको छ । सोमबार प्रतितोला रु एक हजार आठ सय ९० मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार आठ सय ८५ निर्धारण भएको छ I
एमाले सचिवालय बैठक बस्दै
काठमाडौँ, २५ असार I नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक बस्दैछ । पछिल्लो राजनीतिक घटनाक्रम, सरकारमा सहभागी हुने मन्त्रीको मापदण्ड र केन्द्रीय नेताहरूको कार्यविभाजन लगायत विषयमा छलफल हुने जनाइएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठक आज दिउँसो १ बजे ललितपुर च्यासलस्थित पार्टी मुख्यालमा बस्ने छ ।
केन्द्रीय कमिटीलाई पूर्णता दिँदै एकीकृत समाजवादी
काठमाडौँ, २५ असार I नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले यही असारभित्र केन्द्रीय कमिटीलाई पूर्णता दिने भएको छ । भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर नेताहरूको योगदान र क्षमताका मूल्याङ्कन गरी दुई सय छ केन्द्रीय सदस्य थप गर्न लागेको हो ।
पार्टीमा दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको व्यवस्था गरिएकामा महाधिवेशनले अध्यक्षमा माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालसहित ९३ केन्द्रीय सदस्य सर्वसम्मत चयन गरेको थियो । हाल पार्टीमा दुई सय छ केन्द्रीय सदस्य पद रिक्त छन् ।
सातै प्रदेशका इन्चार्ज र सचिवलाई सम्बन्धित प्रदेशका केन्द्रीय कमिटी सदस्यको नाम केन्द्रमा सिफारिस गर्न पार्टीले निर्देशन दिएको नेता सोमप्रसाद पाण्डेले जानकारी दिनुभयो । वर्तमान केन्द्रीय कमिटीले सबै प्रदेशबाट सिफारिस गरिएका सदस्यहरूको कार्यप्रगति साथै सङ्गठित सदस्यताका आधारमा नयाँ केन्द्रीय सदस्य छनोट गर्नेछ ।
पार्टीको विधानमा प्रत्येक जिल्लाबाट कम्तीमा एकजना सदस्यको केन्द्रीय कमिटीमा प्रतिनिधित्वको सुनिश्चितता कायम गरिएको छ । सबै निर्वाचन क्षेत्रबाट केन्द्रीय कमिटीको निर्वाचन गर्दा २० प्रतिशत २५–४५ वर्ष उमेर समूहको आरक्षण गरिने विधानमा उल्लेख छ । केन्द्रीय कमिटीलाई पूर्णता दिएपछि कार्यविधि तथा मापदण्ड बनाएर केही नेताहरूलाई पदाधिकारीको जिम्मेवारी तोकिने नेता पाण्डेले जानकारी दिनुभयो
‘बस्ती जलमग्न ,डुबान क्षेत्रमा जानसक्ने अवस्था छैन’
टीकापुर (कैलाली), २५ असार I लगातारको वर्षापछि आएको बाढीले जिल्लाका भजनी नगरपालिकामा तीन सय १३ र टीकापुर नगरपालिकामा एक सय ७४ परिवार विस्थापित भएका छन् । विस्थापित भएकाहरू हुलाकी सडक, उच्च भवन, सामुदायिक भवन, विद्यालय तथा आफन्तका घरमा आश्रय लिइरहेका छन् ।
भजनी नगरपालिका बाढीले सबैभन्दा बढी प्रभावित भएको छ । भजनीका तीन सय १३ परिवार विस्थापित भएका छन् भने चार हजार आठ सय ४८ परिवार बाढीले प्रभावित भएका विपद् व्यवस्थापन शाखा प्रमुख विष्णु न्यौपानेले जानकारी दिनुभयो । “विस्थापितहरू खाद्यान्न आफ्नै घरबाट ल्याएर खाने गरेका छन्, पालिकाले यति धेरै नागरिकलाई व्यवस्थापन गर्न सक्ने अवस्था छैन”, उहाँले भन्नुभयो, ‘‘पालिकाले एक हजार आठ सय बोतल पानी वितरण गरेको छ ।”
बाढीले भजनीमा अधिकांश सडकलाई क्षति पु¥याएका छन् । भजनीमा खेतीयोग्य जमिन ७५ प्रतिशत डुबानमा परेको प्रमुख न्यौपानेले बताउनुभयो । जलसतह नघटेकाले डुबानमा परेका घरमा के–कति क्षति भयो भन्ने विवरण आउन नसकेको नगरप्रमुख केवल चौधरीले जानकारी दिनुभयो । “भजनी तहसनहस भएको छ, मानिस विस्थापित भएको मात्र होइन”, उहाँले भन्नुभयो, “खेतीपाती, पशुपालन तथा अन्य व्यवसायमा समेत क्षति भएको छ । मानिसका घर डुबानमा परेपछि सरसामान सबै भिजेका छन् ।”
नगरप्रमुख चौधरी पालिकाले यस्तो विपत्तिमा एक्लैले धान्न नसक्ने भएकाले सङ्घीय सरकारले नै विपद्मा नागरिकका हितमा काम गर्नुपर्ने बताउनुभयो । भजनीमा विस्थापितहरू हुलाकी सडकमा पाल टाँगेर बसिरहेका छन् । बर्खाको समयमा माथिबाट वर्षा भइरहेको, तल लामखुट्टे, कीरा फट्याङ्ग्राको जोखिम रहेकाले सडकमा बसेकाहरूको अवस्था नाजुक रहेको स्थानीय कृष्ण धमालाले बताउनुभयो । “खाद्यान्न, लुगाकपडा, वस्तुभाउ पनि सडकमा छन्, वस्तुभाउ र मानिसको बसाइ सँगै खुला आकाशमा कस्तो होला ?”, उहाँ भन्नुहुन्छ, “मानिस विस्थापित भएर पनि बस्ने ठाउँ छैन, अझ आफैँ खानाको जोहो गर्न कठिन भएको छ । त्यसैमाथि सडक सहारा भएको छ ।”
यस्तै लगातारको वर्षापछि आएको बाढीले कैलालीको टीकापुर नगरपालिकाको वडा नं ६ बढी प्रभावित भएको छ । वडा नं ६ मा बस्तीमा मोहना नदीको बाढी पसेपछि डुबानमा परेको हो । त्यहाँ विद्यालय र बस्तीमा पानी पसेको छ । टीकापुरमा बाढीले एक सय ७४ परिवार विस्थापित भएका छन् । टीकापुरमा भगवानपुरका २०, प्रेनीका ५०, नारायणपुरका नौ, मिलनपुरका ३५, भर्तापुरका ४५, सुन्दरपुरका १२ र बाघमाराका तीन परिवार विस्थापित भएका विपद् व्यवस्थापन शाखा प्रमुख निर्मला चौधरीले जानकारी दिनुभयो । “मोहनाको पानी बस्तीमा पसेपछि वडा नं ६ मा ठूलो क्षति भएको छ, हामीले प्रहरीको सहायतामा ट्युबमा सरसामान र मानिसलाई उद्धार गर्यौँ, पूर्वतयारीमा काम गरिरहेकाले समयमै उद्धार सम्भव भयो”, उहाँले भन्नुभयो, “अहिले पनि बस्ती जलमग्न छ । डुबान क्षेत्रमा जानसक्ने अवस्था छैन ।”
टीकापुरको वडा नं ५ मा रानी जमरा सिँचाइ आयोजनाले निर्माण गरेको ड्याम, दौलतपुरमा रहेको तटबन्ध, वडा नं ६ को भर्तापुरमा पुल नजिक बाँधेको ड्याम भत्कने जोखिम रहेकाले तत्काल मर्मत गर्ने, मर्मतका लागि सिँचाइ आयोजनाको सहयोग लिने विपद् व्यवस्थापन समितिको बैठकले निर्णय गरेको छ । वडा नं ४ मा सिँचाइ आयोजनाले बनाएको इन्टेक साँघुरो बनाएकाले कहिल्यै बाढी नपसेको बाघमारामा पनि डुबान भएको वडाध्यक्ष लालवीर चौधरीले बताउनुभयो ।
डुबान भएका बेला धेरै सडक काटेर पानी निकास गरेकाले बिग्रिएका सडक मर्मत तत्काल गर्ने नगरपालिकाले निर्णय गरेको छ । त्यस्तै जोशीपुर गाउँपालिकाका सबै वडामा पानी पसेको छ । सबै वडामा पानी पसे पनि वडा नं ३ का पाँच परिवारमात्र विस्थापित भएका छन् ।