बाँदर नियन्त्रण गर्न ‘मङ्की पार्क’
ढोरपाटन (बागलुङ), २५ असार I बाँदरले करेसाबारीमा लगाएका तरकारीदेखि बार्दलीमा झुण्ड्याएर राखिएका सामान नष्ट गरिदिएपछि जैमिनीवासी आजित बनेका छन् । जैमिनी नगरपालिका–४ की मायादेवी पौडेलले बाँदरले बालीनाली सबै सखाप पार्दा धेरै नोक्सानी व्यहोर्नुपरेको गुनासो पोख्नुभयो । उहाँले भन्नुभयो, “यतिबेला बारीमा लगाइएको मकैले घोगा हाल्न थालेको छ । बाँदरले बोट नै सखाप पारिदिन थालेको छ । बाँदर धपाउन एकजना दिनभर खटिनुपर्ने बाध्यता छ । पहिला–पहिला कहिलेकाहीँ मात्र बाँदर देखिन्थ्यो, अहिले त बाह्रै महिना गाउँमै बस्न थालेको छ, एउटा भए पो धपाउन पनि सजिलो हुन्छ, हुल हुन्छ, एक्लै त धपाउन पनि सकिन्न । ”
काठेखोला गाउँपालिका–५ का बलिभद्र कँडेलले बाली जोगाउन हरेक दिन एकजना कुरुवा राख्नुपर्ने बाध्यता रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “पछिल्लो समय घर छेउका जङ्गल बढ्दै गएपछि बाँदरको बास नै गाउँमा हुन थालेको छ उहाँले बताउनुभयो । पहिले केही आवाज आउने वस्तु बजाउँदा बाँदर भाग्ने गर्दथ्यो । आजभोलि निकै चलाख र बाठो हुँदै गएपछि मान्छेलाई नै झम्टन्छ । बारीको बाली एकै छिनमा नष्ट गरिदिन्छन्, हामीहरु कता जाने भन्ने भइसक्यौँ ।”
बाँदर नियन्त्रण गर्न पालिकाले पहल नथालेको स्थानीयवासी गुनासो गर्दछन् । जैमिनी नगरपालिकाले यसका लागि ‘मङ्की पार्क’ बनाउने योजना बनाएको छ । योजनाले भने सार्थकता पाउन सकेको छैन ।
पहिरोले अरनिको राजमार्ग अवरुद्ध
काभ्रेपलाञ्चोक, २५ असार I वर्षाका कारण पहिरो जाँदा अरनिको राजमार्गअन्तर्गत काभ्रेको पाँचखालस्थित ५० किलो भन्ने स्थानमा गए रातिदेखि सडक अवरुद्ध भएको छ । सडक माथिबाट लगातार पहिरो खसिरहेकाले पन्छाउन असहज भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
पाँचखाल नगरपालिका–८ स्थित उक्त सडकमा पहिरो खसेर करिब एक सय ५० मिटर सडक अवरुद्ध भएको हो । गए राति ९ बजेदेखि सडक अवरुद्ध हुँदा दुवैतर्फ सवारी रोकिएका छन् । साना सवारीलाई वैकल्पिक बाटोबाट पठाइएको प्रहरीले जनाएको छ । प्रवक्ता श्रेष्ठका अनुसार पहिरो खस्न केही कम भएकाले आज बिहानदेखि मेसिनद्वारा पहिरो पन्छाउन थालिने छ
मुलुकभर ३८ प्रतिशत रोपाइँ सम्पन्न
काठमाडौँ, २४ असार I समयमै वर्षा भएसँगै आइतबारसम्म मुलुकभर ३८ दशमलव ६ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । यही असार २३ गतेसम्म सातै प्रदेशमा कूल पाँच लाख ३९ हजार सात सय ६६ हेक्टर क्षेत्रफलमा रोपाईँ सम्पन्न भएको छ ।
सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा ५४ दशमलव २ प्रतिशत रोपाइँ भएको कृषि विभागका सूचना अधिकारी तिकलराज चौलागाइँले जानकारी दिनुभयो । सबैभन्दा कम मधेस प्रदेशमा २५ दशमलव ५ प्रतिशत रापाइँ भएको छ । आइतबारसम्म कोशी प्रदेशमा ३४ दशमलव ४ प्रतिशत, बागमती प्रदेशमा ४० दशमलव २ प्रतिशत, गण्डकी प्रदेशमा ४९ दशमलव ७ प्रतिशत, लुम्बिनी प्रदेशमा ४४ दशमलव ४ प्रतिशत र कर्णाली प्रदेशमा ४७ दशमलव ५ प्रतिशत रोपाइँ सम्पन्न भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।
देशभर रोपाइँ हुने क्षेत्रफल कूल १३ लाख ९८ हजार दुई सय ७३ हेक्टर रहेको छ । सबैभन्दा धेरै मधेसमा तीन लाख ८३ हजार एक सय ५० हेक्टर क्षेत्रफल रहेको छ । सबैभन्दा कम कर्णाली प्रदेशमा ४१ हजार ९०४ क्षेत्रफल रहेको छ । अघिल्लो वर्ष असार २४ गतेसम्म देशभर ६ लाख ४२ हजार दुई सय ८४ हेक्टर क्षेत्रफल (४२.९ प्रतिशत) मा रोपाइँ सम्पन्न भएको थियो ।
नेपालमा वार्षिक औसत ५७ लाख मेट्रिक टन धान उत्पादन हुने गरेको छ । माग ६२ लाख मेट्रिक टन रहेको छ । नेपालमा गत वर्ष अपेक्षाअनुसारको मात्रामा धान उत्पादन भएको र यस वर्ष पनि सोही अनुपातमा उत्पादन हुने सूचना अधिकारी चौलागाईले बताउनुभयो ।
यस वर्षको मनसुन गत जेठ ३१ गतेदेखि नेपाल प्रवेश गरेको हो । यस वर्षको मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशत रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । नेपालमा सामान्यतया मनसुन अवधि सरदर जेठ १९ देखि असोज १४ गतेसम्म मानिन्छ । यद्यपि मनसुन भित्रिने र बाहिरिने अवधि केही दिन तलमाथि हुने गरेको छ
भारतको बिहारमा चट्याङ लागेर १२ जनाको मृत्यु
नयाँदिल्ली, २४ असार I भारतको पूर्वी राज्य बिहारमा चट्याङ लागेर कम्तीमा १२ जनाको मृत्यु भएको अधिकारीहरूले सोमबार बताएका छन् । पछिल्लो २४ घण्टामा राज्यका सात जिल्लामा मेघगर्जन र चट्याङसहित भारी वर्षा भएको छ । “विगत २४ घण्टामा चट्याङका कारण जमुई र कैमुरमा तीन/तीन, रोहतासमा दुई र सहरसा, सारण, भोजपुर र गोपालगञ्जमा एक/एक जनाको मृत्यु भएको छ”, मुख्यमन्त्रीको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
वर्षाको समयमा खेतमा काम गर्ने र रूखमुनि आश्रय लिने मानिसहरूलाई चट्याङ लागेर धेरैको मृत्यु भएको रिपोर्टहरूले बताएको छ । हरेक वर्ष मनसुन सुरु भएसँगै भारतमा चट्याङ लागेर सयौँको मृत्यु हुने गरेको छ ।-रासस/सिन्ह्वा
‘विपद् जोखिम न्यूनीकरणका लागि प्रविधिको प्रयोग जरूरी छ’
मोरङ, २४ असार I कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की विपद् जोखिम न्यूनीकरणका लागि प्रविधिको प्रयोग जरूरी रहेको बताउनुभएको छ । त्यसका लागि सम्भावित जोखियुक्त स्थानमा जनताको जीउधन सुरक्षाका लागि तत्काल सूचना सम्प्रेषण गर्न निःशुल्क वाइफाई जडान गर्न उहाँले निर्देशन दिनुभयो ।
प्रदेश आन्तरिक मामिला मन्त्रालयद्वारा ‘कोशी प्रदेश विपद् व्यवस्थापन पोर्टल’ bipad.koshi.gov.np को आज शुभारम्भ गर्नुहुँदै उहाँले विपद् जोखिममा रहेका र जङ्गली जनावरबाट हुने क्षति रोक्न ती स्थानबाट सहज सूचना दिने उद्देश्यले निःशुल्क वाइफाई जडान गर्नुपर्ने बताउनुभयो ।
मुख्यमन्त्री कार्कीले विपद्का समयमा नागरिकले प्राप्त गर्ने र स्थलगतरूपमा दिइने सूचनाले समयमै सुरक्षा गतिविधि अगाडि बढाउन सूचना प्रविधिको सञ्चालन महत्वपूर्ण हुने बताउनुभयो । उहाँले यसबारेमा नागरिकलाई सुुसूचित गराउनुपर्नेमा समेत जोड दिनुभयो । “अहिले सूचना नै सुरक्षाका लागि सबैभन्दा सहज माध्यम बन्नसक्छ । तत्काल सूचना पाएमा तत्कालै सतर्कता अपनाउन, राहत तथा उद्दारका काम गर्न सहज हुन्छ । विगतमा कोभिड, बाढीपहिराजस्ता विपद्का समयमा पनि द्रुतरूपमा उद्धारलगायतका काम गरेका उदाहरण पनि छन् । त्यसैले यसको प्रयोगमा जोड दिनुपर्छ”, मुख्यमन्त्री कार्कीले भन्नुभयो ।
प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलावल्लभ अधिकारीले विपद्को अवस्थामा साथ र सहयोग पु¥याउने सरकार प्रतिबद्ध रहेको बताउनुभयो । विपद् व्यवस्थापन पोर्टलले प्रदेशमा हुने विपत्तीमा तत्काल काम गर्न र नागरिकलाई सचेत बनाउनसमेत सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
उक्त पार्टलमा बाढीपहिरो आउने स्थानका नागरिकलाई पूर्वसूचना दिने, नागरिकले आकस्मिक फोन गर्न सक्ने, सुझाव र गुनासा राख्ने, प्रक्रियागत अवस्था, भिडियो सन्देश तथा सम्बोधन, न्युज फिडलगायत सुविधा रहेका पार्टल निर्माणकर्ता दिवस लामिछानेले जानकारी दिनुभयो ।
संसद्मा गीतबाट सवाल–जवाफ
काठमाडौँ, २४ असार I नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच यही असार १७ गते नयाँ सहमति भएपछि राष्ट्रिय सरकार निर्माण गर्ने तयारीसँगै मुलुकको राजनीति तरङ्गीत बनेको छ । उक्त सहमतिलगत्तै सत्तासाझेदार एमालेले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षी बेञ्चमा बसेको छ ।
एमालेले आफ्ना मन्त्रीहरुको राजीनामा बुझाउन प्रधानमन्त्री निवास बालुवाटार जाँदा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गायक फत्तेमानराज भण्डारीको एउटा गीतको हरफ एमालेका मन्त्रीहरुलाई सुनाउनुभएको थियो । ‘यस्तो पनि हुँदो रैछ जिन्दगीमा...!’ सोही प्रसङ्ग उल्लेख गर्दै एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले प्रतिनिधिसभाको आजको बैठकमा जवाफी गीत सुनाउनुभयो ।
बैठकको विशेष समयमा प्रमुख सचेतक बर्तौलाले वर्तमान सरकारलाई नेकपा एमालेले दिएको समर्थन फिर्ता लिएको सन्देश लिएर मन्त्रीहरुले राजीनामा बुझाउने क्रममा प्रधानमन्त्रीले फत्तेमानराज भण्डारीको गीत सुनाउनुभएको स्मरण गराउँदै जवाफमा गायिका अञ्जु पन्तको ‘तिमिले पराई ठानेपछि, पराई हुन के भयो र तिम्रो मेरो बीचको नाता हुनुपर्ने के रह्यो र ...!’ गीत सुनाउनुभयो ।
प्रतिनिधिसभाको आइतबार र आज भएको बैठकमा सांसदहरुले गीतमार्फत विम्ब प्रहार गरिरहेका छन् । आइतबारको बैठकमा सांसद सुनील शर्माले गायक रामकृष्ण ढकालको गीत ‘छल गर्यो मायाले...सबैको देख्छु हासो र खुसी शिखरको बाटोमा आफूत...! गाउनुभएको थियो । बैठकमा सांसदहरुले दलीय प्रतिनिधित्व गर्दै एक अर्कालाई साङ्गीतिक झटारो प्रहार गरिरहेका छन् ।
विशेष समयमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद पूर्णबहादुर घर्तीले गायिका कुन्ति मोक्तानको ‘कति जल्छौँ आरिसले अझै जल्दै गर, मत हिँड्छु मेरै बाटो खुट्टा तान्दैगर’ सुनाउनुभयो । उहाँले बैठकमा गीतको बिम्ब प्रस्तुत गरिएकाले आफूलाई पनि गीतको हरफ आएको भन्दै राजनीतिमा सरकार फेरबदल भइरहनु सामान्य कुरा भएको बताउनुभयो । उहाँले यसलाई कुनै पनि राजनीतिक दलले अन्यथा लिन नहुने धारणा राख्नुभयो ।
राष्ट्रिय सहमति गर्ने विषयलाई पार्टीले सदैव सकारात्मक रुपमा लिएको भन्दै संविधान निर्माणदेखि पछिल्ला सरकार गठनमा पनि सहकार्य र सहमति गर्दै अघि बढेको सांसद घर्तीले बताउनुभयो । उहाँले संविधान संशोधनका लागि राष्ट्रिय सहमति गरेर अगाडि बढ्न सकिने धारणा राख्नुभयो ।
प्रधानमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ
एमालेका प्रमुख सचेतक बर्तौलाले एमालेले राष्ट्रिय सहमतिको सरकार निर्माण गर्नुपर्ने विचार राख्दै आएको बताउँदै कांग्रेससँग उक्त विषयमा विचार मिलेकाले सरकारबाट बाहिरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “संसद्का दुई ठूला दल मिलेर मुलुकको वर्तमान सङ्कटलाई निकासा दिन राष्ट्रिय सरकार निर्माणको आकाङ्क्षा बोकेर समझदारी गरेका हौँ ।”
प्रमुख सचेतक बर्तौलाले सरकार अल्पमतमा परिसकेकाले वर्तमान प्रधानमन्त्रीले तत्काल राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले संविधानको धारा ७६ (२) बमोजिम नयाँ सरकार गठन हुने बताउनुभयो ।
सांसद बर्तौलाले संसद्मा दुई पार्टीबीचको सहमतिबारे विभिन्न टीकाटिप्पणी भइरहेको भन्दै कांग्रेस र एमालेले मुलुकमा विद्यमान समस्या समाधानको सङ्कल्पगरी सहकार्य गर्न लागेकाले यसमा सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । उहाँले अङ्कगणितीय हिसाबले नभई राष्ट्रिय सहमतिबाट संविधान संशोधन गरेर विद्यमान समस्या समाधानमा सम्बोधन गरिने बताउनुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले संविधानको प्रावधानअनुसार नै सरकार गठन प्रक्रिया अगाडि बढाउन राजनीतिक दललाई आग्रह गर्नुभयो । उहाँले संवैधानिक व्यवस्थाअनुरुप वर्तमान सरकारले आफ्नो समय उपयोग गरेको जिकिर गर्नुभयो । सांसद झाले संविधान र संसदीय प्रणालीको अभ्यास सबै दलले गर्नुपर्नेमा जोड दिँदै अहिलेको सङ्कटलाई समाधान गर्न सबै गम्भीर हुनुपर्ने धारणा राख्नुभयो ।
विपद् व्यवस्थापनको तयारीबारे सदनलाई जानकारी दिन माग
नेपाली कांग्रेसका सांसद प्रतिमा गौतमले मुलुकभर बढी, पहिरो, डुबानलगायत प्राकृतिक प्रकोपजन्य घटना बढिरहेकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले विपद् व्यवस्थापन गर्न सरकारले के तयारी गरिरहेको छ सदनलाई जानकारी गराउन माग गर्नुभयो ।
सांसद गौतमले मनसुन सुरु भएसँगै विपद् जुनसुकै बेला आउनसक्ने भएकाले पूर्वतयारीका लागि सरकारले गरेका काम र योजनाबारे दलाई जानकारी गराउनुपर्नेमा जोड दिनुभयो । उहाँले हरेक वर्ष विपद् आएपछि मात्रै तयारी थाल्ने गरिएकाले भन्दै विपद् व्यवस्थापनका लागि दीर्घकालीन योजना बनाएर कार्यान्वयन गर्नुपर्ने माग गर्नुभयो ।
“बाढीपहिराले देश आक्रान्त बनेको छ । मानवीय र भौतिक सम्पत्तिको क्षति भएका छन् । पीडित नागरिकले राहत नपाएर सास्ती बेहोर्नुपरेको छ”, सांसद गौतमले, “नदी किनार क्षेत्रमा बसोबास गर्ने जनताले वर्षात्को समयमा निकै सास्ती बेहोर्नुपरको छ । उद्धार राहत र क्षतिपूर्तिलाई प्रभावकारी बनाउन सरकारसमक्ष माग गर्दछु ।”
लगातार वर्षाका कारण पहिरो खस्दा तीन दिनदेखि कालीगण्डकी करिडोर बन्द
गलकोट (बागलुङ), २४ असार I लगातार वर्षाका कारण पहिरो खस्दा कालीगण्डकी करिडोरको बागलुङ खण्ड तीन दिनदेखि बन्द भएको छ । करिडोरको चार ठाउँमा पहिरो खसेकाले अहिलेसम्म यातायातका साधन सञ्चालन हुन सकेका छैनन् । शनिबार बिहानैदेखि उक्त सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विजय यादवले जानकारी दिनुभयो ।
करिडोरअन्तर्गत बागलुङ नगरपालिका–१० स्थित दब्ल्याङमा ट्र्याक नै बगेकाले सडक खुल्न समय लाग्ने बागलुङ नगरपालिकाका उपप्रमुख राज खड्काले बताउनुभयो । करिडोरको जैमिनी नगरपालिका–५ विनामारे, जैमिनी नगरपालिका–१ ठेउलेखोला र जिमिरघाटमा पहिरो खसेको छ ।
तलब वृद्धिको माग गर्दै सामसुङका कर्मचारी तीन दिने हडतालमा
ह्वासियोङ, दक्षिण कोरिया, २४ असार I दक्षिण कोरियाली विशाल प्रबिधि कम्पनी सामसुङका कर्मचारीहरूले तलब वृद्धि र अन्य सुविधाको विषयमा सोमबारदेखि तीन दिने आमहडताल सुरु गरेका छन् ।
सियोलबाट एक घण्टा दक्षिणमा रहेको ग्योङगीको ह्वासेओङमा रहेको कम्पनीको फाउण्ड्री र सेमीकन्डक्टर फ्याक्ट्रीबाहिर हजारौं मजदुरहरू बर्षादी र रिबन लगाएर भेला भएका दशौं हजार कर्मचारीहरूको प्रतिनिधित्व गर्ने एक युनियनका प्रमुखले एएफपीलाई बताउनुभयो ।
सामसुङ इलेक्ट्रोनिक्स विश्वको सबैभन्दा ठूलो मेमोरी चिप निर्माता हो र यसले चिप्सको विश्वव्यापी उत्पादनको महत्त्वपूर्ण हिस्सा ओगटेको छ ।
सामसुङ व्यवस्थापनले जनवरीदेखि युनियनसँगको वार्तालाई रोकेको छ । दुबै पक्ष मतभेदलाई कम गर्न असफल भएका छन् । फर्मबाट ५.१ प्रतिशत तलब वृद्धि प्रस्ताव अस्वीकार गरिएको छ ।
नेशनल सामसुङ इलेक्ट्रोनिक्स युनियनका प्रमुख सन वू मोकले एएफपीसँग भन्नुभयो, “आजदेखि हडताल सुरु भएको छ । आजको आमहडताल त सुरुवात मात्र हो ।”
“हामी यहाँ किन छौं भनेर सम्झँदै, कृपया जुलाई १० सम्म काममा नआउनुहोस् र कुनै पनि व्यावसायिक कलहरू रिसिभ नगर्नुहोस्,” उहाँले कामदारहरूको भीडलाई सम्बोधन गर्दै भन्नुभयो ।
युनियनले कारखाना, उत्पादन र विकास क्षेत्रका करिब पाँच हजार २०० व्यक्ति विरोध प्रदर्शनमा सहभागी भएको जनाएको छ । युनियनका उपाध्यक्ष ली ह्युन कुकले भन्नुभयो, “के उनीहरूले यसले सामसुङको उत्पादन लाइनलाई असर पार्नेछ भनेर अझै पनि सोचेका छैनन् ?”
करिब ३० हजार सदस्य रहेको युनियनले वार्ताबाट समस्याको समाधान हुन नसकेपछि गत हप्ता तीन दिने आम हड्तालको घोषणा गरेको थियो ।
श्रमिकहरूले मार्चमा ५.१ प्रतिशत तलब वृद्धिको प्रस्तावलाई अस्वीकार गरेका थिए, युनियनले पहिले वार्षिक बिदामा सुधार र पारदर्शी कार्यसम्पादनमा आधारित बोनससहितका मागहरू राखेको थियो ।
यससम्बन्धमा सामसुङले टिप्पणीको लागि गरिएको अनुरोध अस्वीकार गरेको छ ।
सेजोङ विश्वविद्यालयका बिजनेस प्रोफेसर किम डे–जोङले एएफपीसँग भन्नुभयो, “जारी हडताल तीन दिनका लागि मात्र तय गरिएको छ, तर सहभागी सदस्यहरूमा चिप एसेम्बली लाइनमा काम गर्नेहरू पनि सामेल छन् ।
“समस्या जारी रहेमा युनियनले थप हड्ताल गर्न सक्ने भएकाले प्रतिस्पर्धी चिप्स बजारमा प्रभुत्व जमाउने होडबाजीका बीच यसले सामसुङ व्यवस्थापनलाई ठूलो समस्या सिर्जना गर्नसक्छ । -रासस/एएफपी
अविरल वर्षाका कारण बाढीपहिराले हालसम्म ७० को मृत्यु, पाँच बेपत्ता
काठमाडौँ, २४ असार I अविरल वर्षाका कारण आएको बाढीपहिरालगायत विपदमापरी हालसम्म ७० जनाले ज्यान गुमाएका छन् । केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जेठ २८ देखि आज बिहानसम्म बाढीपहिरामा परेर ७० जनाको मृत्यु, ८६ जना घाइते र पाँच जना बेपत्ता भएको जानकारी दिनुभयो । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
उक्त अवधिमा बाढीपहिराका नौ सय ६६ घटना घटेका छन् । त्यसमा ८६ घरमा क्षति पुगेको र तीन सय ३५ पशु चौपायको मृत्यु भएको छ । भारी वर्षाका कारण आज पनि देशभरकै जनजीवन प्रभावित भएको छ ।
उक्त अवधिमा चार हजार सात सय ९० प्रहरी बाढीपहिरामा परिचालन गरिएको र रु नौ करोड ५६ लाख ७४ हजार दुई सय ५० मूल्य बराबरको क्षति पुगेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
पदोन्नति नपाएका राष्ट्रसेवक मन्त्रालयको मुलद्वारमा लुडो खेलेर दुई घण्टा बिताउँदै
- नारायण न्यौपाने
काठमाडौँ, २४ असार I असार बित्न एक साता बाँकी छ, किसान होस् वा कर्मचारी, कामको चटारो छ सबैलाई । तर, मुलुकको सङ्घीय राजधानी सिंहदरबारस्थित कृषि तथा पशुपक्षी मन्त्रालयको मूलद्वारमा भने केही राष्ट्रसेवक दैनिक दुई घन्टा लुडो खेल्दै धर्ना दिइरहेका छन् । उनीहरू एकै श्वरमा भन्छन्, “विसं २०७५ मा कर्मचारी समायोजन गरिँदा केन्द्रमा क्षमताभन्दा बढी कर्मचारी राखियो, जसले हाम्रो पदोन्नति र वृत्ति विकास भएन ।”
सिंहदरबार परिसर आन्दोलन र धर्ना निषेधित क्षेत्र भए पनि मन्त्रालयकै प्रवेशद्वारमा नौ दिनदेखि निरन्तर धर्ना र ‘घरपास–नागपास’ चलिरहेको छ । त्यहाँ धर्ना दिइरहेका कर्मचारी दैनिक दुई घन्टा यसरी नै समय कटाइरहेका छन् । कृषिप्रधान मुलुकमा असार मानो रोपेर मुरी उब्जाउन व्यस्त रहने तथा कर्मचारी वर्षभरको कामको हरहिसाब समीक्षामा खटिनुपर्ने समय हो ।
राष्ट्रिय बाली संरक्षण अधिकृत तोयानाथ जोशी भन्नहुन्छ, “ सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजनमा केन्द्रमा क्षमताभन्दा बढी कर्मचारी राखेका कारण आठ वर्षदेखि हाम्रो बढुवालगायत वृत्ति विकास रोकिएको छ, न पद छ, न कुर्सी नै, हामी अहिले म्यादी प्रहरी जस्ता छौँ ।” समायोजनमा चाहिनेभन्दा बढी सङ्ख्यामा केन्द्रमा कर्मचारी राखिएका कारण वृत्ति विकासमा समस्या भएको जनाउँदै धर्नारत कर्मचारीले दरबन्दी प्राप्तिका लागि धेरै पटक ताकेता गर्दा पनि सुनुवाइ नभएपछि बाध्य भएर आन्दोलनमा उत्रनुपरेको प्रतिक्रिया दिए ।
लामो समयदेखि जिम्मेवारीविहीन अस्थायी पुलमा रहन परेकामा दुखेसो पोख्दै उनीहरूले सर्वोच्च अदालतबाट भएको फैसला कार्यान्वयन नभएकामा आश्चर्य प्रकट गरे । जोशी भन्नुहुन्छ, “हाम्रो माग र चासोबारे अदालतबाट परमादेश भएको दुई वर्ष भइसक्यो, अझै कार्यान्वयन भएन । अदालतको आदेश पालना नभएपछि मानहानिको मुद्दा पनि दायर गरिएको छ ।”
कर्मचारी समायोजन गर्ने विगतको सामान्य प्रशासनको निर्णयबाट कृषि मन्त्रालयमातहत कार्यरत शाखा अधिकृतस्तरका एक सयभन्दा बढी कर्मचारी प्रभावित भएको उनीहरू बताउँछन् । यद्यपि बिहान १० देखि मध्याह्न १२ बजेसम्म दैनिक निरन्तर धर्नामा रहेका ती कर्मचारीको माग सम्बोधन गर्नेबारे सरकार सकारात्मक रहेको कृषि तथा पशुपक्षी मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले बताउनुभयो । कर्मचारीका समस्या समाधान गर्न अर्थ मन्त्रालयमा प्रस्ताव पुगिसकेको तथा चालु आर्थिक वर्षमा उनीहरूका माग सम्बोधन हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।