बिहिबार, ११ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01J009EE5H8JCR11VCWCFB6AC7.jpg

भोजपुरको प्याउलीमा अरुण आँखा उपचार केन्द्र स्थापना

टक्सार (भोजपुर), २८ जेठ I नेपाल नेत्र ज्योति सङ्घ भोजपुर र अरुण गाउँपालिकाको संयुक्त सहकार्यमा प्याउलीमा अरुण आँखा उपचार सेवा केन्द्र स्थापना गरिएको छ । जिल्लाको पूर्वी क्षेत्रका नागरिकलाई आँखा उपचार सेवा दिने उद्देश्यका साथ अरुण गाउँपालिकाको केन्द्रप्याउलीमा आँखा उपचार सेवा केन्द्र सञ्चालनमा ल्याएको सङ्घका सभापति तेज मोक्तानले जानकारी दिनुभयो । 

नेपाल नेत्रज्योति सङ्घका केन्द्रीय महासचिव भरत चन्द र अरुण गाउँपालिकाका अध्यक्ष शालिकराम खत्रीले संयुक्तरुपमा उपचार केन्द्रको शुभारम्भ गर्नुभयो । सो अवसरमा अध्यक्ष खत्रीले आँखा उपचारको सेवाका लागि अन्यत्र जानुपर्ने अवस्थालाई अन्त्य गर्न सेवा केन्द्र स्थापना गरिएको हो भन्नुभयो । 

आफ्नै पालिकामा आँखा उपचार केन्द्र स्थापना भएर सञ्चालनमा आएपछि स्थानीयमा समेत खुसियाली छाएको गाउँपालिका उपाध्यक्ष विनिता ढकालले बताउनुभयो । गाउँपालिकाभित्र सात वटा वडा छन भने पौवादुङमा गाउँपालिकाका नागरिकले पनि उपचार केन्द्रबाट सेवा पाउने छन । नेपाल नेत्र ज्योति सङ्घ भोजपुरको प्राविधिक सहयोगमा गाउँपालिकाले एक जना कर्मचारीसमेत नियुक्त गरिसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खतिवडाले बताउनुभयो । नेपाल नेत्र ज्योति सङ्घ भोजपुरका संस्थागत सभापति तेज मोक्तानको अध्यक्षतामा तथा नेपाल नेत्र ज्योति सङ्घका केन्द्रीय महासचिव चन्दको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । 
 
सो अवसरमा नेपाल नेत्र ज्योति सङ्घ कोशी प्रदेशका अध्यक्ष श्यामसुन्दर उदास, केन्द्रीय प्रवक्ता दोर्ण गुरागाई, सङ्घका कार्यकारी निर्देशक डा शैलेशकुमार मिश्र, विराटनगर आँखा अस्पतालका अध्यक्ष पदमनारायण चौधरी र स्थानीय समाजसेवीलगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः सोमबार, २८ जेठ २०८१
https://jawaaf.com/storage/01J007F8H46CWT3WT6KQ8RKP3J.webp

मह बेचेर भोजपुरको नागीमा एक करोड बढी भित्रियो

भोजपुर, २८ जेठ I भोजपुरको नागी क्षेत्रका किसानको लागि मह राम्रो आम्दानीको स्रोत बनेको छ । व्यावसायिक मौरीपालनबाट उत्पादन भएको महबाट यो गाउँमा एक वर्षमा रु एक करोड २० लाख बढी भित्रिएको छ । टेम्केमैयुङ–४ मा पर्ने यो स्थानका अधिकांश किसानले व्यावसायिक रुपमा मौरीपालन गरिरहेका छन् । नजिकै प्रशस्त वन क्षेत्र रहेकोले यहाँका हुँगे, चोक्ला, वाकताङ लुङ्गिनलगायतका स्थान मौरीपालन हुने गरेको छ । मह आम्दानीको राम्रो स्रोत बनेको स्थानीय मौरीपालक किसान सारुहाङ राईले बताउनुभयो । आफूले पालेको १८ वटा आधुनिक घारमा एक पटकमा एक सय केजीसम्म उत्पादन हुने उहाँले बताउनुभयो । एक वर्षमा मौरीलाई दुईदेखि तीन पटकसम्म काढ्न सकिने उहाँले जानकारी दिनुभयो । स्थानीय बजारमा मह प्रतिकेजी रु एक हजार पाँच सयमा बिक्री हुने उहाँको भनाइ छ ।     
     
“मह नागी क्षेत्रका किसानको राम्रो आम्दानीको स्रोत बनेको छ”, उहाँले भन्नुभयो, “मौरीबाट थोरै मेहनतमा राम्रो आम्दानी लिन सकिन्छ । हाम्रो क्षेत्र ५० घर बढीले व्यावसायिक रुपमा मौरीपालन गरिरहेका छौँ ।” नागी क्षेत्रबाट एक वर्षमा रु एक करोड २० लाख बढीको मह उत्पादन हुने वडाध्यक्ष हर्कराज राईले बताउनुभयो । यो क्षेत्र प्राकृतिक हिसाबले मौरीको लागि उपयुक्त रहेको उहाँको भनाइ छ । भौगोलिक रुपमा अलि बढी चिसो क्षेत्र रहेकाले हिउँदको समयमा पनि मौरीपालनमा सहजता पु¥याउले लक्ष्यले आधुनिक माटेघार वितरण गरिरहेको उहाँले जानकारी दिनुभयो ।     
     
“हाम्रो क्षेत्रमा मौरीपालनबाट रु एक करोड बढी भित्रिएको अवस्था छ”, वडाध्यक्ष राईले भन्नुभयो, “यहाँका अधिकांश किसानले मौरीपालन गरिरहेका छन् । मौरीपालनलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउन वडाले भूमिका खेलिरहेको छ । अहिले हामीले आधुनिक माटेघार वितरणमा जोड दिएको छौँ । न्यानो हुने भएकाले माटेघारमा मौरीपालन गर्दा हिउँद समयमा मौरीलाई बचाउन सकिन्छ ।”     
     
व्यावसायिक मौरीपालनमा लागेका किसानलाई थप प्रोत्साहन गर्न गाउँपालिका र वडासँगको सहकार्यमा करिब रु सात लाख ७० हजार बराबरको दुई सय आधुनिक माटेघार वितरण गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विकेन पौडेलले जानकारी दिनुभयो । गाउँपालिकाले मौरीपालनमा लाग्ने किसानलाई आवश्यक सहयोग गरिरहेको उहाँको भनाइ छ ।     
     
“मौरीपालनमा लागेका किसानलाई गाउँपालिकाले आवश्यक सहयोग गरिरहेको छ”, प्रशासकीय अधिकृत पौडेलले भन्नुभयो, “यो वर्ष करिब रु सात लाख ७० हजार बराबरको आनुधिक घार वितरण गरेका छौँ । यसले किसानमा थप उत्साह थपिएको छ ।”     
     

पराम्परागत रुपमा मौरीपालन गर्दै आएको अवस्थामा गाउँपालिकाले आनुधिक प्रविधिको घार वितरणले उत्साह थपिएको स्थानीय मौरीपालक किसान शुक्रराज राईले बताउनुभयो । परम्परागत घारको तुलनामा आधुनिक घारमा मह बढी उत्पादन हुने उहाँको भनाइ छ । आधुनिक घारमा मह काढ्नसमेत सहजता हुने उहाँको भनाइ छ ।स्थानीय मुढेघारको तुलनामा आधुनिक घारमा दोब्बर मह उत्पादन हुने किसान राईले जानकारी दिनुभयो ।     
     
“हामीलाई मौरीपालनमा उत्साह थप्न गाउँपालिकाले आधुनिक घार दिएको छ”, उहाँले भन्नुभयो, “आफ्नै लगानीमा मौरीपालन गरिरहेको अवस्थामा गाउँपालिकाको तर्फबाट सहयोग पाउँदा खुसी लागेको छ ।” गाउँपालिकाले कृषि र पर्यटनलाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताउनुभयो । किसानलाई व्यावसायिक बनाउन उनीहरुको आवश्यकताका आधार सहयोग तथा अनुदानका कार्यक्रम सञ्चालन भईरहेको उहाँको भनाइ छ । नागी क्षेत्र मौरीको लागि उपयुक्त रहेकाले कार्यपालिकाको निर्णयअनुसार यहाँ आधुनिक घार वितरण गरिएको उपाध्यक्ष राईले बताउनुभयो ।     
     

“गाउँपालिकाले कृषि र पर्यटनलाई मुख्य प्राथमिकतामा राखेर आवश्यक काम गरिरहेको छ”, उपाध्यक्ष राईले भन्नुभयो, “यहाँको कृषिको सम्भावनालाई खोजी गरेर आवश्यक सहयोगका कार्यक्रम सञ्चालन भईरहेका छन् । कृषिबाट पनि किसानको आयस्तर बढाउने हाम्रो लक्ष्य छ ।”     
 

प्रकाशित मितिः सोमबार, २८ जेठ २०८१
https://jawaaf.com/storage/01J004TEA11AB4YTETKGCSWWX7.jpg

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

गण्डकी, २८ जेठ I गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज विश्वासको मत लिँदै हुनुहुन्छ । दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । 

यही जेठ १६ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएका नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलका नेता पाण्डेले संवैधानिक व्यवस्थाअनुसार  विश्वासको मत लिन लाग्नुभएको हो । संविधानको धारा १६८ (३) बमोजिम सबैभन्दा ठूलो दलको नेताका हैसियतमा मुख्यमन्त्री बन्नुभएका उहाँलाई विश्वासको मत हासिल गर्न ३१ प्रदेशसभा सदस्यको साथ चाहिन्छ ।  साठी सदस्ययीय प्रदेशसभामा कांग्रेसका २७, नेकपा (एमाले)का २२, नेकपा (माओवादी केन्द्र)का सात (सभामुखबाहेक), राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र एक स्वतन्त्र प्रदेशसभा सदस्य हुुनुहुन्छ । 

प्रकाशित मितिः सोमबार, २८ जेठ २०८१
https://jawaaf.com/storage/01J004K933SG3DCTEMFZHDAY1A.jpg

लयमा फर्किए सन्दीप : आइसिसी टि ट्वान्टी विश्वकप क्रिकेट विश्वकप खेल्ने

काठमाडौँ, २८ जेठ I आइसिसी टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत वेस्ट इन्डिजमा आयोजना हुने खेलमा नेपाली टोलीका स्पिनर सन्दीप लामिछानेले खेल्ने भएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) द्वारा आज यहाँ जारी विज्ञप्तिमा वेस्ट इन्डिजमा हुने दक्षिण अफ्रिका र बङ्गलादेशविरुद्धको खेलमा सन्दीपले सहभागिता जनाउने उल्लेख गरिएको छ । सन्दीप नेपाली राष्ट्रिय क्रिकेट टोलीमा समावेश हुँदै उक्त प्रतियोगिता खेल्न लागेका हुन् । 

क्यानले यसअघि यही जेठ २ गतेदेखि सन्दीपलाई घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट खेल गतिविधिको निलम्वनबाट फुकुवा गरेको थियो । उच्च अदालत पाटनको फैसलाबमोजिम बलात्कार मुद्दामा सफाइ पाएसँगै क्यानले पनि सोही दिनदेखि क्रिकेट गतिविधिबाट निलम्वन फुकुवा गरेको थियो ।

युवा बलर प्रतिश जिसीलाई ‘ट्राभलिङ रिजर्र्भ’ राख्दै सन्दीपलाई नेपाली टोलीमा समावेश गरेको क्यानका सचिव पारस खड्काले जानकारी दिनुभयो । सङ्घले पूर्वघोषित टिमबाट युवा बलर जिसीलाई ट्राभलिङ रिजर्भमा राख्ने निर्णय गर्दै सन्दीपलाई विश्वकप खेल्ने आधिकारिक १५ जना टोलीको अन्तिम नामावली आइसिसी सामु पेस गरेको क्यानको भनाइ छ । 

विज्ञप्तिमा भनिएको छ, “यही जेठ ३ गतेदेखि नै सन्दीप नेपालको अफिसियल टिममा रहेका तर अमेरिकी राहदानी प्राप्त नभए तापनि आइसिसीसँग समन्वय गरी वेस्ट इन्डिजमा हुने दक्षिण अफ्रिका तथा बङ्गलादेशविरुद्ध नेपालका दुई खेलमा सन्दीपको उपस्थिति रहने जानकारी गराउन चाहन्छौँ । ” 

विश्वकप क्रिकेट २०२४ का खेल अमेरिका र वेष्टइण्डिजमा भइरहेका छन् । अमेरिकामा भएको नेदरल्यान्ड्सविरुद्धको पहिलो खेलमा पराजित भएको नेपालले आफ्नो दोस्रो खेल यही जेठ ३० गते अमेरिकामै श्रीलङ्कासँग खेल्नेछ । उक्त खेल खेलेपछि नेपाली टोली वेस्ट इन्डिजको सेन्ट भिसेन्टमा पुग्नेछ । त्यहाँ नेपालले दक्षिण अफ्रिका र बङ्गलादेशसँग खेल्नेछ । 

प्रकाशित मितिः सोमबार, २८ जेठ २०८१
https://jawaaf.com/storage/01HZZZHV1707SBXQQMYCFHM0ZH.jpg

प्रधानमन्त्री दाहाल र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता

काठमाडौँ, २८ जेठ I भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उहाँका समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । आइतबार बेलुका भएको भेटमा प्रधानमन्त्रीले लगातार तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्रीको पदभार ग्रहण गर्नुभएकोमा समकक्षी मोदीलाई बधाई दिँदै उहाँको कार्यकालमा नेपाल र भारतबीचको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।   
  
भेटमा उहाँहरूबीच नेपाल–भारतबीच रहीआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो । सो अवसरमा उहाँहरूबीच विगतमा भएका समझदारी एवं सम्झौताहरूको कार्यान्वयनका बारेमा छलफल भएको थियो ।   
  
प्रधानमन्त्री दाहाल आइतबार साँझ प्रधानमन्त्री मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुनुभएको थियो । उहाँ आइतबार नै भारतको नयाँदिल्ली प्रस्थान गर्नुभएको हो । प्रधानमन्त्री प्रचण्डका साथमा उहाँकी सुपुत्री गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी अधिकारी पनि हुनुहुन्छ । प्रधानमन्त्री दाहाल आज साँझ स्वदेश फर्कनुहुने कार्यक्रम रहेको छ ।  

प्रकाशित मितिः सोमबार, २८ जेठ २०८१
https://jawaaf.com/storage/01HZZWZ5CX1W8PWA3ZQMVTAJGA.jpg

मुसिकोट नेपानेमा बोलेरो गाडी हुँदा तीनको मृत्यु, तीन जना घाइते

काक्रेविहार (सुर्खेत), २८ जेठ । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१ स्थित नेपानेमा  बोलेरो गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मुसिकोट–१ खलङ्गाबाट बाँफिकोट गाउँपालिका–४ स्थित छिनखेत जाँदै गरेको कर्णाली प्रदेश २००१ च ०४१३ नम्बरको बोलेरो आइतबार बेलुकी दुर्घटनामा परेको थियो ।  

गाडी सडकबाट तल खस्दा बर्दियाको ठाकुरबाबा नगरपालिका–५ कालीगौडीका २७ वर्षीय सौगात विक, गाडी चालक सुर्खेतको गुर्भाकोट नगरपालिका–८ मेहलकुनाका ३० वर्षीय धर्मेन्द्र श्रेष्ठ र सुर्खेत बराहताल गाउँपालिका–५ बड्डीचौरका १९ वर्षीय जितबहादुर कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रवक्ता प्रहरी निरीक्षक बखत शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार घटनास्थलबाट उद्धार गरेर जिल्ला अस्पताल सल्ले ल्याइएका उनीहरूको उपचारका क्रममा मृत्यु भएको थियो । 

यसैगरी दुर्घटनामा घाइते हुनेमा रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–४ छिनखेतका १७ वर्षीय सुजल विक, बर्दिया ठाकुरबाबा नगरपालिका–५ बनकट्टीका २६ वर्षीय दिलीप थापा र सोही नगरपालिका कालीगौडीका २७ वर्षीय टीकाराम खनाल रहेको प्रवक्ता शाहीले जानकारी दिनुभयो । उनीहरूमध्ये विक र खनालको अवस्था गम्भीर छ । 

उनीहरुको जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज ‘रिफर’ गरिएको छ । घाइते थापाको जिल्ला अस्पतालमै उपचार भइरहेको छ ।  बाँफिकोट क्षेत्रमा ‘फाइबर नेट’ विस्तार गरिरहेका उनीहरू छिनखेतमा बस्दै आएका थिए । गाडी सडकबाट करिब दुई सय मिटरभन्दा तल खस्दा तीन टुक्रा भएको बताइएको छ ।

प्रकाशित मितिः सोमबार, २८ जेठ २०८१
https://jawaaf.com/storage/01HZZWMC3TGN7EC50ZCMDDG1PW.jpg

विश्वकप क्रिकेट : भारतद्वारा पाकिस्तान पराजित

काठमाडौँ, २८ जेठ I भारतले पाकिस्तानलाई ६ रनले पराजित गदै आइसिसी टि–२० विश्वकप क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित दर्ता गराएको छ । विश्वकपको पहिलो खेलमा भारतले आयरल्यान्डलाई पराजित गरेको थियो । 

अमेरिकाको न्युयोर्कमा गए राति सम्पन्न खेलमा  भारतले दिएको एक सय सय २० रनको सामान्य लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय १३ रनमा समेटियो । पाकिस्तानका लागि  मोहम्मद रिजवानले सर्वाधिक ३१ रन बनाए । त्यस्तै इमाद वासिमले १५ रन रन बनाउँदा  बाबर आजम, उस्मान खान र फखर जमानले समान १३÷१३ रन बनाए ।

पाकिस्तानलाई एक सय १३ रनमा समेट्ने क्रममा भारतका जस्प्रित बुम्राहले तीन विकेट लिए भने हार्दिक पन्ड्याले २ विकेट झारे । त्यस्तै अश्रदिप सिंह र अक्षर पटेलले समान एक एक विकेट लिए । 

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको भारतले १९ ओभरमा सबै १० विकेट गुमाउँदै एक सय १९ रनको योगफल बनाएको थियो । भारतका लागि रिशभ पन्तले सर्वाधिक ४२ रनको योगदान दिए । उनले ३१ बलमा ६ चौकासहित ४२ रन बनाए हुन । यस्तै अक्षर पटेलले १८ बलमा २० तथा कप्तान रोहित शर्माले १२ बलमा १३ रन जोडे । 

पाकिस्तानका लागि नसिम शाह र हरिस रौफले समान तीन तीन विकेट लिए भने मोहम्मद आमिरले २ विकेट लिए । त्यस्तै शाहिन शाह अफ्रिदीले एक विकेट झारे । यसहारसँगै पाकिस्तानको अन्तिम आठमा पुग्ने सम्भावनामा न्यून भएको छ । पाकिस्तानको यो लगातार दोस्रो हार हो । यसअघि पाकिस्तान अमेरिकासँग पराजित भएको थियो ।  यस जितसँगै भारतले दुई खेलमा ४ अङ्क जोडेको छ । अमेरिकाको पनि दुई खेलमा समान ४ अङ्क नै छ । क्यानाडाको दुई खेलमा २ अङ्क रहेको छ । पाकिस्तानको दुई खेलमा र आयरल्याण्डको एक खेलमा अङ्कविहीन छन् । 

प्रकाशित मितिः सोमबार, २८ जेठ २०८१
https://jawaaf.com/storage/01HZYF9HQ9E9RMWSBQZ9YTHPDX.avif

भरतपुर महानगरपालिकाद्वारा अन्तरजातीय विवाह गर्ने दश जोडी सम्मानित

चितवन, २७ जेठ I भरतपुर महानगरपालिकाले अन्तरजातीय विवाह गर्ने दश जोडीलाई नगदसहित सम्मान गरेको छ । आज आयोजित सम्मान कार्यक्रममा महानगर प्रमुख रेनु दाहाल र उपप्रमुख चित्रसेन अधिकारीले संयुक्त रुपमा नगद रु एक लाखसहित सम्मान ती जोडीलाई गर्नुभएको हो । 

महानगर प्रमुख दाहालले छुवाछूत अन्त्यका लागि प्रोत्साहन स्वरुप अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गरिएको बताउनुभयो । उहाँले व्यवस्था परिवर्तन भए पनि सामाजिक अवस्थामा परिवर्तन आउन नसकेकाले छुवाछूतलगायत कुसंस्कार अन्त्य गर्दै सभ्य समाज विकासमा लाग्नुपर्ने बताउनुभयो । 

उपप्रमुख चित्रसेन अधिकारीले सबै जातजातिको सम्मान गर्नु अहिलेको आवश्यकता रहेको बताउनुभयो । विभेदको अन्त्य गदै सम्मान गर्ने वातावरण तय गर्न सबैले आफ्नो क्षेत्रबाट योगदान गर्नुपर्ने उहाँको भनाइ थियो ।
 
अन्तरजातीय विवाह गरेकी कमला श्रेष्ठ विकले छुवाछूत अन्त्यका लागि युवा पुस्ता नै अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “समाज परिवर्तनको बाटोमा अगाडि बढिरहेको छ, यसमा गति प्रदान गर्न युवाको भूमिका अझ बढी हुन्छ । समाज परिवर्तन आफूबाटै हुनुपर्छ भन्ने मान्यतासहित सबैको सहयोग र साथ रहेमा पक्कै सुधार सम्भव छ ।” 

महानगरपालिकाले विगत चार वर्षदेखि अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गर्दै आएको छ । हालसम्म २३ जोडीलाई सम्मान गरिएको त्यसअवसरमा जानकारी दिइयो । तीमध्ये एकजना गैरदलितले दलितको छोरी विवाह गरेको महानगरपालिकाको स्वास्थ्य तथा सामाजिक महाशाखा प्रमुख शान्ताकुमारी पौडेलले जानकारी दिनुभयो ।

प्रकाशित मितिः आइतबार, २७ जेठ २०८१
https://jawaaf.com/storage/01HZYERJWMS9CF6BP09P4YYH7A.jpg

विराटनगमा प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरू

विराटनगर, २७ जेठ I कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठी आज देखि विराटनगरमा सुरू भएको छ । गृह मन्त्रालय र कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा संयुक्त आयोजना गरेको गोष्ठीको आज उपप्रधान तथा गृहमन्त्री रबि लामिछानेले उद्घाटन गर्नुभयो ।     
     
भोलिसम्म चल्ने गोष्ठीमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, आन्तरिक मामिला तथा कानुनमन्त्री लिलावल्लभ अधिकारी, गृहमन्त्रालयका सचिव, नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षकद्वय, नेपाली सेनाका उच्च अधिकारी, प्रदेशस्तरीय प्रहरी प्रमुख, १४ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा प्रतिनिधिलगायतको सहभागिता रहेको छ ।     
     
त्यसअवसरमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेलले समाजमा शान्ति सुरक्षा कायम गर्ने, विभित्र अपराधका घटना नियन्त्रण गर्ने, प्रदेशका सुरक्षा चुनौती, अपनाउनु पर्ने रणनीतिका बारेमा प्रकाश पार्नु भएको थियो ।     
 

प्रकाशित मितिः आइतबार, २७ जेठ २०८१
https://jawaaf.com/storage/01HZYECGTN6JCY1F5M0QH2V7DJ.avif

त्रिभुवन विमानस्थलबाट सुनसहित चारजना पक्राउ

काठमाडौँ, २७ जेठ I नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलेर ल्याइएको सुनसहित चारजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा मोरङ केराबारी गाउँपालिका–९ का ३१ वर्षीय सरोज कोइराला, रौतहट कटहरिया नगरपालिका–६ का २४ वर्षीय मोहम्मद इन्तेयाज आलम, सप्तरी सुरुङ्गा नगरपालिका–५ का २१ वर्षीय मोहम्मद अरमान र सप्तरी खडक गरपालिका–६ का ३७ वर्षीय ज्याउदिन मियाँ छन् ।     
      
प्रहरीले कोइराला र आलामबाट २५ ग्राम सुनको सिक्री एक थान र ६९ दशमलव ९९ ग्राम सुनको काँचो डल्लोसहित बरामद गरिएको जनाएको छ । यस्तै, ५० ग्राम सुनको सिक्रीसहित अरमान र मियाँलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालय, केन्द्रीय समाचार कक्षले जनाएको छ ।     
      
उनीहरु विमानस्थलको अन्तर्राष्ट्रिय आगमन पार्किङ क्षेत्रबाट पक्राउ परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।     
 

प्रकाशित मितिः आइतबार, २७ जेठ २०८१