बिहिबार, ११ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01HZXAF30VT4E7WWM5BRMC2S6P.avif

प्रधानमन्त्री दाहाल आज अपराह्न भारत भ्रमणमा जानुहुँदै

काठमाडौँ, २७ जेठ I प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफ्ना भारतीय समकक्षी नरेन्द्र दामोदरदास मोदीको शपथग्रहण समारोहमा सहभागी हुन पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज अपराह्न नयाँदिल्ली जानुहुने भएको छ ।     
     
प्रधानमन्त्री दाहालका साथ उहाँकी सुपुत्री गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी कर्मचारी रहनुहुनेछ । प्रधानमन्त्री मोदीले तेस्रो कार्यकालका लागि आज साँझ शपथ लिने कार्यक्रम छ ।     
     
भारतीय जनता पार्टीका नेता मोदीले शपथ लिएपछि प्रधानमन्त्री दाहाल र उहाँबीच आज साँझ नै भेटवार्ता गर्ने कार्यक्रम रहेको नयाँदिल्लीस्थित नेपालको राजदूतावासले जनाएको छ । प्रधानमन्त्री दाहाल भोलि स्वदेश फर्कने कार्यक्रम छ । प्रधानमन्त्री दाहालले शनिबार राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर आफ्नो भारत भ्रमणबारे जानकारी गराउनुभएको थियो ।     
     
मन्त्रिपरिषद्को बिहीबारको बैठकले प्रधानमन्त्री मोदीको शपथग्रहण समारोहमा प्रधानमन्त्री सहभागी हुने निर्णय गरेको थियो । यसअघि प्रधानमन्त्री दाहालले गत जेठमा पनि भारतको औपचारिक भ्रमण गर्नुभएको थियो ।     
     
सन् २०१४ मा प्रधानमन्त्री मोदीको शपथग्रहण समारोहमा तत्कालीन प्रधानमन्त्री सुशील कोइराला सहभागी हुनुभएको थियो । श्री मोदीले भारतको नेतृत्व सम्हाल्नेबित्तिकै अवलम्बन गर्नुभएको ‘छिमेक पहिले’ विदेशनीतिमा दक्षिण एसियाली राष्ट्रका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखलाई उक्त समारोहमा निमन्त्रणा गर्नुभएको थियो ।     
 

प्रकाशित मितिः आइतबार, २७ जेठ २०८१
https://jawaaf.com/storage/01HZW9BYQ2H615XZFZW3645172.jpg

नरेश काङमाङको कृति ‘पानीपतिया’माथि परिचर्चा

टक्सार (भोजपुर), २६ जेठ I बेलायतलाई कार्यक्षेत्र बनाउनु भएका पूर्वगोर्खा सैनिक एवम् साहित्यकार काङमाङ नरेश राईको निबन्धात्मक पुस्तक ‘पानीपतिया’का विषयमा भोजपुरमा परिचर्चा गरिएको छ ।   
  
प्रगतिशील लेखक सङ्घ भोजपुरले आज जिल्ला सदरमुकाममा काङमाङले गोर्खा भर्तीबारे लेखिएको ऐतिहासिक तथा अनुभूतिपरक निबन्धात्मक पुस्तकका विषयमा परिचर्चा कार्यक्रमको आयोजना गरेको हो । लेखक काङमाङको उपस्थितिमा आयोजित परिचर्चा कार्यक्रममा धनकुटा बहुमुखी क्याम्पसका उपप्राध्यापक इच्छा पूर्ण राई, पत्रकार राजन समीप र जनसांस्कृतिक महासङ्घ भोजपुरका अध्यक्ष विरोध बस्नेतले पुस्तक र समेटिएका विषयमा चर्चा गर्नुभएको थियो ।   
  
पुस्तकका विषयमा चर्चाकारहरुले काङमाङको पुस्तक अध्ययन, अनुभव र अनुभूतिको त्रिवेणी भएको बताउँदै पुस्तकले गोर्खा भर्तीको इतिहास मात्र नभई भर्ती भएर जानेहरूले बेहोरेको पीडा र दुःखलाई पनि समेटेकामा जोड दिनुभयो । नेपाली समाजमा आर्थिक दृष्टिले समृद्ध मानिने लाहुरे समुदायले गोर्खा भर्तीका क्रममा भोग्नु परेको विभेद र अन्याय नै पानीपतियाको मुख्य विषय हो ।   
  
पुस्तकमा १५ शीर्षकहरु समावेश छन् । एक सय ९१ पुष्ठको यो पुस्तकलाई फिनिक्स बुकले बजारमा ल्याएको हो । यस्तै, गोर्खा सैनिकहरुले विकास निर्माणका विषयमा खेलेको भूमिकाहरुका विषयमा पनि कार्यक्रममा चर्चा गरिएको थियो ।   
  
प्रगतिशील लेखक सङ्घ भोजपुरका अध्यक्ष अमृतका ताम्राकारको अध्यक्षतामा आयोजित परिचर्चा कार्यक्रममा आफ्नो धारणा राख्नुहँुदै पुस्तकका लेखक काङमाङले गोर्खा भर्ती अहिले वैदेशिक रोजगारी जस्तै भएको बताउँदै गोर्खा सैनिकका विषयलाई समेटिएर लेखिएको पुस्तक सबैका लागि उपयोगी हुने बताउनुभयो ।   
  
पुस्तकमा गोर्खा भर्तीको इतिहास मात्र नभएर उनीहरूले अहिले सङ्गठित हुनुपरेको अवस्था र मागका विषय पनि किताबमा आएको छ । परिचर्चाका सहभागी वक्ताहरुले पुस्तकमा पीडाका अनुभव समेटिएको बताउँदै यस्ता इतिहास मुलुक पुस्तकहरु कमै मात्र प्रकाशन हुने गरेको बताउनुभएको थियो ।  

प्रकाशित मितिः शनिबार, २६ जेठ २०८१
https://jawaaf.com/storage/01HZW31TQ7PB4MMBGW6JCK65PY.jpg

राष्ट्रिय फुटबल खेलाडी प्रिती सम्मानित

धरान (सुनसरी), जेठ २६ I धरान उपमहानगरपालिका–१७ साकेला उद्यान (पार्क)मा आज सम्पन्न भएको उभौली साकेलाका अवसरमा राष्ट्रिय महिला फुटबल खेलाडी प्रिती राईलाई नगदसहित सम्मान गरिएको छ ।   
  
किरात राई यायोक्खा सुनसरीले आयोजना गरेको उभौली साकेलाका अवसरमा रु एक लाख पाँच हजार ८४ र सम्मानपत्रसहित उहाँलाई सम्मान गरिएको हो । यायोक्खा सुनसरीका अध्यक्ष राजेन्द्र राई, धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङ, पूर्वप्रमुख तिलक राईले दोसल्ला ओढाएर नगदसहित राईलाई सम्मान गर्नुभएको थियो ।   
  
खेलाडी प्रितीले १६ वर्षको उमेरमै पहिलोपटक नेपाली राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भएकी खेलाडी हुन् । विसं २०६१ मा जन्मिएका प्रिती राष्ट्रिय महिला फुटबल टिमकी उदयीमान र कान्छी खेलाडी भनेर पनि चिनिन्छ । उहाँ नेपाल यु–१५ र यु–१६ टोलीको कप्तानसमेत रहेकी प्रिती दोस्रो अवसरमा राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भएकी थिइन् ।   
  
उभौली साकेलाको अवसरमा राष्ट्रिय एथलेटिक्स प्रशिक्षक पार्वती राई, महेन्द्र बहुमुखी क्याम्पस धरानका क्याम्पस प्रमुख चन्द्रकुमार राई, इन्जिनियर पारसमणि राई र एमबिई सुवास राईलाई समेत यायोक्खा सुनसरीले दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो ।  

प्रकाशित मितिः शनिबार, २६ जेठ २०८१
https://jawaaf.com/storage/01HZVZFS8Q5G549SA5MJ8MY4XH.jpg

राहुल गान्धी भारतको विपक्षी दलका नेता नियुक्त

प्रधानमन्त्री नरेन्द्र मोदीका प्रमुख प्रतिद्वन्द्वी राहुल गान्धीलाई शनिबार संसद्मा भारतको विपक्षीको नेतृत्व गर्न मनोनयन गरिएको छ ।

 मोदीले पछिल्लो समय आम चुनाव जितेपछि तेस्रो कार्यकालका लागि शपथ लिदै हुनुहन्छ । गान्धीको पार्टीले सत्तारूढ भारतीय जनता पार्टी (भाजपा)लाई बहुमतबाट वञ्चित गरेको थियो, जसले भाजपालाई शासन गर्न गठबन्धन सहयोगीमा भर पर्न बाध्य तुल्यायो ।

 गान्धीले विश्लेषकको अपेक्षा र एक्जिट पोललाई बेवास्ता गर्दै आफ्नो पार्टी (कांग्रेस)लाई संसदीय सङ्ख्या लगभग दोब्बर बनाउन मद्दत गर्दै गर्दाको प्रयासमा एक दशक अघिदेखि मोदी सत्तामा आएपछि सबैभन्दा राम्रो परिणाम हो । 
 शनिबार कांग्रेस नेतृत्वको बैठकमा गान्धीलाई भारतको आधिकारिक विपक्षी नेताको रूपमा चयनको लागि सिफारिस गर्न सर्वसम्मतिले मतदान भएको थियो । यो पद सन् २०१४  देखि खाली रहेको थियो ।

 सबै सहभागीले सर्वसम्मतिले प्रस्ताव पारित गरी राहुल गान्धीले संसद्मा विपक्षको नेताको पद लिनुपर्ने र केसी वेणुगोपालले पार्टी कार्यकारिणीको बैठक पछि पत्रकार सम्मेलनमा बताए । 

 शनिबार पछि कांग्रेस नेतृत्वको विपक्षी गठबन्धनका दुई सय ३२ विधायकको बैठकमा नामाङकन पेस गरिनेछ ।

 गान्धी दशकौँसम्म भारतीय राजनीतिमा प्रभुत्व जमाउने वंशको वंशज हुनुहुन्छ भने स्वतन्त्रता नेता जवाहरलाल नेहरूबाट सुरु गरेर पूर्वप्रधानमन्त्रीका छोरा र नाति हुन् ।

प्रकाशित मितिः शनिबार, २६ जेठ २०८१
https://jawaaf.com/storage/01HZVYSQP4K9DHPAECHMNBZZNA.jpg

गौतमबुद्ध विमानस्थलको भूमिस्थ प्रबन्धको जिम्मा निजी कम्पनीलाई पनि दिन सकिन्छः मन्त्री तामाङ

काठमाडौँ, २६ असोज । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री हितबहादुर तामाङले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको भूमिस्थ प्रवन्ध (ग्राउण्ड ह्याण्डलिङ) सेवा सञ्चालन निजी वायुसेवा कम्पनीहरुलाई पनि दिन सकिने धारणा राख्नुभएको छ ।   
  
अठोट नेपाल र उद्योग वाणिज्य महासङ्घ बागमती प्रदेशको पर्यटन विकास समितिको संयुक्त आयोजनामा आज यहाँ आयोजित दोस्रो राष्ट्रिय पर्यटन सम्मेलन तथा फोटो प्रतियोगिता, २०२४ को उद्घाटन गर्दै मन्त्री तामाङले सो धारणा राख्नुभएको हो ।   
  
“हाल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ नेपाल वायु सेवा निगमले गरिरहेको छ तर अन्तर्राष्ट्रिय उडानको मान्यता पाएका निजी विमान कम्पनीले यस विमानस्थललाई आधार बनाएर नियमित उडान सुरु गरेमा त्यो जिम्मेवारी दिन सकिन्छ”, उहाँले भन्नुभयो ।   
  
यसका लागि नागरिक उड्ययन प्राधिकरण विमानस्थल सेवाशुल्क नियमावली २०७८ को नियम पाँच दशमलव दुई बमोजिम प्रक्रिया सुरु गर्न प्राधिकरण व्यवस्थापनलाई स्वीकृति प्रदान गरिएको पनि मन्त्री तामाङले जानकारी दिनुभयो ।   
  
यसरी निजी विमान कम्पनीलाई पनि प्रतिस्पर्धा गराएर सेवा सुरु गर्दा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सोझै अन्तर्राष्ट्रिय उडान बढाउन सकिने उहाँले विश्वास व्यक्त गर्नुभयो ।   
  
पर्यटन क्षेत्रमा देखिएको समस्या समाधान गर्न राज्यले नीतिगत सुधार गर्नु पर्ने, व्यवसायीहरुलाई उत्साहित बनाउनुपर्ने आवश्यकता रहेको भन्दै उहाँले अब यसमा सरकारले काम गरिरहेको बताउनुभयो ।  

प्रकाशित मितिः शनिबार, २६ जेठ २०८१
https://jawaaf.com/storage/01HZVY2G8JGQ1B3TEPYDP66ASZ.jpg

‘राजनीतिक नेतृत्वले राष्ट्रियताको भावनालाई एकताको सूत्रमा बाँध्न सक्नुपर्छ’

काठमाडौँ, २६ जेठ  I प्रतिनिधिसभा सांसद एवं पूर्वमन्त्री सुदन किरातीले राष्ट्रियताको भावनालाई एकताको सूत्रमा बाँध्न राजनीतिक नेतृत्व जिम्मेवार हुनुपर्ने बताउनुभएको छ ।   
  
किरात राई यायोक्खा काठमाडौँद्वारा आज टुँडिखेलमा आयोजित उभौली साकेला सिली नाच प्रदर्शनमा किरातीले सरकार र राजनीतिक नेतृत्वले राष्ट्रियताको सुदृढीकरणका लागि सांस्कृतिक अधिकारलाई सुनिश्चित गर्नुपर्नेमा समेत जोड दिनुभयो । “उभौलीमा किरातीहरूले नयाँ कृषि कर्मको थालनी गर्छन् । आजको युगमा हामीले नयाँ सोच र सिर्जनाको पनि थालनी गर्नुपर्छ”, उहाँले भन्नुभयो, “नेपालको संविधानमा लेखिएका मौलिक हकहरू व्यवहारमा लागू भएको देख्न पाउने दिनमा मात्र नागरिकहरू खुसी हुनेछन्, नागरिक खुसी भए देश बचाउनका निम्ति राष्ट्रभाव बलियो हुन्छ ।” सांसद किरातीले संविधानअनुसार आवश्यक ऐन, कानुन र नियमावली बनाएर तत्काल कार्यान्वयनको आवश्यकता औँल्याउनुभयो ।   
  
किरात राई यायोक्खाका अध्यक्ष जीवन हाताचो राईले उभौलीको शुभकामना व्यक्त गर्दै सांस्कृतिक पहिचानको अभियानलाई सशक्त बनाउन आह्वान गर्नुभयो । उहाँले भन्नुभयो, “नेपालको संविधानमा बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषता उल्लेख गरिएको छ तर अहिले राजनीतिकर्मीहरूले नै यसलाई साम्प्रदायिक र जातीय कुरा हो, यसले विध्वंश निम्त्याउने छजस्ता भाष्य निर्माण गरिरहेका छन्, यो राम्रो होइन ।”   
  
प्रकृति पुजारी किरात समुदायको चाड उभौैली देशभर हर्षोल्लासका साथ मनाइँदैछ । यस चाडमा किरातीहरूले एकापसमा भेला भई सङ्गठितरूपमा चाड मनाउने र शुभकामना आदनप्रदान गर्ने गर्छन् । किरातहरूको धार्मिक पुस्तक ‘मुन्धुम’अनुसार समयलाई दुई भागमा बाँडेको छ, उधौली र उभौली । खेती किसानीका आधारमा यी दुई समय बाँडिएको किरात समुदायको बुझाइ छ । खेती किसानी गर्नका लागि मनाइने चाड उभौली हो ।  

प्रकाशित मितिः शनिबार, २६ जेठ २०८१
https://jawaaf.com/storage/01HZVQMG39GQZVJ35ZARQZBR7X.jpg

कम्युनिष्ट पार्टीमा अवसरवाद मौलाएको आरोप

मनहरी (मकवानपुर), २६ जेठ I नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनालले कम्युनिष्ट पार्टीमा दक्षिणपन्थी अवसरवाद मौलाएको टिप्पणी गर्नुभएको छ ।   
  
  
एकीकृत समाजवादी हेटौँडा उपमहानगरपालिका कमिटीको आजदेखि सुरु भएको नगर अधिवेशन उद्घाटन गर्दै नेता खनालले समाजवादको ‘एजेण्डा’ बिना कम्युनिष्ट पार्टीहरू टिक्न नसक्ने बताउनुभयो ।   
  
नेता खनालले समाजवादी क्रान्ति अहिलेको आवश्यकता भएको बताउँदै देशको समानुपातिक विकासका लागी समाजवाद अपरिहार्य छ भन्नुभयो । “अब सबै राजनीतिक दलले समाजवादलाई मुख्य विषय बनाउनुपर्छ”, उहाँले भन्नुभयो ।   
  
समाजवादले आम नागरीकका समस्या र गुनासो सम्बोधन गर्ने तर्क गर्दै उहाँले सङ्घीय शासन व्यवस्थामा तिनवटै तहका सरकारले समाजवादी कार्यक्रमहरु ल्याएर नागरिकलाई सहज रूपमा सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो ।  

प्रकाशित मितिः शनिबार, २६ जेठ २०८१
https://jawaaf.com/storage/01HZVPX7A92BDE24E50TBRDNJE.jpg

चेपाङ समुदायको कथामा वृतचित्र ‘पचेडा’ तयार

काठमाडौँ, २६ जेठ I मनहरी गाउँपालिका–४ स्थित नयाँबस्तीमा बसोबास गर्ने चेपाङ समुदायको कथामा वृतचित्र ‘पचेडा’ तयार गरिएको छ । साङ्गीतिक श्रव्यदृश्य (म्युजिक भिडियो) निर्देशनमा सक्रिय रहनुभएका दीपेन्द्र केसीले सो बस्तीमा बसोबास गर्ने सन्तलाल चेपाङको जीवनीमा आधारित रहेर उक्त वृतचित्रमा तयार गर्नुभएको हो ।   
  
वृतचित्रको श्रव्यदृश्य सार्वजनिक गर्दै निर्देशक केसीले एक परिवारको भोगाइ र जीविकोपार्जनका लागि गरिएको सङ्घर्षलाई प्रस्तुत गरिएको बताउनुभयो । “हामीले नजरअन्दाज गरेको कथालाई वृतचित्रको माध्यमबाट आममानिससम्म ल्याउँदैछु”, उहाँले भन्नुभयो, “चेपाङका बारेमा कमै कथाहरू भेटेपछि यसमै वृतचित्र बनाउने निर्णय लिएर काम सुरु गरेँ ।”   
  
“वृतचित्र तयार गर्दा उक्त परिवारको जीवनीसँग साक्षात्कार गर्ने मौका पनि पाएँ । उनीहरूको पीडालाई नजिकबाट बुझ्न पाएँ । मेरो उद्देश्य नै उनीहरूको जीवन र समुदायका कथा र पीडा आममानिस माझ ल्याउनु हो”, निर्देशक केसीले भन्नुभयो ।   
  
निर्देशक केसीले वृतचित्रमा ‘चेपाङ जङ्गलमै किन बसिरहेका छन् ?’, ‘उनीहरू किन अवसरका लागि सहर पस्दैनन् ?’ भन्ने प्रश्नको जवाफ खोजिएको बताउनुभयो । उक्त वृतचित्रलाई सोही चेपाङ बस्तीसँगै विदेशमा प्रदर्शनी गर्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो ।  

प्रकाशित मितिः शनिबार, २६ जेठ २०८१
https://jawaaf.com/storage/01HZVP8HS8JFA8CEKYX4NPWXB3.jpg

सरकार मुलुकको आर्थिक तथा सामाजिक रुपान्तरणमा केन्द्रित : अर्थमन्त्री पुन

काठमाडौँ, २६ जेठ I अर्थमन्त्री वर्षमान पुनले वर्तमान सरकार जनताको जीवनस्तर बदल्दै आर्थिक समृद्धि यात्रामा अघि बढिरहेको रहेको बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र) समर्थित रिटर्नी सेन्टर नेपालको प्रथम स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले सरकार मुलुकको आर्थिक तथा सामाजिक रुपान्तरणमा केन्द्रित भएको बताउनुभयो ।   
  
मुलुक गणतान्त्रिक व्यवस्थामा प्रवेश गरेपछि विभिन्न क्षेत्रमा आधारभूत उपलब्धि हासिल भएको जनाउँदै उहाँले अब ती उपलब्धिको गुणात्मक विकास गरिने बताउनुभयो । गणतन्त्रपछि मुलुकमा केही भएन भन्ने नकारात्मक भाष्य चिर्दे सरकार अघि बढिरहेको उल्लेख गर्दै अर्थमन्त्री पुनले भन्नुभयो, “ बजेटमार्फत जनतामा आशा जगाउँदै देशभित्र वा बाहिर जहाँ भए पनि राष्ट्र निर्माण योगदान दिन सक्छौँ भन्ने सोच विकास गर्न खोजिएको छ ।”   
  
आगामी आर्थिक वर्षमा एक लाख रिटर्नीलाई पुनःस्थापना गर्ने योजना अघि सारिएको जानकारी दिँदै उहाँले विदेशबाट फर्केका युवाको श्रम, सीप र पुँजीलाई स्वदेशमै प्रयोग गर्ने वातावरण बनाइएको बताउनुभयो । मन्त्री पुनले आगामी आर्थिक वर्षको बजेटमा कृषि, ऊर्जा, सूचना प्रविधि, पर्यटन र उद्यमशीलता प्रवद्र्धनलाई प्रमुख पाँच रुपान्तरणकारी क्षेत्र घोषणा गरी विशेष योजना अघि सारिएको बताउनुभयो ।   
  
“कृषिको रुपान्तरणलाई पहिलो प्राथमिकता दिइएको छ । विद्युत् उत्पादन गरी आन्तरिक खपत बढाउने तथा अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्ने योजना राखिएको छ”, उहाँले भन्नुभयो, “विदेशी पर्यटक भित्रयाएर आर्थिक समृद्धिमा फड्को मार्न सकिन्छ ।” आगामी दशकलाई सूचना प्रविधि दशक घोषणा गरिएको जानकारी दिँदै मन्त्री पुनले १० वर्षमा रु ३० खर्बको सूचना प्रविधिसम्बन्धी सेवा निर्यात र १५ लाख रोजगारी सिर्जना गरिने दाबी गर्नुभयो ।   
  
राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेतले वैदेशिक रोजगारबाट फर्केका युवालाई स्वदेशमै उद्यमशील बनाउने उद्देश्यले आगामी आर्थिक वर्षको बजेटमा समेटिएका विभिन्न कार्यक्रमबाट लाभ लिन आग्रह गर्नुभयो । परिषद्ले रिटर्नी युवालाई लक्षित गरी उद्यमशीलतासम्बन्धी तथा वित्तीय साक्षरताका कार्यक्रम सञ्चालन गरिरहेको उहाँले जानकारी दिनुभयो ।   
  
सेन्टरका अध्यक्ष देवेन्द्र सम्बाहाम्फेले वैदेशिक रोजगारबाट श्रम, सीप र पुँजीसहित स्वदेश फर्केका युवालाई एकताबद्ध गर्दै स्वदेशमै उद्यमशीलता विकासमा सहयोग गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले रिटर्नी युवालाई स्वदेशमै काम गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिँदै सरकारले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो ।   
  
रिटर्नी माइग्रेन्ट नेपालका महासचिव कृष्णप्रसाद न्यौपानेले विदेशबाट फर्केका युवाको श्रम, सीप र पुँजीको सदुपयोग गर्ने वातावरण बनाइनुपर्नेमा जोड दिँदै वैदेशिक रोजगारबाट स्वदेश फर्केका सम्पूर्ण युवा एकजुट हुनुपर्ने बताउनुभयो । नेपाल रिटर्नी एशोसियशन समाजवादीका अध्यक्ष प्रवीण पौडेलले मुलुकको राष्ट्रिय अर्थतन्त्रको विकासमा आप्रवासी कामदारले पठाएको विप्रेषणको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै वैदेशिक रोजगारीबाट फर्केका युवालाई उद्यमशील बनाउने नीति ल्याउन आग्रह गर्नुभयो ।  

प्रकाशित मितिः शनिबार, २६ जेठ २०८१
https://jawaaf.com/storage/01HZVJYMQFA71EJS9N63CH55ZE.jpg

युक्रेनलाई सघाउने अमेरिकी राष्ट्रपतिको प्रतिबद्धता

वासिङ्टन डीसी, २६ जेठ  I अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीसँग नयाँ सैन्य सहायता उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।   
 
राष्ट्रपति जेलेन्स्कीसँग आज भएको द्विपक्षीय बैठकमा युक्रेनका लागि नयाँ सहायता प्याकेजको घोषणा गर्दै त्यसलाई यथाशक्य चाँडो उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।   
 
“हामी हार नमानी उल्लेखनीय रूपमा निरन्तर लडिरहेको युक्रेनको साथमा छौँ”, बाइडेनले युक्रेनी राष्ट्रपतिलाई भन्नुभयो ।   
 
अमेरिकी राष्ट्रपतिले आफूले पारित गर्नुपर्ने विधेयक प्राप्त गर्नमा समस्या सामना गरिरहेको कुरामा जोड दिनुभयो । “सहायताको सन्दर्भमा के पारित हुन गइरहेको छ भन्ने थाहा नदिएकोमा म क्षमाप्राथी छु, हाम्रा केही रूढीवादी सदस्यबाट पारित गर्नुपर्ने विधेयक प्राप्त गर्न गाह्रो भइरहको थियो”, उहाँले भन्नुभयो ।   
 
बाइडेनले शुक्रबारको सहायतासम्बन्धी घोषणाका साथ युक्रेनलाई थप सहायताबारे पनि घोषणा गर्नुभएको सिएनएनले जनाएको छ ।   
 
“अप्रिलमा सम्झौता भएदेखी मैले महत्त्वपूर्ण सहायता कोषका छ वटा प्याकेज घोषणा गरेको छु । आज म विद्युतीय ग्रिडको पुनःनिर्माण गर्न मद्दत गर्न २२ करोड ५० लाख अमेरिकी डलरको अतिरिक्त प्याकेजमा पनि हस्ताक्षर गर्दैछु”, अमेरिकी राष्ट्रपति बाइडेनले भन्नुभयो ।   
 
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले खुला र समावेशी संवादको आवश्यकतामाथि जोड दिँदै उहाँले विश्व एकताबद्ध हुन र “पूर्ण सद्भाव”मा काम गर्न सक्षम हुनुपर्ने बताउनुभयो ।(रासस/एएनआई) 

प्रकाशित मितिः शनिबार, २६ जेठ २०८१