बिहिबार, ११ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01HZYA0WRYFX7Z7JWWAMK23ZJC.jpg

प्रधानमन्त्री दाहाल नयाँदिल्लीमा

काठमाडौँ, २७ जेठ I प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका कार्यवाहक प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री पदको शपथग्रहण गर्नुहुने समारोहमा सहभागी हुने सिलसिलामा आज अपराह्न भारतको राजधानी नयाँदिल्ली पुग्नुभएको छ ।     
     
प्रधानमन्त्री दाहाललाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय सरकारका विशेष प्रतिनिधिले स्वागत गर्नुभएको त्यहाँस्थित विदेश मन्त्रालयले जनाएको छ । तेस्रो कार्यकालका लागि भारतीय जनता पार्टीका नेता मोदीले आज साँझ भारतको प्रधानमन्त्री पदको शपथ लिनुहुने कार्यक्रम छ । सो शपथ समारोहपछि प्रधानमन्त्री दाहाल र उहाँका समकक्षी मोदीबीच आजै साँझ भेटवार्ता हुने कार्यक्रम रहेको नयाँदिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ ।     
     
प्रधानमन्त्री दाहालका साथमा उहाँकी स्वकीय सचिव गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी अधिकारी पनि हुनुहुन्छ । प्रधानमन्त्री दाहाल सोमबार स्वदेश फर्कनुहुने कार्यक्रम छ ।     

प्रकाशित मितिः आइतबार, २७ जेठ २०८१
https://jawaaf.com/storage/01HZY94C5T35PEQXTJ5MQGDX95.jpg

नेप्से परिसूचक ओरालो लाग्यो

काठमाडौँ, २७ जेठ I धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार, नेप्से परिसूचक चार दशमलव ५९ अङ्कले ओरालो लागेर दुई हजार ७३ दशमलव १९ मा सीमित भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव १५ अङ्कले ओरालो लागेर तीन सय ६८ दशमलव १८ मा सीमित भएको छ ।     
     
एक करोड चार लाख ५२ हजार एक सय २८ कित्ता शेयर रु पाँच अर्ब १८ करोड ९० लाख ७९ हजार पाँच सय २२ मा कारोबार भयो । नेप्सेका अनुसार, इस्टर्न हाइड्रोपावर, शुभम पावर, सिटी होटल र कुर्थली बुखरी स्मल हाइड्रोपावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । भगवती हाइड्रोपावरका लगानीकर्ताले नौ दशमलव ९९ प्रतिशतले कमाएका छन् ।     
     
यस्तै बुद्धभूमि नेपाल हाइड्रोेपावर १०, पोखरा फाइनान्स सात दशमलव १२, लक्ष्मी लघुवित्त ६ दशमलव ६१, माईखोला हाइड्रोपावर पाँच दशमलव ३४ तथा मिड सोलु हाइड्रोपावरका लगानीकर्ताले चार दशमलव ५२ प्रतिशतले गुमाएका छन् ।     
 

प्रकाशित मितिः आइतबार, २७ जेठ २०८१
https://jawaaf.com/storage/01HZY8NKJG627BGM267KVJGTNX.jpg

कर्णालीको झोलुङ्गे पुलमा अड्किएका खच्चडको उद्धार

अछाम, २७ जेठ I कर्णाली नदीमा रहेको झोलुङ्गे पुलको जाली लत्रिँदा बीच भागमै अड्किएका ११ खच्चडको जीवितै उद्धार गरिएको छ । दुई खच्चडको भने मृत्यु भएको छ ।     
     
अछामको पञ्चदेवल बिनायक नगरपालिका–९ कालेकाडा र दैलेखको आठबिस नगरपालिका–६ खिड्कीजिउला जोडने झोलुङ्गे पुलको जाली लत्रिएपछि आज बिहानदेखि १३ खच्चड पुलको बीच भागमा अड्किएका थिए । खच्चडलाई पुलको जाली काटेर कर्णालीमा खसाली उद्धार गरिएको अछामका प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले जानकारी दिनुभयो ।     
     
“पुलको जाली काटेर उद्धार गर्ने क्रममा दुई खच्चडको मृत्यु भएको हो”, उहाँले भन्नुभयो–“बाँकीको डुङ्गाको सहायताले जीवितै उद्धार गर्न सफल भयौँ ।”     
     
पुलको दाँहिने तर्फको जाली लत्रिएको थियो । खट्टा जालीभित्र पसेपछि खच्चड पुलमा अड्किएका थिए । पुलको दाँहिने तर्फको भाग पुरै बाङ्गो भएको छ । उद्धारमा अछामस्थित नेपाली सेनाको गोरख बक्स गणको टोली, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीयवासी खटिएका थिए ।     
 

प्रकाशित मितिः आइतबार, २७ जेठ २०८१
https://jawaaf.com/storage/01HZY87MTEPDAZGMCZTTPKGPM5.jpg

विचार : किन ओझेलमा पर्‍यो दलित इतिहास ?

काठमाडौँ, २७ जेठ I हाम्रो देशमा इतिहासका विविध विषय छन् । कैयौँ विषय यस्ता छन्, जो लेख्न बाँकी नै छ । देख्दा साधारण जस्ता लाग्ने तर कतिपय गम्भीर विषयहरुमाथि नेपालका इतिहासकारहरुको कलम चलेको पाइँदैन । यस्ता गम्भीर विषयमध्ये एक हो, दलित उत्पीडितहरुको इतिहास । दलित उत्पीडितहरुको इतिहास लेखनका लागि स्वयं यस समुदायका इतिहासकारको उपस्थिति नदेखिदा र गैरदलित समुदायका इतिहासकारले उनीहरुको इतिहासको खोजी र लेखनप्रति उत्साह नदेखाउँदा नेपालका दलितहरुको इतिहास ओझेलमा पर्न पुगेको छ । युगौँदेखि छुवाछूतको मारमा परेको यो समुदायको सवालको प्राज्ञिक उत्थानका लागि पनि उनीहरुको छुट्टै इतिहास लेखनको आवश्यकता देखिन्छ ।     
     
छुवाछूतको प्रचलन कहिलेदेखि चल्यो, कुन कारणले यी श्रमिक र सिल्पी समुदायलाई छुवाछूतको सिकार बनाइयो भन्ने बहस त भइरहेकै छ । उनीहरुको उत्थान र मुक्तिका लागि सरकारी तथा गैरसरकारी तहबाट केही प्रयासहरु भइरहेकै छन् । तर इतिहास लेखनमार्फत् पनि दलित तथा उत्पीडित वर्गलाई जुन प्रकारले प्राज्ञिक जगतबाट सम्बोधन हुनुपर्ने हो, यस्तो प्रयास भने हुन सकेको छैन । त्यसैले दलित उत्पीडित समुदायको छुट्टै इतिहास लेखन आजको एक प्राज्ञिक आवश्यकता हुन पुगेको छ ।     
     
दलित उत्पीडितहरुको इतिहास लेख्ने क्रममा सोही समुदायका बौद्धिक व्यक्तित्वहरु पद्मलाल विश्वकर्मा, यामबहादुर किसान, रविमान लम्जेल र गणेश विकेको संयुक्त लेखनमा “नेपाली दलित आन्दोलनको संक्षिप्त इतिहास” (२०६३) प्रकाशित भएको पाइन्छ । यस पुस्तकले पृथ्वीनारायण शाहको समयमा सक्रिय बिसे नगर्ची, यखाजङ्ग विश्वकर्मालगायतका अगुवाहरुको सक्रियतालाई छिटपुट रुपमा समेटेर हालसम्म भएका दलित आन्दोलनको चर्चा गरेको छ ।     
     
इतिहासको स्रोतका रुपमा शिलालेखहरुको उपलब्धताको हिसाबले इतिहासकारहरुले लिच्छवीकाललाई स्वर्णयुग मान्दै आएका छन् । इतिहासकारहरुले काल निर्धारण गरेअनुसार नेपाल संवत सुरु हुनुभन्दा अघिको काललाई प्राचीनकाल, त्यसपछि मध्यकाल र पृथ्वीनारायण शाहको समययतादेखिको काललाई आधुनिककाल मान्दै आएका छन् । यसअनुसार प्राचीनकाल र मध्यकालको इतिहास लेख्ने इतिहासकारहरुले दलितहरुको अवस्थाबारे ऐतिहासिक विवेचना गरेको त्यति पाइँदैन । नेपाली इतिहासको खोजीले त्यसतर्फ पनि चासो राख्ने ठाउँ प्रशस्तै रहेको छ । पृथ्वीनारायण शाहकालीन बिसे नगर्चीबारे पनि गम्भीरतापूर्वक इतिहास खोजी हुनै बाँकी छ ।     
     
बिसे नगर्चीः ऐतिहासिक व्यक्तित्त्व     
     
पृथ्वीनारायण बिसे नगर्चीलाई नाटक, कविता आदिको माध्यमबाट चर्चाको चुलीमा पु¥याइँदै आएको छ । त्यसैले उनी कतै साहित्यिक विधाको पात्र मात्रै त होइन भन्ने भ्रम पनि पर्न जान्छ । तर बिसे नगर्ची पृथ्वीनारायण शाहको समयमा भएका विभिन्न युद्धहरुको मोर्चामा सक्रिय एक योद्धा पनि थिए भन्ने ऐतिहासिक तथ्य विभिन्न स्रोतहरुमा पाइन्छ । उनी १८०१ सालमा नुवाकोटको युद्धमा तीनघारेतिरबाट बढेको युद्धमोर्चामा पृथ्वीनारायण शाहका साथ सामेल थिए । गोरखालीहरुले असोज १५ गते नुवाकोट जित्दा विजयोत्सवमा बिसे नगर्चीले नगरा घन्काउँदा उनलाई बानादार दमाई र मणिराम गाइनेले साथ दिएका थिए ।     
     
विसं १८१२ मा साउनमा लमजुङसँग सिरानचोकमा गोरखालीको युद्ध हुँदा त्यहाँ पनि बिसे नगर्ची सक्रिय थिए । युद्धमा गोरखालीको जीत हुँदा हारेका लमजुङे सैन्य अधिकारीहरुको अपमान गर्न बिसे नगर्चीको धोती टाँगेर उनीहरुलाई धोतीमुनि छिर्न लगाई बेइज्जत गरिएको ऐतिहासिक प्रसङ्ग भाषा वंशावलीमा पढ्न पाइन्छ ।     
     
अहिले पनि बिसे नगर्चीका सन्तति गोरखामा रहेका छन् । उनीहरुसँग बिसे नगर्चीको नाम उल्लेख भएको रुक्का सुरक्षित रहेका छन् । तीमध्ये १८४६ माघ सुदी १५ मा जारी रुक्कामा “केही जग्गा जमिनको जागिर विस्याको नाउमा गयाको रहेछ, त्यो जग्गा उसैको छोरो दुब्ल्यालाई बक्स्यौँ” भन्ने प्रसङ्ग परेको छ । यसअनुसार बिसे नगर्चीको छोराका नाम दुब्ल्या अर्थात् दुब्ले रहेको देखिन्छ । यस्ता ऐतिहासिक स्रोतहरुबाट पनि बिसेलगायतका ऐतिहासिक व्यक्तित्वहरुको छुट्टै इतिहासको खोजी गर्न सकिन्छ ।     
     
जङ्गबहादुरको दृष्टिमा दलित     
     
दलित उत्पीडित समुदायको इतिहासको खोजीका क्रममा तत्कालीन शक्तिशाली प्रधानमन्त्री जङ्गबहादुर राणाको एक अभिव्यक्तिलाई गम्भीरतापूर्वक नियाल्नु जरुरी छ । दलितहरुको सीप, श्रम र सिर्जनाका बारेमा जङ्गबहादुर गम्भीर र संवेदनशील थिए । उनले दलित समुदायको महत्वलाई बुझेका थिए । यसबारेमा उनले आफू बेलायत भ्रमणका बेला यता कार्यवाहक प्रधानमन्त्री रहेका आफ्ना भाई बमबहादुरलाई आफ्नै हस्ताक्षरमा लेखेको पत्रलाई उदाहरणका रुपमा लिन सकिन्छ ।     
     
त्यसबेला उनले आफ्ना भाइलाई लेखेको पत्रमा कामी, सार्की, दमाई, कर्मीहरुको जागिर नखोस्नू भन्ने आदेश दिएका छन् । पत्रमा “कामी, सार्की, दमाई, कर्मी खोसे इलम पनि बिग्रन्छ । कारखाना पनि बिग्रन्छ । कोते, पिपा, जमादार, खलासी एक पनि नखोसेस् । यिनलाई खोस्नु बडो अनविवेक हुन्छ, किनभने यी थोरै खाई धेरै काम गर्छन्” भन्ने परेको छ । यताबाट हेर्दा दलित उत्पीडितले थोरै ज्याला लिएर धेरै र राम्रो काम गर्ने भएकोले उनीहरुको जागिर खोसिदिदा कारखाना चल्न नसक्ने र त्यस्तो काम गर्नु विवेकसम्मत नहुने धारणा जङ्गबहादुरको रहेको देखिन्छ ।     
     
दलित उत्पीडितहरुको श्रम र सीपले सामान्य नागरिकको दैनिक जीवनमा उपयोग हुने सामग्रीको आपूर्ति त हुन्थ्यो नै, अझ जङ्गबहादुरको समयमा स्वचालित उपकरणहरुको विकास भइनसकेको अवस्थामा हातैले काम गरेर सैन्य प्रयोजनका हतियार कारखाना चलाउनुपर्ने अवस्था थियो । हतियारका लागि फलामको काम अनिवार्य हुन्थ्यो । यस्ता कारखानामा छालाको काम पनि अनिवार्य थियो । त्यसैले त्यसबेला मेगेजिन अड्डा नाम दिइएको हतियार कारखानामा आरन फाँट र सार्की फाँट हुन्थ्यो । सैनिकहरुका लागि जङ्गी पोशाक तयार गर्न दमाईहरुको श्रम र सीपको प्रयोग हुन्थ्यो ।     
     
त्यसबेला सरकारबाट कर उठाउनका लागि जारी भएका ऐतिहासिक कागजपत्रहरुमा कम्पु तथा मेगेजिन करबारे उल्लेख छ । कम्पु भनेको सैनिक पल्टन हो भने मेगेजिन अड्डा भनेको हतियार कारखाना हो । यस्तै पुराना कागजपत्रहरुमा सार्कीको पलेटी, कामीको ताल, दमाईको सुजेरो भन्ने पनि उल्लेख गरिएको पाइन्छ । यी सबै दलित तथा उत्पीडित समुदायका श्रमिकहरुले गर्ने कामहरु हुन् । दलित तथा उत्पीडित समुदायको श्रम र सीपलाई राम्ररी नियालेका जङ्गबहादुरले हचुवाको भरमा कामी, सार्की, दमाईको जागिर नखोस्नू, उनीहरुको जागिर खोसिए इलम पनि बिग्रन्छ, कारखाना पनि बिग्रन्छ भनेका होइनन् ।     
     
सबाल्टर्न दर्शनको उपयोग     
     
नेपालमा इतिहास लेखनलाई राजा महाराजाको कथा भन्नेहरुको सङ्ख्या प्रशस्तै छ । हुन पनि नेपालमा जे जति इतिहास लेखिए, तीमध्ये अधिकांशले राजा महाराजा वरिपरि फेरो मारेको देखिन्छ । विगतमा जे जस्ता घटनाहरु छन्, तिनीहरुको तथ्यपूर्ण प्रस्तुति नै इतिहास हो । इतिहासकारहरुले जनस्तरको इतिहास लेखनलाई प्राथमिकतामा नराखेकै हुन् । त्यसैले बारम्बार प्रश्न उठ्ने गरेको छ, खोई जनताको इतिहास लेखेको ?     
     
नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको पनि डेढ दशक नाघिसकेको छ । अब पनि जनस्तरको इतिहासको खोजीले प्राथमिकता नपाए कहिले पाउने ? तिनै जनस्तरको इतिहासको अध्ययन क्षेत्रभित्र दलित उत्पीडितहरुको इतिहास पनि पर्छ । तर यसतर्फ गम्भीरतापूर्वक चिन्ता र चासो देखा परिरहेको छैन । केवल नारा जुलुश, आमसभा र गोष्ठीहरुले मात्रै दलित उत्पीडितहरुलाई न्याय दिलाउन सक्दैन । उनीहरुका लागि इतिहासको खोजीबाट पनि प्राज्ञिक न्याय प्रदान गर्न सकिन्छ ।     
     
दलित उत्पीडितहरुका लागि इतिहास लेखनमा देखा परेको पछिल्लो दर्शन सबाल्टर्न दर्शन उपयोगी देखिन्छ । सबाल्टर्न शब्दको प्रयोग गर्ने पहिलो ब्यक्ति इटालियन चिन्तक एन्तोनियो ग्राम्सी हुन् । उनले यो शब्द तल्लो तहका मानिसहरुलाई जनाउन लागि प्रयोग गरेका थिए । इतिहास लेखनमा निम्न स्तर, सुविधाविहीन, उपेक्षित, सिमान्तकृत, अल्पसङ्ख्यक, आवाजविहीन तथा कमजोर अवस्थामा रहेका समुदायका विषयलाई पनि यथोचित रुपमा समेट्नुपर्छ भन्ने दर्शन नै सबाल्टर्न दर्शन हो । इतिहास लेखनमा यो दर्शनलाई ब्यवहारमा लागू गर्नेमध्ये भारतीय इतिहासकार रन्जित गुहा मुख्य मानिन्छन् ।     
     
नेपालका दलित उत्पीडितहरु नेपालका सिमान्तकृत र आवाजविहीन वर्गमा पर्छन् । तर सबाल्टर्न दर्शनले इतिहास लेखनमा सिमान्तकृत र आवाजविहीनहरुलाई मात्रै समेट्नुपर्छ भन्ने मान्यता राख्दैन । जसरी इतिहास निर्माणमा मुख्य नायकको भूमिका हुन्छ, उसको नेतृत्त्वलाई सफल बनाउन निम्न तहका कार्यकर्ताको पनि उत्तिकै महत्त्वपूर्ण भूमिका हुने हुँदा उनीहरुको भूमिकालाई पनि इतिहास लेखनमा समुचित स्थान दिइनुपर्ने धारणा सबाल्टर्न दर्शनले बोकेको छ ।     
     
नेपालको इतिहास लेखनमा राजा महाराजारुपी नायकहरुलाई मात्रै स्थान दिइँदा उनीहरुलाई सफल बनाउने तल्लो तहका मानिसहरुको इतिहासलाई विस्मृत बनाउनुलाई कुनै पनि हालतमा न्यायोचित मान्न सकिन्न । पृथ्वीनारायण शाहलाई नेपालका इतिहासकारहरुले जुन ढङ्गले इतिहास लेखनमा स्थान दिए तर उनलाई सफल बनाउने बिसे नगर्चीलाई उनीहरुले गौण ठानिदिए । उनको विषयमा छुट्टै इतिहास लेख्न इतिहासकारहरुको कलम खासै उत्साहित भएको देखिएन ।     
     
यसरी पनि दलित उत्पीडितहरुको इतिहास ओझेलमा पर्न गएको छ । अब दलित उत्पीडितहरुको इतिहासको खोजी र लेखनले पनि उचित स्थान पाउन जरुरी छ । यसका लागि स्वयम् दलित उत्पीडित वर्गबाट पनि इतिहासकारहरु तयार हुनु आवश्यक छ । अरुको भरले होइन, अब आत्मनिर्भरताले तथ्यपूर्ण इतिहास लेखिनुपर्छ ।(लेखक इतिहास अध्ययनमा रुचि राख्नुहुन्छ)-रासस
 

प्रकाशित मितिः आइतबार, २७ जेठ २०८१
https://jawaaf.com/storage/01HZY5EPRX27ENKKTE4JXD3046.jpg

मोफसलमा दर्शक भेट्दै ‘पुजार सार्की’ समूह

काठमाडौँ, २७ जेठ I चलचित्रको गतिविधि प्रायः काठमाडौँ उपत्यका केन्द्रित नै भइरहेका हुन्छन् । प्रदर्शन अगाडि पत्रकार सम्मेलनका लागि मोफसलका केही सहरमा भने चलचित्रकर्मी पुग्ने गरेका छन् । प्रिमियर, निर्माण घोषणालगायत कार्यक्रम काठमाडौँ केन्द्रित भइरहँदा पछिल्लो समय चलचित्रकर्मी दर्शकसँग भेटघाट गर्न र प्रतिक्रिया लिन मोफसल पुग्ने गरेका छन् । 

यही क्रममा प्रदर्शनरत चलचित्र ‘पुजार सार्की’ को प्रतिक्रिया लिन र दर्शकसँग साक्षात्कार गर्न निर्देशक दिनेश राउत, अभिनेता आर्यन सिग्देल, अभिनेत्री अञ्जना बराइलीसहितको समूह मोफसल पुगेको छ । 

शनिबार चितवनदेखि सुरू भएको मोफसल यात्रा आज पोखराका दर्शकसँग भेटघाट गर्दै सकिने निर्देशक राउतले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो प्रचार काठमाडौँ उपत्यका केन्द्रित भइरहेको हुन्छ, हामीले पनि उपत्यकाका दर्शक भेटघाट गरेपछि मोफसलमा निस्किएका छौँ, यस्ता गतिविधिले बजार बढाउन मदत गर्छ भन्नेमा विश्वस्त छौँ”, निर्देशक राउतले भन्नुभयो । 

चितवनका दर्शक भेटेपछि अभिनेता सिग्देलले चलचित्र चेतना बढेको महशुस गर्नुभयो । “हामीले चलचित्रका बारेमा पाइरहेको प्रतिक्रियाले आगामी दिनमा काम गर्न दिशानिर्देश गर्छ, दर्शकको प्रत्यक्ष प्रतिक्रिया लिन पाउँदा उत्साहित छु”, अभिनेता सिग्देलले भन्नुभयो । 

प्रदीप खड्का, आर्यन सिग्देल, अञ्जना बराइली, परीक्षा लिम्बू, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, शङ्कर आचार्य लगायतले अभिनय गर्नुभएको चलचित्रमा अन्तरजातीय प्रेम र त्यसका लागि गरिने सङ्घर्ष देखाइएको छ । विकास सुवेदीले लेख्नुभएको चलचित्रलाई सङ्गीतकार सुवास भुसालले निर्माण गर्नुभएको हो । 

प्रकाशित मितिः आइतबार, २७ जेठ २०८१
https://jawaaf.com/storage/01HZY56HM3N7B8HS99A67SJ67J.jpg

आरन व्यवसायबाट राम्रो आम्दानी

अत्तरिया (कैलाली), २७ जेठ I परम्परागत सीपमा आधारित आरन व्यवसायबाट यहाँका व्यवसायीले राम्रो आम्दानी गर्न थालेका छन् । पछिल्लो समय आरन व्यवसायी घट्दै गएका भए पनि व्यवसायमा लागेकाले भने राम्रो आम्दानी गर्न थालेका हुन् ।     
      
कैलालीको धनगढी उपमहानगरपालिका–११ बेलाका खेमबहादुर विकले पुराना घरायसी प्रयोजनका सामान मर्मत गरेर मात्रै दिनमा रु एक हजार पाँच सयदेखि रु दुई हजारसम्म आम्दानी गर्ने गरेको बताउनुभयो ।     
      

 “कुनै दिन रु तीन हजारसम्म पनि आम्दानी हुन्छ, नयाँ सामान बनाउनसके त राम्रै कमाइ हुन्छ, पुराना मर्मत गरेर पनि कमाइ ठिकठिकै हुन्छ, दैनिक रु एक हजार पाँच सयसम्म बचत हुन्छ”, उहाँले भन्नुभयो, “खेतीपाती गर्न जग्गा जमिन छैन्, अन्य रोजगारी पनि केही छैन, सात जनाको परिवार छ, छोराछोरीको लालनपालन, पढाइलेखाइ खर्च यसैबाट चलाएको छु ।”     
      
नयाँ बनाएको बञ्चरोलाई रु तीन हजारसम्म, हँसियालाई रु पाँच सयदेखि रु एक हजार पाँच सयसम्ममा बिक्री गर्ने गरेको विकको भनाइ छ । “कृषि तथा घरायसी प्रयोजनका सबै सामान बनाउने सीप छ”, ४० वर्षीय विकले भन्नुभयो, “आधुनिक औजारको प्रयोग गरेर काम गर्न पाएको भए त मनग्य आम्दानी हुन्थ्यो ।”     
      
त्यस्तै जिल्लाको गोदावरी नगरपालिका–८ स्याउले बजारका शेरबहादुर तिरुवाले आरन व्यवसायबाट राम्रै आम्दानी हुने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “दैनिक रु एक हजार पाँच सयदेखि रु दुई हजारसम्म कमाइ हुन्छ, कुनै दिन रु तीन हजारसम्म पनि कमाइ हुन्छ, खर्च कटाएर दैनिक रु एक हजार पाँच सयसम्म बचत हुन्छ ।”     
      
उहाँले सम्पूर्ण घर खर्च यसै आरन पेसाबाट चलाएको बताउनुभयो । उमेरले ५० वर्षीय तिरुवाले भन्नुभयो, “१० जनाको परिवार यसै पेसाबाट पालेको छु, अरु आम्दानीको स्रोत केही छैन ।” औजार आधुनिक किसिमका भए आरन पेसाबाट अझ राम्रो आम्दानी लिन सकिने उहाँको भनाइ छ ।     
      
“हामीले काम गर्ने औजार पुरानै भए, यी औजारबाट सामान बनाउन मेहनत धेरै लाग्छ”, उहाँले भन्नुभयो, “औजार आधुनिक किसिमका भएको भए सामान बनाउन सजिलो हुन्थ्यो, आम्दानी पनि बढी लिन सकिन्थ्यो, अरुलाई रोजगारी पनि दिन सकिन्थ्यो ।”     
      
उहाँले कृषि तथा घरायसी प्रयोजनका सबै सामान सबै सामान बनाउने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “नयाँ तयार गरिएको एउटा हँसिया रु एक हजारदेखि रु एक हजार पाँच सय, खुडा रु तीन हजारसम्ममा बिक्री हुन्छ ।”     
      
त्यस्तै सोही ठाउँका खडक तिरुवाले पनि आरन व्यवसायबाट दैनिक रु एक हजार पाँच सयसम्म आम्दानी गर्ने गरेको बताउनुभयो । “मेहनत पनि छ, आम्दानी पनि हुन्छ, मैले कुटो, कोदालो, बञ्चरो, हँसियालगायत कृषि तथा घरायसी प्रयोजनका सबै सामान बनाउने गरेको छु”, तिरुवाले भन्नुभयो ।     
      
उहाँको पाँच जनाको परिवार छ । सबै घरखर्च, छोराछोरीको पढाइलेखाइ यसैबाट धानेको उहाँको भनाइ छ । आरनकै काम सिकेकाले अरु काम गर्न मन नलाग्ने उहाँ बताउनुहुन्छ । उहाँका अनुसार पुरानै शैलीमा काम गरिने भएकाले मेहनत बढी लाग्छ ।     
      
“व्यवसाय समयानुकूल आधुनिकीकरण हुनसके राम्रै आम्दानी हुन्थ्यो”, उहाँले भन्नुभयो, “आरनमा काम गर्न दुई जना अनिवार्य चाहिन्छन्, आधुनिक किसिमका विद्युतीय औजार भएको भए काम गर्न सजिलो हुन्थ्यो, आरनको काम गर्ने पनि बढ्थे होला ।”     
 

प्रकाशित मितिः आइतबार, २७ जेठ २०८१
https://jawaaf.com/storage/01HZY1JHJSEQTZDNYX5X5RNDZG.webp

धानको बीउ नपाएर किसान हैरान

महोत्तरी, २७ जेठ I भर्खरैको वर्षाले खेतमा राम्रो चिस्यान भएपछि यहाँका किसान धानको ब्याड राख्ने तयारीमा छन् । भरपर्दो बीउ नपाउँदा किसानको हैरानी भने बढेको छ । जेठ चौथो साताको प्रारम्भसँगै यहाँका सबै भेगमा परेको पानीले माटोमा चिस्यान बनेको छ । यो चिस्यानमै ब्याड राख्ने तरखरमा रहेका किसान बीउ नपाएपछि हैरान बनेका हुन् ।

“धुले बीउ राख्न हुनेगरी पानी त प¥यो, तर भरपर्दो बीउ पाइएको छैन”, भङ्गाहा–४ रामनगरका ७० वर्षीय किसान शेष जब्बर भन्नुहुन्छ, “बजारमा किनिएको बीउ राम्रो उमारेको नहुँदा विगतमा दुःख पाएका छौँ ।” 

बजारमा किनिएको बीउ राम्ररी नउम्रने, नगाँजिने र पोटिलो दाना नलाग्ने गरेको विगत अनुभवले जब्बारलाई अब के गर्ने भन्ने चिन्ताले पिरोलेको छ । जब्बारमात्र नभएर यहाँका अधिकांश किसान अहिले आफ्नै स्थानीय तहको कृषि शाखाबाट बीउ पाउने आशमा बसेका छन् । 

धेरैजसो स्थानीय तहका कृषि शाखाले किसानलाई सुपथ मूल्यमा दिइने बीउको व्यवस्था नगर्दा किसान फेरि खुला बजारकै भरपर्नुपर्ने भएको छ । “पोहोर, परार सस्तो महँगो जे–जस्तो भए पनि वडा कार्यालयबाट बीउ पाइएको थियो”, सो बस्तीकै अर्का किसान गङ्गाराम महतो सम्झनुहुन्छ, “यसपटक बीउ वितरणबारे थाहा पाइएन ।”

जेठ मध्यअघि नै राखिसक्नुपर्ने ब्याड यसपटक वर्षा ढिलो हुँदा किसान पछि परेका हुन् । अब समय निकै घर्किसक्दा धान रोप्नै नपाइने पो हो कि भन्ने चिन्ताले किसानको पिरोलो बढेको हो । राम्रो बीउको अभावले मुख्य बाली मानिएको धान ठीक समयमा रोप्न नसक्ने छाँट देखिएपछि किसान यसपाली अन्नको सङ्कट बढ्नसक्ने आशङ्काले पिरोलिएका छन् । हिउँदे वर्षा राम्रो नपर्दा चैतेबालीबाट राम्रो उत्पादन लिन नसकिएको र वैशाखे तरकारीबाली खडेरीमा परेर पहेँलिएको हुँदा किसानको आश अब धानमा टिकेको हो । यो जिल्लाकै मुख्यबाली समयमा लगाउन नपाइएपछि गुजाराको सङ्कट बढ्ने किसानको चिन्ता छ । 

बर्दिवास–९ पशुपतिनगरका ६५ वर्षीय किसान रामचन्द्र थापामगर बीउकै खोजीमा भौतारिनुपरेको छ । पहिले नै पानी नपर्दा बर्खे धानको बीउ राख्ने समय नभएको हुँदा अब हिउँदे धानको मात्र किसानको आश छ ।

असार पहिलो सातालगत्तै धानको सघन बीउ (बेर्ना) रोपाइँ सुरु गरिनुपर्ने यो खेतीको तालिका छ । जेठ सकिनै लाग्दासम्म बीउ नपाएर ब्याड राख्न नपाएका किसान रनभुल्ल परेका छन् । “जेठ सकिनै लाग्यो, धानको बीउ पाइएको छैन”, जिल्लाको बलवा नगरपालिका–१० धमौराका किसान इब्राहिम राइन भन्नुहुन्छ, “यसपाली राम्ररी धान रोप्न पाइने छाँट छैन ।” 

जिल्लाको मुख्य फसल (बाली) धान लगाउने टुङ्गो नभएपछि किसान घरगुजाराको चिन्ताले पिरोलिएका छन् । पहिले पहिले स्थानीय जातका धान लगाइँदा आफैँले बीउ राख्ने गरे पनि अहिले विकासे जातका धान लाउन थालिएकाले बीउकै लागि बजारको मुख ताक्नु परेको किसान बताउँछन् । हामीसँग आफ्नै कलमखोर, गोला, हरिणकेर, वानपाकी, जसवा र सञ्जिरासहित दर्जनौँ धानका जात हुन्थे”, भङ्गाहा–८ धर्मपुरका ७५ वर्षीय किसान राजेन्द्र बछार थारु भन्नुहुन्छ, “विकासे जात धेरै फलाउने भनेर पुरानो धान मासियो, अहिले बीउ नपाएर सास्ती छ ।” 

पछिल्ला दुई दशकयता स्थानीय जातका धान लगाउन छाडेपछि प्रत्येक वर्ष ब्याडमा बीउ राख्ने बेलामा बीउ नपाएर सास्ती पाइने गरेको किसानको भोगाइ छ । “कहिलेकाहीँ त वडा कार्यालयले भाउ मिलाएरै दिन्थ्यो, यसपाली भने बीउ पाइएन”, बछारकै छिमेकी रामसागर राउत भन्नुहुन्छ । 

जिल्लामा कूल ७० हजार हेक्टर खेतीयोग्य जग्गामध्ये ४५ हजार हेक्टर धानखेतीका लागि उपयुक्त मानिन्छ । यद्यपि कूल खेतीयोग्य जग्गामध्ये १० प्रतिशतमा मात्र कुलो नहर लाग्ने हुँदा अधिकांश खेती आकाशे पानीकै भरमा छ । स्थायी कुलो, नहर १० प्रतिशतमा मात्र पुगेको हुँदा किसानले कहिल्यै सजिलै समयमा खेती लगाउन पाएका छैनन् । 

यो अवस्थाले बर्सेनिजसो अपेक्षित धान रोपाइँ हुन नसकेको कृषि ज्ञान केन्द्रका बालीविज्ञको स्वीकारोक्ति छ । “समयमा पानी र बीउ नपाउँदा किसान हैरान भएका छन्”, कार्यालयका बालीविकास अधिकृत राजकिशोर यादव भन्नुहुन्छ, “मुख्यरुपमा अहिले किसानलाई बोरिङ, इनार र स्यालो ट्युबबेलजस्ता वैकल्पिक सिँचाइमा प्रोत्साहित गरिँदैछ, यसले आकाश ताक्नुपर्ने अवस्थामा राहत दिनेछ ।” 

बीउका लागि स्थानीय तहका कृषि शाखाको पहलकदमी बढ्दा किसानले राहत पाउने यादव बताउनुहुन्छ । जिल्लामा १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ स्थानीय तहमध्ये धेरैजसो कृषि शाखा सञ्चालनबारे बेखबर झैँ रहेका किसानको गुनासो छ । 

जिल्लाका एकाध स्थानीय तहबाहेक किसानलाई समयसमयमा सल्लाह दिने, बाली हेरिदिने, बीउको प्रबन्ध गरिदिनेजस्ता काम हेर्नेगरी कृषि शाखा सञ्चालन हुन नसकेको अखिल नेपाल किसान महासङ्घका संयोजक पर्शुराम ठाकुर बताउनुहुन्छ ।

“स्थानीय तहको प्राथमिकतामा बीउ, सिँचाइ र समयमा मलखादको प्रबन्ध परेको देखिँदैन”, ठाकुर भन्नुहुन्छ, “यो अवस्थाले किसान निरास छन् ।” उहाँका अनुसार कृषि सामग्रीको  बजार व्यवस्थापन नगरिँदा र गुनासो सुनाउने ठाउँ नपाइँदा किसानको निराशा बढेको हो ।

यसैबीच जिल्लाको मटिहानी नगर कार्यपालिकाको कार्यालयले भने कृषि शाखा सक्रियतापूर्वक काममा रहेको जनाएको छ । “हामीले खेतीपातीको बेला बीउ, मलखाद र अन्य प्रबन्धमा ध्यान दिँदै आएका छौँ”, प्रमुख प्रशासकीय अधिकृत चन्द्रशेखर शर्मा भन्नुहुन्छ, “यसैगरी फलपूmल रोपन, मखानखेतीको बजार व्यवस्थापन र गाई बाख्रापालनमा सहयोग कार्यक्रम नियमित छन् ।” 

स्थानीय तहले कृषि शाखा सञ्चालनमा ल्याउन नसक्दा आवश्यक सेवा र परामर्श किसानले पाउन नसकेका भङ्गाहा–५ सीतापुरका बासिन्दा कृषि क्षेत्रको सरकारी सेवाबाट निवृत्त रामबहादुर भुजेल बताउनुहुन्छ । “जिल्लास्थित कृषि ज्ञानकेन्द्र प्रदेश सरकार मातहत छन्”, सहसचिवको सेवाबाट निवृत्त हुनुभएका भुजेलले भन्नुभयो, “पहिलेका केन्द्र र उपकेन्द्र स्थानीय तह मातहत छन्, जिल्लास्थित कृषि ज्ञानकेन्द्र र स्थानीय तहका निकायबीच समन्वयको राम्रो तारतम्य मिल्न सकेन ।”

सैद्धान्तिकरुपमा भएको व्यवस्थाभित्र स्थानीय तहले कृषि शाखा सञ्चालन गर्न नसक्दा पहिलेका कृषि केन्द्र र उपकेन्द्रका कृषि प्राविधिक अहिले कुनै काममा नदेखिएको आम कुरा नै बनेको छ । यहाँका स्थानीय तह कृषि शाखाको सफल सञ्चालन गर्न नसकेको स्वीकार गर्छन् । 

“यो विल्कुल विषय दक्षतामा आधारित क्षेत्र रहेछ”, भङ्गाहा नगरपालिकाका प्रमुख सञ्जिवकुमार साह भन्नुहुन्छ, “किसानले बढीभन्दा बढी सेवा लिनसक्ने गरी कृषि शाखाको सञ्चालन र सेवा प्रवाहको उचित समन्वय गर्न सकिएको छैन ।”

स्थानीय तहमा रहेका कृषि केन्द्र र उपकेन्द्रमा कार्यरत कृषि प्राविधिक र कर्मचारीले आफूहरु स्थानीयतहको नेतृत्वबाट उपेक्षित भएको गुनासो गरेका छन् । आफूहरुसँग कृषिसम्बन्धी कुनै परामर्श लिने वा योजना बनाउने काममा सहभागिता नखोजिएको कृषि प्राविधिक र कर्मचारीको गुनासो छ ।

सिङ्गो कृषिक्षेत्र राज्यबाट उपेक्षित भएको यहाँका किसानको गुनासोमा बुद्धिजीवी पनि सहमत देखिएका छन् । “कृषि क्षेत्र पूरै बेवारिस जस्तै देखियो”, विगतमा कृषि क्षेत्रमा लामो सरकारी सेवा दिएर अवकाश लिनुभएका भङ्गाहा–६ सग्रामपुरका जासर यादव भन्नुहुन्छ, “अहिलेको अवस्थाले कृषि क्षेत्र तहसनहस हुने देखिन्छ ।”

जिल्लामा कूल खेतीयोग्य जग्गा करिब ७० हजार हेक्टरमध्ये करिब ४५ हजार हेक्टरको हाराहारीमा धानखेती हुँदै आएको छ । अहिले धानको भरपर्दो बीउ नपाउँदा किसानले पर्याप्त धान रोपाइँ गर्न नसक्ने देखिएको छ । 

चैतेबाली र वैशाखे तरकारीखेतीबाट अपेक्षित उत्पादन लिन नसक्दा अब गुजाराको एउटै साहारा देखिने धानबाली लगाउनसक्ने अवस्था नआए भोकमरी हुने चिन्ताले किसान पिरोलिएका छन् । यो अवस्था अन्त्य गर्न अहिले तत्काल प्रदेश सरकार, स्थानीय तह र कृषि सम्बद्ध कार्यालयको समन्वय आवश्यक देखिएको विज्ञले सुझाएका छन् ।

प्रकाशित मितिः आइतबार, २७ जेठ २०८१
https://jawaaf.com/storage/01HZY0SGT8FPGHKQXTZMNGJEBC.jpg

गृहमन्त्री लामिछाने विराटनगरमा

 मोरङ, २७ जेठ I उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने आज विराटनगर आइपुग्नुभएको छ । उहाँ कोशी प्रदेशस्तरीय सुरक्षासम्बन्धी बैठकमा सहभागी हुन यहाँ आउनुभएको हो । सुरक्षा समितिको बैठक अगाडि गृहमन्त्री लामिछाने राजस्व चुहावट रोकथाम सम्बन्धी बैठकमा सहभागी हुनुभएको छ । प्रदेशस्तरीय सुरक्षा समितिको बैठक अपराह्न ३ बजे हुने मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिनुभयो । बैठकपछि सञ्चारकर्मीलाई बैठकको उद्देश्यबारे उहाँले जानकारी गराउनुहुने बताइएको छ ।     
      
बैठकमा कोशी प्रदेशका १४ जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धानका प्रमुख, सशस्त्र प्रहरी बलका प्रमुख लगायत सहभागी हुने प्रजिअ भट्टराईले बताउनुभयो । यसअघि, विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै गृहमन्त्री लामिछनेले सरकारले विपद् व्यवस्थापनको आवश्यक तयारी गरिरहेको जानकारी दिनुभयो ।     

प्रकाशित मितिः आइतबार, २७ जेठ २०८१
https://jawaaf.com/storage/01HZXZ9KYMZPT7D54Z5DR7V1YP.jpg

जाली लत्रिँदा १३ खच्चड कर्णालीको झोलुङ्गे पुलमा अड्किए

अछाम, २७ जेठ I कर्णाली नदीमा रहेको झोलुङ्गे पुलको जाली लत्रिँदा १३ खच्चड बीच भागमै अड्किएका छन् । अछामको पञ्चदेवल बिनायक नगरपालिका–९ कालेकाडा र दैलेखको आठबिस नगरपालिका–६ खिड्किजिउला जोडने झोलुङ्गे पुलको जाली लत्रिएको हो ।     
     

खुट्टा जालीभित्र पसेपछि आज बिहानदेखि खच्चड पुलको बीच भागमै थन्किएका जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले जानकारी दिनुभयो । “खुट्टा पुरै जालीभित्र पसेपछि १३ खच्चड त्यहाँबाट निस्किन पाएका छैनन्”, उहाँले भन्नुभयो–“उद्धारका लागि अछाम र दैलेखका विभिन्न प्रहरी चौकीबाट ठूलो सङ्ख्यामा प्रहरी घट्नास्थलमा खटाएका छौँ ।”     
     
भारीसहितका खच्चड एकसाथ हिँड्न थालेपछि पुलको एकतर्फको जाली लत्रिएको बताइएको छ । खट्टा जालीभित्र पसेपछि खच्चड घाइते भएका छन् । आज बिहान ११ बजे कर्णाली नदीमा निर्मित झोलुङ्गे पुलको दाँहिने तर्फको भाग लत्रिएको हो । पुलको दाँहिने तर्फको भाग पुरै बाङ्गो भएको छ । अहिले उक्त पुलमा आवतजावत बन्द छ ।     
     
व्यापारीले चिल्तडाबाट दैलेखको खिड्किजिउलातर्फ खच्चडलाई सामान बोकाएर लैजाँदै थिए । उद्धारको पहल गर्न अछामका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्साल तथा जिल्लास्थित सुरक्षा निकायका प्रमुखसहितको टोली अहिले घटनास्थलतर्फ गएको छ । अछामस्थित नेपाली सेनाको गोरख बक्स गणको टोली पनि उद्वारका लागि त्यसतर्फ गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।     

प्रकाशित मितिः आइतबार, २७ जेठ २०८१
https://jawaaf.com/storage/01HZXZ2P841966Z83FXNH7MRB8.jpg

भगवानपुर गाउँपालिकाको प्रशासकीय भवन निर्माण अलपत्र

गोलबजार (सिरहा), २७ जेठ I सिरहाको भगवानपुर गाउँपालिकाको आधुनिक सेवासुविधा सहितको प्रशासकीय भवनको निर्माणको काम अलपत्र परेको छ । निर्माणको काम ठेक्का लिएको ठेकेदार कम्पनीले विसं २०८० असारमा काम छोडेर हिँडेपछि नगरपालिकाको भवन निर्माणको काम अलपत्र परेको हो । वडा नं १ स्थित रु ११ करोड ५८ लाख आठ सय १२ भ्याटसहितको लागतमा विसं २०७८ असार २० गते भएको सम्झौतामा ३६ महिनाभित्र काम सम्पन्न गर्नेगरी रौता अनसुमन जेभी काठमाडौँले ठेक्का पाएको थियो ।     
     
भवन निर्माण गर्न दुई महिना मात्र समय बाँकी रहे पनि ठेकेदार निर्माणको काम अगाडि नबढाएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत चन्द्रनारायण चौधरीले बताउनुभयो ।     
     
सो भवन ‘अण्डर ग्राउन्ड’ सहित पाँचतले निर्माण हुने पूर्ण अपाङ्गतामैत्री, पर्याप्त शौचालय सुविधाको एकीकृतरुपमा सेवा दिने आधुनिक प्रशासकीय भवन हुने गाउँपालिकाले जनाएको छ । भवनमा सेवाग्राहीका लागि डिपिआरमा लिफ्टको उल्लेख रहे पनि सोका लागि रकम गाउँपालिकाले छुट्याएको छैन ।     
     
भवन निर्माणको काम अलपत्र छाडेको ठेकेदार कम्पनीले पेश्की रकमसहित रु तीन करोड पाँच लाख २० हजार बुझेको गाउँपालिकाका इञ्जिनियर प्रविन भक्तले जानकारी दिनुभयो । भवन निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीलाई पटकपटक ताकेता गर्दा पनि निर्माणको काम अगाडि बढाउन कुनै चासो नदेखाएको उहाँले बताउनुभयो ।     
     
उहाँका अनुसार प्रशासनिक भवनको ३५ प्रतिशत भौतिक प्रगति रहेको छ । गाउँपालिकाका अध्यक्ष उग्रनारायण यादवले ठेकदारलाई काम अगाडि बढाउन बाँकी रकम भुक्तानी गर्ने बताउनुभयो ।     
     
गाउँपालिकाको आफ्नै भवन नभए पनि साविक भगवानपुर गाविस भवनबाट गाउँपालिकाको काम सञ्चालन गरिँदै आएको छ । केही शाखा र वडा भवन अभावमा निजी घरमा भाडामा लिएर सञ्चालन भइरहेको र वार्षिक रु २६ लाख घर भाडामा रकम खर्च भइरहेको गाउँपालिकाले जनाएको छ ।     
 

प्रकाशित मितिः आइतबार, २७ जेठ २०८१