लिपिबद्ध गरिँदै साल्पा-सिलिचुङको मुन्दुमी मिथक
१५ वैशाख, गोदावरी (ललितपुर) I मुुन्दुम मौखिक इतिहास हो । किरात समुदायले मुन्दुमलाई जीवनदर्शन मान्छन् । यस्तै किरात राई समुदायको संस्कृति र सभ्यतासँग जोडिएको साल्पा–सिलिचुङको मुन्दुमी मिथकलाई लिपिबद्ध गरी पुस्तकका रुपमा प्रकाशन गरिएको छ ।
साल्पा सिलिचुङ सरोकार संरक्षण तथा प्रवद्र्धन केन्द्र अन्तर्राष्ट्रिय समितिले प्रकाशन गरेको ‘साल्पा सिलिचुङ–सिलिछो’ नामक मुन्दुमी मिथक र इतिहासको पुस्तक शुक्रबार यहाँ विमोचन गरिएको छ । नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यतामा प्राडा टङ्क न्यौपाने, प्राडा सोमनाथ खतिवडा, नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, सह–प्राध्यापक डा जनक राई, किरात राई यायोक्खाका अध्यक्ष जीवन हाताचो र राससका महाप्रबन्धक सिद्धराज राईले सामूहिक रुपमा पुस्तकको विमोचन गर्नुभएको हो ।
पुस्तकको परिचर्चा गर्नुहुँदै त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा जनक राईले किरात राई समुदायका आम मानिसले मुन्दमी ज्ञानलाई कसरी प्रयोग गरिरहेका छन् भन्ने पुस्तकमा उल्लेख गरिएको बताउनुभयो । “साल्पा सिलिचुङको मुन्दुमी मिथकलाई अध्ययन गर्दा जतिखेर किरातका पुर्खाहरु साल्पा सिलिचुङ पुगेका थिए, त्यतिखेर मातृसत्तात्मक समाज भएको प्रस्ट हुन्छ,” उहाँले भन्नुभयो ।
प्राडा सोमनाथ खतिवडाले विश्वका धेरै विश्वविद्यालयले मौखिक इतिहास पढाउने गरेको बताउनुभयो । उहाँले नेपालमा मात्र लेख्य इतिहास पढाउने गरेको तर किरात सभ्यता र संस्कृतिसँग धेरै ठूलो मौखिक इतिहास भएको बताउनुभयो । उहाँले त्यस्ता मौखिक इतिहासलाई लिपिबद्ध गर्ने काममा यो पुस्तक कोसेढुङ्गा साबित हुने विश्वास व्यक्त गर्नुभयो ।
किरात संस्कृतिका अध्येता प्राडा टङ्क न्यौपानेले कुनै एउटा मात्र जाति र व्यक्तिको देश नहुने बताउनुभयो । विविध जाति समुदाय रहेको नेपालमा किरात धर्म संस्कृतिका अनेकौँ मुन्दुम लेखिनुपर्ने उहाँको जोड थियो । “यस पुस्तकले मिथकहरुको माध्यमबाट किरात राईहरुको एकताको सन्देश दिन खोजेको छ”, उहाँले भन्नुभयो, “अहिलेको नेपाल राज्य निर्माण गर्ने प्रमुख शक्ति किरात हो, त्यसैले साल्पा र सिलिचुङको मिथक पनि जनइतिहास भएकामा कुनै विवाद छैन ।”
आदिवासी जनजाति महासङ्घका उपाध्यक्ष दिवस राईले किरात राई समुदायमा खुवालुङ, तुवाचुङ र सिलिचुङ सभ्यताको प्रतीक रहेको बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि भूपाल राईले मुन्दुमी मिथकलाई पुस्तकका माध्यमबाट प्रकाशन गरिनु प्राज्ञिक काम भएको भन्दै प्रशंसा गर्नुभयो । “जसको लेख्य इतिहास हुँदैन, त्यसको मिथक मात्र बाँकी रहन्छ”, उहाँले भन्नुभयो, “कुनै कालखण्डमा राज्यले किनाराकृत गरेको समुदायको मिथक मात्र बाँकी रहन्छ, त्यसैले यो पुस्तक एउटा लिखित र प्राज्ञिक आक्रोश पनि हो ।”
साल्पा सिलिचुङ सरोकार संरक्षण तथा प्रवद्र्धन केन्द्र अन्तर्राष्ट्रिय समितिका अध्यक्ष राजेन राईले यसपटक साल्पा सिलिचुङमा सुम्निमा पारुहाङ र नछुङ/नाक्सो (धामी) को प्रतिमा स्थापना सँगै मिथक खण्डको पुस्तक प्रकाशन गरिएको बताउनुभयो । अर्को खण्डमा मुन्दुम सङ्कलन सँगै थप इतिहास संरक्षणको काम गर्ने बताउनुभयो ।
दुई सय २७ पृष्ठको पुस्तकमा मिथक र विश्लेषण गरी दुईवटा खण्ड छ । २१ वटा मिथक सङ्कलित छन् । पुस्तकको सम्पादन भोगिराज चाम्लिङ, डा तारामणि राई, चन्द्रकुमार हतुवाली र शालिकराम राईले गर्नुभएको छ । पुस्तक विमोचन कार्यक्रमपश्चात् किराती सङ्गीतमा आधारित भई मुन्दुमी महिमागान र साङ्गीतिक कार्यक्रम गरिएको थियो ।
साल्पा सिलिचुङ साल्पा सिलिछो गाउँपालिका भोजपुरमा पर्दछ । यो स्थान भोजपुर, सङ्खुवासभा, सोलुखुम्बु र खोटाङको सीमासँग जोडिएको छ । साल्पा पोखरी समुन्द्री सतह देखि तीन हजार सात सय ५० मिटर उचाइमा छभने सिलिचुङ चार हजार एक सय ५५ मिटर अग्लो शिखर हो ।
उपनिर्वाचन : इलाम–२ का चार उम्मेदवारद्वारा मतदान
१५ वैशाख फिक्कल (इलाम) I इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा सहभागी मुख्य दलका उम्मेदवारले मतदान गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सुहाङ नेम्बाङ र नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले इलाम नगरपालिका–७ स्थित महेन्द्ररत्न बहुमुखी क्याम्पसको मतदान केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मिलन लिम्बूले माङसेबुङ गाउँपालिका–२ स्थित जनताकल्याण आधारभूत विद्यलाय र पहिचानवादीका साझा एवं स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले फाकफोकथुम गाउँपालिका–३ स्थित सिंहदेवी माध्यमिक विद्यालय मतदान केन्द्रबाट मतदान गर्नुभएको हो ।
मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेका अनुसार एक सय ४९ मतदान केन्द्रमा शान्तिपूर्ण एवं उत्साजनक रुपमा मतदान भइरहेको छ । यो निर्वाचनमा सात सय ४५ कर्मचारी, एक हजार पाँच सय २३ नेपाल प्रहरी, सात सय १० सशस्त्र प्रहरी बल, चार सय ५० नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका २४ जना कर्मचारी परिचालन भएका छन् ।
पचासी लाखमा वडा कार्यालय भवन निर्माण
म्याग्दी, १५ वैशाख I जिल्लाको धौलागिरि गाउँपालिका–६ मराङमा रु ८५ लाखको लगानीमा वडा कार्यालय भवन निर्माण भएको छ । नवनिर्मित चारकोठे भवनबाट सेवा प्रवाह पनि प्रारम्भ भएको छ । शुक्रबार देखि कार्यारम्भ भएको नयाँ भवनको उद्घाटन सोही दिन गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले भवन उद्घाटन गर्नुभएको हो ।
धौलागिरि गाउँपालिकाको वडा नम्बर २ र ७ को नयाँ भवन मात्र होइन वडा नम्बर ५ को भवन पनि बनिसकेको छ । घट्टखोलामा गाउँपालिकाको भवन निर्माणाधीन छ । यसैगरी वडा नम्बर १ गुर्जा र ३ मुनामा स्वास्थ्य चौकीको भवन निर्माण सकिएको, मुदीमा स्वास्थ्य चौकी र ताकममा पाँच श्ययाको अस्पताल भवन निर्माण भइरहेको छ ।
बझाङमा उत्साहपूर्वक मतदान हुँदै
बझाङ, १५ वैशाख : बझाङ प्रदेशसभा निर्वाचन (१ ) मा मतदाता उत्साहपूर्वक लामबद्ध भएर मतदान गरिरहेका छन् । निर्धारित समय ७ बजेदेखि नै भोट हाल्न उत्साहित भएर मतदाता मतदान केन्द्रमा आएका मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले बताउनुभयो ।
प्रदेशसभा निर्वाचन क्षेत्र (१) का ७४ वटै मतदान स्थल र ९४ मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान जारी रहेको जानकारी आफूलाई प्राप्त भएको उहाँले जानकारी दिनुभयो ।
शान्तिपूर्ण रूपमा चुनाव सम्पन्न गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली खटिएको छ । यो चुनावमा ६१ हजार सात सय ४८ मतदाताले भोट हाल्ने अनुमान गरिएको छ ।
शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु
फिक्कल (इलाम), १५ वैशाख I इलाम क्षेत्र –२ मा मतदान सुरु भएको छ । सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान प्रारम्भ भएको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले बताउनुभयो ।
शान्तिपूर्ण एवं भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सात सय ४५ कर्मचारी, एक हजार पाँच सय २३ नेपाल प्रहरी, सात सय १० सशस्त्र प्रहरी बल, चार सय ५० नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका २४ जना परिचालन भएका उहाँले बताउनुभयो ।
यो चुनावमा एक लाख १५ हजार आठ सय ८९ मतदाता कायम भएका छन् । आयोगका अनुसार ५९ हजार १८ पुरुष, ५६ हजार आठ सय ६९ महिला र दुई जना तेस्रो लिङ्गी छन्
पूर्वाञ्चल विश्वविद्यालयः सात हजारभन्दा माथी विद्यार्थी दीक्षित
सुन्दरहरैचा (मोरङ) १४ वैशाखः पूर्वाञ्चल विश्वविद्यालयको बाह्रौँ दीक्षान्त समारोहमा विभिन्न सङ्कायबाट अध्ययन पूरा गर्ने सात हजार आठ सय ५६ विद्यार्थी दीक्षित भएका छन् ।
आज यहाँ आयोजित दीक्षान्त समारोहमा कला सङ्कायमा स्नातक तहमा ८२ र स्नातकोत्तर तहतर्फ ७६ जनालाई दीक्षान्त उपाधि प्रदान गरियो । कानुन सङ्कायमा स्नातकतर्फ दुई सय ६४ र स्नातकोत्तर एक सय सात, शिक्षाशास्त्र सङ्कायतर्फ स्नातक तहमा छ सय ३६ र स्नातकोत्तरतर्फ एक सय ६७, व्यवस्थापन सङ्कायमा स्नातक तहतर्फ एक हजार पाँच सय ४२, स्नातकोत्तरतर्फ सात सय ६० र एमफिल तहका तीन जनालाई उपाधि प्रदान गरियो ।
विश्वविद्यालयका अनुसार विज्ञान तथा प्रविधि सङ्काय स्नातकतर्फ छ सय ३४, स्नाकोत्तरतर्फ ५२ जना विद्यार्थीलाई दीक्षित गरियो । साथै इञ्जिनियरिङ सङ्काय स्नातकतर्फ आठ सय ९२, स्नातकोत्तरतर्फ एक सय आठ जनालाई दीक्षित गरियो ।
चिकित्साशास्त्र सङ्काय स्नातकतर्फ दुई हजार चार सय ६३, स्नातकोत्तर तहमा १५ जना गरी जम्मा दुई हजार चार सय ७८ जनालाई उपाधि प्रदान गरियो ।
सो अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उत्कृष्ट विद्यार्थीहरुलाई उपाधि प्रदान गर्नुभयो । उहाँले विश्वविद्यालयको दीक्षान्त समारोहमा आफू तेस्रो पटक सहभागी हुन पाएकोमा खुसी व्यक्त गर्दै विद्यार्थीहरूको व्यावसायिक जीवनमा लागि उज्ज्वल भविष्यको कामना गर्नुभएको थियो । प्रधानमन्त्री दाहालले भन्नुभयो, “विश्वविद्यालयको हित र उन्नतिका लागि नेपाल सरकारबाट सधैँ साथ सहयोग रहने छ, आगामी दिनमा गुणस्तरीय शिक्षाका लागि थप प्रेरणा प्राप्त होस् ।” प्रधानमन्त्री दाहालले आजै एमविविएस शैक्षिक कार्यक्रम सञ्चालनका लागि नवनिर्मित भवन पनि उद्घाटन गर्नुभयो ।
समारोहमा प्रमुख अतिथि एवं त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति, शिक्षाविद् तथा पूर्वराजदूत केदारभक्त माथेमाबाट दीक्षान्त अभिभाषण भएको थियो ।
पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोहमा विश्वविद्यालयका उपकुलपति डा शैलेषमणि पोखरेलले समुदायको आवश्यकता र प्राथमिकताका आधारमा विश्वविद्यालयको अध्ययन, अनुसन्धानको दायरा क्रमशः विस्तार गर्दै लैजाने नीति लिइएको बताउनुभयो ।
‘पूर्वाञ्चल विश्वविद्यालय समुदाय’मा भन्ने नाराका साथ स्थानीय सरकारद्वारा सञ्चालित केही सामुदायिक शैक्षिक संस्थालाई शैक्षिक कार्यक्रम सञ्चालनको स्वीकृति प्रदान गर्नुका साथै प्रदेश, स्थानीय सरकार तथा समुदायको आवश्यकता र प्राथमिकताका आधारमा विश्वविद्यालयको अध्ययन, अनुसन्धानको दायरा क्रमशः विस्तार गर्दै लैजाने नीति लिइएको उहाँले उल्लेख गर्नुभयो ।
तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पहलमा विसं २०५२ मा विश्वविद्यालय स्थापना भएको हो । विश्वविद्यालयको केन्द्रीय कार्यालय गोठगाउँमा नर्सिङ, पब्लिक हेल्थ, फार्मेसी, कृषि, वनविज्ञानलगायत कोर्सको अध्यापन भइरहेको छ ।
चीन भ्रमण गर्ने योजनामा पुटिन
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगमी मे महिनामा चीन भ्रमण गर्ने योजना बनाउनुभएको रुसी समाचार एजेन्सी तासलाई उद्धृत गर्दै क्योडोले जनाएको छ । गत मे ७ मा पाँचौँ कार्यकाल सुरु भएपछि पुटिनको यो पहिलो विदेश भ्रमण हुनेछ ।
पुटिनले बिहीबार रुसी युनियन अफ इन्डस्ट्रियलिस्ट एन्ड इन्टरप्रेन्योर कङ्गे्रसको सम्बोधनमा आफ्नो मे महिनामा चीनको भ्रमण तय भएको उल्लेख गर्नुभयो ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन बेइजिङ आइपुगेको केही समय पछि पुटिनको यस्तो घोषणा आएको हो ।
चिनियाँ राष्टङपति सी जिनपिङले यसै महिनाको सुरुमा बेइजिङमा रूसी विदेशमन्त्री सेर्गेई लाभरोभसँग भेट गर्नुभएको थायो । उक्त समयमा लाभरोभ र सीबीच छ वर्षमा पहिलो पटक प्रत्यक्ष छलफल भएको थियो । लाभरोभ र सीबीच सन् २०१८ मा पुटिन पुनः निर्वाचित भएपछि चीनको उद्घाटन भ्रमणभन्दा ठिकअघि भेट भएको थियो ।
त्यसबेला देखि चीन र रुसले विशेषगरी युक्रेनमा पुटिनको युद्धपछि आफ्नो आर्थिक, व्यापार र कूटनीतिक सहकार्यलाई तीव्र बनाएका छन् ।
युक्रेन युद्धमा आफ्नो तटस्थता दावी गरे पनि चीन रुसका लागि महत्त्वपूर्ण आर्थिक साझेदारको रूपमा देखापरेको छ र उसले रुसको एक्लिएको अर्थतन्त्रलाई महत्त्वपूर्ण समर्थन प्रदान गरेको छ । दुई राष्ट्रले पश्चिमी नियन्त्रण प्रयासहरूको विरुद्ध कूटनीतिक गठबन्धन पनि गरेका छन् ।
अन्य देशहरूले रुसी आयातमा प्रतिबन्ध लगाएपछि बेइजिङले निरन्तर रुसी तेल आयात गरिरहेको छ ।
पुटिनको पछिल्लो बेइजिङ भ्रमण सन् २०२३ अक्टोबरमा बेल्ट एन्ड रोड फोरमको समयमा भएको थियो । त्यस्तै सीले सन् २०२३ मार्चमा मस्कोको भ्रमण गर्नुभएको थियो ।
एक किलो ७६८ ग्राम सुन र एक करोड बढी रकमसहित सात जना पक्राउ
काठमाडौँ, १४ वैशाख I काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक किलो सात सय ६८ ग्राम सुन तथा रु एक करोड ४३ लाख ६० हजार नगदसहित सात जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा दार्चुला महाकाली नगरपालिका–३ टाँटे बस्ने ४७ वर्षीय गणेशदत्त बडू र आयुष बडू, झापा बिर्तामोडका दिनेश खरेल र भरतराज खरेल तथा भारत महाराष्ट्रका अमोल बिभुते, ऋषिकेशप्रकाश बिभुते र गणेशसतिश बाल्टे रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो ।
बिहीबार साँझ काठमाडौँको इन्द्रचोकबाट पक्राउ परेका उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लव फाइनलमा
टक्सार (भोजपुर) I भोजपुरमा जारी सातौँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकप प्रतियोगिता अन्तर्गत आज भएको पहिलो सेमिफाइनल खेलमा त्रिभुवन आर्मी क्लवले खोटाङ भगवती स्पोर्टस क्लबलाई हराउँदै फाइनल प्रवेश गरेको छ । निर्धारित समयमा खेल बरावरी भएपछि पेनाल्टी सुट आउटमा त्रिभुवन आर्मीले खोटाङलाई हराएको हो । पेनाल्टीमा आर्मीका तर्फबाट चार गोल भएको थियो भने खोटाङ भगवतीले तीन गोल मात्र गर्न सफल भयो ।
अन्यन्तै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफको निर्धारित समयसम्म दुवैतर्फबाट गोल हुन नसकेको अवस्थामा अतिरिक्त थपिएको दुई मिनेटको समयमा त्रिभुवन आर्मीका जर्सी नम्वर ३५ का खेलाडी बसन्त जिम्बाले एक गोल गर्दे खाता खोल्न सफल भएका थिए । त्यस्तै दोश्रो हाफमा खोटाङका तर्फबाट छ नम्वर जर्सीका खमिर गिलसानले एक गोल गर्दे खेललाई बरावरी अवस्थामा पुर्याउन सफल भएका थिए ।
पेनाल्टीतर्फ त्रिभुवन आर्मीका लागि जितेन्द्र कार्की, रिपु प्रधान, बसन्त जिम्बा र मानबहादुर आलेले गोल गरेका थिए भने सुरज बस्नेतले गोल गर्न सकेनन । यस्तै खोटाङ भगवतीका तर्फबाट मार्टिन, दिवस उराव, प्रसान्त अवस्थीले गोल गर्न सफल भए भने बिशाल दर्जी र सुदिप श्रेष्ठले गोल हान्न सकेनन ।
खेलको म्यान अफ द म्याच त्रिभुवन आर्मीका खेलाडी सुरज बस्नेत भएका छन् । उनले नगद पाँच हजार र मेडल पाएका छन् ।
आठ टिमको सहभागितामा सञ्चालित प्रतियोगिता अन्तर्गतको आइतवारको पहिलो खेलमा त्रिभुवन आर्मीले भारतको जर्जियन फुटवल क्लवलाई ४–० गोल गर्दे सेमीफाइनल प्रवेश गरेको थियो भने सोमवारको दोश्रो खेलमा राजारानी फुटवल क्लवलाई २–१ अन्तरले हराउँदै खोटाङ भगवती स्पोर्ट्स क्लब र मङ्गलवार भएको तेश्रो खेलमा डाँगीहाट यूथ क्लव मोरङलाई ४–० गोलले पराजित गर्दे सलहेश युवा क्लव सिरहाले सेमिफाइनलको यात्रा तय गरेको थियो । यस्तै बुधवारको अन्तिम क्वाटर फाइनल खेलमा आयोजक भोजपुर जिल्ला फुटवल संघलाई ३–० गोलले पराजित गर्दे चर्च व्बाइज युनाइटेड, काठमाडाँैले सेमिफाइनलको यात्रा तय गरेको हो ।
प्रतियोगिताका विजेता तथा उपविजेताले उपाधिसहित क्रमशः नगद पाँच लाख र तीन लाख पाउने जिल्ला फुटबल सङ्घ भोजपुरका अध्यक्ष प्रविण सुवालले जानकारी दिनुभयो । अन्य व्यक्तिगत विधातर्फ पनि सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षकलाई पुरस्कारको व्यवस्था गरिएको छ ।
शुक्रवारको दोश्रो सेमिफाइनल खेल सलहेश युवा क्लव सिरहा र चर्च व्बाइज युनाइटेड, काठमाडौँ बीचमा हुने आयोजकले जनाएको छ । फाइनल खेल आगामी वैशाख १५ गते हुने छ । भोजपुर जिल्ला फुटवल सङ्घको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजममा यही वैशाख ९ गतेबाट गोल्डकप प्रतियोगिता भइरहेको छ । करिव ४९ लाख २५ हजार पाँच सयको लागतमा गोल्डकप आयोजना भएको छ ।
चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीद्वारा गर्मीलाई दोष
भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी र्यालीलाई सम्बोधन गर्दा आफू बेहोस भएको बताएका छन् । मुलुकको मौसम ब्युरोले मतदानका क्रममा मुलुकका केही भागमा लु चल्ने चेतावनी दिएको थियो ।
यसै साता एसियाका धेरै मुलुकमा चर्को तापक्रमले असर पुर्याएको छ । अत्यधिक गर्मीको पूर्वानुमानका कारण फिलिपिन्स र बङ्गलादेशमा विद्यालयहरू बन्द गरिएको छ ।
सडकमन्त्री नितिन गडकरी बुधबार पश्चिमी राज्य महाराष्ट्रको एउटा सानो सहरमा सम्बोधनका क्रममा बेहोस हुनुभएको थियो । त्यहाँ उहाँले प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारको पुनः निर्वाचनका लागि प्रचार गरिरहनुभएको थियो ।
घटनाको फुटेजमा मन्त्री बेहोस हुँदै गरेको र सञ्चालकहरूले उहाँलाई मञ्चबाट बाहिर लैजाँदै गरेको देखाइएको छ । उक्त दिनपछि गडकरीले सामाजिक सञ्जाल एक्समा लेख्नुभयो, “र्यालीका क्रममा गर्मीका कारण मलाई असहज महसुस भयो तर अहिले म पूर्ण स्वस्थ छु ।” उहाँले आफ्नो चुनावी प्रचार अभियान अघि बढाएको बताउनुभयो ।
भारतीय मौसम विज्ञान विभागले बिहीबार आगामी पाँच दिनमा कम्तीमा नौ वटा पूर्वी र दक्षिणी राज्यमा भीषण गर्मीको अवस्था जारी रहने सम्भावना रहेको बताएको छ । “लुदेखि लिएर गम्भीर लुको अवस्था प्रबल हुने सम्भावना छ, केही स्थानमा पहिलादेखि नै तापक्रम ४४ डिग्री सेल्सियससम्म पुगेको छ”, विभागले विज्ञप्तिमा जनाएको छ ।
छ सातासम्म चल्ने म्याराथुन निर्वाचनका बीच सम्पूर्ण भारतमा ठूला बाहिरी प्रचार र्यालीहरू आयोजना भइरहेका छन् । शुक्रबार मतदानको दोस्रो चरणमा लाखौँ मानिसले मतदान गर्दैछन् ।
भारतको निर्वाचन आयोगले ‘शान्तिदायक उपायहरू’ को दृष्टिले प्रत्येक चरणको मतदान अघि लु र आद्र्रताको प्रभावको समीक्षा गरिरहेको भन्दै यसले अहिले पनि नागरिकहरूलाई आफ्नो मत खसाउन अनुमति दिने बताएको छ ।
जलवायु परिवर्तनका कारण गर्मीको लहर लामो, अधिक लगातार र अधिक तीव्र हुँदै गरेको वर्षौंको वैज्ञानिक अनुसन्धानबाट पत्ता लागेको छ ।