लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित
१५ वैशाख ,काठमाडौँ I आइतबार देखि सुरु हुन लागेको दुईदिने तेस्रो लगानी सम्मेलनका लागि स्वदेश तथा विदेशबाट गरेर एक हजार ६ सय जना भन्दा बढीको सहभागिता सुनिश्चित भएको छ । लगानी बोर्डको कार्यालयले उपलब्ध गराएको विवरणअनुसार सम्मेलनका लागि दुई हजार चार सयभन्दा बढी व्यक्तिलाई निमन्त्रणा पठाइएको थियो । विभिन्न ५५ देशका लगानीकर्ता सम्मेलनका लागि आउँदैछन् । सम्मेलनका नेपालका तीन सय ८५ जनाको सहभागिता सुनिश्चित भइसकेको छ ।
त्यसैगरी, चीनका दुई सय ६५, भारतका एक सय ४३, संयुक्त राज्य अमेरिकाका ३३, जापानका २८, संयुक्त अधिराज्यका १४, बङ्गलादेशका १३, संयुक्त अरब इमिरेट्स (युएई) का १३ र जर्मनीका १० जना सहभागी हुँदैछन् । दक्षिण कोरिया, अस्ट्रेलिया र मलेसियाका नौ नौ जना सम्मेलनमा सहभागी हुन लागेका लगानी बोर्डले जनाएको छ । पाकिस्तानबाट आठ, सिङ्गापुरबाट ६, कतार र घानाबाट पाँच÷पाँच, साउदी अरब, फ्रान्स र बहराइनबाट चार÷चार जनाको सहभागिता रहने जनाइएको छ ।
त्यसैगरी, स्विजरल्यान्ड, फिनल्यान्ड, रुस, अस्ट्रिया, श्रीलङ्का र कोलम्बियाका तीन-तीन जना सम्मलेनका लागि नेपाल आउँदैछन् । फिलिपिन्स, कुवेत, क्यानडा, मौरिसस, बेलारुस र बेल्जियमबाट दुई-दुई जना सम्मेलनमा सहभागी हुने सुनिश्चित भएको छ । त्यसैगरी, इजिप्ट, नर्वे, इटाली, सेनेगल, नेदरल्यान्ड, पोल्यान्ड, इन्डोनेसिया, ताजकिस्तान, दक्षिण अफ्रिका, रोमानिया, मेक्सिको र साइप्रसबाट पनि सम्मेलनमा सहभागिता रहने छ । आयरल्यान्ड, स्लोभेनिया, भियतनाम, बोस्निया, मोरक्को, टर्की, भानुआटु, मौरिटानिया र हङकङबाट पनि सम्मेलनका सहभागी हुने सुनिश्चित भएको बोर्डले जनाएको छ ।
आइतबार देखि काठमाडौँमा आयोजना हुने उक्त सम्मेलनका लागि एक सय ५० आयोजना सोकेसमा राखिँदैछन भने सम्मेलनस्थलमा २३ प्रदर्शनी कक्ष (स्टल) राखिनेछन् । सम्मेलनका क्रममा विभिन्न १९ परियोजनाका लागि आशयपत्र आह्वान गर्न लागिएको छ । आशयपत्र आह्वान गरिने, सोकेस गरिने, मार्केट साउन्डिङ गरिने र निजी क्षेत्रबाट गरी कूल एक सय ५० परियोजना प्रस्तुत हुनेछन् । पहिलो दिन उद्घाटन सत्र र दुईवटा मुख्य सत्र रहेका छन् । त्यस्तै, दोस्रो दिन ११ समानान्तर सत्र सञ्चालन हुनेछन् ।
एमाले र कांग्रेस मिलेर तत्कालै सरकार बन्ने अवस्था छैन : नेता साउद
१५ वैशाख, वीरगञ्ज (पर्सा) I पूर्वपरराष्ट्रमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) मिलेर तत्काल सरकार बन्ने अवस्था नरहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन पर्साले आज वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता साउदले प्रमुख राजनीतिक दलहरुबीच प्रशासनिक सत्तासाझेदारी र सजिलोपनकै लागि सरकार गठन गर्न नहुने धारणा व्यक्त गर्नुभयो ।
“प्रशासनिक सत्ता साझेदारी वा सहजताका लागि मात्रै प्रमुख राजनीतिक दल मिलेर सरकार बन्न सक्दैन,” उहाँले भन्नुभयो, “कुनै प्रमुख राजनीतिक दल मिलेर बन्ने सरकारले राष्ट्रिय मुद्दालाई सम्बोधन गर्नुपर्ने हुन्छ । नेपालको सन्दर्भमा पनि संवैधानिक मुद्दाबारे जसलाई दुईवटै प्रमुख पार्टीको सरकार बनिसके पछि संविधान संशोधनको प्रक्रियाबाट टुङ्ग्याउनुपर्ने मुद्दा छन् भने ती मुद्दा सम्बोधन गर्ने सन्दर्भमा दुवै पार्टी बीच पारदर्शी सहमति भयो भने मात्रै सत्तासाझेदारी गर्न सकिन्छ । त्यो भन्दा बाहेक प्रशासनिक सजिलोपनका लागि र सत्ता साझेदारी जनाउने कुराका लागि मात्रै प्रमुख राजनीतिक पार्टी नै सरकारमा जाने क्रम मुलुकमा चल्यो भने जनताको नजरमा लोकतन्त्रको मूल्य घट्न सक्छ ।”
नेता साउदले हिजो सम्म आउँदा परम्पर विरोधी भएर चुनावमा प्रतिस्पर्धा गर्नेले कुर्सी वा सत्ताको स्वाद लिनकै लागि आफ्नो आस्था, विश्वास र फरक दृष्टिकोणलाई एकातिर थाती राखेर सरकार गठन गर्ने तर्फ मात्रै अघि बढ्नु लोकतन्त्रका लागि राम्रो नहुने बताउनुभयो ।
“हामीले मुलुकभित्र रहेका अस्थिरता मच्चाउन खोज्ने शक्तिलाई पनि लोकतन्त्रको परिधिभित्र ल्याउने जुन प्रयास गरिरहेका छौँ । यदि प्रमुख राजनीतिक पार्टीबीच नै सत्ता र शक्तिका लागि गठबन्धन भयो भने यसको फाइदा लिएर अस्थिरतामा खेल्न खोज्नेले राजनीतिक लाभ वा फाइदा उठाउन सक्नेछन्,” उहाँले भन्नुभयो, “नेपाली कांग्रेसले एमालेसँग गठबन्धन गरेर सरकारमा जानै परेको खण्डमा पार्टीको केन्द्रीय समितिमा पर्याप्त छलफल गरेर मात्रै अघि बढ्नेछ । जहाँ सम्म विभिन्न समीकरणका कुराहरु छन् । नेपाली कांग्रेसले कसैलाई निषेध गर्ने उद्देश्यले कुनै पनि समीकरण गर्ने छैन । हामी जुनसुकै कुरा पनि परिपक्व भएपछि मात्रै त्यसको बाटोमा अघि बढ्नेछौँ ।”
कांग्रेसले जनस्तर र संसदीय मोर्चा दुवैमा प्रभावकारी ढङ्गले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने नेता साउदको भनाइ थियो । कांग्रेसका केही कमीकमजोरी भए त्यसलाई सच्याएर अगाडि बढ्न सकिने उहाँले बताउनुभयो । “वर्तमान परिप्रेक्ष्यमा कांग्रेसले प्रतिपक्षको भूमिका सशक्त र प्रभावकारी ढङ्गले निभाउछ,” उहाँले भन्नुभयो, “रचनात्मक प्रतिपक्षका रुपमा रचनात्मक काम गर्न हामी चाहान्छौँ ।”
पूर्वमन्त्री साउदले कांग्रेसले संसद्भित्रबाट सरकारमा भएको विरोधाभाष, विसङ्गति र सरकारले दायित्व निर्वाह गर्नेमा चुकेको विषयमा संवेदनशील भएर कांग्रेसले संसद् र जनस्तर दुवैमा आवाज उठाउँदै आएको बताउनुभयो । कांग्रेस एउटा जिम्मेवार लोकतान्त्रिक पार्टी भएकाले लोकतन्त्रलाई जोगाउनका लागि अविछिन्न रुपमा कटिबद्ध हुदै अघि बढ्ने उहाँले प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
प्यालेस्टिनी खेलाडीहरूलाई ओलम्पिकमा आमन्त्रित गरिने
अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आइओसी) का प्रमुख थोमस बाखले छ देखि आठ प्यालेस्टिनी खेलाडीले पेरिस ओलम्पिकमा भाग लिने अपेक्षा गरिएको बताउनुभएको छ । उहाँका अनुसार खेलका लागि छनोट हुन अयोग्य भए पनि केहीलाई आइओसीले आमन्त्रण गर्नेछ ।
बाखले शुक्रबार एएफपीलाई जुलाई २६ देखि सुरु हुने पेरिस ओलम्पिक खेलका लागि धेरै खेलका छनोट कार्यक्रम जारी रहेको बताउनुभयो । “तर कुनै पनि प्यालेस्टिनी खेलाडी खेल मैदानमा छनोट भएन भने पनि योग्य खेलाडी नभएका अन्य राष्ट्रिय ओलम्कि समिति जस्तै प्यालेस्टिनको ओलम्पिक समितिले आइओसीको निमन्त्रणाबाट लाभ उठाउनेछ”, स्विट्जरल्यान्डको लुजानस्थित आइओसीको मुख्यालयमा एक अन्तरवार्तामा उहाँले भन्नुभयो ।
उहाँले प्यालेस्टिनी प्रतिनिधिमण्डलको सङ्ख्या ‘छ देखि आठ’ हुने अपेक्षा गरिएको बताउनुभयो । बाखले गाजामा ‘युद्धको पहिलो दिनदेखि’ नै आइओसीले ‘खेलाडीहरूको योग्यतामा भाग लिने र आफ्नो प्रशिक्षण जारी राख्ने अनुमति दिनका लागि विभिन्न तरिकामा समर्थन गरेको’ जानकारी दिनुभयो ।
इजराइल र गाजामा युद्धको तुलनामा युक्रेन माथिको आक्रमणलाई लिएर आइओसीले रुसलाई फरक व्यवहार गरेको भन्ने भनाइलाई बाखले अस्वीकार गर्नुभयो । युक्रेनमा आक्रमण गरेपछि रुसलाई धेरै अन्तर्राष्ट्रिय खेलबाट निलम्बन गरिएको थियो र उसका खेलाडीहरूलाई पेरिस २०२४ ओलम्पिकमा राष्ट्रिय झन्डा मुनि रहेर प्रतिस्पर्धा गर्न प्रतिबन्ध लगाइएको थियो ।
पेरिस ओलम्पिकमा भाग लिनका लागि रुसले युक्रेन विरुद्धको युद्धलाई सार्वजनिकरूपमा समर्थन नगरेको र सेना वा सुरक्षा सेवाहरूले काम नगरेको हुन आवश्यक छ । सन् २०२२ मा बेइजिङमा आयोजित शीतकालीन ओलम्पिक लगत्तै युक्रेनमा आफ्नो आक्रमणमा मस्कोले ‘ओलम्पिक युद्धविरामको’ उल्लङ्घन गरेको र युक्रेनी खेल सङ्गठनहरूलाई कब्जा गरेका कारण रुसमाथि प्रतिबन्ध लगाइएको थियो ।
“इजराइल र प्यालेस्टिन बीचको अवस्था पूरै भिन्न छ”, बाखले भन्नुभयो । इजराइलमा हमासको आक्रमण र गाजामा युद्धको ‘भयानक परिणामहरू’ प्रति युक्रेनको सार्वजनिक भनाइमा एकअर्काप्रति समान रहेको बाखले बताउनुभयो ।
“पहिलो दिन देखि हामीले अक्टोबर ७ र फेरि युद्ध तथा त्यसको परिणामका बारेमा हामी कति भयभीत थियौँ भनेर भनेका थियौँ”, उहाँले भन्नुभयो, “हामीले युक्रेनमा रुसी आक्रमणलाई लिएर सधै स्पष्ट छौँ ।”
सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, वैशाख अन्तिम साता ‘ब्रेक थ्रू’
१५ वैशाख, काठमाडौँ I राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माण कार्य सम्पन्न भएको छ । आयोजनाको सुरुङ खन्ने काम करिब सम्पन्न भएको र एकाध सेन्टिमिटर मात्रै बाँकी रहेको छ ।
तराई–मधेसका विभिन्न जिल्लामा बाहै्र महिना सिँचाइ सुविधा पुयाउने लक्ष्यका साथ सुरु गरिएको निर्माण प्रक्रियामा उल्लेख्य सफलता हासिल भएको हो । यही वैशाख २६ गते विशेष समारोह बीच सुरुङ छिचोलिने छ । सुरुङ ब्रेक थ्रू गर्ने अन्तिम तयारी भइरहेको सम्बन्धित आयोजनाले जनाएको छ ।
सुनकोसी मरिण डाइभर्सन आयोजनाका प्रमुख मित्र बरालका अनुसार कूल १३ दशमलव तीन किलोमिटर लामो सुरुङ मध्ये एकाध सेन्टिमिटर मात्रै खन्न बाँकी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही वैशाख २६ गते सुरुङको ब्रेक थ्रू गर्नुहुनेछ । ब्रेक थ्रूको आवश्यक तयारी भइरहेको छ ।
“प्रधानमन्त्री, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, अर्थमन्त्री वर्षमान पुनलगायत विशिष्ट व्यक्तिहरु कार्यक्रममा सहभागी हुनुहुनेछ”, उहाँले भन्नुभयो ।
रामेछाप र सिन्धुलीका सङ्घीय तथा प्रदेश सांसद, राजनीतिक दलका नेताहरु, सरोकार भएका सबै व्यक्तिलाई कार्यक्रममा आमन्त्रण गरिएको आयोजनाले जनाएको छ । यस्तै, अटोमेटिक टनेल बोरिङ मेसिन निर्माण कम्पनी रोबिन्सन, निर्माण व्यववसायी चाइना ओभरसिज इन्जिनियरिङका उच्च अधिकारी र यहाँ स्थित विभिन्न मुलुकका राजदूत पनि कार्यक्रममा सहभागी हुनुहुनेछ ।
सुरुङ निर्माणको कूल अवधि दुई वर्षको भए पनि त्यस भन्दा धेरै अगाडि झन्डै १९ महिनामा सम्पन्न भएको हो । भौगोलिक जटिलताका कारण केही समय मेसिन नरोकिएको भए अझै चाँडो सुरुङ छिचोलिने थियो । सुरुङ छिचोलिए पनि अन्य आवश्यक काम पूरा गर्न थप एक वर्ष लाग्ने आयोजना प्रमुख बरालले जानकारी दिनुभयो ।
सुरुङ निर्माणका क्रममा सामान्य भौगोलिक जटिलता उत्पन्न भएपछि त्यसलाई समाधान गरेर अगाडि बढेको जानकारी दिँदै आयोजना प्रमुख बरालले भन्नुभयो, “ग्राउटिङ लगायत विधि प्रयोग गरेर समस्याको समाधान गरिएको छ । सुरुङ निर्माण निरन्तररुपमा अगाडि बढिरहेको छ ।”
सुरुङ निर्माणमा अटोमेटिक टनेल बोरिङ मेसिन (टिबिएम) प्रयोग गरिएको छ । भेरी बबई डाइभर्सन आयोजना पछि सुनकोसी मरिणमा पनि टिबिएम मेसिन प्रयोग गरिएको हो । उपकरण प्रयोग गरी सुरुङ निर्माण गर्दा त्यसले सकारात्मक प्रभाव पारेको र अन्य आयोजना पनि त्यस्तै उपकरणको प्रयोग गर्न सकारात्मक वातावरण बनेको बताइएको छ । नेपाल विद्युत् प्राधिकरणले दूधकोसी र माथिल्लो अरुणमा समेत टिबिएम प्रयोग गर्ने तयारी गरेको कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आयोजना प्रमुखलगायत अधिकारीलाई आयोजना स्थल नछाड्न, स्थानीय स्तरमा नै समस्या समाधान गर्न तथा आयोजनाको काममा कुनै पनि गत्यावरोध आउन नदिन निर्देशन दिनुभएको छ । सुरुङ निर्माणसँगै बाँध निर्माणको कामलाई समेत गति दिइएको छ । थप जनशक्ति परिचालन गर्न र आवश्यक समन्वय गर्न निर्माण व्यवसायीलाई उहाँले निर्देशन दिनुभएको छ ।
निर्माण व्यवसायी परिचालनमा विशेष ध्यान दिन तथा आवश्यक सहजीकरण गरी हरेक १५ दिनमा जलस्रोत तथा सिँचाइ विभाग र हरेक एक महिनामा आयोजनाको समग्र प्रगति विवरण प्रस्तुत गर्न मन्त्रालयले निर्देशन दिएको थियो । सोही निर्देशनअनुसार नै सुरुङ निर्माण सम्पन्न भएको हो ।
प्रधानमन्त्री दाहालले नियमितरुपमा आयोजनाका सन्दर्भमा चासो राख्दै आएकाले पनि आफूहरुलाई काम गर्न सहज भएको आयोजनाले जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेको ‘एक्सन रुम’बाट आयोजनाको नियमित अनुमगन भइरहेको छ ।
आयोजना प्रमुख बरालका अनुसार २०७९ असोज २८ गतेदेखि निर्माण सुरु गरिएको सो आयोजनामा कूल १३ दशमलव तीन किलोमिटर लामो सुरुङ रहेको छ । नेपालका विद्युत् तथा अन्य सिँचाइका आयोजनामा सुरुङ निर्माण भए पनि सो आयोजनामा टनेल बोरिङ मेसिन (टिबिएम) प्रयोग गरेर खनिएको भने दोस्रो पटक हो ।
यसअघि भेरी–बबई डाइभर्सन आयोजनामा पनि टिबिएमको प्रयोग गरिएको थियो । पहाडी भूभाग बढी भएको नेपालमा सुरुङ खन्न अब टिबिएम प्रभावकारी उपकरणका रुपमा स्थापित भएको छ ।
सुनकोसी नदीको पानी मरिण खोलामा झारेर विद्युत् उत्पादन गर्ने र तराईका एक लाख २२ हजार हेक्टरमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्यका साथ सुरु गरिएको सो आयोजनाको सुरुङ निर्माणमा अपेक्षित भन्दा बढी प्रगति भए पनि अन्य काममा भने सोहीअनुसार भएको छैन । बाँध तथा विद्युत् गृह निर्माणमा संलग्न निर्माण व्यवसायीले तोकिए अनुसार काम गर्न सकेका छैनन् । निर्माण व्यवसायीको कमजोर कार्यसम्पादन सुधार गर्न पटक पटक निर्देशन दिइएको छ ।
विद्युत् गृह र प्रसारण लाइन निर्माणका लागि आवश्यक तयारी भइरहेको छ । प्रसारण लाइनका लागि वातावरणीय प्रभाव मूल्याङ्कन सम्पन्न भइसकेको छ । सुनकोसी मरिण डाइभर्सन आयोजनाबाट हाल सञ्चालनमा रहेको बिपी राजमार्गको केही भाग प्रभावित हुनेछ । हाल सञ्चालनमा रहेको राजमार्गलाई नौ सय मिटर ‘डाइभर्सन’ गर्नुपर्ने हुन्छ । बाँध तथा विद्युत् गृह निर्माणका लागि भारतीय कम्पनी पटेल इन्जिनियरिङ र नेपाली कम्पनी रमण कन्स्ट्रक्सनको संयुक्त उपक्रमले ठेक्का पाएको छ ।
राष्ट्रिय गौरवका आयोजना भएकाले स्रोतको कुनै अभाव नहुने प्रधानमन्त्री र ऊर्जामन्त्रीको प्रतिबद्धता भएकाले आफूहरुलाई काम गर्न सहज भएको आयोजना प्रमुख बरालको भनाइ छ । यसअघि सुरुङ निर्माणमा भौगर्भिक रुपमा रहेको जटिलताका कारण पटक पटक समस्या देखिएको थियो । सुनकोसी गाउँपालिका–७ कानढुङ्गी स्थित सिन्धुली र रामेछाप जिल्लाको सिमाना भएर बग्ने सुनकोसी नदीलाई मरिण खोलामा पथान्तरण गरिनेछ ।
सुनकोसीको करिब ६७ क्युसेक पानीलाई सुरुङ मार्फत सिन्धुलीको कमलामाई नगरपालिका–२ कुसुमटारस्थित मरिण खोलामा खसालिनेछ । त्यसपछि बाग्मती सिँचाइ आयोजनाको पूर्वाधार प्रयोग गरेर धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बाराको करिब एक लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ गर्ने लक्ष्य छ । त्यस्तै सो आयोजनाबाट ३१ दशमलव शून्य सात मेगावाट बिजुली उत्पादन हुनेछ ।
आयोजनाको सुरुङ निर्माण चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङले गरेको हो । बाँध र विद्युत् गृह निर्माणमा केही ढिलाइ भए पनि तोकिएको समयभित्रै पूरा गर्ने निर्माण व्यवसायीको भनाइ छ । विसं २०८४ असोजमा सो आयोजना पूर्णरुपमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । भेरी बबई डाइभर्सन आयोजनामा सुरुङ निर्माण सम्पन्न भएको लामो समय भए पनि बाँध र विद्युत् गृह निर्माणले गति नलिँदा देखिएको व्यवधान सुनकोसी मरिणमा आउन नदिन सरकार चनाखो देखिएको छ ।
सो आयोजना सम्पन्न भएपछि अन्न भण्डारका रुपमा रहेको मध्यतराईका पाँच जिल्लामा वर्षभरि नै सिँचाइ सुविधा उपलब्ध हुनेछ । त्यसले खाद्यान्न उत्पादनमा गुणात्मक परिवर्तन आउनेछ । सो आयोजनामा प्रयोग भएको टिबिएम उपकरण प्रयोग गरी फुर्कोट–फूलबारी सुरुङ निर्माण गर्ने प्रारम्भिक तयारी गरिएको छ । टिबिएमलाई केही परिवर्तन गरी सडक पूर्वाधारमा प्रयोग हुने सुरुङ निर्माण गर्न सकिने बताइएको छ ।
निर्देशक बन्ने सोच छ : अभिनेता दयाहाङ राई
१५ वैशाख, काठमाडौँ I अभिनेता दयाहाङ राई कुशल अभिनेतासँगै रङ्गमञ्चमा निर्देशकका रुपमा पनि परिचित हुनुहुन्छ । उहाँले निर्देशन गर्नुभएको चर्चित नाटक हो ‘डिग्री माइला’ । त्यही नाटकको मूल कथालाई टेकेर बनेको डिग्री माइला अहिले चलचित्रका रुपमा प्रदर्शनरत छ । नाटक निर्देशनकै बेला उहाँले शैक्षिक बेरोजगारीको कथालाई रोज्नुभएको थियो । डिग्री माइला मार्फत पनि सामाजिक, शैक्षिक र राजनीतिक विषयमा व्यङ्ग्य गरिएको उहाँले बताउनुभयो ।
“हामीले तयार गरेको डिग्री माइला गाउँमा देखेको पात्रकै प्रतिनिधित्व हो किनकि उनीहरू आफूभन्दा अघिल्लो पुस्तासँग घुलमिल हुन सक्दैनन् र नयाँ सँग विचार मिल्दैन”, उहाँले भन्नुभयो, “त्यसैकारण माइला मार्फत कथा भन्न मन लागेको हो । नाटक बन्दा नै यसलाई ठूलो पर्दामा ल्याएर धेरै दर्शकलाई देखाउनुपर्छ भन्ने लागेको थियो ।”
डिग्री माइला शीर्षकमा चलचित्र बन्ने चर्चा चल्दा धेरैले अभिनेता राईले निर्देशन गर्नुहुन्छ भन्ने अनुमान गरेका थिए तर उहाँले नाटक निर्देशन गर्नुभएता पनि चलचित्र निर्देशन गर्नुभएन । यद्यपि उहाँलाई चलचित्र निर्देशन गर्ने चाहना भने छ ।
“यो निर्देशन गरौँ भन्ने सोच आएको थिएन । अहिले म अभिनयमै व्यस्त छु, त्यसैले समय पनि व्यवस्थापन गर्न सहज हुँदैन । यद्यपि मैले केही फरक र भन्नै पर्ने कथा भेटेँ भने दुई चलचित्र निर्देशन गर्छु”, अभिनेता राईले भन्नुभयो ।
उहाँले चलचित्र निर्देशन गर्नुभयो भने आफूले जानेको कुरा प्रयोग गर्ने योजनामा हुनुहुन्छ । रङ्गमञ्च मार्फत चलचित्रमा प्राप्त गरेको सफलताले उहाँको चलचित्रमा व्यावसायिक र कलात्मक मध्ये कुन पाटो हाबी हुन्छ भन्ने कौतुहलता स्वाभाविक छ । उहाँले भन्नुभयो, “मैले चयन गर्ने विषयले मलाई कलात्मक वा व्यावसायिक के बनाउँछ भन्ने निर्धारण गर्छ । किनकि कथालाई कसरी देखाउँदा प्रभाकारी हुन्छ भन्ने विषयले नै निर्देश गर्छ । त्यस कारण अहिले त्यस विषयमा धेरै सोचेको छुइन, म प्रति अपेक्षा छ भन्नेमा ज्ञात छु ।”
उहाँले डिग्री माइला जस्तो व्यावसायिक चलचित्र सँगै ‘गाउँ आएको बाटो’ र ‘राजागञ्ज’ जस्ता कलात्मक चलचित्रमा अभिनय गर्नुभएको छ । उल्लिखित चलचित्रले अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सहभागिता पाउनाका साथै केहीमा पुरस्कार समेत जितिरहेका छन् ।
उहाँ अभिनित ‘जारी’ मा लिम्बू समुदायको कथा, ‘दयारानी’ मा गुरुङ समुदायको कथा थियो । अब प्रदर्शन हुने भनिएको ‘घर ज्वाईं’ मा मगर समुदायको कथा छ । ग्रामीण भेग र ओझेलमा परेका समुदायको कथामा अभिनय गर्न पाउँदा उत्साह लाग्ने अभिनेता राईले बताउनुभयो ।
नेपालले टस जितेर फिल्डिङ गर्दै
१५ वैशाख, काठमाडौँ I नेपाली राष्ट्रिय क्रिकेट टोलीले वेस्ट इन्डिज ‘ए’ विरुद्धको पहिलो खेलमा टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएको छ । कीर्तिपुर स्थित त्रिवि मैदानमा भर्खरै भएको टसमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् । यस सँगै वेस्ट इन्डिज ‘ए’ ले अब पहिला ब्याटिङ गर्नेछ ।
नेपालको प्लेइङ एघारमा कप्तान पौडेल सहित कुशल भुर्तेल, अनिल कुमार शाह, गुलशन झा, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, विवेक यादव, प्रतिश जिसी, कमल सिंह ऐरी, ललित नारायण राजवंशी र अभिनाश बोहोरा छन् । बेन्चमा आसिफ शेख, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, आकाश चन्द, सागर ढकाल, विनोद भण्डारी, लोकेश बम र आरिफ शेख छन् । त्यसैगरी वेस्ट इन्डिज ‘ए’ को प्लेइङ एघारमा जोन्सन चार्ल्स, अलिक अथान्जे, म्याथ्यु फोर्ड, गुडाकेश मोती, आन्द्रे फ्लेचर, रोस्टन चेज, केसी कार्टि, किमो पल, कडीम एलेन, ओबेद मकोए र ओशेन थोमस छन् ।
घाइते अवस्थामा बाघ देखापरेपछि वन प्रवेश निषेध
१५ वैशाख, कञ्चनपुर I शुक्लाफाँटा नगरपालिका–८ बैजनाथ सामुदायिक वन क्षेत्रमा घाइते अवस्थामा बाघ देखापरेपछि वन क्षेत्र प्रवेशमा रोक लगाइएको छ । सामुदायिक वनको सलिमाताल क्षेत्र नजिक बाघ घाइते अवस्थामा देखा परेकाले वन क्षेत्र प्रवेशमा रोक लगाइएको सामुदायिक वनका अध्यक्ष बहादुरसिंह महराले बताउनुभयो ।
“घाइते बाघले जुनसुकै बेला पनि आक्रमण गर्नसक्ने भएकाले उपभोक्तालाई वन क्षेत्रमा जान रोक लगाएका हौँ”, उहाँले भन्नुभयो, “बाघ के कति कारणले घाइते भएको हो भन्ने बारे जानकारी हुन सकेको छैन ।” चुरे क्षेत्र र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जसँग जोडिएको वन बाघ लगायतका जनावरको बासस्थानका रुपमा रहेको छ ।
शुक्रबार मात्रै सो सामुदायिक वन क्षेत्रसँग जोडिएको भगवती सामुदायिक वनमा घाँस काटन गएका अन्दाजी २८ वर्षीय रवीन्द्र धामीलाई बाघले आक्रमण गरी घाइते बनाएको थियो । धामीको टाउको र हातमा गम्भीर चोट लागेपछि उपचारका लागि धनगढी स्थित निसर्ग अस्पतालमा भर्ना गरिएको छ ।
चाङ ई – ६ चन्द्रमाको अनुसन्धान प्रक्षेपण गर्ने चीनको तयारी
चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासन (सिएनएसए) ले चन्द्रमाको अनुसन्धान गर्न मेको प्रारम्भमा उचित समयमा चाङ ई – ६ लाई प्रक्षेपण गर्नका लागि निर्धारण गरिएको जनाएको छ ।चाङ’ई–६ चन्द्रमा अनुसन्धान र लङ मार्च – ५ वाई ८ वाहक रकेट संयोजनलाई शनिबार दक्षिण चीनको हेनान प्रान्तमा वेन्चाङ अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट प्रक्षेपण क्षेत्रमा स्थानान्तरण गरिएको सिएनएसएले बताएको छ । हटाउन योग्य प्रक्षेपण प्याडमा संयोजनलाई ठाडो परीक्षण भवनबाट बाहिर लगिएको थियो र पुनः सुरक्षितरूपमा प्रक्षेपण क्षेत्रमा सारिएको थियो । प्रक्षेपण अघि कार्यात्मक जाँच, संयुक्त परीक्षण कार्य र प्रक्षेपण योग्य बनाइने छ ।
चाङ’ई–६ चन्द्रमा अनुसन्धान र लङ मार्च– वाई ८ वाहक रकेट क्रमशः जनवरी र मार्चमा प्रक्षेपण स्थलमा पुगेपछि क्रमिकरूपमा एसेम्बली, परीक्षण र अन्य तयारी पूरा भएको थियो ।चन्द्रमाको टाढाबाट नमूना सङ्कलन गर्नका लागि अनुसन्धानको तयारी गरिएको छ । यो मानव इतिहासमा आफ्नै प्रकारको पहिलो मिसन हुनेछ ।
जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै
१५ वैशाख, काठमाडौँ I जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्ने भएको छ । आजको बैठकमा पार्टीको राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्वाचन निर्देशिका उपर छलफल हुने सो पार्टीका प्रचारप्रसार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार बैठक आज अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने छ ।
शुक्रबार बसेको बैठकमा विभिन्न तहगत समिति, निकाय, भ्रातृ सङ्गठन, पेसागत सङ्घ सङ्गठनबाट महाधिवेशन प्रतिनिधि निर्वाचित गर्ने प्रस्ताव गरिएको निर्देशिका बैठकमा प्रस्तुत भएको बस्नेतले बताउनुभयो ।
निर्देशिकाले जसपाका करिब एक लाख ४६ हजार सङ्गठित पार्टी सदस्य मध्येबाट करिब एक हजार महाधिवेशन प्रतिनिधि निर्वाचित हुने प्रस्ताव गरेको छ । सो पार्टीको महाधिवेशन आगामी जेठ २८ देखि ३० गतेसम्म जनकपुरमा हुँदैछ ।
कान्तिलोकपथ दैनिक तीन घण्टा खुल्ने
१५ वैशाख, पाटन (ललितपुर) I कान्तिलोकपथ दैनिक तीन घण्टा मात्र खुल्ने भएको छ । मर्मतका लागि ४५ दिनदेखि बन्द रहेको यो बाटो काम पूरा नभएकाले तीन घण्टा मात्र खोलिएको हो । “मर्मतसम्भारका लागि काल्चे देखि बगुवाखण्ड सम्म चैत १ गते देखि बन्द गरिएको सडक अहिलेलाई बिहान ९ बजेदेखि १२ बजे सम्म ३ घण्टा सवारी साधनका लागि खुला रहने छ । मर्मतको काम जारी छ । अब दुई ‘सिफ्ट’मा काम गरेर शीघ्र सम्पन्न गर्ने लक्ष्य छ”, आगामी जेठ १५ गतेसम्म बाटो तीन घण्टा सम्म खुल्ने जानकारी दिँदै कान्तिलोकपथ आयोजनका इन्जिनियर रवीन्द्र महर्जनले भन्नुभयो ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठको अध्यक्षतामा बिहीबार भएको बैठकले बिहान ६ बजेदेखि ९ बजेसम्म र मध्याह्न १२ बजेदेखि अपराह्न ६ बजेसम्म दुई सिफ्टमा काम गर्ने निर्णय गरेको हो । बैठकले उक्त सडकमा छ चक्के र त्यस भन्दा बढी पाङ्ग्रा भएका मालबाहक सवारी सञ्चालनमा पूर्ण रूपमा रोक लगाउने निर्णय गरेको छ ।
“यो सडक खण्ड एक दशमलव पाँच किलोमिटर चौडा गर्न लागिएको हो । सडक माथिका चट्टान काट्न बाँकी रहकोले उक्त निर्णय भएको हो ।”, इन्जिनियर महर्जनले भन्नुभयो ।
यो सडक ६७ वर्षदे खि निर्माणाधीन छ । हेटौँडाको बुद्धचोक देखि ललितपुरको सातदोबाटोसम्म ९२ किलोमिटर लामो सडक विस्तारको जिम्मा बुद्धचोक देखि–टीकाभैरव सम्मको ७९ किलोमिटर खण्ड आयोजना कार्यालयले लिएको छ भने बाँकी भाग सडक डिभिजन कार्यालयले बनाउने छ । टीकाभैरव देखि चापागाउँ बसपार्कसम्म डिभिजन कार्यालयले चौडा पारेको भए पनि स्थानीयले निर्माण गरेका संरचनाका कारण ठेचो–सुनाकोठी खण्ड चौडा हुन सकेको छैन ।