सोमबार, २३ कात्तिक २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01HVWTNE5Z4SN1YSP3X6XKX35H.png

काँकरभिट्टा–लौकही सडक स्तरोन्नति

बेलबारी, ८ वैशाख I पूर्वपश्चिम राजमार्ग अन्तर्गत काँकरभिट्टा–लौकही खण्डमा स्तरोन्नतिको काम सुरु भएको छ । तीन वर्षमा सम्पन्न गर्ने लक्ष्यका साथ एसियाली विकास बैंकको ऋण सहयोगमा स्तरोन्नति थालिएको यो सडक अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको हुनेछ । 

Advertisement


काँकरभिट्टा देखि लौकही सम्मको एक सय २० किलोमिटर सडक स्तरोन्नति हुने भनिए पनि हाल ९५ किलोमिटरका लागि मात्र ठेक्का लागेर काम सुरु भएको छ । आयोजनाले यो सडकलाई पूर्वी र पश्चिम खण्ड गरी दुई भागमा विभाजन गरेको छ । काँकरभिट्टा देखि सीतापुर सम्मको ४५ किलोमिटर सडक दमकस्थित  कार्यालयले हेर्नेछ भने सीतापुरबाट इटहरी पश्चिम पचरुखी सम्मको क्षेत्र इटहरी कार्यालयको कार्यक्षेत्रमा छ ।

पूर्वी खण्डमा २१ वटा पुल रहेका छन् भने एक सय ३५ वटा कल्भर्ट बन्ने छन् । ‘पाइल फाउन्डेसन’ विधिबाट केर्खा खोला र कमल खोलामा पुल निर्माण भइरहेको र ३५ वटा कल्भर्ट निर्माण जारी रहेको प्रमुख सुनिलबाबु पन्तले बताउनुभयो । सडक किनारमा पर्ने ११ हजार पाँच सय १३ वटा रुखमध्ये ७५ प्रतिशत काटिएका छन् । वातावरण प्रभाव मूल्याङ्कन प्रतिवेदन अनुसार काम जारी छ ।
Advertisement


इटहरिस्थित आयोजना कार्यालयका  अनुसार सडक र पुल निर्माणका लागि पाँच वटा अलग–अलग ठेक्का लगाइएको छ । निन्दा, विरिङ, कन्काई, रतुवा, बक्राहा र लोहन्द्रामा पुल बनाउन ठेक्का लागेको छ । यी छ वटा पुल तीन सय मिटरभन्दा लामा छन् । 

उक्त सडकलाई बजार क्षेत्र, जङ्गल क्षेत्र र ग्रामीण क्षेत्रमा विभाजन गरिएको छ  । बजार क्षेत्रमा ५० मिटर, जङ्गल क्षेत्रमा २४ मिटर र ग्रामीण क्षेत्रमा ३३ मिटर चौडा सडक बन्नेछ । सहरी क्षेत्रमा साइकल लेन, फुटपाथ, ड्रेनसहित निर्माण हुनेछ ।  तीन सय मिटरभन्दा लामा पुल बन्ने स्थानमा सिग्नेचर पुल निर्माण हुनेछन् । 

प्रकाशित मितिः शनिबार, ०८ वैशाख २०८१
https://jawaaf.com/storage/01HVVH8PB17Q0CX3NBQ27NSVCY.jpg

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौँ, ७ वैशाख I यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति लिएका छन् ।

पर्यटन विभागका अनुसार सगरमाथा आरोहणका लागि हालसम्म ३३ आरोही समूहका ६५ महिला र दुई सय ८७ पुरुष गरी जम्मा तीन सय ५२ आरोहीले अनुमति लिएका हुन् । हालसम्म ५५ देशका आरोही सगरमाथा आरोहणका लागि आएका छन् । 

विभागको साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङले सगरमाथा आरोहण गर्न उत्साहजनक रुपमा आरोही आइरहेको बताउनुभयो । उहाँले यो वर्ष चार सयभन्दा बढी आरोही आउने विश्वास व्यक्त गर्नुभयो । अघिल्लो वर्ष हालसम्मकै सर्वाधिक चार सय ७८ आरोहीले सगरमाथा आरोहण अनुमति लिएका थिए ।

सगरमाथा सहितका विभिन्न २४ हिमाल आरोहणको अनुमति बापत हाल सम्म रु ५६ करोड ४० लाख ३१ हजार एक सय ८१ राजस्व सङ्कलन भएको छ ।

प्रकाशित मितिः शुक्रबार, ०७ वैशाख २०८१
https://jawaaf.com/storage/01HVVB85CB6ZK5FBHSBP9ZFYKP.jpg

हिउँ चितुवा सर्वेक्षण : डोल्पामा एक सय २० हिउँ चितुवा

काठमाडाँै, ७ वैशाख  I  हिउँ चितुवा सर्वेक्षणको पछिल्लो नतिजा आज सार्वजनिक गरिएको छ । नतिजाअनुसार डोल्पाको संरक्षित क्षेत्रबाहिर पनि हिउँ चितुवाको उल्लेखनीय सङ्ख्या रहेको देखिएको छ । विसं २०८० को वैशाखदेखि भदौसम्म सञ्चालित व्यवस्थित क्यामेरा ट्याप सर्वेक्षणले शे– फोक्सुण्डो राष्ट्रिय निकुञ्जबाहिरको पूर्वी डोल्पा क्षेत्रमा रहेका हिउँ चितुवाको सङ्ख्या यकिन गरेको छ ।

विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपालको सहयोगमा गरिएको यस सर्वेक्षणले प्रतिएक सय वर्ग किलोमिटरको क्षेत्रमा हिउँ चितुवाको घनत्व १.५ रहेको अनुमान गरेको छ । यससँगै अध्ययन क्षेत्रभित्र ३० वटा हिउँ चितुवा रहेको यकिन हुन गएको छ ।

यसैगरी, चार वर्षअघि निकुञ्जभित्र गरिएको यस किसिमको सर्वेक्षणले प्रतिएक सय वर्ग किलोमिटरमा चितुवाको घनत्व २.२ रहेको अनुमान गरेको थियो । यस आधारबाट ९० वटा हिउँ चितुवा यो संरक्षित क्षेत्रभित्र रहेको यकिन भएको थियो ।

यसर्थ डोल्पामा हिउँ चितुवाको कूल सङ्ख्या एक सय २० हुन गएको छ । जुन सङ्ख्या नेपालकै सबैभन्दा उच्च हो र घनत्व पनि सबैभन्दा बढी हुन आउँछ । हिउँ चितुवा उच्च पहाडी पर्यावरणमा पाइने दुर्लभ, लोपोन्मुख र संरक्षित वन्यजन्तु हो । 

यो प्रजाति आफ्नो बासस्थान वातावरणमा शीर्ष सिकारी भएकाले पर्यावरणको स्वास्थ्य र सन्तुलन कायम राख्न हिउँ चितुवाको महत्वपूर्ण भूमिका रहेको हुन्छ । ठूलो र दुर्गम भौगोलिक क्षेत्रको बासस्थानमा बस्ने भएकाले ठूला बिरालाहरूमध्ये विश्वव्यापी रूपमा सबैभन्दा कम अध्ययन गरिएका प्रजातिहरूमा यो प्रजाति पनि पर्छ ।

नेपालमा हिउँ चितुवाको बासस्थान (३० हजार वर्ग किलोमिटर) मध्ये ४२ प्रतिशत भाग संरक्षित क्षेत्रभन्दा बाहिर पर्छ । यी क्षेत्रहरू बासस्थान र कोरिडोर दुवैका रूपमा निकै महत्वपूर्ण छन् । 

पूर्वी डोल्पा नेपालको तीन संरक्षित क्षेत्र (शे–फोक्सुण्डो, ढोरपाटन सिकार आरक्ष र अन्नपूर्ण संरक्षण क्षेत्र) र हिउँ चितुवाको दुई भूपरिधि क्षेत्र (पश्चिम र मध्य) मा रहेका हिउँ चितुवाको सङ्ख्यालाई जोडेको छ । यस महत्वलाई दृष्टिगत गरी सरकारले यस क्षेत्रमा यो महत्वपूर्ण प्रजातिको अध्ययन तथा अनुसन्धानलाई उच्च प्राथमिकता दिई विभिन्न कार्यक्रम सञ्चालनमा ल्याएको वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।

हिँउ चितुवा विश्वमा नै एसियाका १२ राष्ट्रमा मात्र सीमित रहेको र जम्मा चार हजारदेखि छ हजार पाँच सयको सङ्ख्यामा रहेको अनुमान गरिएको छ । हिउँ चितुवाका लागि नेपाल चौथो राष्ट्रमा पर्दछ र जहाँ तीन सयदेखि चार सय सङ्ख्यामा हिउँ चितुवा पाइने विश्वास गरिएको छ । यस हिसाबले हिउँ चितुवा अवलोकनका लागि विश्वमा नेपाल र नेपालमा डोल्पा एक प्रमुख गन्तव्य स्थापित छ ।

डिभिजन वन कार्यालय डोल्पाको कार्यक्षेत्रभित्र गरिएको यस सर्वेक्षणले छार्का ताङसोङ, काइके र डोल्पो बुद्ध गाउँपालिकाका राष्ट्रिय निकुञ्जबाहिर रहेका क्षेत्रमात्र समेटेको थियो । हिमाली भूभागमा पर्ने करिब दुई  हजार वर्गकिलोमिटर क्षेत्रफलमा ६० दिनसम्म यो अध्ययन गरिएको थियो । यो अध्ययनमा ३३ जना नागरिक वैज्ञानिक, डिभिजन वन कार्यालय डोल्पाका सात जना कर्मचारी, तीनजना विद्यार्थी र दुईजना डब्लुडब्लुएफ नेपालका वन्यजन्तु अनुसन्धानकर्ताहरू सामेल थिए । वन तथा भू–संरक्षण विभाग र डिभिजन वन कार्यालय डोल्पाको नेतृत्व अनि डब्लुडब्लुएफ नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सम्पादित यस सर्वेक्षणका लागि ६६ ठाउँमा ‘क्यामेरा ट्र्याप’हरू जडान गरिएका थिए ।

यो सर्वेक्षणले पहिलोपटक संरक्षित क्षेत्रबाहिर बाक्लो सङ्ख्यामा हिउँ चितुवा रहेको बलियो प्रमाण मात्र देखाएको छैन, नेपालमा हिउँ चितुवाको सङ्ख्या बुझ्न पनि सघाएको छ । यस सर्वेक्षणले संरक्षित क्षेत्रबाहिर पनि प्रभावकारी संरक्षणका प्रयासहरूको आवश्यकता रहेको पुष्टि पनि गरेको वन तथा भू–संरक्षण विभागका महानिर्देशक शिवकुमार वाग्लेले बताउनुभयो । “हामी यस उपलब्धिमा डिभिजन वन कार्यालय डोल्पालाई बधाई दिन्छौँ । यससँगै अनुसन्धानमा खटिने वन्यजन्तु अनुसन्धानकर्ताहरू, नागरिक वैज्ञानिकहरू, स्थानीय आदिवासी समुदायहरू र डब्लुडब्लुएफ नेपालका साथमा काम गर्न पाउँदा हामी निकै खुसी छौँ,” उहाँले भन्नुभयो ।

डब्लुडब्लुएफका नेपाल प्रतिनिधि डा घनश्याम गुरुङले विश्वव्यापी रूपमा हिउँ चितुवाको अनुसन्धान र संरक्षण गर्नमा विभिन्न प्रयास भइराखेको उल्लेख गर्दै नेपाल सरकारलाई सहयोग गर्न र हिउँ चितुवाको दीर्घकालीन संरक्षणका लागि स्थानीय समुदायसँग साझेदारी गर्न पाउँदा थप जिम्मेवार हुन प्रेरित गरेको बताउनुभयो । उहाँले हिउँ चितुवाको संरक्षण र स्थानीय समुदायको विकासलाई समानान्तर रूपमा अघि बढाउन डब्लुडब्लुएफ नेपालले समुदायमा आधारित संरक्षणका प्रयासलाई जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

आगामी दिनहरुमा मानव–हिउँ चितुवा द्वन्द्व न्यूनीकरणका लागि पशु बीमा तथा राहत व्यवस्था र घरपालुवा पशुचौपायाको चरिचरन क्षेत्र  व्यवस्थापन आवश्यक देखिएको छ । साथै हिउँ चितुवा संरक्षण तथा पर्यापर्यटन प्रवद्र्धन र जडीबुटी उत्पादन क्षेत्रका रुपमा पनि विकास गर्न दिगो, वैज्ञानिक र एकीकृत व्यवस्थापनतर्फ सबैको साझा पहल, प्रयास र अभ्यास हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मितिः शुक्रबार, ०७ वैशाख २०८१
https://jawaaf.com/storage/01HVTG35NW5J1FA25JZCGSYNXZ.jpg

सुन मूल्य आज पनि उकालो लागेको छ

काठमाडौँ, ७ वैशाख I स्थानीय बजारमा पहेँलो धातुका मूल्य आज पनि उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन प्रतितोला रु सात सयले उकालो लागेको छ ।

बिहीबार प्रतितोला रु एक लाख ३८ हजार छ सयमा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३९ हजार तीन सय मूल्य निर्धारण भएको छ । यस्तै तेजाबी सुन बिहीबार तोलामा रु एक लाख ३७ हजार नौ सय ५० मा कारोबार भएकामा आजका लागि भने रु एक लाख ३८ हजार छ सय ५० निर्धारण भएको छ ।

त्यस्तै चाँदीको मूल्य भने सामान्य गिरावट भएको छ । बिहीबार प्रतितोला रु एक हजार सात सय २५ मा कारोबार भएकामा आजका लागि भने रु एक हजार सात सय २० निर्धारण भएको छ । 

प्रकाशित मितिः शुक्रबार, ०७ वैशाख २०८१
https://jawaaf.com/storage/01HVT8BZ1QDSHTPTT6CREW4SZC.jpg

जन्ती बोकेको बस दुर्घटना, तीनजनाको मृत्यु, ५२ घाइते

चौतारा (सिन्धुपाल्चोक) ७ वैशाख I  जिल्लाको पिस्कर–५ धारावतीमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य ५२ जना घाइते भएका छन् ।

दोलखाबाट जन्ती लिएर आउँदै गरेको रोल्वालिङ यातायातको बा ४ ख ५६१६ नम्बरको बस त्रिपुरासुन्दरी गाउँपालिका–५ धारावतीमा आज बिहान ७ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टराईले जानकारी दिनुभयो । 

दुर्घटनामा घाइते भएकाहरूको उद्धार गरी अस्पताल पठाउन थालिएको उहाँले बताउनुभयो । उहाँका अनुसार बस भिरमा खसेकाले उद्धारमा केही समस्या भएको छ ।

प्रकाशित मितिः शुक्रबार, ०७ वैशाख २०८१
https://jawaaf.com/storage/01HVRY13F0DJZQ8NKTFG8X1F9W.jpg

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला

काठमाडौँ, ६ वैशाख I त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला परेको छ । बुधबार ११ बजे अन्तर्राष्ट्रिय उडानतर्फको आगमन भई भारतको दिल्लीबाट आई वे नं ५ मा रोकिएको फ्लाइट 6E1151को इन्डिगो एयरको सिट नं २७ र  २८ को तलपट्टि बेवारिसे अवस्थामा उक्त सुन फेला परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक कृष्णहरि शर्माले राससलाई जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “बेवारिसे अवस्थामा भेटिएको उक्त सुनमा सिक्री तीन, सुनको बिस्कुट थान ६, त्रिभुज आकारको सुनजस्तो देखिने पहेँलो रङको धातुको टुक्राहरु दुई, सिक्री जोड्ने स–साना रिङ दुई फेला परेको छ, सोको कूल अन्दाजी तौल एक किलो ७० ग्राम रहेको छ ।”

प्रकाशित मितिः बिहिबार, ०६ वैशाख २०८१
https://jawaaf.com/storage/01HVREHZTRV256451J6WWNAJRP.jpg

ज्वालामुखी विस्फोट हुँदा ११ हजारभन्दा बढी विस्थापित

इन्डोनेसियाको उत्तरी सुलावेसी प्रान्तमा ज्वालामुखी विस्फोट हुँदा ११ हजारभन्दा बढी विस्थापित मानिसलाई सुरक्षित स्थानमा सारिएको अल जजिराले बिहीबार जनाएको छ ।
माउन्ट रुआङमा  मङ्लबार एक पटक तथा त्यसपछि बुधबार चार पटक विस्फोट भएको थियो । 
इन्डोनेसियाको ज्वालामुखी विज्ञान एजेन्सीले पर्वतको सतर्कता स्तर बढाएर चार पुरÞ्याएको छ, जुन मापनमा सबैभन्दा उच्च सात सय मिटर  अग्लो छ ।
एजेन्सीले क्रेटर वरपरको बहिष्करण क्षेत्रको आकार चारदेखि छ किलोमिटरसम्म विस्तार गरेको छ । सुरुमा रुआङका आठ सयभन्दा बढी बासिन्दाहरूलाई टागुलान्डाङ टापुमा सारिएको थियो ।
अधिकारीहरूले बढ्दो बहिष्करण क्षेत्रका कारण थप मानिसहरूलाई बाहिर निकाल्न र मनाडोमा ल्याउनुपर्ने बताएका छन् ।  
“जोखिम क्षेत्रका कम्तिमा ११ हजार छ सय १५ बासिन्दाहरूलाई सुरक्षित स्थानमा सार्नुपर्छ’’, विपद् एजेन्सीको विपद् डाटा, सञ्चार र सूचना केन्द्रका प्रमुख अब्दुल मुहारीलाई कोम्पास अखबारले उद्धृत गरेको अल जजिराले जनाएको छ ।
अधिकारीहरू  सन् १८७१ मा भएको विस्फोटमा जस्तै, ज्वालामुखीको एक भाग समुद्रमा खसेको हुन सक्ने र सुनामी निम्त्याउन सक्ने कुरामा चिन्तित छन् । 
मनाडोको साम रतुलाङ्गी अन्तर्राष्ट्रिय विमानस्थल कम्तिमा बिहीबार साँझसम्म बन्द रहनेछ । उड्डयन अधिकारीहरूका अनुसार ज्वालामुखीको खरानी फैलिएको कारण, जसले उडान सुरक्षालाई खतरामा पार्न सक्ने छ ।
विमानस्थलले दक्षिण कोरिया, चीन र सिङ्गापुर लगायत अन्य राष्ट्रहरूका लागि उडानहरू प्रदान गर्दछ । नजिकैको मलेसियाको कोटा किनाबालु अन्तर्राष्ट्रिय विमानस्थल जाने र जाने उडानहरूमा पनि गम्भीर अवरोध आएको छ । 
चालु हप्तामा दुईवटा भूकम्पपछि, देशको ज्वालामुखी विज्ञान सेवाका अनुसार माउन्ट रुआङको गतिविधिमा वृद्धि देखिएको छ ।

प्रकाशित मितिः बिहिबार, ०६ वैशाख २०८१
https://jawaaf.com/storage/01HVQS2YP3XPK508P6VNB198GS.jpg

ताप्लेजुङ विद्युत् उत्पादनको केन्द्र बन्दै

फुङलिङ (ताप्लेजुङ) ६ वैशाख I ताप्लेजुङ जिल्ला विद्युत् उत्पादनको केन्द्र बन्दै गएको छ । यहाँको मुख्य नदी तमोरमा १६ वटा आयोजना निर्माणाधीन छन् । विद्युत् विभागका अनुसार तमोर नदीमा निर्माण हुने आयोजना १६ मध्ये १४ वटा फक्ताङ्लुङ गाउँपालिकामा निर्माणाधीन छन् । ती आयोजनाबाट एक हजार छ सय ५४ दशमलव ५१ मेगावाट बिजुली उत्पादन हुनेछ । मिक्वाखोला गाउँपालिका हुँदै बग्ने मेवाखोलाबाट चार जलविद्युत् आयोजना निर्माणाधीन छन् । मेवाखोलामा निर्माण भइरहेका आयोजनाबाट एक सय ७८ दशमलव ४२ मेगावाट विद्युत् उत्पादन हुने छ । काबेली खोलामा चारवटा आयोजना निर्माण भइरहेका छन् । ती आयोजनाबाट ९५ दशमलव ४३ मेगावाट बिजुली उत्पादन हुनेछ ।


यसैगरी,पालुङखोलामा निर्माणाधीन दुई आयोजनाबाट ५१ मेगावाट विद्युत् उत्पादन हुने छ । सोना खोलामा हिमाली हाइड्रोपावरले नौ मेगावाट बिजुली उत्पादनका निम्ति प्रारम्भिक चरणका काम पूरा गरेको छ । सिदिङ्वा गाउँपालिका–१ इवा खोलामा तीनजुरे हाइड्रोपावरले चार दशमलव ६ मेगावाट क्षमताको आयोजनालाई द्रुत गतिमा अघि बढाएको छ ।

प्रकाशित मितिः बिहिबार, ०६ वैशाख २०८१
https://jawaaf.com/storage/01HVP3XAZ6WGJY2G4WSS4J2CVN.jpg

दृष्टिविहीनलाई बाटो देखाउँदै ‘गुगल’

अन्नपूर्ण (कास्की), ५ वैशाख : गुल्मीबाट पढाइको सिलसिलामा पोखरा आउनुभएकी दृष्टिविहीन रीता ज्ञवालीले सेतो छडी लिएर बाटो हिँड्दा अनेक समस्या झेल्नुपरेको थियो । सवालाङ्गहरूसमक्ष आफू पुगेको स्थानबारे बताइदिन र बाटो पार गराइदिन आग्रह गर्दा पटकपटक तिरस्कृत भएको उहाँले सुनाउनुभयो । अब त्यो समस्याबाट उहाँ मुक्त हुनुभएको छ । 

“पहिलादेखि नै हामीलाई सेतो छडी लिएर हिँड्ने बानी पर्यो । त्यसरी हिँड्दा बाटो देखाइदिन आग्रह गर्दा नबोल्ने, बाटो ‘क्रस’ गराइदिन आग्रह गर्दा वास्ता नगर्ने, कहिलेकाहीँ त ‘ह्यारेसमेन्ट’ पनि झेल्नुपरेको थियो”, उहाँले भन्नुभयो, “प्रविधि हाम्रा लागि पनि बनेको छ । हामीले चलाउन जान्ने हो भने समस्या आफैँ समाधान हुन्छ । प्रविधिमा पहुँचयुक्त गमनशीलता तालिममा सिकेको सीपले हामीलाई सहज भएको छ ।”
 
रीताजस्तै अरु दृष्टिविहीन पनि अबका दिनमा अरुको सहाराबिना हिँडडुल गर्नेमा विश्वस्त हुनुहुन्छ । उहाँहरूका लागि पोखरा महानगरपालिकाको सहयोगमा कास्की नेत्रहीन सङ्घले प्रविधिमा पहुँचयुक्त गमनशीलता तालिम दिएको छ । 

तालिममा भाग लिनुभएकी दृष्टिविहीन रोजिना घिमिरेले पनि तालिम निकै फलदायी भएको बताउनुभयो । “हामीलाई आवश्यकताले सञ्जाल चिनाएको छ । सञ्जालले सञ्चार चिनाएको छ र सञ्चारले संसार चिनाएको छ”, रोजिनाले भन्नुभयो, “प्रविधिले अपाङ्गता व्यक्तिलाई सहज बनाएको छ हामीलाई भने असम्भवलाई सम्भव बनाएको छ । दृष्टिविहीनलाई यसले दुष्टियुक्त बनाउन मद्दत गरेको छ ।” 

‘गुगल’ नक्साका आधारमा आफू कहाँ पुग्ने हो त्यो ‘सेट’ गरेपछि दायाँ, बायाँ, बाटो पार गर्नेलगायत सबै  भनिदिने हुँदा सहज भएको रोजिनाले बताउनुभयो । मोबाइल भएपछि सहयोगी आवश्यक नपर्ने उहाँले बताउनुभयो । 

तालिमका प्रशिक्षक तथा राष्ट्रिय अपाङ्ग महासङ्घ, गण्डकीका अध्यक्ष खोमराज शर्माले तालिममा दृष्टिविहीनलाई ‘गुगल म्याप’सँगै ‘ई–सेवा, इन्ड्राइभ, पठाओ’जस्ता ‘एप्लिकेसन’ चलाउन पनि सिकाइएको जानकारी दिनुभयो । यसले उनीहरूको दैनिकीमा सहयोग पुग्ने उहाँले सुनाउनुभयो ।
 
प्रविधिको अधिकतम प्रयोग गर्नसके दृष्टिविहीनतालाई अवसरका रूपमा लिन सकिने उहाँले बताउनुभयो । “प्रविधिमा साँच्चै हाम्रो पहुँच हुने हो भने हामीले हीनतावोध गर्नुपर्दैन । हामीले गर्न नसक्ने भन्ने विषय सबै विगत बनिदिन्छ”, प्रशिक्षक शर्माले भन्नुभयो, “तर चुनौती भनेको यसको समाधान न हाम्रो सरकारलाई थाहा छ न ‘एप्लिकेसन डेभलपर’लाई थाहा छ । यो चुनौती चिर्न  स्थानीय, प्रदेश र सङ्घ सरकारले लगानी गर्न जरुरी छ ।”

राष्ट्रिय अपाङ्ग महासङ्घको केन्द्रीय सदस्य पुष्पराज रिमालले प्रविधिले आफूहरूलाई सक्षम बनाएको बताउनुभयो । “सामान्य रूपमा हेर्दा मोबाइल केही होइन तर सबैथोक हो”, उहाँले भन्नुभयो, “प्रविधिले हामीलाई सक्षम बनाएको छ । त्यसलाई हामीले चिन्नुपर्छ ।” सरकारले हरेक क्षेत्रमा हरेक नागरिकका लागि उपयुक्त प्रविधिमा लगानी गर्नुपर्ने उहाँको धारणा छ ।

कास्की नेत्रहीन सङ्घका अध्यक्ष श्रीकान्त सापकोटाले सङ्घले दृष्टिविहीनका लागि विभिन्न कार्यक्रम र तालिम गरिहेको बताउनुभयो । “हामीले नेपालमै पहिलोपटक सेतो छडी प्रयोग गरेर कसले राम्रोसँग हिँड्नसक्छ भनेर गमनशीलता प्रतियोगिता गर्यौ ँ। त्यसपछि सेतो छडी लिएर हिँड्न गमनशीलता तालिम पनि दियौँ”, अध्यक्ष सापकोटाले भन्नुभयो, “अब नयाँ ढङ्गले जाऊ भनेर अहिले प्रविधिमा पहुँचयुक्त गमनशीलता तालिम आयोजना गरेका हौँ ।”

उहाँले अहिले पनि संविधानको मर्मअनुसार सबै ठाउँमा समावेशिता नभेटिएको बताउनुभयो । ‘बी माई एआई’ प्रयोग गरेर दृष्टिविहीनले सबै विषय थाहा पाउने प्रविधिको विकास भइसक्दा पनि त्यसमा कसैको ध्यान नगएको अध्यक्ष सापकोटाको गुनासो थियो । यसका लागि राज्यले तालिम, साधन अनि पहुँचताको सुनिश्चितता गर्नुपर्ने उहाँले बताउनुभयो । दृष्टिविहीनको हकअधिकारका लागि संस्थाले आगामी दिनमा पनि रचनात्मक कार्यक्रम गर्दै जाने उहाँले जानकारी दिनुभयो ।
 
कास्कीमा एक हजार पाँच सयको हाराहारीमा दृष्टिविहीन रहेको कास्की नेत्रहीन सङ्घका अध्यक्ष श्रीकान्त सापकोटाले जानकारी दिनुभयो । “कास्कीमा अध्ययन, रोजगारीका लागि अन्य जिल्लाबाट पनि आउनुभएका दृष्टिविहीन साथीहरू हुनुहुन्छ । केही ग्रामीण क्षेत्रमा पनि हुनुहुन्छ”, उहाँले भन्नुभयो, “सबै गरेर एक हजार पाँच सय जति छौँ । त्यसमा हाम्रो सङ्घमा एक सय ५० जना आबद्ध छौँ ।”  प्रविधिमा पहुँचयुक्त गमनशीलता तालिममा २४ जना सहभागी भएका थिए ।

प्रकाशित मितिः बुधबार, ०५ वैशाख २०८१
https://jawaaf.com/storage/01HVNSE39G9QWGGW95RR71N9ZF.jpg

आजबाट एक साता सम्मको मौसम पूर्वानुमान

काठमाडौँ, ५ वैशाख I जल तथा मौसम विज्ञान विभागले अब एक सात सम्मको मौसम पूर्वानुमान गर्ने तयारी गरेको छ । विभाग अन्तर्गतको मौसम पूर्वानुमान माहाशाखाले हाल तीन दिनसम्मको मात्रै मौसम पूर्वानुमान गर्दै आएको छ ।     
      
 एक सातासम्मको मौसमी अवस्था जानकारी दिँदा मौसम जन्य विपतका घटना न्यूनीकरणमा सहयोग पुग्ने विभागको भनाइ छ । एक साता सम्मको मौसम पूर्वानुमान हुँदा किसानहरुलाई बाली लगाउन र भित्र्याउन सहज हुने अपेक्षा गरिएको छ ।     
      

विभागका महानिर्देशक डा जगदिश्वर कर्माचार्यले एक साता सम्मको मौसम सम्बन्धी पूर्वानुमान गर्ने गरी छलफल अगाडि बढिरहेको बताउनुभएको छ । “अहिलेसम्म हामीले तीन दिन मौसम पूर्वानुमान गर्दै आइरहेका छौँ । यसको प्रभावकारिता पनि बढ्दै जान थालेपछि एक साता सम्मको पूर्वानुमानको तयारी गरिएको हो”, उहाँले भन्नुभयो । उहाँले विश्वव्यापी मोडल अनुसार अगाडि बढ्न प्राविधिक र वित्तीय स्रोतको अभाव भएकाले क्षेत्रीयस्तरमा सहकार्य गरेर जान सकिने बताउनुभयो । मित्र राष्ट्रहरु र अन्य मौसम सम्बन्धी क्षेत्रीय सङ्गठनसँग सहकार्यका लागि छलफल भइरहेको उहाँले जानकारी दिनुभयो ।     
      
विपद् व्यवस्थापनविद् डा धर्मराज उप्रेतीले मौसम सम्बन्धी एक साता सम्मको पूर्वानुमान गर्दा मनसुजन्य विपद्का घटना न्यूनीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । “मौसमसम्बन्धी एक सातासम्मको जानकारी दिँदा ठूलो धनजन र हानी नोक्सानी घटाउने छ विश्वास गर्न सकिन्छ । प्रत्येक वर्ष सर्वसाधरणहरुले बाढी र पहिरोबाट सम्पत्तिको नोक्सान बेहोर्नु परेको छ । सम्पत्तिको सुरक्षा गर्न प्रशस्त समय चाहिन्छ ।”     

प्रकाशित मितिः बुधबार, ०५ वैशाख २०८१