मुस्ताङमा लेक लागेर तीन वर्षमा २९ जनाको मृत्यु
गलेश्वर (म्याग्दी), ५ वैशाख I हिमालपारिको जिल्ला मुस्ताङ भ्रमण तथा मुक्तिनाथ दर्शन गर्न आउनेको सङ्ख्या बढेसँगै लेक लागेर मृत्यु हुनेको सङ्ख्या पनि बढ्दै गएको छ ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार आर्थिक वर्ष २०७८/७९ देखि २०८०/८१ को चैत मसान्तसम्म लेक लागेर २९ जनाको मृत्यु भएको छ । चालु आवको असोज देखि चैतसम्म मात्रै मुस्ताङ घुम्न आएका ११ जनाले लेक लागेर ज्यान गुमाएका छन् । मृत्यु हुनेमा सातजना भारतीय, तीनजना नेपाली तीर्थयात्री र एक युक्रेनी पर्यटक रहेका जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले जानकारी दिनुभयो ।
उहाँका अनुसार आव २०७८/७९ मा पाँच महिला र एक पुरुष गरेर छ जनाको लेक लागेर मृत्यु भएको थियो । उहाँहरू सबै भारतीय नागरिक थिए भने उनीहरूको ४५ देखि ७३ वर्ष सम्मको उमेर समूहका रहेका प्रहरीले जनाएको छ । उहाँहरूलाई मुक्तिनाथ, जोमसोम एयरपोर्ट, जोमसोम र धिमीठाँटी भन्ने स्थानमा लेक लागेको थियो ।
आव २०७९/८० मा पनि पाँच महिला र सात पुरुष गरेर १२ जनाको मृत्यु भएको थियो । मृतकमध्ये सात भारतका, एक थाइल्यान्डका र चारजना नेपाली थिए । उहाँहरूको उमेर ४२ देखि ७५ वर्षसम्म रहेको प्रहरी नायब उपरीक्षक पाण्डेले बताउनुभयो ।
प्रहरी अभिलेखअनुसार उहाँहरूलाई मार्फा, मेसोकान्दो हिमाल, मुक्तिनाथ मन्दिर परिसर, घरपझोङ, एयरपोर्ट, यारालगायत स्थानमा लेक लागेको थियो ।
प्रहरीका अनुसार चालु आवको चैतसम्म लेक लागेरै ११ जनाको मृत्यु भइसकेको छ । असोजमा तीन, फागुनमा दुई र चैतमा छ जनाको मृत्यु भएको प्रनाउ पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार मृतकमध्ये पाँच महिला र छ जना पुरुष रहेका छन् । उहाँहरु ३५ देखि ८३ वर्षसम्मको उमेर रहेका छन् । मृतकमध्ये एक युक्रेनी, तीन नेपाली र आठजना भारतीय रहेका छन् । उहाँहरूलाई थासाङ, झोङ, लेते, मार्फा, मुक्तिनाथ, जोमसोम, टुकुचे लगायत स्थानमा लेक लागेको जनाइएको छ ।
गत चैतमा मात्र छ जना तीर्थयात्रु-पर्यटकको मुस्ताङमा लेक लागेर ज्यान गएको छ । अभिलेख अनुसार गत वर्ष मुस्ताङ भ्रमण तथा मुक्तिनाथ दर्शन गर्न आएका १२ जनाको लेक लागेर मृत्यु भएको थियो । मुस्ताङ जाने पर्यटकले भोग्ने मुख्य समस्या लेक लाग्नु अर्थात् शरीरमा अक्सिजनको कमी हुनु हो । पछिल्ला तीन वर्षका तथ्याङ्कले मुस्ताङ भ्रमणका लागि मुख्य चुनौती भनेको लेक लाग्नु देखाएको छ ।
दुई हजार पाँच सय मिटर वा सो भन्दा माथिको उचाइमा पुग्दा शरीरमा अक्सिजनको मात्रा कम हुने अवस्थालाई लेक लाग्नु भनिन्छ । लेक लाग्दा टाउको दुख्ने, वाकवाक लाग्ने, बान्ता हुने, श्वासप्रश्वासमा गाह्रो हुने, निद्रा नलाग्ने, खाना रुचि नहुने, थकाइ लाग्ने, कमजोरी महसुस हुने, कमजोरी हुने लगायत सामान्य लक्षण अनुभव हुने चिकित्सकहरू बताउँछन् ।
मध्यम अवस्थामा फोक्सोमा पानी जम्न थाल्ने, सास फेर्न गाह्रो हुने, आराम गर्दा पनि स्याँ–स्याँ हुने, खोकी लाग्ने, खकारमा रगत देखिने छाती भारी हुनेलगायत लक्षण देखिन्छन् भने त्यसपछिको अवस्थामा मस्तिष्कमा पानी जम्ने, टाउको दुख्ने, रिङ्गटा लाग्ने, बेहोस हुने, कुराहरू बिर्सिने, पिसाब कम हुने लगायत लक्षण देखिने गरेका छन् ।
वैशाख २९ देखि दोस्रो अल्फा विटा ओपन बास्केटबल हुने
धरान बास्केटबल संघको आयोजना तथा धरान उपमहानगरपालिकाको संयोजनमा दोस्रो अल्फा बिटा ओपन महिला पुरुष बास्केटबल प्रतियोगिता हुने भएको छ सुनसरी बास्केटबल संघको प्राविधिक सहयोगमा यही वैशाख २९ गते देखि सुरु हुन लागेको प्रतियोगितामा पुरुष तर्फ १२ र महिला तर्फ ८ टिमले सहभागिता जनाउने मङ्गलवार पत्रकार सम्मेलनको आयोजना गरि आयोजकले जानकारी गराए ।
प्रतियोगितामा पुरुष तर्फका विजेताले नगद ५० हजार, उपविजेताले नगद २५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । महिला तर्फका विजेताले नगद २० हजार र उपविजेताले नगद १० हजार ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यसै गरि व्यक्तिगत विद्या तर्फ प्रतियोगिताको मस्ट भ्यालुएवल प्लेयर उपाधि विजेताले पुरुष तर्फ नगद १० हजार र महिला तर्फ नगद ५ हजार, ट्रफि, प्रमाणपत्र र अल्फा बिटा निःशुल्क छात्रवृत प्राप्त गर्नेछ ।
प्रतियोगिताको राइजिङ प्लेयरको पुरुष तर्फका उपाधि विजेताले नगद ५ हजार र महिला तर्फका विजेताले नगद २ हजार ५ सय रुपैयाँ, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल म्याच अघि प्रकाश पौडेल थी्र पोइन्ट कम्पिटिसन हुने भएको छ । खेलाडीहरूको हौसला बढाउन पूर्व बास्केटबल खेलाडी तथा चर्चित गायक प्रकाश पौडेलको प्रायोजनमा थी्र पइन्ट कम्पिटिसन हुन लागेका हुन ।
थी्र पइन्ट कम्पिटिसनका महिला र पुरुष विजेताले जनही ५ हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको सम्पूर्ण खेल धरान १६ स्थित धरान रङ्गशाला इन्डोर बास्केटबल कोर्टमा सम्पन्न हुनेछ । प्रतियोगितामा धरान, भापा, मोरङ, इलाम, उदयपुर, धनकुटा लगायत जिल्ला वाट सहभागिता जनाउने छ । प्रतियोगितामा धरान २ स्थित अल्फा बिटा कोयला एजुकेशन कन्सलटेन्ट मुख्य प्रायोजकको रूपमा रहेको छ । अल्फा बिटाले स्वदेशी तथा वैदेशिक अध्ययनका लागि परामर्श गर्नुका साथै अध्ययनका लागि तयारी कक्षा सञ्चालन गर्दछ ।
सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुवेदिको अध्यक्षतामा अल्फा बिटाको सभा हलमा सम्पन्न पत्रकार सम्मेलनमा नेपाल बास्केटबल संघका केन्द्रीय सदस्य रोशन राई, सुनसरी बास्केटवलका उपाध्यक्ष तथा धरान १० न. वडाका वडाध्यक्ष विवेक राई, अल्फा बिटाका प्रोप्राइटर सन्जिव बान्तावा, अग्रज पत्रकार हर्ष सुब्बा लगायतको उपस्थिति रहेको थियो ।
आज चार प्रदेशमा वर्षा र हावाहुरीको सम्भावना
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार अहिले नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ ।
गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखी मौसम मुख्यतया सफा रहने छ ।
कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागको थोरै स्थानहरू र बाँकी पहाडी भू–भागको एक– दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मध्यान्न पछि हावा हुरीको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
आज राति भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ। कर्णाली प्रदेशको पहाडी भू–भागको थोरै स्थानमा र कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागको एक दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
इलाममा साना सिँचाइ कार्यक्रम
इलाम, जिल्लाको माइजोगमाई गाउँपालिकामा खेतीयोग्य जमिनमा सिँचाइ पु¥याउने उद्देश्यले सञ्चालित ‘साना सिँचाइ कार्यक्रम’ ले पूर्वाधार निर्माणको कामलाई तीव्रता दिएको छ । माईजोगमाईका किसानलाई सिँचाइ सुविधा पु¥याउने उद्देश्य सहित सञ्चालित कार्यक्रम अन्तर्गत एकै पटक छ वटा सिँचाइ आयोजना सुरु भएको हो । चालु आर्थिक वर्षमा सम्पन्न हुने गरी रु तीन करोड ८३ लाख १५ हजार छ सय साठीको लागतमा छ वटा सिँचाइ आयोजनाको काम धमाधम भइरहेको साना सिँचाइ कार्यक्रम वरिष्ठ प्राविधिक मन्दिल राईले जानकारी दिए । उनका अनुसार ड्याम र पक्की कुलो धमाधम निर्माण भइरहेको छ ।
माइजोगमाई गाउँपालिकामा सञ्चालित साना सिँचाइ कार्यक्रम अन्तर्गत वडा नं १ मा दुईवटा, वडा नं २ मा एउटा र वडा नं ५ मा तीनवटा सिँचाइ योजना निर्माण भइरहेका छन् । वडा नं १ स्थित लप्सीबोटे फलाटे गाउँमा रु ८९ लाख ९७ हजारको लागतमा ६३ घरका किसान लाभान्वित हुने गरी लक्ष्मीखोलाबाट लप्सीबोटे फलाटेगाउँ सिँचाइ कुलो निर्माणाधीन छ । त्यस्तै सोही वडाको ठूलोबेँसीमा रु ४२ लाख ७८ हजार तीन सय ४३ को लागतमा २६ घरधुरीका किसान प्रत्यक्ष लाभान्वित हुने गरी हिलेखोलाबाट ठूलोबेँसी सिँचाइ कुलो निर्माण भइरहेको छ । वडा नं २ को राईगाउँ–लाप्चागाउँ–निगालेगाउँमा रु ५० लाख ५५ हजार आठ सय ८३ को लागतमा ५८ घरका किसान लाभान्वित हुने गरी बजूर खोलाबाट सिँचाइ कुलो निर्माण सुरु भएको छ । वडा नं ५ को साठीमुरे बेँसीमा रु ३९ लाख ५८ हजार तीन सय ६६ को लागतमा २६ परिवार लाभान्वित हुनेगरी ठोट्नी खोलाबाट र काफ्ले टोलमा रु ८२ लाख ६४ हजार दुई सय ८२ को लागतमा ३७ घरधुरीका किसान प्रत्यक्ष लाभान्वित हुने गरी सिँचाइ कुलो निर्माणाधीन छ । यसैगरी, रु ७७ लाख ६१ हजार सात सय ७७ को लागतमा एक सय ४८ किसान प्रत्यक्ष लाभान्वित हुने गरी सोही वडाको भुट्टेखोला थापा चावा खोला सिँचाइ कुलो निर्माणको काम तीव्र पारिएको प्राविधिक राईले बताए ।
आयोजना सम्पन्न भएपछि माईजोगमाईका तीन वटा वडामा बाह्रमास पानी पुग्नेछ । आयोजनाले तीन सय ५८ किसानका तीन हजार तीन सय साठी रोपनी क्षेत्रमा सिँचाइ पुग्ने बताए । “वर्षौँ देखि परम्परागत कुलोबाट सिँचाइ गरिरहेका माइजोगमाईका किसान सिँचाइ आयोजना सुरु भएपछि उत्साहित भएका छन्, आयोजना सम्पन्न भएपछि यहाँका तीन हजार तीन सय साठी रोपनी क्षेत्रमा सिँचाइ सुविधा पुग्नेछ बताए । साना सिँचाइ आयोजनामा स्वीस सरकारको रु एक करोड १४ लाख ९४ हजार छ सय ९८, सङ्घीय सरकार, प्रदेश सरकार र माइजोगमाई गाउँपालिकाको रु ७६ लाख ६३ हजार एक सय ३२ का र स्थानीय उपभोक्ताको रु ३८ लाख ३१ हजार पाँच सय ६६ लागत साझेदारी छ । यस अघि माइजोगमाई गाउँपालिकामा रु चार करोड ७० लाख ८२ हजार आठ सय २५ को लागतमा नौवटा सिँचाइ कुलो निर्माण भएका छन् । ति कुलोबाट चार सय आठ हजार नौ सय ४० रोपनी जमिनमा सिँचाइ सुविधा पुगेको छ ।
इलाममा आजदेखि अन्तु पर्यटन महोत्सव
इलाम, अन्तुलाई पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यले सूर्योदय नगरपालिका–४ स्थित अन्तुमा आजदेखि ‘अन्तु पर्यटन महोत्सव’ आयोजना हुँदैछ । सूर्योदय नगरपालिकाको आयोजनामा दुई दिने पर्यटन महोत्सव आयोजना गर्न लागिएको आयोजक समिति संयोजक तथा नगरका उपप्रमुख दुर्गा कुमार बरालले बताए । उपप्रमुख बरालका अनुसार महोत्सवको पहिलो दिन आज ‘सूर्योदय आइडल’ को ‘ग्रान्ड फाइनल’, विभिन्न खाद्य परिकारका स्टल, दीपावली र साङ्गीतिक कार्यक्रम राखिएको छ । महोत्सवको दोस्रो दिन भोलि अन्तुडाँडाबाट सूर्योदय अवलोकन, शुभकामना आदानप्रदान, लोपोन्मुख लेप्चा जातिको वेशभूषा प्रदर्शन, विभिन्न जातजातिको सांस्कृतिक झाँकी प्रदर्शन, खाद्य परिकारका स्टल, ‘सूर्योदय आइडल’को विजेता घोषणा, पुरस्कार वितरण र साङ्गीतिक कार्यक्रमलगायत राखिएको बरालले जानकारी दिए ।
‘सूर्योदय आइडल’को ग्रान्ड फिनालेमा आठजना प्रतिस्पर्धीबाट विजेता छनोट गरिनेछ । महोत्सवमा कलाकार याम बराल, भूपेन्द्र राई, पूजन प्रधान, गणेश पराजुली, शोभा पराजुली, फुटी शेर्पालगायतको प्रस्तुति रहनेछ । महोत्सवका अवसरमा नगरपालिकाले लागुपदार्थ दुर्व्यसनी, मदिरा तथा सुर्तीजन्य वस्तुको नियन्त्रण तथा व्यवस्थापन सम्बन्धी सन्देशमूलक कार्यक्रम राखेको बरालले जानकारी दिए । “पर्यटकीय नगरी सूर्योदयलाई सर्वकालीन पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको छ”, उपप्रमुख बरालले भने “यसले अन्तुको मात्र नभई समग्र जिल्लाको पर्यटन विकासमा टेवा पुर्याउने अपेक्षा छ ।” महोत्सवमा आउने पर्यटकका लागि अन्तुमा रहेका ६६ वटा घरबास (होमस्टे), निजी ढङ्गले चलेका होटेल र कटेजमा गरी पाँच हजार जनाले रात बिताउन सक्नेगरी व्यवस्थापन गरिएको संयोजक बरालले बताए ।
महोत्सव अवधिभर १० हजार पर्यटक भित्रिने अपेक्षा गरिएको उनको भनाइ छ । महोत्सव आयोजना गर्न रु १० लाख खर्च हुने आयोजकको अनुमान छ । अन्तु पुग्ने पर्यटकले अन्तुडाँडाबाट सूर्योदयको दृश्यावलोकन, विभिन्न हिमशृङ्खलाको दृश्यावलोकन, अन्तुपोखरीमा डुङ्गा सयर, हरियाली चियाबारी र सल्लाघारीको आनन्द लिएर फर्कने गरेका छन् । यसका साथै चियाबगान बीचमा बनाइएका कटेज तथा होमस्टे, स्थानीय स्रोत साधनको प्रयोग गरी थुम्का-थुम्कामा बनाइएका घर, विभिन्न जातजातिको कला–संस्कृति समेत पर्यटकका रोजाइ बन्ने गरेका छन् ।
पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु
भोजपुर, चैत २९ I भोजपुरको आमचौक गाउँपालिका- १० स्थित दुधकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु भएको छ । हिजो दिउँसो १ बजे आमचोक- ६ देवानटारका २० बर्षीय सुदिप दर्जी र १८ बर्षीय अजय राईको दुधकोशी नदीमा पौडी खेल्ने क्रममा डुबी मृत्यु भएको भन्ने खवर प्राप्त भएसगै घटनास्थलमा इलाका प्रहरी कार्यालय घोडेटारबाट प्रहरीको टोली खटिगई सम्पुर्ण कानुनि प्रकृया पश्चात शवलाई पोष्टमाटमको लागि धरान घोपा पठाईएको र घटना सम्बन्धमा थप अनुनस्धान भईरहेको प्रहरीले जनाएको छ ।
अपाङ्गताले छेकेन सफलतालाई
खोटाङ , दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका – ११ खार्मीका ३० वर्षीय भक्तबहादुर विश्वकर्मा दृष्टिविहीन छन् । दिक्तेल बहुमुखी क्याम्पस दिक्तेलमा इपिएम (एजुकेसन म्यानेजमेन्ट प्लान) मा स्नातकोत्तर अध्ययनरत विश्वकर्मा शिक्षक सेवा आयोगले लिएको प्राथमिक तह तृतीय श्रेणीको परीक्षामा खुला, दलित र अपाङ्ग गरी तीनवटा समूहमा नाम निकाल्न सफल भएका छन् ।
पहिलोपटक शिक्षक सेवा आयोगको परीक्षा दिनुभएका विश्वकर्माले शिक्षा विकास तथा समन्वय एकाइबाट मङ्गलबार नियुक्तिपत्र समेत बुझिसकेका छन् । आठ वर्षको उमेरमा आँखाको ज्योति गुमाएका विश्वकर्मा स्थायी शिक्षकमा नाम निकालेर नगरपालिकामा सिफारिस भएका छन । कक्षा १० मा अध्ययनरत नवराज भट्टराईलाई लेखक सहयोगी राखेर परीक्षा दिएका विश्वकर्मा दोस्रो पेपरमा एक सय १० जनाले परीक्षा दिएकामा ७८ जना उत्तीर्ण हुँदा ४९औँ नं मा नाम निकालेका थिए । अरूले पढेर सुनाएको भरमा शिक्षा सेवा आयोगको परीक्षा उत्तीर्ण गरेका दिक्तेल स्थित सुर्केडाँडा आधारभूत विद्यालय बाम्राङमा सिफारिस हुने निश्चित भएको छ ।
विसं २०६९ मा आफ्नै गाउँ खार्मी स्थित कालिका माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेका विश्वकर्मा दुई वर्ष अघि देखि दिक्तेल इङ्ग्लिस बोर्डिङ स्कूल दिक्तेलमा सङ्गीत शिक्षकका रुपमा कार्यरत छन् । विसं २०६५-६६ र ०६७ सालसम्म तीन वर्ष श्री सङ्गीत पाठशाला डिल्लीबजार काठमाडौँमा बसेर सङ्गीत सिकेका अहिले साइनो कला केन्द्र, खोटाङका अध्यक्ष छन् । विसं २०७१ देखि सङ्गीतमा लाग्नुभएका विश्वकर्माका छवटा गीत रेकर्ड पनि भएका छन् । गीतसङ्गीतसँगै अध्ययनलाई समेत निरन्तरता दिँदै आएका विश्वकर्मा दृष्टिविहीन भएर पनि शिक्षक सेवा आयोगको परीक्षा उत्तीर्ण गरेर स्थायी शिक्षक हुनुले धेरैका लागि प्रेरणाका स्रोत बनेका छन ।
कक्षा–८ मा अध्ययन गर्दै गर्दा वैवाहिक जीवनमा बाँधिनुभएका विश्वकर्माको श्रीमती सहित एक छोरा र एक छोरी छन् । वाद्यवादनमा समेत उत्तिकै दखल राख्ने विश्वकर्माले साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाकी वेदना राईसँग १२ वर्षअघि अन्तरजातीय विवाह गरे थिए । आँखामा दृष्टि नभए पनि व्याख्यान, प्रश्नोत्तर र छलफल विधिबाट कक्षा शिक्षण गर्ने विश्वकर्माले बताए । “घरमा पूर्वतयारी गरेर कक्षामा प्रवेश गर्छु । कक्षामा विद्यार्थीलाई पाठ वाचन गर्न लगाएर पनि सिकाउने छु”, उनले भने “मसँग ट्युसन पढाएको अनुभव पनि छ । जस्तै बोटबिरुवाको विषयमा पढाउने हो भने बोटबिरुवा लगेर जरा, काण्ड, पात, फूललगायत देखाएर पढाउन सकिन्छ ।” विश्वकर्मा आठ वर्षको उमेर हुँदा टाउकोमा आएको पिलोका कारण दृष्टिविहीन भएको पारिवारिक स्रोतले बताएको छ । स्वास्थ्यचौकी बाक्सिलामा गएर पिलो फुटाउने क्रममा आँखाको नसा बिग्रेका कारण आफूले ज्योति गुमाएको विश्वकर्माको भनाइ छ ।
उता, केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरका दृष्टिविहीन उमेश राई र उनकी श्रीमती सूर्यमायाँ लिम्बूले पनि विश्वकर्मासँगै स्थायी शिक्षकमा नाम निकालेका छन् । उनीहरु दुवैजनाले शिक्षा विकास तथा समन्वय इकाइको कार्यालय खोटाङबाट सोमबार नियुक्तिपत्र बुझेका छन् । जन्मजात दृष्टिविहीन राई दम्पतीले मङ्गलबार केपिलासगढी गाउँपालिकाबाट पदस्थापना पत्रसमेत लिइसके छन । राई केपिलासगढी गाउँपालिका–२ खार्ताम्छास्थित शुक्रजित मावि र लिम्बू केपिलासगढी गाउँपालिका–३ बास्पानीको मनोकामना आधारभूत विद्यालयमा सिफारिस भएका छन् । स्थायी शिक्षकमा नाम निकाल्न सफल दृष्टिविहीन राई दम्पती दुवैजनाले सहयोगी राखेर परीक्षा दिएका थिए । राई एक वर्षदेखि भगवती मावि बेलबारीमा मावि राहतमा शिक्षकमा कार्यरत थिए ।
सार्कलाई निरन्तर सहयोग गर्ने महासचिव गुटेरेसले प्रतिबद्धता व्यक्त
सार्कलाई निरन्तर सहयोग गर्ने महासचिव गुटेरेसले प्रतिबद्धता व्यक्त गरे काठमाडौँ, संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहेका दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का महासचिव गोलाम सरवारले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टिनियो गुटेरेससँग राष्ट्रसङ्घीय मुख्यालय न्युयोर्कमा शिष्टाचार भेट गरेका छन् । सार्कका महासचिव लाई आफ्नो कार्यकक्षमा स्वागत गर्दै महासचिव गुटेरेसले विश्व जनसङ्ख्याको ठूलो हिस्सा ओगटेको सार्क क्षेत्रसँग संयुक्त राष्ट्रसङ्घले सहकार्य गर्न चाहेको बताए । उनले सार्कसँग साझेदारी गर्न आफू तयार रहेको बताउँदै निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । सार्क सचिवालयका अनुसार महासचिव सरवारले राष्ट्रसङ्घबाट सार्कलाई निरन्तर सहयोग एवं समर्थन प्रति प्राप्त भएकामा कृतज्ञता व्यक्त गरेका थिए ।
सार्क संयुक्त राष्ट्रसङ्घको पर्यवेक्षक संस्था हो । सन् २००४ मा राष्ट्रसङ्घले सार्कलाई उक्त दर्जा प्रदान गरेको हो । राष्ट्रसङ्घका महासचिव गुटेरेससँगको भेटमा महासचिव सरवारले दुवै संस्था बिच सम्बन्ध विस्तारका साथै जलवायु परिवर्तन, खाद्य सुरक्षा, नवीकरणीय ऊर्जाका क्षेत्रमा सहयोग बढाउने बारेमा छलफल गरेका सार्क सचिवालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । सार्कले राष्ट्रसङ्घीय विकास कार्यक्रम, खाद्य सङ्गठन, शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को), स्वास्थ्य सङ्गठन, जनसङ्ख्या कोषलगायत १२ वटा राष्ट्रसङ्घीय निकायसँग समझदारी पत्रमा हस्ताक्षर गरेको जानकारी दिँदै महासचिव सरवारले बदलिँदो परिवेशमा ती निकायसँग गरिएका समझदारीलाई अद्यावधिक गर्न आवश्यक भएको बताए ।
राष्ट्रसङ्घ र सार्कबिचको साझेदारीलाई परियोजनामा आधारित गराउन काठमाडौँस्थित सार्क सचिवालयमा राष्ट्रसङ्घ र सार्कले संयुक्त बैठक गर्नुपर्नेमा जोड दिए । उनले पारस्परिक सहयोगका नयाँ परियोजना पहिचान गर्नुपर्ने बताए । उनले सचिवालयका पदाधिकारीलाई क्षमता अभिवृद्धिलगायत अवसरको व्यवस्थाका लागि महासचिव गुटेरेससँग अनुरोध पनि गरेका छन । महासचिव गुटेरेसले सार्क महासचिवको प्रस्तावको स्वागत गर्दै राष्ट्रसङ्घ र सार्कबिचको सहकार्य अभिवृद्धिमा जोड दिए । सार्कसँगको क्षेत्रगत साझेदारीका लागि उनले सम्बद्ध निकायका अधिकारीलाई सार्क सचिवालयका पदाधिकारीसँग तत्काल सम्पर्क एवं समन्वय गर्न निर्देशन दिए । साथै उनले दुई संस्था बिचको विद्यमान सम्बन्धलाई अझ सुदृढ बनाउन र निकट सम्पर्कमा रहेर काम गर्दै सार्कलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे
एक करोडको लागतमा प्रसूति सेवा भवन निर्माण
भोजपुरको षडानन्द नगरपालिका–९ किमालुङमा सुविधा सम्पन्न प्रसूति सेवा भवन निर्माण भएको छ । जिल्लाको विकट यो गाउँमा रु एक करोड लागतमा भवन निर्माण गरिएको हो । भवन निर्माण सँगै सुत्केरी गराउन तथा स्वास्थ्य सेवा लिन छिमेकी जिल्ला सङ्खुवासभा जानुपर्ने बाध्यताको अन्त्य भएको छ । भवनमा आवश्यक उपकरण पनि जडान गरिएको छ ।
अब स्वास्थ्य सेवा लिन सहज भएको स्थानी वीरबहादुर तामाङले बताए । “ यो दुर्गम ठाउँमा सुविधासम्पन्न स्वास्थ्य भवन बनेको छ, सेवा लिन सङ्खुवासभा जानुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य भएको छ । अब राज्यले आवश्यक जनशक्ति व्यवस्थापनमा ध्यान दिन आवश्यक रहेको पनि बताए । यो भवनबाट षडानन्द नगरपालिका वडा नं १०, ९, ८ र ३ का स्थानीयलाई प्रत्यक्ष लाभ पुग्ने वडाध्यक्ष निमा शेर्पाले बताउनुभयो ।
नेपाल हेल्पिङ एजुकेशन फाउण्डेसन अफ नेपालको अनुदानमा रु एक करोड लागतमा केन्द्र स्थापना गरिएको हो । भवन निर्माणमा जर्मनीका दुई र स्वीटजरल्याण्डको एउटा संस्थाको सहयोग रहेको उनले जानकारी दिए । नवनिर्मित सात कोठाको भवनमा आवश्यक सम्पूर्ण आधुनिक उपकरण जडान गरिएको फाउण्डेसनका प्रबन्धक रामकुमार तामाङले बताए । “करिब रु एक करोड लागतमा भवनसँगै आवश्यक उपकरण जडान गरेका छौँ, यहाँ आवश्यक पर्ने जनशक्ति षडानन्द नगरपालिकाले व्यवस्थापन गर्ने सम्झौता गरेका छौँ ।
यहाँ शल्यक्रिया गरेर सुत्केरी गराउन सक्ने उपकरण जडान गरिएको छ । यससँगै अन्य स्वास्थ्य सेवा पनि प्रवाह गर्न सकिने उनले भने । सम्झौता अनुसार जनशक्तिको व्यवस्थापन गरिने नगरपालिका प्रमुख सुरेन्द्रकुमार उदासले बताए । नवनिर्मित भवनलाई सरकारको स्वामित्वमा ल्याएर जनशक्ति व्यवस्थापनसँगै सञ्चालन गरिने उनले बताए । भवन निर्माण गर्न स्थानीय सुवास तामाङले निःशुल्क एक रोपनी जग्गा प्रदान गर्नुभएको हो । उहाँकै आमा पाक्तुरी मायाको नामबाट भवनको नामकरण गरिएको छ ।
कारले पैदल यात्रीलाई ठक्कर दिंदा पैदलयात्रीको मृत्यु
सुनसरी, चैत्र २८ । सुनसरीको ईटहरी उपमहानगरपालिका-२ हलगडा चोकमा मंगलवार साँझ कारले पैदल यात्रीलाई ठक्कर दिंदा पैदलयात्री भोजपुरका ५२ बर्षीय जय बहादुर राईको मृत्यु भएको छ । धरानबाट ईटहरी तर्फ आउँदै गरेको प्रदेश १-०२९ च. ९४५९ नम्बरको कारले अचानक ठक्कर दिंदा घाईते भएका भोजपुरको हतुवागढी गाउँपालिका-६ घर भई ईटहरी-२ हलगडामा बस्दै आएका राईको उपचारको क्रममा बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको तथा घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

