मङ्गलबार, ०९ असार २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01K6CHJ4ZAMEZ3KGY5Y5RDRA0A.jpg

कञ्चनपुरमा छाउपडी अन्त्य अभियान : दुई पालिकामा १५० छाउगोठ भत्काइयो

कञ्चनपुर । छाउपडी प्रथा अन्त्य गर्ने अभियानअन्तर्गत कञ्चनपुरका दुई पालिकामा हालसम्म १५० वटा छाउगोठ भत्काइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार बेदकोट नगरपालिकामा २३ र कृष्णपुर नगरपालिकामा १२७ छाउगोठ भत्काइएका हुन् । प्रहरी, महिला स्वास्थ्य स्वयंसेविका र स्थानीय पालिकाको संयुक्त पहलमा सो अभियान सञ्चालन गरिएको हो ।

कृष्णपुर–१ निगालीकी ३२ वर्षीया कमला आउजीको गत असार अन्तिम साता छाउगोठमै सर्पको टोकाइबाट ज्यान गएपछि पालिकाले तत्काल अभियान सुरु गरेको थियो । घटनापछि छाउगोठ नहटाउनेलाई रु १० हजार जरिवाना र कानुनी कारबाही गर्ने चेतावनीसमेत दिइएको थियो ।

नगर प्रमुख हेमराज ओझाले छाउगोठ भत्काउने अभियान अझै जारी रहने जानकारी दिए । ‘देशको विषम परिस्थिति कारण अभियान केही सुस्त मात्र भएको हो, दसैँ–तिहारपछि फेरि तीव्र पार्छौँ,’उनले भने । उनका अनुसार छाउपडी अन्त्यका लागि सचेतनामूलक कार्यक्रम पनि विद्यालय, महिला समूह र नागरिक समाजसँग सहकार्यमा निरन्तर सञ्चालन गरिनेछ ।

यद्यपि जिल्ला प्रशासन कार्यालयले जिल्लाका नौवटै पालिकालाई निर्देशन दिए पनि हालसम्म कृष्णपुर र बेदकोट नगरपालिकामा मात्र अभियान अगाडि बढाइएको छ । अन्य पालिकामा भने अझै पनि महिनावारी अवधिमा महिलालाई छाउगोठमै बस्ने प्रथा कायम छ ।

नेपालमा छाउपडी कानुनी रूपमा प्रतिबन्धित भए पनि ग्रामीण क्षेत्रमा परम्परा र अन्धविश्वासका कारण अझै यो प्रथा मौजुद रहेको छ । मुलुकी फौजदारी संहिता २०७४ को दफा १६८ अनुसार छाउपडी गराउनेलाई तीन महिना कैद वा रु तीन हजार जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।

प्रकाशित मितिः मङ्गलबार, १४ असोज २०८२
https://jawaaf.com/storage/01K6AEDRCV1B4NVQTJ8S20V2EP.jpeg

अनियमिततामा मुछिएका कार्यालय प्रमुख र लेखापाललाई जिम्मेवारीबाट हटाइयो

काठमाडौं । अनियमिततामा मुछिएका सवारी परीक्षण कार्यालय, इटहरीका प्रमुख र लेखापाल जिम्मेवारीबाट हटाइएका छन् ।
सेवाग्राहीसँग घूस माग्ने, मोलमोलाहिजा,अनावश्यक दुःख हैरानी दिनेलगायतका उजुरी परेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट आइतबार कार्यालय प्रमुख मेकानिकल इन्जिनियर रोशन कुमार देव र लेखापाल चन्द्र बहादुर बस्नेतलाई जिम्मेवारीबाट हटाएर मन्त्रालयमा तानिएको छ । कार्यालय प्रमुख देव र लेखापाल बस्नेतको मिलेमतोमा राजश्वसमेत हिनामिना भएको आशंका गरिएको छ ।

कार्यालयबाट दुई वा सोभन्दा बढी प्रदेश भई सञ्चालन हुने (अन्तर प्रादेशिक) सार्वजनिक सवारी साधनको बाटो इजाजतपत्र जारी गर्ने, सवारी साधनको स्तर कायम गर्ने, जाँचपास गर्ने, प्रदूषण परीक्षणलगायतका कार्य हुन्छन् ।

कार्यालय प्रमुख र लेखापालको मिलेमतोमा कार्यालयमा अनियमिता भइरहेको प्रमाणसहितको गुनासो सेवाग्राहीबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङसमक्ष गुनासो प्राप्त भएको थियो । त्यसपछि मन्त्री घिसिङले तत्कालै दुवै जनालाई जिम्मबारीबाट हटाउन र छानबिन समिति गठन गर्न निर्देशन दिएका थिए । 

मन्त्री घिसिङले उक्त कार्यालयमा भइरहेको अनियमितता र त्यसमा सङ्लग्न कार्यालय प्रमुख, लेखापाल एवम् अन्य कर्मचारीमाथि छानबिन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रशासन महाशाखा प्रमुख बलराम रिज्यालको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेका छन् । 
छानबिन समितिलाई १० कार्यदिनभित्र प्रतिवेदन बुझाउने समयसीमा दिइएको छ । समितिले आरोपित तथा अन्य कर्मचारीसँग बयान लिने, सेवाग्राहीसँग बुझ्ने, गरिएका निर्णयका कागजात अध्ययन/अनुसन्धान गर्ने,कारबाहीका लागि सिफारिस गर्नेलगायतका कार्यदेश दिइएको छ ।

प्रकाशित मितिः सोमबार, १३ असोज २०८२
https://jawaaf.com/storage/01K69QC4HEAS6XRSE78S8S7MJD.jpeg

आज घर घरमा फूलपाती भित्र्याइँदै

काठमाडौं । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा आजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याउने गरिन्छ ।

नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नववटी देवीको प्रतीकको रुपमा भित्र्याइ शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ पूजा गर्ने वैदिक विधि रहेको छ  ।

यस वर्षको फूलपाती सोमबार अपराह्न साँढे चार बजे भित्र्याइने कार्यक्रम छ । आश्विन शुक्ल प्रतिपदाका दिनमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखेपछि सुरु हुने नेपालीको महान् चाड दशैँ अर्थात् दुर्गापूजाको सामाजिक चहलपहल भने आजैका दिनदेखि बढ्ने गर्दछ ।

प्रकाशित मितिः सोमबार, १३ असोज २०८२
https://jawaaf.com/storage/01K69PZB15DZQG0M6GHNAWJSZM.jpeg

राहदानी रोक्का सिफारिसप्रति एमालेको आपत्ति

काठमाडौं । भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगले नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताहरुको राहदानी रोक्का गर्न सिफारिस गरेकोप्रति एमाले पार्टीले तीव्र आपत्ति जनाएको छ ।

एमाले केन्द्रीय सचिवालयले आइतबार वक्तव्य जारी गर्दै उक्त सिफारिसलाई राजनीतिक प्रतिशोधको रूपमा टिप्पणी गरेको छ । दशैंको मौका छोपेर र गृह मन्त्रालयमार्फत मिडिया ट्रायल गरेर आयोगले सिफारिस गरेको भन्दै सचिवालयले गंभीर आपत्ति जनाएको छ । सचिवालयले भनेको छ, ‘यस्ता प्रतिशोधपूर्ण निर्णयले आयोगको विश्वसनीयतामाथि समेत गम्भीर प्रश्न खडा गरेको छ ।’

यससँगै पार्टीले गृह मन्त्रालयद्वारा नेपाल प्रहरीलाई दिएको एउटा निर्देशनप्रति पनि आपत्ति जनाएको छ । भदौ २४ गतेको विध्वंसात्मक घटनामा संलग्न दोषीहरूमाथि कारबाही नगर्न निर्देशन दिएकोप्रति सचिवालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । यस्तो निर्देशनले प्रहरीको स्वतन्त्र अनुसन्धानमा हस्तक्षेप गर्नुका साथै अपराधीहरूलाई उन्मुक्ति दिने प्रयास गरिएको सचिवालयको ठहर छ ।

‘यसले अपराध अनुसन्धान गर्ने प्रहरीको कानुनी अधिकारमाथि हस्तक्षेप मात्र गरेको छैन, अपराधीहरूको मनोबल बढाउने र उन्मुक्ति दिने आपत्तिजनक मनसाय बोकेको छ,’ सचिवालयले जनाएको छ।

यसैबीच, पछिल्लो राजनीतिक तथा सुरक्षासम्बन्धी घटनाक्रमबारे छलफल गर्न एमालेले केन्द्रीय समिति बैठक बोलाएको छ । दशौँ केन्द्रीय समिति बैठक आगामी असोज २७ देखि २९ गतेसम्म काठमाडौंमा बस्ने भएको छ । सो बैठकअघि केन्द्रीय सचिवालयको अर्को बैठक असोज १९ र २० गते बस्ने तय भएको पार्टीले जनाएको छ ।

प्रकाशित मितिः सोमबार, १३ असोज २०८२
https://jawaaf.com/storage/01K68CB16RZC2TPY9ATQ8MRHNK.jpeg

धरानको खसीबोका बजारमा व्यापारीको भीड, किसानलाई राम्रो आम्दानीको आशा

धरान (सुनसरी) । चाडपर्व सुरु भएसँगै धरान उपमहानगरपालिका-१३ स्थित कृषि उपज बजारमा खसीबोकाको किनबेच बढेको छ । प्रत्येक साताको बिहीबार र शुक्रबार सञ्चालन हुने यस बजारमा देशका विभिन्न पहाडी र तराई क्षेत्रबाट किसान र व्यापारीले खसीबोका बिक्रीका लागि ल्याउने गर्दछन् । 

सङ्खुवासभाका श्यामबहादुर बस्नेत विगत १८ वर्षदेखि पशुपालन व्यवसायमा सक्रिय हुनुहुन्छ । उहाँले भन्नुभयो, “चाडपर्व सुरु हुँदा प्रत्येक वर्ष धरानको कृषि बजारमा आउने गरेको छु । यो पटक १५ वटा खसीबोका ल्याएको छु, अहिलेसम्म एउटा मात्रै बिक्री भएको छ, बाँकी बेच्नुपर्ने छ ।”

धनकुटाको सागुरीगढी गाउँपालिका-७ की ममता राईले पनि धरानको बजारमा नियमित रूपमा खसीबोका बिक्री गर्दै आउनुभएको छ । “पशुपालन हाम्रो पुख्र्यौली पेसा हो, गाउँमा घाँस पाइन्छ, अन्न र दाना किन्नुपरे पनि व्यापारमा नोक्सानी हुँदैन”, उहाँले भन्नुभयो । उहाँका अनुसार वार्षिक रूपमा खसीबोका बिक्री गरेर रु नौ लाखभन्दा बढी आम्दानी हुने गरेको छ ।

सुनसरीको दुहबी नगरपालिका-५ का व्यापारी नैसात मियाँ हरेक हप्ता बिहीबार र शुक्रबार धरानबाट खसीबोका खरिद गर्दै आउनुभएको छ । उहाँले एक दिनमा १०० देखि एक सय ५० वटासम्म खसीबोका किनेर झुम्का, इटहरी, विराटनगर, लहान, जनकपुरलगायत स्थानमा बिक्रीका लागि पठाउन गरेको  जानकारी दिनुभयो । “यो व्यवसाय गरेको ३१ वर्ष भयो, अहिले मासिक रु ८० हजारदेखि रु एक लाखसम्म नाफा हुन्छ”, उहाँले भन्नुभयो,

धरान कृषि उपज बजार व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण भट्टराईका अनुसार हरेक हप्ता दुई दिन सञ्चालन हुने यस बजारमा दैनिक करिब चार हजार ५०० वटा खसीबोका बिक्री हुने गरेको छ । गत आर्थिक वर्ष २०८१-८२ मा मात्रै एक लाख २० हजारभन्दा बढी खसीबोका बिक्री हुँदा करिब रु दुई अर्ब ४० करोड बराबरको कारोबार भएको उहाँले जानकारी दिनुभयो । 

प्रत्येक वर्षको भदौदेखि अत्यधिक खसीबोका कारोबार हुने जनाउँदै अध्यक्ष भट्टराईले यो वर्षको भदौमा भने कारोबार कम भएको बताउनुभयो । “साउनमा लगातार वर्षा हुँदा ढुवानीमा समस्या भयो । भदौमा जेनजी प्रदर्शनका कारण व्यापारमा डर सिर्जना भयो र यातायात अवरुद्ध हुँदा गत वर्षको तुलनामा यस वर्ष खसीबोका किनबेचमा कमी आएको हो”, उहाँले भन्नुभयो ।

धरानको कृषि बजारमा धनकुटा, सङ्खुवासभा, पाँचथर, भोजपुर, तेह्रथुमलगायत पहाडी जिल्ला तथा इटहरी, कानेपोखरी, इनरुवा, झुम्का, बेलबारीलगायत तराई क्षेत्रबाट व्यापारी तथा किसान खसीबोका बिक्रीका लागि आउने गरेका छन् । 

यहाँबाट बिक्री भएका खसीबोका मुलुकका प्रमुख सहर हुँदै भारतसम्म पनि निर्यात हुने गरेको धरान कृषि उपज बजार व्यवस्थापन समितिका अध्यक्ष भट्टराईले जानकारी दिनुभयो ।

प्रकाशित मितिः आइतबार, १२ असोज २०८२
https://jawaaf.com/storage/01K685CRBGW01SP72JKGBXJR9D.jpeg

चीनमा ऊँटको दूध अर्थात ‘सेतो सुन’ : अर्थतन्त्रका लागि गतिलो आधार

एजेन्सी । चीनमा उँटको दूध उत्पादनले आर्थिक विकासमा टेवा पुर्याइरहेको छ । शताब्दी पूरानो ऊँटको दूध उत्पादनले आर्थिक रुपान्तरणमा ठूलो फाइदा समेत पुगेको चीनियाँ अधिकारीहरुले बताएका छन् ।
चीनको सिनजियाङको अल्तेमा यो व्यावसायमा करिब पाँच परिवार आश्रित छन् । वाङ किआओका अनुसार गोठालाहरूका लागि, यस्तो आर्थिक क्रान्ति हरेक बिहान सूर्योदयमा दूध निकाल्ने सरल, महत्त्वपूर्ण कार्यबाट सुरु हुने गरेको छ ।
स्थानीयहरूले सयौं वर्षदेखि ऊँट र गाईवस्तु पाल्दै आएका छन् । स्थानीय गोठाला बहात्यनुर्ल बिकान भन्छन्,‘हाम्रो परिवारले पहिले गाईवस्तु पाल्थ्यो। २०११ ऊँट पाल्न थाल्यौं। पहिलो वर्ष हाम्रो आम्दानी एक लाख युआनभन्दा बढी थियो । एक दशकभन्दा बढीको कडा परिश्रमपछि, वार्षिक आम्दानी लगभग दस देखि बीस लाख युआन छ ।’
यो नाटकीय परिवर्तन कसरी भयो भन्ने प्रश्नको उत्तर पनि सहज छ–परम्परा र प्रविधिको मिश्रणले यस्तो भएको हो । स्थानीय ऊँटको दूध कम्पनीहरूले शुद्धता र दक्षता सुनिश्चित गर्न गोठालाहरूलाई दूध निकाल्ने मेसिनहरू प्रदान गरेका छन् ।
‘पहिले सबै हातले दुध दुहुन्थ्यो। अब, स्थानीय ऊँटको दूध कम्पनीले हामीलाई दुहुन मेसिनहरू दिएको छ। यसले समय र प्रयास बचत गर्छ, र प्रदूषण रोक्छ,’ एक गोठालाले भने ।
गोठाला बिकानको परिवारले स्थानीय कारखानालाई हरेक महिना लगभग ४०० किलोग्राम ऊँटको दूध आपूर्ति गर्छ । 
वाङ युआन बायोटेक्नोलोजी समूहका निर्देशक फ्यान जिन भन्छन्,‘हाम्रा सङ्कलकहरूले दैनिक गोठालाहरूलाई भेट्छन् । त्यहाँ ताजापन, मिसावट र रोगजनकहरूको परीक्षण गर्छौं। त्यसपछि, दूध हाम्रो प्लान्टमा १२८ वस्तुहरूको विस्तृत निरीक्षणको लागि जान्छ। यी परीक्षणहरू पछि मात्र यो उत्पादन लाइनमा पुग्न सक्छ ।’
चीनको फुहाई काउन्टीमा मात्र ३६,००० भन्दा बढी ऊँटहरू छन् । १,००० भन्दा बढी गोठाला घरपरिवारहरूले ठूलो मेहेनत गरिरहेका छन् ।
तीमध्ये २५७ परिवारको वार्षिक आम्दानी १० लाख युआनभन्दा बढी छ, जुन १४०,००० डलरभन्दा बढी हो । सबैभन्दा बढी कमाउनेहरू ३.६५ मिलियन युआन पुगेका छन्, जुन ५१३,००० डलरभन्दा बढी हो । 
ऊँटको दूध उक्त क्षेत्रको सेतो सुन हो। यसले प्राचीन चरन क्षेत्रदेखि विश्वव्यापी अर्थतन्त्रसम्म पुल निर्माण गरेको छ। (सीसीटीभीप्लस)

प्रकाशित मितिः आइतबार, १२ असोज २०८२
https://jawaaf.com/storage/01K65ZR77391Y0R2FAT5R6NNA9.jpeg

‘खोटाङ–सुनसरी एकता समाज’को नेतृत्वमा मणि चाम्लिङ राई, तदर्थ समिति गठन

धरान, सुनसरी । खोटाङमा जन्मिएर सुनसरीका विभिन्न स्थानहरूमा बसोबास गर्दै आएका खोटाङेलीहरूद्वारा स्थापित ‘खोटाङ–सुनसरी एकता समाज’ ले आज एक विशेष भेलामार्फत नयाँ तदर्थ समिति गठन गरेको छ। धरान–१० स्थित यलम्बर स्मृति संग्रहालयमा शनिबार सम्पन्न भेलाले सर्वसम्मत निर्णय गर्दै समाजसेवी मणि चाम्लिङ राईलाई अध्यक्षमा चयन गरेको हो।
समाजको आह्वानमा खोटाङका विभिन्न स्थानीय तहका व्यक्तिहरूको उपस्थितिमा सम्पन्न भेलाले भूगोल, क्षेत्रीय सन्तुलन र समावेशी संरचना अनुसार १५ सदस्यीय तदर्थ समिति घोषणा गरेको छ। बाँकी रहेका केही पदहरू चाँडै पूर्ण गरिने जानकारी आयोजकले दिएका छन्।

अध्यक्ष मणि चाम्लिङ राईले समाजप्रति गहिरो प्रतिबद्धता व्यक्त गर्दै आफ्नो कार्यकाललाई पारदर्शिता, सहकार्य र सिर्जनशील पहलकदमीको माध्यमबाट प्रभावकारी बनाउनेसमेत प्रतिवद्धता जनाएका छन्।

उहाँले भन्नुभयो, “‘खोटाङ–सुनसरी एकता समाज’ कुनै सानो घेरा होइन, यो हाम्रो साझा पहिचान, आत्मसम्मान र एकताको प्रतिनिधि संस्था हो। सबै अग्रज, साथीहरू र शुभेच्छुकहरूप्रति आभार प्रकट गर्दै म समाजको हितमा निष्ठापूर्वक काम गर्ने प्रण गर्दछु।”

नवगठित कार्यसमितिमा उपाध्यक्षमा राजेन्द्र राई, सचिवमा राजेश राई, सह–सचिवमा सुमन राई र कोषाध्यक्षमा जानुका राईरहेका छन्। सह–कोषाध्यक्ष र दुई उपाध्यक्ष पद भने हाल रिक्त रहेको र छिट्टै टुंगो लगाइने जनाइएको छ।

अन्य सदस्यहरूमा चण्डिमान राई (केपिलासगढी), अमर राई, ज्ञानु चाम्लिङ राई, कुमार राई, युबक राई, अटल राई, लुबुहाङ राई, रामकृष्ण राई, शम्भु राई, योगेश राई र कपिल राई रहेका छन्।
समितिमा विभिन्न क्षेत्र र तहबाट प्रतिनिधित्व समेटिएको छ, जसले समावेशी र समन्वयात्मक नेतृत्व सुनिश्चित गर्ने विश्वास गरिएको छ। सल्लाहकार समितिको गठन भने आगामी विशेष भेलाबाट निर्णय गरी पारित गरिने बताइएको छ। 

समाजले निकट भविष्यमा सांगठनिक संरचना थप व्यवस्थित गर्दै सामाजिक, सांस्कृतिक, शैक्षिक र समुदाय–कल्याणका कार्यक्रमहरू सञ्चालन गर्ने योजना सार्वजनिक गरेको छ। समाजले खोटाङबाट आएर सुनसरीमा बसोबास गर्ने समुदायहरूबीच आपसी एकता, सहकार्य र पहिचान संरक्षणको भावना बलियो बनाउन काम गर्ने प्रतिवद्धता जनाएको छ।

नवगठित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै सहभागीहरू, समाजका अग्रज र विभिन्न सामाजिक क्षेत्रका व्यक्तित्वहरूले समाजको भावी यात्रामा सफलताको शुभेच्छा व्यक्त गरेका थिए ।

प्रकाशित मितिः शनिबार, ११ असोज २०८२
https://jawaaf.com/storage/01K65GC872PNGKMEWQG07QHPPJ.jpg

घाइतेहरुलाई शरीरको भन्दापनि आन्दोलनको म्यान्डेटको चिन्ता छ : मन्त्री पुन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले घाइतेहरुलाई शरीरको भन्दा पनि आन्दोलनको माग पूरा हुन्छ कि हुदैँन् भन्ने चिन्ता रहेको बताएका छन् । 

शनिबार बीर अस्पतालसँगै रहेको ट्रमा सेन्टरमा जेनजी आन्दोलनका घाइतेहरुलाई भेट्दै उनले बिरामीहरुको उपचार राम्रै भइरहेको भन्दै उनीहरुलाई आन्दोलनको मागको बढि चिन्ता रहेको बताए । 

उनले भने, ‘बिरामीहरुको माग वा मुद्दा भनेको जेनजी आन्दोलनको माग हो । यसकै लागि लडेको हो । हाम्रो माग पूरा हुनुपर्छ भन्ने छ । उनीहरुको स्वास्थ्यको कुरा गर्ने हो भने उपचार राम्रै भइरहेको छ । उहाँहरुलाई आफ्नो शरीरको चिन्ता भन्दा पनि आन्दोलनको माग पूरा हुन्छ कि हुदैँन् भन्ने कुराको चिन्ता छ ।’

यस्तै, उनले ट्रमा सेन्टरमा दुईजना पढ्ने विद्यार्थी पनि रहेको भन्दै सन्चो भएपछि पढाइको विषयमा पछि जे गर्नुपरे पनि गर्न तयार रहेको आश्वासन दिएको बताए ।

साथै, हालको लागि अन्तरिम सरकारले जे घोषणा गरेको छ, त्यही अनुसारको काम हुने पनि उनको भनाई छ ।

प्रकाशित मितिः शनिबार, ११ असोज २०८२
https://jawaaf.com/storage/01K65EWHMKBKPKQ0YYVEQVMH66.jpeg

दशैंमा विपन्नलाई भरौल बाल मन्दिर स्कुलको राहत

बराहक्षेत्र (सुन्सरी) । बराहक्षेत्र नगरपालिका–३ नडाहस्थित भरौल बाल मन्दिर ईङ्लिस स्कुलले दशैंलाई लक्षित गरी वडा भित्रका असाहय तथा विपन्न परिवारलाई राहत वितरण गरेको छ ।

विद्यालयका प्रिन्सिपल अमृत खड्काका अनुसार सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत पहिलो चरणमा १४ घरलाई प्रतिपरिवार२५ केजी चामल साथै खाने तेल, नुन, मसला र नगद वितरण गरिएको हो । विद्यालयले आफ्नै बसमार्फत पीडित परिवारको घरदैलोमै पुगेर राहत पु¥याएको थियो ।

समाजसेवी तथा होटल व्यवसायी शरण पुमा राईले विद्यालयले शिक्षा प्रदान मात्र नभई सामाजिक उत्तरदायित्व पूरा गर्दै गरीब तथा विपन्न परिवारलाई चाडपर्वमा राहत पु¥याउनु प्रशंसनीय भएको बताए । उनले विद्यालय परिवारलाई धन्यवाद दिँदै अन्य संघसंस्था र क्लबहरूलाई पनि समाजसेवामा सक्रिय हुन आग्रह गरे ।

प्रिन्सिपल खड्काले वडा भित्र अझै पनि यस्ता परिवार रहेका खण्डमा विद्यालय परिवार सहयोगका लागि सधैं तत्पर रहने बताएका छन् ।

प्रकाशित मितिः शनिबार, ११ असोज २०८२
https://jawaaf.com/storage/01K656C2W981178MTK9SCR4JVR.jpeg

सडकका २३४ रुग्ण ठेक्का तोडिने, कर्मचारीमाथि पनि छानबिन हुने

काठमाडौं । सडक र पुल निर्माणका लागि सम्झौता गरिएका तर काम नगरी अलपत्र परेका २३४ वटा रुग्ण ठेक्का तोडिने भएका छन् । संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय मातहतका सडक डिभिजन कार्यालय, हुलाकी राजमार्ग र मध्यपहाडी लोकमार्गका रुग्ण अवस्थामा रहेका ठेक्कामा यो कदम चालिने भएको हो ।
दमक कार्यालय अन्तर्गत ३८, काठमाडौं ७५, पोखरा ३९, सुर्खेत ४९, हुलाकी १६ र मध्यपहाडी लोकमार्ग १७ वटा ठेक्का रुग्ण अवस्थामा छन् । आयोजना तर्फ काम नगरी ठेक्का रुग्ण बनाउन संलग्न तत्कालीन र हालका जिम्मेवार कर्मचारीमाथि छानबिनका लागि समिति गठन गरिने भएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले शनिबार भौतिक मन्त्रालयका सचिव, सहसचिव, सडक विभागका महानिर्देशक र संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालयका प्रमुखसँग छलफल गर्दै रुग्ण ठेक्का तोड्ने कदम अपरिहार्य भएको बताएका छन् ।
मन्त्री घिसिङका अनुसार, “सडक निर्माणका लागि राज्यले प्रत्येक वर्ष ठूलो रकम खर्च गरिरहेको छ, तर नागरिकले लाभ प्राप्त गर्न सकेका छैनन् । ठेक्का व्यवस्थापन शून्य जस्तो देखिएको छ । कतिपय निर्णय कर्मचारीले समयमै नगर्दा ठेक्का रुग्ण बनेका छन् । यस्ता कर्मचारीमाथि पनि छानबिन गर्नुपर्छ ।”
उनले थपे, “रुग्ण ठेक्कामा संलग्न निर्माण व्यवसायीलाई कसैले प्रलोभन दिन सक्दैनन्। तपाईंहरूले स्वतन्त्रतापूर्वक ठेक्का तोड्नुहोस । यस कदमले सुशासन कायम गर्न महत्वपूर्ण भूमिका खेल्नेछ । म तपाईंलाई पूर्ण संरक्षण गर्नेछु ।”
निर्माण सम्झौता अनुसार समय थप भए पनि प्रगति कम भएका ठेक्कालाई रुग्ण मानिएको छ । उदाहरणका लागि, दुई करोडभन्दा बढी सम्झौता भएको ठेक्कामा ५० प्रतिशतभन्दा कम प्रगति भएमा रुग्ण ठेक्का मानिनेछ । त्यस्तै, २–४ सय प्रतिशत समय म्याद थप भए पनि प्रगति ८०–९५ प्रतिशतभन्दा कम भएको ठेक्कालाई रुग्ण ठेक्का मानिने प्रावधान छ ।
मन्त्री घिसिङले मन्त्रालय र मातहतका कार्यालयमा अनियमितता, ढिलासुस्ती, घूसमाग्ने वा सेवाग्राहीलाई दुःख दिने कर्मचारीमाथि तत्काल कारबाही हुने स्पष्ट पारेका छन्। उनले कर्मचारीलाई पनि निर्देश दिएका छन । कसैले आफ्नो नाम बेचेर अनावश्यक दुःख पु¥याएमा तुरुन्त जानकारी गराउनुपर्छ ।

प्रकाशित मितिः शनिबार, ११ असोज २०८२