नेपाल रसियन टोलीसँग फेरि पराजित
काठमाडौँ, ७ साउन I नेपाली महिला राष्ट्रिय भलिबल टोलीले दोस्रो मैत्रीपूर्ण खेलमा पनि रसियन टोलीसँग पराजित भएको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा आज भएको खेलमा नेपाल रसियन टोलीसँग ३–० को सोझो सेटमा पराजित भएको हो नेपालले पहिलो सेट १४–२५, दोस्रो सेट २३–२५ र तेस्रो सेट २२–२५ ले गुमायो ।
आइतबार सम्पन्न पहिलो मैत्रीपूर्ण खेलमा पनि नेपाल ३–० कै सेटमा पराजित भएको थियो । नेपालस्थित रसियन दूतावासको विशेष सहयोगमा मैत्रीपूर्ण खेल भएको हो ।
महिला भलिबलः आज नेपालले कीर्गिस्तानसँग खेल्दै
काठमाडौँ, ७ साउन I काभा (सेन्ट्रल एसियन भलिबल एशोसिएसन) यु–२० महिला भलिबल च्याम्पियनसिपमा नेपालले सेमिफाइनलमा आज कीर्गिस्तानसँग खेल्ने भएको छ । माल्दिभ्सको मालेमा हुने उक्त प्रतियोगिताको लिग चरणको खेलमा नेपाल कीर्गिस्तानसँग पराजित भएको थियो । सोही हारको बदला लिँदै नेपाल फाइनलमा पुग्ने दाउका साथ मैदानमा उत्रनेछ । लिगमा कीर्गिस्तान दोस्रो भएको थियो बने नेपाल तेस्रो स्थानमा रहेको थियो ।
लिगको अन्तिम खेलमा श्रीलङ्काले कीर्गिस्तानलाई ३–२ सेटमा पराजित गरेपछि नेपालले सेमिफाइनलमा कीर्गिस्तान प्रतिद्वन्द्वी पाएको हो । लिगमा अपराजित रहेको श्रीलङ्का तीन खेल जित्दै आठ अङ्क जोडेर शीर्षस्थानमा रह्यो । दुई जित र एक हारबाट पाँच अङ्क जोडेको कीर्गिस्तान दोस्रो स्थानमा रहँदा एक जित र दुई हारको नतिजा निकालेको नेपाल तीन अङ्कसहित तेस्रो र सबै तीन खेल हारेको घरेलु टोली माल्दिभ्स चौथो स्थानमा रह्यो ।
लिगमा पहिलो श्रीलङ्का र चौथो भएको माल्दिभ्सबीच पहिलो सेमिफाइनल खेल पनि आजै हुनेछ ।
धर्मिक पर्यटन प्रवर्द्धन गर्न साइकल र्याली
धुलिखेल (काभ्रे), ६ साउन I जिल्लाका धार्मिक एवं ऐतिहासिक स्थलहरुको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले साइकल र्यालीको आयोजना गरिएको छ ।
‘पनौती बाईक स्टेसन’को आयोजनामा पनौतीबाट प्रारम्भ भएको ¥याली धुलिखेल–भट्टीडाँडा–काभ्रेभञ्ज्याङ नमोबुद्ध हुँदै पुनःपनौती पुगेर समापन भएको थियो ।
धार्मिक यात्राका लागि साइकलमार्ग तयार पारेर र्याली आयोजना भएको स्टेसन प्रमुख विपिन श्रेष्ठले बताउनुभयो । जिल्लाका धार्मिक पर्यटकीयस्थल साइकलबाटै घुम्न सकिने भन्ने सन्देश प्रवाह गर्न र्याली आयोजना गरिएको बताउनुभयो ।
जिल्लाको मुख्य धार्मिकस्थलका साथै पनौती, धुलिखेल र नमोबुद्धका पर्यटकीय स्थलको आन्तरिक पर्यटन प्रवद्र्धन गर्न र्यालीबाट सहयोग पुग्ने पनौती नगरपालिका– ५ का वडा अध्यक्ष विनोद खत्रीले बताउनुभयो ।
पनौती नगरपालिका प्रमुख रामशरण भण्डारी र उपप्रमुख गीता बञ्जाराले र्यालीको शनिबार शुभारम्भ गर्नुभएको हो । र्यालीमा दुई सय जना सहभागी थिए ।
एसिया कप क्रिकेटः नेपाल र पाकिस्तान भिड्ने
काठमाडौँ ६ साउन I एसिसी महिला एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज नेपाल र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ ।
श्रीलङ्काको दम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने उक्त खेल नेपाली समयानुसार बेलुका ७ः१५ बजे सुरु हुनेछ । प्रतियोगितामा लगातर दोस्रो जित निकाल्दै सेमिफाइनलमा पुग्ने लक्ष्यका साथ नेपाल मैदानमा उत्रनेछ ।
प्रतियोगिताको पहिलो खेलमा नेपालले युएईलाई छ विकेटले पराजित गरेको थियो । पाकिस्तान पनि पहिलो जित निकाल्ने उद्देश्यका साथ खेल्नेछ । यसअघि भएको पहिलो खेलमा पाकिस्तान भारतसँग सात विकेटले पराजित भएको थियो ।
सन् २०१६ मा भएको एसिया कपमा यी दुई टोलीको भेट भएको थियो । पाकिस्तानले नेपाललाई नौ विकेटले पराजित गरेको थियो ।
धरानमा ‘कोरा राइड साइक्लिङ च्यालेन्ज’ सम्पन्न
धरान(सुनसरी), ५ साउन I प्लाडलर्स धरानको आयोजना तथा रोटरी क्लब अफ घोपाको संयोजनमा आज ‘कोरा राइड साइक्किङ च्यालेन्ज’ आयोजना सम्पन्न भएको छ ।
पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथै स्वास्थ्यका लागि साइकल लाभदायक भएको भन्दै स्वच्छ वातावरणसँगै धार्मिक तथा पर्यटकीयस्थलको प्रचारप्रसार गर्नका लागि ‘कोरा राइड साइक्लिङ च्यालेन्ज’ इभेन्ट धरानमा आयोजना गरिएको रोटरी क्लब अफ धरान घोपाका अध्यक्ष गौरवमान श्रेष्ठले बताउनुभयो ।
आज बिहान ७ बजे भानुचोकबाट सुरु भएको राइड पुतलीलाइन, दुर्गा चोक, मगलबारे, जानकी चोक, फुस्रे, अमरहाट, बिजयपुरको दन्तकाली मन्दिर, बुढासुब्बा मन्दिर, देउराली, धरान उपमहानगरपालिका–६ पानबारी हुँदै सबै मठमन्दिर पुगेर धरान–१९ स्थित हरियाली सामुदायिक वनमा पुगेर सम्पन्न भएको थियो ।
करिब २९ किलोमिटर दुरीमा भएको राइडमा दुई सय राइडर्सहरुले सहभागिता जनाएको प्याडलर्सका संयोजक किसन मास्केले बताउनुभयो । सहभागी भएका राइडर्सहरुबाट प्रतिव्यक्ति रु दुई सय लिइएको थियो । प्याडलर्स समाजसेवालाई प्राथमिकतामा राखी लिएको शुल्कबाट कोषको स्थापना गर्दै सामाजिक कार्यमा सहयोग पु¥याउँदै आएको छ । त्यसमा गतवर्ष आयोजना गरिएको कोरा राइडबाट उठेको रकलेम धरान १४ मा रहेको आधारभूत स्वास्थ्य केन्द्रलाई चाहिने आवश्यक सामग्रीसँगै विद्यालयलाई शैक्षिक सामग्री प्रदान गरेको छ ।
कोरा राइडमा सुनसरीसहित झापा, मोरङका साइक्लिष्टहरु सहभागी भएका थिए । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले कोरा राइड प्रत्येक वर्ष जुलाइमा हुँदै आएको संयोजक किसान मास्केले बताउनुभयो । धरानमा सन् २०१७ देखि नियमित आयोजना हुँदै आएको उहाँले बताउनुभयो ।
नेपालले युएईलाई हरायो
काठमाडौँ, ४ साउन I नेपालले एसिसी महिला एसिया कप क्रिकेट २०२४ प्रतियोगिताअन्तर्गत आज भएको खेलमा संयुक्त अरब इमिरेट्स (युएई)लाई पराजित गरेको छ ।
श्रीलङकाको दम्बुल्ला अन्तर्राष्ट्रिय रङ्गशाला भर्खरै सम्पन्न खेलमा नेपालले युएईलाई छ विकेटले पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुआत गरेको हो । जितका लागि एक सय १६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १६ दशमलव एक ओभरमा चार विकेट गुमाउदै पूरा गर्यो ।
नेपाललको लागि सम्झना खड्काले सर्वाधिक ७२ रनको योगदान दिइन । उनले ४५ बल खेल्ने क्रममा ११ चौका प्रहार गरिन् । त्यस्तै रुबिना क्षेत्रीले १० रन बनाइन भने सीता रानामगर र पुजा महतोले समान सात÷सात रनको योगदान गरे ।
बलिङतर्फ युएईकी कभिशा इगोडागेले तीन विकेट लिइन भने लभन्या केनीले एक विकेट लिइन ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय १५ रनको योगफल बनाएको थियो । युएईका लागि खुसी शर्माले ३९ बल दुई चौका प्रहार गर्दै ३६ रन बनाइन । त्यस्तै कविशा इगोडागो २२, समाइरा धरनिधर्कले १३ तथा कप्तान इशा रोहित ओजाले १० रन बनाइन । रिथिका राजित छ तथा लावन्या केनी दुई रनमा अविजित रहे ।
नेपालको लागि इन्दु बर्माले सर्वाधिक तीन विकेट लिइन् । त्यस्तै कृतिका मरासिनी, सबनम राई र कविता जोशीले समान एक÷एक विकेट लिए । नेपालले अब आफनो दोस्रो खेल यही साउन ६ गते पाकिस्तानसँग खेल्नेछ ।
ओलम्पिकमा सहभागी हुन जाने नेपाली टोलीको बिदाइ
काठमाडौँ, ४ साउन I राष्ट्रपति रामचन्द्र पौडेलले ३३औँं गृष्मकालीन पेरिस ओलम्पिकमा सहभागी हुन जाने नेपाली खेलाडीलाई सफलताको शुभकामना प्रदान गर्दै बिदाइ गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले खेलाडीलाई शुभकामनासहित बिदाइ गर्नुभएको हो । सो अवसरमा उहाँले खेल राष्ट्रलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने सबैभन्दा उपयुक्त माध्यम भएको बताउँदै उच्च मनोबलका साथ प्रतिस्पर्धा गर्न आग्रह गर्नुभयो ।
राष्ट्रपति पौडेलले गृष्मकालीन पेरिस ओलम्पिकमा सहभागी खेलाडीले देशको प्रतिष्ठा उँचो बनाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले दृढ सङ्कल्प र अठोटका साथ ओलम्पिकमा सहभागी हुन खेलाडीलाई सुझाव दिनुभयो ।
सोही कार्यक्रममा राष्ट्रपति पौडेलले पेरिस ओलम्पिकको ‘सेभ द मिसन’ रहनुभएका राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङलाई नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गर्नुभएको थियो । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले उच्च मनोबलका साथ खेल प्रदर्शन गर्न आग्रह गर्दै सफलताको शुभकामना प्रदान गर्नुभयो ।
खेलाडीको बिदाइ कार्यक्रममा युवा तथा खेलकुदमन्त्री चौधरीसहित नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ, ३३औँं गृष्मकालीन पेरिस ओलम्पिकमा नेपालका तर्फबाट प्रतियोगितामा सहभागी हुने खेलाडी, प्रशिक्षकलगायतको सहभागिता थियो ।
एसिसी एसिया कपः नेपाल र युएई भिड्दै
काठमाडौँ, ४ साउन I एसिसी महिला एसिया कप क्रिकेटअन्तर्गत आज संयुक्त अरब इमिरेट्स (युएई)सँग नेपाल भिड्दै छ । श्रीलङ्काको ‘दाम्बुल्ला इन्टरनेशनल स्टेडियम’मा हुने उक्त खेल नेपाली समयानुसार दिउँसो २ः१५ बजेदेखि सुरु हुने छ । इन्दु बर्माको कप्तानीमा रहेको नेपाली महिला टोलीले तेस्रोपटक प्रतिस्पर्धा गर्न लागेको हो । यसअघि नेपाल सन् २०१२ र २०१६ मा सहभागी भएको थियो । ती दुवै प्रतियोगितामा नेपाल पराजित भएको थियो ।
खेल सूचीअनुसार नेपाल समूह ‘ए’ मा छ भने सोही समूहमा पाकिस्तान र भारत छन् । समूह ‘बी’ मा बङ्गलादेश, श्रीलङ्का, मलेसिया र थाइल्याण्ड छन् ।
नेपाली टोलीमा कप्तान बर्मासहित रुविना क्षेत्री, सीता रानामगर, कविता कुँवर, सम्झना खड्का, कविता जोशी, काजोल श्रेष्ठ (विकेटकिपर) र पूजा महतो छन् । टोलीमा डली भट्ट, बिन्दु रावल, रोमा थापा, कृतिका मरासिनी, सबनम राई र राजमती ऐरी सहभागी छन् ।
महिला भलिबल नेपाल पराजित
काठमाडौँ, ४ साउन I सेन्ट्रल एसियन भलिबल एशेसिएसन (काभा) यु–२० महिला भलिबल च्याम्पियनसिप अन्तर्गत भएको पहिलो खेलमा नेपाल श्रीलङ्कासँग पराजित भएको छ ।
माल्दिभ्सको मालेस्थित सोसल सेन्टरमा गए राति सम्पन्न खेलमा नेपाल श्रीलङ्कासँग ३–१ को सेटमा पराजित भएको हो । श्रीलङ्कासँग नेपाल पहिलो सेट श्रीलङ्काले २५–२० ले पराजित भएको थियो भने खेलको दोस्रो सेट नेपालले २६–२४ ले जितेको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार त्यसपछि खेलको तेस्रो सेटमा २५–११ ले गुमाएको नेपालले चौथो सेट पनि २५–१८ गुमाएसँगै नेपाल पराजित भयो । अब नेपालले आज बेलुका कीर्गिस्तानसँग खेल्नेछ । च्याम्पियनसिपमा आयोजक माल्दिभ्ससहित नेपाल, कीर्गिस्तान र श्रीलङ्काको सहभागिता रहेको छ ।
भदौ ३ गतेदेखि ताप्लेजुङ गोल्डकप
फुङ्लिङ (ताप्लेजुङ), ३ साउन I जिल्लाकै ठूलो खेलकुद प्रतियोगिता ताप्लेजुङ गोल्डकप आगामी भदौ ३ गतेदेखि हुने भएको छ । लाखेजात्रा सञ्चालन समितिको आयोजना हुने उक्त प्रतियोगितामा देशका ‘ए’ डिभिजन क्लबलाई आमन्त्रण गर्ने निर्णय भएको समितिका अध्यक्ष देवराज गुरुङले बुधबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभएको हो । प्रतियोगितामा प्रथम हुने टोलीले रु तीन लाख ११ हजार एक सय ११ र उपविजेताले रु एक लाख ११ हजार एक सय ११ प्रदान गरिने छ ।