बाढी प्रभावित क्षेत्रमा शुद्ध खानेपानी अभाव
राजविराज (सप्तरी), २१ असोज : केही दिन अगाडिको बाढीले घरविहीन भएका यहाँका बाढीपीडितलाई शुद्ध खानेपानीको अभाप भएको छ । खानेपानी अभाव र हिलाम्मे घरमा बस्नुपर्ने बाध्यताले उनीहरु समस्यामा परेका छन् ।
कङ्कालिनी नगरपालिकाका स्थानीय बोकाइ सदाले यहाँ शुद्ध खानेपानी नभएकाले अधिकांश बाढीपीडित बिरामी पर्न थालेको बताउनुभयो । शुद्ध खानेपानीको अभावमा दूषित पानी पिउँदा रुघाखोकी, ज्वरो, बान्ता र झाडापखाला जस्ता लक्षणसहित बिरामी परेको उहाँले बताउनुभयो ।
कोशी बाँधमा बसेका बाढीपीडितले कोशीको पानी र ट्यूबेलको पानी खाने गरेका छन् । पानीकै कारण बिरामी परेको हुनसक्ने अनुमान गरिएको छ । सदाले भन्नुभयो, “बच्चा बिरामी छ घरको खाद्यान्न नष्ट हँुदा खाने कुरा छैन । चर्को घाममा खुला ठाउँमा बसेका छौँ ।”
सोही ठाउँका अर्का बाढीपीडित भागवत मुखियाले यस क्षेत्रमा स्वास्थ्यकर्मीको टोली आइनपुगेको बताउनुभयो । खाद्यान्न सबै नष्ट भएको र राहत सामग्री वितरणमा भेदभाव हुँदा पीडित झन समस्यामा परेको उहाँको गुनासो छ । “बाढी पीडितका लागि राहत सामग्री स्वरुप हालसम्म मुरै, चिउरा र चाउचाउबाहेक केही पाइएको छैन”, उहाँले भन्नुभयो ।
स्थानीय बाढीपीडित परवेज आलमले धान काट्ने बेलामा आएको बाढीले धान र घरविहीन बनाएको बताउनुभयो । धानबालीमा क्षति गरेका हुँदा एक वर्षका लागि भोकै बस्नुपर्ने अवस्था आएको उहाँले गुनासो पोख्नुभयो । उहाँले तीनै तहका सरकारलाई सहयोगको याचना गर्नुभयो ।
कोशी नदी र जीता खोलाको बाढीका कारण हनुमाननगर कंकालिनीका सयौँ बाढीपीडितको विचल्ली भएको छ । हनुमाननर कंकालिनी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र माझीले स्थानीय सरकारले बाढीपीडितका लागि शुद्ध खानेपानी, समयमा उपचार र राहत सामग्री वितरण गरिरहेको बताउनुभयो ।
तिलाठी कोइलाडी गाउँपालिकाका विपद् व्यवस्थापन अधिकृत राजेशकुमार झाका अनुसार तिलाठी कोइलाडी गाउँपालिकाको वडा नं. ३, ४, ५ र ७ वडामा पानी पसेपछि स्थानीय समस्यमा परेका छन् । बाढीपीडितका लागि गाउँपालिकाको समन्वय तथा युनिसेफको सहयोगमा सबल नेपाल नामक संस्थामार्फत दुई सय ५२ परिवारलाई राहत सामग्री स्वरुप ‘हाइजिन किट’, पानी खानका लागि मग, डोल र झुललगायत वितरण गर्ने तयारी गरिएको उहाँले जनाकारी दिनुभयो ।
सुनसरीमा किसान भन्छन् : ‘यसपटकको दसैँ दशा भएर आयो’
इनरुवा (सुनसरी), २१ असोजः सुनसरी देवानगञ्ज गाउँपालिका–२ का रामवृक्ष मेहताले पाँच बिघाभन्दा बढीमा धानखेती गर्नुभएको थियो । उहाँले ती मध्ये उहाँले करिब दुई बिघाभन्दा बढीमा घुटराज जातको धानखेती गर्नुभएको थियो । उहाँले भन्नुभयो, “दसैँ अगाडि नै धान भित्र्याने सोच बनाएको थिए । आफूलाई खानपुग्ने धान घरमा राखेर बाँकी बिक्री गर्ने तयारी समेत गरेको थिए । यसबाट आएको आम्दानीबाट दसँै मनाउने सोच थियो । ”
यही असोज ११, १२ र १३ गते परेको वर्षासँगै आएको बाढीले धानखेतीमा क्षति पु¥याउँदा किसान मेहताको उद्देश्य पूरा हुन पाएन । उहाँले भन्नुभयो, “बाढीबाट १० कठ्ठाभन्दा बढीको धानखेतीमा क्षति भएको छ । ”
यसैगरी भोक्राहा नरसिंह गाउँपालिकाका देवनारायण मेहताले दुई बिघामा धानखेती गर्नुभएको थियो । उहाँले खेतको गोडमेल, रोपाइँ, सिँचाइलगायत व्यवस्थाका लागि प्रतिबिघा रु ४० हजार खर्च गर्नुभएको थियो । उहाँले भन्नुभयो, “बाढीले भित्र्याउने बेलमा भएको धानबालीमा धेरै नै क्षति भयो । यसपटक दसैँ दशा भएर आयो । ”
बाढीका कारणले जिल्लाकोे धानबालीमा धेरै क्षति भएको छ । धानखेतीका लागि किसानले प्रतिबिघा रु ३० हजारदेखि ४० हजार खर्च गर्दै आएका जनाइएको छ ।
धान पाकेर भित्र्याउने बेलामा आएको बाढीले खेतीसँगै लाखौँको लगानीमा क्षति भएको किसानको गुनासो रही आएको छ । जिल्लामा बाढीका कारणले धानखेतीमा भएको क्षतिको आँकल एवं तथ्याङ्क सङ्कलन जारी रहेको छ । कृषि ज्ञान केन्द्र इनरुवाका प्रमुख निलकमल सिंहले बाढीले एक सय ९५ हेक्टरमा लगाएको धानखेतीमा क्षति भएको प्रारम्भिक अनुमान गरिएको जानकारी दिनुभयो । उहाँले बाढीबाट रु दुई करोड ५० लाख बराबारको धान नोक्सानी भएको बताउनुभयो । उहाँले भन्नुभयो, “बाढीबाट धानखेतीमा भएको क्षतिको तथ्याङ््क आउने क्रम जारी छ । ”
इच्छाकामनाका वृद्धवृद्धालाई भत्ता लिन सास्ती
मुग्लिन (चितवन), २१ असोजः वृद्धभत्ता रकम लिन माछापुच्छ्रे बैक कुरिनटारमा आइतबार बिहानै आइपुग्नुभएका चितवन इच्छाकामना गाउँपालिका–१ हात्तीवाङकी सन्चरीमाया चेपाङले दिउँसो भत्ता वापतको रकम प्राप्त गर्नुभयो । भत्ता रकम लिन चार घण्टा बढी लाइनमा बस्नुपरेको उहाँको गुनासो छ । घण्टौँ लाइनमा बसेर भत्ता रकम हातमा पर्दा जति खुसी हुनुभयो, त्यत्ति नै थकित पनि देखिनुहुन्थ्यो । सञ्चरीमायामात्र होइन इच्छाकामना –३ धुषाकी छोटीमाया चेपाङले पनि चार घण्टा कुरेर भत्ता लिनुभयो ।
कुरिनटारमै रहेको अर्काे प्रभु बैकमा पनि आइतबार उस्तै भीड थियो । वृद्धवृद्धा भत्ता रकम कतिखेर झिक्न पाइन्छ भनेर कुरेर बसिरहनुभएको थियो । बिहानैदेखि आएर कागजपत्र बुझाउनुभएका इच्छाकामना २ फुर्केडाँडाका बलबहादुर चेपाङले दिउसो भत्ता रकम लिन पाउनुभएन । बैंकमा सामाजिक सुरक्षा भत्ता लिने र अन्य सेवाग्राहीको भीड थियो ।
माछापुच्छ«े बैंकमा भत्ता लिन आउनेलाई सहजीकरणका लागि सहयोग गर्न आउनुभएका इच्छाकामना – १ हात्तीवाङका तिलक गिरीले भत्ता लिन वृद्धवृद्धा दिनभर लाइनमा बस्नुपरेको बताउनुभयो । विकट स्थानबाट आएका वृद्धवृद्धालाई छिटोछरितो सहज रूपमा भत्ता लिने वातावरण सृजना गर्नुपर्ने उहाँको भनाइ छ । सकेसम्म वडामै भत्ता वितरण गर्नुपर्ने माग गर्नुभयो ।
इच्छाकामना वडा नं १ र २ बाट कुरिनटारमा रहेको बैंकसम्म गाडी रिजर्भ गरेर भत्ता लिन आएको उहाँले बताउनुभयो । आवतजावत गर्न जनही रु सात सय गाडी भाडामा मात्र खर्च हुने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “झण्डै तीन घण्टाको बाटो गाडी रिजर्भ गरेर यहाँ भत्ता रकम लिन वृद्धवृद्धा आउनुभएको छ, भाडामात्र रु सात सय लाग्छ, वडामै भत्ता वितरण गरेको भए उक्त रकम बच्ने र यहाँ आएर यसरी लाइन बस्नुपर्नेे थिएन ।”
इच्छाकामना– १ का वडाध्यक्ष सन्तबहादुर रानामगरले वडामै भत्ता वितरणका लागि बैंकसँग आग्रह गरे पनि बैंकले सुरक्षा र कर्मचारीको अभाव जनाउँदै उक्त सेवा दिन इन्कार गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “मैले गत वर्ष नै बैंकलाई वडामै भत्ता वितरणका लागि आग्रह गरेको थिएँ, तर बैंकले कर्मचारी अभाव र नगद बोकेर जान सुरक्षित नहुने भन्दै मानेन ।” अशक्तहरूका लागि हकवालाले बैंकमा गएर भत्ता लिन सक्ने व्यवस्था गरेको उहाँले बताउनुभयो । आगामी दिनमा कसरी हुन्छ भत्ता वितरणलाई थप सहज बनाउन बैंकसँग छलफल गर्नेे बताउनुभयो ।
माछापुच्छ्रे बैंक कुरिनटार शाखाका प्रबन्धक प्रकाश अधिकारीले सकेसम्म सामाजिक सुरक्षा भत्ता वितरणमा सहज बनाएको दाबी गर्नुभयो । उहाँले वडाको सिफारिसमा अशक्त वृद्धवृद्धालाई हकवालामार्फत भत्ता उपलब्ध गराइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले बैंकसम्म आउन नसक्नेलाई वडाको सिफारिसमा हकवालाले भत्ता रकम बुझ्न पाउने व्यवस्था गरेका छौँ, दसैँका बेला भएकाले सबै वृद्धवृद्धा एकैपटक आउँदा केही समस्या भएको हो ।” यो समयमा अन्य सेवाग्राहीको समेत भीड लाग्ने गरेकाले केही असहज भएको उहाँको भनाइ छ ।
बैंकमा कर्मचारी अभावका कारण वडामै पुगेर भत्ता वितरण गर्न नसकिएको बैंकका प्रबन्धक अधिकारीले बताउनुभयो । गाउँपालिकाले ग्लोबल आइएमई, प्रभु र माछापुच्छ्रे बैंकमार्फत भत्ता वितरण गर्दै आइरहेको छ । इच्छाकामनाको माथिल्लो भेगका ज्येष्ठ नागरिकले वृद्धभत्ता प्राप्त गर्न पनि सास्ती व्यहोर्दै आइरहनुभएको छ । सकेसम्म टोलटोलमै पुगेर भत्ता वितरण गर्नुपर्ने त्यत्ति पनि नभए वडास्तरबाटै वितरण गर्नुपर्ने यहाँका ज्येष्ठ नागरिकहरूको माग छ ।
सडक सञ्जालमा जोडिँदै मुस्ताङ र डोल्पा
म्याग्दी, २१ असोजः गण्डकीको मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा जोड्ने सडकको ७५ किलोमिटर मार्ग खुलेको छ । दुई प्रदेशको हिमाली जिल्लाका आन्तरिक व्यापार, पर्यटन विकास र स्थानीयवासीको सुविधाका लागि यो सडक महत्त्वपूर्ण मानिएको छ ।
सङ्घीय सरकारको मनाङ–मुस्ताङ–डोल्पा–जुम्लासडक आयोजनाअन्तर्गत मुस्ताङको वारागुङ मुक्तिक्षेत्र र डोल्पाको छार्का ताङसोङ गाउँपालिका जोड्ने सडकको मार्ग खोल्ने काम अन्तिम चरणमा पुगेको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन नामग्याल गुरुङले बताउनुभयो ।
“जोमसोमबाट एक्लेभट्टी, पाक्लिङ, फलेक, साङ्तासम्म ४० किलोमिटर र साङताबाट याकखर्क हुँदै डोल्पाको सिमानासम्म थप ३५ किलोमिटर सडकको मार्ग खुलेको छ”, उहाँले भन्नुभयो, “गत वर्ष मुस्ताङ हुँदै छार्का ताङसोङसम्म केही दिन ट्रयाक्टर चलाइएको थियो । यो सडकमा नियमित र सहज रूपमा यातायात सञ्चालनका लागि २० किलोमिटर सडक स्तरोन्नति र चार ठाउँमा मोटरेबल पुल निर्माण गर्न आवश्यक छ ।”
भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले डोल्पाको सिमानामा पर्ने सुुकसाम्बामा बेलीब्रिज बनाउन चालुु आर्थिक वर्षमा रु ८५ लाख विनियोजन गरेको जानकारी दिँदै अध्यक्ष गुरुङले थप तीनवटा बेलीब्रिज अथवा मोटरेबल पुल बनाउन र जोखिमयुक्त ठाउँको सडक स्तरोन्नति गरेर नियमित यातायात सञ्चालनको व्यवस्था मिलाउन स्घीय सरकारलाई प्रस्ताव गरिएको अध्यक्ष गुरुङले बताउनुुभयो ।
सरकारले गण्डकी प्रदेशको मनाङ–मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा–मुगु जोड्ने रणनीतिक महत्वको सडकअन्तर्गत आर्थिक वर्ष २०७५÷७६ देखि मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–४ को पाक्लिङबाट साङ्ता हुँदै डोल्पा जोड्ने सडक निर्माणको कामलाई अघि बढाएको थियो । रु २२ करोडको लगानीमा पाक्लिङबाट ५६ दशमलव पाँच किलोमिटर सडक खुलेको सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ ।
डोल्पातर्फबाट मुस्ताङको सिमानासम्म यसअघि नै सडक निर्माण भएको थियो । डोल्पा जोड्ने सडकको प्रवेशबिन्दुमा पर्ने मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको एक्लेभट्टी र पाक्लिङको सिमानास्थित कालीगण्डकी नदीमा दुई वर्षअघि प्रदेश सरकारमार्फत एक सय २० मिटर लामो पक्की पुल निर्माण गरिएको थियो ।
वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–५ का वडाध्यक्ष सुरेन्द्र गुरुङले याकखर्कसम्म सवारी चल्न थालेपछि उपल्लो डोल्पाका बासिन्दा, व्यापारी र किसानको दुई दिनको यात्राअवधि तीन घण्टामा छोटिएको बताउनुभयो ।
“हप्तौँ लगाएर मुस्ताङ आउने उत्तरी डोल्पावासी एकै दिनमा आउन थालेका छन्”, उहाँले भन्नुभयो, “छार्काताङसोङलगायत उपल्लो डोल्पाका बासिन्दाले दैनिक उपभोग्य सामान, निर्माण सामग्री ढुवानी, भेडाच्याङ्ग्रा र याक चाँैरी बिक्रीका लागि बजार लैजान यही सडक प्रयोग गर्छन् ।” डोल्पा र राजधानी काठमाडौँ जोड्ने यो छोटो दूरीको सडक हुने जनाइएको छ ।
सडक निर्माण भएपछि साङ्ता, याकखर्क घुम्न पर्यटक आउन थालेका साङ्ताका बासिन्दासमेत रहेका वडासदस्य छिरिङपासाङ गुरुङले बताउनुभयो । सडकमा थुप्रिएको हिउँ र पहिरो पन्छाएर गाउँपालिकाले याकखर्कसम्म नियमित यातायात सञ्चालनको व्यवस्था मिलाएको उहाँले बताउनुभयो ।
समुद्री सतहबाट चार हजार मिटरभन्दा बढीको उचाइमा मानव बस्ती नभएको झमटङ डोल्मा हिमालको फेदीमा हुँदै निर्माण भएको सडकमा यात्रा गर्ने क्रममा वन्यजन्तु नाउरको बथान देखिन्छन् ।
तामाङ घेदुङ पोर्चुगलको अध्यक्षमा इमानसिङ
लिस्बन, (पोर्चुगल), २१ असोज : युरोपेली मुलुक पोर्चुगलमा रहेका तामाङहरुको प्रथम भेला राजधानी लिस्बनमा सम्पन्न भएको छ ।
शनिबार सम्पन्न भेलाले नेपाल राष्ट्रिय तामाङ घेदुङ (सङ्घ) पोर्चुगल गठन गरेको छ । भेलाले इमानसिङ तामाङको अध्यक्षतामा ४५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा प्रेम गोम्जा, उपाध्यक्षहरुमा सोनाम लामा, सविना मनाङथेन, फुर्वासिङ दोङ लामा, युवराज लामा, पासाङ लामा र महिला उपाध्यक्षमा निशा तामाङ चयन हुनुभएको छ ।
सङ्घको महासचिव राजुलामा मोक्तान सर्वसम्मत चयन हुनुभएको छ भने सचिवमा निर्मला तामाङ बज्यु र सहसचिवमा पुनम तामाङ चयन हुनुभएको नेपाल राष्ट्रिय तामाङ घेदुङ सङ्घका केन्द्रीय सदस्य सागर योञ्जन तामाङले जानकारी दिनुभयो ।
आरोहण अध्ययनरत विद्यार्थी टोली मनाङको थोरङ हिमचुलीमा
काठमाडौँ, २१ असोज : हिमाल आरोहणबारे अध्ययन गरिरहेका नेपाल माउण्टेन एकेडेमीका विद्यार्थीहरु मनाङको थोरङ हिमचुली क्षेत्र पुगेका छन् । एकेडेमीका सातौँ ‘सेमेस्टर’ का १६ विद्यार्थीले छ हजार एक सय मिटर अग्लो थोरङ हिमचुलीसमेत आरोहण गरे ।
उनीहरुले यही असोज १७ गते बिहीबारका दिन थोरङ हिमचुली आरोहण गरेको एकेडेमीबाट खटिइ जानुभएका प्रमुख प्रशिक्षक तथा अन्तर्राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक पेम्बाओङचु शेर्पाले जानकारी दिनुभयो ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत सञ्चालित नेपाल माउण्टेन एकेडेमीको स्नातक तह (बिएमएस) मा अध्ययनरत विद्यार्थीहरु प्रयोगात्मक अध्ययनका लागि त्यहाँ पुगेका हुन् । उक्त तहको पाठ्यक्रमअनुसार विद्यार्थीहरुले हिमालमै गएर हिमाल आरोहण, ‘ग्लेसियर वाकिङ’, ‘¥यापेलिङ’, ‘एसेन्डिङ’, ‘डिसेन्डिङ’, उद्धारलगायतका सीप सिकेका छन् ।
प्रत्येक विद्यार्थीले फरक–फरक शीर्षकमा प्रयोगात्मक अध्ययन गरेका छन् । मनाङमा वार्षिक रूपमा घाँस काट्ने दिन सुरु हुने चरणदेखि, हिमाल आरोहणमा प्रयोग हुने सामग्रीको परीक्षण, ‘लिभ नो ट्रेस’, ‘ट्रेल’ मा रहेको फोहोरको अवस्था तथा अन्नपूर्ण संरक्षण क्षेत्र परियोजना (एक्याप) को भूमिका, आरोहणको क्रममा हुने ‘बडि वेट लस’, थोरङ हिमचुलीको हिउँको अवस्था, गाँसवास व्यवस्थापन तथा थोरङ हिमचुलीको ‘प्रोफाइलिङ’ सम्पन्न गरिएको उक्त प्रयोगात्मक आरोहणका प्रमुख प्रशिक्षक शेर्पाले जानकारी दिनुभयो । आरोहणमा पेम्बासँगै अर्का प्रशिक्षक नरबहादुर अस्थानीसमेत सहभागी हुनुहुन्थ्यो ।
पिक प्रोमोसन प्रालि नामक कम्पनीले गाँसवास तथा आरोहण अनुसन्धानको व्यवस्थापनको जिम्मा लिएको थियो । उक्त कम्पनीका प्रबन्ध निर्देशक आङबाबू शेर्पाले विद्यार्थीले गरेको यो अध्ययन आरोहण ऐतिहासिक भएको प्रतिक्रिया दिनुभयो ।
‘प्लस टु’ पछि पढ्न पाइने बिएमएस अर्थात ‘ब्याचलर अफ माउन्टेनरिङ स्टडिज’ का विद्यार्थीहरुले पढाइ सक्ने वित्तिकै रोजगारी पाउने गरेको र हाल ९० प्रतिशत रोजगार रहेको एकेडेमीले जनाएको छ । हाल बिएमएस तहमा विभिन्न ट्रेकिङ कम्पनीमा कार्यरत, इन्जिनियर र चार जना पाइलटसमेत अध्ययनरत छन् ।
फोक्सिङटारको पुल बगाएपछि श्रमदानमार्फत मर्मत
खोटाङ, २० असोजः दिक्तेल–गाईघाट सडकखण्डको सुनकोशीस्थित फोक्सिङटारको मोटरेबल पुल बाढीले बगाएर अवरुद्ध भएपछि विकल्पका रुपमा दिक्तेल–चखेवाभञ्ज्याङ सडक प्रयोग गर्नेगरी श्रमदानमार्फत मर्मत गरिएको छ ।
कच्ची अवस्थामा सञ्चालित बाँझेच्यानडाँडादेखि चखेवाभञ्ज्याङसम्म (दश किलोमिटर) सडक अविरल वर्षाका कारण बिग्रिएर अवरुद्ध भएपछि पुनः सञ्चालनमा ल्याउन जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायलगायतले दुई दिन लगएर मर्मत गरेका हुन् ।
सगरमाथा राष्ट्रिय राजमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डको फोक्सिङटार पुल यही असोज १२ गते दिउँसो आएको भीषण बाढीले बगाएपछि दिक्तेल–गाईघाट सडक पूर्णरुपमा अवरुद्ध छ । मोटरेबल पुलका कारण अवरुद्ध सडक मर्मत गरेर पुनः सञ्चालनमा ल्याउन समय लाग्ने भएपछि प्रतिनिधिसभा सदस्य एवम् नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य रामकुमार राईको नेतृत्वमा दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा ल्याउन श्रमदान गरिएको हो ।
अवरुद्ध सडक सर्वपक्षीय टोलीले दुई दिन लगाएर मर्मत गरेपछि पुनः सञ्चालनमा आएको जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले जानकारी दिनुभयो ।
“चाडपर्वको पूर्वसन्ध्यामा फोक्सिङटारको पुल बगाएपछि दिक्तेल–गाईघाट सडक पूर्णरुपमा अवरुद्ध भएको छ । पूर्वी तराईबाट जिल्ला प्रवेश गर्ने सबैभन्दा छोटो मार्गमा पर्ने दिक्तेल–गाईघाट सडक फोक्सिङटार पुलका कारण अवरुद्ध भएपछि विकल्पको रुपमा दिक्तेल–चखेवाभञ्ज्याङ सडक उपयोग गर्नुपर्ने बाध्यता सिर्जना भयो”, उहाँले भन्नुभयो, “अविरल वर्षाका कारण दिक्तेल–चखेवाभञ्ज्याङ सडकसमेत हिलो, पहिरो र खाल्डाखुल्डीले हिँड्नै नसकिनेगरी बिग्रिएको थियो । कच्ची अवस्थामा सञ्चालन हुँदै आएको सडक अवरुद्ध भएपछि दुई दिन लगाएर ग्राबेल बिच्छ्याइएसँगै यात्रा गर्न मिल्ने बनाएका छौँ ।”
अवरुद्ध सडक मर्मतका लागि डिभिजन वन कार्यालय खोटाङ, सिँचाइ, स्वास्थ्य कार्यालय, हलेसी पेट्रोल पम्प लगायतले मेसिनरी औजारमा प्रयोग हुने इन्धन उपलब्ध गराएको थियो ।
शुक्रबार र शनिबार सञ्चालन गरिएको श्रमदानमा छसय लिटर डिजेल खर्च भएको जिल्ला समन्वय प्रमुख राईले जानकारी दिनुभएको छ ।
जनप्रतिनिधिले सञ्चालन गरेको श्रमदानमा जिल्लास्थित निर्माण व्यवसायी, साकेला गाउँपालिका, मध्यपहाडी लोकमार्ग, सडक डिभिजन कार्यालय लगायतले टिपर, डोजर, ट्याक्टरलगायतका उपकरण उपलब्ध गराएको थियो ।
फोक्सिङटारमा निर्माण गरिएको मोटरेबल पक्की पुल विसं २०७९ पुसमा सञ्चालनमा ल्याइएको थियो ।
खोटाङबाट तराईका जिल्लासँग सिधा सम्पर्क हुने दिक्तेल–गाईघाट सडकखण्डको फोक्सिङटारमा निर्माण गरिएको उक्त मोटरेबल पक्कीअसोज–१२ गते आएको भीषण बाढीले बगायो ।
खोटाङ्गे जनताको दैनिकीसँग जोडिएको दिक्तेल–गाईघाट सडकखण्डको फोक्सिङटार पुल बाढीले बगाएपछि पूर्वी तराईका जिल्लासँगको सिधा यातायात सेवा विच्छेद भएको छ ।
खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने ‘आर्क’ डिजाइनको मोटरेबल पक्की पुल १२० मिटर लामो थियो ।
उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष राजनप्रसाद आचार्यले भन्नुभयो, “जिल्लामा प्रयोग हुने निर्माण सामग्री तथा दैनिक उपभोग्यवस्तु फोक्सिङटार पुल भएरै जिल्ला भित्र्याइन्थ्यो । पुल नहुँदा खोटाङ्गे जनताका लागि दुःखको कुरा हो”, उहाँले भन्नुभयो, “फोक्सिङटारको मोटरेबल पक्की पुल बगाएपछि जिल्लाको विकास दश वर्ष पछाडि धकेलिएको छ । यसप्रति सम्बन्धित निकायले बेलैमा ध्यान दिन जरुरी छ ।”
नेप्से परिसूचकमा ५६ अङ्कको बृद्धि
काठमाडौँ, २० असोजः धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ५६ दशमलव शुन्य नौ अङ्कले उकालो लागेर दुई हजार छ सय ५३ दशमलव ५८ मा पुगेको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक नौ दशमलव ७५ अङ्कले उकालो लागेर चार सय ७६ दशमलव ४६ मा पुगेको छ । कारोबार भएका १३ उपसमूहको शेयर मूल्य नै बढेको छ ।
आजको कारोबारमा कूल एक करोड ५० लाख ४६ हजार सात सय १० कित्ता शेयर रु छ अर्ब १३ करोड ८२ लाख छ हजार सात सय पाँच मूल्यमा कारोबार भएको छ ।
नेप्सेका अनुसार, न्यादी हाइड्रोपावर १०, मध्य भोटेकोशी जलविद्युत् कम्पनी नौ दशमलव ७६, इस्टर्न हाइड्रोपावर नौ दशमलव ६८,गुडबिल फाइनान्स नौ दशमलव २७ र सिनर्जी पावर डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले आठ दशमलव १४ प्रशितले कमाएका छन् ।
यस्तै, विन नेपाल लघुवित्त १०, कुमारी सुलभ योजना नौ दशमलव ४३, एनआइसी एशिया सेलेक्ट फण्ड छ दशमलव ७०, स्वरोजगार लघुवित्त पाँच दशमलव ४९ र उपकार लघुवित्तका लगानीकर्ताले चार दशमलव ४१ प्रतिशले गुमाएका छन् ।
राष्ट्रपतिद्वारा प्रधानन्यायाधीशलाई शपथ
काठमाडौँ, २० असोजः राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले प्रधानन्यायाधीश राउतलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।
शपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज दाहाल, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्री,उपसभामुख, मन्त्रीहरू, सर्वाेच्च अदालतका न्यायाधीशहरू, संवैधानिक अङ्गका प्रमुख, सुरक्षा निकायका प्रमुखलगायत उच्च पदस्थ अधिकारीको उपस्थिति थियो ।
राष्ट्रपति पौडेलले राउतलाई आज बिहान प्रधान न्यायाधीश पदमा नियुक्त गर्नुभएको थियो ।
हरियो सिङ भएका खसीबोका खरिद गर्न सुझाव
काठमाडौँ, २० असोज : काठमाडौँ उपत्यकामा खसीबोका पश्चिम तराई र आसपासका सल्यान, सुर्खेत, रुकुम, रोल्पा, गुल्मी, अर्घाखाँचीबाट भित्रने क्रम सुरु भएको छ ।
चौपाया खरिद बिक्री सङ्घका अध्यक्ष सन्तोषबहादुर खत्रीका अनुसार बाढी पहिरोका कारण बाटो अवरुद्ध हुँदा खोटाङ, ओखलढुङ्गा, रामेछाप, सिन्धुली, उदयपुर र काभ्रेबाट खसीबोका ल्याउन कठिन भएको छ । हरेक वर्ष दसैँमा काठमाडौँ उपत्यकामा ४५ हजार खसीबोका ल्याइने गरेको छ । यसैगरी मनाङ र मुस्ताङबाट भेडाच्याङ्ग्रा र ल्याइँदै छन् ।
काठमाडौँ उपत्यकामा अहिले तराईका खसी जिउँदो प्रतिकिलो रु सात सय २० देखि सात सय ५५, पहाडका खसी रु छ सय ७० देखि सात सय पाँच, बोका रु छ सय ७० देखि सात सय २० सम्म र च्याङ्ग्रा प्रतिकिलो रु एक हजार तीन सयमा बिक्री भइरहेका छन् । काठमाडौँ उपत्यकाको टुकुचा खोला किनारको बजारबाट ११ हजार खसीबोका बिक्री हुने गरेका अध्यक्ष खत्रीले जानकारी दिनुभयो ।
सिङमा हरियो रङ छिटेको हेर्नुस्
यसैबीच, पशु सेवा विभागले उपभोक्ताको स्वास्थ्यलाई दृष्टिगत गर्दै खसीबोका बिक्री भइरहेका स्थानमा पशुचिकित्सकको टोली खटाएर अनुगमन एवं परीक्षण गरिरहेको छ । टुकुचामा खसीबोका स्वास्थ्य परीक्षण गरिरहनुभएका पशु चिकित्सक योगेन्द्रप्रसाद शर्मासँगको कुराकानीमा भन्नुभयो, “स्वास्थ्य खसीबोका बिक्री हुन्छन्, बिरामी बेच्न दिइन्न ।” विभागले स्वास्थ्य खसीबोकाको सिङमा हरियो र बिरामीलाई रातो रङ लगाएको बताउँदै स्वस्थ चौपाया खरिद गर्न सुझाउनुभयो ।



























