देशभर मनसुनी वायुको प्रभाव कायमै
काठमाडौँ, ४ भदौः हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
विभागका अनुसार हाल देशभर आंशिकदेखि साधारणतया बदली रही मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। सबै प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
विभागले भारी वर्षाको पनि सम्भावना रहेका स्थानमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध गरेको छ ।
साफ च्याम्पियनसिपमा भारत विजयी
काठमाडौँ, ३ भदौ : साबिक विजेता भारतले साफ यु–२० च्याम्पियनसिपमा भुटानलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा भारतले भुटानमाथि १–० को जित हासिल गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको हो । भारतका लागि मोनिरूल मोल्लले गोल गरे । उनले खेलको ३७औँ मिनेटमा गरेको एक गोल नै भारतको लागि निर्णायक गोल सावित भयो ।
उक्त प्रतियोगिताअन्तर्गत भोलि बङ्गलादेशले श्रीलङ्कासँग खेल्नेछ ।
भोजपुरको आमचोकमा दाक्बुराङ वनस्पति उद्यान निर्माण
भोजपुर, ३ भदौः पर्यटकीय क्षेत्रको विकाससँगै विभिन्न जातका बोटविरुवाको खोज तथा अनुुसन्धान गर्ने लक्ष्यले भोजपुरको आमचोक गाउँपालिकामा वनस्पति उद्यान निर्माण गरिएको छ । आमचोक–२ यूँमा पर्ने यो स्थानलाई पर्यटकीय क्षेत्रका रूपमा स्थापति गराउन दाक्बुराङ वनस्पति उद्यान निर्माण थालिएको हो ।
समुद्री सतहबाट दुई हजार तीन सय मिटर उचाइमा रहेको यो स्थानमा आर्थिक वर्ष २०७७/८७ बाट उद्यान निर्माण थालिएको हो । यहाँ वनस्पति विभागको अवधारणाअनुसार उद्यानको निर्माण सुरु गरेको थियो । त्यसयता कोशी प्रदेश सरकारको बजेटमा डिभिजन वन कार्यालयले यहाँ उद्यान निर्माण गरिरहेको छ । उद्यान निर्माणमा तीन आवमा गरी प्रदेश सरकारबाट विनियोजन गरिएको रु ७८ लाख बजेट खर्च भइसकेको वन कार्यालयले जनाएको छ ।
उद्यानमा खोजी तथा अनुसन्धानका लागि मध्यपहाडी क्षेत्रमा पाइने विभिन्न प्रजातिका वनस्पति सङ्कलन गरेर रोपन गरिने कार्यालयले जनाएको छ । उद्यानमा पहाडी क्षेत्रको उच्च भागमा पाइने विभिन्न जातका जडीबुटी, रैथाने प्रजाति वनस्पति, विभिन्न जातका लालीगुँरास, सौन्दर्यजन्य बोटविरुवालाई सङ्कलन गरिने डिभिजन वन कार्यालयका सहायक वन अधिकृत खुद्रुस मियाँले जानकारी दिनुभयो ।
दुई सय रोपनी क्षेत्रफल यो स्थानको १० रोपनी क्षेत्रभित्र आवश्यक संरचना निर्माण गरिएको छ । यहाँ प्रशासनिक भवन, अनुसन्धान केन्द्र भवन, प्रदेशद्वार, तीनवटा विश्रामस्थल, शौचालय निर्माण, उद्यानभित्र टायल बिच्छ्याउनेसँगै उद्यान क्षेत्रको घेराबारा गर्ने काम सम्पन्न भएको डिभिजन वनका अधिकृत कपिलदेव अधिकारीले जानकारी दिनुभयो । त्यस्तै यहाँ विभिन्न जातका बोटविरुवाको नर्सरी निर्माण गरिएको उहाँको भनाइ छ । यो आवमा उद्यानको थप विकासका लागि प्रदेश सरकारबाट रु २० लाख विनियोजन भएको उहाँले जानकारी दिनुभयो ।
“उद्यानको भौतिक निर्माणको काम करिव अन्तिम चरण पुगेको अवस्था छ”, उहाँले भन्नुभयो, “उद्यानमा पर्यटन तथा अनुसन्धानमा सहयोग पुग्ने खालका आवश्यक संरचना निर्माण गरिएको छ । खोजीकर्ताले यहाँ आएर एकसाथ धेरै खालका वनस्पतिको खोज तथा अनुसन्धान गर्न सक्नेछन् ।”
उद्यान निर्माणले यहाँको पर्यटकीय क्षेत्रको संरक्षणसँगै स्थानीयवासीको आयआर्जन वृद्धिमा सहयोग पुग्ने डिभिजन वन कार्यालयका प्रमुख वीरेन्द्र शाहले बताउनुभयो । यसको थप विकास तथा संरक्षणमा भने स्थानीय नागरिकसँगै स्थानीय सरकारले भूमिका खेल्नुपर्ने उहाँको भनाइ छ । उद्यान निर्माणले आन्तरिक तथा बाह्य पर्यटनको विकासमा टेवा पुग्ने उहाँको धारणा छ ।
“बहुउद्धेश्यसहित यहाँ वनस्पति उद्यान निर्माण गरिएको छ”, प्रमुख शाहले भन्नुभयो, “उद्यान निर्माणले यहाँका नागरिकको जीवनस्तर सुधारमा केही टेवा पुग्छ भन्ने हामीले अपेक्षा लिएका छौँ । उद्यानले पहाडी क्षेत्रमा पाइने वनस्पतिको खोजी तथा अनुसन्धानमा पनि सहयोग पुग्नेछ ।”
यो स्थानलाई पर्यटकीय गन्तव्यसँगै एक अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने लक्ष्यले काम भइरहेको गाउँपालिका अध्यक्ष अशोक राईले बताउनुभयो । यो ठाउँमा वनस्पति उद्यान निर्माणले गाउँपालिकाको पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने उहाँको भनाइ छ ।
“यहाँको पर्यटकीय क्षेत्रको विकाससँगै विभिन्न वनस्पतिको खोज तथा अनुसन्धान गर्ने उद्देश्यले उद्यान निर्माण भइरहेको छ”, अध्यक्ष राईले भन्नुभयो, “यो स्थान पर्यटनको निकै राम्रो सम्भावना बोकेको क्षेत्र हो । उद्यान निर्माणले यसको थप उजागर हुन्छ । संरक्षण तथा थप विकासका लागि गाउँपालिकाको तर्फबाट आवश्यक भूमिका खेलिरहेका छौँ ।”


जनैपूर्णिमा: गाउँघरमा लोपोन्मुख हुँदैछ जनै बनाउने सीप
मध्यविन्दु (नवलपरासी), ३ भदौ : पछिल्लो समय गाउँघरमा जनै बनाउने प्रचलन हराउँदै जाँदा बाह्य उत्पादनको भर पर्नुपर्ने अवस्था सृजना भएको छ । युवापुस्ताले जनै बनाउन चासो नदिँदा तथा सुलभ मूल्यमा बजारमा किन्न पाइँदा जनै बनाउनेक्रम हराउँदै गएको बर्दघाट सुस्तापूर्व कावासोती–६ का शालिकराम न्यौपानेले बताउनुभयो । “अधिकांश युवा वैदेशिक रोजगारीमा गएकाले पनि जनै बनाउने सीप नहुँदा हिजोआज यो क्रम हराउँदै गएको पाइन्छ”, उहाँले भन्नुभयो, “सहजता र आधुनिकताले पनि धेरै परम्परा र मौलिक सीप लोप हुँदै गएका छन् ।”
केही वर्ष अगाडिसम्म जनै बनाएर आफन्तलाई पनि दिने गरेको भए तापनि पछिल्लो समय बजारबाट खरिद गरी प्रयोग गर्ने गरेको कावासोती–१७ का धनपति अधिकारीले बताउनुभयो । “पछिल्लो समय युवाले नियमित जनै लगाउनै छाडे”, उहाँले भन्नुभयो, “अहिलेका छोरानातिले जनै लगाएर के हुन्छ भनेर उल्टै आफ्नो रीतिरिवाज भुल्न थालेका छन् । यो चिन्ताको विषय हो ।”
गाउँमा अहिले जनै बाट्नै छाडिसकेको अधिकारीले बताउनुभयो । जनैपूर्णिमाका लागि बजारबाट मेसिनले बाटेको जनै खरिद गरेर ल्याएको उहाँले बताउनुभयो । बजारमा विदेशबाट आयातित र विभिन्न मेसिन तथा उपकरण प्रयोगबाट बनाइएका जनै फरक–फरक मूल्यमा उपलब्ध हुने गरेका छन् । नयाँ जनै फेर्नुपर्ने हिन्दू संस्कारमा रहिआएको मान्यताअनुसार जनैपूर्णिमाका लागि जनैको कारोबार पनि धेरै हुने गरेको पाइन्छ ।
विगत वर्षहरूमा गाउँघरमा ब्राह्मण तथा क्षेत्री समुदायका व्यक्तिहरूले एक महिना अघिदेखि नै जनै बाट्न सुरु गर्ने गरेको र त्यो नै उत्कृष्ट जनै रहने गरेको पण्डित बुद्धिसागर भण्डारीले बताउनुभयो । “आफ्नै हातले धागो सङ्ग्ल्याएर, कतुवामा बाटेको जनै नै राम्रो हो, हिजोआज मेसिनको प्रयोगबाट जनै लगाउनु बाध्यता भइसक्यो”, उहाँले भन्नुभयो, “भारतबाट आउने जनै निकै सस्तो हुन्छ, तर त्यसको बनावट राम्रो र उपयुक्त हुँदैन ।”
पछिल्लो समय हिन्दू धर्मावलम्बीको पवित्र पर्वका रूपमा मनाइने जनपूर्णिमाको महत्त्व नयाँ पुस्ताले बिर्सँदै गएको पण्डित भण्डारीले गुनासो गर्नुभयो । “रक्षाबन्धनका दिन नजिकैको धार्मिक मठमन्दिरमा गएर विधिपूर्वक पूजाआजा गर्नुपर्ने भए तापनि बजारमा भित्रिएका जनै र धागोलाई प्रयोग गर्न थालिएको छ”, उहाँले भन्नुभयो, “आधुनिकताका नाममा र युवापुस्ता व्यस्त रहने हुँदा संस्कृति लोप हुने अवस्थातिर पुग्ने हो कि भन्ने चिन्ता थपिएको छ ।”
शास्त्रीय मान्यताअनुसार विशेषगरी तागाधारी (ब्राह्मण, क्षेत्री, वैश्य) वर्गले वर्ष दिन वेद पढ्नुपर्ने र त्यसको साङ्गे (समाप्ति)को दिनका रूपमा जनैपूर्णिमालाई लिइने पण्डित भण्डारीले बताउनुभयो । यस दिन स्नान गरी सप्तऋषिसहित ब्रह्मा, विष्णु, महेश्वरको पूजा गरी जनै मन्तरेर त्यसलाई धारण गर्ने प्रचलन छ । ठाउँठाउँमा पुरोहितले विधि पुर्याएर पूजा गरेको जनै र रक्षाबन्धन धारण गर्नुपर्ने हो उहाँले भन्नुभयो ।
जनैपूर्णिमा (रक्षाबन्धन)का दिन इष्टमित्रसँग जनै लगाउने र रक्षाबन्धन बाँध्नाले शत्रुबाट रक्षा हुने जनविश्वास रहिआएको छ । “तागाधारीले कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, विश्वामित्र र अरुन्धतीसहित सप्तऋषिलाई तर्पण दिने भएकाले जनपूर्णिमालाई ऋषितर्पणी पनि भन्ने गरिएको छ”, उहाँले भन्नुभयो, “हिन्दू धर्मावलम्बीले यस पूर्णिमाको दिन नजिकैको तीर्थस्थलमा गई मन्त्रोच्चारण गरी विधिपूर्वक पूजाआजा गरेर घरमा लगेको जनै र रक्षाबन्धन लगाएर जनैपूर्णिमा पर्व मनाउने परम्परा रहिआएको छ ।”
लामीडाँडा विमानस्थल उद्घाटन गरेको पाँच वर्ष बित्यो, अझै नियमित उडानको टुङ्गो छैन
खोटाङ, ३ भदौः जिल्लाको सबैभन्दा पुरानो लामीडाँडा विमानस्थल कालोपत्र गरिएपछि २०७६ साल असार ३ गते परीक्षण उडान भएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणको रु छ करोड ७६ लाख ९३ हजार लगानीमा कालोपत्र सम्पन्न गर्ने काम सम्पन्न भएपछि तत्कालीन संविधानसभा सदस्य विशाल भट्टराईले सोही दिन परीक्षण उडानको शुभारम्भ समेत गर्नुभएको हो ।
समिट एयरको नाइन एन–एएम्जी विमानले परीक्षण उडान भरेपछि उद्घाटन गरिएको कार्यक्रमलाई उहाँले लामीडाँडा विमानस्थलमा नियमित उडान भराउनका लागि प्राधिकरणसँग छलफल भइरहेको जानकारी दिनुभएको थियो । तर, विमानस्थलमा परीक्षण उडान भरेपछि अहिलेसम्म एकपटक पनि विमान उडान तथा अवतरण भएको छैन ।
विसं २०२८ देखि कच्ची अवस्थामा नियमित सञ्चालन हुँदै आएको विमानस्थलको टनिङ प्याडमा दायाँबायाँ २८–२८ मिटर कालोपत्र गरिएको गरिएको छ । पाँच सय २० मिटर लम्बाइ र २० मिटर चौडाइको विमानस्थल कालोपत्र गर्ने जिम्मा वाइएनएस, एसएपी र सूर्य कन्ट्रक्सन प्रालिले कालोपत्र गरेको हो ।
जिल्लाको प्रमुख धार्मिक तथा पर्यटकीयस्थल हलेसी आउने भक्तजन तथा पर्यटकका साथै ओखलढुङ्गा र सोलुखुम्बुका स्थानीय बासिन्दालाई सेवा दिने उद्देश्यले निर्माण गरिएको विमानस्थल यसअघि जिल्लाको निकै व्यस्त रहने विमानस्थलमा पथ्र्याे । स्थानीय बासिन्दाले कुटो तथा कोदालो प्रयोग गरेर २०२६ सालदेखि निर्माण सुरु गरेको विमानस्थल दुई वर्षपछि २०२८ सालबाट कच्ची अवस्थामै नियमित उडान सञ्चालनमा ल्याइएको थियो ।
अठचालीस वर्षसम्म कच्ची अवस्थामा नियमित उडान हुँदै आएको विमानस्थलमा कालोपत्र गरिएसँगै नियमित उडान बन्द हुँदा स्थानीय बासिन्दा समस्यामा परेका छन् । कालोपत्र गरिएको विमानस्थलमा नियमित उडान नभएपछि दुर्घटनाका घाइते तथा बिरामीलाई हेलिकप्टर चार्टर गरेर अन्यत्र उपचारमा लानुपर्ने बाध्यताले स्थानीय बासिन्दा समस्यामा परेका हुन् ।
तीन जिल्लाका स्थानीय बासिन्दा तथा त्रिधार्मिकस्थल हलेसी आवतजावत गर्ने भक्तजन एवं पर्यटकले सेवा लिँदै आएको विमानस्थलको उडान कटौती गरेर राज्यले आफूहरूमाथि ठूलो अन्याय गरेको रावाबेँसी गाउँपालिका प्रमुख फटिककुमार श्रेष्ठले आरोप लगाउनुभएको छ । “स्थानीय बासिन्दाले कुटो र कोदालो प्रयोग गरेर सञ्चालनमा ल्याएको लामीडाँडा विमानस्थलमा कालोपत्र भएको छ । तीन जिल्लाका जनताले नियमित उपयोग गर्दै आएको हवाई सुविधा खोस्ने काम भएको छ”, उहाँले भन्नुभयो, “नियमित उडान भराउन सम्बन्धित निकायमा पटकपटक अनुरोध गरिरहेका छौँ । राज्यको ठूलो लगानीमा कालोपत्र गरिएको विमानस्थल पुनः सञ्चालनमा ल्याउन अहिलेसम्म कसैले पनि चासो दिएका छैनन् । यसप्रति ध्यान जान जरुरी छ ।”
लामीडाँडा विमानस्थलमा उडान कटौती गरेपछि कर्मचारी र आवश्यकीय उपकरणसमेत उठाएर अन्यत्र लगेको स्थानीय बासिन्दाले बताएका छन् । राज्यकोषको लगानीमा कालोपत्र गरिएको विमानस्थल उपयोगविहीन भएपछि सरकारको आलोचना हुँदै आएको छ ।
विमानस्थलमा उडान कटौती हुनुको कारण पत्ता लगाएर नियमित उडान भर्नेगरी पहल भइरहेको सांसद रामकुमार राई ‘पासाङ’ले बताउनुभयो । “लामीडाँडा विमानस्थलमा उडान कटौती हुनु दुःखद् विषय हो । राज्यकोषको लगानीमा कालोपत्र गरिएको लामीडाँडा विमानस्थल छ वर्षदेखि उडान अवरुद्ध छ”, उहाँले भन्नुभयो, “नियमित उडान भर्नेगरी सम्बन्धित निकायमा पहल गरिरहेको छु । अहिलेसम्म कुनै नतिजा आएको छैन । यद्यपि, पहल गर्ने काम भइरहेको छ ।”
दश स्थानीय तह रहेको खोटाङ जिल्लामा तीनवटा विमानस्थल छन् । जिल्लाका सबै क्षेत्रका स्थानीय बासिन्दालाई हवाई सेवा उपलब्ध गराउने उद्देश्यले निर्माण गरिएका तीनवटै विमानस्थल नागरिक उड्डयन प्राधिकरणको लगानीमा कालोपत्र गरिएका छन् । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने खोटेहाङ गाउँपालिका–४ बडकादियालेमा निर्माण गरिएको थामखर्क र जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार नजिक खाल्लेस्थित मनमाया राई खानीडाँडा विमानस्थलमा भने नियमित उडान भइरहेको छ । खानीडाँडा र थामखर्क विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाजले काठमाडौँका लागि नियमित उडान भर्दै आएको जनाइएको छ ।
प्राधिकरणको रु सात करोड २४ हजार तीन सय ८० लागतमा लामा बुइल्डर्स÷चाङ्मिला जेभी निर्माण कम्पनी कालोपत्र गरेको खानीडाँडा विमानस्थलमा हप्ताको दुईपटक उडान हुँदा सबैभन्दा बढी जिल्ला अस्पताल दिक्तेलबाट अन्यत्र ‘रेफर’ गरिएका बिरामीलाई सहज भएको छ । दक्षिणी क्षेत्रमा पर्ने थामखर्क विमानस्थल रौता कन्स्ट्रक्सन प्रालिले प्राधिकरणको रु १० करोड ६० लाख ७१ हजार लगानीमा कालोपत्र गरेको हो ।
ललितपुरको छम्पीमा भैरवको ख्वापाःसहितको आर्ट भिलेज
काठमाडौँ, २ भदौः ललितपुर गोदावरीको छम्पीमा भैरवको ख्वापाः (मुखाकृती)सहितको ‘नेपाल आर्ट भिलेज’ निर्माण हुने भएको छ । पञ्चधातु प्रयोग गरी निर्माण गरिने भैरवको ख्वापाः ७२ फिट अग्लो, ५८ फिट चौडाइ र ६५ टन तौलको हुने र उक्त ख्वापाः विश्वकै ठूलो हुने परियोजनाका संस्थापक सदस्य एवं प्रवक्ता रुपकमान महर्जनको दाबी छ ।
ख्वापाःलाई पाँच तलाको आरसिसी भवनमा फ्रेम बनाएर एसेम्बल गरिनेछ । भवनको अगाडीपट्टी ख्वापाः र भवनमा कला सङ्ग्रहालय स्थापना हुनेछ । कूल २३८ रोपनी क्षेत्रफलमा फैलिने परियोजनाको पहिलो चरणमा ५२ रोपनी क्षेत्रमा भैरवको ख्वापाः तथा अन्य सम्पदा र १८६ रोपनी क्षेत्रफलमा कलाग्राम रहनेछ ।
“भैरवको ख्वापाःको अवलोकनसँगै भैरवसँग सम्बन्धित जानकारी अध्ययन गर्न पाइनेछ”, प्रवक्ता महर्जनले भने, “भवन परिसरमा भगवान गणेशका १६ प्रकारका मूर्ति तथा ६४ वटा विभिन्न भैरवका मूर्ति समेत राखिनेछन् ।” मुखाकृतिको ४२ फिटको उचाईमा भएको भैरवको आँखा (भैरवदृष्टि) बाट काठमाडौँ उपत्यका तथा मनोरम हिमश्रृङ्खलाको अवालेकन गर्न सकिने जनाइएको छ ।
ख्वापाः परिसरमा विभिन्न समुदायको रैथाने परिकार उपलब्ध हुने भोजनस्थल तथा सभा कक्ष निर्माण गरिनेछ । परम्परागत जीवनशैली झल्काउने देवीदेवताका मठमन्दिर, ढुङ्गेधारा, पोखरी र बगैँचा जस्ता भौतिक कलायुक्त सम्पदा, प्रदर्शनी कक्ष, सभागृह, रंगमञ्च, हेलिप्याड, पुरातन बस्ती, बृद्धाश्रम, विवाहमण्डप, योग केन्द्र, भ्वय् छें (ब्याङ्कवेट), टेन्ट क्याम्प, साहसिक एवं मनोरञ्जनात्मक खेलकूद, स्वीमिङपुल लगायतको समेत सुविधा हुने बताइएको छ ।
परियोजनालाई कला नगरीका रुपमा विकास र प्रवद्र्धधन गर्ने उद्देश्य लिइएको छ । महर्जनका अनुसार त्यहाँ निर्माण हुने हरेक पूर्वाधारमा कला देख्न पाइनेछ । वरिष्ठ कलाकार स्व. राजकुमार शाक्यको नेतृत्वमा ख्वापाः निर्माण सुरु भएको थियो । हाल शाक्यका दुई छोरा स्वरुप र सौरभ शाक्य नेतृत्वको कलाकार टोलीले उक्त जिम्मेवारी लिएको छ ।
प्रसिद्ध मूर्तिकार राजेश अवालेको परिकल्पनामा विसं २०७४ मा जग्गा एकीकरण÷सङ्कलन गरी सुरु भएको परियोजनाको २०७७ सालमा विधिवत् रुपमा शिलान्यास गरिएको थियो । तर संस्थापक अध्यक्ष तथा प्रसिद्ध कलाकार राजकुमार शाक्यको निधनका कारण निर्माण प्रक्रिया केही समय सुस्ताएको थियो । हाल भैरव ख्वापाः निर्माण कार्य तीव्र गतिमा भइरहेको नेपाल आर्ट भिलेज प्रालिका अध्यक्ष राजेन्द्र शाक्यले जानकारी दिनुभयो ।
विभिन्न क्षेत्रका ऊर्जावान कलाप्रेमी, व्यापारी, सामाजिक उद्यमी एवम् समाजका अग्रज एवम् प्रबुद्ध व्यक्तित्व समेतको संलग्नतामा परियोजना सुरु गरिएको शाक्यको भनाइ छ । कम्पनीका सञ्चालकमा अध्यक्ष राजेन्द्र शाक्यसहित राजेश अवाले, रुपक मान महर्जन, जीवन रत्न शाक्य, मदन मान महर्जन, उर्मिला शाक्य र सानुछोरी शाक्य हुनुहुन्छ ।
परियोजना नेपाली कलासंस्कृतिकको जगेर्ना, परम्परागत सीप, कौशलको उजागर, प्रचारप्रसार तथा पर्यटन प्रबद्र्धनका लागि आवश्यक योजना तथा कार्यक्रम तय गरी अनुसन्धान र विकास गर्ने उद्देश्यले सुरु गरिएको परियोजनाका संस्थापक सदस्य एवं प्रवक्ता रुपकमान महर्जनले बताउनुभयो ।
कलाग्राम ललितपुरको एकान्तकुनाबाट भैँसेपाटी–बुङ्गमति हुँदै १० दशमलव पाँच किलोमिटर, एकान्तकुनाबाट चुनिखेल हुँदै १३ किलोमिटर र सातदोबाटोबाट चापागाउँ हुँदै १५ किलोमिटरको दूरीमा छ । हाल त्यहाँ पुग्ने सडकमार्ग स्तरोन्नतिका लागि सम्बन्धित निकायमा पहल भइरहेको र काम अघि बढाइएको जनाइएको छ । ललितपुरबाट हेटौँडा जोड्ने कान्ति लोकपथको टिकाभैरवबाट तीन किलोमिटरको दूरीमा पुग्न सकिन्छ । हाल यस क्षेत्रमा सडक र खानेपानीका लागि केन्द्र र प्रदेश दुबै सरकारबाट समेत बजेट विनियोजन भइसकेको जनाइएको छ ।
परियोजनाअन्तर्गत नेपाली वास्तुकला शैलीमा आवास भवन निर्माण गरिनेछ । आवास क्षेत्रलाई व्यापारिक, पुरातन शैलीको घरबास र निजी निवास निर्माण गरिनेछन् । व्यापारिक क्षेत्रमा कम्पनीको नियमअनुसार व्यापार व्यवसाय सञ्चालन गर्न सकिनेछ । परम्परागत घरबास कार्यक्रमलाई पर्यटन प्रवद्र्धन हुने गरी सञ्चालन गरिनेछ ।
साथै परम्परागत कला, सीप र प्रविधिसहितको कलाग्राम स्थापना गरिनेछ । कलाग्राममा नेपाली सांस्कृतिक सम्पदाको जगेर्ना, हस्तकला उत्पादन र प्रदर्शन तथा आन्तरिक र बाह्य पर्यटनलाई बढावा दिने उद्देश्य लिइएको छ । कलाग्राममा हस्तकलाका परम्परागत हस्तकलाका आठ विधिहरु सुनचाँदीका गरगहना, थं ज्याः (तामा पित्तल र काँसका भाँडाकुँडा तथा मूर्तिहरु), थ्व ज्याः, मा ज्याः (तामा पित्तलका पत्रका भाँडकुँडा तथा मूर्तिहरु), काष्ठकला, प्रस्तर कला, पौवा कला, चा ज्याः (माटाका भाँडाकुँडा) र नः ज्याः (विभिन्न हातहतियार तथा आवश्यक घर घरानामा उपयोग हुने फलामका सरसामान)लाई प्राथमिकता दिइ तालिम केन्द्र सञ्चालन पनि गर्ने योजना छ । भविष्यमा नेपाल भरका अन्य हस्तकलाका विधा पनि समावेश गर्ने लक्ष्य छ ।
कम्पनीका अनुसार परियोजनालाई प्राकृतिक रुपमा समेत उपयोगी बनाउन ग्राममा वनस्पति उद्यान केन्द्र पनि बनाइनेछ । केन्द्रमा लोपोन्मुख र बहुउपयोगी वनस्पति संरक्षण र सम्बर्द्धनको उद्देश्य लिइएको छ ।
दिगो विकासका लागि प्राकृतिक सम्पदाको महत्वबारे जनचेतना फैलाई प्रकृतिमैत्री विकास, जैविक विविधता संरक्षण, नवीकरणीय ऊर्जा प्रयोगमा जोड, थोपा सिँचाइ प्रणाली, वृक्षारोपण, माटो परीक्षण, बागवानी व्यवस्थापन जस्ता विषयमा परामर्श सेवा प्रदान गरिनेछ । वातावरणसम्बन्धी अगुवाद्वारा कार्यशाला तथा सेमिनार सञ्चालन गरिनेछ । विद्यालय तथा विश्वविद्यालयका विद्यार्थीका लागि जीवन्त प्रयोगशाला (लाइभ ल्याबोरेटोरी) केन्द्रका रुपमा उद्यानको विकास गरिनेछ ।
आगन्तुकलाई ‘जङ्गल पथ’बाट जङ्गल परिक्रमा गराउने व्यवस्था गरिनेछ । परिक्रमाका क्रममा वन्यजन्तु, पशुपंछी तथा वनस्पतीको विविधता अवलोकन गर्ने अवसर मिल्ने छ । यस क्षेत्रमा पदयात्रा, साइक्लिङ, क्याम्पिङ र क्याम्पफायरका लागि स्थान पहिचान र विकास गरिने जनाइएको छ ।
पानीको चुहावट नियन्त्रण गर्न मन्त्री यादवको निर्देशन
काठमाडौँ, २ भदौः खानेपानीमन्त्री प्रदीप यादवले पानीको चुहावट नियन्त्रणका लागि निर्देशन दिनुभएको छ । आज महाँकाल चौर पानी पोखरी, थोक वितरण प्रणाली निर्माण आयोजना बागमती कोरिडोर गोकर्ण तथा फोहर पानी प्रशोधन केन्द्र गुह्येश्वरीको अवलोकनपछि उहाँले काठमाडौँका विभिन्न स्थानमा पानीको चुहावट भइरहेको उल्लेख गर्दै त्यसलाई नियन्त्रण गरी पानी वितरण गर्न निर्देशन दिनुभएको हो ।
“विभिन्न ठाउँमा खानेपानीका पाइप फुटेर पानी चुहावट भइरहेको जनगुनासो छ”, उहाँले भन्नुभयो, “चुहावट नियन्त्रण गरी जनतालाई पानी वितरण गरौँ ।” मन्त्री यादवले खानेपानीका पाइप फुट्दा त्यसमा दिसा मिँसिदा फोहरपानी पनि आपूर्ति भइरहेको उल्लेख गर्दै त्यसमा सचेत रहन निर्देशन दिनुभयो ।
खानेपानीको क्षेत्रमा देखिएका समस्या समाधानका लागि आवश्यक पर्ने बजेटका लागि आफूले पहल गर्ने बताउनुहुँदै मन्त्री यादवले भन्नुभयो, “शुद्ध खानेपानी वितरणका लागि चाहिने बजेटको जोहो गर्ने जिम्मा म लिन्छु । पानीको चुहावट रोक्नुस् । काठमाडौँका जनतालाई वर्षभरी शुद्ध पानी खुवाउनुस् ।”
उहाँले महाँकाल चौरमा निर्माणाधीन नयाँ पोखरी समयमै काम सम्पन्न गर्न निर्देशन दिनुभयो । मन्त्रीयादवले आयोजना कार्यान्वयन निर्देशनालयद्वारा विस्तार भइरहेको मेलम्चीको पानीवितरण गर्न थप पाइपलाइन लेइङ र गुह्येश्वरी फोहोर पानी प्रशोधन केन्द्र समेत निरीक्षण गर्नुभएको थियो ।
चौध खर्ब ४५ अर्ब विप्रेषण भित्रियो
काठमाडौँ, २ भदौ : गत आर्थिक वर्ष २०८०/८१ मा रु १४ खर्ब ४५ अर्ब ३२ करोड बराबरको विप्रेषण मुलुकमा भित्रिएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरणअनुसार विप्रेषण आप्रवाहमा १६ दशमलव पाँच प्रतिशतले वृद्धि भएको हो ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह १४ दशमलव पाँच प्रतिशतले वृद्धि भई १० अर्ब ८६ करोड पुगेको छ । आव २०७९/८० मा यस्तो आप्रवाह १३ दशमलव नौ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या चार लाख ६० हजार एक सय तीन र पुनःश्रम स्वीकृति लिनेको सङ्ख्या दुई लाख ८१ हजार एक सय ९९ रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः चार लाख ९७ हजार सात सय चार र दुई हजार ७७ हजार दुई सय ७२ रहेको थियो । समीक्षा वर्षमा खुद ट्रान्सफर १४ दशमलव सात प्रतिशतले वृद्धि भई रु १५ खर्ब ७१ अर्ब २४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो ट्रान्सफर २२ दशमलव पाँच प्रतिशतले बढेको थियो ।
मूल्यवृद्धि पाँच दशमलव ४४ प्रतिशत
काठमाडौँ, २ भदौः गत आर्थिक वर्ष २०८०/८१ को वार्षिक औसत मुद्रास्फीति पाँच दशमलव ४४ प्रतिशत रहेको छ ।
नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको गत आर्थिक वर्षको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार मूल्यवृद्धि वाञ्छित सीमाभित्र देखिएको हो । राष्ट्र बैङ्कका आनुसार गत आवमा आयात एक दशमलव दुई प्रतिशतले र निर्यात तीन प्रतिशतले घटेको छ । अघिल्लो वर्ष आयात १६ दशमलव एक प्रतिशतले र निर्यात २१ दशमलव चार प्रतिशतले घटेको थियो ।
गत आवमा विप्रेषण आप्रवाह १६ दशमलव पाँच प्रतिशतले बढेर रु १४ खर्ब ४५ अर्ब ३२ करोड पुगेको छ ।
त्यस्तै शोधनान्तर स्थिति रु पाँच खर्ब दुई अर्ब ४९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति रु दुई खर्ब ८५ अर्ब ८२ करोडले बचतमा रहेको थियो । गत आवमा कूल विदेशी विनिमय सञ्चिति १५ अर्ब २७ करोड अमेरिकी डलर रहेको छ । उक्त सञ्चिति १३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ । यो अवधिमा विस्तृत मुद्राप्रदाय १३ प्रतिशतले बढेको छ ।
गत आवमा बैङ्क तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन १३ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा पाँच दशमलव आठ प्रतिशतले बढेको छ । गत असार मसान्तमा बैङ्क तथा वित्तीय संस्थाहरुमा रहेको कूल निक्षेप रु ६४ खर्ब ५२ अर्ब र निजी क्षेत्रमा प्रवाहित कर्जा रु ५० खर्ब ७४ अर्ब पुगेको छ ।
जनतामा जानुको विकल्प छैन : अध्यक्ष दाहाल
काठमाडौँ, २ भदौ : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताका मुद्दालाई रक्षा गर्न सडक र सदनबाट प्रभावकारी कदम चालिने बताउनुभएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा माओवादीका पूर्वकेन्द्रीय सदस्य एवं सहिद रामवृक्ष यादवको स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा उहाँले आफूलाई जनता र वर्गप्रति फर्कने अवसर प्राप्त भएको बताउनुभयो । पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष दाहालले भन्नुभयो, “जनताका मुद्दा खोसिने हुन् कि भन्ने आशङ्का जन्मिएको छ, प्रश्नहरू जन्मिएका छन् । जनताका मुद्दा रक्षा गर्न जनतामा जानुको विकल्प छैन । मैले सदन र सडकबाट सङ्घर्षको विकल्प देखेको छैन ।” उहाँले वर्तमान सत्तागठबन्धनको उद्देश्य गलत रहेको आरोप लगाउनुभयो । सरकारमा रहेर हामीले जनताको पक्षमा प्रभावकारी रुपमा कार्यसम्पादन गरेका कारण विरोधीहरू आत्तिएर नयाँ गठबन्धन बनाएको अध्यक्ष दाहालको भनाइ थियो ।
पार्टीलाई थप सुदृढ बनाउनेतिर अगाडि बढेको र त्यसको परिणाम छिट्टै देखिने अध्यक्ष दाहालले बताउनुभयो । स्पष्ट कार्ययोजनाका साथ पार्टीलाई एकताबद्ध गर्दै जनपरिचालनको गृहकार्य भइरहेको उहाँले उल्लेख गर्नुभयो । भ्रष्टाचार नियन्त्रण र सुशासनको पक्षमा दृढतापूर्वक कदम चालिएका कारण आफ्नो नेतृत्वको सरकार विस्थापित गरिएको अध्यक्ष दाहालले बताउनुभयो । नेपाली जनताले प्रष्ट रुपमा बुझेको उल्लेख गर्दै उहाँले भ्रष्टाचारकाविरुद्ध आफूहरु लगातार उभिने दृढता व्यक्त गर्नुभयो । उहाँले जनताका मुद्दाका रक्षाका निम्ति माओवादी केन्द्रले सङ्घर्षको मोर्चालाई सुदृढ गर्नेसमेत बताउनुभयो ।
अध्यक्ष दाहालले भन्नुभयो, “रामवृक्ष यादव मधेसी जनताको आन्दोलनको बीचबाट जन्मिएको लोकप्रिय नेता हुनुहुन्थ्यो । उहाँ पार्टीभित्र मात्र नभएर बाहिर पनि लोकप्रिय हुनुहुन्थ्यो । रामवृक्ष मृदुभाषी, बहुआयमिक प्रतिभाका धनी हुनुहुन्थ्यो । मधेसमा जनयुद्धको आधार तयार पार्न उहाँले महत्वपूर्ण भूमिका खेल्नुभयो ।”
तत्कालीन एकता–केन्द्रका केन्द्रीय सदस्य रामवृक्ष यादव २०५१ सालमा सहिद हुनुभएको थियो । कार्यक्रममा पार्टी उपाध्यक्ष अग्निप्रसाद सापकोटा, महासचिव देवप्रसाद गुरूङ, उपमहासचिव गिरिराजमणि पोखरेललगायतका नेताहरूको सहभागिता रहेको थियो ।
























