शुक्रबार, १२ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01J5G0NFJSKC77PBH6Y1271RNK.jpg

‘हुक्काभित्र ट्वार्र ! ट्वार्र !’ सार्वजनिक

_

काठमाडौँ, १ भदौ : गीतकार रामबाबु सुवेदीका शब्द र वसन्त सापकोटाको सङ्गीतमा बालगीत ‘हुक्काभित्र ट्वार्र ! ट्वार्र !’ को श्रव्यदृश्य सार्वजनिक भएको छ ।     
     
“हुक्काभित्र ट्वार्र ! ट्वार्र ! चेतनामूलक बालगीत हो । यसमा हाम्रा नानीबाबुहरू प्रश्न गर्छन् कि तमाखु, चुरोट, खैनी किन सेवन गर्ने ? यी सबै स्वास्थ्यका लागि हानिकारक छन् । उनीहरू भन्छन्, हामी नानीबाबुहरू अम्मली छैनौँ, हामी स्वस्थ नेपालका स्वस्थ बालबालिका हौँ । नानीबाबुहरूका सत्य भनाइ हाम्रा लागि अचुक वाण हुन्”, भिडियोमा भनिएको छ ।     
     
बाल नमूना माध्यमिक विद्यालयमा शुक्रबार भएको एक कार्यक्रममा पूर्वसांसद माया ज्ञवाली, ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति केके कर्माचार्य, वरिष्ठ सङ्गीतकार एवं गायक रामेश श्रेष्ठ र अनन्त वाग्लेलगायत बालसाहित्यकारको उपस्थितिमा उक्त भिडियो सार्वजनिक गरिएको हो ।     
     
उक्त भिडियोमा पूजा देवकोटा, दर्शिल पन्त, टेरेसा विश्वकर्मा र प्रशन्न तामाङको स्वर रहेको छभने यसको निर्माणमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सहयोग गरेको छ । भिडियोमा बाल नमूना माध्यमिक विद्यालयका नानी बाबुहरूको नृत्य र अभिनय छ । आचार्य गोपालको निर्देशनमा बनेको भिडियोमा ख्यातिप्राप्त कलाकार रामचन्द्र अधिकारीले पनि अभिनय गर्नुभएको छ ।     


_

प्रकाशित मितिः शनिबार, ०१ भदौ २०८१
https://jawaaf.com/storage/01J5FNYRJ4QPWNB0HR89HD1Y0J.webp

चीनको युवा बेरोजगारी दरमा वृद्धि

_

बेइजिङ, १ भदौ (रासस / एएफपी) :  चीनको युवा बेरोजगारी दर जुलाई महिनामा बढेर १७.१ प्रतिशत पुगेको आधिकारिक तथ्याङ्कले देखाएको छ जुन यस वर्षकै सबैभन्दा उच्च हो ।     
     
राष्ट्रिय तथ्याङ् विभागको तथ्याङ्क अनुसार १६–२४ वर्ष उमेर समूहका मानिसहरुको बेरोजगारी दर जुन महिनामा १३.२ प्रतिशत रहेको थियो । युवाहरूमा बढ्दो बेरोजगारी विश्वको अर्थतन्त्रले सामना गरिरहेको अवरोधहरू मध्ये एउटा हो ।  एनबीएसले सार्वजनिक गरेको तथ्याङ्क अनुसार देशमा २५–२९ वर्ष उमेरका युवामा बेरोजगारी दर अघिल्लो महिना ६.४ प्रतिशतबाट बढेर जुलाईमा ६.५ प्रतिशत पुगेको छ ।     
     
यसै सन्दर्भमा राष्ट्रपति सी जिनपिङले मे महिनामा बढ्दो युवा बेरोजगारीको अवस्थालाई “शीर्ष प्राथमिकता“ राखेर अगाडी बढ्नु पर्ने बताउनुभएको छ । जुन महिनामा ११.८ मिलियन विद्यार्थीहरूले चीनको विश्वविद्यालयबाट स्नातक गरेसँगै रोजगार बजारमा अझै प्रतिस्पर्धा बढेको छ ।    


_

Subscribe to JawaafTV : श्रव्यदृश्यमा हरपलको खबर जवाफ टिभी मा...

प्रकाशित मितिः शनिबार, ०१ भदौ २०८१
https://jawaaf.com/storage/01J5FNH8QQG452JX6M9Y1YZ921.jpg

भ्रष्टाचारविरुद्ध काम गर्दागर्दै हामीलाई सरकारबाट हटाइयो : अध्यक्ष दाहाल

_

काठमाडौँ, १ भदौ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायी समिति बैठकको समापनपछि पार्टी झन् एकताबद्ध भएको स्पष्ट पार्नुभएको छ । पोष्टबहादुर बोगटीको नवौँ स्मृति दिवसका अवसरमा आज केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित कार्यक्रममा उहाँले पार्टीभित्रका शङ्का, उपशङ्का, विवाद र मतभेदलाई कसरी समाधान गरेर पार्टीलाई एकताबद्ध गर्ने र जनतामा जाने भन्ने विषयमा छलफल भएको बताउनुभयो ।     
      
  “स्थायी समिति बैठकसम्म आइपुग्दा उपमहासचिव जनार्दन शर्माले राख्नुभएको मतलाई लिएर पार्टी विभाजन हुन्छ भनेर सुनाउने गरेका थिए”, अध्यक्ष दाहालले भन्नुभयो, “ पार्टी बैठकको अन्त्यसम्म आइपुग्दा पार्टी विभाजन गर्ने नेता शर्माको कुनै उद्देश्य र नियत छैन, यससम्बन्धमा स्वयम् उहाँले नै स्पष्ट पार्नुभएको छ, कसैलाई पार्टी विभाजन हुन्छ भन्ने आशङ्का छ भने त्यसबाट मुक्त हुन देशभरका नेता कार्यकर्तालाई आग्रह गर्दछु ।”     
      
  स्थायी समितिको बैठकमा छलफलका क्रममा नेता शर्माले अरूले मौखिक धारणा राखेजस्तै आफूले लिखित रूपमा धारणा राखेका तर आफ्नो मत फरक नरहेको स्पष्ट पारेको अध्यक्ष दाहालले बताउनुभयो । उहाँले भन्नुभयो, “शर्माले नेतृत्वलाई स्थापित गर्नकै लागि हो भनेर भन्नुभएको छ । उहाँले फरक मत भन्नुभएको छैन । उहाँको दस्ताबेजलाई पनि समेटेर पार्टी अगाडि जान्छ ।”     
      
  पार्टी एकताबद्ध भएर अगाडि बढ्ने जनाउँदै उहाँले भन्नुभयो, “पार्टी विभाजनको चर्चा बाहिर भएको भए पनि पार्टी स्थायी समिती बैठकमा आउँदा त्यो क्लियर भएको छ ।त्यो आंशका मैले लिए पनि अरूले लिए पनि त्यो निराधार भएको कुरा क्लियर भए हुन्छ ।”     
      
  अध्यक्ष दाहालले भ्रष्टाचारविरुद्ध काम गर्दागर्दै आफूलाई सरकारबाट हटाइएको दाबी गर्नुभयो । “पार्टी सरकारमा हुँदा सुशासन, सामाजिक न्यायको सवालमा धेरै काम गरिएको छ । भ्रष्टाचारका विरूद्व सुशासनको पक्षमा महत्वपूर्ण काम भएका छन्, बजेट निर्माणमा पनि उत्पादनमा जोेड दिन खोजिएकोे छ । भ्रष्टाचारविरुद्ध काम गर्दागर्दै हामीलाई सरकारबाट हटाइयो,” उहाँले भन्नुभयो ।     
      
  अध्यक्ष दाहालले साधारण किसान परिवारमा हुर्केर ठूलो राजनीतिक उचाइ हासिल गर्नुभएका बोगटीको व्यक्तित्व र चरित्रले सिङ्गो समाजलाई नै प्रभावित पार्न सक्ने अवस्था रहेको स्मरण गर्नुभयो । “बोगटी पार्टीको नेतृत्वमा आउने र मन्त्री बन्ने मात्र होइन, आफ्नो विशेषता र चरित्रद्वारा सिङ्गो समाजलाई प्रभावित गर्नुभयो”, उहाँले भन्नुभयो, “पार्टी अप्ठ्यारो अवस्थामा पुगेको अवस्थामा सम्पूर्ण जिम्मेवारी बोगटीलाई लगाइन्थ्यो, उहाँले त्यसलाई सफल बनाउनुहुन्थ्यो । ”     
      
  बोगटीले पार्टी लाइन र नेतृत्वप्रति आशङ्का गर्ने कहीँकतै भूमिका नखेलेको स्मरण गर्दै अध्यक्ष दाहालले पार्टी नीतिलाई परिमार्जित गर्ने र नेतृत्वलाई अझ बलियो बनाएर लैजानेमा उहाँ बढ्ता केन्द्रित हुने चर्चा गर्नुभयो । “पार्टीभित्र नेतृत्वलाई समझदारीमा ल्याउने काम निरन्तर गरिरहनुभयो”, उहाँले भन्नुभयो ।     
      
  वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टीलाई साङ्गठनिक रुपमा एकताबद्ध तथा वैचारिकरुपमा क्रान्तिकारी बनाउन सांस्कृतिक रुपान्तरणको अभियान सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाँले पार्टीलाई थप बलियो बनाएर लैजानेमा सिङ्गो स्थायी समिति एकमत भएको उल्लेख गर्दै पार्टी नेतृत्वलाई बलियो बनाएर लैजाने सबैको ध्यान जानुपर्नेमा जोड दिनुभयो ।     
      
  वरिष्ठ उपाध्यक्ष श्रेष्ठले पार्टीभित्रका वैचारिक असमझदारी र अन्तरसङ्घर्षलाई सही ढङ्गले विश्लेषण गरेर पार्टीलाई झन् एकताबद्ध बनाउन बोगटीले खेल्नुभएको भूमिका अतुलनीय रहेको बताउनुभयो ।     
      
  प्रतिष्ठानका अध्यक्ष वर्षमान पुनले दिवंगत नेता बोगटीको योगदानलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न प्रतिष्ठान क्रियाशील रहेको स्पष्ट पार्नुभयो । प्रतिष्ठानले आगामी दिनमा वैचारिक विषयलाई कार्यकर्ता र जनताका बीचमा लैजाने उहाँले जानकारी दिनुभयो ।    


_


Subscribe to JawaafTV : श्रव्यदृश्यमा हरपलको खबर जवाफ टिभी मा...

प्रकाशित मितिः शनिबार, ०१ भदौ २०८१
https://jawaaf.com/storage/01J5FCKJCYD7HMACM2WFF68T1Q.jpg

ललितपुरको ऐतिहासिक अदालत भवन पुनःनिर्माण हुँदै

_


ललितपुर, १ भदौ : ललितपुरको पाटनस्थित विश्वसम्पदा क्षेत्रमा रहेको ऐतिहासिक अदालत भवन पुनःनिर्माण हुने भएको छ । विसं २०७२ को भूकम्पले क्षतिग्रस्त बनाएको उक्त भवनको पुनःनिर्माणको काम अघि बढेको छ ।     
     
 जिल्लास्थित स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयकी सूचना अधिकारी लीला पाठकका अनुसार २०७२ सालको भूकम्पपछि जीर्ण बन्दै गएको ऐतिहासिक अदालत भवन अहिले प्रयोगविहीन अवस्थामा छ । जीर्ण बन्दै गएपछि घाँसले ढपक्कै ढाकेको उक्त भवनको तल्लो कोठामा यसअघि इलाका हुलाक कार्यालय सञ्चालित थियो । हाल सो भवन पुनःनिर्माण हुने भएपछि इलाका हुलाक कार्यालय अर्को ठाउँमा सारिएको छ ।     
     
 भारतीय दूतावासको सहयोगमा पुनःनिर्माण हुन लागेको सो भवन पुनःनिर्माणको सबै प्रक्रिया सकिएर अबको केही दिनमा काम सुरु हुने उहाँले बताउनुभयो । “हाल जीर्ण अवस्थामा रहेको भवनभित्र रहेका समान सुरक्षितसाथ अर्को ठाउँमा सारिएको छ । अबको केही दिनमा काम सुरु हुन्छ”, सूचना अधिकारी पाठकले भन्नुभयो । जीर्ण भवन नेपालको प्राचीन स्मारक संरक्षण ऐन, २०१३ (१९५६) अनुसार निर्माण गरिनेछ । भवनको संरक्षण नीतिअन्तर्गत उक्त भवन पुनर्निर्माणका लागि प्रस्ताव गरिएको पुरातत्व विभागले जनाएको छ ।     
     
 पुनःनिर्माणका लागि काम सुरु हुन थालेको ऐतिहासिक अदालत भवन १९९० सालको भूकम्प अगाडि तीन तलाको रहेको पाइएकाले पुरानै स्वरुपमा भवन निर्माण गर्न नक्सा पास भएको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयले जनाएको छ ।  


_


Subscribe to Now : श्रव्यदृश्यमा हरपलको खबर जवाफ टिभी मा...

प्रकाशित मितिः शनिबार, ०१ भदौ २०८१
https://jawaaf.com/storage/01J5FC1Z6JV7MT9KJQ4T06XTK8.jpg

खुम्बुमा बाढी : थामे खोलाको तटीय क्षेत्रमा कटान जारी

_


सोलुखुम्बु, १ भदौ : सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे खोलामा आएको बाढीले तटीय क्षेत्रमा कटान जारी रहेको छ । शुक्रबार दिउँसो थामे खोलामा आएको बाढीपछि खुम्बु र तल्लो सोलुका नदी आसपासका क्षेत्रमा कटान जारी रहेको छ ।     
     
 जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण गिरीका अनुसार नदीमा पानीको मात्रा केही कम भए पनि कटान भने जारी रहेको छ । बाढीले खुम्बु पासाङल्हामु–५ थामेका २० घर तथा होटल लज, एउटा स्वास्थ्यचौकी र विद्यालय बगाएको थियो । बाढीले स्थानीय विद्युत् आयोजनाको विद्युत् गृह पूर्ण रुपले क्षतिग्रस्त बनाएको छ । खुम्बु पासाङल्हामु–३ फाक्दिङदेखि नाम्चे जामे क्षेत्रमा करिब दुई सय मिटर पदमार्ग कटान गरेको छ । उद्धारका लागि नेपाली सेना र नेपाल प्रहरी खटिएका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिनुभयो ।     
     
 नेपाली सेना र प्रहरीले थामेबाट ९३ जनाको उद्धार गरी आर्मीक्याम्पमा राखेको छ भने ४२ जनालाई स्थानीय सामुदायिक भवनमा राखिएको छ । बाढीले तल्लो सोलुको तटीय क्षेत्रमा पनि असर गरेपछि माप्यदूधकोसी गाउँपालिका–६ का पाँच परिवारलाई प्रहरीले अन्यत्र स्थानान्तरण गरेको छ ।     
     
 उक्त बाढी भोटेकोसी हँुदै दूधकोसीमा मिसिँदा सोलुखुम्बुको तल्लो क्षेत्रमा पर्ने माप्य–खुम्बु मितेरी पक्की पुलमा क्षति पुगेको छ । बाढीले कोसी आसपासका क्षेत्र कटान गर्दा खुम्बु पासाङल्हामु गाउँपालिका र माप्यदूधकोसी गाउँपालिका जोड्ने दूधकोसी नदी माथिको पक्की मोटरेबल पुलमा क्षति पुगेको प्रहरीले जनाएको छ ।     
     
 पुलमा क्षति पुगेसँगै सल्लेरीबाट खुम्बु सञ्चालन हुँदै आएको सिधा सडक सञ्जालसमेत टुटेको बताइएको छ । प्रहरी नायब उपरीक्षक घिमिरेले भन्नुभयो, “बाढीले जिल्लाको तल्लो क्षेत्रमा पनि क्षति पु¥याएको खबर छ, सोताङ र थुलुङ दूधकोसी जोड्ने दिप्लीघाटस्थित दूधकोसी नदी छेउमा राखिएको बेलीबृजको सामान बगाएको छ, नदी आसपासका बस्तीमा पनि सामान्य क्षति पुगेको छ । बाढी आउनुको कारण खुल्न सकेको छैन ।”     
     
 खुम्बु क्षेत्रबाट उक्त बाढी हिमताल फुटेर आएको हुनसक्ने सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष लामाकाजी शेर्पाले बताउनुभयो । कुन हिमताल फुट्यो भन्ने यकीन नभएको उहाँको भनाइ छ । बाढीले गाउँ नै बगाएको स्थानको स्थलगत निरीक्षणमा रक्षामन्त्री मानवीर राईसहित विपत् व्यवस्थापन समितिको टोली आज आउने प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले जानकारी दिनुभयो ।     


_


Subscribe to Now : श्रव्यदृश्यमा हरपलको खबर जवाफ टिभी मा...

प्रकाशित मितिः शनिबार, ०१ भदौ २०८१
https://jawaaf.com/storage/01J5F230C1TKYE61A93ANS84T7.jpg

पहिरोले धानबालीसहितको खेत बगाएपछि कृषक चिन्तित

_

खोटाङ, १ भदौ : पहिरोले धानबालीसहित खेत बगाएपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका कृषक चिन्तित भएका छन् । गत साउन १६ र १७ गतेको वर्षापछि पहिरोले खाल्लेमा धानबालीसहित खेत बगाएको थियो ।     
     
पहिरोले स्थानीय कोपिला बस्नेत र डम्बर केसीको धानसहितको १५÷१५ रोपनी खेत पुरेको छ । बर्सेनी १८ मुरी धान फल्ने खेत बगाएपछि गरिखाने खेत बाँकी नरहेको पीडित बस्नेतले बताउनुभयो । उहाँको खेतको सिरानदेखि पहिरो गएको छ ।     
     
“पहिरोले तीन भागमध्ये दुई भाग खेत बगाइसकेको छ । खेत बग्ने क्रम जारी छ”, उहाँले भन्नुभयो, “६ जनाको परिवार यही धानबालीले टार्दै आएकी थिएँ । पहिरोले खेत नै बगाएपछि कसरी परिवार चलाउने भन्ने पीर लागेको छ ।”     
     
पहिरोले बस्नेतको भन्दा माथिल्लो भेगमा रहेको भक्तबहादुर बस्नेतको पनि केही गरा बगाएको छ । पहिराका कारण उहाँको घर समेत जोखिममा परेको खाल्लेका वडाध्यक्ष खगेन्द्र राईले जानकारी दिनुभयो । खेतीयोग्य भूमि रहेको त्यस क्षेत्रको जमिन चर्किएको छ ।     
     
आर्थिक वर्ष २०८०÷८१ मा बाढी तथा पहिरोका कारण जिल्लामा तीन जनाले ज्यान गुमाएका छन् । दश स्थानीय तह रहेको जिल्लामा बाढीले बगाएर एक तथा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिनुभयो । पहिरोले पुरिएर गत साउन ३१ गते रावाबेँसी गाउँपालिका–३ लामीडाँडाकी ५७ वर्षीया सावित्रादेवी नेवार तथा जेठ २८ गते साकेला गाउँपालिका–२ रतन्छाका ५६ वर्षीय मधुराज राईको मृत्यु भएको थियो ।     
     
यस्तै साउन २१ गते ऐँसेलुखर्क गाउँपालिका–४ जलेश्वरीकी ७३ वर्षीया पदमकुमारी घिमिरेको बाढीले बगाएर मृत्यु भएको थियो । यस वर्षको बाढी तथा पहिरोबाट जिल्लाका विभिन्न ठाउँमा ठूलो क्षति गरेको छ । बाढी तथा पहिरोबाट हालसम्म जिल्लामा ६ परिवार विस्थापित भएका प्रहरीले जनाएको छ । जिल्लामा मनसुनजन्य विपद् (बाढीबाट ८५ परिवार र पहिरोबाट चार सय ३९ परिवार) उच्च जोखिममा छन् ।   


_
 


Subscribe to JawaafTV : श्रव्यदृश्यमा हरपलको खबर जवाफ टिभी मा...

प्रकाशित मितिः शनिबार, ०१ भदौ २०८१
https://jawaaf.com/storage/01J5F0X45W8EFYS11V0E3TE0FV.jpg

उज्यालो पर्खिरहेको निसेलढोर

_


ढोरपाटन (बागलुङ), १ भदौ : पूर्वी रुकुमको सिमानासँग जोडिएको निसेलढोरमा अहिलेसम्म विद्युत्को पहुँच छैन । बागलुङको निसीखोला गाउँपालिका–५ निसेलढोरमा विद्युत् नपुग्दा स्थानीय अन्धकारमा बस्न बाध्य छन् ।     
      
  विद्युत्को सुविधा नहुँदा स्थानीयले दियालो र टुकी बालेर रात बिताउन बाध्य छन् । एक दशक अगाडिसम्म निसेलढोरमा निसीवासी बर्खाको समयमा पशुचौपाया पाल्ने, आलु र स्याउ फलाउने गर्थे । बर्खाको चार महिना मात्र निसेलढोर बस्ने स्थानीय हिउँदको समयमा निसी गाउँमा बस्ने गर्थे । निसेलढोर लेक क्षेत्र पर्छ भने निसी गाउँ औल (बेंसी) क्षेत्र हो ।     
      
  पछिल्लो समय करिब ७० परिवार बाह्रै महिना स्थायी रुपमा निसेलढोरमा बस्ने गर्छन् । बर्खाको समयमा यहाँ दुई सयभन्दा बढी परिवार बस्छन् । असारदेखि असोजसम्म निसेलढोरमा बस्ने निसीवासी कात्तिकदेखि निसी गाउँमा झर्ने गर्छन् । पछिल्लो समय स्थायी रुपमै निसेलढोरमै बस्नेको सङ्ख्या बढ्दै गएको हो । उनीहरुले उज्यालो खोजीरहेका छन् । ढोरपाटन उपत्यकादेखि करिब डेढ घण्टाको यात्रामा पुग्न सकिने निसेलढोर पर्यटकीय हिसाबले आकर्षक भए पनि विद्युत्लगायतका सुविधा नपुग्दा ओझेलमा छ ।     
      
  पहिले हिउँदमा हिमपात हुने र बढी चिसोका कारण यहाँ कमै मात्रै स्थानीय बस्ने गरे पनि पछिल्लो समय सडकले जोडिएपछि स्थायी रुपमा बस्नेको सङ्ख्या बढ्न थालेको निसीखोला गाउँपालिका–५ निसेलढोरकी सम्झना विकले बताउनुभयो । अन्धकारमै रात बिताउँदै आएको भन्दै आधुनिक प्रविधिको विकास हुँदासमेत आफूहरु सूचना सञ्चारबाट टाढा रहनुपरेको सुनाउनुभयो । यो ठाउँ कृषि र पशुपालनका लागि उपयुक्त ठाउँ भएको त्र बिजुलीको उज्यालोभन्दा टाढा रहनु परेको उहाँको भनाइ छ ।     
      
  विकले भन्नुभयो, “बिजुली छैन, टेलिभिजन हेर्न र रेडियो सुन्न पाइँदैन, साथमा मोबाइल भएर के गर्ने ? चार्ज गर्न पाइँदैन, मोबाइल चार्ज गर्न, दुई÷तीन घण्टा हिँडेर ढोरपाटन पुग्नुपर्ने अवस्था छ, बिजुली हुन्थ्यो भने साँझमा केटाकेटीले अबेरसम्म पढ्न पाउँथे, देश विदेशका खबर सुन्न पाइन्थ्यो ।”     
      
  स्थानीय बलबहादुर घर्तीले दियालो र दाउरा काट्न ढोरपाटन सिकार आरक्षले अवरोध गर्ने हुँदा खाना पकाउन र साँझमा उज्यालो बाल्न अप्ठ्यारो भएको बताउनुभयो । बजारमा मट्टीतेल पाइन छोडेको उहाँको भनाइ छ ।     
      
  “घाँस दाउरा ल्याउन सिकार आरक्षले दिँदैन”, घर्तीले भन्नुभयो, “जसोतसो बसिरहेका छौँ ।”     
      
  निसीखोला–५ का वडाध्यक्ष हर्कमान घर्तीमगरले निसेलढोरमा विद्युत् पु¥याउनका लागि अघिल्लो वर्षदेखि काम सुरु गरेको बताउनुभयो । ढोरपाटन–९ भुजीस्थित भुजी लघु जलविद्युत् आयोजनाबाट निसेलढोरलाई जोड्न लागेको उहाँले बताउनुभयो । गत वर्ष विद्युत् केही स्थानमा खम्बा गाड्ने र निसेलढोरवासीको ९० प्रतिशत घरमा आइरिङको काम सकिएको अध्यक्ष घर्तीमगर बताउनुहुन्छ । 


    

_
 
    

प्रकाशित मितिः शनिबार, ०१ भदौ २०८१
https://jawaaf.com/storage/01J5DK7FJZP09JVRCHP0T7YPW4.jpg

किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउन प्रधानमन्त्रीको निर्देशन

_

काठमाडौँ, ३२ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले किसानलाई समयमा रासायनिक मल उपलब्ध गराउने र व्यावसायिक उत्पादनमा लगाउने विषयमा चासो दिनुुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज कृषि क्षेत्रका विद्यमान अवस्था, चुनौती र सुधारका विषयबारे कृषि तथा पशुपन्क्षीमन्त्री रामनाथ अधिकारी र उच्चाधिकारीसहितको छलफलमा प्रधानमन्त्री ओलीले आगामी मङ्सिरमा कति मल चाहिने हो त्यसको आँकलन गरेर अहिलेदेखि नै खरिद प्रक्रिया थाल्न निर्देशन गर्नुभयो ।     
     
सो मन्त्रालयको कूल बजेटको ५६ प्रतिशत बजेट रासायनिक मल अनुुदानमा रहेको छ । किसानले किन्ने रासायनिक मलमा ६७ प्रतिशतसम्म अनुदान दिँदै मन्त्रालयले खरिद प्रक्रियालाई सरलीकरण बनाउन प्रधानमन्त्री ओलीसँग आग्रह गरेको थियो ।     
     
प्रधानमन्त्री ओलीले किसानलाई नाफा हुने खालका खेती मात्रै गर्ने वातावरण सृजनाका लागि उपयुुक्त जग्गामा सामूूहिक खेती प्रणालीमा जान सुुझाव दिँदै स्वदेशमा उत्पादन नहुने खाद्य पदार्थ समयमै किनेर ल्याउन आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले माछापालन, दूध उत्पादन, सुन्तला, काजुु, ल्याङ र मसलालगायत उपयुक्त खेतीका लागि कहाँ कहाँ के के गर्न सकिन्छ भन्ने स्पष्ट योजना ल्याउन निर्देशन दिनुुभयो ।     
     
“म कृषि विज्ञ होइन । किसानको छोरा हुँ । सानो हुँदा खेती गरिन्थ्यो, ठूलो भएपछि भ्याइएन तर मेरो रगतमा किसानको जिन छ । म बोट बिरुवालाई माया गर्छु । मलाई बोट बिरुवाले माया गर्छन् ।”, प्रधानमन्त्री ओलीले भन्नुुभयो, “हामीले बोट बिरुवालाई माया गरेका उनीहरु खुुसी भएर धेरै फल दिन्छन् ।”     
     
उहाँले पशुुपन्क्षी नेपालभित्र ल्याउँदा र विदेश पठाउँदा स्वास्थ्य जाँच अनिवार्य गराउन, आगामी तीन वर्षभित्र खोरेत रोग उन्मूलन गर्न, कालोबजारी रोक्न, अनुुदानको निरन्तरताभन्दा पनि लाभग्राहीले तिर्ने परिपाटीमा जान पनि सुुझाव दिनुुभयो ।    


 

_


Subscribe Now : श्रव्यदृश्यमा हरपलको खबर जवाफ टिभी मा...

प्रकाशित मितिः शुक्रबार, ३२ साउन २०८१
https://jawaaf.com/storage/01J5DJVMY9Y8NZZ577ZCN82347.jpg

जलवायु क्षेत्रका ५० अभियान्ताका पाँच प्रतिबद्धता

_

काठमाडौँ, ३२ साउनः वातावरणीय न्यायमा काम गर्ने ५० जना अभियान्ताहरुले जलवायु परिवर्तनको जोखिम कम गर्दै र चाडपर्वलाई वातावरणमैत्री बनाउन देशव्यापी अभियान सुरु गर्ने घोषणा गरेका छन् । उनीहरुले आज काठमाडौँ आयोजित एक कार्यक्रमकाबीच कार्बन उत्सर्जन घटाउने विभिन्न पाँच बुँदामा सामुहिक प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका हुन् । त्यसमा फोहोर घटाउने, प्लास्टिकको प्रयोग कम गर्ने, सामानको पुनःपयोग गर्ने, वातावरण जोगाउन जनचेतना लगाउनेलगायत छन् ।     
     
वातावरण र जलवायु परिवर्तनको क्षेत्रमा काम गर्दै आएको साथसाथै फाउण्डेशनले वन तथा वातावरण मन्त्रालयको सहकार्यमा आयोजना गरेको कार्यक्रममा नयाँ अभियानको थालनी गरिएको हो ।     
     
साथसाथैका अध्यक्ष प्रजिता कार्कीले तीजलगायतका चाडपर्वलाई वातावरणमैत्री र हरियाली बनाउन संस्थाको कार्यक्रम केन्द्रित हुने जानकारी दिनुभयो । “हरित तीजका लागि महिलाले परिवर्तनको नेतृत्व गरिरहेका छन्”, उहाँले भन्नुभयो,“ साथसाथैले नजिकिएको तीज पर्वलाई लक्षित गरी वातावरणीय पक्ष ख्याल गर्दै ‘ग्रीन, वुमन लिडिङ द चेन्ज’ कार्यक्रम सुरु गरेको हो ।”     
     
पचास जना अभियन्ताहरुमा भूमिका श्रेष्ठ, रेखा थापा, सुनिता बराल, बिना लामा, प्रदा कार्की, श्रद्धा श्रेष्ठ, निमा ग्याल्जेन शेर्पा, मित्र जिरेल, रेणुदेवी साह, सुजनकुमारी बर्देवा, रोजिना प्रधान राई, सृच्छा प्रधान, लिवर्टी भण्डारी, रिना चौधरी, अस्मिता बादे, गौरा नेपाली, स्मृति शर्मा, देविका राई रहनुभएको छ ।     
     
त्यस्तै कृष्णा कार्की, सीता मिजार, उमा प्रधान, जोनी मैनाली, बिमला तुम्खेवा, विनिता कठायत, उषाकिरण भण्डारी, अञ्जिला सुब्बा, इन्दु बर्मा, अरुणा साह,पार्वता चौधरी, रञ्जु दर्शना, रोशनी अधिकारीलगायत हुनुहुन्छ । अभियन्ताहरु राजनीति, शिक्षा, स्वास्थ्य, कानुन, खेलकुद, बैंक तथा वित्तीय संस्था, पर्यटन, कृषि, कलाकारिता, पत्रकारितालगायत क्षेत्रमा क्रियाशील हुनुहुन्छ ।     
     
साथसाथैले विगत तीन वर्षदेखि वातावरण एवं जलवायु न्यायका लागि क्रियाशील रही जलवायु परिवर्तन्को असर र त्यसका न्यूनीकरणका लागि विभिन्न प्रदेशमा पुगी रचनात्मक काम गर्दै आइरहेको छ ।     
     
संस्थाले वर्षभरी नै विभिन्न सांस्कृतिक पर्वलाई वातावरणीय दृष्टिले हरितमैत्री बनाउन विभिन्न कार्यक्रमहरु तय गरेको छ । त्यसमा यस्ता पर्वलाई हरितमैत्री बनाउन सामानको पुनःप्रयोग गर्ने, प्लाष्टिकको प्रयोगलाई निरुत्साहित गर्ने, चाडपर्वलाई वातावरणमैत्री बनाउनेलगायत छन् ।     
     
अभियान घोषणा कार्यक्रममा अभिनेत्री रेखा थापाले प्रकृतिको संरक्षणका लागि जलवायु परिवर्तनको जोखिम नियन्त्रण गर्न जागरुक हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “प्रकृतिलाई बचाउनुपर्छ भनेको आमालाई बचाउनुपर्छ भन्ने भावनाका साथ अगाडि बढ्नुपर्छ । यो कार्यक्रमलाई दूरदराजमा लैजानुपर्छ ।”     
     
हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जलवायु परिवर्तनको जोखिम न्यूनीकरणका लागि बोलेर मात्रै नभई कार्यान्वयन तहमा जानुपर्ने खाँचो रहेको उल्लेख गर्दै आफ्नो गाउँपालिकाले प्लाष्टिकको प्रयोगलाई निरुत्साहित गरेको बताउनुभयो ।     
     
नेपाल पर्यटन बोर्डका निर्देशक श्रद्धा श्रेष्ठले जलवायु परिवर्तनले सबैभन्दा बढी नेपालको पर्यटन क्षेत्रमा असर परेको, हिमाली पर्यटन, पर्वतारोहण र पदयात्रामा प्रभाव पारेको भन्दै यसको जोखिम न्यूनीकरणमा सबै सक्रिय रुपमा लाग्नुपर्नेमा जोड दिनुभयो ।     
     
अधिकारकर्मी सरु श्रेष्ठ जोशीले चाडपर्वमा फजुल खर्च घटाएर पुराना कपडाको पुनःप्रयोगलाई प्रोत्साहन गर्दै त्यसलाई वातावरणमैत्री बनाइनुपर्ने बताउनुभयो ।     
     
अभियन्ता भूमिका श्रेष्ठले चाडपर्वलाई तडकभडक नभई क्षमता अनुसार मनाइनुपर्ने बताउनुभयो । जलवायु परिवर्तनसँग सम्बन्धित कार्यक्रममा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायलाई पनि सहभागी गराइएकोमा खुशी व्यक्त गर्नुभयो । अभियन्ता सविना काफ्लेले वातावरणलाई ख्याल राखेर चाडपर्व मनाईनुपर्ने धारणा राख्नुभयो ।     
     
अभियन्ता यमुना घले र कृष्णा कार्कीले जलवायु र वातावरणमैत्री अभियानलाई सशक्त र प्रभावकारी बनाइनुपर्ने खाँचो औंल्याउनुभयो ।     


_


Subscribe Now: श्रव्यदृश्यमा हरपलको खबर जवाफ टिभी मा...

प्रकाशित मितिः शुक्रबार, ३२ साउन २०८१
https://jawaaf.com/storage/01J5DEHR2MJ3EKESQY9DVEW98D.jpg

गृहमन्त्रीसँग संयुक्त राष्ट्रसङ्घीय आवासीय संयोजकको शिष्टाचार भेट

_

काठमाडौँ, ३२ साउन : गृहमन्त्री रमेश लेखकसँग संयुक्त राष्ट्रसङ्घीय आवासीय संयोजक हाना सिंगर हाम्डीले आज शिष्टाचार भेट गर्नुभएको छ ।     
     
सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको उक्त द्विपक्षीय भेटवातार्मा गृहमन्त्री लेखकले संयुक्त राष्ट्रसङघको भूमिकाको प्रसंशा गर्नुभयो । सो अवसरमा उहाँले संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनमा नेपाली सेना र नेपाल प्रहरीको भूमिकाको प्रसंशा गर्दै शान्ति मिसनमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सङ्ख्या थप बढाउन पहल गरिदिन संयोजक हाम्डीलाई आग्रह गर्नुभयो ।     
     
सो अवसरमा संयोजक हाम्डीले सङ्क्रमणकालीन न्यायको प्रगतिका लागि मन्त्री लेखकलाई धन्यवाद दिँदै यस प्रक्रियामा प्राविधिक र आर्थिक पक्षमा संयुक्त राष्ट्रसङघको पूर्ण सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । जलवायु परिवर्तनका जोखिम व्यवस्थापन, विपदमा पूर्व चेतावनी प्रणालीमा पूर्ण सहयोग रहने उहाँले उल्लेख गर्नुभयो ।     
 

_

प्रकाशित मितिः शुक्रबार, ३२ साउन २०८१