नेपालसँगको सहयोग र साझेदारी बढाउने पाकिस्तानी राजदूतको प्रतिबद्धता
काठमाडौँ, ३१ साउनः नेपालका लागि पाकिस्तानका राजदूत अब्ररर एच हास्मीले नेपालसँगको सहयोग र साझेदारी बढाउन पाकिस्तान प्रतिबद्ध रहेको बताउनुभएको छ ।
पाकिस्तानको ७८ औँ स्वतन्त्रता दिवसका अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादवको प्रमुख आतिथ्यमा बुधबार साँझ यहाँ आयोजित स्वागत समारोहमा उहाँले नेपाललाई पाकिस्तानले निरन्तर सहयोग गर्ने बताउनुभयो ।
“शिक्षा, प्रतिरक्षा, ब्याङकिङ, स्वास्थ्यका साथै अन्य प्राविधिक क्षेत्रमा पाकिस्तान र नेपालबीचको साझेदारीले असल प्रतिफल दिएको छ । डाक्टर, इञ्जिनियर, पत्रकार, विमान चालकलगायत सात हजारभन्दा बढी पाकिस्तानमा दीक्षित नेपालीले यो देशको प्रगतिका निम्ति आ–आफ्नो क्षेत्रबाट योगदान गरिरहेका छन्”, पाकिस्तानी राजदूतले भन्नुभयो ।
पाकिस्तान र नेपाल जलवायु परिवर्तनका दुष्प्रभाव र त्यसको जोखिममा रहेका, दुवै देशका हिमालय क्षेत्र पारिस्थितिकीय रूपले कमजोर रहेका, हिमनदी पग्लने र हिमताल विष्फोट हुने जोखिम रहेको बताउँदै उहाँले दीर्घकालीन रूपमा त्यसले खाद्य र जल सुरक्षामा चुनौती थप्ने उल्लेख गर्नुभयो । उहाँले यो क्षेत्रका समुदायको हित र दिगो विकासका लागि ती चुनौतीलाई सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो ।
पाकिस्तान विश्वका सबै राष्ट्रसँग हार्दिक एवं शान्तिपूर्ण सम्बन्ध कायम गर्न प्रतिबद्ध रहेको बताउँदै राजदूत हास्मीले संयुक्त राष्ट्रसङ्घीय शान्तिसेनाका माध्यमबाट विश्व शान्तिका खातिर पाकिस्तानले योगदान गरिरहेको बताउनुभयो ।
“नेपाल पाकिस्तानको निकटको मित्र हो, सन् १९६० मा कूटनीतिक सम्बन्ध स्थापना भएयता आपसी विश्वास, सम्मान, हार्दिकता र समझदार हाम्रो सम्बन्धको विशेषता बनेको छ”, पाकिस्तान र नेपालबीच भौगोलिक एवं सांंस्कृतिक समानता रहेका बताउँदै उहाँले भन्नुभयो, “सर्वोच्च शिखर सगरमाथा र के टु, लुम्बिनी र तक्षशिला केही नमूना हुन् ।”
पाकिस्तान र नेपालले क्षेत्रीय एवं बहुपक्षीय मञ्चहरूमा साझेदारका रूपमा काम गर्दै आएका तथा त्यो साझेदारी संयुक्त राष्ट्रसङ्घ र दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मा अझ विशेष रहेको उहाँले बताउनुभयो ।
व्यापार, हवाई सेवा, संस्कृति, पर्यटन, कृषिलगायत क्षेत्रमा दुई देशबीच साझेदारीका सम्झौता भएका स्मरण गर्दैै द्विपक्षीय संयन्त्रमार्फत जलवायु परिवर्तन, सूचना प्रविधि, भौतिक पूर्वाधार तथा मानव संशाधन विकासलाई अझ विस्तार गर्नेतर्फ दुवै मुलुक क्रियाशील रहेका बताउनुभयो ।
नेपाल–पाकिस्तान मत्री तथा सांस्कृतिक सङ्गठनका अध्यक्ष मञ्जुरत्न शाक्यले दुवै देशले आपसी सम्बन्धलाई उच्च महत्व दिएका बताउँदै पाकिस्तानसँगको मुलुकको जनस्तरको सम्बन्धलाई अझ सब बनाउन सङ्गठन लागिपरेको उल्लेख गर्नुभयो । उहाँले सङ्गठनका गतिविधिबारे जानकारी दिँदै कोरोना महामारीका बेला पाकिस्तान सरकारले रु चार करोड ३० लाख बराबरका औषधि तथा उपकरण सहयोग गरेको बताउनुभयो ।
समारोहमा उपसभामुख इन्दिरा राना, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, सांसद, पूर्वउपप्रधानमन्त्री सिपी मैनाली, पूर्वमन्त्री, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख, नेपाल सरकारका उच्च पदस्थ अधिकारी, उद्यमी–व्यवसायी, समाजका प्रतिष्ठित व्यक्तित्वका साथै वरिष्ठ सञ्चारकर्मीहरूको उपस्थिति थियो ।
त्यस अवसरमा पाकिस्तानले सामाजिक–आर्थिक, प्राविधिक एवं सामरिक विकासमा गरेका प्रगति झल्कने वृत्तचित्र पनि प्रस्तुत गरिएको थियो ।
समाजवादी महिला संघ पुनर्गठन कार्यक्रम सम्पन्न
धरान, ३० साउन : जनता समाजवादी पार्टीको महिला जनवर्गीय संगठन समाजवादी महिला संघ धरान उपमहानगर समितिको पुनर्गठन कार्यक्रम सम्पन्न भएको छ ।
हिजो साउन २९ गते जसपा धरान नगर समितिको कार्यालयमा सम्पन्न भएको पुनर्गठन कार्यक्रमले पुण्य कुमारी दाहाल (खडका) को नेतृत्वमा सत्र सदस्य समाजवादी महिला संघ धरान उपमहानगर समिति गठन गरेको हो ।
समितिको उपाध्यक्षमा प्रेम कुमारी सुनुवार, कुमारी भुजेल, सचिव का लागी कौशिला चेम्जोङ्ग र सह-सचिवमा रेबिका लिम्बु तुम्खेवा चयन भएका छन् । त्यसैगरी कोषाध्यक्ष निशा राई र सदस्यहरूमा मनिका तामाङ, प्रेरणा राई, ख्याल कुमारी सुनुवार, सबिना खडका, सम्झना राई, सृजना राई, रिना लिम्बु, कुसुम राई, अनिलकला राई, सुनिता खवास, बिनुशा सुनुवार, रिना लिम्बु चयन भएकाछन् ।
जसपा राजनीतिक समिति सदस्य भीम राईको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । त्यसैगरी जसपा केन्द्रीय समिति सदस्य विना पुमा, पार्टीका १ नं. प्रदेश समिति सदस्य कमला रुम्दाली, लीला राई, किरात राष्ट्रिय समिति सदस्य सिता राई,सुनसरी जिल्ला समिति सदस्य मदन तामाङ्ग, हरी राई, जसपा धरान नगर अध्यक्ष नगेन्द्र पारघरी लिम्बु साथै नगर समितिका नेताहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमको अध्यक्षता लक्ष्मी राई र कार्यक्रम सञ्चालन कौसिला चेम्जोङ्गले गरेका थिए ।
सशस्त्र प्रहरीद्वारा महिला भलिबल खेलाडीलाई सम्मान
काठमाडौँ, ३० साउन : सशस्त्र प्रहरी बल नेपालले ‘काभा वुमन्स भलिबल नेसन्स लिग–२०२४’ मा सहभागी भएका नेपाल एपीएफ क्लबका तीन जना महिला भलिबल खेलाडीलाई आज सम्मान गरेको छ । यहाँस्थित सशस्त्र प्रहरी प्रधान कार्यालय हलचोकमा आज आयोजित एक समारोहका बीच सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले उहाँहरूलाई सम्मान प्रदान गर्नुभयो ।
सम्मानित हुनेहरूमा सशस्त्र प्रहरी सहायक हवल्दार सरस्वती चौधरी, निरुता ठगुन्ना र सशस्त्र प्रहरी जवान कविता भट्ट रहेका छन् । त्यस अवसरमा महानिरीक्षक अर्यालले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा सहभागी भई उत्कृष्ट खेल प्रदर्शन गरेर देश र सङ्गठनको छवि उच्च राख्न खेलेको योगदानको कदर स्वरूप नगद पुरस्कारसहित सम्मान गरिएको बताउनुभयो ।
यही साउन १७ देखि २३ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा लिग सम्पन्न भएको थियो । उक्त लिग तथा अन्य भलिबल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएकी खेलाडी निरुता ठगुन्नालाई सशस्त्र प्रहरी जवानबाट सशस्त्र प्रहरी सहायक हवल्दार पदमा बढुवा गरिएको समेत जानकारी दिइयो । ठगुन्नालाई सशस्त्र प्रहरी बल नेपाल खेलकुद तथा शारीरिक सुगठन शिक्षालयका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक रमेशकुमार पाण्डेले आजै दर्ज्यानी चिह्न प्रदान गर्नुभयो ।
यसअघि २२औँ सशस्त्र प्रहरी दिवस–२०७९ को अवसरमा सरस्वती चौधरीलाई सशस्त्र प्रहरी जवानबाट सशस्त्र प्रहरी सहायक हवल्दार पदमा पदोन्नति गरिएको थियो ।
सिस्नोको पाउडर र गुन्द्रुकले बजार पाएन
ढोरपाटन (बागलुङ), ३० साउन : बागलुङको जैमिनी नगरपालिका–३ दमेकका महिला उद्यमीले उत्पादन गरेको सिस्नोको पाउडर, बाँकोको गुन्द्रुक, आलु चिप्सलगायतका उत्पादनले बजार नपाएपछि निराश बनेका छन् । रुद्रताल सामाजिक महिला सहकारी संस्थामार्फत गत वर्षदेखि उत्पादन सुरु गरेका महिलाहरुको उत्पादित सामग्रीले बजार नपाएपछि उनीहरु निराश भएका हुन् ।
गाउँको उत्पादनलाई ‘प्याकेजिङ र ब्राण्डिङ’ गरी उद्यममा लागेका महिलाहरु अहिले उद्योग सञ्चालन गर्ने वा बन्द गर्ने दोधारमा छन् । विभिन्न सरकारी सङ्घ संस्थाबाट अनुदान पाएर उत्साहित भएका उनीहरु बजार नपाएपछि अन्योलमा परेका हुन् । सहकारीमार्फत महिलालाई आयआर्जनसँग जोड्न जैमिनी नगरपालिकाले रु १० लाख, प्रधानमन्त्री आधुनिकीकरण परियोजनाले रु छ लाख, कृषि ज्ञान केन्द्रले रु दुई लाख ५७ हजार र गण्डकी प्रदेश सरकारले रु एक लाख अनुदान दिएको थियो । अनुदान पाएपछि उत्साहित भइ उत्पादनमा लागेका महिलालाई अहिले बजारको चिन्ताले पिरोलेको छ ।
सहकारीकै भवनमा उद्योग सञ्चालन गरेका महिलाले बाँको, सिस्नो प्रशोधन गर्दै आएका छन् । रुद्रताल सामाजिक महिला सहकारीका कोषाध्यक्ष तारादेवी पुनका अनुसार पाँच सय ५० जना महिला आबद्ध भइ सहकारीमार्फत उत्पादनमा जुटेका थिए ।
सुरुमा उत्पादनले राम्रो बजार पाएको थियो । अहिले बजार नपाउँदा कुहिने समस्या भएको पुनले बताउनुभयो । सिस्नोको पाउडर एक वर्षसम्म नबिग्रिए पनि आलु चिप्स एक महिनामै खान नमिल्ने हुँदा घाटा भएको उहाँको भनाइ छ ।
नगरपालिका तथा अन्य निकायले बजारको व्यवस्थापन गरी दिए गाउँका सयौँ महिला स्वरोजगार बन्ने उहाँ बताउनुहुन्छ । मेला महोत्सव लाग्दा महिलाहरुले सिस्नोको पाउडर, बाँकोको गुन्द्रुक तथा अन्य स्थानीय उत्पादन ‘स्टल’मै राखेर बिक्री गरिएको थियो ।
“गाउँमै केही गरौँ भनेर दिदीबहिनी मिलेर घरेलु उद्योग सञ्चालन गरेर स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न थाल्यौँ, सुरु–सुरुमा राम्रो पनि भयो, तर अहिले हाम्रो उत्पादनले बजार पाउन सकेको छैन”, पुनले भन्नुभयो, “बजार पाएन भने बिग्रिने र म्याद सकिने हुन्छ, अहिले हामीहरुले उत्पादन गर्नै छोडेका छौँ ।”
महिलाहरुले रु २० लाख लगानीमा उद्योग सुरु गरेका थिए । जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले महिला उद्यमीलाई लेबलिङ, प्याकेजिङ र ब्राण्डिङ गरेर बजारीकरणमा सहजीकरण गरिरहेको बताउनुभयो । अहिले बर्खामा ग्रामीण सडक अवरुद्ध हुँदा बजारीकरणमा समस्या भएको र नगरपालिकाले यसै वर्षदेखि कृषि एम्बुलेन्स खरिद गरी उत्पादित वस्तु बजारमा पु¥याउन सहयोग गर्ने उपप्रमुख शर्माले बताउनुभयो ।
शान्ति प्रक्रियाको पूर्णतासँगै राजनीतिक क्रान्तिको एक अध्याय पूरा : अध्यक्ष दाहाल
काठमाडौँ, ३० साउन : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्तिप्रक्रियाको पूर्णतासँगै राजनीतिक क्रान्तिको एउटा अध्यायले समेत पूर्णता पाएको बताउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथिको छलफलमा अध्यक्ष दाहालले अब परिवर्तनका उपलब्धि संस्थागत गर्दै समृद्धिको यात्रातर्फ अघि बढ्ने ढोका खुलेको बताउनुभयो ।
“शान्ति प्रक्रियासँग अभिन्न अङ्गका रुपमा सम्बन्धित सङ्क्रमणकालीन न्यायसम्बन्धी राजनीतिक सहमतिअनुसार बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगको विधेयक आज सदनले अनुमोदन गरेको छ । यो सहमतिसँगै शान्ति प्रक्रियाले पूर्णता पाएको छ । इतिहासलाई न्याय र सहिदको सपनाको सम्मान गरेको छ”, पूर्वप्रधानमन्त्री दाहालले भन्नुभयो ।
शान्तिप्रक्रियालाई आजका दिनसम्म ल्याइपु¥याउन थुप्रै पात्रले अथक भूमिका निर्वाह गरेको उल्लेख गर्दै अध्यक्ष दाहालले प्रस्तुत विधेयक कार्यान्वयनको प्रक्रियामा समेत सबैको साझा प्रयास हुने विश्वास व्यक्त गर्नुभयो । “संविधान जारी हुँदासम्म जसरी हामीले राजनीतिक मुद्दामा राष्ट्रिय सहमति र एकता प्रदर्शन ग¥यौँ, तर कार्यान्वयनमा भने हामी एक हुन सकेनौँ”, उहाँले भन्नुभयो, “संविधान जारी भएपछि हामीबीच उच्चस्तरको राष्ट्रिय सहमति आवश्यक थियो । तर त्यो हुन सकेन । विधेयक पारित भएसँगै शान्ति सम्झौताको मूल मर्म र भावनाअनुसार उपलब्धि प्राप्त हुनेछ ।”
नेपालमा शान्ति–प्रक्रियाको आफ्नै ढाँचाको परिकल्पना गरिएको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री दाहालले यसले बहुलवादको रक्षा, लोकतान्त्रिक प्रणाली स्थापित, परम्परागत संसदीय राजनीतिभन्दा सामाजिक न्याय तथा पूर्ण लोकतन्त्रको प्रवद्र्धनमार्फत सम्पूर्ण नेपाली जनतालाई शान्ति र सुशासनको प्रत्याभूति गराउने विश्वास व्यक्त गर्नुभयो ।
शान्ति प्रक्रियाको एउटा मुख्य नेतृत्वकर्ताका हैसियतले आफ्ना सामु थप चुनौती थपिएको उल्लेख गर्दै अध्यक्ष दाहालले शान्ति सम्झौताका एक हस्ताक्षरकर्ता गिरिजाप्रसाद कोइराला हामीबीच नरहे पनि अर्को हस्ताक्षरकर्ताका हैसियतले शान्ति प्रक्रियाको मर्मलाई मर्न नदिन सदैव लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो । “शान्तिप्रक्रियाका बाँकी कार्यभारसँगै अत्यन्तै महत्वपूर्ण यो विधेयक पारित भइरहँदा म नेपाली कांग्रेसका तत्कालीन सभापति कोइरालालाई सम्झिन चाहन्छु”, उहाँले भन्नुभयो, “अस्पतालको अन्तिम भेटमा उहाँले आफूपछि शान्ति–प्रक्रियाको सम्पूर्ण जिम्मेवारी मेरो काँधमा रहेको बताउनुभएको म आज पुनः स्मरण गर्न चाहन्छु ।” उहाँले आफ्नो काँधमा सुम्पिएको जिम्मेवारी आज सबै राजनीतिक दलबीचको सहमतिसँगै पूरा भएको स्पष्ट पार्नुभयो । माओवादी पार्टी र सात दलबीचको सहमति नै नेपालको शान्ति–प्रक्रियाको मुख्य आधारशिला बनेको उहाँले बताउनुभयो । शान्ति सम्झौता समावेशी, समानुपातिक लोकतान्त्रिक गणतन्त्र नेपाल निर्माणको सुरुआत विन्दु बन्न पुगेको अध्यक्ष दाहालले बताउनुभयो ।
नेपालको जारी शान्तिप्रक्रिया विश्वकै नमूना भएको चर्चा गर्दै उहाँले भन्नुभयो, “संविधानसभाबाट नयाँ संविधान निर्माण र सेना समायोजन तथा हतियार व्यवस्थापन शान्ति प्रक्रियाको प्रमुख उपलब्धि हो ।” नेपालको शान्ति–प्रक्रियाले सबै नेपालीका लागि दिगो शान्तिको जग हालिदिएको उहाँको भनाइ थियो । विस्तृत शान्ति सम्झौताले वर्गीय, जातीय, भाषिक, लैङ्गिक, सांस्कृतिक, धार्मिक र क्षेत्रीय भेद्भावको अन्त्य गर्दै महिला, दलित, आदिवासी, जनजाति, मधेशी, उत्पीडित, उपेक्षित र अल्पसङ्ख्यक समुदाय, पिछडिएका क्षेत्रलगायतका समस्या सम्बोधन गर्न सफल भएको अधयक्ष दाहालले बताउनुभयो ।
अत्यन्त मेहनत र उच्च राजनीतिक समझदारीका साथ बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग विधेयकलाई अन्तिमरुप दिन सफल भएको उल्लेख गर्दै अध्यक्ष दाहालले विधेयकमा असहमतिका बुँदालाई सहमति कायम गर्न सकेकामा कार्यदलको प्रशंसा गर्नुभयो । प्रस्तुत विधेयक पीडितमैत्री बनाइएकाले पीडितलाई थप पीडा दिन्छ कि भन्ने चिन्ता नगर्न उहाँले सबैसँग आग्रह गर्नुभयो ।
सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई सही अर्थमा कार्यान्वयन गर्नुपर्ने चुनौती रहेको चर्चा गर्दै अध्यक्ष दाहालले राजनीतिक मतभेदलाई थाँती राखेर प्रभावकारी कार्यसम्पादनमा सबै पक्षको महत्वपूर्ण सहयोग र सहमति रहने विश्वास व्यक्त गर्नुभयो । नेपालको मौलिक शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याउन संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसलगायत अन्तर्राष्ट्रिय समुदायले गरेको साथ र सहयोगका लागि उहाँले धन्यवाद दिनुभयो ।
बङ्गलादेशको अन्तरिम सरकारलाई समावेशी हुन राष्ट्रसङ्घका प्रमुखको आग्रह
न्युयोर्क, ३० साउन (रासस / एएनआई) : संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले बङ्गलादेशमा संसदीय चुनावको आह्वान गर्दै अन्तरिम सरकारलाई समावेशी हुन आग्रह गर्नुभएको छ ।
संयुक्त राष्ट्रसङ्घका प्रमुखले महिला तथा अल्पसङ्ख्यक समुदायलाई निर्वाचनमा समावेश गर्न आग्रह गर्नुभएको हो । “महासचिव गुटेर्रेसले अन्तरिम सरकारको समर्थनमा बङ्गलादेशमा शान्ति पुनस्र्थापना गर्न संसदीय निर्वाचनको प्रयासलाई स्वागत गर्नुभएको छ,” महासचिवका उप–प्रवक्ता फरहान हकले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
“उहाँले महिला, युवा, अल्पसङ्ख्यक, आदिवासी समुदाय साथै सम्पूर्ण जनताको आवाजलाई ध्यानमा राख्दै समावेशीताको हरेक प्रयास जारी राख्न अन्तरिम सरकारलाई आग्रह गर्नुभयो ।”
बढ्दो विरोधका बीच आवामी लिगकी नेतृ शेख हसिनाले अगस्ट ५ मा प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि बङ्गलादेशले हाल अस्थिर राजनीतिक अवस्थाको सामना गरिरहेको छ ।
मुख्यतया सरकारी जागिरका लागि आरक्षण प्रणाली अन्त्य गर्न माग गर्दै विद्यार्थीको नेतृत्वमा भएको विरोध प्रदर्शन पछि सरकार विरोधी प्रदर्शनमा परिणत भएको थियो ।
देशमा चलिरहेको हिंसाको क्रममा बेपत्ता भएका परिवारका सदस्यहरूको पोस्टर लिएर विरोध प्रदर्शन गरिरहेका अल्पसङ्ख्यक हिन्दू समुदायका सदस्य र बङ्गलादेशी सेनाबीच मङ्गलबार झडप भएको थियो ।
बङ्गलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार, नोबेल पुरस्कार विजेता मुहम्मद युनुसले मङ्गलबार ढाकाको ऐतिहासिक ढाकेश्वरी मन्दिरको भ्रमण गर्दै अल्पसङ्ख्यकहरूलाई देशमा सुरक्षा कायम गर्ने आश्वासन दिनुभएको छ ।
पहिरोले गमगढी–तारापानी–सोरुकोट सडक अवरुद्ध
मुगु, ३० साउन : पहिरोले सडक बगाएपछि गमगढी–तारापानी–सोरुकोट सडक दुई सातादेखि अवरुद्ध छ । सोरु गाउँपालिका–८ स्थित आशिधारा खोला भन्ने स्थानमा सडक माथिबाट झरेको पहिरोले सडक बगाएपछि सडक अवरुद्ध भएको हो ।
सडक अवरुद्ध भएपछि सोरु गाउँपालिकाका सर्वसाधारणलाई जिल्ला सदरमुकाम जान आउन समस्या भएको छ । पहिरोले १० मिटर सडक बगाएको थियो । हाल सर्वसाधारण गमगढी बजारबाट जिपमा पहिरो गएको ठाउँसम्म जाने र त्यहाँबाट पहिरो छल्दै हिँडेर पार गरी सोरुकोट तारापानीबाट आएका जीप चढेर हिँड्ने गर्छन् ।
जोखिमपूर्ण यात्रामा विशेषगरी महिला, बालबालिका, ज्येष्ठ नागरिक र अशक्त, बिरामीलाई कठिनाइ भएको छ । सो स्थानमा ज्यानै जाने जोखिमपूर्ण यात्रा गर्नुपरेको स्थानीय सर्जनबहादुर शाहिले जानकारी दिनुभयो । शाहीका अनुसार पालिकाले सोरु र छायानाथ रारा नगरपालिका सिमाना पातिहाल्नादेखि पहिरो गएको स्थानसम्म स्काभेटर लगाएर सानातिना पहिरो हटाए पनि आशिधारा खोलाको पहिरो पन्छाएर सडक बनाउन नसकेपछि स्काभेटर फर्काइएको थियो । गमगढी – तारापानी – सोरुकोट र तारापानी– धैन–दोमुख सडक कर्णाली प्रदेश सरकार अन्तर्गतको सडक हो ।
गतवर्ष पनि यहाँ पहिरो जाँदा अन्य विकासका योजना कटौति गरी सडकको अवरोध हटाइएको थियो । यो पटक पहिरो पन्छ्याउने, सडक बनाउने विषयमा कर्णाली प्रदेश सरकार मौन रहेको सोरु गाउँपालिका अध्यक्ष धर्मबहादुर शाहीले बताउनुभयो ।
सडक अवरुद्ध हुँदा सोरु गाउँपालिकामा दैनिक उपभोग्य सामग्री तथा निर्माण सामग्रीमा मूल्यवृद्धि भएको छ । गमगढी–तारापानी २३ किमि सडक बेलायती सहयोग नियोग ‘डिफिड’को आर्थिक सहयोगमा ग्रामीण पहुँच कार्यक्रम (¥याप थिरी) ले बनाएर प्रदेश सरकारलाई हस्तान्तरण गरेको सडक हो ।
किसानलाई चिस्यान केन्द्र ‘निल्नु न ओकल्नु’
- खेमराज गौतम
गलकोट (बागलुङ), ३० साउनः सुन्तला र आलुको मूल्य दोब्बर बनाउने उद्देश्यले स्थापना गरिएका यहाँका तीन चिस्यान केन्द्र सञ्चालनमा समस्या भएको किसानले गुनासो गरेका छन् ।
तीन वर्षअघि गण्डकी प्रदेश सरकारको सहयोगमा २० देखि ३० टनसम्मका तीनवटा चिस्यान केन्द्र निर्माण भएका थिए । ती चिस्यान केन्द्रले किसानलाई फाइदाभन्दा बढी घाटा पुर्याएपछि बन्द हुने अवस्थामा पुगेका हुन् ।
बागलुङ नगरपालिका–८ सिगाना र काठेखोला गाउँपालिका–६ बिहुँमा सुन्तलाका लागि र काठेखोला गाउँपालिका–३ धम्जामा आलु भण्डारणका लागि निर्माण गरिएका चिस्यान केन्द्र अहिले बन्द हुने अवस्थामा पुगेका छन् । प्राविधिक ज्ञान बिना सञ्चालनमा ल्याइएका चिस्यान केन्द्रबाट किसानलाई राहतभन्दा बढी नोक्सानी भएको सुन्तला किसान रामबहादुर खड्काले बताउनुभयो । सुन्तला र आलुलाई चिस्यान केन्द्रमा राखेर महङ्गो मूल्यमा बजार पठाउने तयारी गरेका किसानलाई अहिले तीन चिस्यान केन्द्र ‘निल्नु न ओकल्नु’ जस्तै भएको छ ।
तीन वर्षअघि गण्डकी प्रदेशको रु २१ लाख र गणेश व्यावसायिक कृषि सहकारी संस्था लिमिटेडको रु १० लाख लागत गरी रु ३१ लाखमा बागलुङ–८ सिगानामा निर्माण गरिएका चिस्यान केन्द्र अहिले सञ्चालनमा आउन सकेका छैनन् ।
सुन्तलालाई बेमौसममा महङ्गो मूल्यमा बजार पठाउने उद्देश्यले निर्माण गरिएको थियो । सहकारीमा आबद्ध किसानले हालसम्म रु दुई लाख विद्युत् महसुल मात्रै तिरेका गणेश व्यावसायिक कृषि सहकारी संस्था लिमिटेडका अध्यक्षसमेत रहनुभएका किसान खड्काले बताउनुभयो । पहिलो वर्ष राखिएका सुन्तलामा एक महिनामा ढुसी पलाएपछि राख्न छोडेको उहाँले उल्लेख गर्नुभयो ।
चिस्यान केन्द्र सञ्चालनमा नल्याउँदा पनि मासिक रु तीन हजार विद्युत् महसुल तिनुपर्ने अवस्था रहेको बताउँदै खड्काले महसुल तिर्न नसकेपछि किसानले विद्युत् कटौती गर्न बाध्य भएका जानकारी दिनुभयो ।
“किसानलाई प्राविधिक ज्ञान भएन, राज्यले गरेको लगानीमा सहकारीमार्फत किसानले लगानी गरेका थिए । अहिले लगानी खेर जाने अवस्था आएको छ, विद्युत् महसुल तिर्दै केन्द्र सञ्चालन गरिराख्न आर्थिक अभाव भएपछि विद्युत्को मिटर निकालियो”, अध्यक्ष खड्काले भन्नुभयो, “किसानलाई नाफा होला भनेर स्थापान गरेको केन्द्रबाट नोक्सानी मात्र भयो । अहिले किसानले सुन्तला राख्नै मान्दैनन्, हामीलाई प्राविधिक रुपमा तापक्रम मिलाउन सिकाइएको छैन । यसरी बिना योजना र ज्ञान चिस्यान केन्द्र राख्ने काम सरकारले बन्द गर्नुपर्छ ।”
उहाँले चिस्यान केन्द्रमा तीन महिना सुन्तला राखेर बजारमा पठाउँदा फाइदा हुने भन्दै केन्द्रमा लगानी गरेका किसान अहिले निरास बनेका बताउनुभयो । बीस टन क्षमताको केन्द्रमा राखिएका सुन्तलामा ढुसी पलाएको भन्दै किसानलाई नोक्सानी हुने देखिएपछि दुई वर्षयता केन्द्र सञ्चालन नगरिएको अध्यक्ष खड्काले बताउनुभयो । केन्द्रको हालै विद्युत् काट्न किसान बाध्य भएका उहाँले जानकारी दिनुभयो ।
यस्तै, काठेखोला गाउँपालिका–६ बिहुँमा निर्माण गरिएको ३० टन क्षमताको सुन्तला चिस्यान केन्द्र अहिले बन्द छ । पहिलो वर्ष सुन्तला राखे पनि राखिएका सुन्तलामा ढुसी देखिएको र विद्युत महसुल तिर्न नसक्दा गत वर्षदेखि केन्द्रमा किसानले सुन्तला नराखेका बिहुँकोट साना किसान सहकारीका अध्यक्ष भुवानीशङ्कर कँडेलले जानकारी दिनुभयो । उहाँले चिस्यान केन्द्र निर्माणमा रु सात लाखको जग्गा खरिद गरी तारबार गरेको बताउँदै रु ५० लाखबढी लगानी डुब्ने अवस्थामा पुगेको जानकारी दिनुभयो ।
“पहिलो वर्ष सुन्तला राखियो, किसान उत्साहित थिए । विद्युत्को महसुल मात्रै रु ३० हजारभन्दा बढी उठ्यो, सुन्तलामा ढुसी लाग्न थालेपछि गत वर्षदेखि सुन्तला राख्न छोडेका छौँ । अहिले सहकारीले मासिक रु तीन हजार विद्युत् महसुल तिर्दै आएको छ”, कँडेलले भन्नुभयो, “किसानले जोखिम लिन नसक्ने भएपछि सुन्तला राख्नै मुस्किल भयो, अहिले यहाँका स्थानीयलाई विद्युत्को रकम तिर्नेगरी जिम्मा दिन थालिएको छ, यसरी योजनाबिना सञ्चालित केन्द्रले किसानलाई ऋणमा डुबाउने काम भएको छ ।”
अध्यक्ष कँडेलले नाफाभन्दा किसानलाई नोक्सान दिने चिस्यान केन्द्र आवश्यक नभएको बताउँदै राज्यको साथै किसानको लगानी र मेहनत खेर गएको उल्लेख गर्नुभयो । चिस्यान केन्द्र बागलुङमा मात्रै नभई अन्य स्थानमा पनि सफल नभएको अध्ययन÷अवलोकनका क्रममा पाएको उहाँले बताउनुभयो ।
काठेखोला गाउँपालिका–३ धम्जामा गण्डकी प्रदेश सरकाले तीन वर्षअघि स्थापना गरेको आलु चिस्यान केन्द्रले आलुको बीउलाई सहज भए पनि विद्युत्को महसुल तिर्न किसानलाई सास्ती भइरहेको स्थानीय गोपाल श्रीसले बताउनुभयो । एक वर्ष विद्युत् महसुल काठेखोला गाउँपालिकाले तिरे पनि दुई वर्षदेखि सहकारीले महसुल तिर्दै आएको उहाँले जानकारी दिनुभयो ।
आलु राख्दा मासिक रु ४० हजारसम्म विद्युत्को रकम तिर्नुपर्ने भन्दै किसानले केन्द्रमा आलु भण्डारण गरी राख्दा नोक्सानी भएको काठेखोला–३ धम्जाका वडाध्यक्ष कुलबहादुर विकले बताउनुभयो । पछिल्लो समय किसाने चिस्यान केन्द्रमा आलुको बीउ मात्रै भण्डारण गर्न थालेका उहाँले जानकारी दिनुभयो । खाने आलु बिग्रिएपछि बीउका लागि भण्डारण गरिएको बताउँदै परिमाण कम भएकाले विद्युत् महसुल तिर्न समस्या भएको विकले बताउनुभयो ।
जिल्लामा रहेका तीनवटै चिस्यान केन्द्रमा आलु र सुन्तला भण्डारण गर्दा सुरक्षित नभएको, विद्युत्को रकम बढी भएकोलगायत अवस्था आएको किसानले गुनासो गरेका छन् ।
सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पारित गर्ने तयारी
काठमाडौँ, ३० साउन : प्रतिनिधिसभामाको आजको बैठकमा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रस्तुत हुँदैछ । विधेयक आजै पारित गर्ने सदनको तयारी छ ।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत कार्यसूची छ ।
कार्यसूचीअनुसार, त्यसअघि कानुनमन्त्री चौरसियाले ‘कानुन, न्याय तथा मानवअधिकार समितिको प्रतिवेदनसहितको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।
प्रतिनिधिसभाको मङ्गलबारको बैठकमा कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति विमला सुवेदीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस गर्नुभएको थियो ।
प्रतिनिधिसभाले उक्त विधेयक समितिमा छलफलका पठाएको थियो । विधेयक यही साउन २४ गतेको समितिको बैठकले सर्वसम्मतिले पारित गरेको थियो । समितिमा सहमति हुन नसकेका विधेयकका केही बुँदामा प्रमुख राजनीतिक दलका नेता सम्मिलित तीन सदस्यीय कार्यदलले सहमति जुटाएको थियो ।
अध्यक्ष दाहालसँग अष्ट्रेलियाली राजदूतको बिदाइ भेट

काठमाडौँ, ३० साउनः नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बिदाइ भेट गर्नुभएको छ ।
खुमटारस्थित अध्यक्ष दाहालको निवासमा भएको भेटमा राजदूत भोल्कले नेपालको सङ्क्रमणकालीन न्यायका साथै शान्ति प्रक्रियाका बाँकी काम सहमतिमा टुङ्ग्याउन लागेकामा बधाई ज्ञापन गर्नुभएको अध्यक्ष दाहालको निजी सचिवालयले जनाएको छ । यसबाट अन्तर्राष्ट्रिय जगत्मा नेपालको गरिमा बढेको राजदूत भोल्कले बताउनुभयो ।
पूर्वप्रधानमन्त्री दाहालले नेपाल–अष्ट्रेलिया सम्बन्धलाई सुदृढ बनाउन राजदूत भोल्कले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै उहाँको कूटनीतिक जीवनको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।





















