त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको रङ्गशालामा रुपान्तरण गरिने
काठमाडौँ, २० साउनः प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशालामा रुपान्तरण गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज क्यानका पदाधिकारी, पूर्वक्रिकेटर, कलाकार केकी अधिकारी र प्रकाश सपुतलगायत क्रिकेट प्रमीसँगको संयुक्त भेटमा प्रधानमन्त्री ओलीले क्रिकेट, खेलाडी र यससँग सम्बन्धित पक्षको विकास र विस्तारका विषयमा छलफल गर्नुभएको हो ।
“क्रिकेट रङ्गशालाका विषयमा आज क्यानका पदाधिकारी, खेलाडी, खेलप्रेमी कलाकार र सचिवालयका साथीहरुबीच छलफल भयो । यससँगै रङ्गशाला निर्माणलाई द्रूत गतिमा अघि बढाउन सजिलो हुने विश्वास लिएका छौँ”, प्रधानमन्त्री ओलिले भन्नुभयो ।
मन्त्रिपरिषद्को पहिलो बैठकले त्रिवि मैदानलाई तीन सय दिनमा अन्तर्राष्ट्रितनस्तरको सुविधा सम्पन्न रङ्गशाला बनाउने निर्णय गरेको थियो ।
सोमबारदेखि स्वयम्भूमा एकमहिने मेला
काठमाडौँ, २० साउनः स्वयम्भूमा भोलि सोमबारदेखि एक महिनासम्म जारी रहने मेलाको सम्पूर्ण तयारी पूरा भएको छ ।
स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले विश्वसम्पदा स्वयम्भू तथा त्यस आसपास क्षेत्रका सम्पदास्थलमा दर्शनका लागि आउने भक्तजनको सुरक्षा, भीड व्यवस्थापन, सरसफाइ, रङरोगन, सडकबत्ती व्यवस्थापनलगायत सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । प्राचीन सम्पदास्थलका चैत्य तथा विभिन्न भाग मर्मत तथा जीर्णोद्धार सम्पन्न गरिएकाले मेलामा आउनेको सङ्ख्या बढ्ने अपेक्षा गरिएको छ ।
महासमितिका महासचिव अशोक बुद्धाचार्यले मन्दिर आसपासमा अस्थायी पसल हटाइएको तथा सहयोगापेक्षीलाई बस्न नदिने व्यवस्था गरिएको बताउनुभयो । थेरवाद, महायान र वज्रयान सम्प्रदायका अनुयायीहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट पाँच लाख मानिस आउने अपेक्षा गरिएको महासमितिले जनाएको छ ।
काठमाडौँ महानगरपालिका–१५ का वडाध्यक्ष ईश्वरमान डङ्गोलले महासमितिसँग समन्वय गरी मेला व्यवस्थापनको प्रबन्ध भएको जानकारी दिनुभयो । स्वयम्भूस्थित महानगरीय प्रहरी वृत्तले ट्राफिक प्रहरीसँगको सहकार्यमा सडक जामलाई व्यवस्थापन गर्ने जनाएको छ ।
गुँला पर्वका रूपमा बौद्ध धर्मावलम्बीले मनाउने चाडका अवसरमा आयोजित मेलाअवधिभर हरेक दिन बिहान गुँला बाजा बजाउँदै स्वयम्भू महाचैत्यको दर्शन परिक्रममा, शोभाभगवतीसँगै विजेश्वरी र सेतो मत्स्येन्द्रनाथको परिक्रमा तथा करुणामयको नामबाट पनि चिनिने सेतो मत्स्येन्द्रनाथको दर्शन गर्ने परम्परा छ ।
खोटाङको राजापानीमा बाघ आतङ्क
खोटाङ, २० साउन: हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीमा बाघको आतङ्क छ । जङ्गलबाट गाउँ पसेको बाघले खोरका खसीबाख्रा, गोठमा बाँधिएका बाच्छापाडा तथा कुकुर मार्न थालेपछि स्थानीय बासिन्दा आतङ्कित बनेका हुन् ।
केही दिनअघिदेखि गाउँ पसेको एउटा बाघले शुक्रबार राति साविक राजापानी गाविस वडा नं २ भोगटिनीस्थित देविका चौहानको घरमा बाँधेको कुकुर तथा सोही राति शम्भुप्रसाद भण्डारीको खसी मारेको स्थानीय बासिन्दाले बताएका छन् । चौहानको घर बाहिर राखिएको खाटमा बाँधेको कुकुर साङ्लोसहित २० मिटर तल लगेर टाउकोबाहेक सबै खाए पनि भण्डारीको खसी भने खोरबाट निकाल्न नसक्दा मारेर भागेको जनाइएको छ । बाघले शनिबार भोगटिनीकै देवीबहादुर कार्कीको बोका मारेको छ ।
राजापानीका स्थानीयका अनुसार केही दिनअघि साविक ६ नं वडामा पर्ने मापाचुलीका कीर्तिमान कार्कीको गोठको बाच्छो बाघले मारेको छ । दुई वर्षअघि पनि जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने लिकुवापोखरीमा चितुवाको त्रास थियो । खोटेहाङ गाउँपालिका–१ लिकुवापोखरीमा त्यतिबेला चितुवाले २५ भन्दाबढी चौपाया मारेको थियो ।
अकबरेखेतीबाट वार्षिक १५ लाख आर्जन गर्दै इलामका खड्गबहादुर
फिक्कल (इलाम), २० साउनः जिल्लाको माङसेबुङ गाउँपालिका–२ का खड्गबहादुर कार्कीलाई घरखर्च टार्न अरुको मुख ताक्नुपरेको छैन । आफ्नै बारीमा गरेको व्यावसायिक अकबरेखेतीबाट घरखर्च चलेको छ । वार्षिक उहाँले रु १५ लाख आर्जन गर्दै आउनुभएको छ ।
मलेसियाको रोजगारीबाट फर्केर दुई वर्षअघि ‘बताहा कृषि तथा नर्सरी फार्म’ दर्ता गरी व्यावसायिक रूपमा अकबरेखेती सुरु गर्नुभएका उद्यमी कार्कीले वार्षिक रु तीन लाख आम्दानी गर्दै आउनुभएको छ । “गत वर्ष एक हजार बोटबाट ११ क्विन्टल अकबरे उत्पादन भएको थियो, पहिलोपटक नै प्रशस्त आम्दानी भयो”, कार्कीले भन्नुभयो, “प्रतिकेजी रु दुई सय ५० देखि रु तीन सयसम्ममा बारीमा नै बिक्री हुने भएकाले यस वर्षदेखि खेती विस्तार गरेको छु ।”
यो वर्ष उहाँले पाँच हजार बोट अकबरे रोप्नुभएको छ । आफ्नै चार तथा छिमेकीको चार रोपनी जग्गा भाडामा लिएर आठ रोपनी क्षेत्रमा खेती विस्तार गर्नुभएको हो । उत्पादिन अबकरे बिक्रीका लागि बजारको चिन्ता नभएपछि खेती विस्तार गरेको उहाँ बताउनुहुन्छ । “सबै खर्च कटाएर वार्षिक रु १० देखि १५ लाखसम्म कमाइ गर्ने लक्ष्यका साथ खेती विस्तार गरेको छु ।” “दुई वर्षसम्म यही बोटले उत्पादन दिन्छ, हरियो खुर्सारी दिनैपिच्छे पनि टिप्न पाइन्छ तर पाकेको भने सातामा दुईपटक टिप्न मिल्छ, एक हजार बोटबाट पहिलोपटक ३० र दोस्रो खेपमा २० केजीसम्म उत्पादन हुन्छ”, कार्कीले भन्नुभयो ।
हरियो खुर्सानी प्रतिकेजी रु दुई सय ५० मा बारीबाटै बिक्री हुने गरेको छ । यहाँ उत्पादित अकबरे इलाम बजारसहित झापाको दमक र सुनसरीको इटहरीसम्मका व्यापारीले लैजाने गरेका छन् ।
सुरुमा थोरै लगानीमा आफ्नै बारीमा अकबरेखेती सुरु गर्नुभएका कार्कीले १० हजार बोट अकबरे विस्तार गर्ने योजनामा रहेको सुनाउनुभयो । उहाँले अबकरेका साथै गोलभेँडा, भण्टा, बन्दाकोभी, प्याजखेती तथा एभोकाडो र कफीका बिरुवा पनि उत्पादन गर्दै आउनुभएको छ ।
महिला भलिबलमा भारतमाथि नेपालको ऐतिहासिक जित
काठमाडौँ १९ साउनः राजधानीमा जारी काभा महिला भलिबल नेसन्स लिग भलिबल प्रतियोगितमा नेपालले पहिलो पटक भारतलाई पराजित गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा आज भएको खेलमा भारतलाई ३-२ को सेटमा पराजित गर्दै नेपालले एतिहासिक जित दर्ता गराएको हो । महिला भलिबल प्रतियोगितामा नेपालले पहिलो पटक भारतलाई हराएको हो । जारी प्रतियोगितामा नेपालको यो दोस्रो जित हो ।
निकै प्रतिस्पर्धात्मक खेलमा पहिलो सेट नेपालले २५-१८ ले जित्यो । खेलको दोस्रो सेट भारतले २५-१२ ले आफ्नो पक्षमा पार्यो । तेस्रो सेट भने नेपालले जित्यो । नेपालले भारतलाई २५-१७ ले पाखा लागायो । तर चौथो सेट १८-२५ ले गुमाएको नेपालले अन्तिम तथा निर्णायक पाँचौ सेटमा भारतलाई १५-१३ ले पराजित गर्यो ।
उक्त च्याम्पियनसिपमा नेपालसहित भारत, श्रीलङ्का, माल्दिभ्स र इरानको सहभागिता छ । शीर्ष चार टोलीले सेमिफाइनल खेल्नेछन् । उक्त प्रतियोगिताअन्तर्गत भोलि दिउँसो ३ बजे हुने पहिलो खेलमा श्रीलङ्का र माल्दिभ्स भिड्नेछन् भने सवा पाँच बजे हुने दोस्रो खेलमा नेपालले इरानसँग खेल्नेछ । उक्त दुवै खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा हुनेछ ।
जारी प्रतियोगिताको आफ्नो पहिलो खेल नेपालले श्रीलङ्कालाई ३-० को सोझो सेटमा पराजित गरेको थियो । नेपालले श्रीलङ्कामाथि २५-१९, २५-१८, र २५-१९ ले पराजित गरेको थियो ।
समाजवादी विद्यार्थी युनियनको पुनर्गठन कार्यक्रम सम्पन्न
धरान, १९ श्रावण । जनता समाजवादी पाटी निकट विद्यार्थी संगठन समाजवादी विद्यार्थी युनियन महेन्द्र बहुमुखी क्याम्पस धरानको इकाई समिति पुनर्गठन कार्यक्रमबाट अध्यक्षमा विजय राई चयन भएकाछन् ।
सोही क्याम्पसको सभामा आयोजित पुनर्गठन कार्यक्रमले उपाध्यक्षहरुमा अस्मिता थापा मगर, प्रकाश कुलुङ्ग, सन्देश बेघा लिम्बु, अनिश बस्नेत, विशाल चाम्लिङ राई चयन भएकाछन ।
त्यसैगरी सचिव पदका लागि जितेन दुमी, सहसचिवहरुमा मिथिला लिम्बु, मन कुमार आले मगर, कस्मिर राई, ईराशा राई, दिलीप काम्दुङ र कोषाध्यक्षमा निशा दाहाल चयन भएकाछन । आजको पुनर्गठन कार्यक्रमले पदाधिकारी सहित पचासी सदस्य इकाई समिति निर्माण भएको समितिका अध्यक्ष विजय राईले जानकारी गराएका छन ।
समितिका उपाध्यक्ष अस्मिता थापा मगरका अनुसार, भाद्र ३१, २०८० मा समाजवादी विद्यार्थी युनियन महेन्द्र बहुमुखी क्याम्पस धरानको चौथो ऐतिहासिक इकाई अधिवेशन सम्पन्न भएको थियो । तर, उक्त अधिवेशन मार्फत चयन भएका अध्यक्ष, उपेन्द्र यादव नेतृत्वको पार्टी निकट विद्यार्थी संगठन समाजवादी विद्यार्थी युनियन नेपालमा रहने निश्चित भए पश्चात् इकाई समिति पुन गठन गर्नु परेको हो भनी जानकारी गराए ।
उक्त पुनर्गठन कार्यक्रममा यही क्याम्पसका पूर्व स्ववियु सभापति तथा जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य भीम राईको प्रमुख आतिथ्ययतामा सम्पन्न भएको थियो । त्यसैगरी विशेष अतिथिमा समाजवादी विद्यार्थी युनियनका केन्द्रीय उपमहासचिव बरदान राई, अतिथिहरूमा किरात राष्ट्रिय समिति बाट मान भगत चाम्लिङ, जिल्ला समितिबाट हरी वान्तावा, धरान नगर समितिबाट अध्यक्ष नगेन्द्र पारघरी लिम्बु, सचिव शम्भु राई (पृथक),समाजवादी युवा संघ धरान नगर अध्यक्ष रञ्जित राई, समाजवादी विद्यार्थी युनियन जनता बहुमुखी क्याम्पस इकाई अध्यक्ष तथा स्ववियु प्रवक्ता लक्ष्मण लिम्बु लगायतको उपस्थितिरहेको थियो ।
मधेस प्रदेशको औद्योगिक विकासमा सघाउने मुख्यमन्त्रीको प्रतिबद्धता
जनकपुर, १९ साउनः मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यहाँ रहेका उद्योग तथा वाणिज्य क्षेत्रको विकासमा प्रदेश सरकारले सकारात्मक सहयोग गर्ने बताउनुभएको छ ।नेपाल उद्योग वाणिज्य महासङ्घ मधेस प्रदेशका प्रतिनिधिमण्डलसँग आज यहाँ भएको भेटमा मुख्यमन्त्री सिंहले प्रदेशमा रहेका औद्योगिक, वाणिज्य क्षेत्रको विकास गर्दै व्यवसायीको मनोबल उच्च बनाउन प्रदेश सरकार सधैँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले बारा–पर्सा औद्योगिक कोरिडोर घोषणा गर्न सङ्घ सरकारसँग छलफल गरिने उल्लेख गर्नुभयो ।
औद्योगिक कोरिडोर घोषणा गर्न प्रदेश सरकारले योजनाबद्ध रुपमा काम गरिरहेको बताउँदै मुख्यमन्त्री सिंहले आवश्यकताका आधारमा सङ्घ सरकार समन्वय गर्ने बताउनुभयो । “कानुनसम्मत भएको खण्डमा बारा–पर्सा औद्योगिक करिडोरको घोषणा प्रदेश सरकारले गर्नेछ । यो विषयमा सरोकार भएकासँग आवश्यक छलफल गरी निर्णय गर्नेछौँ”, उहाँले भन्नुभयो ।
मुख्यमन्त्री सिंहले उद्योगको आवश्यकता र अपेक्षाअनुसार दक्ष कामदार उत्पादन गर्न प्रदेश सरकारले सीपमूलक तालिम दिने योजना बनाइरहेको जानकारी दिनुभयो । उहाँले उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थ नियमित र सहज रुपमा आपूर्तिको व्यवस्था गर्ने विषयमा प्रदेश सरकार गम्भीर रहेको बताउनुभयो ।
“यहाँका सिमेन्ट उद्योगले अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न नसकिरहेको विषयमा अध्ययन टोली गठन गर्नेछौँ”, मुख्यमन्त्री सिंहले भन्नुभयो । प्रदेशका सिमेन्ट उद्योगले प्रतिबोरा रु एक राजस्व तिर्नुपर्ने दायित्व निर्वाह गर्नुपर्नेमा जोड दिँदै उहाँले यहाँका केही उद्योगले मात्र राजस्व बुझाएका बताउनुभयो ।
प्रदेश सरकार इ–गभर्नेन्समा जान लागेको भन्दै उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयमार्फत औद्योगिक क्षेत्रको प्रवर्द्धन गर्न प्रविधिसँग जोड्ने तयारी भइरहेको मुख्यमन्त्री सिंहले जानकारी दिनुभयो ।
बारा र पर्साका उद्योगी, व्यापारीको प्रतिनिधित्व रहेको महासङ्घको टोलीले प्रदेशको समृद्धिका लागि कृषि, पर्यटन, उद्योग क्षेत्रका चुनौती र सम्भावनाका बारेमा मुख्यमन्त्री सिंहलाई ध्यानाकर्षण गराउनुभएको थियो ।
प्रतिनिधिमण्डलले जनकपुरधाम तथा मधेसको सर्वाङ्गीण विकास, काठमाडौँस्थित श्रम अदालतको अधिकार प्रदेशको उच्च अदालतमा प्रत्यायोजन र वातावरणीय अध्ययन प्रतिवेदनका काम प्रदेश उद्योग विभागका महानिर्देशकले गर्नेगरी कानुनी व्यवस्था गर्नुपर्ने आग्रह गरेको छ ।
कृषिक्षेत्र वर्गीकरण गर्नुपर्ने, केन्द्र सरकारको क्षेत्राधिकारमा रहेका खाद, बीउलगायत कृषिजन्य वस्तु प्रदेश सरकारमार्फत वितरण हुनुपर्ने, व्यावसायिक खेती र मूल्यमा आधारित कृषि वस्तुको अनुसन्धान गर्न राज्यले उत्प्रेरित गर्नुपर्ने, जडीबुटीलगायत अन्य वनजन्य उत्पादनको अनुमति प्रदेश सरकारबाट लिइनुपर्ने व्यवस्था, प्रदेशस्तरमा व्यापार तथा निर्यात केन्द्र सञ्चालन गरिनुपर्नेलगायत माग प्रतिनिधिमण्डलको छ ।
उद्योग, वाणिज्य महासङ्घ जनकपुरले धनुषाधामस्थित वन तथा मन्दिरको सौन्दर्यकरण गरिनेपर्ने, जनकपुरधामको १५ दिने परिक्रमाका हजारौँ तीर्थयात्रीको रात्रीबासको व्यवस्था, धार्मिक तथा पर्यटकीय स्थलको योजनाबद्ध विकास, जनकपुरधाम–जयनगर रेल्वेमा मालवाहक गाडीको व्यवस्था, जनकपुरधामका पोखरी, मन्दिर, धार्मिक तथा पर्यटकीय स्थलको योजनाबद्ध विकास, किसानलाई प्राविधिक ज्ञानलगायत विषयमा मुख्यमन्त्री सिंहको ध्यानाकर्षण गराएको छ ।
सुपारीखेती भरपर्दो आम्दानीको स्रोत
भद्रपुर (झापा), १९ साउन : झापामा नगदेबालीका रुपमा लगाइने सुपारीखेती भरपर्दो आम्दानीको स्रोत बन्दै गएको छ । कम लगानीमा राम्रो प्रतिफल दिने भएकाले यहाँका किसान सुपारीखेतीतर्फ आकर्षित भएका हुन् ।
झापाको बुद्धशान्तिका रुद्रप्रसाद पोखरेलले दुई बिघाभन्दा बढी जमिनमा सुपारीखेती गर्नुभएको छ । “व्यापारी बगानमै आएर सुपारी खरिद गर्ने भएकाले बजारको चिन्ता छैन । वार्षिक रु पाँच लाखभन्दा बढी आम्दानी भइरहेको छ । मेहनत गर्ने हो, गोडमेल गर्ने हो भने आम्दानी अझै बढाउन सकिन्छ”, उहाँले भन्नुभयो ।
सुपारीले अन्य बालीलाई असर नगर्ने भएकाले यसतर्फ आकर्षण बढेको बुद्धशान्तिका चन्द्रशेखर पौडेल बताउनुहुन्छ । “मैले एक बिघा १२ कट्ठा जमिनमा सुपारीखेती गरेको छु, सुपारीको बारी भित्रै सिजनअनुसार तरकारी, रोपाइँ र मकै खेती गर्ने गरेको छु । सुपारीबाट मात्रै वार्षिक रु तीन लाखभन्दा बढी आम्दानी भइरहेको छ”, उहाँले भन्नुभयो ।
अरु खेती लगाउँदा हात्तीले नोक्सान गर्ने भएकाले नगदेबाली सुपारी खेतीमा लागेको अर्का किसान निर्मल भट्टराई बताउनुहुन्छ । उहाँका अनुसार सुपारीका दानासँगै यसको पत्ताबाट दुनाटपरी बनाउन सकिन्छ । सुपारीको बोटमा फल लागेदेखि नै व्यापारीले अग्रिम भुक्तानी गर्ने गरेको अर्का किसान बिन्दु पौडेल बताउनुहुन्छ ।
“बिरुवा लगाएको सात वर्षदेखि यसले फल उत्पादन सुरु गर्छ । त्यसपछि निरन्तर यसबाट वार्षिक रुपमा आम्दानी भइरहन्छ”, उहाँले भन्नुभयो ।
राज्यले उन्नत जातका सुपारीका बिरुवामा लगानी गर्दै किसानको उत्पादनलाई बजारीकरणमा समन्वय गरिदिने हो भने सुपारीखेती गर्ने किसानको आम्दानी बढ्दै जाने स्थानीय प्रेम राई बताउनुहुन्छ । “पहिले घरआँगन सजाउनका लागि सुपारीका बिरुवा रोप्ने गरिन्थ्यो । पछिल्लो समय सुपारीखेती व्यावसायिक रुपमा गर्दै वार्षिक लाखौँ रुपैयाँ आम्दानी भइरहेको छ”, उहाँले भन्नुभयो ।
एकीकृत समाजवादीद्वारा केन्द्रीय कमिटीलाई पूर्णता
काठमाडौँ, १८ साउन : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आज बसेको केन्द्रीय समिति बैठकले अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालसहितको तीन सदस्यीय कार्यदलले सिफारिस गरेका नामलाई अनुमोदन गरेसँगै केन्द्रीय कमिटीले पूर्णता पाएको हो ।
केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेयले आजको बैठकले दुई सय ५१ केन्द्रीय सदस्य मनोनित गरेको र अब १८ पदाधिकारी छनोट गरिने जानकारी दिनुभयो । गत असार १६ देखि २० गतेसम्म सम्पन्न महाधिवेशनले तीन पदाधिकारी र ९० केन्द्रीय सदस्य चयन गरेको थियो । अब केन्द्रीय कमिटी तीन सय ४४ सदस्यीय बनेको छ ।
पार्टीमा केन्द्रीय सदस्यका लागि आकांक्षी धेरै भएपछि नेताहरूको योगदान, कार्यक्षमता तथा भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर विधानअनुसार बनाइएको क्लष्टर तथा सातै प्रदेशबाट सिफारिस नामावलीका आधारमा कार्यदलले केन्द्रीय सदस्य तोकेको पाण्डेयले बताउनुभयो ।
आगामी बैठकबाट पदाधिकारी, विभाग र आयोग तथा नेताहरूको जिम्मेवारीसमेत बाँडफाँट गरिने जनाइएको छ ।
अलैँचीका बोट मासिँदै, मूल्य वृद्धि हुँदै
मङ्गलबारे (इलाम), १८ साउन : जिल्लामा पछिल्लो समय अलैँचीको मूल्य वृद्धि भए पनि बोट मासिँदै जान थालेका छन् । अलैँचीलाई फागुन–चैतमा पानी आवश्यक पर्नेमा समयमा वर्षा नहुँदा बोट मासिँदै जान थालेका हुन् ।
गत वर्ष प्रतिमन (४० किलो) रु ८० हजारमा बिक्री भएको अलैँची यस वर्षको सुरुमा रु ८५ हजार प्रतिमन खरिदबिक्री भइरहेको छ । यस वर्ष अलैँचीको मूल्य बढे पनि उत्पादन घटेको किसान बताउँछन् । समयमा पानी नपरेकाले अलैँचीका बिरुवा मासिनाका साथै उत्पादनमा कमी आएको किसान हरि पोख्रेलले बताउनुभयो ।
“अलैँचीलाई फागुन–चैतमा पानी आवश्यक पर्छ । त्यो समयमा पानी नपरेकाले बोट मासिएका छन् । पानी नपरेपछि पुराना उत्पादन दिने कतिपय स्थानका बोटसमेत मरेका छन्”, उहाँले भन्नुभयो । यसअघि प्रशस्त उत्पादन दिएका बोट यस वर्ष सुक्खाका कारण मरेका उहाँले बताउनुभयो । मूल्य बढी भएकै कारण अलैँचीलाई खोल्सीको कालो सुन भन्ने गरिन्छ । अलैँची टिप्ने ‘सिजन’ सुरु हुनै लाग्दा मूल्य राम्रो हुँदा किसान खुसी भए पनि उत्पादन घट्ने चिन्ता लागेको किसानको भनाइ छ ।
समयमा पानी नपरेको, जुर्जुरे, स्याङ्लेलगायत रोगको सङ्क्रमणले बोट मासिँदै गएका अलैँची व्यवसायी महासङ्घले जनाएको छ । सुक्खायाम भएकाले अलैँचीका बोट सुक्दै गएर अहिले मासिन थालेका किसान बताउँछन् । मूल्य बढेपछि अहिले जिल्लाका विभिन्न स्थानमा नयाँ बिरुवा लगाउने काम भइरहेको महासङ्घले जनाएको छ । अलैँची विकास केन्द्र फिक्कलले बिरुवा उत्पादन गरी प्रतिबिरुवा रु पाँचका दरले बिक्री भइरहेको जनाएको छ । किसानले उत्पादन गरेका बिरुवा प्रतिगोटा रु १० मा बिक्री हुँदै आएको छ ।
किसान पोख्रेलका अनुसार अलैँची लगाएको तीन वर्षदेखि उत्पादन सुरु हुन्छ । जिल्लामा रामसाई, गोल्साई, चिबे, सलकपुर, भार्लाङलगायत स्थानमा अलैँचीखेती हुन्छ । सलकपुर जातको अलैँची चाँडो र बढी उत्पादन हुने भएकाले धेरैको रोजाइमा पर्ने गरेको उहाँले बताउनुभयो । “अन्य जातका बिरुवा बढी समयसम्म टिक्ने हुन्छन् । सलकपुरको टिकाउ भने कम हुन्छ”, उहाँले भन्नुभयो ।
वर्षामा सलकपुरको बिरुवा लगाइन्छ । अलैँचीको दलबाट र झाङ फुटाएर बिरुवा उत्पादन गरिन्छ । झाङ फुटाएर लगाइएको बिरुवाले दुई वर्षदेखि उत्पादन दिन्छ भने दलबाट लगाएको बिरुवाले चार वर्षदेखि उत्पादन दिन थाल्छ । नेपालको पूर्वी पहाडी क्षेत्र अलैँची उत्पादन गर्न उपयुक्त मानिन्छ । इलामसहित सङ्खुवासभा, पाँचथर, धनकुटा र भोजपुर अलैँची उत्पादनका लागि उर्भर भूमि मानिन्छ । अलैँची ४३ जिल्लाका १८ हजार पाँच सय हेक्टरमा खेती गरिएकामा यसको क्षेत्र विस्तार गरेर ५३ जिल्लामा पु¥याइएको अलैँची व्यवसायी महासङ्घले जनाएको छ ।
नेपालका लागि अलैँचीको मुख्य बजार भारत हो । यसको खपत भारत, पाकिस्तान, बङ्गलादेशका साथै युरोपियन देशहरुमा हुने गरेको महासङ्घको भनाइ छ । हाल रु ८५ हजार प्रतिमनमा अलैँची खरिदबिक्री भइरहेको इलाम बजारका अलैँची व्यापारी प्रकाश अग्रवालले बताउनुभयो । यस वर्ष अलैँचीको मूल्य बढेर रु एक लाख नाघ्ने अनुमान गरिएको उहाँको भनाइ छ ।
पूर्वी क्षेत्रमा उत्पादन भएको अलैँची झापाको कांकरभित्ता हुँदै बाहिर निकासा हुने गरेको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष ५० लाख १८ हजार तीन सय ३५ किलो अलैँची निर्यात हुँदा रु सात अर्ब ९४ करोड नौ लाख ६४ हजार बराबरको करोबार भएको थियो । आव २०७९÷८० मा रु आठ अर्ब २७ करोड ६८ लाख बराबरको ९९ लाख ९१ हजार एक सय ४९ किलो अलैँची निर्यात गरेको थियो ।
