बिहिबार, ११ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01J46SK9TDMWM25KKTMWKTKCX2.jpg

कानुन बेगर मुद्दा चल्दैनः गृहमन्त्री लेखक

काठमाडौँ, १७ साउनः गृहमन्त्री रमेश लेखकले लोकतन्त्रका आधारभूत तत्वमध्ये विधिको शासन एउटा तत्व भएको बताउनुभएको छ । बिहीबार सिंहदरबारमा विकास, आर्थिक मामिला तथा सुशासन समितिले ‘सुशासन प्रवर्द्धनका लागि राष्ट्रिय सदाचार नीतिको आवश्यकता’ विषयक छलफलमा उहाँले लोकतन्त्रमा कानुन बेगर मुद्दा चल्न सक्दैन भन्नुभयो ।     
     
“फाइल खोल्ने भन्या के हो ? मुद्दा चलाउने भन्या होला नि, लोकतन्त्रमा मुद्दा कानुन बेगर चल्छ ?, रहरमा मुद्दा चल्दैन, कसैका चाहनाले मुद्दा चल्दैन, कानुनबमोजिम चल्छ भन्ने मेरो आग्रह छ,” उहाँले भन्नुभयो, “कुनै मुद्दा चलेको छभने छट्नु पनि कानुनबमोजिम छुट्छ भन्ने मेरो आधारभूत मान्यता हो ।”     
     
सदाचार मानिसले आफ्नो भित्रबाट राम्रो गर्र्न उत्प्रेरित गर्ने विषय भएको उहाँको भनाइ थियो । “यो विषयलाई सरकारले प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु,” उहाँले भन्नुभयो, “समितिबाट सरकारलाई आवश्यक सुझाव दिन आग्रह गर्दछु ।”     
     
त्यसैगरी, प्रहरी कर्मचारी सरुवाको विषय निरन्तरको प्रक्रिया भएको उहाँले बताउनुभयो । “कर्मचारीको सरुवा र बढुवा हुन्छ । कहिलेकाहीँ सामान्यतया अवधि तोकेको हुन्छ तर कहिलेकाहीँ अवधिभन्दा पहिले पनि हुन्छ,” मन्त्री लेखकले भन्नुभयो, “जुन पदको सरुवाको कुरो छ उहाँ अत्यन्त योग्य मानिस हो र योग्यतम ठाउँमा पुग्नुभएको छ किनभने प्रहरीलाई तालिम दिने भन्या त सबैभन्दा बढी पढेलेखेको चाहियो नि, प्रहरी राम्रो बनाउनु प¥यो । अनि राम्रो प्रहरीलाई राम्रो तालिम दिन राम्रो मान्छे पठाउँदा के समस्या भयो ?” उहाँले यो प्रक्रियालाई सामान्य रुपमा लिन आग्रहसमेत गर्नुभयो ।    

प्रकाशित मितिः बिहिबार, १७ साउन २०८१
https://jawaaf.com/storage/01J46JPM8N6R98WZDG451ESKTM.jpg

सामसुङका कर्मचारी पुनः आन्दोलित

सियोल, १७ साउन : सामसुङ इलेक्ट्रोनिक्सका दक्षिण कोरियाली युनियनका नेता तथा सदस्यले बिहीबार तलब तथा सुविधा वृद्धिका लागि माग गर्दै विरोध प्रदर्शन गरेका छन् । नयाँ वार्ता असफल भएपछि उनीहरूले कम्पनी अध्यक्ष र उत्तराधिकारीको घरमा घेराउ गरेका हुन् ।     
      
युनियनले जुलाईमा पनि तलब तथा सुविधा वृद्धिका लागि माग गर्दै हडताल गरेका थिए । उक्त समूहले सोही आन्दोलनलाई स्वरूप बदलेर ‘अनिश्चितकालका लागि’ विस्तार गरेको थियो । आन्दोलित कामदारहरूले यस हप्ताको सुरुमा उत्पादन मेसिन अवरूद्ध गरेपनि दोस्रो त्रैमासिकमा नाफामा भएकाले सेमिकन्डक्टर प्रशोधनमा ढिलाइ भए पनि प्रभाव तत्काल नहुने सनल सामसङ इलेक्ट्रोनिक्स युनियन (एनएसईयू) का उपाध्यक्ष ली ह्युन–कुकले बताउनुभयो ।     
      
युनियनले बुधबार व्यवस्थापनसँग अन्तिम वार्ता गरेको तर सहमतिमा पुग्न नसकेपछि आन्दोलनको घोषणा गरेको थियो । सामसुङ इलेक्ट्रोनिक्सको हडतालका लागि ली जे योङ जिम्मेवार हुनुपर्छ भन्ने पोष्टर बोकेका युनियनका अधिकारीहरू बिहीबार सामसुङका अध्यक्ष ली जे योङको घर बाहिर भेला भई प्रदर्शन गरेका थिए ।     
      
युनियनले कम्पनीले हडतालमा सहभागीको ‘कालोसूची’ सिर्जना गर्नेसहित अवैध माध्यमबाट हडताल तोड्न खोजिरहेको युनियनका प्रमुख सोन वु मोकले बताएउनुभयो । यसैबीच सामसुङले बुधबार श्रमिक युनियन हडताल चाँडै समाप्त भएको सुनिश्चित गर्न सञ्चार र छलफल गरिरहेको र ग्राहकको प्रतिक्रिया दिन कुनै समस्या नभएको जनाएको छ ।     
      
आन्दोलनरत नेशनल सामसुङ इलेक्ट्रोनिक्स युनियनमा कम्पनीको एक चौथाई अर्थात् करिब ३६ हजार सदस्य रहेका दावी गरिएको छ । कम्पनीमा श्रम सङ्गठन गर्न वर्जित गरिएको छ । दुई वर्षअघि युनियनले लीको निवास अगाडि प्रदर्शन गरी तीनवटा थप बिदाहरू थप्न सफल भएको थियो ।(रासस/एएफपी)

प्रकाशित मितिः बिहिबार, १७ साउन २०८१
https://jawaaf.com/storage/01J46FER1B4DS6NWNS4G63TP52.jpg

‘नेपाली शान्तिप्रक्रियाको मौलिकता विश्वव्यापी स्थापित’

काठमाडौँ, १७ साउनः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले नेपाली शान्तिप्रक्रियाको मौलिकता र विशेषता विश्वव्यापी स्थापित हुने विश्वास व्यक्त गर्नुभएको छ ।

प्रमुख तीन राजनीतिक दलबीच सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति भएपछि उहाँले बृहत् शान्ति सम्झौता भएको १७ वर्ष  आठ महिना ११ दिनपछि महत्वपूर्ण सहमति भएको बताउनुभयो ।

सो अवधिमा संविधान निर्माण, सेना समायोजनलगायत सम्पन्न भइसकेका छन् । उहाँले भन्नुभयो, “द्वन्द्वपीडितलाई न्याय, परिपूरण र  मेलमिलाप ढिलाइ भइरहेको थियो । आज महत्वपूर्ण सहमति भएको छ ।”  

नेता शर्माले भन्नुभयो, “सम्मानित अदालतको आदेशबमोजिम टिआरसी विधेयक संशोधनका लागि सहमति जुट्न नसकिरहेको सन्दर्भमा गृहमन्त्री रमेश लेखक, माननीय महेश बर्तौला र म समेतलाई दिएको जिम्मेवारी, सरोकारवाला पक्ष र विज्ञको सल्लाह, सुझाव, सहयोग लिई सहजीकरण गर्न सफल भएका छौँ ।”

उहाँले यसबाट नेपालको शान्ति प्रक्रियाको बाँकी काम चाँडो पूरा हुने विश्वास व्यक्त गर्नुभयो । उपमहासचिव शर्माले यस क्रममा सल्लाह–सुझाव दिएर वा प्रश्न गरेर सहयोग गर्ने सबै र महत्वपूर्ण कामको जिम्मेवारी दिनुहुने पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई धन्यवाद दिनुभएको छ । प्रमुख तीन दलबीच सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमा आज सहमति जुटेको हो ।

प्रकाशित मितिः बिहिबार, १७ साउन २०८१
https://jawaaf.com/storage/01J46EZZ9NCKXCR1PF39V1Z41K.jpg

सेनाको कमाण्ड सम्हाल्दै बलाधिकृत रथी सिग्देल

काठमाडौँ, १७ साउनः मुलुकको प्रमुख सुरक्षा सङ्गठन नेपाली सेनाको ४५औँ प्रधान सेनापतिका रुपमा बलाधिकृत रथी अशोकराज सिग्देलले करिब एक महिनापछि जिम्मेवारी सम्हाल्दै हुनुहुन्छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले यही साउन २५ गतेदेखि लागू हुनेगरी रथी सिग्देललाई कायममुकायम प्रधान सेनापतिको जिम्मेवारी तोक्नुभएसँगै सङ्गठनको नेतृत्व गर्ने बाटो खुलेको हो ।     
     
यही साउन १० गतेको मन्त्रिपरिषद् बैठकले ज्येष्ठताका आधारमा रथी सिग्देललाई कामु भई प्रधान सेनापतिको जिम्मेवारी सम्हाल्ने गरी तोक्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । प्रधान सेनापति प्रभुराम शर्मा तीनवर्षे पदावधि आगामी भदौ २४ गते समाप्त भई अनिवार्य अवकाशमा जाँदै हुनुहुन्छ । प्रधानसेनापति अवकाश हुनु एक महिना घर बिदामा बस्ने प्रावधान रहेअनुसार रथी सिग्देलले कामु प्रधान सेनापतिको जिम्मेवारी पाउनुभएको हो ।     
     
बलाधिकृत रथी सिग्देलले स्वदेश तथा विदेशबाट व्यावसायिक सैन्य शिक्षा हासिल गर्नुभएको छ । आर्मी कमान्ड एन्ड स्टाफ कलेज शिवपुरी र चीनको नेसनल डिफेन्स युनिभर्सिटीबाट स्नातक उहाँले आर्मी वार कलेजमा हायर कमान्ड एन्ड म्यानेजमेन्ट कोर्स र भारतबाट डिफेन्स म्यानेजमेन्ट कोर्स पूरा गर्नुभएको छ ।     
     
राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका विभिन्न कार्यशाला र व्यावसायिक सेमिनारमा पनि भाग लिनुभएका बलाधिकृत रथी सिग्देलले त्रिभुवन विश्वविद्यालय र चीनको राष्ट्रिय रक्षा विश्वविद्यालयबाट रणनीतिक अध्ययनमा स्नातकोत्तर उपाधि हासिल गर्नुभएको छ ।     
     
अठ्तीस वर्षको सैन्य जीवनमा उहाँसँग काउन्टर इन्सर्जेन्सी र जङ्गल वारफेयर स्कूलको कमान्डेन्ट, इन्फन्ट्री ब्रिगेड र डिभिजनको कमान्ड गरेको अनुभव छ । बलाधिकृत रथी सिग्देलले सन् २०२२ मा अमेरिका–नेपाल तेस्रो ल्यान्ड फोर्स वार्ताका लागि नेपाली सेनाको प्रतिनिधिमण्डलको पनि नेतृत्व गर्नुभएको थियो ।     
     
कोरोना महामारीका समयमा कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) को सचिवका रूपमा पनि उहाँले काम गर्नुभयो ।     
     
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रणनीतिक महत्वका घटनालाई नजिकबाट चासो साथ हेर्नुहुने रथी सिग्देल सङ्गठनभित्र अध्ययनशील र सकल दर्जाका कुरा सुन्ने व्यक्तित्वका रुपमा परिचय बनाउनुभएको छ । उहाँले सैनिक सङ्गठनभित्र युद्धकार्य, सम्भार विभाग, नीति महानिर्देशक र उपत्यका पृतनाजस्ता महत्वपूर्ण जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरिसक्नुभएको छ ।     
     
त्यस्तै, अन्तर्राष्ट्रिय क्षेत्रमा संयुक्त राष्ट्र शान्ति सेनाअन्तर्र्गत पूर्व युगोस्लाभिया, ताजिकिस्तान र लाइबेरिया जस्ता चुनौतीपूर्ण स्थानमा सेवा गरिसक्नुभएको छ ।     
     
सैनिक जीवनको उत्कृष्ट सेवाको कदरस्वरुप उहाँ सुप्रबल जनसेवाश्री तेस्रोसहित विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदकबाट विभूषित हुनुहुन्छ । सङ्गठनको उन्नयनमा उत्कृष्ट योगदान पु¥याएबापत उहाँले दुईपटक ‘प्रधान सेनापति प्रशंसा पदक’समेत पाउनुभएको छ ।     
     
नेपालको संविधानले सेनालाई नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षा गर्ने महत्वपूर्ण जिम्मेवारी तोकेको छ । यसका अलवा विपद् व्यवस्थापन, राष्ट्र विकास, शान्ति स्थापना, आन्तरिक सुरक्षा, वन तथा पर्यावरण सुरक्षा, ऐतिहासिक धरोहरको संरक्षण, राष्ट्रिय एकताको प्रवद्र्धन र आपत्कालीन खोज तथा उद्धारका कार्य पनि सेनाको जिम्मेवारी क्षेत्रमा रहेको छ ।     
     
नेपाली सेनाले अन्तर्राष्ट्रिय शान्ति स्थापना कार्यमा समेत विशिष्ट योगदान पु¥याउँदै आएको छ । नेपाली सेना व्यावसायिक, अनुशासित, कर्तव्यनिष्ठ र मानव अधिकार प्रवद्र्धनका दृष्टिकोणबाट समेत अब्बल ठहरिएका कारण द्वन्द्वग्रस्त राष्ट्रका जनताको पहिलो रोजाइमा पर्दै आएको छ ।     
     
संयुक्त राष्ट्र सङ्घको आह्वानमा महिलासहित ठूलो सङ्ख्यामा शान्ति सैनिक खटाउने मुलुकको सूचीमा पहिलो स्थानमा छ । त्यस क्रममा हालसम्म विभिन्न ४४ वटा मिसनमा एक लाख ५२ हजार आठ सय १८ शान्ति सैनिकले शान्ति स्थापना कार्यका लागि योगदान पु¥याइसकेका छन्भने हाल विभिन्न ११ मिसनमा पाँच हजार नौ सय १६ सैनिक कार्यरत रहेको नेपाली सेनाले जनाएको छ ।   

प्रकाशित मितिः बिहिबार, १७ साउन २०८१
https://jawaaf.com/storage/01J46C33EVRTDK44PQMBW1RJCW.jpg

क्यान्सर अस्पतालमा बिरामी मृत्यु भएपछि दुई नर्स निलम्बित

चितवन, १७ साउनः बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत बिरामीको किमो (क्यान्सर कोषहरुलाई नष्ट गर्न प्रयोग गरिने औषधि) को मात्रा बढी दिएर मृत्यु भएपछि दुईजना नर्सलाई निलम्बन गरिएको छ । दुईजना नर्सलाई निलम्बन गरिएको छ भने दुई चिकित्सकसहित २३ जनासँग स्पष्टिकरण माग गरी सचेत गराइएको हो ।

अस्पतालमा उपचारका लागि आएका बिरामीलाई दिनुपर्ने भन्दा दश गुणा बढी किमोको मात्रा दिएपछि मृत्यु भएको थियो । बिरामीलाई तीन दशमलव चार मिलिग्राम किमो दिनुपर्नेमा ३४ मिलिग्राम दिएपछि बिरामीको मृत्यु भएको देखिएको अस्पतालका सूचना अधिकारी गृहीनारायण महतोले बताउनुभयो ।

अस्पतालले दिएको जानकारी अनुसार लमजुङको दोर्दीका ५० वर्षीय भक्तराज गुरुङको खुट्टामा छालाको क्यान्सर भएपछि उहाँको उपचार भइरहेको थियो । उपचारका क्रममा आवश्यकभन्दा बढी किमो दिएपछि गुरुङको मृत्यु भएको महतोले बताउनुभयो । उहाँका अनुसार मेडिकल वार्डमा तीन पटकसम्म सोही मात्राको किमो दिएपछि बिरामीको शरीरले उक्त मात्रा धान्न नसकेर गत असार १३ गते राति मृत्यु भएको थियो ।

“खुट्टाको छालाको क्यान्सर ‘मेलानो’मा भएपछि शल्यक्रिया गरिएको थियो । रोग फैलिएर खुट्टा मुनिको काछसम्म पुगेर गाँठागुठी देखिएपछि ‘बायप्सी’ (क्यान्सर भए÷नभएको पत्ता गराउन गरिने परिक्षण) गरेर क्यान्सर एकीन गरिएको थियो । सो पश्चात् बिरामीलाई किमो दिन थालिएको थियो”, उहाँले भन्नुभयो ।

बिरामीको उपचारमा लापरबाही भएको देखिएपछि अस्पताल प्रशासनले दुई चिकित्सकसहित २३ जना नर्ससँग स्पष्टिकरण मागेको छ । सूचना अधिकारी महतोका अनुसार नर्स प्रभा तामाङ् र आकृति श्रेष्ठलाई निलम्बन गरिएको छ ।

अस्पतालले उपनिर्देशक डा उमेश नेपाल, मेडिकल अङ्कोलोजी विभागका प्रमुख डा गुरुशरण शाह र नर्सिङ् प्रमुख अनिता देवकोटा रहेको छानबिन समिति गठन गरेको थियो । समितिले यही साउन ३ गते प्रतिवेदन बुझाएको महतोले जानकारी दिनुभयो । 

अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलले अध्ययन टोलीले आफ्नो प्रतिवेदन दिएपछि सोही आधारमा दुईजनालाई निलम्बन र २३ जनालाई स्पष्टिकरण सोधिएको बताउनुभयो ।  यससँगै आवश्यक कारबाही प्रक्रिया अघि बढाइने उहाँले जानकारी दिनुभयो । 

पौडेलले भन्नुभयो “काममा लापरबाही देखिएकाले आवश्यक कारबाही गर्नेछौँ । आगामी दिनमा यस्ता लापरबाही हुन नदिन नियमित अनुगमनका गर्ने व्यवस्था मिलाउने छौँ ।”

प्रकाशित मितिः बिहिबार, १७ साउन २०८१
https://jawaaf.com/storage/01J469TWF5DEPSH2DARMZW5AZD.jpg

कोशी टप्पु वन्यजन्तु आरक्षबाट ४० लाख राजस्व सङ्कलन

धरान (सुनसरी), १७ साउनः कोसी टप्पु वन्यजन्तु आरक्षले आर्थिक वर्ष  २०८०/८१ मा रु४० लाख १४ हजार सात सय ९४ राजस्व सङ्कलन गरेको छ । आरक्षका सहायक संरक्षक अधिकृत विनयकुमार मिश्रका अनुसार आक्षमा जङ्गल सफारी, परापर्यटक, वनपैदावार, जङ्गल पैदल यात्रा, हात्ती सफारी, जरिवानाबाट रु ४० लाख १४ हजार सात सय ९४ राजस्व सङ्कलन गरेको हो । सबैभन्दा धेरै रकम आन्तरिक तथा बाह्य पर्यटकबाट उठेको हो । आव २०७९/८० मा कार्यालयले रु ३९ लाख ९४ हजार चार सय आठ राजस्व सङ्कलन गरेको थियो ।   

हिउँदमा आन्तरिक पर्यटक बढी आउने गरेका छन् । आरक्ष पूर्वी क्षेत्रका शैक्षिक प्रतिष्ठानका विद्यार्थीको प्रमुख शैक्षिक भ्रमणस्थल बनेको छ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) क्षेत्रका पर्यटकले रु सात सय ५०  अन्य देशका आगन्तुकले रु. एक हजार पाँच सय शुल्क तिर्नुपर्ने व्यवस्था छ । उक्त रकम तिरेपछि १२ घण्टा घुम्न पाइन्छ । 

आरक्षको प्रचाप्रसार गर्नसके अझ धेरै पर्यटक कोशीटप्पु आउने होटल व्यावसायी महासङ्घ कोशी प्रदेशका महासचिव वासुदेव बरालले बताउनुभयो । विभिन्न प्रजातिका चरा, अर्ना, गँैडा, हात्ती आरक्षका प्रमुख आकर्षण हुन् । 

प्रकाशित मितिः बिहिबार, १७ साउन २०८१
https://jawaaf.com/storage/01J4698ADADVC7BBB3PE8HYEGE.jpg

तोलामा एक हजार छ सयले बढ्यो सुनको मूल्य

काठमाडौँ, १७ साउन :  स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु एक हजार छ सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला रु एक लाख ४७ हजार आठ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ४९ हजार चार सय निर्धारण भएको छ । 

आजको मूल्यपछि सुनको मूल्य पुनः रेकर्ड नजिक पुगेको छ । चाँदीको मूल्य तोलामा रु २० ले बढेको छ । बुधबार प्रतितोला रु एक हजार सात सय ८० मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार आठ सय  निर्धारण भएको छ । 

प्रकाशित मितिः बिहिबार, १७ साउन २०८१
https://jawaaf.com/storage/01J46235EBFX8F56X560GJKYNJ.jpg

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधयेकमा सहमति जुटाउन संयन्त्रको बैठक जारी

काठमाडौँ, १७ साउनः सङ्क्रमणकालीन न्यायसम्बन्धी विधयेकमा सहमति जुटाउन गठित संयन्त्रको बैठक गृह मन्त्रालयमा जारी छ । 

बैठकमा संयन्त्रका सदस्यहरू गृहमन्त्री रमेश लेखक, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का मुख्य सचेतक महेश बर्तौला र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्मा हुनुहुन्छ । बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया र कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति विमला सुवेदी पनि  सहभागी हुनुहुन्छ ।

प्रकाशित मितिः बिहिबार, १७ साउन २०८१
https://jawaaf.com/storage/01J461QK1T4R2CK1XV0Q9ZHC4J.jpg

सरकारी निवासमा पार्टीको बैठक नगर्ने प्रधानमन्त्रीको उद्घोष

काठमाडौँ, १७ साउन : प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टीको कुनै पनि बैठक नगर्ने घोषणा गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो स्वास्थ्यले साथ दिएसम्म सरकारी निवासमा पार्टीका कुनै पनि बैठक नगर्ने घोषणा उहाँले गर्नुभएको हो ।

प्रधानमन्त्रीले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “शुभ बिहानी! सामाजिक सञ्जालमार्फत तपाईँहरूले दिनुभएको सुझावअनुसार मेरो स्वास्थ्य अवस्थाले साथ दिएसम्म सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराख्ने जानकारी गराउँछु । आज हाम्रो पार्टीको सचिवालय बैठक छ । मनोहरा खोलामा आएको बाढीको डुबानले बैठक पार्टी कार्यालयमा बस्न नसक्ने भएका कारण यसपटक बैठक अन्यत्र राखिएको छ । यसरी नै मलाई सुझाव दिँदै जानुहोला । धन्यवाद !’
 
राजधानीको एक होटलमा आज बिहान ११ बजे एमाले सचिवालय बैठक हुँदैछ । बैठकमा केन्द्रीय नेताहरूको कार्यविभाजन र समसायिक विषयमा छलफल हुने पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताउनुभयो । गत असार २६ गतेको सचिवालय बैठकले पार्टीका केन्द्रीय नेताहरुको कार्यविभाजन हेरफेरको निर्णय गरेको थियो । 

प्रकाशित मितिः बिहिबार, १७ साउन २०८१
https://jawaaf.com/storage/01J45WBZ4GGPK53A5ZE6KA46SY.jpg

इलाममा ३४ करोड ८७ लाखमा बने ५९ कुलो

फिक्कल (इलाम), १७ साउनः इलाममा आर्थिक वर्ष २०८०/८१ मा रु ३४ करोड ८७ लाख १६ हजार नौ सय ३४ लागतमा ५९ वटा पक्की कुलो निर्माण भएका छन् । माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान आसमान योङहाङलाई यस वर्ष धानखेती गर्न कुनै समस्या भएन । वर्षौँदेखि अकासे खेतीमा निर्भर उहाँ यस वर्षदेखि सिँचाइ सुविधा पाएर दङ्ग हुनुहुन्छ ।     
     
गजुरमुखीमा साना सिँचाइ कार्यक्रमअन्तर्गत व्यवस्थित सिँचाइ कुलो निर्माणपछि योङहाङसहित सयौँ किसान यतिबेला खुसी भएका हुन् । उहाँको टोलमा रु ३९ लाख २१ हजारको लागतमा फुङखोलाबाट घुमाउरो पाक्रुम्बा कुलो निर्माण भएको हो ।     
     
माईजोगमाई गाउँपालिका–२ लप्सीबोटेका किसान कुमार राई पनि खुसी हुनुहुन्छ । राईगाउँ–लाप्चागाउँ–निगालेगाउँमा रु ५० लाख ५५ हजार आठ सय ८३ लागतमा ५८ घरपरिवारका किसान प्रत्यक्ष लाभान्वित हुनेगरी बजुरखोलामा कुलो निर्माण भएको छ ।     
     
योङहाङ र राई प्रतिनिधि उदाहरण मात्र हुनुहुन्छ । इलामका विभिन्न पालिकामा सञ्चालितका साना सिँचाइ कार्यक्रमबाट हजारौँ किसान लाभान्वित भएका छन् । इलाममा आर्थिक वर्ष २०८०/८१ मा रु ३४ करोड ८७ लाख १६ हजार नौ सय ३४ लागतमा ५९ वटा पक्की कुलो निर्माण भएका छन् । सूर्योदय नगरपालिकामा रु चार करोड १९ लाख २६ हजार छ सय ३४ को लागतमा १०, इलाम नगरपालिकामा रु छ करोड ८६ लाख ५१ हजार ६४ को लागतमा नौ, माङसेबुङ गाउँपालिकामा रु तीन करोड ४२ लाख ९४ हजार छ सय ६४ को लागतमा आठ, माई नगरपालिकामा रु चार करोड पाँच लाख ९८ हजार चार सय ७५ को लागतमा सातवटा सिँचाइ योजना सम्पन्न भएको साना सिँचाइ कार्यक्रम प्रमुख केशव लामाले जानकारी दिनुभयो ।     
     
योजनाबाट इलामका एक हजार २९ हेक्टर क्षेत्रमा सिँचाइ सुविधा विस्तार भएको छ । सिँचाइ सुविधा विस्तारसँगै जिल्लाका दुई हजार एक सय ४२ परिवार लाभान्वित भएका छन् । योजना सञ्चालनका लागि स्वीस सरकारको ३० प्रतिशत, सङ्घीय सरकार, प्रदेश सरकार र सम्बन्धित पालिकाले २०-२० प्रतिशत र स्थानीय उपभोक्ताहरुको १० प्रतिशत लागत साझेदारी गरेको थियो ।  

प्रकाशित मितिः बिहिबार, १७ साउन २०८१