बजेटमा शिक्षा क्षेत्र प्राथमिकता नपरेको शिक्षक सङ्गठनको गुनासो
काठमाडौँ, २९ जेठ I नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले नेपाल सरकारको आगामी आर्थिक वर्षको बजेटमा शिक्षा क्षेत्र प्राथमिकतामा नपरेको गुनासो गरेको छ ।
सङ्गठनले आज ललितपुरमा पत्रकार सम्मेलन गरेर शिक्षा क्षेत्रमा कुल बजेटको २० प्रतिशत विनियोजनको माग उठ्दै आए पनि १० दशमलव ९४ प्रतिशतमात्र विनियोजन भएकामा गुनासो गरेको हो । सङ्गठनका अध्यक्ष विष्णुप्रसाद भण्डारी र महासचिव हंशबहादुर शाहीले जारी गरेको प्रेस विज्ञप्तिमा शिक्षक, प्रारम्भिक बालविकास शिक्षक र कर्मचारीको सेवा सुविधावृद्धि नभएको, दिवा खाजाको रकम वृद्धि नभएको र शिक्षक दरबन्दी व्यवस्थापनको विषय समावेश नभएको जनाइएको छ ।
सङ्गठनले राजनीतिक दलमा शिक्षकहरुको संलग्नताका विषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षकहरूको राजनीतिक अधिकारसहितको ट्रेड युनियन अधिकारलाई नियन्त्रण गर्ने गरी परिपत्र गरेकामा ध्यानाकर्षण गराएको छ ।
सङ्गठनले यही जेठ १३ गते जारी भएको शिक्षक सरुवासम्बन्धी निर्देशिका, २०८१ वैज्ञानिक नभएकाले पहिला विद्यालय शिक्षा ऐन जारी गरेर नियम बनाउन माग गरेको छ । साथै सङ्गठनले नेपाल शिक्षक महासङ्घको हालै सम्पन्न महाधिवेशनप्रति असहमति जनाउँदै लोकतान्त्रिक पद्धतिअनुरूप नेतृत्व चयन गर्न माग गरेको छ ।
कोशी प्रदेश योजना आयोगका सदस्यले गरे शपथग्रहण
मोरङ, २९ जेठ I कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश योजना आयोगका नवनियुक्त सदस्यलाई आज पद तथा गोपनीयताको शपथग्रहण गराउनुभएको छ ।
मुख्यमन्त्री कार्कीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा आज आयोजित समारोहमा प्रदेश योजना आयोगका सदस्यलाई शपथग्रहण गराउनुभएको हो ।
प्रदेश मन्त्रिपरिषद्को हिजोको बैठकले काठमाडौँ महानगरपालिका–९ का डा सीताराम बस्नेत, सोलुखुम्बु जिल्ला मुक्ली गाउँपालिका– ६ का किशोरकुमार राई र मोरङ जिल्ला केराबारी गाउँपालिका–२ की नमिता न्यौपानेलाई सदस्यमा नियुक्त गरेको थियो ।
समारोहमा प्रदेशका विभिन्न मन्त्रालयका मन्त्रीहरु, प्रदेशसभा सदस्यहरु, प्रदेश योजना आयोगका उपाध्यक्षलगायतको उपस्थिति थियो ।
निजी क्षेत्रसँगको सहकार्यले नै विकासमा प्रतिफल आउँछ : मुख्यमन्त्री कँडेल
काँक्रेविहार (सुर्खेत), २९ जेठ I कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले निजी क्षेत्रसँगको सहकार्यले नै विकासको प्रतिफल आउने बताउनुभयो ।
सुर्खेतस्थित बुलबुले तालमा आज मोटरबोटको औपचारिक उद्घाटन गर्दै उहाँले कर्णालीमा रहेका सम्भावनालाई साकार पार्न सबै मिलेर अगाडि बढ्नुको विकल्प नभएको बताउनुभयो । मुख्यमन्त्री कँडेलले सरकारले बजेट हेरेर कार्यक्रम बनाउने प्रवृतिले प्रतिफल आउन नसकेको धारणा राख्नुभयो । “कार्यक्रम र आवश्यकता हेरेर बजेट बनाउनुपर्ने हो तर बजेट हेरेर कार्यक्रम बनाउन लागिएकाले समस्या भइरहेको छ । कर्णालीमा गर्नुपर्ने काम धेरै बाँकी छन्, त्यसैले अब स्रोतसाधन र आवश्यकतालाई ख्याल गरेर आशा जगाउने गरी काम गर्नुपर्ने आवश्यकता छ”, मुख्यमन्त्री कँडेलले भन्नुभयो ।
उहाँले कर्णालीमा पर्यटन प्रवर्द्धन गर्न बुलबुले ताल तथा समग्र क्षेत्रको विकासका लागि आफ्नो ध्यान केन्द्रीत भएको बताउनुभयो । कर्णालीको परिचय बदल्न अब सबै एकताबद्ध हुनुपर्ने उहाँको भनाइ थियो ।
महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेजमाथि छलफल
काठमाडौँ, २९ जेठ I नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजपादी) बागमती प्रदेश कमिटीले राष्ट्रिय महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजमाथि छलफल सम्पन्न गरेको छ । पार्टीले मातहतका कमिटी तथा सबै जिल्ला तहबाट थप सुझाव लिन सबै जिल्लामा दस्तावेजको मस्यौदा पठाएको थियो । राजनीतिक दस्तावेज, पार्टीको समाजवादी कार्यक्रम, विधान संशोधन र साङ्गठनिक गरी चार दस्तावेजमा छलफल गरिएको हो ।
यही जेठ मसान्तभित्र सबै मातहतका कमिटीले सुझाव केन्द्रमा पठाउन समयसीमा तोकिएको छ । बागमती प्रदेश कमिटीका अध्यक्ष सावित्रा भुसाल तथा बागमती इन्चार्ज डा गङ्गालाल तुलाधरको उपस्थितिमा ती दस्तावेजमा छलफल गरिएको थियो । सो छलफलबाट निस्केको निष्कर्षलाई समेटेर केन्द्रलाई बुझाउने तयारी गरिएको जनाइएको छ । दस्तावेजलाई एउटै प्रतिवेदन बनाएर राष्ट्रिय महाधिवेशनमा लैजाने बागमती प्रदेश कमिटी सचिव लक्ष्मण लम्सालले जानकारी दिनुभयो ।
सोही कमिटीले काभ्रेबाट प्राणनाथ न्यौपाने, राजु नेपाल, सन्तवीर तामाङ, छवि हुमागाईँलाई प्रदेश कमिटी सदस्यको जिम्मेवारी प्रदान गरेको छ । पार्टी सङ्गठन सुदृढीकरणमा महत्त्वपूर्ण योगदान गर्नुभएकाले कामको मूल्याङ्कन गर्दै प्रदेश कमिटीको जिम्मेवारी प्रदान गरिएको सचिव लम्सालले जानकारी दिनुभयो ।
महाधिवेशनको कार्यप्रगति तथा तयारीबारे मातहतका कमिटीले पार्टी केन्द्रलाई जानकारी गराउनुपर्ने प्रावधान छ । महाधिवेशनका लागि निर्माण गरिएको प्रतीक चिन्हमा नेपालको फरफराइरहेको राष्ट्रिय झण्डालाई कलात्मक रूपमा प्रस्तुत गरिएको छ । कम्युनिष्ट पार्टीको झण्डा राखिएको प्रतीक चिन्हमा दक्षिणपन्थी यथास्थितिवादको विरोध गरौँ, समाजवादी बाटोमा अगाडि बढौँ भन्ने सन्देश उल्लेख छ ।
पार्टीको महाधिवेशन आगामी असार १६ देखि २० गतेसम्म काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा तय गरिएको छ । महाधिवेशनलाई सम्पन्न गर्न पार्टी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा १४ सदस्यीय कमिटी निर्माण गरिएको छ । पार्टीका तल्लो तहदेखि माथिल्लो तहका नेतालाई सम्बन्धित भूगोल तथा कार्यक्षेत्रबाट निर्वाचित हुनुपर्ने व्यवस्था गरिएको छ ।
दुःखसुख साट्न अन्नपूर्णमा ज्येष्ठ नागरिक प्रतिक्षालय निर्माण
भोजपुर, २९ जेठ I अन्नपूर्णमा प्रतिक्षालय तथा पुस्तकालय निर्माण अन्तिम चरणमा पुगेको छ । वृद्धावृद्धको सम्मानमा टेम्केमैयुङ गाउँपालिकाले यहाँ बहुउद्देश्यीय भवन निर्माण गरेको हो ।
टेम्केमैयुङ–३ अन्नपूर्णले आर्थिक वर्ष २०७८/७९ बाट भवन निर्माण थालेको थियो । बाह्र आना क्षेत्रफलमा निर्माण भइरहेको भवनमा हालसम्म रु २२ लाख खर्च भएको छ । भवनको रु ५० लाखको लागत अनुमान रहेकाले सरकारका विभिन्न निकायमा माग गर्दा पनि बजेट नदिएपछि वडाले नै निर्माण गरेको टेम्केमैयुङ–३ का वडाध्यक्ष पूर्णप्रसाद राईले बताउनुभयो । भवन निर्माणको काम यही आर्थिक वर्षभित्र सम्पन्न हुने उहाँले बताउनुभयो ।
“हामीले ज्येष्ठ नागरिकको सम्मानस्वरुप प्रतिक्षालय भवन निर्माण गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “हाल भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । यो भवनको माथिल्लो तलामा पुस्ताकलयसमेत सञ्चालनमा ल्याउनेछौँ ।” भवनमा ज्येष्ठ नागरिकलाई लक्षित गरेर भजनकीर्तनका लागि वाद्यवादनका साधन, मन्दिर, बगैँचालगायत संरचना निर्माण गरिने वडाध्यक्ष राईले भन्नुभयो ।
ज्येष्ठ नागरिकको ज्ञान सीप तथा अनुभवलाई समेट्दै उनीहरूका कुरा सुन्ने थलोका रूपमा विकास गर्न ज्येष्ठ नागरिक भवन निर्माण गरिएको गाउँपालिकाले जनाएको छ । यहाँ आएर ज्येष्ठ नागरिकसँग भलाकुसारी गर्दा उनीहरुको सीप अनुभव नयाँ पुस्तासम्म पुर्याउन सहज हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकेन पौडेलले बताउनुभयो ।
“ज्येष्ठ नागरिक समाजका जिउँदो इतिहास हुन्”, प्रशासकीय अधिकृत पौडेलले भन्नुभयो, “उहाँहरूका ज्ञान, सीप, अनुभवलाई हामीले अनुशरण गर्न आवश्यक छ । ज्येष्ठ नागरिकलाई भेला भएर भलाकुसारी गर्ने वातावरण निर्माणमा यो भवनले भूमिका खेल्नेछ ।”
वडाको पहलमा ज्येष्ठ नागरिकको सम्मानस्वरुप भवन निर्माण हुनु सकारात्मक रहेको स्थानीयवासी केदार अधिकारीले बताउनुभयो । ज्येष्ठ नागरिकले यहाँ भेला भएर आफ्ना दुःखसुखका कुरा साटसाट गर्न सक्ने उहाँको भनाइ छ । यहाँ आएर भलकुसारी गर्दै दिन कटाउने मेलो हुने उहाँ बताउनुहुन्छ । ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभव सङ्कलन केन्द्रका रूपमा यो भवनलाई लिन सकिने उहाँ बताउनुहुन्छ । ज्येष्ठ नागरिकको सम्मानमा वडाको पहलमा भवन निर्माण भएपछि स्थानीय नागरिक खुसी भएका छन् ।
राष्ट्रपति आज साँझ जेनेभा जानुहुँदै
काठमाडौँ, २९ जेठ I राष्ट्रपति रामचन्द्र पौडेल अन्तर्राष्ट्रिय श्रम सम्मेलनको एक सय १२औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज साँझ स्वीट्जरल्याण्डको जेनेभा तर्फ प्रस्थान गर्नुहुने भएको छ । उहाँले यही जेठ ३१ गते सो अवसरमा उच्चस्तरीय सत्रमा आयोजना हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’को उद्घाटन मञ्चलाई प्रमुख वक्ताका रूपमा सम्बोधन गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भ्रमणका क्रममा उहाँले जेठ ३० गते स्वीस महासङ्घका राष्ट्रपति विओला आमर्डसँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ । नेपालका राष्ट्र प्रमुख र स्वीस महासङ्घका राष्ट्रपतिबीच यसरी द्विपक्षीय भेटवार्ता हुन लागेको सम्भवतः यो पहिलोपटक भएको बताइएको छ ।
भ्रमणकै क्रममा राष्ट्रपति पौडेल आगामी असार १ गते जेनेभाबाट सङ्घीय गणतन्त्र जर्मनीको बर्लिन प्रस्थान गर्नुहुने मन्त्रालयलका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिनुभयो । राष्ट्रपति पौडेलले जर्मनीका राष्ट्रपति फ्रैङ्क–वाल्टर स्टीनमेयरको निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमण गर्न लाग्नुभएको हो । उहाँले असार ३ गते जर्मनीका राष्ट्रपतिसँग औपचारिक भेटवार्ता गर्नुहुनेछ ।
राष्ट्रपति पौडेलका साथ उहाँकी धर्मपत्नी सविता पौडेल रहनुहुनेछ । प्रतिनिधिमण्डलका अन्य सदस्यहरूमा राष्ट्रपतिका परराष्ट्र मामिलाविज्ञ डा सुरेशचन्द्र चालिसे, राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका सचिवहरू, स्वीट्जरल्याण्ड र जर्मनीका लागि नेपाली राजदूतहरू तथा राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरू रहनुहुनेछ । राष्ट्रपति पौडेल भ्रमण सम्पन्न गरी असार ५ गते स्वदेश फर्कनुहुनेछ ।
एसइईको नतिजा असार दोस्रो साताभित्र
भक्तपुर, २८ जेठ I राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यसवर्षको माध्यामिक शिक्षा परीक्षा (एसइई)को नतिजा असार दोस्रो साताभित्र सार्वजनिक गर्ने गरी काम भइरहेको जनाएको छ ।
परीक्षा नियन्त्रक नन्दलाल पौडेलले कार्यालयले तयार पारेको कार्ययोजनाअनुसार उत्तरपुस्तिका परीक्षण र अङ्कभार प्रविष्ट गराउने काम सकिएको जानकारी दिनुभयो ।
उहाँले कार्ययोजनाअनुसार काम भइरहेकाले असार दोस्रो साताभित्र नतिजा सार्वजनिक गर्ने गरी अन्य काम तीव्र गतिमा भइरहेका बताउनुभयो । “हामीले उत्तरपुस्तीका परीक्षण र अङ्क अभिलेखको काम सकेका छौँ । प्राविधिक त्रुटि नदेखिए केही दिन अगाडि नै नतिजा प्रकाशित गर्न र कुनै समस्या भए दोस्रो साताभन्दा पर नजाने गरी काम भइरहेको छ । कर्मचारीका विभिन्न समूह बनाएर काम भइरहेकाले निर्धारित समयमै नतिजा सार्वजनिक गर्छौँ”, उहाँल्े भन्नुभयो । उहाँले ५२ वटा परीक्षण केन्द्रमा उत्तरपुस्तिका परीक्षण गरिएको जानकारीसमेत दिनुभयो ।
गतवर्ष असार २४ मा एसइईको नतिजा सार्वजनिक गरेको बोर्डले यसवर्ष १४ दिन अगावै नतिजा सार्वजनिक गर्ने गरी तयारी गरेको भन्दै परीक्षा नियन्त्रक पौडेलले यसवर्ष सैद्धान्तिक र प्रयोगात्मकलाई फरक गरेर सार्वजनिक गरिने बताउनुभयो ।
यसवर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिक तर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अङ्क अनिवार्य ल्याउनै पर्ने अन्यथा फेल भए सरह मानिने बताउनुभयो ।
गत चैत १५ गतेदेखि सुरु भएको यसवर्षको परीक्षामा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार विद्यार्थीले परीक्षा दिएका छन् ।
वर्तमान सत्ता गठबन्धन पूरा कार्यकाल जान्छः प्रधानमन्त्री
काठमाडौँ, २८ जेठ I प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सत्ता गठबन्धन पूरा कार्यकालसम्म जाने विश्वास व्यक्त गर्नुभएको छ । भारतको दुईदिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फिर्ता भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उहाँले सत्ता गठबन्धन पूरा कार्यकाल जाने बताउनुभएको हो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदीको शपथग्रहण समारोहमा भाग लिन प्रधानमन्त्री दाहाल आइतबार भारत भ्रमणमा जानुभएको थियो । भारत भ्रमणका क्रममा राजदूत फिर्ता गरिएका विषयमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफमा प्रधानमन्त्रीले त्यसलाई संयोगको सङ्ज्ञा दिनुभयो ।
उहाँले भारतका लागि नेपाली राजदूत शङ्कर शर्माले राजदूतको हैसियतमा भ्रमण दलमा नै सहभागी भई भूमिका निर्वाह गर्नुभएको उल्लेख गर्नुभयो । उहाँले मन्त्रिपरिषद्मा राजदूत फिर्ताबारे छलफल हुँदा त्यसबारेमा ध्यान भने नपुगेको स्वीकार गर्नुभयो ।
उहाँले नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कार्यक्रममा व्यक्त गरेका कतिपय विचारका कारण सत्ता गठबन्धनमा कुनै असर नगर्ने उल्लेख गर्नुभयो । भारत भ्रमणका क्रममा नेपाल–भारत सीमा विवाद, दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क), पञ्चेश्वर बहुउद्देश्यीय आयोजनालगायत विषयमा महत्वपूर्ण छलफल भएको उहाँले जानकारी दिनुभयो ।
प्रधानमन्त्री दाहालले आफ्ना भारतीय समकक्षीसँग दुई देशबीचको संयन्त्रमार्फत छलफल गरेर समस्या हल गर्नुपर्नेलगायतका विषयमा छलफल भएको उल्लेख गर्नुभयो । उहाँले अब ती विषयमा सकारात्मक समाधान निस्कनेमा आफू आशावादी रहेको बताउनुभयो ।
उहाँले पञ्चेश्वर बहुउद्देश्यीय आयोजना अब अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्री दाहालको साथमा सुपुत्री गङ्गा दाहाल, कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ अधिकारी सहभागी हुनुहुन्थ्यो ।
पहिलो अन्तर्राष्ट्रिय खेल दिवस मनाइँदै
काठमाडौँ, २८ जेठ I खेलमय अभिभावकत्वको नारासहित भोलि मङ्गलबार पहिलो पटक अन्तर्राष्ट्रिय खेल दिवस मनाइँदैछ । हरेक बालबालिकाको खेल्न पाउने अधिकार सुनिश्चित गर्न हरेक जुन ११ मा मनाइने यस दिवसमा संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ)ले सरकार, हेरचाहकर्ता, शिक्षक र समुदायलाई एकजुट भए आफ्ना प्रयास र लगानी बढाउन आह्वान गरेको छ ।
युनिसेफ नेपालले आज आयोजना गरेको सञ्चार अन्तरक्रियामा सो संस्थाका प्रारम्भिक बालविकास विज्ञ डा दीपु शाक्यले खेल रमाइलोका लागि मात्र नभइ यसले बालबालिकाको शारीरिक, सामाजिक, संवेगात्मक तथा बौद्धिक विकासमा सहयोग गर्ने बताउनुभयो ।
“खेलका माध्यमबाट बालबालिकाले अरुसँग सम्बन्ध बनाउन, नेतृत्व सीप तथा प्रतिरोधी क्षमता विकास गर्न, सम्बन्धको खोजी गर्न, सामाजिक चुनौती चिन्न र उनीहरूका डरहरूमाथि विजय पाउन सक्दछन्’’, डा शाक्यले भन्नुभयो, “बालबालिकाले खेल्दा सुरक्षित महसुस गर्छन् । खेलले बालबालिकाको रचनात्मक अभिव्यक्ति विकास गर्न पनि मद्दत गर्दछ । यी अहिलेको विश्वमा बाँच्नका लागि महत्वपूर्ण सीपहरू हुन् ।’’
विद्यार्थीलाई सिकाइ प्रक्रियामा सक्रिय रुपमा संलग्न गराउन खेलमा आधारित सिकाइलाई प्रभावकारी पद्धतिका रुपमा मान्यता दिने पनि युनिसेफ नेपालले जनाएको छ । खेलले सहिष्णुता र लचकताको प्रवर्द्धन साथै सामाजिक समावेशीताको सहजीकरण, द्वन्द्व रोकथाम र शान्ति निर्माणमा सकारात्मक प्रभाव पार्दछ । यही कुरालाई आत्मसात गर्दै बालअधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धिले धारा ३१ अन्तर्गत खेललाई प्रत्येक बालबालिकाको मौलिक अधिकारका रुपमा स्थापित गरेको छ । नेपाल यो महासन्धिमा सबैभन्दा पहिला हस्ताक्षर गर्ने राष्ट्रहरूमध्ये एक हो ।
असार मसान्तसम्म बीमा नवीकरण गराइसक्नुपर्ने
काठमाडौँ, २८ जेठ I स्वास्थ्य बीमा बोर्डले सेवा निरन्तरताका लागि विसं २०८१ असार मसान्तसम्म बीमा नवीकरण गरिसक्नुपर्ने जनाएको छ । बोर्डले आज एक सूचना जारी गर्दै स्वास्थ्य बीमामा विसं २०८० वैशाख १ देखि २०८० असार मसान्तमा आबद्ध नयाँ दर्ता तथा नवीकरण गरी २०८० भदौ १ गतेदेखि सेवा सुरु गरेका बीमितहरुले सेवा निरन्तरताका लागि उक्त अवधिभित्र नवीकरण गरिसक्नुपर्ने जनाएको हो ।
नवीकरणका लागि आ-आफ्नो वडामा रहेका दर्ता सहयोगीका साथै अनलाइनमार्फत गर्न सकिने बोर्डले जनाएको छ । विसं २०८१ साउन १ गते देखिको नयाँ दर्ता तथा नवीकरण स्वतः २०८१ मङ्सिर १ देखि क्रियाशील हुने सूचनामा उल्लेख छ । बोर्डकी सूचना अधिकारी ओमकुमारी कँडेलका अनुसार आजसम्म बीमित जनसङ्ख्या ८० लाख ७९ हजार सात सय ८२ जना छन् । हालसम्म ५० लाख ३८ हजार आठ सय ४० जनाले नवीकरण गराएका छन् ।
सूचना अधिकारी कँडेलले सेवा लिनेले हरेक वर्ष नवीकरण गराउनैपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “नवीकरण आवश्यक छ । नयाँ दर्ता गराउन चाहनेले आफू बस्ने वडामा गएर स्वास्थ्य बीमा गराउन सक्छन् । प्रत्येक वडामा दर्ता सहयोगी छन् ।”