आइतबार, ०७ असार २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01HYNAZRFJ7PW2T689DPJ2ND1A.jpg

गीतकार सङ्घ नेपालले विभिन्न श्रष्टालाई पुरस्कृत गर्ने

काठमाडौँ, ११ जेठ : ‘अमर–भावना राष्ट्रिय स्रस्टा सम्मान गीतकार सङ्घ नेपाल–२०८०’ डा रिजाललाई प्रदान गरिने भएको छ । पुरस्कारको राशि रु एक लाख ५१ हजार रहेको छ । 

त्यसैगरी, ‘भैरवनाथ रिमाल (कदम) वर्ष गीत पुरस्कार गीतकार सङ्घ नेपाल–२०८०’ आमा (मदन माबो), पिता (डा ओमकृष्ण भट्टराई) र माटोको माया (ज्ञानप्रसाद भट्टराईलगायत १० वटा उत्कृष्ट गीतलाई प्रदान गर्ने निर्णय गरिएको सङ्घका महासचिव टीका राई (शिव) ले जानकारी दिनुभयो । यो पुरस्कारको राशि रु ७५ हजार रहेको छ ।

यस्तै रु २५ हजार दुई सय ५२ राशिको ‘विष्णु मन्सरा सम्मान गीतकार सङ्घ नेपाल–२०८०’ गीतकार अशोक दत्तलाई प्रदान गरिने भएको छ । ‘डायसपोरा गीतकार सम्मान गीतकार सङ्घ नेपाल–२०८०’  भने गीतकार पदमा लिङ्खा मगरलाई प्रदान गरिने छ । यो पुरस्कारको राशि रु १५ हजार रहेको छ । 

गीतकार सङ्घ नेपालको १५ औँ स्थापना दिवसका अवसरमा पुरस्कार प्रदान गरिने गरिने जनाइएको छ । 

प्रकाशित मितिः शुक्रबार, ११ जेठ २०८१
https://jawaaf.com/storage/01HYN9MWTRABM530TCYPH9BZMD.jpg

फिस्टुला निवारणका लागि मार्गचित्र सार्वजनिक

काठमाडौँ, ११ जेठः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले फिस्टुला निवारणका लागि मार्गचित्र (२०२४–२०३०) सार्वजनिक गरेको छ ।   
  
आज स्वास्थ्य सेवा विभागमा आयोजित कार्यक्रमबीच स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादव, स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हसिना खान, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा सङ्गीता कौशल मिश्रालगायतले मार्गचित्र सार्वजनिक गर्नुभएको हो ।   
  
अन्तर्राष्ट्रिय फिस्टुला निवारण दिवसका अवसरमा मार्गचित्र सार्वजनिकीकरण कार्यक्रममा स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखा प्रमुख डा विवेकलाल कर्णले सन् २०१४ देखि सरकारले प्रसूति फिस्टुला रोकथाम तथा उपचारका लागि विभिन्न प्रयास गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सन् २०३० सम्म निवारण गर्ने लक्ष्य लिएर मार्गचित्र बनाएका छौँ । ‘अब्सटे«टिक’ फिस्टुला पूर्णरूपमा रोकथाम गर्न सकिन्छ । मार्गचित्रका रणनीतिहरूमा रोकथामलगायत ‘स्क्रिनिङ’, उपचार र पुनःस्थापना ध्यान दिइनेछ ।”   
  
उहाँका अनुसार ‘अब्सटे«टिक’ फिस्टुला भनेको योनीबाट निरन्तररूपमा पिसाब वा दिसा दुवै चुहिने समस्या हो । लामो र कठिन प्रसव व्यथाको अवस्थामा, दक्ष प्रसूतिकर्मीबाट समयमा उपयुक्त सेवा नपाउनाले यस्तो समस्या हुने सम्भावना रहन्छ । गम्भीर प्रसव समस्यामध्ये एक फिस्टुलाको उपचारका अभावमा गम्भीर स्वास्थ्य समस्या, सामाजिक भेदभाव र परिवारबाट बहिस्कृत हुन सक्ने सम्भावना धेरै देखिने उहाँको भनाइ छ ।   
  
यो समस्याबाट वार्षिकरूपमा दुई सयदेखि चार सय नयाँ पीडित हुने गरेका र त्यो सङ्ख्या हाल नेपालमा चार हजार तीन सय रहेको मन्त्रालयको तथ्याङ्क छ ।   
  
नेपालका लागि संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपिए) का वन यङ हङले फिस्टुलाको समस्या भोगिरहेका महिलाले शारीरिक, मानसिकका साथै सामाजिक बहिष्करणसमेत भोगिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “यो निवारण गर्न सचेतना आवश्यक छ । आजैदेखि यसमा लगानी ग¥यौँ भने भोलिका दिनमा निवारण गर्न सहज हुनेछ ।”   
अन्तर्राष्ट्रिय फिस्टुला निवारण दिवस हरेक वर्ष मे २३ का दिन मनाइने गरिन्छ ।  

प्रकाशित मितिः शुक्रबार, ११ जेठ २०८१
https://jawaaf.com/storage/01HYMMREDJAP15HM3SJDN8J954.jpg

व्यावसायिक चियाखेतीसँगै पर्यटन प्रवर्द्धनमा भोजपुरका रञ्जित

भोजपुर, ११ जेठः टेम्केमैयुङ गाउँपालिका-३ का ३५ वर्षीय रञ्जित गिरी चियाखेतीमा लागेको एक दशक नाघ्यो । बुबा शरमान गिरीले सुरु गर्नुभएको चियाखेतीलाई अगाडि बढाउनुभएका उहाँको दैनिकी चियाका बोटको हेरचार, स्याहार र प्रशोधनमै बित्छ ।     
      

असी रोपनी क्षेत्रफलमा फैलिएको चियाबगानलाई उहाँले यतिबेला पर्यटकीय गन्तव्य बनाउन सक्रिय हुनुहुभएको छ । “यहाँ घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर चिया बगानभित्रै टेम्के फनपार्क तथा रिसोर्ट सञ्चालन सुरु गरेको छु”, रञ्जित गिरीले भन्नुभयो, “रिसोर्ट निर्माणपछि पर्यटकहरु बिस्तारै बढ्न थालेका छन् ।”     
      
करिब एक वर्षअघिबाट सञ्चालनमा आएको रिसोर्टमा रु ९० लाख लगानी गर्नुभएको छ । चियाखेतीबाट आम्दानीसँगै बगानमा पर्यटक बढाउन पनि सकिने उहाँको विश्वास छ ।     
      
 विसं २०७६ देखि गुरास चिया उद्योग सञ्चालन गरिरहनुभएको उहाँको यो उद्योग भोजपुरमा एक्लो हो । हालसम्म चियाका लागि करिब रु दुई करोड ५० लाख लगानी गर्नुभएका उहाँले आफूले उत्पादन गरेको चियाले नेपाल चिया तथा कफी विकास बोर्डबाट टेडमार्कसमेत पाइसकेको उहाँले जानकारी दिनुभयो ।     
      
“अग्र्यानिक चिया भएकाले देशका ठूला सहरसँगै विदेशसम्म जान थालेकाले चिया बजारीकरणमा कुनै समस्या छैन”, उहाँले भन्नुभयो । गिरीले चियाले उचित मूल्य पाएमा वार्षिक रु २५ देखि ३० लाखसम्म आम्दानी गर्न सकिने उहाँले बताउनुभयो । उहाँले हाल अग्र्यानिक हरियो चिया (ग्रिनटी) प्रतिकेजी रु एक हजार आठ सय, कालो चिया रु एक हजार दुई सय र सिल्भर चिया रु ३० हजारमा बिक्री गर्दै आउनुभएको छ । उहाँले चिया उद्योग सञ्चालनका लागि कोशी प्रदेश सरकारबाट प्रोत्साहनस्वरुप रु १७ लाख ५० हजार अनुदान पनि पाइसक्नुभएको छ ।     
      
 “चियाखेतीबाट आम्दानी राम्रो छ, अब पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने योजना बनाएका छौँ”, उहाँले भन्नुभयो, “चियाखेती हुने क्षेत्रफल बढाउने पनि योजना छ ।” हाल उहाँको उद्योगमा पाँच जनाले रोजगारी पाइरहनुभएको छ ।     
      
 बगानमा उत्पादन भएको चिया एक महिनामा चार पटकसम्म टिप्न सकिने गिरीले जानकारी दिनुभयो । उहाँले चियाको नर्सरीसमेत आफैँ गर्दै आउनुभएको छ भने किसानलाई आवश्यक परामर्श पनि दिनुहुन्छ ।     
      
 युवा व्यवसायी गिरीलाई प्रोत्साहन गर्नका लागि वडा कार्यालयका तर्फबाट सडक मर्मतका लागि रु तीन लाख उपलब्ध गराइएको वडाध्यक्ष पूर्णप्रसाद राईले बताउनुभयो ।     

प्रकाशित मितिः शुक्रबार, ११ जेठ २०८१
https://jawaaf.com/storage/01HYMHQ71QZC9JBWD5NQEZR900.jpg

नेपाल प्रहरीले आफ्नो दायित्वलाई कुशलतापूर्वक निर्वाह गर्दै आएको छः प्रधानमन्त्री

काठमाडौँ, ११ जेठः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पदीय दायित्वलाई कुशलतापूर्वक निर्वाह गरेर प्रहरीले राज्यप्रतिको जिम्मेवारी पूरा गर्नुपर्ने बताउनुभएको छ ।

नेपाल प्रहरीको प्रहरी निरीक्षक आधारभूत तालिम १-१८२औँ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले कार्यक्षेत्रमा आउनसक्ने सबै चुनौतीको सामना गर्न प्रहरी सफल र सक्षम रहेको बताउनुभयो । 

“तालिमबाट प्राप्त सीपमार्फत् अपराध नियन्त्रण र अनुसन्धानका क्रममा आउने अवरोध चिर्दै कार्यसम्पादन परिणाममुखी बनाउन सफल हुने विश्वास लिएको छु,” प्रधानमन्त्री दाहालले भन्नुभयो, “कर्तव्य पालनाको सिलसिलामा कत्ति पनि विचलित नभई आफ्नो पदीय दायित्वलाई कुशलतापूर्वक निर्वाह गर्नुहुनेछ ।” 

नेपाल प्रहरी, कानुनी राज्यको मूल अवधारणाबाट निर्दिष्ट रही प्रभावकारी रूपमा अपराध नियन्त्रण र अनुसन्धान गरी समाजमा शान्ति सुव्यवस्था कायम गर्न तथा मानव अधिकारको संरक्षण गर्न स्थापित संस्था भएको स्मरण गराउँदै प्रधानमन्त्री दाहालले २१औँ शताब्दीका चुनौतीहरूको सामना गर्नसक्ने दक्ष एवं व्यावसायिक प्रहरी जनशक्ति उत्पादनमा प्रशिक्षण केन्द्रहरूको भूमिका महत्त्वपूर्ण रहने बताउनुभयो । 

विज्ञान र प्रविधिमा भएको तीव्र विकाससँगै नयाँ–नयाँ सुरक्षा चुनौतीहरू थपिरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले नागरिकप्रति उत्तरदायी, मानवअधिकारप्रति संवेदनशील, निष्पक्ष, व्यावसायिक एवं कानुनी राज्यको अवधारणाप्रति प्रतिबद्ध हुनुपर्नेमा जोड दिनुभयो । 

नागरिक र प्रहरीबीचको सम्बन्धलाई थप उचाइमा पुयाउनका लागि हरसम्भव राष्ट्रले सुम्पेको जिम्मेवारी कुशलतापूर्वक बहन गर्नसक्ने दक्ष र योग्य मानवस्रोतको उत्पादनतर्फ प्रशिक्षण केन्द्र संवेदनशील हुनुपर्नेमा प्रधानमन्त्रीको जोड छ । 

शान्ति सुव्यवस्था बहाल राख्न ठूलो सङ्ख्यामा जनशक्ति परिचालित हुनुपर्ने प्रहरीको जनशक्ति दक्षता तथा कार्यकुशलताले सङ्गठनको प्रभावकारितालाई प्रत्यक्ष प्रभाव पार्ने बताउँदै प्रधानमन्त्रीले सङ्गठनका लागि चुस्त र दक्ष जनशक्ति तथा समयानुकूल र व्यावसायिक तालिम अत्यावश्यक हुने उल्लेख गर्नुभयो ।
 
तालिमलाई थप गुणस्तरीय र व्यावहारिक बनाउन तालिमका विषयवस्तु समयानुकूल परिमार्जन गर्नुपर्ने र आधुनिक प्रशिक्षण विधि तथा मापदण्डको अबलम्वन गर्नका लागि काभ्रेको पनौतीमा नयाँ संरचनाहरू निर्माण भइरहेका प्रधानमन्त्रीले जानकारी दिनुभयो । उहाँले राष्ट्रिय सुरक्षा र हितलाई केन्द्रमा राख्दै कूटनीतिक पहलमार्फत् यी संरचना निर्माणमा सहजीकरण एवं निर्माण सम्पन्न गर्नका निम्ति नेपाल सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।

प्रकाशित मितिः शुक्रबार, ११ जेठ २०८१
https://jawaaf.com/storage/01HYMDAK1VDME2MHCGTESERXYA.jpg

राष्ट्रिय कराते प्रतियोगिताको उपाधि खेलकुद प्रतिष्ठानलाई

खोटाङ, ११ जेठः दिक्तेलमा बिहीबार सम्पन्न राष्ट्रिय कराते प्रतियोगिताको उपाधि नेपाल खेलकुद प्रतिष्ठानले हात पारेका छ । ‘प्रथम बृहत् खोटाङ–हलेसी खेलकुद, साहित्यिक, साङ्गीतिक तथा पर्यटन महोत्सव–२०८१’ अन्तर्गत भएको प्रतियोगितामा खेलकुद प्रतिष्ठानले आठ स्वर्ण, चार रजत र दुई कास्य पदक सहित रु एक लाख ११ हजार एकसय ११ राशिसहित उपाधि जितेको हो ।     
     
सातवटै प्रदेशका कराते खेलाडी सहभागी प्रतियोगितामा तीन स्वर्ण, दुई रजत र सात कास्य पदकसहित बागमती प्रदेश द्वितीय, दुई स्वर्ण, एक रजत र चार कास्य पदक सहित गण्डकी प्रदेश तृतीय तथा एक स्वर्ण, सात रजत र चार कास्य पदक सहित कोशी प्रदेश चौथो भएको छ । प्रतियोगिताका प्रथम, द्वितीय, तृतीय र चौथोले क्रमशः रु एक लाख ११ हजार एक सय ११, रु ५५ हजार पाँच सय ५५, रु ३३ हजार तीन सय ३३ र २२ हजार दुई सय २२ नगद पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा महिलातर्फ सुदूरपश्चिम प्रदेशकी गरिमा मल्ल तथा पुरुषतर्फ आयोजक टोलीका रुरीहाङ दुमी राई घोषित भएका छन् । उहाँहरूलाई जनही रु २२ हजार दुई सय २२ प्रदान गरियो ।     
     
तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा उत्कृष्ट व्यवस्थापनमा मधेस प्रदेश घोषित भएको छ । उत्कृष्ट व्यवस्थापन गर्ने मधेश प्रदेशलाई रु ११ हजार एक सय ११ नगद प्रदान गरिएको थियो । गत वैशाख ३१ गते सुरु भएको महोत्सवअन्तर्गत एथ्लेटिक्स, राष्ट्रिय कविता तथा राष्ट्रिय गायन प्रतियोगिता पनि आयोजना गरिएको थियो ।     
     
दिक्तेल बजारमा आयोजित बृहत् महोत्सवमा पर्याप्त आर्थिक गतिविधि भएका उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष राजनप्रसाद आचार्यले बताउनुभएको छ । महोत्सवमा सहभागी हुन राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी तथा साहित्यिक एवं साङ्गीतिककर्मी दिक्तेल बजारमा भेला भएका थिए ।     

प्रकाशित मितिः शुक्रबार, ११ जेठ २०८१
https://jawaaf.com/storage/01HYM73CD2PV3EF4XW1Z6G1DFH.jpg

भिरमा मह काढेको छायाङ्कन गर्न नेशनल जियोग्राफी टोली म्याग्दीमा

गलेश्वर (म्याग्दी) I भिर मह निकालेको दृश्य छायाङ्कन गर्न नेशनल जियोग्राफीको टोलीसहित स्पेन र जर्मनीका नागरिक गरी १६ जना विदेशी पर्यटक म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङको खबाङ भिर पुगेका छन् ।     
      
देख्दा आङ नै सिरिङ्ग हुने कहालीलाग्दो पहरामा भिर मह निकालिरहेको दृश्यको छायाङ्कनसँगै नेपालीको सौर्य प्रचारप्रसार गर्ने उद्देश्यका साथ विदेशीको टोली आएको धवलागिरि गाउँपालिका–२ का वडाध्यक्ष अकप्रसाद विकले  बताउनुभयो ।     
      
टोलीले हत्केलामा जउन राखेर डोरी (परङ) मा झुन्डिएर मौरीको चाका नजिक पुगेर मह निकाल्ने मह सिकारीको अनुभवसँगै स्थानीयवासी र गाउँपालिकाको टोलीसँग छलफल गरेका वडाध्यक्ष विकले बताउनुभयो । लुलाङका स्थानीयवासी थमबहादुर सिर्पालीको समन्वयमा आएका विदेशीले धवलागिरि गाउँपालिका उपाध्यक्ष रेशम पुनमगरसँग भिर महको संरक्षण र निकाल्ने क्रममा हुने दुर्घटनाको जोखिम न्यूनीकरणका बारेमा चासो देखाएका थिए ।     
      
भिर मह निकाल्न भिरको माथिल्लो भाग र तल्लो भागमा दुई समूहमा सिकारी बाँडिएका हुन्छन् । एक समूहले भिरको माथिबाट तल भुइँसम्म डोरी झुन्ड्याउँछन् भने भिरको तलपट्टि रहेको अर्को समूहले मह थाप्ने र गर्छन् । ठूलो भिरमा मेहनत धेरै लाग्ने भएकाले एउटा भिरमा दिनभरि खर्चिनुपर्छ ।     
      
झण्डै पाँच सयदेखि एक हजार पाँच सय मिटर उचाइका पहरामा पुगेर गाउँका मोतिप्रसाद सहितको टोलीले मह निकाल्ने गरेका छन् । गाउँपालिका उपाध्यक्ष पुनले धवलागिरिलाई ‘हनी हन्टिङ’का लागि प्रख्यात ठाउँका रूपमा चिनाउन विदेशी टोलीको आगमनले सहज भएको बताउनुभयो ।     
      
ग्रामीण पर्यटन प्रवर्द्धनमा मह सिकारले टेवा पुग्ने उहाँले बाताउनुभयो । “पर्यटन प्रवर्द्धनमा यो टोलीबाट सहयोगको आश्वासन प्राप्त भएको छ, हामीले पनि अबका दिनमा मह सिकारलाई विशेष बनाउनेछौँ”, उपाध्यक्ष पुनले भन्नुभयो ।     
   

प्रकाशित मितिः शुक्रबार, ११ जेठ २०८१
https://jawaaf.com/storage/01HYK48NPMB88PB6PD0KT87J0Z.jpg

‘गाउँ आएको बाटो’ को ‘ट्रेलर’ सार्वजनिक

काठमाडौँ I  चलचित्र ‘गाउँ आएको बाटो’ को ‘ट्रेलर’ सार्वजनिक भएको छ । विश्व टोरोन्टो, बुसानजस्ता फिल्म महोत्सवमा सहभागी यो चलचित्रमा कलाकार दयाङ राई, अभिनेत्री पशुपति राई र बाल कलाकार प्रसन राईको मुख्य अभिनय रहेको छ । 

बिहीबार ट्रेलर सार्वजनिकपछि अभिनेता दयाहाङ राईले चलचित्रमा अभिनय गर्न पाउँदा खुसी लागेको बताउनुभयो । “यो चलचित्र वर्षौँ पहिले सुनेको थिए तर अभिनय नै गर्न पाउँला भनेर सोचेको थिएन”, अभिनेता राईले भन्नुभयो,“विश्व बजारमा पुगेको चलचित्रमा खेल्न पाउनु मेरो लागि खुसीको कुरा हो । अब घरेलु दर्शकले मन पराउने अपेक्षा गरेको छु ।” 

अभिनेत्री पशुपति राईले यस चलचित्रबाट धेरै कुरा सिक्ने अवसर पाएको बताउनुभयो । महेश राईले लेखेको यस चलचित्रको निर्माता अमोद राई हुनुहुन्छ भने निर्देशन नबिन सुब्बाले गर्नुभएको छ । 

त्यस्तै, अमेरिकन छायाँकार जोश हेरमले खिच्नुभएको चलचित्रमा हाइडी लीको सङ्गीत, केदार श्रेष्ठको ‘कास्टिङ’ निर्देशन, राज थापाको कला निर्देशन, किशोर आचार्यको ‘साउन्ड डिजाइन’, सिकुमा राईको पहिरन, क्वान पुन लुङको सम्पादन रहेको छ । 

प्रकाशित मितिः बिहिबार, १० जेठ २०८१
https://jawaaf.com/storage/01HYJZXYE37KARSVDRR2HRVKK7.jpg

गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान

काठमाडौँ I  नेपाली महिला आरोही फुञ्जो झङ्मु लामाले १५ घण्टाभन्दा कम समयमै विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गर्नुभएको छ । वसन्त ऋतुको जारी सगरमाथा आरोहणमा गोरखाकी फुञ्जोले आज बिहान ६ः२३ बजे सगरमाथाको चुचुरोमा पुगेर सगरमाथाको सबैभन्दा छिटो महिला आरोहीको कीर्तिमान बनाउनुभएको हो ।   
  
सगरमाथा आधारशिविरस्थित पर्यटन विभागको अस्थायी फिल्ड कार्यालयका प्रमुख खिमलाल गौतमका अनुसार बुधबार दिउँसो ३.५२ मा आधार शिविरबाट आरोहण सुरू गरी आज बिहान ६ः२३ बजे आरोही फुञ्जोले सगरमाथाको चुचुरोमा पाइला टेक्नुभएको थियो । उहाँले १४ घण्टा ३१ मिनेटमा सगरमाथा आरोहण गरी कीर्तिमान कायम गर्नुभएको जनाइएको छ ।   
  
यसअघि सन् २०१८ मा फुञ्जोले ३९ घण्टा ६ मिनेटमा सगरमाथाको शिखरमा पुगेर रेकर्ड बनाउनुभएको थियो । पछि सन् २०२१ मा हङकङकी स्याङ यिन हङले २५ घण्टा ५० मिनेटमा सगरमाथा आरोहण गरेर बनाएको कस्सतमान फुञ्जोले तोड्नुभएको हो । यसअघि दोलखाका पेम्बादोर्जे शेर्पाले आठघण्टा १० मिनेटमा सगरमाथा आरोहण गरेर सबैभन्दा छिटो सगरमाथा आरोहण गर्ने पुरुषको रूपमा गिनिजबुकमा रेकर्ड कायम गर्नुभएको थियो ।   
  
विसं २०४३ मा गोरखाको छेकाम्बर बुर्जी गाउँ (चुम भ्याली) मा सामान्य परिवारमा जन्मेकी फुञ्जोको सानै उमेरदेखि हिमाल आरोहणमा रुचि थियो । अमेरिकाको ‘डेनाली’ हिमाल आरोहण गरेर आरोहण यात्रा प्रारम्भ गरेकी फुञ्जोले चोयु, अमाडब्लम, लापुछे, मनास्लुजस्ता हिमाल चढिसक्नु भएको छ । उहाँले फ्रान्सको ‘मोमलङ’ हिमाल पनि आरोहण गरिसक्नुभएको छ । सगरमाथा आरोही सङ्घका महासचिव नेपाल पर्वतारोहण सङ्घका सचिव शिवबहादुर सापकोटाका अनुसार आरोही फुञ्जोले २४ घण्टा २४ मिनेटमा सगरमाथाको आधारशिविरबाट चुचुरोसम्म र सगरमाथाको चुचुरोबाट आधार शिविरसम्म आरोहण सकेर नयाँ कीर्तिमान बनाउनुभएको छ ।   
  
उहाँले नेपाली चेलीको साहसिक कार्यले संसारभर नेपालको साहसिक पर्यटन प्रवर्द्धमा सन्देश दिनुका साथै विश्वशान्ति, जलवायु परिवर्तन, पर्यटन प्रवर्द्धमा लाग्ने आरोहीको प्रोत्साहनमा पनि भूमिका खेलेको बताउनुभयो ।   
  
फुञ्जोले हिमाल आरोहणका क्रममा दुर्घटनामा परेकालाई हेलिकप्टरमा झुण्डिएर उद्धार गर्ने काम गर्दै आउनुभएको छ । उहाँले सोलुखुम्बुको खुम्बु क्षेत्र र गोरखाको मनास्लु क्षेत्रमा हेलिकप्टरमा झुण्डिएर हिमालको चुचुरा, खोच, ग्ल्यासिएरसम्म पुगेर उद्धार कार्य गर्दै आउनुभएको छ । पहिलो नेपाली महिला हेलिकप्टर लामोलाइन उद्धारकर्ता फुञ्जो यसअघि नै तेन्जिङ–हिलारी पुरस्कारबाट सम्मानित भइसक्नुभएको छ ।  

प्रकाशित मितिः बिहिबार, १० जेठ २०८१
https://jawaaf.com/storage/01HYJAZ0RXKY9A0YSB7KB1QN0T.jpg

साकेला उभौलीः उल्लासमय बन्दै किराँत गाउँबस्ती

खोटाङ I किराँत समुदायको प्रमुख चाड साकेला (उभौली) आजदेखि औपचारिक रूपमा सुरु भएको छ । किराँत समुदायमा ‘खेतीपाती सप्रियोस्, रोगब्याधी नलागोस्, प्राकृतिक विपत्ति नपरोस्’ भन्ने कामनासहित पितृ तथा भूमिको पूजाआजा गर्दै महिना दिनसम्म साकेला (उभौली) मनाउने प्रचलन छ ।

साकेला उभौलीका अवसरमा परम्परागत वेशभूषामा सजिएका दाजुभाइ, दिदीबहिनी, बुबाआमा, इष्टमित्र भेला भएर गोलो घेरामा ढोल र झ्याम्टा बजाउँदै साकेला सिली नाच्ने गरिन्छ । घरघरमा तीन चुल्हा पुज्नुका साथै साकेला थानमा भूिमको पूजाआजा गरेपछि साकेला गीतको भाका तथा ढोल र झ्याम्टाको तालमा हात र खुट्टाले सिली टिप्दै गोलो घेरामा साकेला नाच्ने गरिन्छ ।

यहीँ अवसरमा किराँत समुदायको बसोबास रहेको प्रत्येक गाउँ तथा बस्तीमा युवायुवती, केटाकेटी र बूढापाकाको जमघट तथा साकेला गीत र नाचले गुञ्जयमान बन्ने गरेको छ । साकेला चाड अन्नबाली छर्ने बेला अर्थात् वैशाख पूर्णिमा र उठाउने बेला मङ्सिरे पूर्णिमाको अवसर पारेर वर्षमा दुईपटक मनाउने गरिन्छ ।

उभौलीको अवसरमा किराँत राईहरूको ऐतिहासिक थलो मानिएका ठाउँहरूमा पूजाआजा गरिएसँगै महिना दिनसम्म यो चाड मनाउने प्रचलन छ । जिल्लाको किराँत ऐतिहासिकस्थल तथा पर्यटकीयस्थल तुवाचुङ जायाजुङ, रुपाकोट, मेरुङ, जन्तेढुङ्गा, छोङ्खालगायत धार्मिक तथा पर्यटकीयस्थलका साथै साकेला थानमा साकेला नाचिन्छ ।

किराँती राई समुदायको घनाबस्ती रहेको माझ किराँत खोटाङका हरेक गाउँ तथा बस्तीमा साकेला सिली प्रदर्शन गर्दै उभौली चाड मनाउने गरिएको छ । छितको गुन्यु मखमलको चोली, पहेँलो पटुकी, दौरासुरुवाल, ढाकाटोपी किराँती मौलिक वेशभूषामा ठाँटिएर हरेक किराँतीका घरघरमा नाच्दै गाउँदै हर्षोल्लासका साथ मनाइने यो पर्वमा किराँत समुदायमात्र नभई गैरकिराँत समुदायका युवायुवतीसमेत औपचारिक तथा अनौपचारिक कार्यक्रममा सहभागी भएर साकेला सिली नाच्ने गर्दछन् । 

चराचुरुङ्गी तथा जीवजन्तुको नक्कल गर्दै ढोल÷झ्याम्टाको तालमा सुम्निमा र पारुहाङले सम्पूर्ण सृष्टिजगत्को रक्षा गरून् भन्ने कामनासहितका गीत गाउँदै साकेला उभौली मनाइन्छ । खुला आकाशमुनि गोलो घेरा हालेर संयुक्त रूपमा नाचगान गरी हर्षोल्लासपूर्वक साकेला नाच्ने र एकआपसमा सद्भाव साटेर यो पर्व मनाउने गरिएको छ । 

बालकदेखि वृद्धवृद्धासम्म एउटै लहरमा सामूहिक रूपमा नाचिने साकेला नृत्यले यो आदिवासी जनजातिको सामूहिक भावना प्रदर्शन गर्दछ । हातखुट्टाको चालले पङ्क्तिबद्ध रूपमा साकेला सिली नाच्दा प्रस्तुत हुने शरीरको हाउभाउ र अभिनयमा खोरिया फाँडेको, अन्नबाली लगाएको, गोडमेल गरेको र बाली उठाएर थन्क्याएको जस्ता कृषि कार्यमा गरिने प्रक्रियाहरू प्रदर्शन गरिन्छ ।

साकेला उभौली चाडले जातीय, धार्मिक तथा सांस्कृतिक सद्भाव, आपसी मेलमिलाप कायम गर्दै द्धन्द्धलाई निरुत्साहित गर्न भूमिका खेल्ने किराँत राई यायोख्खा खोटाङका अध्यक्ष युगशन किराँतले बताउनुभयो । “साकेलामा विशेषगरी प्रकृति र पितृको पूजा गर्दै आपसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ । प्रकृति र पितृको पूजासँगै मनाइने यो चाडले किराँत र गैरकिराँतबीच आपसी सद्भाव र बन्धुत्व कायम गर्न सघाउ पुर्याउँछ”, उहाँले भन्नुभयो, “साकेला अन्नबाली छर्ने बेला अर्थात् वैशाख पूर्णिमा र उठाउने बेला मङ्सिरे पूर्णिमाको अवसर पारेर वर्षमा दुईपटक मनाउने गरिन्छ । यसले पराइघर गएका छोरीचेली र बाउमाइती भेटेर दुःखसुखको कुराकानी गर्ने वातावरणसमेत सिर्जना गर्ने भएकाले पनि महत्वपूर्ण मानिन्छ ।”

दश स्थानीय तह रहेको खोटाङमा किराँत ऐतिहासिकस्थल मझुवागढीबाट औपचारिक रूपमा सुरुआत गरिने साकेला उभौली महिना दिनपछि दिक्तेलको माटीकोरे खेलमैदानमा सिली प्रदर्शनी तथा शुभकामना आदानप्रदान गर्दै समापन गरिने अध्यक्ष किराँतले जानकारी दिनुभयो ।

उहाँका अनुसार समापनको अवसरमा जिल्लास्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, जिल्लास्थित जनप्रतिनिधि, कार्यालय प्रमुख तथा सुरक्षा निकायका प्रमुख, जातीय सङ्घसंस्थाका प्रतिनिधिलगायतलाई सहभागी गराएर साकेला सिली नाच्न लगाउने गरिन्छ । 

साकेला उभौली चाड पूर्वी नेपालको खोटाङ, भोजपुर, धनकुटा, उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बु, सङ्खुवासभा, सुनसरी, इलाम, पाँचथर, झापा, मोरङलगायत किराँत समुदायको बसोबास रहेको ठाउँ तथा जिल्लामा धुमधामकासाथ मनाउने गरिएको छ । 

यसलाई किराँत राई, लिम्बू, याक्खा र सुनुवार समुदायले मुख्य चाड मान्ने गरेका छन् । साकेला उभौली चाडको अवसरमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ । आज किराँत समुदायको साकेला उभौली चाडसँगै बुद्धजयन्तीसमेत परेको छ ।

प्रकाशित मितिः बिहिबार, १० जेठ २०८१
https://jawaaf.com/storage/01HYJ3M92Y2B0MGBXER8YJP5PB.jpg

प्रकृतिको पूजा गर्दै उभौली मनाइँदै

  • सङ्गीता राई

१० जेठ, धरान (सुनसरी) 
 मधेसैको लहरे वर पात खस्यो हरर हो ।
 रेलमा चढी झ्यालेमा बसी, पछ्यौरी फरर ।
 आकासैको गड्याङ र गुडुङ पातलैको भुइँचाल ।
 मर्ने जति मरी ना गए बाच्नेको येई साल ।....

 ढोल झ्याम्टाको सुरैमा यो गीत सुन्दा सबैलाई नाचौँ ना नाचौँ हुन्छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमासँगै किराँत राई समुदायले मनाउने उभौली पर्व देशभर भूमेस्थानमा पूजा आराधना गरी मनाइन्छ । विशेषगरी बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको बुढापाकाको भनाइ छ । उधौली विशेषगरी एक दिन मनाइन्छ भने उभौली महिनौ दिनसम्म मनाइन्छ । हरेक साकेला थानमा विभिन्न लयका गीतहरु गाउँदै ताल मिलाएर नाच्नेहरुको लस्कर हुने गर्छ । 

 आधुनिक सहरका रुपमा परिचित धरानमा अरु बेला आधुनिक गीत, हिपहप, रक जस्ता पाश्चात्य सङ्गीतमा रमाउने युवा पुस्ताहरु अहिले उभौली, उधौलीजस्ता सांस्कृतिक चाडपर्वमा पनि उत्तिकै रमाउँछन् । टोलटोलमा भइरहेका साकेला सिलीमा युवा पुस्ताकै बाक्लो उपस्थिति रहेको दखिन्छ । 

 धरान–१७ वान्तावा लाक्छाम संरक्षण समितिका सचिव तथा संस्थाका (सिलिहिाङपा) मिलन बासाखोरा राई साकेलाको समयमा साथीसँगै आफ्नो मौलिक गहना र पहिरनमा नाच्ने गरेको बताउनुभयो । उहाँ भन्नुहुन्छ, “आफ्नो पुर्खाले मान्दै आउनुभएको चाडपर्व हामीले बिर्सिनु हुन्न, हामी किरातीलाई चिनाउने एउटा मुख्य चाडको रुपमा लिइन्छ, त्यसैले हामीले १०÷१५ दिन अगाडिदेखि भाइबहिनीलाई प्रशिक्षण गराई पूर्वको सबै ठाउँमा साकेला नाच्न जान्छाँै ।”

 उहाँ जस्तै धरान–११ वान्तावा लाक्छाम संरक्षण समितिका सदस्य बरदान भरत राई साकेला किरात जातिको पहिचान रहेको बताउनुभयो । साकेला सुरु भएसँगै छुट्टै रमाइलो हुने बान्तावा सिलिका रुपमा विभिन्न गीतहरुको प्रस्तुत गरेर नाच्ने उहाँले सुनाउनुभयो । “आफ्नो सस्कृतिलाई बचाइराख्नुपर्छ भन्ने हिसाबले पनि साकेलाको अवसर पारेर भाई बहिनीलाई साकेला सिलिहरु सिकाएर धरान बाहेक सबै ठाउँमा नाच्न जाने गरेका छौँ”, उहाँले भन्नुभयो । 

 साकेलाको समयमा साथीसँगै आफ्नो मौलिक गहना र पहिरनमा नाच्न जाने गरेको धरान–११ निलम राई बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “आफ्नो संस्कार संस्कृति अनि हाम्रा पुर्खाले मान्दै आउनुभएको चाडपर्व हामीले बिर्सिनु हुन्न, त्यसैले हामी भाइबहिनीलाई पनि लिएर साकेलाको समयमा नाच्न जान्छु ।” 

 दौरा सुरुवाल र टोपीमा सजिएका युवा र गुन्युचोली, लाछा, सिरबन्दी, चेप्टे सुन, पैसाको हारी माला, नौगेडीजस्ता गहनामा सजिएका युवतीहरू हातमा ढोल, झ्याम्टा बोकेर गीतमा लय मिलाउँदै नाच्ने गरिन्छ । छातीमा पेचुरी धजुरी, बाबु, बुन्छत र मुर्चुङ्गा झुन्ड्याएका युवायुवती ढोल झ्याम्टाको तालमा विभिन्न चरा चुरुङ्गी र जीवजनावारको हाउभाउ गर्दै नाचि रहेको हुन्छन् । 

 साकेला सांस्कृतिक रुपमा राई जातिले अन्नबाली रोप्ने बेलामा भूमिको पूजा गर्ने क्रममा विकास भएको मानिन्छ । हातमा चम्मर, झ्याम्टा बोकेर वरिपरि गोलो घेरामा बसेर विभिन्न जनावारको अभिनय गर्दै नाच्नुलाई सिली भनिन्छ । हात र खुट्टाको ताल मिलाएर नाचिने सिली पनि राईका जाति र ठाउँपिच्छे फरकफरक हुने गरेको किराँत राई यायोक्खा सुनसरीका अध्यक्ष राजेन्द्र राईको भनाइ छ ।

 “साकेला एउटा अद्भुत शक्ति भएको ढुङगा जस्तै हो, कहिले ठूलो हुन्छ कहिले सानो हुन्छ । प्राकृतिक पुजक भएकाले प्रकृतिलाई पूजा गरेर साकेला नाच सुरु गरिन्छ”, उहाँले भन्नुभयो, “विशेष गरी साकेला हजारौ किमिमको नाच्ने गरिए पनि अहिले मुख्य तीनवटा सिलीमा नाचिन्छ, जसमा आराथानात्मक सिलि जस्मा प्रकृतिलाई पुज्ने घाम पानी हावा हुरी, आकाश जमिनलाई पुज्ने गरिन्छ भने अनुकरण सिलीमा हाम्रा सृष्टि सँगसँगै उत्पति भएका किरा फट्याङ्रा, चराचुरुङगी झिङ्गाहरुकोे नक्कल गरी नाच्ने गरिन्छ ।” 

 प्रतिक्रियात्मक सिलि हामीले दैनिक रुपमा गरिने कृयाकलापहरु बारी खन्ने, डोको बोक्ने, नमस्कार गर्ने जस्ता यी तीनवटा मुख्य आधारभित्र हजारौ सिलि हुन्छन् । जसमा रहेर साकेला नाच्ने गरिएको किराँत राई यायोक्खा सुनसरीका अध्यक्ष राईको भनाइ छ । साकेला विशेषगरी हामीले उधौली र उभौलीमा मात्र नाच्ने गरिन्छ तर पछिल्लो समय विवाह, व्रतबन्धलगायतमा पनि नाच्ने गरेको पाइन्छ । साकेलाको बिड ढोल झ्याम्टा अनि त्यहा गुञ्जिने साकेला सिलिको धुनले नै पछिल्लो समय युवा पुस्ताहरुमा बाहुल्यता बढाएको राईको भनाइ छ । 

 बुढापाकाको भनाइअनुसार पूर्वी पहाडी भेगमा उभौली नाच सुरु हुनुभन्दा अगाडि पितृ पुजिन्छ । पितृलाई पूजा गरिसकेपछि कोशी काटेर जानुहुन्न भन्ने मान्यता रहेको धरान बान्तावा सिलि लाक्छाम संरक्षण समितिका केन्द्रीय उपाध्यक्ष चिन्तमणि राईको भनाइ छ । उहाँले भन्नुभयो, “पहाडी भेगमा मनाइने साकेला र तराई भेगमा मनाईने पितृ पुज्ने धामी अथवा (नाक्छोङ) ले गाउँभन्दा बाहिर गएर गरिखानु हुँदैन भन्ने चलन रहेकाले वर्षमा घरको एक पाठी अन्न दिने चलन छ । तर पछिल्लो समय लोभ हुदै गएको राईको भनाइ छ ।

 पहाडी भेगमा रामनवमी सुरुभएसंगै साकेला मनाउन सुरु गरिन्छ  । टोल–टोल गाउँगाउँमा ढोल झ्याम्टासँगै गाउँमा नाच गरेर हिड्ने चलन रहेको उहाँले बताउनुभयो । साकेला किरात राईहरुको विशुद्ध चाड रहेको पहिचान साहित्य लेखनका अभियनता तथा बागियान पत्रिकाका सम्पादक श्रीसिशा राईको भनाइ छ । उहाँले भन्नुभयो, “यो चाडमा किरात राईहरुले पुर्खा लाई सम्झेर सिलिमार्फत सम्मान गर्छन्”, उहाँले भन्नुभयो, “किरात राई समुदायमा पुर्खाहरुको ठूलो स्थान र महत्व छ वर्षमा दुई पटक उधौली र उभौलीमा पितृहरुको पुजा अथवा (माङ) गर्ने चलन छ ।”

 साकेला किरात राईहरुको पहिचानसँग जोडिएको छ , आफ्नो आस्थाको देवतालाई आफ्नै तरिकाले पुज्ने र पुजालाई महान चाडको रुपमा लिने चलन किरात समुदायमा छ । यसलाई विशेष अवसर मानेर किरात राई महिला तथा पुरुषहरु मौलिक सांस्कृतिक पहिरनमा सजिएर नाच्ने गरिन्छ । “साकेला अथवा उभौली–उधौलीप्रति युवा पुस्ताको चासो बढ्नु अत्यन्तै सकारात्मक छ”, उहाँले भन्नुभयो, “पछिल्लो समय पहिचान र मौलिकताप्रति युवापुस्तामा आएको चेतना हो, आधुनिक पुस्तामा पनि अब आफ्नो उद्गम र थातथलोको महत्वको बोध हुँदै गएको छ ।” 

 पूर्वका धरान, इटहरी, तरहरा, बेलवारी, विराटचोक, दमक, उर्लावारी, पथरी, विर्तामोड, काँकडभिट्टालगायतका क्षेत्रमा उत्सवका रुपमा मनाउने प्रचलन बढिरहेको छ । राई समुदायको बाहुल्यता रहेका पूर्वी पहाडी भेगका खोटाङ, भोजपुर, सङ्खुवासभा, उदयपुर, सोलुखुम्बु, ओखलढुङ्गा, धनकुटा, इलामलगायत जिल्लामा पनि साकेला सिली नाच्नेहरु उत्तिकै हुन्छन् । काठमाडौँमा पनि पूर्वेली राई समुदायको बसोबास भएका क्षेत्रमा उत्तिकै उल्लासमय रुपमा साकेला नाचिन्छ । काठमाडौँका टुँडिखेल, हात्तीवनलगायत स्थानमा साकेला भव्यताका साथ नाचिन्छ ।

 चार किराँत (राई, लिम्बु, सुनुवार र याख्खा) समुदायमा वैशाख पूर्णिमालाई बाली लगाउने समयका रुपमा उभौली र मङ्सिर पूर्णिमालाई बाली थन्क्याउने समयका रुपमा उद्यौली पर्व भव्यताका साथ मनाउने प्रचलन छ । उँधौलीलाई लिम्बु, सुनुवार र याक्खाले समुदायले भव्य उत्सवका रुपमा मनाउँछन् भने राई समुदायले उभौली अर्थात् वैशाख पूर्णिमादेखि करिब एक महिनासम्म टोलटोलमा झोल झ्याम्टा बजाउँदै साकेला मनाउँछन् । मङ्सिर पूर्णिमा अर्थात् उँधौलीमा भने राई समुदायले एक दिन मात्र साकेला थानमा सिली नाचेर चलन छ । 

 वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गीलगायत जङ्गली जनावर पनि उँभो लाग्ने किराँत समुदायको विश्वास छ । नदीमा माछा पनि गर्मीबाट बच्न बेँसीको नदीबाट लेकतिर लाग्छन् भन्ने बुढापाखाको भनाइ छ । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन बाली भित्र्याएर जाडो छल्न बेँसी झरेका मानिस आजदेखि उँभो लाग्छन् । उँभोको अर्थ खेतीपाती राम्रो होस्, धेरै होस्, उन्नति होस् भन्ने पनि रहेको भनाइ छ ।

 किराँत जातिहरुको मागलाई सम्बोधन गर्दै सरकारले २०६४ सालमा उभौली अर्थात् वैशाख पूर्णिमा घोषणा गरेको थियो भने २०५८ सालमा उधौली अर्थात् मङ्सिर पूर्णिमालाई किराँत चाड भनेर घोषणा गरिएको थियो । उधौली र उभौलीमा सरकारले सार्वजनिक बिदासमेत दिने गरेको छ । सरकारले किराँत चाड घोषणा गरेपछि उभौली र उधौलीलाई विशेष उत्सवका रुपमा मनाउने गरिएको छ । 

प्रकाशित मितिः बिहिबार, १० जेठ २०८१