शुक्रबार, २९ साउन २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01HYZATP79CPSS4NFK0J2V73RY.jpg

आङ खस्ने समस्या लुकाउँदा उपचारमा ढिलाइ

१५ जेठ, झापा I कचनकबल गाउँपालिका–३ की ४६ वर्षीया मनसरी राजवंशी चिकित्सकले चुराजस्तो वस्तु पाठेघरमा राखिदिएपछि आङ खस्ने समस्याबाट मुक्त हुनुभएको छ । 

अहिले उहाँ सहजरुपमा आफ्नो दैनिकीमा फर्कनुभएको छ । “पिसाब चुहिन्थ्यो र पिसाब घर गन्हाउँथ्यो”, उपचार अघि भोगेको पीडा सुनाउँदै उहाँ भन्नुहुन्छ, “जति नुहाए पनि शरीरबाट दुर्गन्ध आइरहन्थ्यो, पाहुना भएर आफन्त र छिमेकीको घर जान पनि छाडिसकेको थिएँ, घरको धन्धा र खेतबारीको काम गर्दा निकै शारीरिक पीडा हुन्थ्यो ।”

विर्तामोडस्थित बीएन्डसी टिचिङ हस्पिटलमा उपचार गराएपछि उहाँ अहिले पीडामुक्त भएको बताउनुहुन्छ । वर्षौंसम्म रोग लुकाएर बसेका कारण उपचार पाउन ढिलो भएको उहाँले स्वीकार गर्नुभयो । मनसरी जस्तै वर्षौंसम्म रोग लुकाएर पाठेघर (आङ) खस्ने समस्याको पीडा भोगिरहेका महिला समाजमा थुप्रै रहेको स्त्री रोग तथा क्यान्सर विशेषज्ञ डा ज्योति भजु लामा बताउनुहुन्छ । उहाँले धेरैजसो महिला लामो समयसम्म रोग लुकाएर सास्ती भोगेपछि अन्तिममा मात्र उपचारका लागि अस्पताल धाउने गरेको बताउनुभयो ।  

उहाँले नेपालमा १० देखि २० प्रतिशत महिलाले आङ खस्ने स्वास्थ्य समस्या भोगिरहेका र धेरैजसो उपचारको पहुँचभन्दा बाहिर रहेको जानकारी दिनुभयो । धेरै सन्तान जन्माउने, सानो उमेरमा बिहे गर्ने, सुत्केरीका बेला भारी काम गर्ने, कब्जियत हुने र धेरै सुर्ती सेवन गर्ने महिलालाई आङ खस्ने समस्या देखापर्ने गरेको उहाँले बताउनुभयो ।

रोग लुकाएर बस्ने बानीले घाउ पाकेर अल्सर हुने जनाउँदै उहाँले पहिलो चरणमै समस्या थाहा भएमा फिजियो थेरापीबाटै र अरू चरणका बिरामीलाई सिलिकन रिङ लगाएर तथा शल्यक्रिया गरेर उपचार गरिने बताउनुभयो । “गरिबी छ, उपचार गर्ने पैसा छैन, उपचार गराउन धेरै खर्च हुन्छ भन्ने चिन्ता छ”, पीडित महिलाको समस्याबारे उहाँ भन्नुहुन्छ, “आङ खस्ने समस्या भएका महिलालाई छिटोभन्दा छिटो उपचारमा लैजानुपर्ने हुन्छ, ढिलो ग¥यो भने शल्यक्रिया गरेरै पाठेघर फाल्नुपर्ने अवस्था आउन सक्छ, बेलैमा अस्पताल पुग्दा औषधिबाटै उपचार गर्न सकिन्छ ।”

लायन्स क्लब अफ बिर्तामोड लेडीले सोमबार विर्तामोड–६ बुट्टाबारीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दा ८१ महिलाले पाठेघर जँचाएका थिए । त्यसमध्ये ११ महिलामा आङ खस्ने समस्या पाइएको लायन्स क्लब अफ बिर्तामोड लेडीकी अध्यक्ष निरु ओलीले जानकारी दिनुभयो ।

पाठेघरसम्बन्धी सचेतना तथा पाठेघरको मुखको क्यान्सर जाँचका लागि उक्त शिविरको आयोजना गरिएको थियो । विर्तामोडका नगरप्रमुख पवित्रा महतराले आङ खस्ने समस्या भोगिरहेका महिलालाई आर्थिक विपन्नता उपचारको बाधक नबनोस् भन्नेमा नगरपालिका सचेत रहेको जनाउँदै महिलाले पनि रोग लुकाएर समस्या समाधान हुँदैन भन्ने बुझ्न आवश्यक रहेको बताउनुभयो । 

स्वास्थ्य पत्रकार एवं हेल्थ आवाज अनलाइनका सम्पादक भिषा काफ्ले प्रत्येक नेपाली महिलालाई सुरक्षित प्रजनन हक र हरेक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क पाउने हक रहेको बताउनुहुन्छ । उहाँले राज्यले आफ्नो बजेटको १० प्रतिशत स्वास्थ्य क्षेत्रमा छुट्याउनुपर्ने बताउनुभयो । स्थानीय सरकारका रुपमा रहेका पालिकाले पाठेघरको मुखको क्यान्सर जाँच र आङ खस्ने समस्याको उपचार गराउन सक्रिय पहल गर्नुपर्ने उहाँको धारणा छ ।

प्रकाशित मितिः मङ्गलबार, १५ जेठ २०८१
https://jawaaf.com/storage/01HYZ9RN49G46H7MAN4QPK3P09.jpg

बजेटः आगामी आर्थिक वर्ष आर्थिक सुधारको वर्ष

काठमाडौँ, १५ जेठः सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ लाई आर्थिक सुधारको वर्ष घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आज सङ्घीय संसदका दुवै सदनको संयुक्त बैठकमा वार्षिक बजेट पेस गर्नुहुँदै आगामी आर्थिक वर्षलाई आर्थिक सुधारको वर्षका रुपमा घोषणा गरिएको बताउनुभयो ।

सार्वजनिक वित्तमा असन्तुलन देखिएको, सार्वजनिक ऋण बढ्दै गएको, पुँजीगत खर्च हुन नसकेको, लक्ष्यअनुसार राजस्व उठ्न नसक्नुलगायत वर्षौंदेखि अर्थतन्त्रमा देखिएका समस्या निराकरणका लागि सुधारका नयाँ कार्यक्रममार्फत समृद्धिको आकांक्षा पूरा गर्ने गरी बजेट ल्याइएको अर्थमन्त्री पुनको भनाइ छ ।

प्रकाशित मितिः मङ्गलबार, १५ जेठ २०८१
https://jawaaf.com/storage/01HYZ7ZBWY9B8CXKNN5MBMYZEC.jpg

चीन र पाकिस्तानमा गणतन्त्र दिवस मनाइयो

१५ जेठ, काठमाडौँ  I चीन र पाकिस्तानकमा पनि सत्रौँ गणतन्त्र दिवस मनाइएको छ । बेइजिङस्थित नेपाली राजदूतावासमा त्यहाँ रहेका कूटनीतिक कर्मचारीसहितको उपस्थितिमा विशेष कार्यक्रम आयोजना गरी गणतन्त्र दिवस मनाइएको हो ।

नेपाली राष्ट्रिय गान बजाएर शुभारम्भ भएको उक्त कार्यक्रममा प्रजातन्त्र तथा गणतन्त्र स्थापनामा योगदान गरेका ज्ञातअज्ञात सहिदहरुप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गरिएको उक्त दूतावासले जनाएको छ । 

चीनका लागि नेपालका राजदूत विष्णुपुकार श्रेष्ठले नेपाली समाजलाई समृद्ध तथा समावेशी बनाउन नेपाली जनताका साथै राजनीतिक दलले गरेको सङ्घर्ष र बलिदानको प्रशंसा गर्नुभयो । गणतन्त्रलाई संस्थागत गर्न सरकारबाट भएका विविध प्रयासबारे प्रकाश पार्दै उहाँले मुलुकको विकासका लागि सम्पूर्ण जनता एकजुट हुनुपर्नेमा जोड दिनुभएको थियो ।

यसै अवसरमा राजदूतावास परिसरमा सोमबार दिपावली गरिएको थियो भने आज र भोलि पनि दिपावली गरिने छ । 

यसैबीच, इस्लामाबादस्थित नेपाली राजदूतावास परिसरमा पनि आजै एक कार्यक्रम आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त दूतावासका अनुसार पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले गणतन्त्र दिवसको महत्वका बारेमा चर्चा गर्दै लामो सङ्घर्षबाट प्राप्त गणतन्त्रको रक्षा गर्न सबैले आ–आफ्नो ठाउँबाट योगदान गर्नुपर्ने बताउनुभयो ।

उक्त अवसरमा नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले जारी गर्नुभएको गणतन्त्र दिवसको शुभकामना सन्देश वाचन गरिएको थियो । कार्यक्रममा इस्लामावादस्थित विभिन्न अन्तर्राष्ट्रिय सङ्घसंस्थामा कार्यरत नेपाली, त्यहाँ अध्ययनरत नेपाली विद्यार्थी एवं नेपाल सरकारका कर्मचारी तथा सैनिक र राजदूतावासका कर्मचारीको उपस्थिति थियो ।

प्रकाशित मितिः मङ्गलबार, १५ जेठ २०८१
https://jawaaf.com/storage/01HYZ15NZPN7C9ZZFGNFHN31WP.jpg

एक मुरी मकै फल्ने बारीमा ५० हजारभन्दा बढीको तरकारी उत्पादन

१५ जेठ, ढोरपाटन (बागलुङ) I पछिल्लो समय गाउँ छोडेर सहर बजारमा बसाइँसराइ गर्नेको जमात ठूलो छ । गाउँमा भएका खेतीयोग्य भूमिमा वनमाराले समस्या हुन थालेको छ । बागलुङको धेरै ठाउँमा विकास पुगेर पनि मानिस गाउँमा रोकिन सकेका छैनन् । जिल्लाको ढोरपाटन नगरपालिका–५ अधिकारीचौर क्षेत्रमा भने स्थानीयले गाउँको परिचय दबल्दै छन् । एक दशक अगाडिसम्म अधिकारीचौर गाउँका फाँटमा धान, मकै र गहुँ फल्थे । बारीमा उत्पादन भएको खाद्यन्नले स्थानीयलाई वर्षभरी खान पुग्दैनथ्यो । प्रसस्त बारी भएर पनि उत्पादन कम हुँदा धेरैले ज्याला मजदुरी गरेर परिवार चलाउनुपर्ने स्थिति थियो । तर अहिले त्यो परिस्थिति फेरिएको छ ।

  घर छेउमा रहेका बारी अचेल सेताम्य प्लास्टिकले ढाएिका छन् । कतै काठ त कतै फलामको रडले टेको लगाएर प्लास्टिकले छाइएका टनेलभित्र लटरम्म फलेका गोलभेडा, कलकलाउँदा साग, बन्दा र काउली उब्जिएका छन् । पहिले बाँझो रहेका बारीमा पनि अहिले तरकारी फल्न थालेका छन् । ढोरपाटन – ५ पर्ने अधिकारीचौर, नाथुरी, बाहुनगाउँ र प्याङ्खोलाका किसानलाई एकैछिन पनि फुर्सद छैन । जिल्लाको अन्य ठाउँमा बसाइँसराइले गाउँ रित्तिदै गएको सन्दर्भमा अधिकारीचौरमा भने गाउँलेनै तरकारी खेतीमा लागेका छन् । विसं २०६५मा गाउँका केही किसानले तरकारी खेतीको सुरुआत गरे पनि धेरैले यसप्रति चासो दिएका थिएनन् । 

विसं २०७९ मा व्यावसायिक तरकारी खेती गर्ने किसान बढे, त्यसपछि सिङ्गो गाउँमा तरकारी लगाउने लहरनै चल्यो । अहिले यस गाउँमा तरकारी खेती नगर्ने किसान भेटउनै मुस्किल पर्छ । एउटा परिवारले बढीमा पाँच वटासम्म प्लास्टिक टनेल निर्माण गरेर तरकारी उत्पादन गर्दै आएका छन् । ढोरपाटन –५ का दुई सय ६५ घरले करिब चार सय ५० टनेल निर्माण गरेर मौसमी तथा बेमौसमी तरकारी खेती गर्दै आएका छन् । 

पछिल्लो समय यस ठाउँ पौरखी गाउँका रुपमा परिचित बन्दै गएको छ । पौरखी किसानले तरकारी खेतीलाई गाउँभरी विस्तार गरेपछि अहिले बाँझो जमिन घटेको छ । युवाले रोजगार पाएका छन् । टाढाबाट देख्दा पनि गाउँमा सेताम्य प्लास्टिकका टनेल देखिन्छन् । बागलुङको दोस्रो ठूलो व्यापारिक केन्द्र बुर्तिबाङ बजार नजिकै रहेको यि गाउँका किसानसमेत निकै मेहनती छन् । 

गाउँमै परिवारसँग बारीमा पसिना बगाएर तरकारी फलाउँदा किसान निकै खुसी छन् तर बजारमा आउने भारतीय तरकारीसँग प्रतिस्पर्धा गर्न नसक्दा चिन्तित हुने गरेका छन् । नगरपालिकाले तरकारीको मूल्य निर्धारण गरि दिए आफूलाई बजारको पिर नहुने ढोरपाटन –५ स्थित नमुना किसान समूहका अध्यक्ष कृष्णलाल कँडेलले बताउनुभयो । पहिले एक मुरी मकै फल्ने बारीमा अहिले वार्षिक ५० हजार बढीको तरकारी फलाउने गरेको उहाँको भनाइ । पछिल्लो समय तरकारी खेती गर्ने किसानको सङ्ख्या बढेपछि बर्सेनी ५० लाख बढीको तरकारी बच्ने कँडेल बताउनुहुन्छ ।  

नगरपालिकाले हाटबजार सञ्चालन गरिदिने र समय–समयमा अनुदान र प्राविधिक सहयोग गर्न सके ढोरपाटनलाई तरकारीमा आत्मनिर्भर बनाउन सकिने उहाँको भनाइ छ ।  यहाँका किसानले वार्षिक न्यूनतम एक लाखदेखि पाँच लाखसम्म आम्दानी गर्दै आएको उहाँले बताउनुभयो । अहिले गाउँका स्थानीयमा उद्यम गर्नुपर्छ भन्ने सोचको विकास भएपछि सिङ्गो गाउँनै तरकारी खेतीमा लागेको कँडेल बताउनुहुन्छ । 

उहाँले भन्नुभयो– “६९ सालदेखि गाउँमा तरकारी खेती गर्ने लहरनै चल्यो, पहिले बाँझो जमिन धेरै थियो, अहिले भेटिन्न, जताततै टनेल हालेर तरकारी लगाउन थालिएको छ, ढोरपाटन–५ मा चार सय ५० बढी टनेल निर्माण भएका छन्, किसान समूहमा आवद्ध भएर काम गरिरहेका छौँ, अहिले गाउँमा चार वटा कृषि समूह छन्, बाह्रैमहिना तरकारी उत्पादन गर्छौँ, एक दिन एउटा सागको मुठा बेच्न पाइएन भने बिरामी हुन्छु, सिटामोल खानुपर्छ, हाम्रो मुख्य चुनौती भारतीय तरकारीसँग प्रतिस्पर्धा गर्नु हो ।”

व्यावसायिक तरकारी खेतीले किसानको जीवनशैलीनै बदलिदिएको छ । कृषि ज्ञान केन्द्रले पनि व्यावसायिक रुपमा तरकारी खेती गर्ने किसानलाई साथ दिँदै आएको छ । तरकारी खेती सुरु गर्नुपूर्व छाक टार्न मुस्किल पर्ने स्थानीयले अहिले त्यो समस्या भोग्नु परेको छैन । तरकारी खेतीबाट परिवार चलाउन सहज ढोरपाटन नगरपालिका–५ नाथुरी गाउँका स्थानीय जनकराज पाण्डेले बताउनुभयो । आफूले दिनभरबारीमै काम गर्ने र यताउता जान फुर्सदसमेत नहुने उहाँको भनाइ छ । गाउँभरी तरकारी हुन थालेपछि बाहिरबाट आउने मानिसले अधिकारीचौरलाई ‘तरकारी गाउँ’ भन्ने गरेको पाण्डेले बताउनुभयो ।

हिउँदमा बारीबाटै गाडीमा तरकारी बजार पु¥याउने गरे पनि बर्खामा निकै सकस हुने पाण्डे बताउनुहुन्छ । “बुर्तिबाङ बजार नजिकै भएको हुँदा उत्पादन हुने तरकारै त्यही पु¥याउँछौँ, बजारमा भारतबाट आएका तरकारीले गर्दा हाम्रो उत्पादनले उचित मूल्य बाउन सकेको छैन, हामीहरुलाई अर्को ठूलो चुनौती पनि छ, हिउँदमा गाडी बारीमै आउँछ, बर्खा लाग्यो भने गाउँमै आउन सक्दैन, खोलामा पुल बन्न थालेको धेरै वर्ष भयो अहिलेसम्म बनेको छैन,” पाण्डेले भन्नुभयो “बर्खाको समयमा ढोकोमै बोकेर बजार पु¥याउनुपर्छ, असारदेखि मङ्सिरसम्म गाउँमा गाडी आउँदैन, बर्खाभरी सडक नचल्दा तरकारी कुहिने समस्या हुन्छ, पोहोर परार लाखौँको तरकारी कुहियो, किसानका थुप्रै समस्या छन् ।”
कृषि ज्ञान केन्द्र बागलुङका सूचना अधिकारी कुमार पुन मगरले अधिकारीचौर क्षेत्रमा दुई वर्ष तरकारी ब्लक सञ्चालन गरेको जनाउँदै यहाँका किसानले लगानी अनुसार प्रतिफल पाउन थालेको जानकारी दिनुभयो । ज्ञान केन्द्रले दुई वर्षमा करिब रु ५० लाख यहाँ लगानी गरेको जनाउँदै अहिले पनि बेमौसमी तरकारी उत्पादन गर्नका लागि प्राविधिक र आर्थिक सहयोग गरिरहेको उहाँको भनाइ छ । यहाँका किसान पनि सक्रिय भएर लाग्दा बजारले थेग्न नसकेको पुनले बताउनुभयो । उत्पादन धेरै हुन तर बजार सानो हुँदा भएको र बाहिरबाट आएको तरकारीका कारण किसान मारमा पर्नु परेको सूचना अधिकारी पुन बताउनुभयो ।

उहाँले भन्नुभयो, “यहाँका किसान साँच्चिकै पौरखी हुनुहुन्छ, हाम्रो सहयोग र उहाँहरुको मेहनतले अधिकारीचौरले छुट्टै पहिचान बनाउन सफल भएको छ, किसानलाई बेलाबेलामा आवश्यक तालिम, परामर्श तथा अनुदानसमेत दिँदै आएका छौँ, आधुनिक प्रविधिको प्रयोग पनि गर्नु भएको छ, जसले उत्पादन वृद्धि गर्न टेवा पु¥याएको छ, उहाँहरुको त्यो परिश्रमले हामीहरुलाई पनि खुसी बनाएको छ, जिल्लामा धेरै तरकारी खेती गर्ने ठाउँमा अधिकारीचौर पनि पर्छ ।”

प्रकाशित मितिः मङ्गलबार, १५ जेठ २०८१
https://jawaaf.com/storage/01HYYTT1ZJ79ACSK2R8Z2KSAD2.jpg

कोशी प्रदेशमा गणतन्त्र दिवस मनाइयो

मोरङ, १५ जेठ I कोशी प्रदेश सरकार मूल समारोह समितिद्वारा १७औँ गणतन्त्र दिवसका उपलक्ष्यमा आज यहाँ प्रभातफेरी, कोणसभा र सरसफाइ गरिएको छ ।     
     
विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट निकालिएको प्रभातफेरी रोडशेष चोक, पाञ्चाली चोक, बसपार्क एवं महेन्द्र चोक पुगी कोणसभामा परिणत भएको थियो । कोणसभामा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलावल्लभ अधिकारी, विभिन्न मन्त्रालयका सचिव, प्रदेश कार्यालयका कर्मचारी, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, नागरिक समाजलगायतको सहभागिता थियो ।     
     
सो अवसरमा आन्तरिक मामिला तथा कानुनमन्त्री अधिकारीले नेपाली जनताले ठूलो त्याग एवं बलिदानपछि ल्याएको सङ्घीय गणतन्त्रको संरक्षण र संवर्द्धन गर्नुपर्ने जिम्मेवारी सबैको काँधमा आएको बताउनुभयो । उहाँले गणतन्त्र ल्याउन आफ्नो जीवन आहुती दिने ज्ञात–अज्ञात सहिदप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्नुभयो ।     
 

प्रकाशित मितिः मङ्गलबार, १५ जेठ २०८१
https://jawaaf.com/storage/01HYXCV4XWMZP22PXYAG9CXWAM.jpg

गणतन्त्रले राजनीतिक अधिकार सुनिश्चित गरेको छ : राष्ट्रपति

काठमाडौँ I राष्ट्रपती रामचन्द्र पौडेलले सङ्घीय लोकतान्त्रिक गणतन्त्रले सम्पूर्ण राजनीतिक अधिकारको सुनिश्चितता प्रदान गरेको उल्लेख गर्नुभएको छ ।  गणतन्त्र दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उहाँले समुन्नत भविष्यका लागि एकताबद्ध भएर अगाडि जाने अवसर दिएको बताउनुभएको छ । राष्ट्रपति पौडेलले गणतन्त्र दिवसका उपलक्ष्यमा सबै नेपालीमा शुभकामना र बधाई दिँदै नेपाल र नेपालीका लागि ऐतिहासिक र गौरवमय दिन भएको बताउनुभएको हो । “१७ वर्षअघि आजकै दिन हामीले स्वतन्त्रतासहित गणतन्त्र प्राप्त गरेका थियौँ । यही दिनबाट नेपाली नागरिकले सर्वोच्चता प्राप्त गरेका थियौँ र एउटा उदार, सामाजिक न्यायसहितको समावेशी समानुपातिक लोकतान्त्रिक गणतन्त्र नेपालको जग बसाएका थियौँ”, उहाँको सन्देशमा उल्लेख छ ।

राष्ट्रपति पौडेलले गौरवमय परिवर्तनका लागि सहादत प्राप्त गर्नुहुने सहिदहरूप्रति श्रद्धाञ्जली  अर्पण गर्दै यहाँसम्म आइपुग्न ठूलो त्याग र बलिदान गर्ने अग्रज नेताहरूप्रति सम्मान गर्नुभएको छ । साथै उहाँले लोकतान्त्रिक आन्दोलनका लागि जेल, नेल र यातना सहने नेपाली दाजुभाइ तथा दिदीबहिनी, परिवर्तनका सारथी राजनीतिक दल सबैलाई अभिनन्दन गर्नुभएको छ ।

उहाँले सन्देशमार्फत भन्नुभएको छ, “म यति बेला गणतन्त्र घोषणा भएको त्यो गौरवमय क्षण सम्झिरहेको छु । त्यो क्षण हामीले सहिदहरूलाई सम्झिएर भनेका थियौँ अब सामाजिक न्याय, स्वाधीनता र समृद्धि सुनिश्चित हुनेछ । त्यो दिन हामीले भनेका थियौँ हाम्रो देशको झण्डा अब सङ्घीय लोकतान्त्रिक गणतन्त्रको प्रतीक चिह्न बनेर विश्व समुदायमा गर्वका साथ फहराउनेछ ।”

सम्पूर्ण नागरिकलाई लोकतान्त्रिक संस्कृतिको आलोकमा समुन्नत र अधिकार सम्पन्न बनाउने तथा नागरिकलाई खुसी दिन गरिएको सङ्कल्पका बारेमा उल्लेख गर्दै उहाँले उक्त सङ्कल्पलाई पूरा गर्न आजको दिनले अझ धेरै प्रतिबद्ध बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।

गणतन्त्रले खोजेको सबैभन्दा ठूलो विषय जनताको जीवनस्तरमाथि उठाउनु रहेकाले राष्ट्रपति पौडेलले त्यसका लागि उत्पादनमा वृद्धि, न्यायोचित वितरण, रोजगारी प्रवर्द्धन एवं सुशासन कायम गर्नुपर्ने बताउनुभएको छ ।

“जबसम्म प्रत्येक नेपाली नागरिकको अनुहार र आँगनमा खुसी र उज्यालो पुग्दैन, त्यो बेलासम्म सङ्घीय लोकतान्त्रिक गणतन्त्रले परिलक्षित गरेको उद्देश्य पूरा हुँदैन । यस अर्थमा आजको दिनले हामीलाई आफ्नो ऐतिहासिक दायित्व सम्झाएको छ । म आशा गर्छु, हामी यो दायित्वलाई बिर्सने छैनौँ । किनभने यो दायित्व पूरा नगरी हामी स्वाधीनता र समृद्धिको लक्ष्य कसैगरी हासिल गर्न सक्दैनौँ”, उहाँले भन्नुभएको छ ।

आजको पुस्तालाई बलियो अर्थतन्त्रसहितको समृद्धि सुनिश्चित गर्नुपर्ने, आउने पुस्तालाई सबल, एकताबद्ध, मौलिक चरित्रसहितको उदार राज्य र उच्चतम लोकतान्त्रिक संस्कृति दिने सङ्कल्प पनि आजैबाट गर्नुपर्ने राष्ट्रपति पौडेलको सन्देशमा उल्लेख छ ।

नागरिकका आम समस्या शिक्षा, स्वास्थ्य, सार्वजनिक यातायात, सामाजिक सुरक्षाको प्रत्याभूतिसहित गरिबीको अन्त्य गर्नुपर्ने तथा विश्वमञ्चमा हाम्रो प्रतिष्ठालाई उँचो बनाउनुपर्ने उहाँले उल्लेख गर्नुभएको छ ।

प्रकाशित मितिः सोमबार, १४ जेठ २०८१
https://jawaaf.com/storage/01HYXCGHVFAFY88SM801H9MCDT.jpg

गणतन्त्र राजनीतिक व्यवस्था मात्र नभई शासकीय पद्धति र जीवनशैलीसमेत हो : प्रधानमन्त्री दाहाल

१५ जेठ, काठमाडौँ I प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्र राजनीतिक व्यवस्था मात्र नभई शासकीय पद्धति र जीवनशैलीसमेत भएको बताउनुभएको छ । गणतन्त्र दिवस–२०८१ का अवसरमा आज शुभकामना दिँदै उहाँले समाजका सबै तह र तप्कामा गणतान्त्रिक जीवनशैली विकास भई नागरिक तहमा गणतन्त्र संस्थागत भइसकेको बताउनुभयो ।

 गणतन्त्र अरूका अधिकारको सम्मान गर्दै आफ्ना अधिकारको उपभोग गर्ने जीवन पद्धति पनि भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सन्देशमा भन्नुभएको छ, “अझ, त्यसभन्दा माथि सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थानीय स्वायत्तता र आधारभूत विषयमा स्वनिर्णयको अधिकारसमेत हो । तसर्थ, यसका लाभलाई आम नागरिकमा पु¥याउन सरकारले दृढतापूर्वक प्रयास गरिरहेको छ ।”
 
गणतन्त्रको उपलब्धिका रूपमा जनताका प्रतिनिधिले संविधानसभाबाट निर्माण गरेको नेपालको संविधानबमोजिम सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था कार्यान्वयनमा रहेको जनाउँदै उहाँले यस व्यवस्थाले नेपालको संविधानबमोजिम समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माणका लागि दिशानिर्देश गरेको बताउनुभएको छ ।
 
प्रधानमन्त्रीले संविधानसभाबाट जारी संविधानले प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषता, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानवअधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका एवं कानुनी राज्यको अवधारणालगायत लोकतान्त्रिक मूल्यमान्यतालाई संस्थागत गरेको स्पष्ट पार्नुभएको छ ।
 
  प्रधानमन्त्री दाहालले राजनीतिक परिवर्तनको लाभ तल्लो तहका जनतासम्म पु¥याउन सरकारले नीतिगत, कानुनी तथा संरचनागत व्यवस्थामा समयानुकूल परिमार्जन गरी कार्यसम्पादन गरिरहेको बताउनुभयो ।
 
सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाका लागि विभिन्न समयमा भएका राजनीतिक आन्दोलन, जनयुद्ध, २०६२÷६३ को ऐतिहासिक जनआन्दोलन, मधेस आन्दोलनसहितका आन्दोलन तथा सङ्घर्षका सहिदहरूको स्मरण गर्दै प्रधानमन्त्रीले उहाँहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । गणतन्त्र प्राप्तिको आन्दोलनका घाइते तथा अपाङ्तगता भएका व्यक्तिको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उहाँले बेपत्ता दिदीबहिनी दाजुभाइप्रति सम्मान प्रकट गर्नुभएको छ ।
 
        प्रधानमन्त्री दाहालले गणतन्त्र दिवसले सबैलाई सहिदले देखाएको सत्य र न्यायको मार्गमा हिँड्न प्रेरित गरोस् भन्ने कामनासमेत गर्नुभएको छ । “नेपाली जनताको बलिदानीपूर्ण आन्दोलनको जगमा संविधानसभाले २०६५ साल जेठ १५ गते देशमा लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्ने ऐतिहासिक निर्णय गरेको दिनका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइमा बधाइसहित शुभकामना व्यक्त गर्दछु”, सन्देशमा उहाँले भन्नुभएको छ ।

प्रकाशित मितिः सोमबार, १४ जेठ २०८१
https://jawaaf.com/storage/01HYXA4W4QRB4F0AF4S2AE0CRG.jpg

‘योजना कार्यान्वयन नहुँदा विकासमा पछि प-यो कर्णाली‘

काठमाडौँ I  गणतन्त्र स्थापनाको १७ वर्षमा पनि कर्णाली प्रदेशको अवस्थामा परिवर्तन आउन नसकेको भन्दै सांसदहरुले बनेका योजना कार्यान्वयन नहुँदा समस्या भएको बताएका छन् ।

गणतन्त्र दिवसका अवसरमा मानवअधिकार तथा शान्ति समाजले आज यहाँ आयोजना गरेको ‘कर्णालीको उत्थानमा योगदान गर्न आग्रह’ विषयक नागरिक संवाद कार्यक्रममा प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले कर्णालीका नागरिकले राहदानी लिन अझै रु एक लाखभन्दा बढी खर्च गर्नुपर्ने अवस्थामा परिवर्तन आउन नसकेको बताउनुभयो । नागरिकले एउटा राहदानी लिन दुःख पाउनुपर्ने तर नीतिगत निर्णय गर्ने नेता र कर्मचारीले केही छिनमै बिना पैसा राहदानी पाउने अवस्था परिवर्तन आवश्यक रहेको उहाँको भनाइ थियो । 

कर्णाली प्रदेशलाई अर्गानिक खानेकुरा पाइने क्षेत्रका रुपमा विश्वमा परिचित गराउनसके पर्यटकको सङ्ख्या वृद्धि हुने सभापति खतिवडाले बताउनुभयो । कर्णाली प्रदेशमा मुख्यमन्त्रीको कार्यालय र निवास नबने पनि ललितपुरको भैँसेपाटीमा सबै प्रदेशका मुख्यमन्त्रीको सम्पर्क कार्यालय निर्माण हुने अवस्थाले सङ्घीयता एवं गणतन्त्रको अवस्था प्रष्ट हुने उहाँको धारणा थियो । 

अर्थ समितिका सभापति सन्तोष चालिसेले पोखरा र भैरहवामा निर्माण सम्पन्न भएर अलपत्र बनेका दुई अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन नहुँदा देशलाई दैनिक लाखौँ राजश्व घाटा लागेको उल्लेख गर्नुभयो । उहाँले राज्य कोष नै कम भएपछि कर्णाली प्रदेशजस्ता पछि परेका भूगोलको विकासमा पर्याप्त रकमको अभाव हुने गरेको बताउनुभयो । विकसित देशसँग पनि पाँचदेखि छ महिनालाई धान्ने मात्र विदेशी मुद्रा हुने गरेकामा नेपालसँग १४ महिनालाई धान्ने मुद्रा रहेको सभापति चालिसेले बताउनुभयो । 

 सांसद माधव सापकोटाले शासन व्यवस्था बदलिए पनि शासकले गर्ने क्रियाकलाप नबदलिँदा कर्णाली प्रदेश पछि परेको बताउनुभयो । कर्णाली प्रदेशमा एउटा नमूना गाउँ विकास गर्ने योजना बनाएर कार्यान्वयन गरिनुपर्नेमा उहाँले जोड दिनुभयो । सांसद रेखा यादवले कर्णाली प्रदेशमा जल, जमिन र जङ्गल धेरै भएपनि त्यसलाई औद्योगिक रुपमा विकास गर्न नसक्दा पछि परेको बताउनुभयो । 

राष्ट्रिय योजना आयोगका सदस्य रमेश पौडेलले कर्णाली प्रदेशमा प्रत्येक वर्ष बजेटमा वृद्धि हुँदै गएपनि कार्यान्वयन नहुँदा विकासमा पछि परेको सुनाउनुभयो । कर्णालीमा विनियोजन भएर जाने बजेट सबै खर्च हुने वातावरण बनाइनुपर्ने सदस्य पौडेलको भनाइ थियो । 

समाजका संस्थापक सभापति कृष्ण पहाडीले प्राकृतिक स्रोतमा धनी रहेको कर्णाली विकास निर्माणमा किन पछि प¥यो भनी नागरिक संवाद कार्यक्रम सुरु गरिएको बताउनुभयो । यो कार्यक्रमलाई कर्णाली प्रदेशका विभिन्न जिल्लामा निरन्तरता दिइने उहाँको भनाइ थियो । 

कार्यक्रममा समाजका सभापति रामकृष्ण बराल, महासचिव रेनुका पौडेल, सचिवद्वय चन्द्रमणि बञ्जारा र रामप्रसाद जोशीलगायतले गणतन्त्रमा काठमाडौँ र कर्णालीको विकास एवं नागरिकको जीवनस्तर समान हुनुपर्नेमा त्यस्तो हुन नसकेकाले नागरिकमा शासन व्यवस्थाप्रति नकारात्मक भाव पैदा हुन थालेको बताउनुभएको थियो । आगामी दिनमा सच्याइनुपर्नेमा उहाँहरुको जोड थियो । 

प्रकाशित मितिः सोमबार, १४ जेठ २०८१
https://jawaaf.com/storage/01HYX60AEVDEZZS1RSYNPF6TGC.jpg

कोशी प्रदेशसभा बैठक : विनियोजन विधेकयको सिद्धान्त र प्राथमिकताको छलफल

१४ जेठ, विराटनगर I कोशी प्रदेशसभाको आजको बैठकमा ‘कोशी प्रदेश विनियोजन विधेयक, २०८१ को सिद्धान्त र प्राथमिकता’ माथि भएको छलफल समाप्त भएको छ ।  कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले सिद्धान्त र प्राथमिकता छलफलमा उठेको प्रश्नको जवाफ दिँदै कानून बनाउनु र वार्षिक बजेट ल्याउनु प्रदेश सरकारको प्रमुख दायित्व रहेको बताउनुभयो ।

उहाँले यथार्थको जगमा उभिएर विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता तय गरेको बताउँदै प्रारम्भ रु ४६ अर्ब रहेको प्रदेशको बजेट क्रमशः खुम्चिदै गएको जानकारी दिनुभयो । मन्त्री मगरले हामीले हाम्रो स्तर कायम गर्न चुस्त एवं दुरुस्त योजनामा मात्र केन्द्रित रहनुपर्ने धारणा राख्दै प्रदेश सरकार राजस्वको क्षेत्र बढाउन, रोजगार सिर्जना गर्न र पर्यटकलाई भित्र्याउन सकिने क्षेत्रमा लगानी गर्ने भत्रुभयो । उहाँले पर्यटन क्षेत्रको विकास गर्न पर्यटक पहुँच मार्गको विस्तार गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको भन्दै व्यापारिक सन्तुलन कायम गर्न र निर्यात बढाउन नाकासँग जोडिने मार्गमा प्रदेश सरकारले ध्यान दिने भत्रुभयो ।

अर्थतन्त्रको मेरुदण्ड विप्रेषण रहेको बताउँदै मन्त्री मगरले भत्रुभयो, “बसाँइसराइ रोक्न पहाडी तथा हिमाली क्षेत्रमा सरकारले शिक्षा, स्वास्थ्यलाई व्यवस्थित गर्न र कठिन मार्गलाई सहज एवं सरल बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रदेश सरकारले यस प्रदेशमा दुई हजार बाटो र एक हजार पाँच सय खानेपानीका योजनाहरु सम्पत्र गरेको जानकारी दिँदै प्रदेश सरकारले गरेका यस्ता कार्यहरुको प्रचारप्रसार हुनु जरुरी छ भत्रुभयो ।

प्रदेशस्तरका योजनाहरु तोक्न ढिलाइ भइसकेको प्रसङ्ग उल्लेख गर्दै मन्त्री मगरले भत्रुभयो, “लोकतन्त्रको अभ्यासमा भागेर होइन, डटेर सामना गर्नुपर्छ ।” विगत केही दिनदेखि नेपाली कांग्रेसका २९ जना सांसद सदनमा अनुपस्थित हुने गरेको प्रसङ्गमा उहाँले नेपाली कांग्रेसले सदनमा उपस्थित भएर रचनात्मक सहयोग गर्नुपर्ने धारणा राख्नुभयो । छलफलमा २२ प्रदेशसभा सदस्यहरुले भाग लिनुभएको थियो । प्रदेशसभाको अर्को बैठक जेठ २१ गते मध्याह्न २ बजे बस्ने सभामुख अम्बरबहादुर विष्टले जानकारी दिनुभयो ।

प्रकाशित मितिः सोमबार, १४ जेठ २०८१
https://jawaaf.com/storage/01HYWJG7BAA6AX03C88P13GD8A.jpg

बागमती प्रदेशः मन्त्रिपरिषद्द्वारा नीति तथा कार्यक्रम स्वीकृत

१४ जेठ,मनहरी I (मकवानपुर) आज बसेको बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम स्वीकृत गरेको छ ।   
  
मन्त्रिपरिषद्को पूर्ण बैठकले सरकारको नीति तथा कार्यक्रम स्वीकृत गर्दै प्रदेशसभा बैठकमा पेस गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठका अनुसार मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको नीति तथा कार्यक्रम आजै दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा प्रस्तुत गरिनेछ ।   
  
प्रदेश प्रमुख यादवचन्द्र शर्माले उक्त नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गर्नुहुनेछ । उहाँले कृषि पर्यटन तथा शिक्षा र रोजगारी क्षेत्रलाई विशेष प्राथमिकतामा राखी नीति तथा कार्यक्रम तयार पारिएको बताउनुभयो ।  

प्रकाशित मितिः सोमबार, १४ जेठ २०८१