महाकवि देवकोटाको ११६औँ जन्मजयन्ती आज मनाइँदै
काठमाडौँ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।महाकवि देवकोटाको जन्म विसं १९६६ सालमा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाण्डौको डिल्लीबजारमा भएको थियो । दश वर्षको उमेरमा कविता लेख्न सुरु गर्नुभएका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् ।
उनले नेपाली साहित्यलाई सयभन्दा धेरै कृति दिए । यी कृतिका माध्यमबाट देवकोटाले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाए । नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित हालसम्म सबैभन्दा बढी बिक्री भएको पुस्तक हो ।
नेपाली साहित्यमा स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृति प्रेम र क्रान्तिकारिता झल्कन्छ ।
उनका सिर्जनामा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन पाइन्छ । विदेशी भाषामा नेपाली कृतिको अनुवाद र विदेशमा भएका विभिन्न सम्मेलनमा नेपालको प्रतिनिधित्व गरी नेपाली साहित्यको विश्वव्यापी प्रचारप्रसारमा समेत उनले महत्त्वपूर्ण योगदान दिएका छन् ।
विसं २०१६ मा उनी शिक्षा तथा स्वायत्त शासनमन्त्री हुँदा नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागु गराएका थिए । अहिलेको त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको जग्गा पनि उनकै शिक्षामन्त्रित्वकालमा व्यवस्था गरिएको हो । जसले विश्वविद्यालयको पूर्वाधारका लागि काम गरेको छ ।
फेस्टिभल क्याम्पमा केकी अधिकारीलाई विद्यार्थीको प्रश्नै प्रश्न
काठमाडौँ । अरुसँग दाँजेर आफूलाई हीनताबोध नगर्न विद्यार्थीहरुलाई सुझाव दिँदै चलचित्र निर्माता तथा अभिनेत्री केकी अधिकारीले, बाल्यकालको मिठास उपयोग गर्ने र भविष्य बनाउने दुवै अवसर विद्यालय तहमा नै प्राप्त हुने सुनाइन । ‘कालो हुनु, गोरो हुनु, अग्लो हुनु, होचो हुनु । भनेको जस्तो अवस्था नहुनु । कुनैपनि अवस्थाले सफल हुनलाई असर गर्दैन । तपाईँ जस्तो हुनुहुन्छ । त्यही अवस्था सबैभन्दा उपयुक्त अवस्था हो । सफल हुन धैर्यता र मिहनेत चाहिन्छ । सबै सफल मान्छेमा धैर्यता र मिहनेत पाइन्छ,’ काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेको ‘फेस्टिभल क्याम्प’मा उनले उत्पेरणा दिंदै भनिन् ।
प्रभावशाली व्यक्तित्वसँग साक्षात्कार कार्यक्रममा उनी विहीबार शान्ति निकुञ्ज माध्यमिक विद्यालयमा भेला भएका विद्यार्थीसँग साक्षात्कार गर्दै थिइन । त्यहाँ कक्षा १० मा अध्ययनरत ९ वटा विद्यालयका विद्यार्थीहरु उपस्थित थिए ।
‘तपाईँ त पढ्नमा तेज हुनुहुँदो रहेछ, चलचित्र क्षेत्रमा किन आउनुभयो ?’ विद्यार्थीले सोधेको प्रश्नको जवाफमा अभिनेत्री अधिकारीले भनिन्, ‘चलचित्र प्रतिष्ठित क्षेत्र हो । यो क्षेत्रमा काम गर्न शैक्षिक योग्यता र सीप दुवै चाहिन्छ । अहिले त चलचित्र विषय अध्ययन नै हुन थालेको छ । यही विषय अध्ययन गरेर भविष्य बनाउने सम्भावना छ ।’
उनीहरुको प्रश्नबाट थाहा हुन्छ । राम्ररी अध्ययन नगरेका व्यक्ति मात्र चलचित्र क्षेत्रमा छन् भन्ने उनीहरुलाई लागेको छ । यो प्रश्नभित्रको मनोविज्ञान हेर्ने हो भने विद्यालय तहका विद्यार्थीहरुले चलचित्र क्षेत्रमा भविष्य सोचेका छैनन् । जीवनको लक्ष्यमा चलचित्र क्षेत्र राखेका छैनन् । के यी विद्यार्थीहरुमा कलाकार बन्ने चाहना नभएर लक्ष्य नबनाएका हुन् त?
इच्छा हुनसक्छ तर आफूमा भएको रुचि व्यक्त गर्ने अवसर नपाएको हुनसक्छ या कलाकार बन्ने भन्दा परिवार र व्यक्तिले समर्थन नगर्लान् भनेर रुचि दवाएका हुन सक्छन् । शिक्षामा यस प्रकारको सीमितता घटाउँदै क्रमशः हटाउन महानगरपालिकाले शैक्षिक नतिजा सुधारसँगै दविएका लक्ष्य उजागर गर्ने उद्देश्यले क्याम्प आयोजना गरेको हो । सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झा भन्छन्, ‘कलाकारहरुसँग भेटेर कुरा गर्दा धेरै विद्यार्थीहरुले व्यक्त गर्न नसकेका तर मनमा भएका रुचिका बारेमा मूल्याङ्कन गर्न पाएका छन् ।’
विद्यार्थीहरुसँग कुरा गर्दै अभिनेत्री अधिकारीले भनिन्, ‘माध्यमिक तहमा अध्ययरत रहँदा आफूले कहिल्यै पनि अभिनेत्री हुन्छु भन्ने सोचेकी थिइँन । एमबीबीएसको प्रवेश परीक्षाको तयारी गर्दागर्दै चलचित्र क्षेत्रमा प्रवेश गरेँ । त्यसपछि मैले ३३ वटा चलचित्रमा काम गरिसकेँ । त्यसमा अधिकांश औसत रहे । ती चलचित्रले मलाई खास बनाउन सकेनन् । केही चलचित्र यस्ता रहे जुन चलचित्रले मलाई चिनाए । सफल भएको महसुस गराए । त्यसैले म त भन्छु, एकपटक असफल हुँदैमा निराश हुनुपर्दैन । औसत नतिजा आउँदा हारेको महसुस गर्नुहुँदैन । धैर्यता र निरन्तर प्रयासले एक दिन उचाइमा पु¥याउनेछ ।’
उनले आफू कक्षा १० मा पढ्दा धेरै लजालु, कसैसँग नबोल्ने स्वभावको रहेको सुनाइन । ‘मेरो बाबा हेडसर भएको स्कूलमा पढ्थेँ । केही गलत जस्तो देखियो भने हेडसरकी छोरी भन्थे । यसकारण धेरै संयमित हुनुपथ्र्यो । अहिले सम्झँदा लाग्छ, त्यो संयमताले मेरो बाल्यकालका केही महत्वपूर्ण अनुभव गर्ने अवसर छुटें,उनले विम्ब प्रयोग गर्दै भनिन् ।
उनले यति भनिरहँदा विद्यार्थीहरुले भने, पढेको मान्छे डाक्टर इञ्जिनियर बन्न छोडेर किन चलचित्रमा आउनुभो भन्ने प्रश्न दोहो¥याएर सोध्न छाडेनन् । यसको जवाफमा उनले भनिन्, ‘धेरै पढेर डाक्टर, पाइलट वा इञ्जिनियर नै बन्ने वा नपढेका मानिस चलचित्रतिर जाने भन्ने होइन । चलचित्र प्रविधि, प्राविधिक र साहित्यजस्ता विभिन्न विधासँग सम्बन्ध राख्ने पेशा हो । यस क्षेत्रमा आउन शैक्षिक योग्यतासँगै अभिनय, नृत्य, साहित्यको बोध जस्ता धेरै भाव जान्न सक्ने हुनुपर्छ । फेरि अरु पेशा उत्कृष्ट चलचित्र पेशा तल्लो भन्ने हुँदै होइन । यो पेशा अरु जत्तिकै महत्वपूर्ण छ । सबै पेशाको प्रतिष्ठा उत्तिकै उचाइमा छ । म यदि कलाकार नबनेर डाक्टर बनेको भए अहिले जत्तिको खुशी हुन पाउने थिइन होला । त्यसैले पेशा छान्दा आफूलाई खुशी दिने पनि हुनुपर्छ ।’
महानगरपालिकाले कक्षा १० मा अध्ययन गरिरहेका विद्यार्थीहरुलाई पढाइप्रति रुचि जगाउन र विद्यालय परिसरमा प्राप्त नहुने अवसरमा अभ्यस्त गराउन ‘फेस्टिभल क्याम्प’ गरिरहेको छ ।
१६ वटा स्रोत केन्द्रसहित १६ वटा विद्यालयमा क्याम्पअन्तर्गतका क्रियाकलाप सञ्चालन भइरहेका छन् । सहायकविज्ञ सस्मित पोखरेल भन्नुहुन्छ, ‘क्याम्पमा किताब पढाइँदैन । तर, कितावमा भएका विषयहरुलाई खेल, परियोजना र प्रयोगका माध्यमबाट बोध गराइन्छ । विद्यार्थीहरुलाई खेलेको जस्तो लाग्छ । तर, किताबका ज्ञान सिकिरहेका हुन्छन् ।’
दीर्घायुका रहस्यः ‘ब्लु जोन’का मिथक र वास्तविकता
काठमाडौँ । विश्वका विभिन्न स्थानहरूमा केही विशेष क्षेत्रमा मानिसहरू १०० वर्षभन्दा बढी बाँच्ने गरेको दाबीलाई ‘ब्लु जोन’ भनिन्छ । जापानको ओकिनावा, भूमध्यसागरको सार्डिनिया टापुजस्ता यी सात क्षेत्रहरूको जीवनशैलीको अध्ययनले कयौं पुस्तक, डकुमेन्ट्री र सामाजिक सञ्जालमा ‘वेलनेस कोच’हरूले प्रचुर मात्रामा सामग्री सिर्जना गरेका छन् । तर, के साँच्चै यी क्षेत्रका मानिसहरू दीर्घायुको विशेष सूत्र बोकिरहेका छन् ?
हालै अष्ट्रेलियाली अनुसन्धानकर्ता डा. शाउल न्युम्यानले यसको गहिरो अध्ययन गर्दै एउटा महत्वपूर्ण तथ्य उजागर गरेका छन् । जसले दीर्घायुको भ्रमलाई चुनौती दिएको छ । उनले पत्ता लगाएका छन् कि यी क्षेत्रहरूको दीर्घायुको एउटा मुख्य कारण त्रुटिपूर्ण रेकर्ड–राख्ने प्रणाली हो ।
डा. न्युम्यानले संसारभर ११० वर्षभन्दा माथि उमेर दाबी गर्ने ८० प्रतिशत मानिसको विवरण खोजे, तर तीमध्ये धेरैसँग जन्म प्रमाणपत्र नै नभएको पत्ता लगाउनुभयो । जापान सरकारले गरेको एक समीक्षा अध्ययनले पनि १०० वर्षभन्दा माथिका ८२ प्रतिशत मानिसहरू वास्तवमा मृत भइसकेका वा सम्पर्कविहीन रहेको देखाएको छ । यसले दीर्घायुको वास्तविकतालाई प्रश्न उठाउँछ ।
ओकिनावाका मानिसहरूको आहारबारे गरिएका केही मिथकहरूलाई समेत उहाँले खारेज गर्नुभयो । जापान सरकारको पोषण सर्वेक्षण अनुसार ओकिनावाका मानिसहरूले उच्च मात्रामा स्पाम (प्रोसेस्ड मासु) र केएफसीको सेवन गर्छन् । उनीहरूको सब्जी तथा मिष्ठान्न खानपानको स्तर देशको औसतभन्दा तल छ, र उनीहरूले प्रतिवर्ष ४१ किलो मासु उपभोग गर्छन् । यस अध्ययनले उनीहरूको खानपानलाई ‘स्वास्थ्यप्रद’ भनेर प्रस्तुत गरिएको मिथकलाई पनि तोड्न खोजेको छ ।
यो तथ्यले यसो भन्छ कि ‘ब्लु जोन’ भनेर चिनाइएका स्थानहरूका आहारका मात्राहरूसँग दीर्घायुको सम्बन्ध छैन । बरु दीर्घायुमा असर पार्ने मुख्य कुरा भनेको वातावरणीय कारकहरू हुन् । उदाहरणका लागि, शुद्ध खानेपानीको उपलब्धता, राम्रो ढल व्यवस्थापन, स्वास्थ्य प्रणालीमा समान पहुँच, शान्त समाज र अर्थिक समानता जस्ता कुराहरू दीर्घायुको प्रमुख कारक हुन् । यी कारकहरू मुख्य रूपमा सरकारका नीति तथा समाजमा सम्पत्ति वितरणसँग सम्बन्धित हुन्छन्, जुन व्यक्तिगत प्रयासभन्दा बाहिरको कुरा हो ।
जर्ज इन्स्टिच्युट फर ग्लोबल हेल्थ अष्ट्रेलियाका कार्यकारी निर्देशक ब्रुस नील्सका अनुसार, शारीरिक गतिबिधिलाई जीवनशैलीमा समावेश गर्नु, हरिया पातदार तरकारीको उपभोग गर्नु जस्ता सल्लाहहरू सही हुन् । तर, ‘ब्लु जोन’ जीवनशैलीको अनुकरण गर्दै नियमित मदिरा सेवनलाई पनि स्वास्थ्यप्रद भनेर प्रचार गर्नु गलत हो, किनकि मदिरा कुनै पनि हृदय स्वस्थ आहारको हिस्सा होइन ।
प्रमाणित आहार विज्ञ डा. डेजी कोयलका अनुसार, दीर्घायुको लागि कुनै विशेष सूत्र छैन । तर, स्वस्थ आहार, शारीरिक तौलको सन्तुलन, धूम्रपान नगर्ने, नियमित व्यायाम गर्ने र मदिरा सीमित मात्रामा सेवन गर्ने जस्ता तत्वहरूले दीर्घायुमा सकारात्मक भूमिका खेल्न सक्छन् । साथै, तनाव व्यवस्थापन, पर्याप्त निद्रा, स्वस्थ सम्बन्धहरू निर्माण गर्ने र जोखिमपूर्ण गतिविधिहरूबाट टाढा रहनु पनि महत्त्वपूर्ण छन् ।
उमेरसँगै रोगको सम्भावना बढ्छ, तर त्यो स्वास्थ्य जीवन बाँच्न नसक्ने कुरा होइन । सिड्नी विश्वविद्यालयका स्वस्थ बुढ्यौलीका प्राध्यापक युन–ही जेउनले ग्रामीण तथा दुर्गम क्षेत्रमा बसोबास गर्ने वृद्ध मानिसहरूलाई अध्ययन गर्दै सामाजिक सम्बन्धको दीर्घायुमा महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । उहाँका अनुसार, केही नजिकका मानिसहरूसँगको सम्बन्ध र नियमित सम्पर्कले मानिसहरूको दीर्घायु र जीवनको गुणस्तरमा ठूलो असर पार्न सक्छ ।
ब्लु जोनहरूबारेका मिथकहरू वास्तविकतामा आधारित नभए पनि, दीर्घायुको लागि केही आधारभूत जीवनशैलीका परिवर्तनहरूले योगदान पुर्याउनु सक्छन् । तर, दीर्घायुको मुख्य सूत्र व्यक्तिगत प्रयासभन्दा बढी समाज र सरकारले उपलब्ध गराएका अवसरहरूमा निर्भर रहन्छ । दीर्घ जीवन जिउन खोज्नेभन्दा गुणस्तरीय जीवन जिउनमा ध्यान दिनु महत्त्वपूर्ण छ ।
नेप्से परिसूचक १८ अङ्कले ओरालो लाग्यो
काठमाडौँ, ८ कात्तिकः धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १८ दशमलव २५ अङ्कले ओरालो लागेर दुई हजार छ सय २७ दशमलव १४ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ९९ अङ्कले ओरालो लागेर चार सय ७४ दशमलव २६ मा सिमित भएको छ । कारोबार भएका १३ उपसमूहमध्ये जलविद्युत् उपसमूहको मात्रै शेयर मूल्यमा वृद्धि भएको छ ।
कूल एक करोड २२ लाख ८३ हजार छ सय २३ कित्ता शेयर रु पाँच अर्ब ४१ करोड ९१ लाख चार हजार एक सय ५७ मूल्यमा कारोबार भएको छ । नेप्सेका अनुसार नेपाल एसबिआई बैंक नौ दशमलव ७५, पिपल्स पावर सात दशमलव ८८, सनराइज ब्ल्यूचिप फण्ड सात दशमलव ६७, समृद्धि फाइनान्स कम्पनी छ दशमलव १८ र आरबिबी म्युचुअल फण्ड–एकका लगानीकर्ताले छ दशमलव शून्य एक प्रतिशतले कमाएका छन् ।
रावा इनर्जी १०, एनआइबिएल समृद्धि फण्ड–दोस्रो पाँच दशमलव ७३, कर्पोरेट डेभलपमेन्ट बैंक चार दशमलव ९०, गुडविल फाइनान्स चार दशमलव ५१ र सुपरमाई हाइड्रोपावरका लगानीकर्ताले चार दशमलव २१ प्रतिशतले गुमाएका छन् ।
वरदान बन्दै त्रिविको अनलाइन कक्षा
कीर्तिपुर (काठमाडौँ), ८ कात्तिक: कीर्तिपुरको एक विद्यालयमा अध्यापन गरिरहनुभएका राजकुमार प्याकुरेल शिक्षा शास्त्र सङ्कायअन्तर्गत समाज शास्त्र (एमएसएसइडी) को अनलाइन कक्षा लिइरहनु भएको छ । थप शैक्षिक उपाधि चाहिएपछि भौतिक रुपमा कक्षामा उपस्थित हुन नसकेपछि उहाँ अहिले अनलाइन कक्षामा जोडिएर अध्ययन गरिरहनुभएको छ ।
कक्षामा भौतिक रुपमा उपस्थित हुन नसक्ने आफूजस्ता धेरैलाई त्रिभुवन विश्वविद्यालयले सुरु गरेको अनलाइन कक्षा निकै उपयोगी रहेको उहाँ बताउनुहुन्छ । “टाढाबाट पनि पढ्न मिल्ने, दिउँसो आफू अरु काममा व्यस्त हुने हामी जस्तालाई यो कक्षा बरदान सवित भएको छ”, उहाँ भन्नुहुन्छ । आफूहरु अनलाइन कक्षाको पहिलो समूह भएकाले पाठ्यपुस्तक हात नपरे पनि आफूले खोजेर पढ्ने बानीको विकास भएको उहाँको भनाइ छ ।
अर्का विद्यार्थी ज्ञानु पहाडी अन्य पेसामा रहेका विद्यार्थीलाई काम नछोडी शैक्षिक उपाधि दिलाउन अनलाइन कक्षा राम्रो विकल्प भएको बताउनुहुन्छ । इन्टरनेट र उपयोगी मोबाइल फोन नहुँदा भने यो चुनौतीपूर्ण हुन जाने पनि उहाँको धारणा छ । कुनै दिन अनलाइनका कक्षा लिन नभ्याइएमा डिजिटल रेकर्ड हेरेर उक्त छुटेको कक्षा लिन सकिने उहाँ बताउनुहुन्छ । “हामीले विभिन्न स्रोतबाट अध्ययन सामग्री खोज्छौंँ र शिक्षकलाई देखाउँछौँ । उहाँबाट यससम्बन्धी मार्गदर्शन पाएपछि त्यसै अनुसार सच्च्याउँछौँ” उहाँले भन्नुभयो ।
समयसमयमा हुने बन्द हड्ताल, परीक्षा केन्द्र तोकिने, क्याम्पसको आन्तरिक विवाद आदि अनेकौँ कारणले नियमित कक्षा नहुने, भएकै कक्षामा पनि विद्यार्थीको उपस्थित न्यून रहने गरेको छ । शिक्षकको अनुपस्थितिका कारण पनि कयौँ दिनसम्म कक्षा नहुने समस्या अनलाइन कक्षाले समाधान दिएको छ । भौतिक कक्षामा भन्दा अनलाइन कक्षामा हाजिर हुर्नुपर्ने, दिइएका गृहकार्य गर्नै पर्ने, तोकिएकै दिन बुझाउनै पर्ने र शिक्षक–विद्यार्थीका सबै गतिविधि श्रव्यदृश्य रेकर्ड हुने कारण सही अर्थको पठनपाठन हुने सम्बन्धित शिक्षक विद्यार्थी बताउँछन् ।
त्रिविमा अनलाइन कक्षाको सुरुआत कोभिड– १९ का कारण सन् २०२० को सुरुतिर अर्थात् बन्दाबन्दी हुनुभन्दा एक महिनअघि भएको हो । त्यतिबेला देशमा कतै पनि अनलाइन कक्षाबारे सोचाइ नै रहेको थिएन । त्यसबेला दूर शिक्षासम्बन्धी एक प्रयोगका रुपमा त्रिविको शिक्षा शास्त्र सङ्कायले एमएड तहको कार्यक्रम इन्टरनेट प्रविधिको माध्यमबाट सञ्चालन गर्ने तयारी गरिरहेको थियो । त्यसको केही महिनापछि नै बन्दाबन्दी भएकाले भौतिक उपस्थितिमा अध्ययन अध्यापन सम्भव भएन । त्यसपछि त अनलाइन कक्षा नै अनिवार्य विकल्प बन्न पुगेको थियो । विश्वविद्यालयदेखि विद्यालय तहसम्म अनलाइन कक्षाबाटै पठनपाठन हुन थाल्यो ।
घरै बसेर विश्वविद्यालयको उपाधि
पछिल्ला केही वर्षयता विश्वविद्यालयका विद्यार्थीहरुमा भर्ना हुने दिन क्याम्पस जाने र त्यसपछि एकैपटक जाँच दिने प्रवृत्ति बढ्दै गएको छ । आफ्नै बाध्यता वा क्याम्पसका कारण विद्यार्थीलाई भर्ना भएपछि कक्षा लिनुुपर्छ भन्ने सोच विस्तारै हराउँदै जाँदा पछिल्लो समय विद्यार्थीको उपस्थिति पातलिँदै गएको छ । कतिपय विद्यार्थीमा पढ्नभन्दा अरु उद्देश्यले भर्ना हुने प्रवृत्ति नभएको होइन । त्यसैले कक्षामा देखिने सङ्ख्याभन्दा परीक्षा दिने बेलामा विद्यार्थीको सङ्ख्या उल्लेखनीय रूपमा बढी हुन्थ्यो ।
समेष्टर प्रणाली लागू भएपछि त्यो समस्या त समाधान भयो तर ८० प्रतिशत हाजिरी अनिवार्य, आन्तरिक मूल्याङ्कनको अङ्कभार नै ४० प्रतिशत गरिएका कारण विद्यार्थी सङ्ख्या नै घट्दै गयो । कक्षामै उपस्थित भएर पढ्न धेरै विद्यार्थीलाई समस्या रहेछ भन्ने देखियो । त्यसैले घर वा कार्यस्थलमै रहेर पनि विश्वविद्यालयका कक्षा लिन सकिने विकल्पको रुपमा अनलाइन कक्षाप्रति आकर्षण बढेको हुनसक्ने विश्वविद्यालयको शिक्षा शास्त्र सङ्कायअन्तर्गत राजनीतिक शास्त्र विभागका पूर्वप्रमुख केशवराज पौडेल बताउनुहुन्छ ।
अनलाइनमा पढाउँदा हरेक कक्षाको डिजिटल रेकर्ड हुने भएकाले शिक्षकले पढाएको कुरा र विद्यार्थीले त्यस कक्षामा गरेको अन्तक्रिर्यासमेतको अभिलेख बस्छ । “विद्यार्थी र शिक्षक कसैले पनि ढाट्न सक्ने अवस्था रहँदैन”, उहाँले भन्नुभयो । यसका साथै विद्यार्थीले दिइएका गृहकार्य तत्काल बुझाउनु पर्ने र शिक्षकले त्यसमाथि गरेको मूल्याङ्कन पनि डिजिटलमै राख्नुपर्ने भएकाले अन्यथा नहुने हुँदा यसको प्रभावकारिता रहेको उहाँको भनाइ छ । कक्षामा विद्यार्थीको उपस्थिति, उसको सक्रिय सहभागिता, आन्तरिक मूल्याङ्कन र दिइएका अङ्कबारे कसैले प्रश्न उठाएमा वा उजुरी परेमा समेत श्रब्यदृष्यसहितको प्रमाण पेश गर्न सकिने उहाँ बताउनुहुन्छ ।
काम गर्दै डिग्री खोज्नेहरुका लागि उपयोगी
अनलाइन कक्षा एउटा एनरोइड मोबाइल वा ल्यापटप कम्प्युटरको माध्यमबाट इन्टरनेट पुगेको देशको जुनसुकै कुनाबाट पनि लिन सकिन्छ । काम वा अन्य कारणले आफू बसेको स्थान छोडेर विश्वविद्यालयका कक्षामा उपस्थित हुन नसक्ने विद्यार्थीका लागि निकै प्रभावकारी रहेको प्राध्यापक पौडेलको भनाइ छ । “खासगरी आफ्नो शैक्षिक योग्यता बढाउन चाहने तथा कक्षामा उपस्थित हुन नसक्नेलाई यसले उपयुक्त विकल्प दिन्छ”, उहाँले भन्नुभयो ।
विगतमा जागिरेहरुले काम गर्दै पढ्दा कतिपय अवस्थामा कक्षा लिएको र कार्यालयमा हाजिर गरेको दिन एउटै परेर समस्या सिर्जना हुने र अख्तियारमा उजुरी समेत लाग्ने गरेको समेत उहाँले उल्लेख गर्नुभयो । “तर यसमा अनलाइन कक्षा भनेरै शैक्षिक उपाधि दिइने हुँदा कर्मचारीले कार्यालय समयमा पढ्न गएको वा कक्षा नलिई शैक्षिक उपाधि लिएको भन्ने दोष रहँदैन”, उहाँले थप्नुभयो । विद्यार्थीले घरमा, यात्रामा वा कुनै पनि ठाउँमा कक्षा लिन सक्दछन् ।
घरपायक परीक्षा केन्द्र
भौतिक कक्षामा जस्तो पढेका क्याम्पसका लागि तोकिएकै केन्द्रमा पुग्नुपर्ने बाध्यता पनि यसमा विद्यार्थीलाई छैन । नयाँ कार्यविधिअनुसार विद्यार्थीले आफूलाई पायक पर्ने ठाउँको स्नातकोत्तर तह अध्ययन हुने क्याम्पसमा गएर यसको प्रवेश परीक्षा दिन पाउँछन् । देशभर एक सय आठ स्थानमा रहेका क्याम्पसमध्ये कुनै पनि क्याम्पसबाट उक्त परीक्षा दिन सकिन्छ । शुरुमा भर्ना हुन भने विद्यार्थीले विभागसँग समन्वय गर्नुपर्छ । भर्नापछि प्रत्येक समेष्टरको शुरुमा र अन्तिम परीक्षाअघि गरी दुईपटक प्रत्यक्ष उपस्थितिको कक्षा सञ्चालन गरिन्छ । यसबाट शिक्षक–विद्यार्थीबीच राम्रोसँग अन्तक्रिया हुनेछ ।
कक्षाका लागि शुरुमा माइक्रोसफ्ट एप्लिकेशनबारे विद्यार्थीलाई जानकारी दिइन्छ । त्यसपछि उनीहरुलाई कक्षामा कसरी बस्ने, आएका डिजिटल पाठ्यसामग्रीलाई कसरी लिने र गृहकार्य सम्बन्धित शिक्षकलाई कसरी बुझउने भन्ने पनि सिकाइन्छ । साथै विद्यार्थीले आफूले दिएको उत्तर र त्यसबापत शिक्षकले दिएको अङ्क तत्कालै हेर्न र थप छलफल गन पाउँछ । अनलाइन कक्षा पढने त्रिविका विद्यार्थीलाई अहिले माइक्रोसफ्टले एक टेराबाइट स्थान उपलब्ध गराएको छ । इन्टरनेटकै माध्यमबाट विद्यार्थीले त्रिविको केन्द्रीय पुस्तकालय, भारतको दिल्ली विश्वविद्यालय, जवाहरलाल नेहरु विश्वविद्यालयलगायत थुपै देशका विश्वविद्यालयका दुई लाखभन्दा बढी डिजिटल स्रोतको प्रयोग गर्न सक्नेछन् ।
अनलाइन कक्षाको सुविधाका कारण शिक्षा शास्त्र, राजनीति शास्त्र, अङ्ग्रेजी, नेपाली, समाजशास्त्रअन्तर्गतका १५ वटा विषय विभागहरुले अनलाइन कक्षा शुरु गरेका छन् । सबैतिर गरी हाल तीन सय जनाभन्दा बढी विद्यार्थी अनलाइन कक्षामा जोडिएका छन् । यसको प्रभावकारिता देखेर विज्ञान जस्ता प्रयोगशाला आवश्यक भएका विषयबाहेक त्रिविका अन्य संस्थान र सङ्कायले पनि अनलाइन कक्षा सुरु गर्न खोजेको प्राध्यापक पौडेलले जानकारी दिनुभयो । शिक्षा शास्त्र सङ्काय प्रमुख प्राध्यापक डा शम्भु खतिवडाका अनुसार गत वर्ष शिक्षाशास्त्र सङ्कायकै अङ्ग्रेजी र गणित कार्यक्रममा अनलाइन माध्यमबाट भर्र्ना लिन शुरु गरिएको हो । स्नातकोत्तर तहको सामाजिक अध्ययनमा भने प्रत्यक्ष भर्ना मात्र लिइएको थियो । राजनीतिक सङ्कायले बल गरेरै अनलाइन चलाउँदा विद्यार्थी सङ्ख्या पाँचबाट बढेर ५५ पुग्यो । अहिले त्रिविमा सामाजिक अध्ययनको तेस्रो वर्ष चलिरहेको छ । पहिलो वर्षमा एक सय २०, दोस्रोमा एक सय ३५ र तेस्रा वर्षमा ६० जना भर्ना भएर परीक्षा समेत दिइसकेका छन् ।
भौतिक व्यवस्थापन मुख्य चुनौती
प्रविधिकै सहयोगमा चलाउनु पर्ने हुँदा अनलाइन कक्षा सञ्चालन त्यति सजिलो भने छैन । विद्यार्थी र शिक्षक दुवैसँग अनलाइन कक्षाका लागि उपयुक्त हुने स्मार्टफोन वा ल्यापटपसँगै भरपर्दो इन्टरनेट अनिवार्य हुन्छ । पढाउन सर्वाधिक सहज हुने स्मार्टबोर्ड नै चाहिने हो तर ती सबै कुरा सबै ठाउँमा सहज हुँदैन, शिक्षकको व्यक्तिगत ल्यापटप प्रयोग गरेर यो सबै गरिरहेका छौं”, प्राध्यापक पौडेल भन्नुहुन्छ ।
प्रत्यक्ष कक्षा लिनका लागि त्रिविले नियुक्त गरेका शिक्षक र प्राध्यापकहरुलाई अनलाइन कक्षाका लागि अनुकूल हुने गरी आवश्यक तालिम दिनुपर्ने हुन्छ । अनलाइन कक्षाको अर्थ इन्टरनेटमार्फत जोडिनु मात्र नभई कक्षालाई कसरी सहज ढङ्गले सञ्चालन गर्ने, विद्यार्थीलाई गृहकार्य र पाठ्यसामग्री कसरी दिने आदि विषयमा पनि व्यावसायिक तालिम दिनुपर्ने हुन्छ । “कक्षालाई बढीभन्दा बढी अन्तक्रिर्यात्मक बनाउन शिक्षकलाई प्रविधिसँग पूर्ण अभ्यस्त बनाउनैपर्छ”, डा खतिवडा बताउनुहुन्छ । प्रविधिमा अभ्यस्त भएका शिक्षकले प्रभावकारी कक्षा लिएको तर अभ्यस्त नभएका कतिपय शिक्षकलाई प्रस्तुतीकरणमा समस्या रहेको उहाँको भनाइ छ । त्रिविको नियमित बजेटबाट अनलाइन कक्षाका सबै आवश्यकता पूरा गर्न सम्भव नभएको डा खतिवडा बताउनुहुन्छ ।
वार्षिक सात टन मह उत्पादन गरेर प्रशस्त कमाउँदै घोराहीका घर्ती
घोराही (दाङ), ७ कात्तिकः घोराही उपमहानगरपालिका–१८ सुपैला खुटीका ५७ वर्षीय श्रीधन घर्ती हिजोआज मौरी स्याहारमा व्यस्त हुनुहुन्छ । “लामो समय वैदेशिक रोजगारीमा बिताएपछि उहाँले व्यावसायिक रूपमा मौरीपालन थाल्नुभएको १६ वर्ष पूरा भयो ।
हाल उहाँको फार्ममा एक सय ५० मौरीसहितका घार छन् । उहाँले वर्षमा सात टन मह उत्पादन गरेर लोभलाग्दो आम्दानी पनि गर्दै आउनुभएको छ । मौरीपालन गर्न सिकेपछि व्यावसायिक रूपमा लाग्नुभएका उहाँको घरबाटै मह बिक्री हुनेगरेको छ । वार्षिक रु १६ लाखको कारोबार गरिरहनुभएका पौरखी घर्तीले रु सात लाख बचत हुने बताउनुभयो । एक किलो मह रु पाँच सयमा बिक्री गर्दै आएको उहाँले सुनाउनुभयो ।
वर्षा र शिशिर याममा विशेष ध्यान दिएमा मौरीपालनबाट प्रशस्त प्रतिफल लिन सकिने भन्दै उहाँले मह उत्पादन र घार वृद्धि पनि सँगसँगै बढाउँदै लगेको बताउनुभयो । गुणस्तरीय मह भएकाले अधिकांश मह घरबाटै बिक्री हुने गरेको उहाँ बताउनुहुन्छ । मौरीपालन व्यावसायिक रूपमा सुरु गरेदेखि अहिलेसम्म आम्दानीका लागि अन्य कुनै पनि स्रोत खोज्न नपरेको उहाँको भनुभव छ । बुढ्यौलीमा अन्य पेसा गर्न नसिकरहेको अवस्थामा मौरीपालन व्यवसाय निकै सहज भएको उहाँ बताउनुहुन्छ । यस व्यवसायमा अलि बढी अध्ययनशील हुन आवश्यक रहेको छ, चरनका लागि घोराही उपमहानरपालिकाको माथिल्लो भेगतिर लैजाने गरेको उहाँले बताउनुभयो ।
राष्ट्रपति महिला उत्थान कार्यक्रम : गर्भवती तथा सुत्केरीका लागि वरदान
काँक्रेविहार (सुर्खेत), ७ कात्तिकः दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीका लागि हवाई उद्धार कार्यक्रम सुरु भएदेखि कर्णालीका धेरै गर्भवती तथा सुत्केरीको ज्यान जोगिएको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत राष्ट्रपति महिला सशक्तीकरण परियोजना राष्ट्रपति महिला उत्थान समन्वय एकाइमार्फत कर्णालीका गर्भवती तथा सुत्केरीको सेवा हुँदै आएको छ । कर्णाली अधिकांश क्षेत्रमा सुविधासम्पन्न अस्पताल नभएका कारण यो कार्यक्रममार्फत हेलिकोप्टरबाट निःशुल्क उद्धार गरेर सुविधासम्पन्न अस्पताल पुर्याएर सुत्केरीको उपचार तथा गर्भवतीलाई सुत्करी गराउँदा यहाँका धेरैको ज्यान जोगिएको छ । यो कार्यक्रममार्फत १८ जिल्लाबाट पूर्ण र २९ जिल्लामा आशिंक रूपमा सेवा प्रवाह हुँदै आएको छ ।
आर्थिक वर्ष २०७५/७६ देखि सुरु भएको कार्यक्रम प्रश्रव समस्या न्यूनीकरण गरी मातृशिशु मृत्युदर कम गर्ने उद्देश्यका साथ सुरु गरिएको थियो । उक्त आवमा २६ महिलाको उद्धार गरिएको थियो । आव २०७६÷७७ मा ८७, २०७७/७८ मा एक सय तीन, २०७८/७९ मा एक सय ६९ र २०७९/८० मा एक सय ६७, २०८०/८१ मा एक सय ६१ जना गरी हालसम्म सात सय १३ जनाको राष्ट्रपति महिला उत्थान कार्यक्रमबाट निःशुल्क हवाई उद्धार सेवा प्रदान गरिएको एकाइले जनाएको छ ।
कार्यविधिबमोजिम तोकिएका क्षेत्रमा गरिएको पूर्ण रूपमा १८ जिल्ला ताप्लेजुङ, सङ्खुवासभा, भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुङ्गा, मनाङ, मुस्ताङ, रुकुमपूर्व, रुकुमपश्चिम, जाजरकोट, डोल्पा, कालिकोट, मुगु, हुम्ला, बाजुरा, अछाम र दाचुर्लामा तथा आंशिक २९ जिल्लामा सञ्चालित छन् । कर्णाली प्रदेशमा आव २०८०/८१ मा कर्णालीबाट मात्र ३९ जना गर्भवती तथा सुत्केरीको हवाई उद्धार गरिएको तथ्याङ्कमा उल्लेख छ । जाजरकोटबाट सात जनाको अघिल्लो आवमा हवाई उद्धार गरिएको छ ।
डोल्पाबाट १२, हुम्लाबाट छ, रुकुमपश्चिमा तीन, दैलेखबाट तीन, कालिकोटबाट पाँच जनाको हवाई उद्धार गरिएको मन्त्रालयको हवाई उद्धार सम्पर्क व्यक्ति इन्दिरा आचार्यले जानकारी दिनुभयो । उहाँले आव २०८१/८२ को पहिलो तीन महिनामा ४८ जना सुत्केरी तथा गर्भवतीको उद्धार गरिएको जानकारी दिनुभयो । हालसम्म सात सय ६१ जनाको उद्धार गरिएको उहाँले बताउनुुभयो ।
कर्णालीका रुकुमपश्चिम, जाजरकोट, डोल्पा, कालिकोट, मुगु, हुम्लाबाट उद्धार गरिएका अधिकांश सुत्केरी तथा गर्भवतीको प्रदेश अस्पताल र नेपालगञ्जस्थित नेपालगञ्ज मेडिकल कलेजमा उपचार भएको छ । कर्णालीका ३१ पालिकामा मात्र आधारभूत अस्पताल छन् । स्वास्थ्य सेवा निर्देशनालयका अनुसार १० जिल्लाका ३१ पालिकामा मात्र आधारभूत अस्पताल सञ्चालनमा छन् ।
प्रदेशमा २५ वटा नगरपालिका, ५४ वटा गाउँपालिका छन् । कुल ७९ स्थानीय तहका जम्मा सात सय १८ वडा छन् । अठचालिस पालिकामा अझै आधारभूत अस्पताल निर्माण हुनसकेको छैन । प्रदेश सरकारले सडकसँग जोडिएका १२ स्थानमा रणनीतिक अस्पताल निर्माण गर्ने योजना रहेको सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले जानकारी दिनुभयो । जुम्लामा कर्णाली स्वास्थ्य प्रतिष्ठानमा ५० शय्याको अस्पताल, सुर्खेतको मेहलकुनामा ५० शय्याको अस्पताल र प्रदेश अस्पताल छन् । अन्य जिल्लाका सदरमुकाममा १५ शय्याका अस्पताल छन् ।
सन्दर्भ हिउँ चितुवा दिवसः जलवायु परिवर्तनले हिउँ चितुवाको बासस्थानमा चुनौती
काठमाडौँ, ७ कात्तिकः हिउँ चितुवाको संरक्षणका निम्ति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित आज ११औँ अन्तर्राष्ट्रिय हिउँ चितुवा दिवस मनाइँदै छ । विश्वका १२ देशमा मात्र पाइने हिउँ चितुवा स्वच्छ हिमाली पर्यावरणको सूचक मानिन्छ ।
यस वर्ष यो दिवसको नारा ‘भविष्यका पुस्ताका लागि हिउँ चितुवाको बासस्थानको सुरक्षा’ रहेको छ । यस विषयले हिउँ चितुवाको प्राकृतिक बासस्थानको सुरक्षा र हिमाली पारिस्थितिकीय प्रणालीको स्वास्थ्य सुनिश्चित गर्नलाई महत्व दिएको छ ।
वन तथा वातावरण मन्त्रालयले यो दिवस आज विभिन्न कार्यक्रम गरी मनाउँदैछ । मन्त्रालयको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले वनमन्त्री ऐनबहादुर शाही ठकुरीको उपस्थितिमा दिवसका अवसरमा कञ्चनजङ्घा संरक्षण क्षेत्रको हिउँ चितुवा सर्वेक्षण नतिजा सार्वजनिक गर्दैछ ।
डोल्पा राष्ट्रिय निकुञ्जभन्दा पूर्व (वन क्षेत्र)को हिउँ चितुवा अध्ययन प्रतिवेदन लोकापर्ण र डोल्पा राष्ट्रिय निकुञ्जभित्र खिचिएको जङ्गली याकको फोटो फ्रेम अनावरण गरिने विभागका महानिर्देशक डा रामचन्द्र कँडेलले जानकारी दिनुभयो । विश्वमा हिउँ चितुवा नेपालका साथै अफगानिस्तान, भुटान, चीन, काजकिस्तान, किर्गिस्तान, भारत, मङ्गोलिया, रसिया, पाकिस्तान, ताजकिस्तान र उज्वेकिस्तानमा पाइन्छ ।
जलवायु परिवर्तनले उच्च हिमाली क्षेत्रमा बढी असर पुर्याएको र यसको प्रभावले हिउँ चितुवाको बासस्थानमा ह्रास आएको उहाँले बताउनुभयो । बासस्थानमा आएको ह्रासले यसको आहारा प्रजातिमा कमी आएको महानिर्देशक डा कँडेलले बताउनुभयो ।
“हिउँ चितुवाको बासस्थानमध्ये झण्डै ६० प्रतिशत क्षेत्र निकुञ्ज बाहिर रहेको र त्यस्तो बासस्थान खण्डिकरण हुँदै गएको छ”, उहाँले भन्नुभयो, “यसबाहेक द्वन्द्वका कारण बद्लावको भावनाले केही व्यक्तिले पासो थाप्ने, आहारमा विष मिसाउने, भौगोलिक कठिनाइ, उचित प्रविधि, जनशक्ति र बजेटको कमीका कारण प्रभावकारी अनुगमन गर्न नसक्नुलगायत चुनौती पनि छन् ।”
हिउँ चितुवा संरक्षणमा लागि तीनै तहका सरकारबीच सहयोग र समन्वयको आवश्यकता औँल्याउँदै महानिर्देशक डा कँडेलले विभागले स्थानीय समुदायमा चेतना फैलाउने, अनुगमन गर्ने तथा यसको अवस्था, स्थिति, चुनौती र समाधान उपायका बारेमा थाहा पाउन सर्वेक्षण गर्ने गरेको बताउनुभयो । “यसले गर्दा चोरी निकासीमा अलिकति भए पनि कमी आएको छ”, उहाँले भन्नुभयो । विभागले हिउँ चितुवाबाट स्थानीयका भेडा, बाख्रा र च्याङ्ग्रा जोगाउन सुरक्षित खोर बनाउन सहयोग गर्दै आएको छ । हिउँ चितुवा सामान्यतया समुद्री सतहबाट पाँच सय ४० देखि पाँच हजार मिटर उचाइमा पाइन्छ । हिउँ चितुवालाई आइयुसिएनले रातो सूचीमा विश्वव्यापी जोखिमको रूपमा सूचीबद्ध गरेको छ ।
हिउँ चितुवाको सङ्ख्या तीन सय देखि पाँच सय रहेको अनुमान
हिउँ चितुवा उच्च हिमाली क्षेत्रको स्वास्थ्य परिस्थितिकीय प्रणालीको महत्त्वपूर्ण हिस्सा हो । हिउँ चितुवा नेपालमा करिब तीन सयदेखि पाँच सय र विश्वमा करिब चार हजारदेखि छ हजार पाँच सयको सङ्ख्यामा रहेको अनुमान छ । बिरालो प्रजातिको हिउँ चितुवाले आफ्नो लामो पुच्छरले शरीरलाई सन्तुलन गर्छ ।
विभागका सिनियर इकोलोजिष्ट हरिभद्र आचार्यले उच्च हिमाली र कठिन भौगोलिकताका कारण हिउँ चितुवाको राष्ट्रियस्तरमा एकसाथ गणना गर्न सम्भव नभएकाले भूगोललाई विभिन्न क्षेत्रमा विभाजन गरी गणना गर्न सुरु गरिएको बताउनुभयो । पूर्वको कञ्चनजङ्घाबाट गणेश हिमालसम्म, मनास्लुबाट धवलागिरि हिमालसम्म र कालीगण्डकी नदीबाट अपीनपा संरक्षण क्षेत्रसम्मका भाग रहेका छन् ।
मन्त्रालयले यसअघि सार्वजनिक गरेको तथ्याङ्कअनुसार डोल्पा क्षेत्रमा ९० हिउँ चितुवाको सङ्ख्या रहेको छ । यसको गणना ‘क्यामेरा ट्रयाप’बाट गर्ने गरिएको छ । “तराईमा स्वस्थ पारिस्थितिक प्रणालीको सूचक बाघ भएजस्तै उच्च हिमाली क्षेत्रको स्वस्थ पारिस्थितिक प्रणालीको सूचक हिउँ चितुवा हो”, सिनियर इकोलोजिष्ट आचार्यले भन्नुभयो, “त्यसैले यसको ठूलो महत्व छ । यसलाई हिमालकी रानी पनि भनिन्छ । हिउँ चितुवा लजालु प्रकृतिको हुन्छ । त्यसैले यसलाई भेट्न गाह्रो पनि हुन्छ ।”
लोपोन्मुख प्रजातिको चोरी सिकार तथा बेचबिखनलाई सरोकारवाला सबै मिलेर प्रभावकारी ढङ्गबाट नियन्त्रण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । मन्त्रालयले हिउँ चितुवाको संरक्षणलाई प्राथमिकतामा राखेर ‘हिउँ चितुवा संरक्षण र कार्य योजना (२०२४–२०३०)’ तयार गरी कार्यान्वयनमा ल्याइएको छ । कार्ययोजनाले संरक्षण प्रयासलाई मार्गदर्शन गर्न विभिन्न रणनीतिक लक्ष्य र उद्देश्य राखेको छ । योजनामा अनुसन्धान र अनुगमनमार्फत हिउँ चितुवाको पर्यावरणीय स्थिति, सिकार, बासस्थानबारे ज्ञान बढाउने उद्देश्य लिएको छ । कार्ययोजनामा हिउँ चितुवाको संरक्षणका लागि बासस्थान र करिडोर सुधार गर्ने, समुदायको संलग्नतामार्फत मानव–हिउँ चितुवा द्वन्द्व कम गर्ने, प्रभावकारी कानुन कार्यान्वयनमार्फत चोरी सिकारी नियन्त्रण गर्ने र सीमापार, क्षेत्रीय, अन्तर्राष्ट्रिय सहयोग र समर्थनलाई बलियो बनाउने लक्ष्य राखिएका छन् ।
छ वर्षसम्म यो कार्ययोजना कार्यान्वयन गर्न रु एक अर्ब ७७ करोड ९७ लाख खर्च गर्ने अनुमान गरिएको छ । योजनामा मानव–हिउँ चितुवा द्वन्द्वलाई कम गर्न समुदायको सहभागितामार्फत करिब ३५ प्रतिशत र वन्यजन्तु अपराध व्यवस्थापनका लागि करिब २६ प्रतिशत बजेट अनुमान गरेको छ । यद्यपि सबै रणनीतिमा, स्थानीय समुदाय र उनीहरूको नेतृत्वलाई साझेदारी, क्षमता निर्माण र संलग्न गर्न लगानी गरिने कार्ययोजनामा उल्लेख छ ।
जडीबुटी बिक्रीबाटै मनग्गे आम्दानी
धरान (सुनसरी), ७ कात्तिक : सङ्खुवासभाकी फुपुपोङ्सुवा शेर्पाले जडीबुटी व्यवसायलाई मुख्य पेसा बनाएको झण्डै दुई दशक भयो । हिमाल र पहाडमा सङ्कलन भएका जडीबुटी बिक्री गर्न उहाँ लामो समयसम्म टाढा–टाढासम्म पनि पुग्नुभयो ।
लामो समय तराईदेखि पहाडका विभिन्न स्थानमा डुल्दै जडीबुटी बिक्री गर्नुभएकी शेर्पाले अहिले भने इटहरी उपमहानगरपालिका–६ मा पसल नै सुरु गर्नुभएको छ । जडीबुटीबाट राम्रो आम्दानी हुन थालेपछि उहाँ यतिबेला सङ्खुवासभा छाडेर धरान उपमहानगरपालिका–१५ मा बस्दै आउनुभएको छ ।
“पहिले टाढाटाढासम्म पुग्दा पनि भने जस्तो आम्दानी हुँदैनथ्यो, तर अहिले यसको माग बढ्दो छ, इटहरीको पसलबाट पनि राम्रो बिक्री भइरहेको छ”, उहाँले सुनाउनुभयो ।
सुरुआती समयमा उहाँ जडीबुटी बिक्री गर्न धनकुटा, बर्दिबास, लालबन्दी, सिन्धुली र रामेछाप हुँदै काठमाडौँ र पोखरासम्म पुग्नुहुन्थ्यो । “सुरुका दिनमा विभिन्न जिल्ला घुम्दा पनि भने जस्तो आम्दानी हुँदैनथ्यो, तर अहिले भने अधिकतम मासिक रु एक लाख ५० हजारसम्म आम्दानी हुन्छ”, उहाँले भन्नुभयो, “जडीबुटी बिक्रीबाट भएको आम्दानीले परिवारको खर्च र सन्तान पढाउन पुगेको छ ।” उहाँले यसै आम्दानीबाट धरानको बगरकोटमा साढे दुई तलाको घर पनि बनाइसक्नुभएको छ ।
उहाँले सङ्खुवासभा, सोलु भोटखोला, पश्चिमको रोल्पा, डोल्पा, खासादेखि सिक्किम, दार्जिलिङबाट समेत जडीबुटी ल्याउनुहुन्छ । कहिले आफै गएर त कहिले अर्डर गरेकै भरमा इटहरीमा जडीबुटी आइपुग्ने उहाँले बताउनुभयो ।
उहाँको पसलमा यार्सागुम्बा, चिरैतो, पदमचाल, हर्बो, पाषणभेद, सतुवा, जेठी मधु, चिप्लेकिरा, बिखुमा, पुदिना, रिठ्ठा, टिम्मुरलगायत तीन सयभन्दा बढी जडीबुटी बिक्रीका लागि राख्नुभएको छ ।
जडीबुटी बिक्रीको अनुमति लिइसकेपछि भने निक्कै सहज भएको उहाँको भनाइ छ । त्यसमाथि बर्सेनि नगरपालिकाले औषधि व्यापारसम्बन्धी तालिम समेत दिने गरेको छ । तालिमले गर्दा आफूलाई यसबारे थप ज्ञान हासिल भएको समेत उहाँले बताउनुभयो ।
शेर्पा जस्तै धरान–८ का आचुङ्मा भोटे इटहरी–६ को टेङ्ग्रा खोला नजिकै खुला आकाशमुनी पारिलो घाममा जडीबुटी बिक्री गर्दै गर्दा भेटिनुभयो । उहाँ पनि जडीबुटी व्यवसायमा लागेको झण्डै दुई दशक हुन लाग्यो । पछिल्लो समय जडीबुटीबाट आम्दानी राम्रो भएको उहाँले सुनाउनुभयो ।
पुख्र्यौली घर सङ्खुसभा भएका उहाँ जडीबुटी व्यापारकै लागि १५ वर्षअघि धरान झरेको सुनाउनुभयो । “सुरुआती दिनमा हिमालका जडीबुटी तराई झरेर बिक्री गरी उतै फर्किन्थ्यो, त्यो समयमा अस्पतालको सहज पहुँच नहुँदा बिरामी हुँदा धेरैका लाग जडीबुटीको विकल्प थिएन”, उहाँले भन्नुभयो, “पछिल्लो समय फेरि यसको माग बढेको छ ।” पुर्खाले समेत यही व्यापार गरेकाले आफूले पनि यही पेसा अपनाएको उहाँको भनाइ छ ।
उहाँले जडीबुटी बिक्रीबाट मासिक रु ६० हजारभन्दा बढी आम्दानी हुने गरेको सुनाउनुभयो । “अहिले जडीबुटीप्रति धेरैको विश्वास बढ्दै गएको छ, काठमाडौँ, विराटनगर, मोरङ, झापालगायतका ठाउँहरुबाट समेत फोन गरेर जडीबुटी अर्डर गर्नुहुन्छ”, उहाँले भन्नुभयो, “पहिले जडीबुटीले पनि रोग निको हुन्छ र ? भन्नेहरु पनि अहिले जडीबुटी किन्न थालेका छन् ।”
इटहरीको पूर्वको हटिया खोला किनारमा जडीबुटीको व्यापार गर्दै आउनुभएका धरानका दावा शेर्पा पनि १० वर्षदेखि यही पेसामा हुनुहुन्छ । उहाँले भन्नुभयो, “जडीबुटी बिक्रीबाटै परिवार राम्रोसँग चलेको छ, दैनिक रु पाँच हजारदेखि १० हजार व्यापार हुन्छ ।” उहाँले पनि नेपालका विभिन्न ठाउँ र भारतबाट समेत जडीबुटी आउने गरेको सुनाउनुभयो ।
गाजामा द्वन्द्वको तुरुन्तै अन्त्य हुनुपर्छ : राष्ट्रसङ्घ
न्यूयोर्क, ५ कात्तिक : मध्यपूर्व शान्ति प्रक्रियाका लागि संयुक्त राष्ट्रसङ्का विशेष संयोजक टोर वेन्नेसल्यान्डले गाजामा नागरिकहरूमाथि जारी इजरायली आक्रमणको निन्दा गर्दै युद्ध लम्बिएमा हुने मानवीय सङ्टबारे चेतावनी दिँदै द्वन्द्वको तत्काल अन्त्य गर्न आग्रह गर्नुभएको छ ।
गैर–लडाकुहरूको रक्षा गर्न, प्यालेस्टिनीहरूको थप विस्थापन रोक्न र बन्दीहरूको तत्काल सुरक्षित रिहाई गर्न आवश्यक रहेको वेन्नेसल्यान्डले बताउनुभयो ।
प्रभावित क्षेत्रमा मानवीय सहायता निर्बाध रूपमा प्रदान गरिनु पर्ने बताउँदै वेन्नेसल्यान्डले जीवन बचाउ सहयोगलाई खाँचोमा परेकाहरूसम्म पुग्न अनुमति दिन आग्रह गर्नुभयो ।
वेन्नेसल्यान्डले उत्तरी गाजाको अवस्थालाई इजरायली हवाई आक्रमण र बिग्रँदै गएको मानवीय अवस्थाले चिह्नित गरेको विडम्बनाको रूपमा वर्णन गर्दै बेत लाहियामा भएको विनाशबारे उल्लेख गर्नुभयो ।
बेत लाहियामा रातभरिमा कम्तिमा ८७ प्यालेस्टिनी मारिएको बताइएको छ भने विनासकारी आक्रमणका कारण धेरै जना भग्नावशेषमुनि पुरिएको अनुमान गरिएको छ ।
पछिल्लो समयमा ‘गाजामा विनासकारी द्वन्द्व तीव्र हुँदै गइरहेको जनाउदै उहाँले द्वन्द्व, निरन्तर इजरायली हमला र बढ्दो मानवीय सङ्कटको बिचमा उत्तरी गाजापट्टीमा डरलाग्दो अवस्था देखा परेकाले गाजामा कतै पनि सुरक्षित नभएको बताउनुभएको छ ।
यस्तो अवस्थामा अगाडि बढ्न साहस, राजनीतिक इच्छाशक्ति र नयाँ तथा प्रवावकारी समन्वय र संवाद चाहिने उहाँले बताउनुभयो ।





























































