विमल कृति पुरस्कार थामसुहाङको निबन्धलाई
धरान । विमल कृति पुरस्कार २०८० इलामका कवि प्रकाश थामसुहाङको निबन्ध कृति शब्दथुमलाई प्रदान गरिएको छ । कवि बिमल गुरुङ्गको ५३ औ वार्षिक जन्म जयन्तीको अवसरमा कवि विमल गुरुङ स्मृति पुस्तकालय धरानले रु.२ लाख राशि स्वरूप शब्दथुमलाई विमल कृति पुरस्कार प्रदान गरिएको हो ।
धरान उपमहानगरपालिका १८ स्थित पुस्तकालयको हलमा शनिवार सम्पन्न ३३ औँ राष्ट्रिय कविता महोत्सवको अवसरमा आयोजीत कार्यक्रमका प्रमुख अतिथि नेपाल संस्कृत विश्व विधालय नेपालका उपकुलपति प्रा.डा. भिम खतिवडा र कवि पुस्तकालयका संचालक पूर्ण बहादुर गुरुङले पुरस्कार प्रदान गर्नु भएको हो ।
कृति पुरस्कारका लागि देश तथा विदेशमा रहेका नेपाली भाषी, लेखक, साहित्यकार सर्जकहरूबाट विभिन्न विधाका जम्मा एक सय दुई कृति प्राप्त भएका मध्येबाट निर्णायक समितिको सिफारिस अनुसार कवि साहित्यकार थामसुहाङको निबन्ध कृति पुरस्कृत भएको पुस्तकालयका उपाध्यक्ष प्रदीप मेन्याङ्वोले जानकारी दिनुभयो ।
सोही अवसरमा युवा कवि विवेक विवश रेग्मीलाई यस वर्षको कवि विमल गुरूङ स्मृति पुस्तकालय युवा प्रतिभा स्वरूप रु. १०हजार पुरस्कार प्रदान गरिएको पुस्तकालयका सदस्य चन्द्र गुरुङले बताउनुभयो ।
त्यस्तै १०३ वर्षीय ज्येष्ठ नागरिक दिलमाया गुरुङलाई रु.५ हजार सहित सम्मान गरिएको आयोजकले जनाएको छ । त्यस्तै सिक्किमका लेखक टिबि चन्द्र सुब्बा र विरेन गुरुङलाई पनि नगद सहित सम्मान गरिएको आयोजक समितिले जनाएको छ ।
राष्ट्रिय कविता महोत्सवका लागि स्वदेश र विदेशका कविबाट प्राप्त भएका ८१ कविताहरू मध्ये १० कविता छनौट गरिएको थियो जसमा उत्कृष्ट तीन कवितालाई क्रमशः प्रथम, दोस्रो र तेस्रो पुरस्कार प्रदान गरिएको थियो ।
कविता प्रतियोगितामा प्रथम नवलपरासीको प्रदीप ढुङगाना प्रथम हुनुभएको छ । उहाँले “सपना” शीर्षकको कविता वाचन गर्नुभई प्रथम हुनुभएको हो । यसैगरी हाल बेलायत बसोबास गर्ने शान्ति लिम्बुको “थेम्स नदीको किनारै किनार” दोस्रो र मोरङकी समिक्षा छिलिङ राईको “फूल र म” कविता तेस्रो हुनुभएको छ । उहाँहरूलाई कार्यक्रमको प्रमुख अतिथि नेपाल संस्कृत विश्व विद्यालयका उपकुलपति प्रा.डा. भिम खतिवडा, र कवि पुस्तकालयका सञ्चालक समिति अध्यक्ष पूण बहादुर गुरुङले क्रमशः नगद रु.२१ हजार, १८ हजार, १७ हजार रुपियाँ र प्रमाणपत्र प्रदान गरिएको छ ।
८१ कविताहरू प्राप्त भएकोमा उत्कृष्ट १० कवितालाई अन्तिम प्रतिस्पर्धाका लागि सिफारिस गरिएको थियो । प्रतियोगितामा समिक्षा छिलिङ राईको फूल र म, दिपेन्द्र आचार्यको ल्याप्चे, मिन्जाई राईको बुढो परदेशी, प्रसान्त उप्रेतीको विलासी राता बाकस, लेकाली कान्छा मुक्कुमको रैथाने बगैँचाको अर्गानिक मुस्कान र दिपा मग्रातीको देशमा मेरो अनुहार कविता उत्कृष्ट १० छनोट भएको थियो ।
बिपी प्रतिष्ठान धरानमा पूर्व विद्यार्थीहरूको सम्मेलन हुने
धरान । उपत्यका बाहिर पहिलो पटक चिकित्सा शिक्षा अध्ययन गर्न सुरु गरेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अध्ययन गरेका विद्यार्थीहरूको सम्मेलन कार्तिक २५ गते आइतवार हुने भएको छ । नेपालका विभिन्न प्रतिष्ठान सँगै विदेशका अस्पतालहरूको नेतृत्व गरिरहेका पूर्व विद्यार्थीहरूको सम्मेलन गर्ने तयारी सुरु गरिएको हो ।
प्रतिष्ठानको स्थापन भएको ३० वर्षपछि अनुभव आदान प्रदान गराउने हिसाबले सम्मेलन आयोजना गरिने भएको छ । सम्मेलनले प्रतिष्ठानको विकास तथा प्रवर्धन र अनुभव आदान प्रदानमा महत्वपूर्ण भूमिका खेल्ने आसा राखिएको छ । सम्मेलनमा प्रतिष्ठानको मात्र नभइ देशकै प्रतिष्ठानहरू तथा चिकित्सा क्षेत्रको विकास, अध्ययन अनुसन्धानको बारेमा समेत छलफल हुने पूर्व विद्यार्थी संघका महासचिव एडिसनल प्रोफेसर डाक्टर विकास साहले जानकारी दिएका छन् । ‘सम्मेलनमा प्रतिष्ठानको विकास सँगै चिकित्सकहरूको समस्याहरू सँगै अनुभव आदान प्रदान हुनेछ उनले भने विदेशमा विभिन्न विश्वविद्यालयमा छात्रवृत्तिबाट अध्ययन तथा अनुसन्धान गर्न जाने चिकित्सकहरूलाई त्यहाँ रहेका पूर्व विद्यार्थीहरूले सहजीकरण गर्ने छन् ।
भारतको एम्स मेडिकल कलेजको अवधारणामा नेपालमै पहिलो पटक धरानमा चिकित्सा शिक्षा अध्ययन, अनुसन्धान तथा विशेषज्ञ उपचार गर्ने उद्देश्यले पहिलो प्रतिष्ठानको रूपमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना भएको थियो । प्रतिष्ठानका पूर्व विद्यार्थी डाक्टर मङ्गल रावल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिको रूपमा काम गरिरहेका छन् भने मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा समेत बिपी कै विद्यार्थी डाक्टर अङ्कुर शाह उपकुलपति भएर काम गरी रहेका छन् ।
त्यसो त कर्णालीका शिक्षाध्यक्ष डाक्टर डवल राज धामी, निर्देशक डाक्टर पूजन रोकाया पनि बिपीकै उत्पादन हुन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्टर प्राध्यापक श्याम लम्साल तथा मेडिकल काउन्सिलका रजिस्ट्रार डाक्टर सितस देव पनि प्रतिष्ठानकै उत्पादन हुन् भने बिपी अस्पताल निर्देशक डा जगत नारायण पनि यहीका उत्पादन हुन् ।
बिपीे अध्ययन गरेका विद्यार्थीहरू भारतका विभिन्न अस्पताल सँगै अमेरिका, क्यानडा, अस्ट्रेलिया लगायतका देशका अस्पतालहरूमा समेत नेतृत्वदायी भूमिकामा रहेको संघका अध्यक्ष प्राध्यापक डाक्टर रोविन मास्केले बताए । सम्मेलनले प्रतिष्ठानको सँगै देशकै चिकित्सा शिक्षा क्षेत्रमा देखिएका विकृति विसङ्गतिको अन्त्य गर्न महत्त्वपूर्ण सहयोग पुग्ने जनाएको छ ।
मिथिलाञ्चल सहित मधेसमा छठ पर्व आजदेखि विधिपूर्वक सुरु
काठमाडौँ । मिथिलाञ्चल सहित मधेसमा मनाइने चारदिने छठ उत्सव आजदेखि धार्मिक विधिपूर्वक सुरु भएको छ ।
चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने छठ पर्व आजदेखि तराईको महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलभरि धुमधामका साथ सुरु भएको हो ।
सत्य अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता रहेको छ । चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिन आज व्रतीहरूले नहा खा अर्थात् नुहाएर खाने गर्दछन् ।
आज व्रतालुले जीउ चोख्याउने काम गर्दछन् । दोस्रो दिन बुधवार खर्ना मनाइनेछ। खर्नाका दिन व्रतीले दिनभरि उपवास निराहार बसेर राति छठ देवतालाई आगमनको निम्तो दिँदै कूल देवताको पूजा गर्नेछन् र राति अरवा अरबाइन (विनानुन हालेको) खानेकुरो खाने चलन छ ।
षष्ठीका दिन अर्थात् बिहीबार साँझ गहुँ र चामल ओखल, जातो वा ढिकीमा कुटान पिसान गरी सोबाट निस्केको पीठोबाट बनाइएका विभिन्न गुलियो खाद्यसामग्री ठकुवा, भुसवा, खजुरीया, पेरुकियाजस्ता पकवान र विभिन्न फलफूल तथा मुला, गाजर, बेसारको गाँहो, भोगटे, ज्यामिरी, नरिवल, सुन्तला, केरा नाङ्लो, कोनिया, सरवा, ढाकन, माटोको हात्ती, ठूलो ढाक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवं लोकगीत गाउँदै निर्धारित जलाशय नजिक बनाएको छठ घाटसम्म पुग्नेछन् ।
षष्ठीका दिन व्रतीहरूले सन्ध्याकालीन अर्घ्यका लागि पानीमा पसेर सूर्य अस्ताउञ्जेल सम्म अस्ताउँदो सूर्यलाई आराधना गर्दै दुवै हत्केलामा पिठार र सिन्दूर लगाएर अक्षेता फूल हालेर अन्य अर्घ्य सामग्री पालोपालो गरी अस्ताचलगामी सूर्यलाई अर्घ्य अर्पण गर्नेछन् ।
त्यसको भोलिपल्ट अर्थात् शुक्रवार बिहानै पुनः छठ घाटमा पुगी जलाशयमा पसेर अघिल्लो दिन गरेको क्रम दोहोर्याइ प्रातःकालीन उदाउँदो सूर्यलाई अर्घ्य दिइ छठ पर्व सम्पन्न गर्नेछन् ।
‘पूर्ण बहादुरको सारङ्गी’को ‘वर्ड अफ माउथ’ बलियो, दर्शक भन्छन्–धरधरी रुवायो
काठमाडौँ । लक्ष्मीपूजाको अवसर पारेर कात्तिक १५ गते अर्थात् बिहीबार देखि देशभर एकसाथ प्रदर्शनमा आएको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ ले यतिबेला चौतर्फी चर्चा पाउन थालेको छ ।
मोसन पोस्टर सार्वजनिक भएदेखि नै आम दर्शक र फिल्मकर्मीको चासो बढाउन सफल भएको यो सिनेमाको पहिलो प्रदर्शनमै दर्शकहरू भावविभोर भएर रुँदै हलबाट बाहिरिएको दृश्यले यसको प्रभाव गहिरो रहेको संकेत गर्छ ।
चलचित्रले दर्शकहरूलाई गहिरो भावनात्मक प्रभाव पार्दै हलबाट रुँदै निस्कन बाध्य बनाएको छ । प्रदर्शनको सुरुवातसँगै निर्माण टिम र चलचित्रका कलाकार दर्शकसँग साक्षात्कार गर्न राजधानीका विभिन्न सिनेमा घर पुगेका थिए ।
चलचित्र हेरेर हलबाट निस्कँदै गरेका दर्शकले आँखा भरी आँसु लिएर फिर्किएको देखिन्छ । अधिकांश दर्शकहरूलाई चलचित्र कस्तो लाग्यो भनेर प्रश्न गर्दा उनीहरूले भन्ने गरेका थिए चलचित्रले धरधरी रुवायो।
सिनेमाका मुख्य कलाकार विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइली हल हल पुग्दा यस्तो देखिन्थ्यो अहिले दर्शकहरूले तिहारको देउसी भैलोभन्दा पनि ‘पूर्ण बहादुरको सारङ्गी’ को गहिरो प्रभाव महसुस गरिरहेका छन्।
सिनेमाले कथाको गहिराइ र सांस्कृतिक पक्षप्रति दर्शकको भावनालाई यसरी छुन्छ कि दर्शकहरू हलबाट रुँदै निस्कन्छन्, दर्शकहरूको प्रतिक्रियाले ‘पूर्ण बहादुरको सारङ्गी’अपेक्षा गरेभन्दा बढी राम्रो रहेको संकेत दिएको छ । यसले चलचित्रका लागि अब्बल ‘वर्ड अफ माउथ’मा साथ दिएको छ ।
सिनेमाको कथावस्तु, कलाकारहरूको दमदार अभिनयले ‘पूर्ण बहादुरको सारङ्गी’ लाई नेपाली फिल्म उद्योगमा एउटा प्रभावशाली सिनेमा बन्न सक्ने धेरैको विश्वास छ । चलचित्रले दर्शकको मन जित्न सफल भएकोले आगामी दिनहरूमा यसले अझ राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ ।
बाबु छोराको सम्बन्धलाई विशेष ध्यान दिएको सिनेमाले गन्धर्व समुदायको सांस्कृतिक महत्त्व र अस्तित्व जोगाउन खोज्दा समाजले हेर्ने फरक दृष्टिकोणलाई उजागर गरेको छ । निम्न वर्गका परिवारले माथि उठ्न खोज्दा हुनेखानेहरूले गर्ने व्यवहारलाई पनि सिनेमामा देखाइएको छ । यस विषयमा दर्शकहरूले सामाजिक सञ्जालमा विभिन्न सकारात्मक प्रतिक्रिया दिएका छन् । यस्तै, समीक्षकहरूले सिनेमा सराहना गरेका छन् ।
सरोज पौडेलको निर्देशनमा बनेको सिनेमामा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, अञ्जना बराइली, देशभक्त खनाल, भोलाराज सापकोटा र आलिशा बास्तोलाको अभिनय देख्न पाइन्छ ।
सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको चलचित्रका निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन्। सिनेमामा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल कार्यकारी निर्माताका रूपमा रहेका छन् ।
चलचित्रको पटकथा तथा संवाद महेश दवाडीले लेखेका छन् । सिनेमा मा प्रशान्त सिवाकोटीको संगीत, हेमन्त कान्छा रसाइलीको सारङ्गी, प्रशान्त सिवाकोटी, मेलिना राई र पुष्पन प्रधानको स्वर रहेको छ ।
यो सिनेमालाई नेपाल र अन्तर्राष्ट्रिय रूपमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गरेको हो ।
तिहारको तिथि : आज बिहान कुकुर तिहार, साँझ लक्ष्मी पूजा
काठमाडौँ । तिहारको तेस्रो दिन आज लक्ष्मी पूजा गरिँदै छ । यस वर्ष तिथिको घटबढका कारण कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि तेस्रो दिन पर्न गएकाले आजै कुकुरको पूजासमेत गरिँदैछ ।
आज बिहान कुकुर पूजा गरेर बेलुका लक्ष्मी पूजा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रूपमा लिइन्छ । कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मनपर्ने परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा कुकुरले यमलोक जाँदा बाटो छोडिदिने विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको धार्मिक मान्यता छ ।
आजै, घर सफा सुग्घर र गाईको गोबर एवं रातोमाटोले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सँघार, कौसी, अटाली र भयाङ लगायतका स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ ।
लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ । लक्ष्मीपूजा गरिने कात्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भनिन्छ । वर्षभर मनाइने चार प्रमुख रात्रिमध्ये यो पनि एक हो ।
आज साँझ युवतीले समूह बनाई घरघरमा भैली खेल्छन् । भगवान् विष्णुले यमपञ्चकको पाँच दिन स्वर्ग, मर्त्य र पाताल तीनै लोकको शासन गर्ने वरदान बलीराजालाई दिनुभएको विभिन्न हिन्दु धर्मग्रन्थमा उल्लेख छ ।
आज भैली खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी उपहार दिइन्छ । यस्तो दान कात्तिकको दान भएकाले नदिएमा राम्रो नहुने र दिएमा पुण्य प्राप्त हुने विश्वास छ ।
महाकवि देवकोटाको ११६औँ जन्मजयन्ती आज मनाइँदै
काठमाडौँ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।महाकवि देवकोटाको जन्म विसं १९६६ सालमा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाण्डौको डिल्लीबजारमा भएको थियो । दश वर्षको उमेरमा कविता लेख्न सुरु गर्नुभएका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् ।
उनले नेपाली साहित्यलाई सयभन्दा धेरै कृति दिए । यी कृतिका माध्यमबाट देवकोटाले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाए । नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित हालसम्म सबैभन्दा बढी बिक्री भएको पुस्तक हो ।
नेपाली साहित्यमा स्वच्छन्दतावादी–प्रगतिवादी धाराका प्रवर्तक देवकोटाका रचनामा मानवतावाद, प्रकृति प्रेम र क्रान्तिकारिता झल्कन्छ ।
उनका सिर्जनामा पूर्वीय र पाश्चात्य दर्शनको संयोजन पाइन्छ । विदेशी भाषामा नेपाली कृतिको अनुवाद र विदेशमा भएका विभिन्न सम्मेलनमा नेपालको प्रतिनिधित्व गरी नेपाली साहित्यको विश्वव्यापी प्रचारप्रसारमा समेत उनले महत्त्वपूर्ण योगदान दिएका छन् ।
विसं २०१६ मा उनी शिक्षा तथा स्वायत्त शासनमन्त्री हुँदा नेपालभर नेपाली भाषालाई अनिवार्य विषयका रूपमा लागु गराएका थिए । अहिलेको त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको जग्गा पनि उनकै शिक्षामन्त्रित्वकालमा व्यवस्था गरिएको हो । जसले विश्वविद्यालयको पूर्वाधारका लागि काम गरेको छ ।
फेस्टिभल क्याम्पमा केकी अधिकारीलाई विद्यार्थीको प्रश्नै प्रश्न
काठमाडौँ । अरुसँग दाँजेर आफूलाई हीनताबोध नगर्न विद्यार्थीहरुलाई सुझाव दिँदै चलचित्र निर्माता तथा अभिनेत्री केकी अधिकारीले, बाल्यकालको मिठास उपयोग गर्ने र भविष्य बनाउने दुवै अवसर विद्यालय तहमा नै प्राप्त हुने सुनाइन । ‘कालो हुनु, गोरो हुनु, अग्लो हुनु, होचो हुनु । भनेको जस्तो अवस्था नहुनु । कुनैपनि अवस्थाले सफल हुनलाई असर गर्दैन । तपाईँ जस्तो हुनुहुन्छ । त्यही अवस्था सबैभन्दा उपयुक्त अवस्था हो । सफल हुन धैर्यता र मिहनेत चाहिन्छ । सबै सफल मान्छेमा धैर्यता र मिहनेत पाइन्छ,’ काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेको ‘फेस्टिभल क्याम्प’मा उनले उत्पेरणा दिंदै भनिन् ।
प्रभावशाली व्यक्तित्वसँग साक्षात्कार कार्यक्रममा उनी विहीबार शान्ति निकुञ्ज माध्यमिक विद्यालयमा भेला भएका विद्यार्थीसँग साक्षात्कार गर्दै थिइन । त्यहाँ कक्षा १० मा अध्ययनरत ९ वटा विद्यालयका विद्यार्थीहरु उपस्थित थिए ।
‘तपाईँ त पढ्नमा तेज हुनुहुँदो रहेछ, चलचित्र क्षेत्रमा किन आउनुभयो ?’ विद्यार्थीले सोधेको प्रश्नको जवाफमा अभिनेत्री अधिकारीले भनिन्, ‘चलचित्र प्रतिष्ठित क्षेत्र हो । यो क्षेत्रमा काम गर्न शैक्षिक योग्यता र सीप दुवै चाहिन्छ । अहिले त चलचित्र विषय अध्ययन नै हुन थालेको छ । यही विषय अध्ययन गरेर भविष्य बनाउने सम्भावना छ ।’
उनीहरुको प्रश्नबाट थाहा हुन्छ । राम्ररी अध्ययन नगरेका व्यक्ति मात्र चलचित्र क्षेत्रमा छन् भन्ने उनीहरुलाई लागेको छ । यो प्रश्नभित्रको मनोविज्ञान हेर्ने हो भने विद्यालय तहका विद्यार्थीहरुले चलचित्र क्षेत्रमा भविष्य सोचेका छैनन् । जीवनको लक्ष्यमा चलचित्र क्षेत्र राखेका छैनन् । के यी विद्यार्थीहरुमा कलाकार बन्ने चाहना नभएर लक्ष्य नबनाएका हुन् त?
इच्छा हुनसक्छ तर आफूमा भएको रुचि व्यक्त गर्ने अवसर नपाएको हुनसक्छ या कलाकार बन्ने भन्दा परिवार र व्यक्तिले समर्थन नगर्लान् भनेर रुचि दवाएका हुन सक्छन् । शिक्षामा यस प्रकारको सीमितता घटाउँदै क्रमशः हटाउन महानगरपालिकाले शैक्षिक नतिजा सुधारसँगै दविएका लक्ष्य उजागर गर्ने उद्देश्यले क्याम्प आयोजना गरेको हो । सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झा भन्छन्, ‘कलाकारहरुसँग भेटेर कुरा गर्दा धेरै विद्यार्थीहरुले व्यक्त गर्न नसकेका तर मनमा भएका रुचिका बारेमा मूल्याङ्कन गर्न पाएका छन् ।’
विद्यार्थीहरुसँग कुरा गर्दै अभिनेत्री अधिकारीले भनिन्, ‘माध्यमिक तहमा अध्ययरत रहँदा आफूले कहिल्यै पनि अभिनेत्री हुन्छु भन्ने सोचेकी थिइँन । एमबीबीएसको प्रवेश परीक्षाको तयारी गर्दागर्दै चलचित्र क्षेत्रमा प्रवेश गरेँ । त्यसपछि मैले ३३ वटा चलचित्रमा काम गरिसकेँ । त्यसमा अधिकांश औसत रहे । ती चलचित्रले मलाई खास बनाउन सकेनन् । केही चलचित्र यस्ता रहे जुन चलचित्रले मलाई चिनाए । सफल भएको महसुस गराए । त्यसैले म त भन्छु, एकपटक असफल हुँदैमा निराश हुनुपर्दैन । औसत नतिजा आउँदा हारेको महसुस गर्नुहुँदैन । धैर्यता र निरन्तर प्रयासले एक दिन उचाइमा पु¥याउनेछ ।’
उनले आफू कक्षा १० मा पढ्दा धेरै लजालु, कसैसँग नबोल्ने स्वभावको रहेको सुनाइन । ‘मेरो बाबा हेडसर भएको स्कूलमा पढ्थेँ । केही गलत जस्तो देखियो भने हेडसरकी छोरी भन्थे । यसकारण धेरै संयमित हुनुपथ्र्यो । अहिले सम्झँदा लाग्छ, त्यो संयमताले मेरो बाल्यकालका केही महत्वपूर्ण अनुभव गर्ने अवसर छुटें,उनले विम्ब प्रयोग गर्दै भनिन् ।
उनले यति भनिरहँदा विद्यार्थीहरुले भने, पढेको मान्छे डाक्टर इञ्जिनियर बन्न छोडेर किन चलचित्रमा आउनुभो भन्ने प्रश्न दोहो¥याएर सोध्न छाडेनन् । यसको जवाफमा उनले भनिन्, ‘धेरै पढेर डाक्टर, पाइलट वा इञ्जिनियर नै बन्ने वा नपढेका मानिस चलचित्रतिर जाने भन्ने होइन । चलचित्र प्रविधि, प्राविधिक र साहित्यजस्ता विभिन्न विधासँग सम्बन्ध राख्ने पेशा हो । यस क्षेत्रमा आउन शैक्षिक योग्यतासँगै अभिनय, नृत्य, साहित्यको बोध जस्ता धेरै भाव जान्न सक्ने हुनुपर्छ । फेरि अरु पेशा उत्कृष्ट चलचित्र पेशा तल्लो भन्ने हुँदै होइन । यो पेशा अरु जत्तिकै महत्वपूर्ण छ । सबै पेशाको प्रतिष्ठा उत्तिकै उचाइमा छ । म यदि कलाकार नबनेर डाक्टर बनेको भए अहिले जत्तिको खुशी हुन पाउने थिइन होला । त्यसैले पेशा छान्दा आफूलाई खुशी दिने पनि हुनुपर्छ ।’
महानगरपालिकाले कक्षा १० मा अध्ययन गरिरहेका विद्यार्थीहरुलाई पढाइप्रति रुचि जगाउन र विद्यालय परिसरमा प्राप्त नहुने अवसरमा अभ्यस्त गराउन ‘फेस्टिभल क्याम्प’ गरिरहेको छ ।
१६ वटा स्रोत केन्द्रसहित १६ वटा विद्यालयमा क्याम्पअन्तर्गतका क्रियाकलाप सञ्चालन भइरहेका छन् । सहायकविज्ञ सस्मित पोखरेल भन्नुहुन्छ, ‘क्याम्पमा किताब पढाइँदैन । तर, कितावमा भएका विषयहरुलाई खेल, परियोजना र प्रयोगका माध्यमबाट बोध गराइन्छ । विद्यार्थीहरुलाई खेलेको जस्तो लाग्छ । तर, किताबका ज्ञान सिकिरहेका हुन्छन् ।’
दीर्घायुका रहस्यः ‘ब्लु जोन’का मिथक र वास्तविकता
काठमाडौँ । विश्वका विभिन्न स्थानहरूमा केही विशेष क्षेत्रमा मानिसहरू १०० वर्षभन्दा बढी बाँच्ने गरेको दाबीलाई ‘ब्लु जोन’ भनिन्छ । जापानको ओकिनावा, भूमध्यसागरको सार्डिनिया टापुजस्ता यी सात क्षेत्रहरूको जीवनशैलीको अध्ययनले कयौं पुस्तक, डकुमेन्ट्री र सामाजिक सञ्जालमा ‘वेलनेस कोच’हरूले प्रचुर मात्रामा सामग्री सिर्जना गरेका छन् । तर, के साँच्चै यी क्षेत्रका मानिसहरू दीर्घायुको विशेष सूत्र बोकिरहेका छन् ?
हालै अष्ट्रेलियाली अनुसन्धानकर्ता डा. शाउल न्युम्यानले यसको गहिरो अध्ययन गर्दै एउटा महत्वपूर्ण तथ्य उजागर गरेका छन् । जसले दीर्घायुको भ्रमलाई चुनौती दिएको छ । उनले पत्ता लगाएका छन् कि यी क्षेत्रहरूको दीर्घायुको एउटा मुख्य कारण त्रुटिपूर्ण रेकर्ड–राख्ने प्रणाली हो ।
डा. न्युम्यानले संसारभर ११० वर्षभन्दा माथि उमेर दाबी गर्ने ८० प्रतिशत मानिसको विवरण खोजे, तर तीमध्ये धेरैसँग जन्म प्रमाणपत्र नै नभएको पत्ता लगाउनुभयो । जापान सरकारले गरेको एक समीक्षा अध्ययनले पनि १०० वर्षभन्दा माथिका ८२ प्रतिशत मानिसहरू वास्तवमा मृत भइसकेका वा सम्पर्कविहीन रहेको देखाएको छ । यसले दीर्घायुको वास्तविकतालाई प्रश्न उठाउँछ ।
ओकिनावाका मानिसहरूको आहारबारे गरिएका केही मिथकहरूलाई समेत उहाँले खारेज गर्नुभयो । जापान सरकारको पोषण सर्वेक्षण अनुसार ओकिनावाका मानिसहरूले उच्च मात्रामा स्पाम (प्रोसेस्ड मासु) र केएफसीको सेवन गर्छन् । उनीहरूको सब्जी तथा मिष्ठान्न खानपानको स्तर देशको औसतभन्दा तल छ, र उनीहरूले प्रतिवर्ष ४१ किलो मासु उपभोग गर्छन् । यस अध्ययनले उनीहरूको खानपानलाई ‘स्वास्थ्यप्रद’ भनेर प्रस्तुत गरिएको मिथकलाई पनि तोड्न खोजेको छ ।
यो तथ्यले यसो भन्छ कि ‘ब्लु जोन’ भनेर चिनाइएका स्थानहरूका आहारका मात्राहरूसँग दीर्घायुको सम्बन्ध छैन । बरु दीर्घायुमा असर पार्ने मुख्य कुरा भनेको वातावरणीय कारकहरू हुन् । उदाहरणका लागि, शुद्ध खानेपानीको उपलब्धता, राम्रो ढल व्यवस्थापन, स्वास्थ्य प्रणालीमा समान पहुँच, शान्त समाज र अर्थिक समानता जस्ता कुराहरू दीर्घायुको प्रमुख कारक हुन् । यी कारकहरू मुख्य रूपमा सरकारका नीति तथा समाजमा सम्पत्ति वितरणसँग सम्बन्धित हुन्छन्, जुन व्यक्तिगत प्रयासभन्दा बाहिरको कुरा हो ।
जर्ज इन्स्टिच्युट फर ग्लोबल हेल्थ अष्ट्रेलियाका कार्यकारी निर्देशक ब्रुस नील्सका अनुसार, शारीरिक गतिबिधिलाई जीवनशैलीमा समावेश गर्नु, हरिया पातदार तरकारीको उपभोग गर्नु जस्ता सल्लाहहरू सही हुन् । तर, ‘ब्लु जोन’ जीवनशैलीको अनुकरण गर्दै नियमित मदिरा सेवनलाई पनि स्वास्थ्यप्रद भनेर प्रचार गर्नु गलत हो, किनकि मदिरा कुनै पनि हृदय स्वस्थ आहारको हिस्सा होइन ।
प्रमाणित आहार विज्ञ डा. डेजी कोयलका अनुसार, दीर्घायुको लागि कुनै विशेष सूत्र छैन । तर, स्वस्थ आहार, शारीरिक तौलको सन्तुलन, धूम्रपान नगर्ने, नियमित व्यायाम गर्ने र मदिरा सीमित मात्रामा सेवन गर्ने जस्ता तत्वहरूले दीर्घायुमा सकारात्मक भूमिका खेल्न सक्छन् । साथै, तनाव व्यवस्थापन, पर्याप्त निद्रा, स्वस्थ सम्बन्धहरू निर्माण गर्ने र जोखिमपूर्ण गतिविधिहरूबाट टाढा रहनु पनि महत्त्वपूर्ण छन् ।
उमेरसँगै रोगको सम्भावना बढ्छ, तर त्यो स्वास्थ्य जीवन बाँच्न नसक्ने कुरा होइन । सिड्नी विश्वविद्यालयका स्वस्थ बुढ्यौलीका प्राध्यापक युन–ही जेउनले ग्रामीण तथा दुर्गम क्षेत्रमा बसोबास गर्ने वृद्ध मानिसहरूलाई अध्ययन गर्दै सामाजिक सम्बन्धको दीर्घायुमा महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ । उहाँका अनुसार, केही नजिकका मानिसहरूसँगको सम्बन्ध र नियमित सम्पर्कले मानिसहरूको दीर्घायु र जीवनको गुणस्तरमा ठूलो असर पार्न सक्छ ।
ब्लु जोनहरूबारेका मिथकहरू वास्तविकतामा आधारित नभए पनि, दीर्घायुको लागि केही आधारभूत जीवनशैलीका परिवर्तनहरूले योगदान पुर्याउनु सक्छन् । तर, दीर्घायुको मुख्य सूत्र व्यक्तिगत प्रयासभन्दा बढी समाज र सरकारले उपलब्ध गराएका अवसरहरूमा निर्भर रहन्छ । दीर्घ जीवन जिउन खोज्नेभन्दा गुणस्तरीय जीवन जिउनमा ध्यान दिनु महत्त्वपूर्ण छ ।
नेप्से परिसूचक १८ अङ्कले ओरालो लाग्यो
काठमाडौँ, ८ कात्तिकः धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १८ दशमलव २५ अङ्कले ओरालो लागेर दुई हजार छ सय २७ दशमलव १४ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ९९ अङ्कले ओरालो लागेर चार सय ७४ दशमलव २६ मा सिमित भएको छ । कारोबार भएका १३ उपसमूहमध्ये जलविद्युत् उपसमूहको मात्रै शेयर मूल्यमा वृद्धि भएको छ ।
कूल एक करोड २२ लाख ८३ हजार छ सय २३ कित्ता शेयर रु पाँच अर्ब ४१ करोड ९१ लाख चार हजार एक सय ५७ मूल्यमा कारोबार भएको छ । नेप्सेका अनुसार नेपाल एसबिआई बैंक नौ दशमलव ७५, पिपल्स पावर सात दशमलव ८८, सनराइज ब्ल्यूचिप फण्ड सात दशमलव ६७, समृद्धि फाइनान्स कम्पनी छ दशमलव १८ र आरबिबी म्युचुअल फण्ड–एकका लगानीकर्ताले छ दशमलव शून्य एक प्रतिशतले कमाएका छन् ।
रावा इनर्जी १०, एनआइबिएल समृद्धि फण्ड–दोस्रो पाँच दशमलव ७३, कर्पोरेट डेभलपमेन्ट बैंक चार दशमलव ९०, गुडविल फाइनान्स चार दशमलव ५१ र सुपरमाई हाइड्रोपावरका लगानीकर्ताले चार दशमलव २१ प्रतिशतले गुमाएका छन् ।
वरदान बन्दै त्रिविको अनलाइन कक्षा
कीर्तिपुर (काठमाडौँ), ८ कात्तिक: कीर्तिपुरको एक विद्यालयमा अध्यापन गरिरहनुभएका राजकुमार प्याकुरेल शिक्षा शास्त्र सङ्कायअन्तर्गत समाज शास्त्र (एमएसएसइडी) को अनलाइन कक्षा लिइरहनु भएको छ । थप शैक्षिक उपाधि चाहिएपछि भौतिक रुपमा कक्षामा उपस्थित हुन नसकेपछि उहाँ अहिले अनलाइन कक्षामा जोडिएर अध्ययन गरिरहनुभएको छ ।
कक्षामा भौतिक रुपमा उपस्थित हुन नसक्ने आफूजस्ता धेरैलाई त्रिभुवन विश्वविद्यालयले सुरु गरेको अनलाइन कक्षा निकै उपयोगी रहेको उहाँ बताउनुहुन्छ । “टाढाबाट पनि पढ्न मिल्ने, दिउँसो आफू अरु काममा व्यस्त हुने हामी जस्तालाई यो कक्षा बरदान सवित भएको छ”, उहाँ भन्नुहुन्छ । आफूहरु अनलाइन कक्षाको पहिलो समूह भएकाले पाठ्यपुस्तक हात नपरे पनि आफूले खोजेर पढ्ने बानीको विकास भएको उहाँको भनाइ छ ।
अर्का विद्यार्थी ज्ञानु पहाडी अन्य पेसामा रहेका विद्यार्थीलाई काम नछोडी शैक्षिक उपाधि दिलाउन अनलाइन कक्षा राम्रो विकल्प भएको बताउनुहुन्छ । इन्टरनेट र उपयोगी मोबाइल फोन नहुँदा भने यो चुनौतीपूर्ण हुन जाने पनि उहाँको धारणा छ । कुनै दिन अनलाइनका कक्षा लिन नभ्याइएमा डिजिटल रेकर्ड हेरेर उक्त छुटेको कक्षा लिन सकिने उहाँ बताउनुहुन्छ । “हामीले विभिन्न स्रोतबाट अध्ययन सामग्री खोज्छौंँ र शिक्षकलाई देखाउँछौँ । उहाँबाट यससम्बन्धी मार्गदर्शन पाएपछि त्यसै अनुसार सच्च्याउँछौँ” उहाँले भन्नुभयो ।
समयसमयमा हुने बन्द हड्ताल, परीक्षा केन्द्र तोकिने, क्याम्पसको आन्तरिक विवाद आदि अनेकौँ कारणले नियमित कक्षा नहुने, भएकै कक्षामा पनि विद्यार्थीको उपस्थित न्यून रहने गरेको छ । शिक्षकको अनुपस्थितिका कारण पनि कयौँ दिनसम्म कक्षा नहुने समस्या अनलाइन कक्षाले समाधान दिएको छ । भौतिक कक्षामा भन्दा अनलाइन कक्षामा हाजिर हुर्नुपर्ने, दिइएका गृहकार्य गर्नै पर्ने, तोकिएकै दिन बुझाउनै पर्ने र शिक्षक–विद्यार्थीका सबै गतिविधि श्रव्यदृश्य रेकर्ड हुने कारण सही अर्थको पठनपाठन हुने सम्बन्धित शिक्षक विद्यार्थी बताउँछन् ।
त्रिविमा अनलाइन कक्षाको सुरुआत कोभिड– १९ का कारण सन् २०२० को सुरुतिर अर्थात् बन्दाबन्दी हुनुभन्दा एक महिनअघि भएको हो । त्यतिबेला देशमा कतै पनि अनलाइन कक्षाबारे सोचाइ नै रहेको थिएन । त्यसबेला दूर शिक्षासम्बन्धी एक प्रयोगका रुपमा त्रिविको शिक्षा शास्त्र सङ्कायले एमएड तहको कार्यक्रम इन्टरनेट प्रविधिको माध्यमबाट सञ्चालन गर्ने तयारी गरिरहेको थियो । त्यसको केही महिनापछि नै बन्दाबन्दी भएकाले भौतिक उपस्थितिमा अध्ययन अध्यापन सम्भव भएन । त्यसपछि त अनलाइन कक्षा नै अनिवार्य विकल्प बन्न पुगेको थियो । विश्वविद्यालयदेखि विद्यालय तहसम्म अनलाइन कक्षाबाटै पठनपाठन हुन थाल्यो ।
घरै बसेर विश्वविद्यालयको उपाधि
पछिल्ला केही वर्षयता विश्वविद्यालयका विद्यार्थीहरुमा भर्ना हुने दिन क्याम्पस जाने र त्यसपछि एकैपटक जाँच दिने प्रवृत्ति बढ्दै गएको छ । आफ्नै बाध्यता वा क्याम्पसका कारण विद्यार्थीलाई भर्ना भएपछि कक्षा लिनुुपर्छ भन्ने सोच विस्तारै हराउँदै जाँदा पछिल्लो समय विद्यार्थीको उपस्थिति पातलिँदै गएको छ । कतिपय विद्यार्थीमा पढ्नभन्दा अरु उद्देश्यले भर्ना हुने प्रवृत्ति नभएको होइन । त्यसैले कक्षामा देखिने सङ्ख्याभन्दा परीक्षा दिने बेलामा विद्यार्थीको सङ्ख्या उल्लेखनीय रूपमा बढी हुन्थ्यो ।
समेष्टर प्रणाली लागू भएपछि त्यो समस्या त समाधान भयो तर ८० प्रतिशत हाजिरी अनिवार्य, आन्तरिक मूल्याङ्कनको अङ्कभार नै ४० प्रतिशत गरिएका कारण विद्यार्थी सङ्ख्या नै घट्दै गयो । कक्षामै उपस्थित भएर पढ्न धेरै विद्यार्थीलाई समस्या रहेछ भन्ने देखियो । त्यसैले घर वा कार्यस्थलमै रहेर पनि विश्वविद्यालयका कक्षा लिन सकिने विकल्पको रुपमा अनलाइन कक्षाप्रति आकर्षण बढेको हुनसक्ने विश्वविद्यालयको शिक्षा शास्त्र सङ्कायअन्तर्गत राजनीतिक शास्त्र विभागका पूर्वप्रमुख केशवराज पौडेल बताउनुहुन्छ ।
अनलाइनमा पढाउँदा हरेक कक्षाको डिजिटल रेकर्ड हुने भएकाले शिक्षकले पढाएको कुरा र विद्यार्थीले त्यस कक्षामा गरेको अन्तक्रिर्यासमेतको अभिलेख बस्छ । “विद्यार्थी र शिक्षक कसैले पनि ढाट्न सक्ने अवस्था रहँदैन”, उहाँले भन्नुभयो । यसका साथै विद्यार्थीले दिइएका गृहकार्य तत्काल बुझाउनु पर्ने र शिक्षकले त्यसमाथि गरेको मूल्याङ्कन पनि डिजिटलमै राख्नुपर्ने भएकाले अन्यथा नहुने हुँदा यसको प्रभावकारिता रहेको उहाँको भनाइ छ । कक्षामा विद्यार्थीको उपस्थिति, उसको सक्रिय सहभागिता, आन्तरिक मूल्याङ्कन र दिइएका अङ्कबारे कसैले प्रश्न उठाएमा वा उजुरी परेमा समेत श्रब्यदृष्यसहितको प्रमाण पेश गर्न सकिने उहाँ बताउनुहुन्छ ।
काम गर्दै डिग्री खोज्नेहरुका लागि उपयोगी
अनलाइन कक्षा एउटा एनरोइड मोबाइल वा ल्यापटप कम्प्युटरको माध्यमबाट इन्टरनेट पुगेको देशको जुनसुकै कुनाबाट पनि लिन सकिन्छ । काम वा अन्य कारणले आफू बसेको स्थान छोडेर विश्वविद्यालयका कक्षामा उपस्थित हुन नसक्ने विद्यार्थीका लागि निकै प्रभावकारी रहेको प्राध्यापक पौडेलको भनाइ छ । “खासगरी आफ्नो शैक्षिक योग्यता बढाउन चाहने तथा कक्षामा उपस्थित हुन नसक्नेलाई यसले उपयुक्त विकल्प दिन्छ”, उहाँले भन्नुभयो ।
विगतमा जागिरेहरुले काम गर्दै पढ्दा कतिपय अवस्थामा कक्षा लिएको र कार्यालयमा हाजिर गरेको दिन एउटै परेर समस्या सिर्जना हुने र अख्तियारमा उजुरी समेत लाग्ने गरेको समेत उहाँले उल्लेख गर्नुभयो । “तर यसमा अनलाइन कक्षा भनेरै शैक्षिक उपाधि दिइने हुँदा कर्मचारीले कार्यालय समयमा पढ्न गएको वा कक्षा नलिई शैक्षिक उपाधि लिएको भन्ने दोष रहँदैन”, उहाँले थप्नुभयो । विद्यार्थीले घरमा, यात्रामा वा कुनै पनि ठाउँमा कक्षा लिन सक्दछन् ।
घरपायक परीक्षा केन्द्र
भौतिक कक्षामा जस्तो पढेका क्याम्पसका लागि तोकिएकै केन्द्रमा पुग्नुपर्ने बाध्यता पनि यसमा विद्यार्थीलाई छैन । नयाँ कार्यविधिअनुसार विद्यार्थीले आफूलाई पायक पर्ने ठाउँको स्नातकोत्तर तह अध्ययन हुने क्याम्पसमा गएर यसको प्रवेश परीक्षा दिन पाउँछन् । देशभर एक सय आठ स्थानमा रहेका क्याम्पसमध्ये कुनै पनि क्याम्पसबाट उक्त परीक्षा दिन सकिन्छ । शुरुमा भर्ना हुन भने विद्यार्थीले विभागसँग समन्वय गर्नुपर्छ । भर्नापछि प्रत्येक समेष्टरको शुरुमा र अन्तिम परीक्षाअघि गरी दुईपटक प्रत्यक्ष उपस्थितिको कक्षा सञ्चालन गरिन्छ । यसबाट शिक्षक–विद्यार्थीबीच राम्रोसँग अन्तक्रिया हुनेछ ।
कक्षाका लागि शुरुमा माइक्रोसफ्ट एप्लिकेशनबारे विद्यार्थीलाई जानकारी दिइन्छ । त्यसपछि उनीहरुलाई कक्षामा कसरी बस्ने, आएका डिजिटल पाठ्यसामग्रीलाई कसरी लिने र गृहकार्य सम्बन्धित शिक्षकलाई कसरी बुझउने भन्ने पनि सिकाइन्छ । साथै विद्यार्थीले आफूले दिएको उत्तर र त्यसबापत शिक्षकले दिएको अङ्क तत्कालै हेर्न र थप छलफल गन पाउँछ । अनलाइन कक्षा पढने त्रिविका विद्यार्थीलाई अहिले माइक्रोसफ्टले एक टेराबाइट स्थान उपलब्ध गराएको छ । इन्टरनेटकै माध्यमबाट विद्यार्थीले त्रिविको केन्द्रीय पुस्तकालय, भारतको दिल्ली विश्वविद्यालय, जवाहरलाल नेहरु विश्वविद्यालयलगायत थुपै देशका विश्वविद्यालयका दुई लाखभन्दा बढी डिजिटल स्रोतको प्रयोग गर्न सक्नेछन् ।
अनलाइन कक्षाको सुविधाका कारण शिक्षा शास्त्र, राजनीति शास्त्र, अङ्ग्रेजी, नेपाली, समाजशास्त्रअन्तर्गतका १५ वटा विषय विभागहरुले अनलाइन कक्षा शुरु गरेका छन् । सबैतिर गरी हाल तीन सय जनाभन्दा बढी विद्यार्थी अनलाइन कक्षामा जोडिएका छन् । यसको प्रभावकारिता देखेर विज्ञान जस्ता प्रयोगशाला आवश्यक भएका विषयबाहेक त्रिविका अन्य संस्थान र सङ्कायले पनि अनलाइन कक्षा सुरु गर्न खोजेको प्राध्यापक पौडेलले जानकारी दिनुभयो । शिक्षा शास्त्र सङ्काय प्रमुख प्राध्यापक डा शम्भु खतिवडाका अनुसार गत वर्ष शिक्षाशास्त्र सङ्कायकै अङ्ग्रेजी र गणित कार्यक्रममा अनलाइन माध्यमबाट भर्र्ना लिन शुरु गरिएको हो । स्नातकोत्तर तहको सामाजिक अध्ययनमा भने प्रत्यक्ष भर्ना मात्र लिइएको थियो । राजनीतिक सङ्कायले बल गरेरै अनलाइन चलाउँदा विद्यार्थी सङ्ख्या पाँचबाट बढेर ५५ पुग्यो । अहिले त्रिविमा सामाजिक अध्ययनको तेस्रो वर्ष चलिरहेको छ । पहिलो वर्षमा एक सय २०, दोस्रोमा एक सय ३५ र तेस्रा वर्षमा ६० जना भर्ना भएर परीक्षा समेत दिइसकेका छन् ।
भौतिक व्यवस्थापन मुख्य चुनौती
प्रविधिकै सहयोगमा चलाउनु पर्ने हुँदा अनलाइन कक्षा सञ्चालन त्यति सजिलो भने छैन । विद्यार्थी र शिक्षक दुवैसँग अनलाइन कक्षाका लागि उपयुक्त हुने स्मार्टफोन वा ल्यापटपसँगै भरपर्दो इन्टरनेट अनिवार्य हुन्छ । पढाउन सर्वाधिक सहज हुने स्मार्टबोर्ड नै चाहिने हो तर ती सबै कुरा सबै ठाउँमा सहज हुँदैन, शिक्षकको व्यक्तिगत ल्यापटप प्रयोग गरेर यो सबै गरिरहेका छौं”, प्राध्यापक पौडेल भन्नुहुन्छ ।
प्रत्यक्ष कक्षा लिनका लागि त्रिविले नियुक्त गरेका शिक्षक र प्राध्यापकहरुलाई अनलाइन कक्षाका लागि अनुकूल हुने गरी आवश्यक तालिम दिनुपर्ने हुन्छ । अनलाइन कक्षाको अर्थ इन्टरनेटमार्फत जोडिनु मात्र नभई कक्षालाई कसरी सहज ढङ्गले सञ्चालन गर्ने, विद्यार्थीलाई गृहकार्य र पाठ्यसामग्री कसरी दिने आदि विषयमा पनि व्यावसायिक तालिम दिनुपर्ने हुन्छ । “कक्षालाई बढीभन्दा बढी अन्तक्रिर्यात्मक बनाउन शिक्षकलाई प्रविधिसँग पूर्ण अभ्यस्त बनाउनैपर्छ”, डा खतिवडा बताउनुहुन्छ । प्रविधिमा अभ्यस्त भएका शिक्षकले प्रभावकारी कक्षा लिएको तर अभ्यस्त नभएका कतिपय शिक्षकलाई प्रस्तुतीकरणमा समस्या रहेको उहाँको भनाइ छ । त्रिविको नियमित बजेटबाट अनलाइन कक्षाका सबै आवश्यकता पूरा गर्न सम्भव नभएको डा खतिवडा बताउनुहुन्छ ।




















































