बेमौसमी तरकारी खेतीमा आकर्षित मुगुका कृषक
मुगु । पछिल्लो समय मुगुका कृषक बेमौसमी तरकारी खेतीमा आकर्षित भएका छन् । पछिल्लो समयमा सोरुगाँउपालिका,यूनाईटेड टु नेपाल मुगु क्लष्टरको आर्थिक सहयोग र ग्रामीण सामुदायिक संस्थाको प्राविधिक सहयोगमा सोरुगाँउपालिकामा रहेका १ देखी ११ वडामा रहेका कृषकहरू बेमौसमी तरकारी खेतीमा आकर्षित भएका हुन् ।
मुगुको सोरुगाँउपालिका वडा नम्बर ६ सोरुकोटका मुनदेबी कुमालले बेमौसमी तरकारी लगाएकी छन् । उनी तरकारीको रेखदेखमा नै व्यस्त देखिन्छन्। प्लास्टिक हाउस (टनेल) भित्र बेमौसमी भाजी साग,रायो,पालुङ्गो साग खेती लगाउन उनी बिहानैदेखि तल्लीन हुन्छिन् ।
बेमौसमी तरकारी खेतीबारे तालिम गोष्ठी,सेमिनार,अनुदानमा तरकारीको बिउ ,ग्रिन हाउस(प्लाष्टिक हाउसभित्र तरकारी लगाउन सिकाएपछि मुनदेबी लगायत अन्य कृषकले हिजो आज तरकारी खेती गर्दै आइरहेका छन् ।
तरकारीको भाउ पाउने ग्रिनहाउसमा आएर प्रति मुठासागको १० देखी २०रुपैयाँ मूल्य पाउँदा घरमा बिहान बेलुका हरीयो तरकारी समेत खान पाउँदा तरकारी तर्फ आकर्षित भएको उनले बताइन्। उनले भनिन् , ‘बजारको पनि समस्या छैन, घरधन्दा बाल बच्चालाई लुगा कपडा कापी कलम यसरी नै धानेको छु’। उनले टनेल घरमा गोलभेंडा, फर्सी, रायो, सुईसाग फर्सी, लगायतका तरकारी लगाएकी छिन्।
तरकारी खेतीबाट वर्षमा माशिक १५,२० हजारसम्म आम्दानी लिने गरेको किसानहरू बताउँछन् । जीवनस्तरमा पनि धेरै परिवर्तन आएको कृषक गगन भामको भनाई छ । आर्थिक अवस्था कमजोर भएकाहरू पनि तरकारी खेती गरेर आत्मनिर्भर हुँदै आइरहेका छन् ।
काठका टहरामा प्लास्टिक लगाएर टर्नेल बनाई बाह्रै महिना तरकारी खेती गर्न सकिने किसानहरूको भनाई छ ।
विशेष गरी संस्थाको कार्यक्षेत्र अन्तर्गत समुदायमा गठन गरिएको समूहबाट छनोट परेका गरिब,अपांगता ,एकल महिला,पिछडिएका बर्षहरूको आयआर्जन गर्नको लागि विगत लामो समय देखी शिक्षा,स्वास्थ्य रोजगार,आयआर्जनको लागि विभिन्न तालिम गोष्ठी लगायतका क्षेत्रमा शिक्षा दिँदै आएको ग्रामीण सामुदायिक संस्थाका प्रमुख बासु सावलले बताए ।
सेयर बजारमा गिरावट, कारोबार रकम भने बढ्यो
काठमाडौँ । बुधवार, सेयर बजारको परिसूचक नेप्से २४.९७ अंक घटेर २७५० अंकमा कायम भएको छ । यस गिरावटसँगै बजारको कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ८ अर्ब ५२ करोडको कारोबार भएकोमा आज ९ अर्ब १३ करोडको कारोबार भएको छ ।
१०४ कम्पनीको मूल्य बढ्दा १३२ कम्पनीको मूल्य घटेको छ, जबकि ८ कम्पनीको मूल्य स्थिर रह्यो । अघिल्लो दिन उच्च दरले बढेका व्यापार समूहको मूल्य आज ८.७ प्रतिशत घटेको छ । विशेष गरी, विशाल बजार कम्पनीको मूल्य ९.१७ प्रतिशत घटेपछि व्यापार समूहमा ८.७२ प्रतिशतको गिरावट आएको हो ।
अर्को, बैंकिङ समूहमा ०.३४ प्रतिशत, विकास बैंकमा १.९४ प्रतिशत, फाइनान्समा १.२४ प्रतिशत, होटलमा ०.४० प्रतिशत, जीवन बीमा १.५० प्रतिशत, लगानीमा ०.०२ प्रतिशत, निर्जीवन बीमा ०.३३ प्रतिशत र अन्य समूहमा ०.७४ प्रतिशतको गिरावट आएको छ ।
यसैबिच, माइक्रो फाइनान्स, उत्पादन र हाइड्रोपावर समूह क्रमशः ०.१२, ०.१४ र ०.५९ प्रतिशतले बढेका छन् ।
खानी खोला हाइड्रोपावर, जोशी हाइड्रोपावर र रिभर फल्स पावरको मूल्य १० प्रतिशत बढेको छ। अन्य उच्च मूल्य वृद्धि गर्ने कम्पनीहरूमा इङ्वा हाइड्रोपावर (९.७ प्रतिशत), स्वाभिमान लघुवित्त (९.४ प्रतिशत), अपरहेवाखोला (८.७ प्रतिशत), माथिल्लो मैलुङखोला जलविद्युत (८.३ प्रतिशत), र सूर्योदय लघुवित्त (७.८ प्रतिशत) रहेका छन् ।
विपरीत, सपोर्ट माइक्रो फाइनान्स र लाइफ इन्स्योरेन्स कर्पोरेसनको मूल्य १० प्रतिशत घटेको छ । साथै, विशाल बजार कम्पनीको मूल्य ९.१७ प्रतिशत, नेपाल फाइनान्सको ५.०१ प्रतिशत र सुपरमादी हाइड्रोपावरको ४.५ प्रतिशत मूल्य घटेको छ ।
कारोबार रकमको आधारमा जोशी हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर, आँखुखोला जलविद्युत, सानिमा माइ हाइड्रोपावर र रसुवागढी हाइड्रोपावर प्रमुख रूपमा अगाडि रहेका
चलचित्र ‘कार्साङ’ले टिजर सार्वजनिक गर्दै
काठमाडौँ । चलचित्र ‘कार्साङ’ले केही दिनमा टिजर सार्वजनिक गर्दैछ । यो चलचित्रको मुख्य भूमिकामा दयाहाङ राई, सिर्जना निङलेखु, जितु नेपाल, दीया मास्केलगायत छन् ।
हालसम्म निर्माण पक्षले सार्वजनिक गरेको पोस्टर र तस्बिरअनुसार कसको भूमिका के हो भन्ने निश्चित भइसकेको छैन । सबै गाउँले भूमिकामा रहेको पोस्टर र सुटिङ युनिटबाट बाहिरिएको एक तस्बिरले बताएको छ ।
तर निर्माण पक्षले हालसम्म कसको भूमिका कस्तो छ भनेर केही बताएको छैन । सुटिङस्पटबाट बाहिरिएको दयाहाङ र सिर्जना निङलेखुको तस्बिरले दयाहाङ धामीको भूमिकामा छन् कि भन्ने सङ्केत गरेको थियो ।
यता, जितु र दयाहाङको पोस्टर बराबरी सङ्ख्यामा आउँदा को मुख्य भूमिकामा छन् भन्ने झनै अन्योल देखिएको छ । क्यारेक्टरको लुक्सबाट को प्रमुख भूमिकामा छन् भनेर अनुमान लगाउन सकिने ठाउँ छैन ।
यदि दयाहाङ राई मुख्य भूमिकामा छन् भने धामी बस्ने क्यारेक्टर पनि हिरो हुन्छ भन्ने यो चलचित्रले प्रमाणित गर्नेछ । चरित्र अभिनेताहरू हिरो हुने सिनेमा आउन थालेको त धेरै भइसक्यो ।
तर, ‘कार्साङ’मा धामी बस्दै हिँड्ने क्यारेक्टर नै हिरो छ भने नेपाली टिपिकल क्यारेक्टरमा सिनेमा बन्न थालेछन् पुष्टि हुनेछ । यसले पैसावाल धनी र हेर्दा आकर्षक क्यारेक्टर मात्रै हुँदैनन् । थप भुइँमान्छेका कथामा चलचित्र बन्न थालेको ‘कार्साङ’ले पुष्टि गरेको छ ।
यम शेर्पाको डेव्यु लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमा ‘कार्साङ’ पुस २६ गते पदर्शन हुँदैछ । शेर्पा समुदायको संस्कृतिमा आधारित भएर बनेको चलचित्रमा अभिनेता दयाहाङ राई, डेब्यु अभिनेत्री सिर्जना निङलेखु, जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन, सुरवीर पण्डितलगायतको अभिनय छ ।
यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा निर्माण भएको सिनेमाका पुरुषोत्तम प्रधानको छायांकार र निर्माता स्वयंम हुन् । सिनेमाको सह–निर्मातामा गोविन्द बोहरा, कार्यकारी निर्माता आङछिरिङ शेर्पा तथा लाइन प्रोड्युसर वीरेन्द्र शाही छन् ।
यो चलचित्रको अन्तर्राष्ट्रिय वितरक अधिकार हुल्या इभेन्टस सुमन पराजुली र सोमलाल थोकर लिएको छन् भने देशभर वितरणको जिम्मेवारी आरआर फिल्मसले लिएको छ ।
आठ जना प्रहरी नायव महानिरीक्षकलाई दर्ज्यानी चिन्ह
काठमाडौँ । नेपाल सरकार गृहमन्त्री स्तरको २०८१ मङ्सिर १७ गतेको निर्णयअनुसार प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति भएका आठ जना प्रहरी नायव महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका छन् ।
प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक समारोहबिच उनीहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरिएको हो ।
दर्ज्यानी चिन्हद्वारा सुशोभित हुने प्रहरी नायव महानिरीक्षकहरूमा ध्रुवराज राउत, भोला बहादुर रावल, गणेश चन्द, सिद्धि विक्रम शाह, सुशील सिंह बठौरा, उमा प्रसाद चतुर वेदि, हिमालय कुमार श्रेष्ठ र डम्बर बहादुर बिक रहेका छन् ।
दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले दर्ज्यानी चिन्हद्वारा सुशोभन भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।
नेपाल प्रहरी सङ्गठनमा आबद्ध रही आफ्नो जिम्मेवारी र भूमिका निर्वाहमा प्रदर्शित कर्तव्यनिष्ठता, कार्यकुशलता, पेसागत दक्षता एवम् इमानदारताको मूल्याङ्कनको आधारमा पदोन्नति भएको चर्चा गर्दै आगामी दिनमा समेत उत्कृष्ट ढङ्गबाट कार्यसम्पादन हुने विश्वास उनले व्यक्त गरे ।
उनले भने, ‘राज्य र सङ्गठनले तपाईँहरूबाट यसको प्रतिफलमा देश र नागरिक सेवामा रचनात्मक भूमिका र कार्यसम्पादनमा उच्च व्यावसायिकता एवम् निष्ठाको अपेक्षा गरेको छ, यसमा खरो रूपमा उत्रिनु हुने छ भनी विश्वास लिएको छु ।’
सङ्गठनलाई समयानुकूल सुदृढीकरण र गतिशीलता प्रदान गर्नका लागि नेतृत्व तहका प्रहरी अधिकृतहरू सदैव चिन्तनशील रहँदै विभिन्न सृजनशील प्रयासबाट सङ्गठनको समयसापेक्ष विकास र श्रीवृद्धिमा लाग्नुपर्ने चर्चा गर्दै व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर गरिएको सत्प्रयासले मात्र साङ्गठनिक सुदृढीकरण र सङ्गठनको प्राथमिकता, निर्धारित लक्ष्य र उद्देश्य हासिल हुने हुँदा त्यसका लागि सम्पूर्ण नीतिगत तहमा रहेका प्रहरी अधिकृतहरू कटिबद्ध रहन उनले निर्देशन समेत दिए ।
समारोहमा पदोन्नति भएका प्रहरी अधिकृतहरूको तर्फबाट प्रतिबद्धता मन्तव्य व्यक्त गर्दै प्रहरी नायव महानिरीक्षक ध्रबराज राउतले प्राप्त जिम्मेवारीलाई व्यावसायिक निष्ठाका साथ राष्ट्र र नागरिकको सेवामा समर्पित भएर कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
दर्ज्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा प्रहरी जवानहरूको उपस्थिति रहेको थियो ।
स्थानीय तहका रिक्त पदका लागि मतदान हुँदै
काठमाडौँ । आज आइतवार स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि मतदान हुँदै छ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छन् ।
मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र वा सवारी चालक अनुमतिपत्रको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउनेछन् ।
आजको मौसम : गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा हिमपातको सम्भावना
काठमाडौँ । हाल देशभर पश्चिमी वायुको सामान्य प्रभाव तथा बङ्गालको खाडीमा रहेको चक्रवात “फेनजल” को आंशिक प्रभाव रहेको छ । जसको कारण देशको तराई भू–भागका केही स्थानहरूमा कुहिरो लागेको छ भने अन्य स्थानमा मौसम सफा रहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो कोसी, मदेस लगायत गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा मौसम सफा रहने छ ।
यस्तै, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । राती पनि गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा
काठमाडौँ । निर्वाचन आयोगले भोलि मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । विभिन्न ४१ रिक्त पदका लागि आइतबार मतदान हुँदैछ ।
आयोगकी प्रवक्ता सहसचिव निता पोख्रेल अर्यालका अनुसार निर्वाचन हुने सम्बन्धित स्थानीय तहमा स्थापना गरिएका मतदान केन्द्रमा भोलि बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन हुन लागेको हो ।
अर्यालका अनुसार मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएका मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र वा सवारी चालक अनुमति पत्रको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउनेछन् ।
गर्भवती, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, बिरामी, क्रियापुत्री, सुत्केरी तथा अन्य (लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक) मतदातालाई प्राथमिकताका आधारमा मतदान गर्ने व्यवस्था मिलाइएको उनले जानकारी दिइन् ।
मतदान कार्य सम्पन्न भई सबै मतपेटिका तोकिएको मतगणना स्थलमा सङ्कलन भएपछि मतगणना कार्य प्रारम्भ हुनेछ । मतगणनाको अद्यावधिक परिणाम आयोगको वेबसाइटमा हेर्न सकिने आयोगले जनाएको छ ।
आयोगबाट प्रकाशन भएको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदातालाई मताधिकारको उपयोग गर्न सहजता प्रदान गर्ने अभिप्रायले मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा स्थायी लेखा नम्बर परिचयपत्र वा सवारी चालक अनुमति पत्रको सक्कल प्रमाणपत्रका आधारमा मतदान गर्न सक्ने व्यवस्था मिलाइएको छ ।
मतदान स्थलको निश्चित क्षेत्र बाहेक निर्वाचन सुरक्षामा असर नपर्ने गरी यातायात सञ्चालनको उपयुक्त प्रबन्ध गर्न गृह मन्त्रालयमार्फत सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन हुनुका साथै मतदान हुने सम्बन्धित स्थानीय तह र वडामा सार्वजनिक बिदाका लागि आयोगले सम्बन्धित निकायलाई अनुरोध समेत गरिसकेको जनाएको छ ।
क्रिकेट महासंग्रामको ब्यग्र प्रतिक्षा : ठूला व्यवसायिक समूहको आकर्षण, करोडौं कारोबार
काठमाडौं । शनिबार (आज) बाट पुस ६ गतेसम्म नेपाल क्रिकेटमय बन्दैछ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करण सुरु हुने भएकाले नेपाली क्रिकेटप्रेमीहरु सबै खेलहरुको व्यग्र प्रतिक्षामा छन् । प्रतियोगितालाई क्रिकेट महासंग्रामकै रुपमा लिइएको छ । कर्णाली याक्सको टिमबाट खेल्न भारतका चर्चित खेलाडी शिखर धवन शुक्रबार अपरान्ह नेपाल आइपुगेसँगै माहोल थप गर्माएको छ ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा प्रतियोगिता सञ्चालन हुँदैछ । नेपाल क्रिकेट सङ्घले आयोजना गर्न लागेको घरेलु प्रतियोगितामध्ये एनपीएल सबैभन्दा ठूलो प्रतियोगिता मानिएको छ । २० दिन चल्ने प्रतियोगितामा आठ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
लिगमा विराटनगर किंग्स, जनकपुर बोल्ट्स, चितवन राइनोज, काठमाडौं गुर्खाज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स गरी आठ टोली छन । प्रतियोगितामा मुलुकका व्यापारिक क्षेत्रको सक्रिय सहभागिताले मुलुकको अर्थतन्त्रमा विशेष भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।
उद्घाटन खेलमा विराटनगर किंग्स र जनकपुर बोल्ड भिड्दैछन् । पहिलो खेल मंसिर १५ गते शनिबार(आज) विराटनगर र जनकपुरबीच दिउँसो १२ः१५ बजे हुनेछ । विराटनगरको मार्की खेलाडी सन्दीप लामिछाने र जनकपुरका मार्की खेलाडी आसिफ शेख छन् ।
उद्घाटन खेलको टिकट भने १२ गते नै बिक्री भइसकेको छ । जसका लागि साधारणको ३ सय र भिआइपी ७ सय रुपैयाँ तोकिएको थियो । मैदानमा भीआइपी र सामान्यतर्फ गरी करिब १२ हजार दर्शक क्षमता रहेको क्यानले जनाएको छ । क्यानका सचिव पारस खड्काले सीमित पूर्वाधारका कारण उद्घाटन खेलको टिकट सकिएको बताएका छन् । घरबाटै खेल हेर्न उनले आग्रह पनि गरेका छन् ।
यद्यपि, लिग खेल (एक दिनको) लागि साधारणको तीन सय रुपैंयाँ र भिआइपी पाँच सय रुपैयाँ, प्लेअफको लागि साधारणको पाँच सय र भिआइपी सात सय रुपैयाँ र फाइनल खेलका लागि साधारणको पाँच सय र भिआइपी एक हजार रुपैयाँ टिकटको मुल्य तोकिएको छ ।
क्यानले २० दिन खेल संचालन गर्दा कम्तीमा पनि प्रतिदिन ३० लाख उठाउने लक्ष्य राखेकाले टिकट बिक्रीबाट मात्र यो सिजन कुल ६ करोड रूपैयाँ बढी उठाउने लक्ष्य लिएको छ । सचिव खड्काले नेपाली क्रिकेटमा नयाँ सुरुआत भएको र एनपीएललाई विश्वकै उत्कृष्ट लिग बनाउने दाबी समेत गरेका छन् ।
क्यानका अनुसार फ्रेन्चाइज टिम किन्नकै लागि तीन करोडसम्म खर्च भएको छ । ८ टिमले टिम लिन मात्र करिब १७ करोड क्यानलाई बुझाएको छ । पोखरा एभेन्जर्सले ३ करोड ५७ लामा फ्रेन्चाइज किनेको थियो । यस्तै कम खर्च गर्नेले पनि एक करोड भन्दा माथि रकम फ्रेन्चाइज फि तिरेको छ ।
यस बाहेक मार्की खेलाडीका लागि २० लाख, खेलाडी अक्सनमा गरेको खर्च, विदेशी खेलाडीको खर्च र अन्य खर्च गरेर एक फ्रेन्चाइजले कम्तीमा ७ देखि १० करोडसम्म खर्च गरेका छन् ।
तर क्यानले खर्चमा केही कडाइ पनि गरेको जनाएको छ ।
कुनैपनि टोलीले अन्धाधुन्ध खर्च नगरून् र प्रतिस्पर्धाको स्तर समान होस् भन्ने उद्देश्यमा साथ क्यानले खर्चमा सीमा तोकेको हो । जसमा खेलाडी अक्सनमा ९० लाख रुपैयाँको सीमा तोकिएको थियो । त्यसमा टोलीले ६३ लाख देखि ८४ लाख रुपैयाँसम्म मात्र खर्च गरेका छन ।
त्यसैगरी, क्यानले विदेशी खेलाडी किन्नमा पनि सीमा तोकेको छ । क्यानले विदेशी खेलाडीहरूलाई प्ल्याटिनम, गोल्ड र सिल्भर वर्गमा विभाजन गरी त्यसका लागि पाँच हजारदेखि ५० हजार अमेरिकी डलरसम्म खर्चको सीमा तोकिदिएको छ ।
यता, क्यानले एनपीएलको मुख्य प्रायोजकको रुपमा रहेको सिद्धार्थ बैंकसँग पाँच वर्षको लागि सम्झौता गरेको तर, रकम भने खुलाइएको छैन । त्यस्तै लिगलाई एनसेलले पनि प्रायोजन गरिसकेको छ । क्यानले व्यावसायिक अधिकार ब्रान्ड डिजिटल लजिक प्रालिलाई ५ करोड ९२ लाख रूपैयाँमा बिक्री गरेको थियो ।
क्यानले औपचारिक रुपमा पुरस्कारको राशी सार्वजनिक गरेको छैन तर पुरस्कारमा दुई करोड रुपैयाँ खर्च गर्ने बताइएको छ । नेपाली खेलाडीले लिग सकिएपछि उत्कृष्ट नेपाली खेलाडीले ६२ लाख बराबरको ओमोडा इ ५ कार प्राप्त गर्नेछन् । यसका लागि क्यानले ओमोडा एण्ड जेइकोसँग सम्झौता नै गरेको छ ।
एनपिएलको प्रत्यक्ष प्रशारण टेलिभिजनमा स्टार स्पोर्ट्स नेटवर्क र युट्युवमा एक्सन स्पोर्ट्स एचडीबाट हुनेछ ।
क्यानले कीर्तिपुर क्रिकेट मैदानको स्तरोन्नतिमा पनि ठूलो रकम खर्च गरेको छ । मैदानमा डिजिटल स्कोर बोर्ड निर्माण गरिएको छ । त्यस्तै पिचको पुनर्निर्माण गरिएको छ भने बाउन्ड्री क्षेत्र बढाइएको छ । दर्शकले यसपालि अस्थायी प्यारापिटमा बस्ने सुविधा पाउने छन् भने मैदानमा प्रवेश गर्नका लागि ६ वटा ’जोन’ छुट्याइएको छ ।
एनपीएलमा लिग चरणमा हरेकले एक आपसमा खेल्दा कूल २८ खेल हुनेछ । यस्तै प्लेअफमा क्वालिफाय र रफाइनलसहित थप ४ खेल हुनेछ र कूल ३२ खेल हुनेछ । आठ टोलीका एक एक मार्की खेलाडी (८), अक्सनबाट दश–दश खेलाडी (८०) र ट्यालेन्ट हन्टबाट एक एक आइकोनियक खेलाडी (८) गरी जम्मा ः ९६ नेपाली खेलाडी रहेका छन । जसमा सहभागी आठ फ्रेन्चाइज टोलीले ३९ विदेशी खेलाडीहरू अनुबन्धित गरिसकेका छन् ।
यस्तो छ खेल तालिका
पहिलो खेल मंसिर १५ गते विराटनगर र जनकपुरबीच दिउँसो १२ः१५ बजे हुनेछ । मंसिर १७ गते बिहान ९ः१५ बजे काठमाडौं र चितवन तथा दिउँसो १ः१५ बजे जनकपुर र कर्णालीबीच खेल हुनेछ । मंसिर १८ गते बिहान ९ः१५ बजे सुदूरपश्चिम र विराटनगर तथा दिउँसो १ः१५ बजे चितवन र पोखराबीच प्रतिस्पर्धा हुनेछ ।
मंसिर १९ गते बिहान ९ः१५ बजे कर्णाली र काठमाडौं तथा दिउँसो १ः१५ बजे विराटनगर र लुम्बिनीबीच खेल हुनेछ । मंसिर २० गते बिहान ९ः१५ बजे पोखरा र जनकपुर तथा दिउँसो १ः१५ बजे काठमाडौं र सुदूरपश्चिमबीच खेल हुने तालिका छ ।
मंसिर २१ गते बिहान ९ः१५ बजे कर्णाली र चितवन तथा दिउँसो १ः१५ बजे लुम्बिनी र पोखराबीच खेल हुनेछ । मंसिर २२ गते बिहान ९ः१५ बजे लुम्बिनी र सुदूरपश्चिम तथा दिउँसो १ः१५ बजे कर्णाली र विराटनगर खेल्नेछन् ।
मंसिर २३ गते बिहान ९ः१५ बजे जनकपुर र लुम्बिनी तथा दिउँसो १ः१५ बजे सुदूरपश्चिम र चितवनबीच खेल हुनेछ । मंसिर २४ मा खेल ब्रेक हुनेछ। मंसिर २५ देखि पुनः खेलहरू सुरु भई बिहान ९ः१५ बजे चितवन र लुम्बिनी तथा दिउँसो १ः१५ बजे कर्णाली र पोखराबीच प्रतिस्पर्धा हुनेछ। मंसिर २६ देखि मंसिर ३० सम्म बिहान र दिउँसो खेलहरू हुनेछन ।
पुस १ गते बिहान ९ः१५ बजे सुदूरपश्चिम र कर्णालीबीच खेल हुनेछ । पुस २ गते खेल ब्रेक हुनेछ । पुस ३ गते तेस्रो स्थान र चौथो स्थानका टिमहरूबीच बिहान ९ः१५ बजे एलिमिनेटर खेल हुनेछ । सोही दिन दिउँसो १ः१५ बजे पहिलो र दोस्रो स्थानका टिमहरूबीच पहिलो क्वालिफायर खेल हुनेछ । पुस ४ गते दिउँसो १२ः१५ बजे एलिमिनेटर विजेता र पहिलो क्वालिफायर पराजित टिमबीच दोस्रो क्वालिफायर खेल हुनेछ । पुस ५ मा पुनः ब्रेक राखी पुस ६ गते दिउँसो १२ः१५ बजे पहिलो क्वालिफायर विजेता र दोस्रो क्वालिफायर विजेताबीच फाइनल खेल हुनेछ ।
कुन टिममा को को र मूल्य कति ?
विराटनगर किंग्समा सन्दीप लामिछाने – मार्की, लोकेश बम, प्रतिश जीसी, बसिर अहमद, राजेश पुलामी मगर, जितेन्द्रकुमार मुखिया, अनिल खरेल, दिपक बोहरा, सुभाष भण्डारी, नरेन भट्ट, मृनाल गुरुङ, ओमानका अकिब इल्यास, न्युजिल्यान्डका मार्टिन गप्टिल, क्यानडाका निकोलास किर्टन, स्कटल्यान्डका क्रिस सोल, अफगानिस्तानका इस्मल आलम रहेका छन ।
विराटनगर किंग्समा प्रशिक्षकमा आयरल्यान्डका केभिन ओ’ब्राइन रहेका छन । यसको स्वामित्व एमएडी ड्रिम्स स्पोर्ट्स पारस लुनिया, वेन्कटेस मुन्द्राको छ । विराटनगर किंग्सको खरिद मूल्य १ करोड ५१ लाख रूपैयाँ हो ।,
जनकपुर बोल्ट्समा आसिफ शेख – मार्की, ललित राजवंशी, अनिलकुमार साह, रुपेश सिंह, किशोर महतो, आकाश त्रिपाठी, शुभ कंसाकर, शेर मल्ल, हेमन्त धामी, अरनिको प्रसाद यादव, तुलबहादुर थापा मगर, न्युजिल्यान्डका जिमी निशम, अमेरिकाका जोशुआ ट्रम्प, इंग्ल्यान्डका बेन माइक, पाकिस्तानका मोहमद मोहसिन, अमेरिकाका लाहिरू मिलन्था र क्यानडाका हर्ष थाकर रहेका छन । यसका लागि प्रशिक्षकमा क्यानडाका पुबुद दसानायके रहेका छन । ड्रिम स्पोर्ट्स प्रालिले स्वामित्व लिएको छ। २ करोड ५ लाख रूपैयाँ खरिद मूल्य हो ।
चितवन राइनोजमा कुशल मल्ल – मार्की, रिजन ढकाल, कमलसिंह ऐरी, शरद भेषावकर, बिपिन रावल, सन्तोष कार्की, दिपेश श्रेष्ठ, अमर सिंह रटैला, दिपक बोहरा, रंजीत कुमार, गौतम केसी, इंग्ल्यान्डका रवी बोपारा, अफगानिस्तानका हसन इसाखिल, नामिबियाका जान निकोल लोफ्टी इटन, इंग्ल्यान्डका ल्यूक मार्टिन बेनकेन्स्टाईन र आइकोनिकका , सलाहुद्दिन खान रहेका छन । प्रशिक्षक उमेश पटवाल हुन । १ करोड ७६ लाख १ हजार रूपैयाँ खरिद मूल्य रहेको चितवन राइनोजको स्वामित्व चितवन मेडिकल कलेज (डा हरिस न्यौपाने, आयुष न्यौपाने)को रहेको छ ।
काठमाडौं गुर्खाजमा करण केसी – मार्की, शाहब आलम, भीम सार्की, रसिद खान, शंकर राना, दिपेशप्रसाद कँडेल, सुमित महर्जन, कृष्ण कार्की, विवेक केसी, प्रतीक श्रेष्ठ, राजु रिजाल, इंग्ल्यान्डका नेथन सोउटर, स्टेफन इस्किनाजी र ड्यान डौथवेट, नेदरल्यान्ड्सका माइकल लेभिट नामिबियाका जेहार्ड एरासमस आइकोनिकका कृष कार्की छन ।
प्रशिक्षक बसन्त शाही हुन । खरिद मूल्य ( ३ करोड ३३ लाख ३३ हजार ३ सय ३९ रूपैयाँ रहेको काठमाडौं गुर्खाजको स्वामित्व काठमाडौं स्पोर्ट्स डेभलपमेन्ट भेन्चर (कान्तिपुर मिडिया ग्रुप, मेडिसिटी अस्पताल, याक एण्ड यती होटल)को छ ।
पोखरा एभेन्जर्समा कुशल भुर्तेल – मार्की, सागर ढकाल, आकाश चन्द, किरणकुमार ठगुन्ना, नारायण जोशी, बिपिन खत्री, दिलीप नाथ, त्रित राज दास, सुनाम गौतम, दिनेश खरेल, अमृत गुरुङ, अमेरिकाका आन्द्रेस गौस, नेदरल्यान्ड्सका बास डे लिडे, इंग्ल्यान्डका म्याट क्रिचली, वेस्ट इन्डिजका रेमन राइफर, स्कटल्यान्डका माइकल लिस्क र आइकोनिकका सुदिप आर्याल छन । पोखरा एभेन्जर्समा प्रशिक्षक भारतका राजीव कुमार छन । ३ करोड ५७ लाख रूपैयाँमा टोली खरिद गरेको पोखरा एभेन्जर्सको स्वामित्व नेपाल टी.२० प्रालि (सुवोध त्रिपाठी, मनोवल श्रेष्ठ)को छ ।
लुम्बिनी लायन्समा रोहित कुमार पौडेल– मार्की, सूर्य तामाङ, विवेक यादव, सन्दीप जोरा, आशुतोष घिरैया, तिलकराज भण्डारी, दुर्गेश गुप्ता, अर्जुन साउद, दिनेश अधिकारी, अभिषेश गौतम, विकाश अग्री, अस्ट्रेलियाका बेन कटिङ, अमेरिकाका उन्मुक्त चन्द, इंग्ल्यान्डका टम मूर्स, वेस्ट इन्डिजका रेमन सिमन्ड्स, क्यानडाका शाद बिन जफर र आइकोनिकका आरिफ शान रहेका छन । भारत नन्दन फाडनिस प्रशिक्षक हुन । स्वामित्व भने फर्चुना हेल्थ केयर (ईश्वर जिसी)ले लिएको छ । यसको खरिद मूल्य १ करोड ८६ लाख ४ रूपैयाँ हो ।
कर्णाली याक्समा सोमपाल कामी– मार्की, गुलशन कुमार झा, नन्दन यादव, मौसम ढकाल, अर्जुन घर्ती, देव खनाल, रित गौतम, भुवन कार्की, दिपेन्द्र रावत, दिपक डुम्रे, युनिसविक्रम सिंह ठकुरी, भारतका शिखर धवन, हङकङका बाबर हायत, वेस्ट इन्डिजका चाडविक वाल्टन, ओमानका जीशान मक्सुद, आइकोनिकका विपिन शर्मा रहेका छन । प्रशिक्षक – ज्ञानेन्द्र मल्ल हुन । स्वामित्व हिमालयन बिल्डर्स एण्ड इन्जिनियर्स (झनकदत्त खनाल, गृहेन्द्र घिमिरे)को छ । खरिद मूल्य १ करोड ११ लाख ७० हजार रूपैयाँ हो ।
सुदूरपश्चिम रोयल्समा दीपेन्द्रसिंह ऐरी – मार्की, आरिफ शेख, अभिनास बोहरा, विनोद भण्डारी, इशान पाण्डे, अर्जुन कुमाल, खडकबहादुर बोहरा, नरेश बुढायर, भोजराज भट्ट, अमित श्रेष्ठ, नरेन साउद, स्कटल्यान्डका ब्रान्डन मक्मलेन, इंग्ल्यान्डका सेफ अलि जेब, न्युजिल्यान्डका स्कट कुगेलेइन, युएईका, रोहन मुस्तफा र आइकोनिकमा बसन्त खत्री छन । सुदूरपश्चिम रोयल्सका प्रशिक्षक जगत टमाटा हुन । एम्पायर स्पोर्ट्स (स्वतन्त्र प्रताप शाह)ले स्वामित्व लिएको छ । खरिद मूल्य १ करोड ६८ लाख ८८ हजार ८ सय ८८ रूपैयाँ हो ।
एनपिएल उद्घाटन खेलमा आज जनकपुर र विराटनगरको भिडन्त
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) फ्रेन्चाइज क्रिकेट प्रतियोगिता आजदेखि राजधानीमा सुरु हुँदैछ । नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा आगामी पुस ६ गतेसम्म सञ्चालन हुने पहिलो संस्करणको उक्त प्रतियोगितामा विभिन्न आठ टोलीको सहभागिता रहेको छ ।
स्वदेशी तथा विश्व चर्चित खेलाडीको आगमनले पनि एनपिएलले बजारमा निकै चर्चा पाएको हो । आजको उद्घाटन खेलमा मधेश प्रदेशको प्रतिनिधित्व गर्ने टोली जनकपुर बोट्ल्सले विराटनगर किङ्सको सामना गर्दैछ । कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालयको अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुने उक्त उद्घाटन खेल दिउँसो १२ः१५ बजे सुरु हुनेछ ।
जनकपुरको मार्की खेलाडीका रूपमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर तथा विकेटकिपर आसिफ शेख छन् । त्यस्तै टोलीको कप्तानमा भने राष्ट्रिय क्रिकेट टोलीका अर्का महत्त्वपूर्ण खेलाडी विकेटकिपर अनिल शाह छन् । उनीहरूसँगै स्पीनर ललित राजवंशी रुपेश सिंह, किशोर महतो, अरनिकोप्रसाद यादव, तुलबहादुर थापा मगर, आकाश त्रिपाठी, शुभ कंसाकर, शेर मल्ल र हेमन्त धामी छन् ।
जनकपुरले एनपिएलको उपाधि जित्ने लक्ष्यका साथ न्यूजिल्यान्डका चर्चित खेलाडी देखि पाकिस्तान र अमेकिाका अनुभवी खेलाडीलाई भित्र्याउन सफल भएको छ । जसमा न्यूजिल्यान्डका जिमी निशम, अमेरिकाका जोशुआ ट्रोम्प, अमेरिकामा बसेर क्रिकेट खेल्ने श्रीलङ्काली मुलका लाहिरु मिलन्था, पाकिस्तानका मोहमद मोहसिन खान र इङ्ग्ल्याण्डका अलराउण्डर बेन माइक छन् ।
यस्तै विराटनगर किङ्सको मार्की खेलाडी एवम् कप्तान सन्दीप लामिछाने छन् । विराटनगरमा कप्तान लामिछाने सहित लोकेश बम, प्रतिश जीसी, बसिर अहमद, राजेश पुलामी मगर, जितेन्द्रकुमार मुखिया, अनिल खरेल, दिपक बोहरा, सुभाष भण्डारी, नरेन भट्ट र मुनाल गुरुङ छन् । विदेशी खेलाडीमा ओमानका अकिब इल्यास, न्यूजिल्यान्डका मार्टिन गप्टिल, क्यानडाका निकोलास किर्टन स्कटल्यान्डका क्रिस सोल र अफगानिस्तानका इस्मल आलम छन्। टोलीको प्रशिक्षकमा केभिन ओब्राइन छन् । उक्त खेलको प्रत्यक्ष प्रसारण विश्वका ठुला प्रतियोगिता र लिग प्रसारण हुने ‘स्टार स्पोर्ट्स’ च्यानलमा हुनेछ ।
मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा : मुद्रास्फीति र व्यापार घाटामा सुधार
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । समीक्षाले मुलुकको समग्र आर्थिक अवस्थाबारे जानकारी दिँदै मुद्रास्फीति, व्यापार घाटा, विप्रेषण आप्रवाह, र विदेशी मुद्रा सञ्चिति जस्ता सूचकाङ्कमा देखिएका सुधार र चुनौतीहरू उजागर गरेको छ ।
नेपाल राष्ट्र बैङ्कले समीक्षा सार्वजनिक गर्दै मुद्रास्फीति नियन्त्रण सरकार र राष्ट्र बैङ्कको प्रमुख प्राथमिकता रहेको जनाएको छ । समीक्षाको प्रतिवेदनले उपभोक्ता मुद्रास्फीति औसत ४.२६ प्रतिशतमा रहेको देखाएको छ ।
खाद्य तथा पेय पदार्थ समूहमा मुद्रास्फीति ७.१८ प्रतिशत रहेको छ, जसमा दाल, तेल, चामल र तरकारीको मूल्यवृद्धि प्रमुख कारक रहेको राष्ट्र बैङ्कले जनाएको छ । गैर–खाद्य समूहमा मुद्रास्फीति ३.४९ प्रतिशतमा सीमित रहे पनि इन्धन, घर भाडा र यातायात क्षेत्रमा देखिएको मूल्यवृद्धि अर्थतन्त्रमा दबाबको सङ्केत गरेको छ ।
राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार वैदेशिक मुद्रा सञ्चिति हाल १४.६ महिनासम्मको आयात धान्न पर्याप्त रहेको छ । यो उपलब्धि विप्रेषण आप्रवाहमा देखिएको सुधारसँग जोडिएको छ । समीक्षाको अवधिमा विप्रेषण आप्रवाह ११.२ प्रतिशतले वृद्धि भई रु. ४०७ अर्ब ३१ करोड पुगेको छ ।
व्यापार घाटामा सुधार भए पनि निर्यातमा गिरावट आएको छ । राष्ट्र बैङ्कका अनुसार, व्यापार घाटा ४ प्रतिशतले घटेर रु. ३५२ अर्ब ३७ करोड कायम भएको छ । यसलाई सकारात्मक सङ्केतका रूपमा लिइए पनि निर्यात ६.१ प्रतिशतले घटेर रु. ३८ अर्ब ३८ करोडमा सीमित हुनु चिन्ताजनक पक्ष हो ।
विशेष गरी वस्त्र, कालीन र जडीबुटीको निर्यातमा गिरावट आएको छ । आयातमा पनि ४.२ प्रतिशत कमी आएको छ, जसले व्यापार घाटामा सुधार ल्याउन भूमिका खेलेको राष्ट्र बैङ्कले जनाएको छ ।
निजी क्षेत्रलाई कर्जा प्रवाहमा सुधार आएको छ । राष्ट्र बैङ्कले निजी क्षेत्रलाई कर्जा प्रवाहको गति बढाउन लघुवित्त, साना तथा मझौला उद्यम, र पर्यटन क्षेत्रलाई प्राथमिकता दिएको छ । समीक्षाको प्रतिवेदनले कर्जा वृद्धि ६.२ प्रतिशत रहेको छ भने यो वार्षिक लक्ष्य १२.८ प्रतिशतको तुलनामा कम भएको छ ।
निर्माण क्षेत्रको कर्जा प्रवाहमा सुधार आएको छ भने साना व्यवसायहरूले कर्जा पाउन अझै कठिनाइ खेप्नुपरेको समीक्षा प्रतिवेदनमा उल्लेख छ ।
राष्ट्र बैङ्कले मौद्रिक नीतिमा केही परिमार्जन गर्दै नीतिगत ब्याजदर ७.० प्रतिशतमा झारेको छ । यससँगै ब्याजदर कोरिडोरलाई पनि घटाएर ६.५ प्रतिशतमा सीमित गरिएको छ । बैङ्क तथा वित्तीय संस्थाहरूलाई तरलता अभाव हुन नदिन राष्ट्र बैङ्कले खुलेर सहकार्य गरिरहेको जनाएको छ ।
गृह निर्माण, साना उद्योग, र पर्यटन क्षेत्रका लागि छुट्टै सहुलियतपूर्ण कर्जा योजना ल्याउने तयारी भइरहेको राष्ट्र बैङ्कले जानकारी दिएको छ ।
समीक्षाले नेपालकै छिमेकी राष्ट्र भारत र चीनका आर्थिक सूचकाङ्कहरूसँग तुलना गर्दै नेपालका केही सकारात्मक पक्ष देखाएको छ । भारतको आर्थिक वृद्धिदर ७ प्रतिशतमा हुने अपेक्षा गरिएको छ भने चीनको वृद्धिदर ४.८ प्रतिशत रहनेछ । विश्व अर्थतन्त्रको समग्र वृद्धिदर ३.२ प्रतिशतमा सीमित रहने अनुमान छ ।
राष्ट्र बैङ्कका अनुसार मौद्रिक नीतिको कार्यान्वयनका लागि सरकारी नीतिहरूसँग सहकार्य गरिने छ । मुद्रास्फीति नियन्त्रण, रोजगारी सिर्जना, र आर्थिक वृद्धि सुनिश्चित गर्न नयाँ रणनीति लागु गरिने पनि राष्ट्र बैङ्कले जनाएको छ ।
समीक्षा प्रतिवेदनमा प्रस्तुत तथ्याङ्कले मुलुकको अर्थतन्त्र सुधारोन्मुख रहेको देखाए पनि चुनौतीहरूप्रति सतर्क रहनुपर्ने सङ्केत गरेको छ । निर्यातमा गिरावट, केही क्षेत्रमा उच्च मुद्रास्फीति, र निजी क्षेत्रको कर्जा वृद्धि लक्ष्यअनुसार हुन नसक्नुले अझै आर्थिक सुधारका लागि थप प्रयास आवश्यक रहेको देखिन्छ ।







































