एक हजार बढी पर्यटक मन्थलीमा रोकिए
मन्थली (रामेछाप), २९ असोजः सोलुखुम्बुको लुक्ला जान मन्थली आएका एक हजार बढी विदेशी पर्यटक दुई दिनदेखि रोकिएका छन् । काठमाडौँबाट मन्थलीसम्म सडकबाट आउने र मन्थलीबाट लुक्ला हवाईजहाजमा जान भनी आएका एक हजार तीन सय विदेशी पर्यटक लुक्लामा मौसम प्रतिकुल भएपछि रोकिएका हुन् ।
रोकिएका पर्यटकहरु कोही सडकबाट सोलुखुम्बु सदरमुकाम फाप्लुतर्फ लागेका छन् भने कोही हेलिकप्टरमार्फत सुर्के जान थालेका छन् । नागरिक उड्डयन प्राधिकरण कार्यालय मन्थलीका प्रमुख हिरोण शाहका अनुसार समिट, तारा र सीता एअरलाइन्समार्फत लुक्ला जाने तयारीमा रहेका विदेशी पर्यटक रोकिएका हुन् ।
मन्थलीबाट पर्यटकीय याममा दैनिक ५५ देखि ६० उडान हुने गरेको नागरिक उड्डयन प्राधिकरण मन्थलीका सूचना अधिकारी प्रज्वल गुरागाईंले जानकारी दिनुभयो । पर्यटकहरु शरद ऋतुका बेला सगरमाथा आधार शिविर पदयात्राका लागि जाने गर्दछन् ।
विचारः ‘जटिल डेङ्गु’ निम्त्याउन सक्ने पूर्वसङ्केतहरु
काठमाडौँ, २९ असोज : बिदाको दिन सामान्यतय म तरकारी किन्न तरकारी बजार जाने गर्दछु । अनि फर्कदा सार्बजनिक गाडीमा/बसमा फर्कने गर्दछु । केही दिनअगाडि मेरो ठीक पछाडिको सिटमा एक जोडी ज्वरो अनि टाउको/जीउ असाध्य दुखेको, खानामा अरुचि भएको भन्दै कुरा गर्दै थिए । अर्कोले भन्दै थियो सायद डेङ्गु पो हो कि ? भोलि चिकित्सकसँग परामर्श गरेर रगतको जाँच गराउनु पर्ला भन्दै बिरामीले भन्दै थिए । त्यस्तै अस्ति बिहानै कोठाको झ्यालबाहिर दुई व्यक्ति (सायद बिहानी हिँडाइमा थिए) ज्वरो अनि जीउ दुखेको भन्दै डेङ्गु लागेको शङ्का गर्दै थिए । यसबाट हाल समुदायमा डेङ्गु फैलिएको देखिन्छ ।
डेङ्गु सुरुवा रोग हैन तर यो लामखुट्टेको टोकाइबाट सर्ने र फैलने गर्छ । डेङ्गु लक्षणहरुका बारेमा चर्चा हुने गरेको देखिए तापनि अधिकांश सङ्क्रमितहरु लक्षण बोकेर नै आफ्नो कार्यक्षेत्रमा खटिरहेका पनि देखिन्छन् । कतिपय भने घरमा नै आराम गरेर स्वास्थलाभ गरिरहेका अवस्था छ । डेङ्गुका लक्षणहरुका बारेमा धेरै सुनेको र व्यापक प्रचार भएको पनि देखिन्छ तर जटिलता निम्त्याउन सक्ने सङ्केतहरुका बारेमा भने कमैलाई थाहा भएको देखिन्छ । सन् २०२२ मा अधिकांश डेङ्गुबाट मृत्यु भएकाहरु भर्ना हुँदा नै जटिल डेङ्गु लिएर आएका तथ्याङ्क देखिन्छ तर हामीले विगतमा देखिएका कमीकमजोरीबाट सिकेर आगामी दिनहरुमा डेङ्गुको मृत्युदरलाई घटाउने कोसिस गर्नुपर्दछ । यसर्थ डेङ्गु मृत्युदर वा जटिलता घटाउने एक मुख्य उपायमध्ये ‘जटिल डेङ्गु’ का पूर्वसङ्केतहरुका बारेमा थाहा पाउनु पनि आवश्यक छ ।
अधिकांश डेङ्गु सङ्क्रमितमा सुरुमा ‘फेब्राइल फेज’ देखिने गर्दछ । यसमा मुख्यतयाः टाउको दुख्ने, जीउ दुख्ने, जोर्नी वा मांसपेशीका दुख्ने र खाना खान पटक्कै मन नलाग्ने हुन्छ । त्यस्तै, ज्वरो आउने, आँखाको गेडी दुख्ने वा खस्लाजस्तो हुने, शरीरमा स–साना राता बिमिराहरु देखिने, पखाला लाग्नेजस्ता समस्या पनि देखिने गर्दछ । कतिपयलाई खोकी पनि लागेको देखिन्छ । तर खोकी डेङ्गुको कारणले हो वा फ्लू भाइरसले गर्दा हो भनेर छुट्याउने गरेको भने देखिँदैन । वास्तवमा हाल फ्लूको सिजन पनि हो भने कोभिडको सङ्क्रमण पनि सँगसँगै देखिएको छ । ‘फेब्राइल फेज’ औसतमा झन्डै आठदेखि १० दिनमा देखिने गर्दछ । ज्वरो घटेको २४ देखि ४८ घण्टा बिरामीमा ‘जटिल डेङ्गु’ देखिने सक्ने सम्भावना प्रबल रहन्छ ।
‘जटिल डेङ्गु’का पूर्वसङ्केतहरु के के हुन् त ?
तारन्तार बान्ता हुनु,
असाध्य पेट दुख्नु,
नाक वा गिजाबाट रगत बग्नु,
बेचैनी हुनु वा अत्यन्त कमजोर हुनु आदि ।
माथि उल्लिखित लक्षण वा सङ्केतहरु घरमा सङ्क्रमित भएर बसिरहेको बेला देखिन वा थाहा पाउन सकिन्छ । तसर्थ, यस्ता सङ्केतहरु देखिए तुरुन्त स्वस्थ केन्द्र वा अस्पतालमा जानुपर्दछ । अस्पतालमा जाँच गर्दा थप सङ्केतहरु देखिने गर्दछ । परीक्षणबाट कलेजो आकार बढेको वा सुन्निएको तथा छाती वा पेटमा पानी भए/नभएको थाहा हुन्छ । रगतको जाँच गर्दा प्लेटेलेट्स तीव्र गतिमा घट्नु र हेमाटोकृत बढेको देखन्छ । डेङ्गुको सङ्क्रमण भएको बिरामीलाई कमजोरी अनुभव हुन्छ । डेङ्गु लागेपछि रगतमा प्लेटलेट्सको सङ्ख्या तीव्र रुपमा घट्न थाल्छ । यस्तो अवस्थामा औषधिका साथसाथै खानपान र सही दिनचर्या आवश्यक हुन्छ ।
सन् २०२२ सालमा काठमाडौँमा देखिएको डेङ्गु प्रकोपले सबैभन्दा धेरै मानिसको ज्यान लिएको थियो । यो प्रकोपलाई कोभिड–१९ को घातक लहरहरुभन्दा खासै फरक महसुस नगरे वा तुलना गरिएको थियो । काठमाडौँका लागि सन् २०१९ पछिको दोस्रो ठूलो प्रकोप (धेरैलाई अस्पताल आउनुपर्ने बाध्यता गराएको कारण) थियो । अनि नेपालको इतिहासमा नै ‘घातक डेङ्गु’ वर्षका रुपमा मैले सन् २०२२ लाई लिएको थिएँ । यसमा विशेषतः ज्येष्ठ नागरिक अनि दीर्घरोगीहरु जस्तै उच्चरक्त चाप, मधुमेह र श्वास–प्रश्वासको सङ्क्रमण भएका व्यक्तिहरु बढी डेङ्गुको जटिलताबाट मृत्यु भएका थिए । मनसुनको समयमा डेङ्गु सँगसँगै देखिने अरू सङ्क्रामक रोगहरुले डेङ्गु लक्षणलाई थप जटिल बनाउन सहयोगी भूमिका खेल्ने विभिन्न अध्ययनहरुको नतिजाले देखाएको छ ।
नेपालमा डेङ्गु सँगसँगै चिकुनगुनिया भाइरस, स्क्रब टाइफस, फ्लूजस्ता थप सङ्क्रमणहरु फैलने गर्दछ । यसर्थ, ज्येष्ठ नागरिक, सह–सङ्क्रमित वा उच्च रक्तचाप, मधुमेह र श्वास–प्रश्वास (दीर्घ वा हालै सङ्क्रमित भएको अवस्था) समस्या भएका व्यक्तिहरूले ‘जटिल डेङ्गु’ का पूर्वसङ्केतलाई कुर्नै वा देखिनु नै पर्छ भन्ने छैन । यस्तो अवस्थामा चिकित्सकको निरन्तर सम्पर्कमा रही आफ्नो स्वास्थ अवस्थाका बारेमा जानकारी लिनु अति बुद्धिमानी हुनेछ । डेङ्गुबाट बच्नु भनेको यस्ता लामखुट्टेको टोकाइबाट बच्नु नै हो । किनभने यसको टोकाइ एवं सङ्क्रमण निकै घातक हुन सक्छ ।
दसैँ अगाडि डेङ्गुले गति लिँदै गइरहेको अवस्था थियो । दसैँलगत्तै अस्पतालमा जाँदा डेङ्गु पुष्टि भएका बिरामीहरुको सङ्ख्या अझ बढ्दै गइरहेको पाइएको छ । यसबाट दिनमा नै दर्जनौँ डेङ्गु भाइरस पुष्टि हुने क्रमले निरन्तरता पाइरहेको अवस्था देखिन्छ । हुन त काठमाडौँ मात्र नभई देशका विभिन्न ठाउँहरुमा डेङ्गुले व्यापक प्रभाव पारेको जानकारीहरु आउने क्रम जारी छ । डेङ्गुको यो रफ्तारमा सम्भवतः तत्काल रोकिने सम्भावाना अत्यन्त न्यून देखिन्छ ।
चाखलाग्दो कुरा के छभने अधिकांश डेङ्गु सङ्क्रमितहरु लक्षण लिएर घरघरमा बसिरहेको वा कार्यक्षेत्रमा निरन्तर खटिरहेका देखिन्छन् । अझ भनौँ धेरै मानिस ‘वाकिङ डेङ्गु’को अवस्थामा रहेको देखिन्छ । ‘वाकिङ डेङ्गु’ भन्नाले डेङ्गु सङ्क्रमित भई निरन्तर आफ्नो दैनिकीलाई निरन्तरता दिइरहेको अवस्थालाई भन्न खोजेको हो । चाडपर्वमा मान्छेहरु यसको लक्षणलाई नजरअन्दाज गर्दै आउजाउ, भेटघाट गरिरहेका छन् । किनभने डेङ्गुको सामान्य लक्षण आम समस्यासँग मिल्दोजुल्दो हुन्छ । यस्तो अवस्थामा मान्छेहरु सामान्य समस्या ठानेर आफूखुसी औषधिसमेत खाँदै हिँड्डुल गरिरहेका हुन्छन् । जब समस्या जटिल बन्दैन, तबसम्म उनीहरु अस्पताल पुग्दैनन् ।
अधिकांशलाई डेङ्गुको लक्षण देखिएको ८–१० दिनमा स्वास्थ्यमा सुधारोन्मुख देखिन्छ भने केहीमा डेङ्गुले जटिल अवस्था सिर्जना गर्न सक्दछ । तसर्थ ‘जटिल डेङ्गु’ का पूर्वसङ्केतहरु सङ्क्रमितले थाहा पाउन अति आवश्यक देखिन्छ र सो देखिए तुरुन्त चिकित्सकसँग सम्पर्क गर्न सक्छन् । हाल डेङ्गु सङ्क्रमणको लहर रोक्न विभिन्न कारणले गर्दा चुनौती रहेको भए तापनि ‘जटिल डेङ्गु’ का पूर्वसङ्केतलाई ध्यान दिनसक्ने हो भने डेङ्गुबाट हुनसक्ने मृत्युदरलाई उल्लेखनीय सङ्ख्यामा कम गर्न सकिन्छ । हालसम्म रेडियो, टेलिभिजन, पत्रपत्रिका तथा सामाजिक सञ्जालहरुमा डेङ्गु के हो, कसरी सर्छ र यसका लक्षणहरुका बारेमा जानकारीहरु दिने गरेको देखिए तापनि अबको प्रचारप्रसार तथा जानकारीहरु ‘जटिल डेङ्गु’ का पूर्वसङ्केतका बारेमा केन्द्रित हुनुपर्ने देखिन्छ । यसबाट डेङ्गुबाट हुने मृत्युदरलाई उल्लेखनीय रुपमा कम गर्न सकिनेछ । यो नै अहिलेको प्रमुख आवश्यकता र सघन माग पनि हो ।
(लेखक शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक हुनुहुन्छ)
खरबारी फाँडेर केराखेती, वार्षिक दुई करोड आम्दानी
गलेश्वर (म्याग्दी), २९ असोजः पूर्वउत्तर मोहोडा गरेको भिरालो जमिन । शिरानमा ऐतिहासिक ज्यामरुककोट र पुछारमा कलकल बगेको कालीगण्डी । बिचमा बेनी नगरपालिका – २ को खबरा गाउँ । केही वर्ष अघिसम्म खर र सिरुघारीले ढाकिएको यो गाउँ अहिले केरा बगँैचाले मनोहर छ ।
करिब एक सय ५० घरपरिवारको बस्ती रहेको यो गाउँको मुख्य आम्दानी अहिले केराखेती बनेको छ । यहाँ बसोबास गर्ने प्रत्येक परिवारले पाखोबारी,खरबारी र अन्न उत्पादन हुने जग्गामा व्यावसायिक रुपमा केराखेती गरेका स्थानीय कृषक नारायण सापकोटा बताउनुहुन्छ । गाउँभर केराखेती गरिएको छ । केरा बिक्री गरेर वार्षिक रु दुई करोड बढी रकम भित्रिने गरेको उहाँ बताउनुहुन्छ ।
विसं २०५७ मा खबरामा पहिलोपटक केराखेतीको थालिएको स्थानीय जगत् घिमिरे बताउनुहुन्छ । पोखराबाट हजारी जातको केराका तीनवटा बिरुवा ल्याएर खबरामा लगाउनुभएसँगै व्यावसायिक रूपमा केराखेती प्रारम्भ भएको हो । “खबरामा केरा खेतीको सुरुवात भएको २७ वर्ष भयो । तीनवटा केराका बिरुवा लगाएर सुरु भएको केराखेती अहिले पाँच सय रोपनी भन्दा बढी जग्गामा फैलिएको छ । गाउँको नाम नै परिवर्तन भएर ‘खबरा’ बाट ‘केरा गाउँ’ भनेर चिनिन थालेको छ ।”
खबराका तेजेन्द्रबहादुर कार्कीले २३ रोपनी बाँझो जमिनमा केराखेती गर्नुभएको छ । वर्षौंदेखि बाँझो रहेको जमिनलाई उपयोगमा ल्याउने अभियानमा लागेका कृषक कार्कीले भिरालो र खोल्साखोल्सीको झाडी फँडानी गरी धमाधम केरा लगाउनु हुन्छ । कृषक कार्कीले केरा बिक्री गरेर वार्षिक रु सात लाखसम्म आम्दानी हुने गरेको राससलाई बताउनुभयो ।
“भिरालो जमिनमा मल, जल नअडिने, बाली लगाउन समस्या भएर बारीहरू बाँझै छाड्ने गरेका थियौँ तर, केही वर्षयता सोही जमिनलाई उपयोग गरेर केराखेती सुरु गरेपछि अहिले गाउँ नै केराखेतीले भरिएको छ । केराको हरियालीले गाउँ आकर्षक देखिएको छ भने स्थानीयको आम्दानीको मुख्य स्रोत पनि केराखेती नै बनेको छ” कृषक कार्कीले भन्नुभयो ।
स्थानीय यामबहादुर घिमिरे, जगत् घिमिरे, प्रेम कुँवर, चन्द्रबहादुर कार्की, शोभित शर्मा, तेजेन्द्र कार्कीलगायत २० जना कृषकले व्यावसायिक रूपमा केराखेती गर्नुभएको छ । केरा खेती फस्टाउँदै मुख्य आम्दानीको स्रोत बन्न थालेपछि स्थानीय अन्य अन्नबालीलाई विस्तार घटाउँदै केराखेतीमै केन्द्रित हुन थालेको कृषक कार्कीको भनाइ छ । “बाँझो जमिनमा केरा नलगाएको घर नै छैन,” अर्का कृषक जगत्बहादुर घिमिरेले भन्नुभयो ।
खबराका किसानले केरा बिक्री गरेर वार्षिक रूपमा न्यूनतम रु ३० हजारदेखि रु १० लाखम्म आम्दानी गर्दै आएका बेनी नगरपालिका–२ का वडाअध्यक्ष यामबहादुर कार्कीले बताउनुभयो । अनुकूल हावापानी, उपयुक्त वातावरण, बजारको सुविधा र पर्याप्त आम्दानी हुने भएकाले व्यावसायिक केराखेतीतर्फ यहाँका किसानहरुको आकर्षण बढेको उहाँ बताउनुहुन्छ । खबरामा बाइस नङ्ग्रे, मालढुङ्गे, ध्रुसे, चिनीलगायत प्रजातिका केराखेती हुने गरेको छ ।
सुनको मूल्य उच्च भएपछि गहनाप्रतिको मोह घट्यो
कैलाली (टीकापुर), २९ असोजः विगतमा शिरदेखि पाउसम्म सुन चादीका गहना लगाउन मन पराउने महिला आजभोलि चाडपर्व तथा उत्सवमा एकसेट मात्र गहनामा सजिन थालेका छन् । सुनको मूल्य उच्च भएपछि महिलाको गहनाप्रतिको मोह घटेको हो ।
टीकापुरकी विष्णा जैसीका रानीहारदेखि सबैखाले गहना छन् । हरेक वर्ष गरेर १० तोला सुन जोडेकी उहाँले आजभोलि खासै गहना लगाउनुहुँदैन । “विगतमा सबैले लगाउँथे, जसले धेरै गहना लगायो उसको इज्जत बढेको जस्तो लाग्यो”, उहाँले भन्नुभयो, “तर आजभोलि त्यस्तो छैन, गहना भएका र नभएका दिदीबहिनी उस्तै देखिन्छन् ।”
घरमा सुरक्षा नभएर भएका गहना पनि अधिकांश महिलाले बैंकको लकरमा गहना राखेका छन् । अधिकांश महिला बजारमा पाइने नक्कली गहनामा सजिने गरेका छन् । एकपटक लगाएको गहना तथा पहिरन फोटो, भिडियो खिचेर सामाजिक सञ्जालमा हालिसकेपछि पुनःलगाउन लगाउन नचाहेर पनि गहना मोह घटेको हुनसक्ने बताइन्छ ।
जोशीपुरकी सविना श्रेष्ठलाई गहना लगाउन असाध्यै मनपर्छ । हरेक पर्वमा गहनामा सजिन मन पराउने सविनालाई आजभोलि सामाजिक सञ्जालले गाह्रो भएको छ । एकपटक लगाएको गहनाको फोटो खिचिसकेको र फेसबुक, टिकटकमा हालिसकेपछि अर्को पटक लगाउन मन लाग्दैन । “गहना जस्तो कुरा पटकपटक किन्न सकिन्न, सुनको मूल्य डेढ लाख बढी पुगेको छ”, उहाँले भन्नुभयो, “त्यसैले बजारमा पाइने नक्कली गहना किन्यो, लगायो सहज भएको छ ।”
गहना धेरै लगाउँदा सुरक्षा जोखिमसँगै नहुने महिलाले असमानता महसुस गर्छन् । सबै समान देखिएमा समाजमा पनि शान्ति स्थापना हुन्छ । शिक्षक रुपा साउँद गहना सम्पत्ति भए पनि गहनाले सुरक्षा चुनौती बढाउने बताउनुहुन्छ । “गहना धेरै लगाउनु खासै राम्रो पनि होइन, महिलाले सामान्य एकसरो गहना लगाएको राम्रो देखिन्छ, त्यसले अन्यलाई समस्या पनि हुँदैन”, उहाँ भन्नुहुन्छ, “तडकभडक नगरेको राम्रो हो । तर पछिल्लो समय हरेक पर्व नयाँ पहिरन लगाउने चलनले पनि खर्च बढाएको छ । खर्च कसरी कम गर्ने भन्नेबारेमा ध्यान दिनुपर्छ ।”
सुनचाँदी व्यवसायी प्रविण साहु विगतमा जस्तो सुनचादीको कारोबार नरहेको बताउनुहुन्छ । “सुनको मूल्य बढेकाले पनि व्यवसायमा असर परेको छ । अर्कोतर्फ गहना अत्यावश्यक भएकाले मात्र लगाउने गर्नाले मर्मतको काम पनि घटेको छ”, उहाँले भन्नुभयो, “सुनचाँदी व्यवसायमा ५० प्रतिशत गिरावट आएको छ ।”
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ, २९ असोजः नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २० पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ । पछिल्लो तीन दिनयता अमेरिकी डलरस्थिर रहेको छ ।
आइतबार पनि अमेरिकी डलरको मूल्य समान थियो । अमेरिकी डलर, जापानी येन, युएई दिराम र हङकङ डलरको मूल्यमा भने आइतबार र सोमबार कुनै परिवर्तन भएन अर्थात समान मूल्य रहेको छ ।
युरोपियन युरो एकको खरिददर एक सय ४६ रुपैयाँ ४९ पैसा र बिक्रीदर एक सय ४७ रुपैयाँ १४ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ०८ पैसा र बिक्रीदर एक सय ४७ रुपैयाँ १४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५५ रुपैयाँ ६५ पैसा र बिक्रीदर एक सय ५६ रुपैयाँ ३४ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ १२ पैसा र बिक्रीदर ९० रुपैयाँ ५२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ २८ पैसा र बिक्रीदर ९७ रुपैयाँ ७१ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपैयाँ ६३ पैसा र बिक्रीदर एक सय तीन रुपैयाँ ९ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिददर आठ रुपैयाँ ९७ पैसा र बिक्रीदर नौ रुपैयाँ १ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९४ पैसा र बिक्रीदर १९ रुपैयाँ ०३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९७ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ३ पैसा र बिक्रीदर चार रुपैयाँ ५ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ २५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३९ पैसा कायम छ ।
साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ८७ पैसा र बिक्रीदर नौ रुपैयाँ ९१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ८७ पैसा र बिक्रीदर १२ रुपैयाँ ९३ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ६३ पैसा र बिक्रीदर १९ रुपैयाँ ७२ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ २ड पैसा र बिक्रीदर १७ रुपैयाँ ३६ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ४९ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ४९ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ ९७ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ ५६ पैसा तोकेको छ ।
भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।
वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
चिसो बढ्दै, आवश्यक सतर्कता अपनाउन अनुरोध
काठमाडौँ, २९ असोजः देशमा अहिले मनसुन बाहिरिएर ‘पोस्ट’ मनसुन चलिरहेको छ । सँगसँगै पछिल्ला दिनमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले मुलुकका कतिपय स्थानमा बदली र वर्षा भइरहेको छ । मनसुन सकिएर पोष्ट मनसुन चलिरहेकाले क्रमशः चिसो बढ्दै गएको मौसमविदले बताएका छन् । यही असोज ११ र १२ गतेको अविरल वर्षापछि मौसम सुधार आएको छ ।
गत असोज २७ गते नेपालबाट मनसुन पूर्ण रुपमा बाहिरिएको थियो । खुला आकाश भएकाले दिउँसो घाम लागेपनि साँझ र बिहान निकै चिसो महसुस गरिएको छ । सङ्घीय राजधानी काठमाडौँ उपत्यकामा पछिल्लो एकसातामा चिसो क्रमिक रुपमा बढिरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद् सञ्जिव अधिकारीका अनुसार यही असोज १५ गते काठमाडौँको न्यूनतम तापक्रम २० डिग्रिसेल्सियस हाराहारी रहेकामा त्यसको एकसातापछि अर्थात हिजो र आज न्यूनतम तापक्रम १६ डिग्री हाराहारी कामय रहेको छ । “काठमाडौँमा चिसो निरन्तर रुपमा बढिरहेको छ”, मौसमविद अधिकारीले भन्नुभयो, “पछिल्लो १५ दिनमा तापक्रम विस्तारै घट्दै गइरहेको छ ।”
महाशाखाको विवरणमा आइतबार काठमाडौँको न्यूनतम तापक्रम १४ दशमलव ७ डिग्रिसेल्सिय पुगेको थियो । सोमबार १६ डिग्रिसेल्सियस छ । काठमाडौँसहित देशका अधिकांश स्थानमा ह्वात्तै तापक्रम घटेको छ । मौसमविद् अधिकारीले दुई सातामा ५ डिग्री तापक्रम घट्नुले चिसो बढाएको देखिएको उहाँको भनाइ छ । पोस्ट मनसुनपछि चिसो मौसम सुरु हुने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी वायुको प्रभाव सामान्य र कोशी प्रदेश, मधेस र बाग्मती प्रदेशमा आंशिक प्रभाव पर्नुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।
आज दिउँसो कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । तीनवटै प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ । रातिको समयमा पनि कोशी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
तीन महिनामा ६ गैँडा मरे
चितवन, २८ असोज : चितवन राष्ट्रिय निकुञ्जमा तीन महिनामा ६ गैँडा मृत भेटिएका छन् । साउन महिनायता ती गैँडा मृत भेटिएका हुन् ।
एउटा गैँडा करेन्ट लगाएर मारिएको हो भने दुई गैँडा अन्य कारणले मरेका हुन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आर्थिक वर्ष २०८०/८१ मा २१ वटा गैँडा मरेका थिए । जसमध्ये १८ गैँडा प्राकृतिक कारणले, दुई चोरी शिकारीले तथा एउटा गैँडा मृत्युको कारण खुल्न नसकेको उहाँले बताउनुभयो ।
पछिल्लो गणनाअनुसार नेपालमा एकसिङ्गे गैँडाको सङ्ख्या सात सय ५२ रहेको छ । चितवन राष्ट्रिय निकुञ्जमा मात्रै छ सय ९४ गैँडा रहेका छन् ।
भेडेटारको कोसेली हरियो सागसब्जी
धरान (सुनसरी), २८ असोज : धनकुटाको भेडेटारका प्रत्येक पसलहरुमा हरियो सागसब्जी र फलफूलहरु बिक्रीका लागि राखिएका छन् । जहाँ धनकुटा राजारानी, नाम्जे, थुम्की, मुलघाट, डाँडाबजारलगायतका पहाडी भेगमा उत्पादन हुने ‘अग्र्यानिक’ उत्पादन पाइन्छ ।
अहिले दसैँ मनाउन आउने र फर्कनेको भीड छ । यहाँ आइपुग्ने यात्रुहरुले कोसेलीका रूपमा भेडेटारको हरियो सागसब्जी किन्ने गरेका छन् । ग्राहकको भीड नै लागेपछि व्यापारीलाई बिक्री गर्न भ्याइनभ्याइ छ ।
धनकुटाका मनिसा कुँवर भेडेटारमा सागसब्जी किन्दै गर्दा भेटिनुभयो । उहाँ धनकुटाबाट इटहरी टीका लगाउन जाँदै गर्नुभएको रहेछ । उहाँको हातभरि हरियो साग, सिमी र किबी थियो । “इटहरी माइत टीका लगाउन हिँडेको ताजा सब्जी, फलफूल देखेपछि किन्न मन लाग्यो । पहाडी भेगको अग्र्यानिक सागसब्जी मधेसमा लाँदा त चीज हुन्छ, दसैँको बेला त कोसेली पो हुन्छ”, मुसुक्क हाँस्दै उहाँले भन्नुभयो ।
दसैँतिहारमा मात्र भेडेटारमा हरियो र अग्र्यानिक सागसब्जी बिक्री हुने भने हैन । पहाडी भेगबाट सिजनअनुसार सागसब्जी र फलफूल बिक्रीका लागि यहाँ आइरहने व्यापारी कोपिला राई बताउनुहुन्छ । उहाँले भन्नुभयो, “यहाँ भ्रमणमा आएका अधिकांशले फर्कने समयमा सागसब्जी कोसेलीका रुपमा लैजाने गर्नुहुन्छ । दसैँमा चाहीँ अन्य बेला भन्दा कोसेलीका लागि किन्नेको भीड अलि धेरै हुन्छ ।”
व्यापारी विक्रम मगर अघिपछि भन्दा दसैँ लागेपछि ग्राहकको भीड बढेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “अघिपछि सागसब्जी खरिद गर्छन् लैजान्छन्, कहाँको हो कसैले सोधपुछ गर्दैनन्, यहाँ सबै पहाडी भेगबाट सागसब्जी अग्र्यानिक र ताजा आउने गरेकाले दसैँको बेला पनि सागसब्जी किन्नेको भीड लागेको छ ।” दसैँ सुरु भएयता रु दुई लाख बढीको सागसब्जी र किबी बिक्री गरेको मगरले बताउनुभयो ।
मगरकाअनुसार यहाँ धनकुटा, नाम्जे, राजारानी मूलघाट, भोजपुरलगायतका ठाउँबाट हरियो सागसब्जी, अकबरे खोर्सानी, किबी टमाटर र आलु ल्याइने गरिन्छ । पहाडी भेगमा उत्पादित सागसब्जी स्वादिष्ट हुने भएकाले महँगो भए पनि खरिद गरेर लैजाने गरेका स्थानीय सुरज राई बताउनुहुन्छ ।
अवरुद्ध सडक खण्ड खुलेपछि पाथीभरामा तीर्थयात्रीको चहलपहल
फुुङ्लिङ(ताप्लेजुङ), २८ असोजः सडक अवरुद्धका कारणले सुनसान जस्तै भएको पाथीभरा पछिल्लो समयमा तीर्थयात्रीको सङ्ख्य बढ्दै गएको छ । सडक मर्मत गरी सुचारु भएसँगै पाथीभरामा आउने तीर्थयात्रीको सङ्ख्या वृद्धि हँुदै गएको हो ।
ताप्लेजुङको पाथीभरा मन्दिरसम्मको सडक अस्थायी रूपमा सुचारु भएपछि स्थानीय होटल व्यवसायी र यातायात व्यवसायीसमेत उत्साहित भएका छन् । लगातारको वर्षाका कारण अवरुद्ध रहेको मेची राजमार्ग, तमोर करिडोर, र पाँचथर सडक खण्ड खुल्नासाथ तीर्थालुको चहलपहलमा वृद्धि भएको छ ।
सोमबार मात्र करिब चार सय तीर्थालु मन्दिरमा पुगेको पाथीभरा मन्दिरका कर्मचारी राजेन्द्र महतले बताउनुभयो । स्थानीय होटल व्यवसायीका अनुसार माथिल्लो फेदी क्षेत्रमा रहेका होटलमा तीर्थालुबाट बसोबास र खानाको लागि बुकिङ भइरहेको छ । दसँैंको अन्तिम समयमा सडक सुचारु भएपछि स्थानीय व्यवसायीले तीर्थालुको आगमनलाई स्वागत गर्दै उहाँहरूको सुविधाका लागि तयारी गरिरहेका छन् ।
लगातारको वर्षाका कारण यही असोज १२ देखि विभिन्न खण्डमा यातायात ठप्प भएको थियो । हेंवाखोलामा बेलिब्रिज बगाएपछि पाँचथर र ताप्लेजुङबीचको सिधा आवागमन बन्द भएको थियो भने तमोर करिडोरको नावाखोलामा पनि पानीको सहत बढेपछि यातायात सञ्चालन असहज बनेको थियो ।
रमिते र राजदुवाली खण्डमा पहिरोले सडक बगाएपछि यातायात पुनःसञ्चालनमा कठिनाइ आएको थियो । हाल अस्थायी रूपमा डाइभर्सन बनाइ सवारी आवागमन सुरु भएपछि यातायात र व्यापार–व्यवसायले गति लिन थालेको छ । नवरात्रको समयमा सडक अवरुद्ध हुँदा पाथीभरा मन्दिरमा दर्शनार्थीको सङ्ख्या घटेको थियो । सडक सुचारु भएपछि स्थानीय व्यवसायीले तीर्थालुको आगमन सुरुभएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।
आन्तरिक पर्यटकको गन्तव्य बन्दै ‘सुतैया ताल’
खजुरा (बाँके), २८ असोजः बाँकेको वैजनाथ गाउँपालिका–३ स्थित ‘सुतैया ताल’ आन्तरिक पर्यटकका लागि नयाँ गन्तव्य बन्न थालेको छ ।
कोहलपुर बजारबाट करिब छ किलोमिटर उत्तरतर्फ सुर्खेत जाने बाटोमा रत्न राजमार्गको छेउमा रहेको ‘सुतैया ताल’ प्राकृतिक रूपले अति नै रमणीय भएकाले पिकनिक, वन्यजन्तु अवलोकन र वनजङ्गलको आनन्द लिनेका लागि आकर्षणको केन्द्र बन्दै गएको हो ।
करिब सात हेक्टर क्षेत्रफलमा फैलिएको ताललाई स्थानीय देउराली जनआश्रित मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहले एक दशकदेखि संरक्षण र संवर्द्धन गर्दै आएको छ । समूहका पूर्वअध्यक्ष महेन्द्र थारुले केही समययता आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको बताउनुभयो । “बाँके राष्ट्रिय निकुञ्जको काखमा रहेको यो ताल प्राकृतिक रूपले जति रमणीय छ, वन्यजन्तु अवलोकन गर्नका लागि पनि त्यत्तिकै महत्वपूर्ण छ”,उहाँले भन्नुभयो, “ताल संरक्षण गर्न थालेपछि यहाँ वन्यजन्तु पानी खान आउन थालेका छन् । यहाँ पाटेबाघ, चित्तल, बँदेललगायत थुप्रै वन्यजन्तु देखिन थालेका छन् । जसले धेरैलाई लोभ्याउने गरेको छ ।”
पूर्वअध्यक्ष थारुले ताल संरक्षणसँगै यसबाट आम्दानी बढाउने खालका पर्यटनसम्बन्धी गतिविधि गर्न सकिने प्रशस्त सम्भावना भए पनि लगानीका लागि स्रोत नहुँदा सो कार्य हुन नसकेको बताउनुभयो ।
वैजनाथ गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले ताललाई प्रमुख पर्यटकीय क्षेत्र बनाउन आफूहरू निकै गम्भीर रहेको र त्यसका लागि हरेक वर्ष केही न केही बजेट छुट्याए पनि प्रयाप्त नभएको बताउनुभयो । पालिकाले ताल संरक्षणका लागि वरिपरि ड्याम निर्माण गर्ने योजना अघि बढाएको र थप पूर्वाधार निर्माणका लागि प्रदेश तथा सङ्घीय सरकारले पनि सहयोग गर्न आवश्यक रहेको उहाँको भनाइ छ । “यो ताल संरक्षण र पर्यटकीय पूर्वाधार निर्माण गर्न सकेमा आन्तरिक आम्दानीको स्रोत पनि बन्थ्यो तर हामीसँग आर्थिक स्रोत नभएकाले ठूलो लगानी गर्न सकेका छैनौँ । यसमा प्रदेश तथा सङ्घीय सरकारले सहयोग गरेमा धेरै सहज हुन्थ्यो । अब त्यसका लागि पहल गर्छौं”, अध्यक्ष शाहीले भन्नुभयो ।


















































































