बिहिबार, २१ साउन २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01HVNGRH5JVV8545AJHCD1PQZ4.jpg

अभिभावकको प्रयासमा सुधारिएको सामुदायिक विद्यालय

धरान, ५ वैशाख I सरकारको मात्र मुख नताकी विद्यालय आफ्नै प्रयासमा पनि सुधार गरी अभिभावक र विद्यार्थी आकर्षित हुन्छन् भन्ने उदाहरण बनेको छ, धरान उपमहानगरपालिका-१२ स्थित ‘पब्लिक हाइस्कुल’ । धरानकै अन्य विद्यालयमा विद्यार्थीको सङ्ख्या घटिरहेका बेला पब्लिकमा भने बर्सेनि विद्यार्थी बढेका बढ्यै छन् । विद्यार्थीको चाप अत्यधिक भएपछि विद्यालयले हरेक वर्ष प्रवेश परीक्षाबाट छनोट गरेर क्षमता अनुसारका मात्र विद्यार्थी भर्ना गर्ने गरेको छ । 


नयाँ शैक्षिकसत्रमा भर्ना हुने विद्यार्थीको सङ्ख्या दोब्बर भन्दा बढी भएपछि विद्यालयमा मङ्गलवार प्रवेश परीक्षा सञ्चालन भयो । विद्यालयले नर्सरी देखि कक्षा ९ सम्म जम्मा तीन सय १४ विद्यार्थीका लागि भर्ना आह्वान गरेकोमा प्रवेश परीक्षामा सात सय १२ जना सहभागी भएको विद्यालयका संयोजक वीरेन्द्र बहादुर साहले जानकारी दिनुभयो । मङ्गलवार पब्लिक हाइस्कुलमा आफ्ना सन्तानलाई प्रवेश परीक्षाका लागि ल्याउनेमा इटहरी स्थित सिबी कलेजमा प्रिन्सिपल सागर भट्टराई पनि एक हुनुहुन्थ्यो । उहाँले पब्लिकमा पढाइ राम्रो भएकाले छोरालाई भर्ना गराउन चाहेको बताउनुभयो । उहाँले भन्नुभयो, “पहिला आफूले पढाएका धेरै विद्यार्थी अहिले यही विद्यालयमा शिक्षक छन्, उनीहरू प्रतिको विश्वासले पनि दिल्ली पब्लिक स्कुलबाट छोरालाई यहाँ ल्याउन चाहेको हुँ ।” 


धरानका सुदर्शन श्रेष्ठले पनि निजी विद्यालयमा पढिरहेका छोरालाई पब्लिकमा प्रवेश परीक्षाका लागि ल्याउनुभएको थियो । उहाँले सो विद्यालयमा पढाइरहेका अन्य अभिभावकले पढाइ राम्रो रहेको बताएपछि आफूले पनि ल्याउन चाहेको जानकारी दिनुभयो । अभिभावक प्रविना लिम्बुले सामुदायिक विद्यालय भएपनि पब्लिकमा गाडी र अन्य धेरै सुविधा पनि भएकाले आफू आकर्षित भएको बताउनुभयो । त्यस्तै राधिका कार्कीले पनि विभिन्न विषयको पढाइ हुने जानकारी पाएर यही विद्यालयमा भर्ना गर्न चाहेको बताउनुभयो । 


विद्यालयका शिक्षक–अभिभावक सङ्घ अध्यक्ष राजेन्द्र किरातीले विद्यालयले अभिभावकसँग पटक–पटक छलफल र सहकार्य गरेर पठनपाठनमा सुधार गर्दै लगेका कारण अभिभावकहरूको आकर्षण बढेको बताउनु भयो । उहाँ भन्नुहुन्छ, “पहिला यो विद्यालय पनि अन्य सामुदायिक विद्यालय भन्दा फरक थिएन तर जब विद्यालयले अभिभावकसँग समस्या राखेर समाधानको बाटो खोज्यो त्यसपछि अभिभावककै सहयोगमा विद्यालय चलीरहेको छ । हामी अभिभावक पनि खुसी छौँ ।” विद्यालयले विद्यार्थीका अभिभावकसँग आर्थिक सहयोग जुटाएर विभिन्न सुविधा थप गरिरहेको छ । पब्लिकसँग हाल छ वटा विद्यालय बस छन् । ल्याब, पुस्तकालय तथा मन्टेश्वरी कक्षा पनि सञ्चालन छ । 


विद्यालयका प्रधानाध्यापक डा इन्द्रमोहन झा अभिभावकको सहयोगकै भरमा विद्यालयको स्वरूप परिवर्तन भएको बताउनुहुन्छ । उहाँका अनुसार विद्यालयमा शिक्षक र कर्मचारी गरेर हाल एक सय ९२ जना कार्यरत हुनुहुन्छ । त्यसमध्ये जम्मा ४० जनाको मात्र सरकारले तलब दिन्छ । बाँकीलाई अभिभावकसँग सहयोग जुटाएर तलबको व्यवस्थापन गरिएको छ । उहाँ भन्नुहुन्छ, “दश वर्ष अघिसम्म यो विद्यालय पनि अरू सामुदायिक विद्यालयभन्दा फरक थिएन । गुणस्तर कमजोर थियो । हामीले अभिभावक र सरोकारवालासँग छलफल गरेर सुधारको प्रयास गर्दा अभिभावकले सहयोग गर्नुभयो । अहिले त्यसैको भरमा चलेका छौँ ।” विद्यालयमा नर्सरी देखि कक्षा १२ सम्म जम्मा तीन हजार पाँच सय हाराहारी विद्यार्थी छन् ।


यो विद्यालयलाई सरकारले नमुना विद्यालयका रूपमा समेत छनोट गरेको छ । यस पटक बाट सरकारले विज्ञान पठनपाठनका लागि कार्यक्रम सञ्चालन गर्न पब्लिकलाई पनि छनोट गरेको छ । विद्यालयमा हाल इलेक्ट्रिकल इन्जिनियरिङ, कम्प्युटर साइन्स, कम्प्युटर म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, ब्युटिसियन कक्षा समेत सञ्चालन भइरहेका छन् । हाल नर्सरीदेखि ९ कक्षासम्म अंग्रेजी माध्यम र १० देखि १२ सम्म नेपाली र अङ्ग्रेजी दुवै माध्यमबाट पठनपाठन भइरहेको प्रधानाध्यापक डा झाले बताउनुभयो । 


सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घको कोशी प्रदेश समिति सचिव तथा पब्लिक हाइस्कुल विद्यालय व्यवस्थापन समिति अध्यक्ष हरिबहादुर कार्की विद्यालय र अभिभावककै पहलमा शैक्षिक वातावरण सुधार गरिएका सामुदायिक विद्यालयहरूमा आकर्षण बढेको बताउनुहुन्छ । सरकारले निःशुल्क शिक्षा घोषणा गरेपनि सबै विद्यालयहरूलाई पूर्वाधारयुक्त बनाउन नसक्दा धेरैमा समस्या रहेको उहाँको गुनासो छ । उहाँ भन्नुुहुन्छ, “अहिले विद्यालय र अभिभावकको सहकार्य भएका सामुदायिक विद्यालयहरूमा पठनपाठन राम्रो छ तर सरकारको मात्र भर परेर बसेका विद्यालयहरूमा विद्यार्थी सङ्ख्या घटिरहेका छन् । यस विषयमा सरकारले बेलैमा ध्यान दिनु जरुरी छ ।”

प्रकाशित मितिः बुधबार, ०५ वैशाख २०८१
https://jawaaf.com/storage/01HVKFPZDS9RDHZA0TVZZCP54A.jpg

वैशाख २९ देखि दोस्रो अल्फा विटा ओपन बास्केटबल हुने

धरान बास्केटबल संघको आयोजना तथा धरान उपमहानगरपालिकाको संयोजनमा दोस्रो अल्फा बिटा ओपन महिला पुरुष बास्केटबल प्रतियोगिता हुने भएको छ सुनसरी बास्केटबल संघको प्राविधिक सहयोगमा यही वैशाख २९ गते देखि सुरु हुन लागेको प्रतियोगितामा पुरुष तर्फ १२ र महिला तर्फ ८ टिमले सहभागिता जनाउने मङ्गलवार पत्रकार सम्मेलनको आयोजना गरि आयोजकले जानकारी गराए ।


प्रतियोगितामा पुरुष तर्फका विजेताले नगद ५० हजार, उपविजेताले नगद २५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । महिला तर्फका विजेताले नगद २० हजार र उपविजेताले नगद १० हजार ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यसै गरि व्यक्तिगत विद्या तर्फ प्रतियोगिताको मस्ट भ्यालुएवल प्लेयर उपाधि विजेताले पुरुष तर्फ नगद १० हजार र महिला तर्फ नगद ५ हजार, ट्रफि, प्रमाणपत्र र अल्फा बिटा निःशुल्क छात्रवृत प्राप्त गर्नेछ ।

Advertisement

प्रतियोगिताको राइजिङ प्लेयरको पुरुष तर्फका उपाधि विजेताले नगद ५ हजार र महिला तर्फका विजेताले नगद २ हजार ५ सय रुपैयाँ, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल म्याच अघि प्रकाश पौडेल थी्र पोइन्ट कम्पिटिसन हुने भएको छ । खेलाडीहरूको हौसला बढाउन पूर्व बास्केटबल खेलाडी तथा चर्चित गायक प्रकाश पौडेलको प्रायोजनमा थी्र पइन्ट कम्पिटिसन हुन लागेका हुन ।


थी्र पइन्ट कम्पिटिसनका महिला र पुरुष विजेताले जनही ५ हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको सम्पूर्ण खेल धरान १६ स्थित धरान रङ्गशाला इन्डोर बास्केटबल कोर्टमा सम्पन्न हुनेछ । प्रतियोगितामा धरान, भापा, मोरङ, इलाम, उदयपुर, धनकुटा लगायत जिल्ला वाट सहभागिता जनाउने छ । प्रतियोगितामा  धरान २ स्थित अल्फा बिटा कोयला एजुकेशन कन्सलटेन्ट मुख्य प्रायोजकको रूपमा रहेको छ । अल्फा बिटाले स्वदेशी तथा वैदेशिक अध्ययनका लागि परामर्श गर्नुका साथै अध्ययनका लागि तयारी कक्षा सञ्चालन गर्दछ ।  

Advertisement

सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुवेदिको अध्यक्षतामा अल्फा बिटाको सभा हलमा सम्पन्न पत्रकार सम्मेलनमा नेपाल बास्केटबल संघका केन्द्रीय सदस्य रोशन राई, सुनसरी बास्केटवलका उपाध्यक्ष तथा धरान १० न. वडाका वडाध्यक्ष विवेक राई, अल्फा बिटाका प्रोप्राइटर सन्जिव बान्तावा, अग्रज पत्रकार हर्ष सुब्बा लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मितिः मङ्गलबार, ०४ वैशाख २०८१
https://jawaaf.com/storage/01HV986RG720P5T0GXTZHQYAVR.jpg

इलाममा आजदेखि अन्तु पर्यटन महोत्सव

इलाम, अन्तुलाई पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यले सूर्योदय नगरपालिका–४ स्थित अन्तुमा आजदेखि ‘अन्तु पर्यटन महोत्सव’ आयोजना हुँदैछ । सूर्योदय नगरपालिकाको आयोजनामा दुई दिने पर्यटन महोत्सव आयोजना गर्न लागिएको आयोजक समिति संयोजक तथा नगरका उपप्रमुख दुर्गा कुमार बरालले बताए । उपप्रमुख बरालका अनुसार महोत्सवको पहिलो दिन आज ‘सूर्योदय आइडल’ को ‘ग्रान्ड फाइनल’, विभिन्न खाद्य परिकारका स्टल, दीपावली र साङ्गीतिक कार्यक्रम राखिएको छ । महोत्सवको दोस्रो दिन भोलि अन्तुडाँडाबाट सूर्योदय अवलोकन, शुभकामना आदानप्रदान, लोपोन्मुख लेप्चा जातिको वेशभूषा प्रदर्शन, विभिन्न जातजातिको सांस्कृतिक झाँकी प्रदर्शन, खाद्य परिकारका स्टल, ‘सूर्योदय आइडल’को विजेता घोषणा, पुरस्कार वितरण र साङ्गीतिक कार्यक्रमलगायत राखिएको बरालले जानकारी दिए ।


‘सूर्योदय आइडल’को ग्रान्ड फिनालेमा आठजना प्रतिस्पर्धीबाट विजेता छनोट गरिनेछ । महोत्सवमा कलाकार याम बराल, भूपेन्द्र राई, पूजन प्रधान, गणेश पराजुली, शोभा पराजुली, फुटी शेर्पालगायतको प्रस्तुति रहनेछ । महोत्सवका अवसरमा नगरपालिकाले लागुपदार्थ दुर्व्यसनी, मदिरा तथा सुर्तीजन्य वस्तुको नियन्त्रण तथा व्यवस्थापन सम्बन्धी सन्देशमूलक कार्यक्रम राखेको बरालले जानकारी दिए । “पर्यटकीय नगरी सूर्योदयलाई सर्वकालीन पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको छ”, उपप्रमुख बरालले भने “यसले अन्तुको मात्र नभई समग्र जिल्लाको पर्यटन विकासमा टेवा पुर्‍याउने अपेक्षा छ ।” महोत्सवमा आउने पर्यटकका लागि अन्तुमा रहेका ६६ वटा घरबास (होमस्टे), निजी ढङ्गले चलेका होटेल र कटेजमा गरी पाँच हजार जनाले रात बिताउन सक्नेगरी व्यवस्थापन गरिएको संयोजक बरालले बताए ।


महोत्सव अवधिभर १० हजार पर्यटक भित्रिने अपेक्षा गरिएको उनको भनाइ छ । महोत्सव आयोजना गर्न रु १० लाख खर्च हुने आयोजकको अनुमान छ । अन्तु पुग्ने पर्यटकले अन्तुडाँडाबाट सूर्योदयको दृश्यावलोकन, विभिन्न हिमशृङ्खलाको दृश्यावलोकन, अन्तुपोखरीमा डुङ्गा सयर, हरियाली चियाबारी र सल्लाघारीको आनन्द लिएर फर्कने गरेका छन् । यसका साथै चियाबगान बीचमा बनाइएका कटेज तथा होमस्टे, स्थानीय स्रोत साधनको प्रयोग गरी थुम्का-थुम्कामा बनाइएका घर, विभिन्न जातजातिको कला–संस्कृति समेत पर्यटकका रोजाइ बन्ने गरेका छन् ।


प्रकाशित मितिः शुक्रबार, ३० चैत २०८०
https://jawaaf.com/storage/01HV6XEXZ5GESXWVNRAQYTAAJ0.jpg

छात्राबास जीर्ण अवस्था : विद्यार्थी जोखिममा


तुलसीपुर तुलसीपुर उपमहानगरपालिका–१८ स्थित नेपाल संस्कृत विश्वविद्यालय जनता विद्यापीठको छात्राबासको भवन जीर्ण अवस्थामा रहेको छ । 
पुराना भवनबम साथै भवनभित्र रहेका सुत्ने खाट पनि पुराना हुँदा विद्यार्थी जोखिम मोलेर बस्नुपर्ने अवस्था रहेको विद्यार्थी उद्यम पोख्रेलले बताए । “हावाहुरी लाग्दा भित्रै धुलो पस्ने अवस्था छ । यहाँ बस्ने विद्यार्थी पनि डराइडराई बस्नुपर्ने अवस्था छ”, उनले भने “भवन पुरानो छ, भत्किन्छ कि भन्ने डरले बस्नुपर्छ ।” 
भवनको वरिपरि घाँस उम्रिएका छन् । भित्तामा पानी चुहिएको जस्तो देखिन्छ । विसं २०४९ मा उक्त छात्राबासको भवन निर्माण भएको थियो । तीस वर्ष पुगिसकेको उक्त भवनका हरेक संरचना कमजोर बन्दै गएका छन् । 
आफूहरू बस्दा भवन राम्रै भए पनि अहिले आएर निकै जीर्ण भएको पूर्वविद्यार्थी भीमलाल मरासिनीले बताए । “म सात वर्ष यही भवनमा बसेँ । विसं २०५५ देखि २०६२ सालसम्म छात्राबासमै बसेर उत्तर मध्यमादेखि आचार्यसम्म अध्ययन गरेँ”, उनले भने “यो बीचमा भवन पनि राम्रै थियो । अहिले आएर हेर्दा भत्किएलान् भन्ने डर, वरिपरि उम्रिएका घाँसले सर्पको डर, धेरै समस्या रहेछ ।” 
छात्राबासमा अहिले आठजना विद्यार्थी बसिरहेका छन् । उक्त छात्राबास जीर्ण भएपछि नयाँ भवन निर्माणको प्रक्रिया अघि बढाइएको विद्यापीठका प्राचार्य योगराज शर्माले बताए । भारतीय दूतावासमा विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गरेर पठाइएको भन्दै आगामी आर्थिक वर्षमा बजेट आउने आश्वासन पाएको उनको भनाइ छ ।
विद्यार्थीहरू जीर्ण भवनमा रात कटाउन बाध्य हुँदा शिक्षकहरूको भने नयाँ भवन निर्माण भइसकेको छ । करिब रू एक करोडको लागतमा दुई वर्षअघि निर्माण भएको विजौरीस्थित भवनमा बाहिरबाट आएका शिक्षक बस्ने गरेका छन् । 

“सहसचिव, उपसचिवस्तरका शिक्षक बाहिरबाट आएका छन् । उनीहरूलाई गाउँमा कोठा खोज्न पनि समस्या, भनेको बेला नपाइने अवस्था थियो”, प्राचार्य शर्माले भने “त्यसैले शिक्षकका लागि प्राथमिकता दिएर भवन बनाइएको हो ।” विगत केही समय छात्राबासमा बस्ने विद्यार्थी पनि नभएकाले केही समय छात्राबास खाली रहेको वताए ।

प्रकाशित मितिः बिहिबार, २९ चैत २०८०
https://jawaaf.com/storage/01HV3EKMK4QFX4Y4DRW3HQ91ZX.jpg

अपाङ्गताले छेकेन सफलतालाई

खोटाङ , दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका – ११ खार्मीका ३० वर्षीय भक्तबहादुर विश्वकर्मा दृष्टिविहीन छन् । दिक्तेल बहुमुखी क्याम्पस दिक्तेलमा इपिएम (एजुकेसन म्यानेजमेन्ट प्लान) मा स्नातकोत्तर अध्ययनरत विश्वकर्मा शिक्षक सेवा आयोगले लिएको प्राथमिक तह तृतीय श्रेणीको परीक्षामा खुला, दलित र अपाङ्ग गरी तीनवटा समूहमा नाम निकाल्न सफल भएका छन् । 


पहिलोपटक शिक्षक सेवा आयोगको परीक्षा दिनुभएका विश्वकर्माले शिक्षा विकास तथा समन्वय एकाइबाट मङ्गलबार नियुक्तिपत्र समेत बुझिसकेका छन् । आठ वर्षको उमेरमा आँखाको ज्योति गुमाएका विश्वकर्मा स्थायी शिक्षकमा नाम निकालेर नगरपालिकामा सिफारिस भएका छन । कक्षा १० मा अध्ययनरत नवराज भट्टराईलाई लेखक सहयोगी राखेर परीक्षा दिएका विश्वकर्मा दोस्रो पेपरमा एक सय १० जनाले परीक्षा दिएकामा ७८ जना उत्तीर्ण हुँदा ४९औँ नं मा नाम निकालेका थिए । अरूले पढेर सुनाएको भरमा शिक्षा सेवा आयोगको परीक्षा उत्तीर्ण गरेका दिक्तेल स्थित सुर्केडाँडा आधारभूत विद्यालय बाम्राङमा सिफारिस हुने निश्चित भएको छ । 



विसं २०६९ मा आफ्नै गाउँ खार्मी स्थित कालिका माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेका विश्वकर्मा दुई वर्ष अघि देखि दिक्तेल इङ्ग्लिस बोर्डिङ स्कूल दिक्तेलमा सङ्गीत शिक्षकका रुपमा कार्यरत छन् । विसं २०६५-६६ र ०६७ सालसम्म तीन वर्ष श्री सङ्गीत पाठशाला डिल्लीबजार काठमाडौँमा बसेर सङ्गीत सिकेका अहिले साइनो कला केन्द्र, खोटाङका अध्यक्ष छन् । विसं २०७१ देखि सङ्गीतमा लाग्नुभएका विश्वकर्माका छवटा गीत रेकर्ड पनि भएका छन् । गीतसङ्गीतसँगै अध्ययनलाई समेत निरन्तरता दिँदै आएका विश्वकर्मा दृष्टिविहीन भएर पनि शिक्षक सेवा आयोगको परीक्षा उत्तीर्ण गरेर स्थायी शिक्षक हुनुले धेरैका लागि प्रेरणाका स्रोत बनेका छन । 



कक्षा–८ मा अध्ययन गर्दै गर्दा वैवाहिक जीवनमा बाँधिनुभएका विश्वकर्माको श्रीमती सहित एक छोरा र एक छोरी छन् । वाद्यवादनमा समेत उत्तिकै दखल राख्ने विश्वकर्माले साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाकी वेदना राईसँग १२ वर्षअघि अन्तरजातीय विवाह गरे थिए । आँखामा दृष्टि नभए पनि व्याख्यान, प्रश्नोत्तर र छलफल विधिबाट कक्षा शिक्षण गर्ने विश्वकर्माले बताए । “घरमा पूर्वतयारी गरेर कक्षामा प्रवेश गर्छु । कक्षामा विद्यार्थीलाई पाठ वाचन गर्न लगाएर पनि सिकाउने छु”, उनले भने “मसँग ट्युसन पढाएको अनुभव पनि छ । जस्तै बोटबिरुवाको विषयमा पढाउने हो भने बोटबिरुवा लगेर जरा, काण्ड, पात, फूललगायत देखाएर पढाउन सकिन्छ ।” विश्वकर्मा आठ वर्षको उमेर हुँदा टाउकोमा आएको पिलोका कारण दृष्टिविहीन भएको पारिवारिक स्रोतले बताएको छ । स्वास्थ्यचौकी बाक्सिलामा गएर पिलो फुटाउने क्रममा आँखाको नसा बिग्रेका कारण आफूले ज्योति गुमाएको विश्वकर्माको भनाइ छ । 



उता, केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरका दृष्टिविहीन उमेश राई र उनकी श्रीमती सूर्यमायाँ लिम्बूले पनि विश्वकर्मासँगै स्थायी शिक्षकमा नाम निकालेका छन् । उनीहरु दुवैजनाले शिक्षा विकास तथा समन्वय इकाइको कार्यालय खोटाङबाट सोमबार नियुक्तिपत्र बुझेका छन् । जन्मजात दृष्टिविहीन राई दम्पतीले मङ्गलबार केपिलासगढी गाउँपालिकाबाट पदस्थापना पत्रसमेत लिइसके छन । राई केपिलासगढी गाउँपालिका–२ खार्ताम्छास्थित शुक्रजित मावि र लिम्बू केपिलासगढी गाउँपालिका–३ बास्पानीको मनोकामना आधारभूत विद्यालयमा सिफारिस भएका छन् । स्थायी शिक्षकमा नाम निकाल्न सफल दृष्टिविहीन राई दम्पती दुवैजनाले सहयोगी राखेर परीक्षा दिएका थिए ।  राई एक वर्षदेखि भगवती मावि बेलबारीमा मावि राहतमा शिक्षकमा कार्यरत थिए ।

प्रकाशित मितिः बुधबार, २८ चैत २०८०
https://jawaaf.com/storage/01HV3DWSEHVY9M6V7KQB3AFFS2.jpg

सार्कलाई निरन्तर सहयोग गर्ने महासचिव गुटेरेसले प्रतिबद्धता व्यक्त

सार्कलाई निरन्तर सहयोग गर्ने महासचिव गुटेरेसले प्रतिबद्धता व्यक्त गरे काठमाडौँ, संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहेका दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का महासचिव गोलाम सरवारले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टिनियो गुटेरेससँग राष्ट्रसङ्घीय मुख्यालय न्युयोर्कमा शिष्टाचार भेट गरेका छन् । सार्कका महासचिव लाई आफ्नो कार्यकक्षमा स्वागत गर्दै महासचिव गुटेरेसले विश्व जनसङ्ख्याको ठूलो हिस्सा ओगटेको सार्क क्षेत्रसँग संयुक्त राष्ट्रसङ्घले सहकार्य गर्न चाहेको बताए । उनले सार्कसँग साझेदारी गर्न आफू तयार रहेको बताउँदै निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । सार्क सचिवालयका अनुसार महासचिव सरवारले राष्ट्रसङ्घबाट सार्कलाई निरन्तर सहयोग एवं समर्थन प्रति प्राप्त भएकामा कृतज्ञता व्यक्त गरेका थिए । 


सार्क संयुक्त राष्ट्रसङ्घको पर्यवेक्षक संस्था हो । सन् २००४ मा राष्ट्रसङ्घले सार्कलाई उक्त दर्जा प्रदान गरेको हो । राष्ट्रसङ्घका महासचिव गुटेरेससँगको भेटमा महासचिव सरवारले दुवै संस्था बिच सम्बन्ध विस्तारका साथै जलवायु परिवर्तन, खाद्य सुरक्षा, नवीकरणीय ऊर्जाका क्षेत्रमा सहयोग बढाउने बारेमा छलफल गरेका सार्क सचिवालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । सार्कले राष्ट्रसङ्घीय विकास कार्यक्रम, खाद्य सङ्गठन, शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को), स्वास्थ्य सङ्गठन, जनसङ्ख्या कोषलगायत १२ वटा राष्ट्रसङ्घीय निकायसँग समझदारी पत्रमा हस्ताक्षर गरेको जानकारी दिँदै महासचिव सरवारले बदलिँदो परिवेशमा ती निकायसँग गरिएका समझदारीलाई अद्यावधिक गर्न आवश्यक भएको बताए ।


राष्ट्रसङ्घ र सार्कबिचको साझेदारीलाई परियोजनामा आधारित गराउन काठमाडौँस्थित सार्क सचिवालयमा राष्ट्रसङ्घ र सार्कले संयुक्त बैठक गर्नुपर्नेमा जोड दिए । उनले पारस्परिक सहयोगका नयाँ परियोजना पहिचान गर्नुपर्ने बताए । उनले सचिवालयका पदाधिकारीलाई क्षमता अभिवृद्धिलगायत अवसरको व्यवस्थाका लागि महासचिव गुटेरेससँग अनुरोध पनि गरेका छन । महासचिव गुटेरेसले सार्क महासचिवको प्रस्तावको स्वागत गर्दै राष्ट्रसङ्घ र सार्कबिचको सहकार्य अभिवृद्धिमा जोड दिए । सार्कसँगको क्षेत्रगत साझेदारीका लागि उनले सम्बद्ध निकायका अधिकारीलाई सार्क सचिवालयका पदाधिकारीसँग तत्काल सम्पर्क एवं समन्वय गर्न निर्देशन दिए । साथै उनले दुई संस्था बिचको विद्यमान सम्बन्धलाई अझ सुदृढ बनाउन र निकट सम्पर्कमा रहेर काम गर्दै सार्कलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे

प्रकाशित मितिः बुधबार, २८ चैत २०८०
https://jawaaf.com/storage/01HV3CQW4ACYDTSTCC6431ZD27.jpg

एक करोडको लागतमा प्रसूति सेवा भवन निर्माण

भोजपुरको षडानन्द नगरपालिका–९ किमालुङमा सुविधा सम्पन्न प्रसूति सेवा भवन निर्माण भएको छ । जिल्लाको विकट यो गाउँमा रु एक करोड लागतमा भवन निर्माण गरिएको हो । भवन निर्माण सँगै सुत्केरी गराउन तथा स्वास्थ्य सेवा लिन छिमेकी जिल्ला सङ्खुवासभा जानुपर्ने बाध्यताको अन्त्य भएको छ । भवनमा आवश्यक उपकरण पनि जडान गरिएको छ ।


अब स्वास्थ्य सेवा लिन सहज भएको स्थानी वीरबहादुर तामाङले बताए । “ यो दुर्गम ठाउँमा सुविधासम्पन्न स्वास्थ्य भवन बनेको छ, सेवा लिन सङ्खुवासभा जानुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य भएको छ । अब राज्यले आवश्यक जनशक्ति व्यवस्थापनमा ध्यान दिन आवश्यक रहेको पनि बताए । यो भवनबाट षडानन्द नगरपालिका वडा नं १०, ९, ८ र ३ का स्थानीयलाई प्रत्यक्ष लाभ पुग्ने वडाध्यक्ष निमा शेर्पाले बताउनुभयो ।  


नेपाल हेल्पिङ एजुकेशन फाउण्डेसन अफ नेपालको अनुदानमा रु एक करोड लागतमा केन्द्र स्थापना गरिएको हो । भवन निर्माणमा जर्मनीका दुई र स्वीटजरल्याण्डको एउटा संस्थाको सहयोग रहेको उनले जानकारी दिए । नवनिर्मित सात कोठाको भवनमा आवश्यक सम्पूर्ण आधुनिक उपकरण जडान गरिएको फाउण्डेसनका प्रबन्धक रामकुमार तामाङले बताए । “करिब रु एक करोड लागतमा भवनसँगै आवश्यक उपकरण जडान गरेका छौँ, यहाँ आवश्यक पर्ने जनशक्ति षडानन्द नगरपालिकाले व्यवस्थापन गर्ने सम्झौता गरेका छौँ ।


यहाँ शल्यक्रिया गरेर सुत्केरी गराउन सक्ने उपकरण जडान गरिएको छ । यससँगै अन्य स्वास्थ्य सेवा पनि प्रवाह गर्न सकिने उनले भने । सम्झौता अनुसार जनशक्तिको व्यवस्थापन गरिने नगरपालिका प्रमुख सुरेन्द्रकुमार उदासले बताए । नवनिर्मित भवनलाई सरकारको स्वामित्वमा ल्याएर जनशक्ति व्यवस्थापनसँगै सञ्चालन गरिने उनले बताए । भवन निर्माण गर्न स्थानीय सुवास तामाङले निःशुल्क एक रोपनी जग्गा प्रदान गर्नुभएको हो । उहाँकै आमा पाक्तुरी मायाको नामबाट भवनको नामकरण गरिएको छ ।

प्रकाशित मितिः बुधबार, २८ चैत २०८०
https://jawaaf.com/storage/01HV1NY7VBNDNCFA1K536ZYB22.jpg

गोरखा-जितगढी पदयात्रा शुरु

चैत्र २७ गते I ऐतिहासिक सम्पदाहरू तथा घटनाक्रमको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका साथ आज  चैत्र २७ गतेबाट दोस्रो गोरखा-जितगढी पदयात्रा सुरु भएको छ । पश्चिम पृतनापति उपरथी श्री सन्तोष बल्लब पौड्याल र गोरखा नगरपालिकाका प्रमुख श्री कृष्ण बहादुर राना मगरले झण्डा हस्तान्तरण गरी शुभारम्भ गर्नु भएको पदयात्रामा सहभागी फौजले नेपालको राष्ट्रिय झण्डा, नेपाली सेनामा सबै भन्दा पहिले खडा भएका ५ (पांच) ओटा स्थायी कम्पनी (श्रीनाथ, कालीबक्स, पुरानो गोरख, वर्दवाणी र सबुज) हरु तथा जितगढी लडाइँमा सहभागी गुरुबक्स गुल्मको झण्डासहित पदयात्रा सुरु गरेका छन् । करिव २०७ कि.मि. दुरीमा सञ्चालन हुने यात्रा गोरखा, तनहुँ, स्याङ्जा, पाल्पा हुँदै रुपन्देहीको बुटवलस्थित जितगढी सम्म पुगेर २०८० वैशाख ०७ गते विजय उत्सव समारोहका साथ समापन    हुनेछ । 


स्मरणीय छ, नेपाली सेनाले मिति २०८० पौष २० गते ऐतिहासिक जितगढी किल्ला मर्मत तथा पुनः निर्माण गरी बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण गरेको थियो । यस्तै, नेपाली सेनाद्वारा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा गोरखा-काठमाडौँ एकीकरण मार्गमा पदयात्रा सञ्चालन हुँदै आएको छ ।

 

 

प्रकाशित मितिः मङ्गलबार, २७ चैत २०८०
https://jawaaf.com/storage/01HTY6QY10C5Y10D4PE8GHDED9.jpg

आदर्श स्कुलको प्रवेश परीक्षामा २ हजार भन्दा बढी विद्यार्थी सामेल

विराटनगर I विराटनगर स्थित आदर्श माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०८१ का लागि लिइएको प्रवेश परीक्षामा २ हजार भन्दा बढी विद्यार्थी सहभागी भएका छन् । बाल कक्षा देखि ९ कक्षा सम्म छात्रा ८७५ जना र छात्र १२३९ गरी जम्मा २ हजार १ सय १४ जना विद्यार्थी सहभागी भएको विद्यालयका प्रधानाध्यापक सन्तोष पोखरेलले जानकारी दिए । ३७८ जना विद्यार्थीका लागि लिइएको परीक्षामा यति धेरै विद्यार्थी सामेल भएका हुन् । सामुदायिक विद्यालयतर्फ देशकै उत्कृष्ट विद्यालयको पहिचान बनाउन सफल आदर्शमा हाल ३ हजार ४ सय ७६ विद्यार्थी अध्ययनरत रहेका छन् । 


प्रत्येक वर्ष यस विद्यालयप्रति विद्यार्थीको आकर्षण भए पनि सबै विद्यार्थीको भर्ना लिने चाहना हुदा हुदै पनि विद्यालयको भौतिक पूर्वाधारको सीमितताको कारण सबै विद्यार्थी भर्ना गर्न नसकिएको प्रधानाध्यापक पोखरेलले बताए । हाल विद्यालयमा छात्र र छात्राको सङ्ख्या लगभग बराबरीको अवस्थामा रहेको उनको भनाइ थियो । हाल विद्यालयमा कक्षा १ देखि १२ सम्मका अतिरिक्त प्राविधिक शिक्षा कार्यक्रम अन्तर्गत १८ महिने र २४ महिने कम्प्युटर तालिम ३ वर्षे डिप्लोमा इन कम्प्युटर र डिप्लोमा इन सिभिलका कक्षाहरू सञ्चालन छन् । 

प्रकाशित मितिः सोमबार, २६ चैत २०८०
https://jawaaf.com/storage/01J9E65HJANMZXFBNAS1YC1PWX.jpg

गोर्खा भर्ती २०२५ को समय तालिका प्रकाशित

२४ चैत्र धरान । गोर्खा ब्रिट्रिस आर्मी र गोर्खा कन्टिजेन्ट सिंगापुर पुलिस फोर्स, नयाँ भर्ती प्रक्रिया २०२५ मा सहभागीहुन चाहाने नेपाली युवाहरूका लागि, २०८० फाल्गुन १८ देखी चैत्र १६ मध्यान्न सम्म अनलाईन फारम समय अवधि तोकिएका थियो । २०८१ कात्तिक १५ गते सम्ममा १८ वर्ष पुरा भएको र २१ वर्ष नकटेका र शैक्षिक रूपमा एसइइ वा सो सरह पास भएका नेपाली युवाहरूलाई नयाँ गोर्खा भर्ती २०२५ मा सहभागीहुने अवसर प्रदान गरिएकोछ । 


अनलाईन प्रक्रियामा सहभागीहुने सबै सदस्यहरूका लागी अर्को  सूचना ब्रिट्रिश गोर्खा नेपालले आफ्नो वेबसाइटमा प्रकाशन गरीसकेको छ । गोर्खा ब्रिट्रिश आर्मी र गोर्खा कन्टिजेन्ट सिंगापुर पुलिस फोर्सको नयाँ भर्ती २०२५ पहिलो छनोट प्रक्रिया धरान,पोखरा र सुर्खेतका आर्मी क्यारियर सूचना कार्यालयहरूमा २०८१ बैशाख १० देखि हुने जानकारी सहित सम्पूर्ण विवरण प्रकाशन गरिसकेकोछ । एक महिनाको समय अवधि सम्ममा अनलाईन फाराम भर्ने गोर्खा कन्टिजेन्ट सिंगापुर पुलिस फोर्स र गोर्खा ब्रिट्रिश आमी दुवै समूह तर्फ का सदस्यहरुलाई आवश्यक कागजात सहित फरक फरक जिल्लाको फरक मितिमा उपस्थितिका लागि सूचना जारी गरेकोछ ।

Advertisemwnt

अनलाईन फारम दर्ता प्रक्रियामा ब्रिट्रिश गोर्खा धरान क्याम्पमा सहभागिहुनका लागि सिगापुर  पुलिस समूह तर्फ दुई हजार छयासी र गोर्खा बिट्रिश आर्मी तर्फ सैँतिस सय सतचालिस त्यसै गरि पोखरा क्याम्पमा सिंगापुर  पुलिस तर्फ अठार  सय त्रिचालिस, ब्रिट्रिश आर्मी समूह तर्फ अठतिस सय त्रियासी र सुर्खेतका लागी सिंगापुर पुलिस समूह तर्फ पाँच सय पचासी र बिट्रिश आर्मी समूह तर्फ चौध सय छयहत्तर गरी जम्मा नेपाल भरी तेह्र हजार छ सय बिस नेपाली युवाहरूले अनलाईन फारममा समावेश भएको जनाइएको छ । नेपाली युवाहरुले गोर्खा भर्तीलाई अवसरको रुपमा लिने गरेको पाथीभरा प्री–आमी टे«निङ्ग एकेडेमी धरानका सञ्चालक मिलन राई ले बताए । राईका अनुसार एसइइको परिक्षा सक्न वितिकै एकेडेमीमा भर्ती तयारीका लागी आउने बताए । र, तयारी सँगै इच्छुक युवाहरूले आफ्नो पढाईलाई पनि प्राथमिकता दिदै अगाडी बढाउनु पर्ने सल्लाह दिन्छन् । यसरी दुवै क्षेत्रलाई सहज ढङ्गले अगाडि बढाएमा भविष्य उज्जलहुने बताए ।


पहिलो चरणको छनोट प्रक्रिया सम्पन्न भए प्रश्चात दोस्रो चरणको छनोट प्रक्रियाको सूचना आषाढ १९ गते प्रकाशन गर्ने जानकारी गरिएकोछ । दोस्रो चरणको छनोट २०८१ भाद्र १९ देखी आश्विन २० गते सम्म हुने जानकारी गरिएकोछ । त्यसै गरी २०२५ को दुबै समूह अन्तर्गत अन्तिम चरणको छनोट प्रक्रिया गोर्खा कन्टिजेन्ट सिंगापुर पुलिस फोर्सको २०८१ मंसिर १३ देखि २६ सम्ममा भर्ती भइ सक्ने जानकारी गरिएकोछ । र , गोर्खा ब्रिट्रिश आर्मीको छनोट पुस २३ देखि माघ २१ गते सम्म हुने छ । 


नेपाल भरीबाट जम्मा २०२५ को नयाँ भर्ती प्रक्रिया मार्फत गोर्खा कन्टिजेन्ट सिंगापुर पुलिस फोर्समा एक सय चवालिस जना योग्य नेपाली युवाहरू छनोट हुने छन् । त्यसै गरी गोर्खा ब्रिट्रिश आर्मी समूह तर्फ तिन सय पचास बढि युवाहरू छनोट गरीने छनोट प्रक्रियामा सहभागी अधिकारीहरूले जनाएका छन् ।

प्रकाशित मितिः शनिबार, २४ चैत २०८०