सङ्खुवासभामा स्क्रब टाइफस परीक्षण गर्ने किट अभाव
किमाथाङ्का (सङ्खुवासभा), २९ भदौ : जिल्ला अस्पताल सङ्खुवासभामा स्क्रब टाइफसको परीक्षण गर्ने कीटको अभाव भएको छ । अस्पतालमा एक सातादेखि स्क्रब टाइफस परीक्षण गर्ने किटको अभाव भएपछि बिरामी उपचारबाट वञ्चित भएका छन् ।
जिल्ला अस्पतालमा यही भदौ २१ गतेदेखि स्क्रब टाइफसको परीक्षण गर्ने कीट सकिएको अस्पतालका सूचना अधिकारी शेखर खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा गत वैशाख यता स्क्रब टाइफसका तीन सय ३२ र डेङ्गी सङ्क्रमित एक सय एक बिरामी भेटिएका छन् ।
अस्पतालमा किट नहुँदा उपचारका लागि आउने बिरामीले स्क्रब टाइफसको परीक्षण गर्न महँगो मूल्य तिरेर निजी अस्पताल र क्लीनिक जानुपर्ने बाध्यता भएको खत्रीले बताउनुभयो । जिल्ला अस्पतालमा निःशुल्क परीक्षण हुने स्क्रब टाइफसको निजी अस्पताल र क्लीनिकमा रु एक हजारदेखि रु एक हजार दुई सयसम्म तिर्नुपर्ने बाध्यता छ ।
स्क्रब टाइफस परीक्षण गर्ने किट उपलब्ध गराउन कोशी प्रदेशस्थित स्वास्थ्य मन्त्रालयमा माग गरिएको बताउँदै सूचना अधिकारी खत्रीले हालसम्म किट नआएकाले बिरामीलाई निजी अस्पताल पठाउने गरिएको बताउनुभयो । अस्पतालले पटकपटक आग्रह गर्दा पनि स्वास्थ्य मन्त्रालयबाट किट पठाउने विषयमा हालसम्म कुनै सुनुवाइ नभएको अस्पताल प्रशासनले जनाएको छ ।
“एक प्रकारको सङ्क्रमित किर्नाले टोकेमा यो रोग लाग्छ । यो रोग लागेमा टाउको दुख्ने, उच्च ज्वरो आउने, गर्दन र घाँटी वरिपरि मसिना तथा बिमिरा आउने, ग्रन्थी सुनिनेलगायत लक्षण देखिन्छ”, सूचना अधिकारी खत्रीले भन्नुभयो । अस्पतालमा दैनिक स्क्रब टाइफस र डेङ्गी सङ्क्रमित बिरामी बढ्दै गएकाले शय्याको समेत अभाव हुन थालेको उहाँले जानकारी दिनुभयो ।
विसं २०३३ मा निर्माण भएको अस्पतालमा अहिले ५० शय्या छन् । जिल्लाका १० स्थानीय तहका साथै छिमेकी जिल्ला भोजपुरका आधाभन्दा बढी भागका सेवाग्राही उपचारका लागि यहाँ आउने गरेका छन् ।
नेपालमा साहसिक खेलको प्रचुर सम्भावना छः राष्ट्रपति
काठमाडौँ, २९ भदौः राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा साहसिक खेलको प्रचुर सम्भावना रहेको बताउँदै यससम्बन्धमा अन्तर्राष्ट्रिय जगत्मा सन्देश प्रवाह गर्न आह्वान गर्नुभएको छ ।
एसियाली खेलकुद पत्रकार महासङ्घ (एआइपीएस एसिया) कंग्रेसमा सहभागी हुन विभिन्न देशबाट काठमाडौँ आउनुभएका खेल पत्रकार र पदाधिकारीलाई राष्ट्रपति भवन शीतलनिवासमा स्वागत गर्दै राष्ट्रपति पौडेलले नेपाल खेलकुद र खेलाडीको उर्वर देश भएकाले विश्व खेलक्षेत्रमा नेपालबारे प्रचार गर्न आह्वान गर्नुभयो ।
राष्ट्रपति पौडेलले भन्नुभयो, “नेपालमा साहसिक र हाई अल्टिच्युड खेल, अल्ट्रा दौडको धेरै सम्भावना छ । एभरेष्ट म्याराथनमा नेपाली खेलाडीले गिनिज बुकमा नाम लेखाइसकेका छन् ।” हालै पेरिसमा सम्पन्न पाराओलम्पिकमा पलेशा गोबर्द्धनले तेक्वान्दोमा पदक जितेर देशको गरिमा बनाउनुभएको बताउनुभयो ।
नेपालको परिचय सगरमाथा र बुद्धको जन्मस्थल मात्र नभइ खेलकुद क्षेत्र पनि भएको सन्देश विश्व समुदाय समक्ष प्रवाह गर्न आवश्यक रहेको राष्ट्रपति पौडेलले बताउनुभयो । उहाँले राष्ट्रका उत्कृष्ट खेलाडीलाई निरन्तर सम्मान गरेर एआइपीएस एसियाले असल परम्परा स्थापित गरेकामा त्यसको सरहाना गर्नुभयो ।
घुमन्ते व्यापारमा रमाएका ‘काफ्ले बा’
रामपुर (पाल्पा), २९ भदौः बिहान उज्यालो हुनासाथ पिँठ्युमा कपडा बोकेर व्यापारका लागि गाउँ पस्ने जुम्लाका ‘काफ्ले बा’ अर्थात् शिव काफ्लेको दिनचर्या हो । गाउँमा उकालो ओरालो गर्दा कपडाको भारीले जिउ थकित भए पनि अनुहार भने जहिल्यै हँसिलो हुन्छ ।
हुम्लाको कनका सुन्दरी गाउँपालिका–८ सिञ्जाका काफ्ले झण्डै डेढ दशकदेखि रामपुर र यसका आसपासमा कपडाको व्यापार गरिरहनुभएको छ । हरेक दिन ढाका टोपी, इस्टकोटकमा सजिएर पिँठ्युमा राडीपाखी, गलैँचा बोकेर गाउँगाउँमा पुग्नुहुन्छ । जुम्लामा उत्पादन भएका राडीपाखी, गलैँचा, स्वीटर बोकेर गाउँका बस्तीमा व्यापार गर्नु उहाँको दिनचर्या हो ।
उमेरले पाँच दशक नाघेका काफ्लेलाई घुमन्ते व्यापारले अझै छोडेको छैन । उहाँको आफूले घुमन्ते व्यापार रहरले नभई बाध्यताले गरेको बताउनुहुन्छ ।
अहिले उहाँ पाल्पाको रामपुरमा कोठाभाडा लिएर यस आसपासका स्थानमा व्यापारका लागि पुग्नुहुन्छ । उहाँले सुरुमा करिब पाँच वर्षजति भारतको अलमुढा, नैनताल, बागेश्वर, गढवाल, हिमाञ्चल, पिथरागढ, चम्पाव, डिडिहाटलगायत बजारमा राडीपाखीको व्यापार गर्नुभयो ।
नेपाल फर्किएपछि उहाँ पोखरा, पर्वतको कुश्मा, बुटवल, तानसेनलाई व्यापारको केन्द्र बनाउनुभएको छ । तानसेनमा व्यापार गर्ने क्रममा उहाँ रामपुर आउनुभएको हो । तानसेनमा व्यापार अलि कम हुन थाल्यो, तानसेनका एक जना बुबाले रामपुर ग्रामीण भेग भएकाले व्यापार व्यवसाय कम छ, त्यहाँका गाउँगाउँमा राम्रो व्यापार हुन्छ भन्नुभयो, “म त्यही आशामा २०६८ सालतिर रामपुर आएर व्यापार सुरु गरेको हुँ, अहिलेसम्म पनि यहीँ निरन्तर लागिरहेको छु”, उहाँले भन्नुभयो ।
रामपुरमा सुरुआतमा राम्रो व्यापार भए पनि पछिल्ला वर्षमा भने व्यापार घटेको उहाँको अनुभव छ । रामपुरमा व्यापारिक पसल बढ्दै जादा घुमन्ते व्यापारमा असर पुगेको उहाँको अनुभव छ । पछिल्लो समय गाउँघरमा हुने मेला महोत्सवले गर्दा पनि व्यापारमा कमी आएको उहाँको बुझाइ छ । उहाँको मुख्य व्यापार भनेको राडीपाखी हो । तर अहिले बढीमात्रामा गलैँचा, तन्नाको व्यापार हुन्छ ।
गाउँमा कहिलेकाहीँ आउने व्यापारीले स्थानीयलाई ठग्दा आफूहरु जस्ता घुमन्ते व्यापारीप्रतिको विश्वास कम भएको उहाँको अनुभव छ । सुरुआती दिनमा गाउँगाउँमा पुग्दा डर, धम्की भोग्नुपरे पनि अहिले त्यसो नभएको उहाँको अनुभव छ ।
उहाँ भन्नुहुन्छ, “सबैले आफ्नै परिवारको सदस्यको व्यवहार गर्नुहुन्छ, राम्रोसँग चिन्नुहुन्छ, चलेको दरभाउअनुसार व्यापार गरिरहेको छु, दुई पैसा अहिलेसम्म ठगेर व्यापार गरेको छैन, सबैको माया र साथ पाएको छु, यहाँ बस्न ढुक्क छ, कसैको डर, धम्की छैन, त्यही भएर अन्यत्र ठाउँको तुलनामा रामपुरमा धेरै समय बसिरहेको छु ।”
पहिला दिनमा रु २० हजारसम्म कमाई गर्ने गरेकामा अहिले व्यापार घटेर दिनमा बढीमा रु चार हजार जति कमाइ हुने गरेको उहाँ बताउनुहुन्छ । ठूलो सपना छैन, सामान्य खाना, लाउन पुगेकामा यसमै खुसीका साथ जीवन बिताइरहेको उहाँले बताउनुभयो । राडीपाखीका सामान जुम्लाबाट खरिद गरेर ल्याउनुहुन्छ भने अन्य सामान काठमाडौँबाट खरिदगरी व्यापार गरिरहनुभएको छ ।
जुम्लामा राडीपाखी लिन उहाँ चार÷चार महिनामा जानुहुन्छ भने काठमाडौँमा महिनामा एक पटक पुग्नुहुन्छ । राडीपाखी विशेषगरी पूजाआजामा प्रयोग गरिने भएकाले बजारका सामानभन्दा राडीपाखी नै ग्राहकले रोज्ने गरेको उहाँले बताउनुभयो । राडीपाखी भेडाको ऊनबाट बनेको हुनाले पूजाआजाका लागि चोखो हुन्छ भन्ने विश्वास छ ।
काफ्लेको परिवारमा श्रीमती, एक छोरी, दुई छोरा छन् । उनीहरुको पालनपोषण, पढाइ खर्च काफ्लेको काँधमा छ । एक व्यक्तिको घुमन्ते व्यापारको कमाइले परिवारको गुजारा अहिलेसम्म चलेको उहाँ बताउनुहुन्छ ।
जेठो छोरो स्नातक अध्ययन पूरा गरी अहिले लोकसेवा आयोगको तयारीमा छन् । कान्छो छोरो एसइई उत्तीर्ण गरेपछि वैदेशिक रोजगारीका लागि कोरियन भाषा पढ्दैछन् । छोरी कक्षा ११ मा गाउँकै स्कुलमा अध्ययनरत रहेको उहाँले जनाउनुभयो ।
“अहिले छोराछोरी हुर्केबढेसँगै परिवारको खर्च बढ्दै गयो, थोरै खर्चले घरखर्च धान्न मुस्किल छ, व्यापार भने पहिलाको तुलनामा घट्दैछ, एक व्यक्तिको कमाइले जीविका चलाउन हम्मेहम्मे परेको छ, बाध्यताले गाउँगाउँमा राडीपाखी, गलैँचालगायतका कपडा बोकेर व्यापारमा हिँडेछु”, उहाँले भन्नुभयो ।
बाउबाजेको पालादेखि नै चलिआएको यो पेसा उहाँले अहिलेसम्म पनि निरन्तरता दिइरहनुभएको छ । यसरी व्यापार गर्ने हिजोआज पुराना व्यक्तिले छाड्दै गएका छन् । बाउबाजेले गरेको पेसा आजसम्म धान्दै आउनुभएका काफ्ले यो पेसा आफ्ना सन्ततिलाई हस्तान्तरण गर्न इच्छुक हुनुहुन्न । परिवारको आर्थिक अवस्था कमजोर हुँदा पढ्ने रहर भए पनि पढ्न नपाएको उहाँको गुनासो छ । कक्षा १० सम्म पढ्नु भएका काफ्ले आफूले दुःख गरेरै भएपनि छोराछोरीको उज्ज्वल भविष्य बनाउने सपना बुनेर गाउँगाउँमा व्यापारमा खट्नुभएको छ । अहिले उहाँले रामपुरका अलवा पाल्पाकै पूर्वखोला, रम्भा, बगनासकाली गाउँपालिका, स्याङ्जाको चापाकोट नगरपालिका, मालुङ्गा, मिर्मी, बयरघारी, वालिङ, चिन्नेबास, गल्याङका गाउँसम्म व्यापार गर्नुहुन्छ ।
घुमन्ते व्यापारमा उहाँको साथमा पहिला दुई÷तीन जना साथी थिए, अहिले भने उहाँ एक्लै हुनुहुन्छ । उहाँसँगै व्यापार गर्ने साथीहरु पछिल्ला समय सन्तोषजनक व्यापार नभएपछि यो व्यवसाय छाडेर गएका छन् । लामो समयसम्म रामपुरमा व्यापार गर्दै आउनुभएका काफ्लेले अब अर्घाखाँची र गुल्मी जिल्लामा पुगेर व्यापार गर्ने सोच बनाउनुभएको छ ।
उहाँको गाउँ जुम्लाबाट व्यापार गर्ने थलो पाल्पा रामपुर आउन वा रामपुरबाट जुम्ला जान एकतर्फी मात्रै तीन दिनको यात्रा गर्नुपर्छ । जुम्लाबाट सुरु गरेको यात्रा कालिकोट, दैलेख, सुर्खेत, कोहलपुर र बुटवल हुँदै पाल्पा रामपुर आइपुगिन्छ । त्यहाँबाट सामान यहाँसम्म ढुवानी गर्न सहज छैन ।
केही प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौँ, २९ भदौः आज देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्ज/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।
विभागका अनुसार आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
कोशी र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ भने कोशी प्रदेशको तराई भू-भागको थोरै स्थानमा हावाहुरीको पनि सम्भावना छ ।
प्रविधिमैत्री बन्यो गुरुङ जातिको खेमा लिपि
मुग्लिन (चितवन), २८ भदौः तमू ह्युल छोंज धीं गुरूङ राष्ट्रिय परिषद् गुरूङ जातिको आधिकारिक लिपि ‘खेमा लिपि’लाई प्रविधिमैत्री बनाउन सफल भएको छ । यही १० सेप्टेम्बर २०२४ देखि खेमा लिपिको युनिकोड प्राप्त गरेको ह्युल छोंज धींले जनाएको छ ।
खेमा लिपिलाई कम्प्युटरका माध्यमबाट लेख्न सहज हुनेगरी युनिकोडमा प्राप्त गरेपछि तमू ह्युल छोंज धींको केन्द्रसहितका जिल्ला समितिले खुसी व्यक्त गरेका छन् । केन्द्रीय समितिका अध्यक्ष कर्णबहादुर गुरुङ र महासचिव डम्बरबहादुर गुरुङले विज्ञप्तिमार्फत खेमा लिपिलाई प्रविधिमैत्री बनाउन सफल भएको भन्दै खुसी व्यक्त गर्नुभएको छ ।
तमू ह्युल छोंज धीं जिल्ला कार्यसमिति चितवनले पनि देशभरका तमू समुदायका लागि एउटा महत्त्वपूर्ण सफलता प्राप्त गरेको बताएको छ । बिहीबार चितवन जिल्ला अध्यक्ष विमलादेवी गुरूङको अध्यक्षतामा बसेको बैठकले लामो समयसम्मको प्रयास र सङ्घर्षपछि प्राप्त उपलब्धिले देशभरका गुरुङ जातिमा खुसी छाएको निर्णय गरेको छ ।
ह्युल छोंज धींका केन्द्रीय अध्यक्ष कर्णबहादुर गुरुङका अनुसार २०५२ सालमा तत्कालीन अवस्थामा तमू छोंज धींको काठमाडौँमा भएको प्रथम सम्मेलन र तमू ह्युल छोंज धीं केन्द्रीय समितिको रूपन्देहीमा भएको केन्द्रीय पार्षद् सभाबाट खेमा लिपिलाई गुरुङ जातिको आधिकारिक लिपिका रूपमा सर्वसम्मत रूपमा पारित गरेको थियो ।
एकादशी र औँसीमा पशुपक्षी बध गर्न नपाइने
रामपुर (पाल्पा), २८ भदौः पाल्पाको रामपुर नगरपालिकाभित्र औँसी र एकादशीका दिन पशुपक्षी बध गर्न नपाइने भएको छ । धार्मिक आस्था, परम्परा तथा स्वास्थ्यका लागि उक्त निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले एक सूचना जारी गर्दै धार्मिक सहिष्णुता र सद्भाव कायम राखी धार्मिक आस्थामा असर नपुर्याउने उद्देश्यसहित औँसी र एकादशीका दिन पशुपक्षी बध नगर्न अनुरोध गरेको छ ।
“औँसी र एकादशीका दिनमा पशुपक्षी बध नगर्दा धार्मिक सहिष्णुता र सद्भाव पनि कायम हुने, धार्मिक आस्थामा कुनै असर नपर्ने र स्वास्थ्यको हिसाबले पनि फाइदाजनक हुने भएकाले उक्त दिनमा पशुपक्षी बध नगर्न/नगराउन यो सूचना प्रकाशन गरिएको छ”, सूचनामा भनिएको छ ।
नगर प्रमुख रमणबहादुर थापाले एकादशी र औँसीको दिन धार्मिक साँस्कृतिक परम्परा अनुसार पशुपक्षी बध गर्न नहुने भएकाले सोही धार्मिक मान्यतालाई निरन्तरता दिनका लागि सो दिन बध नगर्न नगरवासीलाई आग्रह गरिएको बताउनुभयो ।
उहाँका अनुसार एकादशी र औँसीमा पशुपक्षी बध गर्दा धार्मिक आस्थामा असर पुगेको नगरवासीबाट गुनासो आएपछि नगरपालिकाले बध नगर्ने निर्णय गरेको हो । नगरपालिकाको निर्णय र सूचनालाई बेवास्ता गरी एकादशी र औँसीमा पशुपक्षी बध गरेको पाइएमा कारबाही गरिने नगरपालिकाले जनाएको छ ।
सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा हुरीबताससहित मुसलधारे वर्षा हुने
काठमाडौँ, २८ भदौः मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले हाल देशभर मनसुनी वायुको प्रभावसँगै भारतको मध्यप्रदेशको उत्तरपश्चिम र आसपास रहेको न्यूनचापीय प्रणालीको प्रभाव रहेको बताएको छ ।
हाल गण्डकी, लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली रही बाँकी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
विभागका अनुसार आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली र बाँकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हुरीबताससहित भारी वर्षाको सम्भावना छ । साथै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ ।
यसैगरी आज राति सुदूरपश्चिम प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली र बाँकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका एक–दुई स्थानमा हुरीबताससहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ ।
आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । यी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हुरीसहित भारी वर्षाको सम्भावना छ । साथै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको जनाउँदै विभागले सम्बद्ध सबैलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।
ऐतिहासिक छोसेरको निर्फु गुम्बा पुनःनिर्माण
म्याग्दी, २७ भदौ : मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ छोसेरमा रहेको धार्मिक, पर्यटकीय महत्वको ऐतिहासिक निर्फु गुम्बा पुनःनिर्माण सम्पन्न भएको छ । १५ औ शताब्दीमा पहाडको भित्तामा रहेको गुफामा स्थापना भएको गुम्बा विस २०७२ को गोरखाभूकम्पले असर पु¥याएको थियो । भूकम्प एवं वर्षात्ले समेत गुम्बाका संरचना भत्किने अवस्थामा पुगेकाले काठमाडौस्थित जर्मन राजदुताबासको सहयोगमा पुनःनिर्माण गरिएको गुम्बाका लामा छोम्भे गुरुङले बताउनुभयो ।
“जर्मन राजदुतावासको ६६ लाख आर्थिक सहयोगमा गुम्बाको परम्परागत संरचनालाई यथावत राखेर मौलिकता बिग्रन नदिई पुनः निर्माण गरिएको हो,” उहाँले भन्नुभयो “पुननिर्माण गरेपछि गुम्बाभित्र पानी चुहिने तथा ढुंगा खस्ने समस्या हटेको छ ।” तीन कोठा भएको गुफा मुनी गुम्बाका संरचनाहरु छन् । पहाडको फेदीमा पुगेको सडक देखि गुम्बा हुँदै गुफामा पुग्ने पदमार्ग निर्माण भएको र झ¥याङ राखिएको छ । गुफाभित्र वौद्ध धर्मसम्बन्धी पुस्तक संकलन गरेर धार्मिक पुस्तकालय स्थापना गर्न थालिएको छ । गुफाको बाहिरी भागमा झ्याल राखिएको छ ।
गुम्बा र गुफाको रंगरोगन गरेपछि आकर्षक देखिएको छ । मुस्ताङका तत्कालीन दोस्रो सांस्कृतिक राजा आगुन साङ्वोका तेस्रो छोरा सोनाम लोवो खेनचेन (सोनाम इन्टुक) ले १५ औ शताब्दीमा निर्फुको गुफामा ध्यान बस्नका लागि गुम्बा स्थापना गरेको वृद्ध धर्म सम्बन्धी ग्रन्थहरुमा उल्लेख छ । नेपाल र भारतका धेरै भिक्षुहरु ध्यान बस्न आउने शान्त ठाउँमा रहेको निर्फु गुम्बाको धार्मिक, ऐतिहाँसिक र सांस्कृतिक महत्व रहेको छ ।
गुफा र गुम्बा अवलोकन गर्न पर्यटकहरु आउँछन् । निर्फु गुम्बा अन्तर्गत सन् २००४ देखि सञ्चालन भएको लामा सम्बन्धी कक्षा ८ सम्मको पठनपाठन हुने विद्यालयमा हाल ६० जना विद्यार्थीहरु छन् । नेपाली, अंग्रेजी र भोट भाषाको पठनपाठन हुने यस विद्यालयमा गोर्खा वेल्यफेयरको रु. ३० लाख सहयोगमा तीन कोठे कक्षा कोठा भवन निर्माण भएको छ ।
भारतीय राजदुतावास र लोमान्थाङ गाउँपालिकाको लागत साझेदारीमा करिब रु. पाँच करोड लागतमा छात्रावास भवन पनि निर्माणाधीन रहेको लामा गुरुङले बताउनुभयो । सिंगापुरमा रहेका छोसेरबासीहरुको अगुवाईमा निर्फु गुम्बाको नयाँ भवन पनि निर्माणाधीन रहेको छ ।
चीनको सिमानामा रहेको नेपालको अन्तिम मानवबस्ती छोसेरको आकर्षण निर्फु र गार्फु गुम्बा तथा झोङ गुफा हो । गुफा र गुम्बा अवलोकनका लागि नेपालीलाई रु. एक सय र विदेशीलाई प्रतिव्यक्ति रु. एक हजार शुल्क तोकिएको छ । चीन र भारत जोड्ने बेनी–जोमसोम–कोरला सडकको नेचुङदेखि सवारी साधनमा पाँच मिनेट यात्रा गरेपछि छोसेरमा पुग्न सकिन्छ ।
संसदीय सुनुवाइ समितिमा आज प्रस्तावित चार राजदूतको सुनुवाइ
काठमाडौँ, २७ भदौः संघीय संसद् संसदीय सुनुवाइ समितिमा आज विभिन्न चार देशका लागि प्रस्तावित राजदूतको सुनुवाइ सुरु भएको छ । स्पेनका लागि प्रस्तावित राजदूत सनिल नेपालले नेपाल र स्पेनबीचको सम्बन्ध, विश्व मञ्चमा दुई देशको भूमिकालगायतका बारेमा आफ्नो प्रस्तुती दिनुभएको थियो ।
उहाँले आफू प्रस्तावित मुलुकमा राजदूतका रुपमा काम गर्ने अवसर पाएको खण्डमा आर्थिक कुटनीतिका अलावा श्रम कुटनीतिलाई पनि उत्तिकै महत्त्व दिने बताउनुभयो । उहाँले समितिलाई सो देशको बारेमा जानकारी गराउँदै दूतावासबाट हुने सेवा प्रवाहलाई थप परिस्कृत र वैज्ञानिक बनाउन पहल गर्ने धारणा राख्नुभयो ।
समितिले आज बेलायत, अमेरिका, श्रीलङ्काका लागि प्रस्तावित राजदूतको सुनुवाइ गर्ने कार्यतालिका बनाएको छ । गत साउन १४ को मन्त्रिपरिषद् बैठकले विभिन्न मुलुकका लागि १७ जना राजदूत सिफारिस गरेको थियो । सरकारले भारतका लागि डा शङ्करप्रसाद शर्मा, चीनका लागि डा कृष्णप्रसाद ओली, डेनमार्कका लागि सुम्निमा तुलाधर, जर्मनीका लागि डा शैल रुपाखेती, इजरायलका लागि प्रा धनप्रसाद पण्डित, मलेसियाका लागि डा नेत्रप्रसाद तिमल्सिना र पाकिस्तानका लागि रीता धिताललाई सिफारिस गरेको थियो ।
त्यस्तै पोर्चुगलका लागि प्रकाशमणि पौडेल, कतारका लागि रमेशचन्द्र पौडेल, रुसी महासङ्घका लागि जङ्गबहादुर चौहान, साउदी अरबका लागि नरेशविक्रम ढकाल, दक्षिण अफ्रिकाका लागि प्राडा कपिलमान श्रेष्ठ, दक्षिण कोरियाका लागि डा शिवमाया तुम्बाहाम्फे, स्पेनका लागि सनिल नेपाल, श्रीलङ्काका लागि रामकृष्ण भट्टराई, संयुक्त अधिराज्यका लागि चन्द्रकुमार घिमिरे र संयुक्तराज्य अमेरिकाका लागि लोकदर्शन रेग्मी सिफारिस हुनुभएको थियो ।
पढ्दै कमाउँदै कार्यक्रम प्रति विद्यार्थीको आकर्षण
मध्यविन्दु (नवलपरासी), २७ भदौः नवलपरासी(बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–२ स्थित शिव नमूना माध्यमिक विद्यलयकमा कक्षा ५ मा अध्ययनरत नवीन न्यौपाने हिजोआज विद्यालयमा पढ्नुका साथै करेसाबारीको काम पनि सिक्ने गर्नुहुन्छ ।
विद्यालयमा पढाइ सँगसँगै तरकारी खेतीसम्बन्धी प्रयोगात्मक अभ्यास हुन थालेपछि प्रसन्न तरकारी खेतीसम्बन्धी काम गर्न अभ्यस्त हुन थाल्नुभएको हो । “सधैँ किताब मात्र पढिरहँदा ध्यान केन्द्रित हुँदैन थियो, अहिले फरक सीप सिक्न पाउँदा सीप र पढाइ दुवै प्रभावकारी भइरहेको छ”, नवीनले भन्नुभयो ।
विद्यालयमा गत वर्षदेखि सञ्चालन गरिएको ‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत तरकारी खेती सुरु भएपछि नवीन जस्तै विद्यालयको कक्षा ४ देखि ७ सम्म अध्ययनरत विद्यार्थी सहभागी भई सीप सिकिरहेका छन् ।
कक्षा ५ मा अध्ययनरत समीक्षा पाठकले विद्यालयको करेसाबारीमा काम गर्न पाउँदा खुसी लागेको बताउनुभयो । “यसअघि विद्यालयमा पढाइ मात्र हुने गरेको थियो, अहिले तरकारी खेती पनि सुरु भएको छ । पढाइसँगै सीप सिक्न पाउँदा हामी उत्साहित छौँ, यो प्रभावकारी कार्यक्रम हो”, उहाँले भन्नुभयो ।
शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग र श्रमलाई उत्पादनसँग जोडेर सुरु गरिएको पढ्दै कमाउँदै कार्यक्रम विद्यार्थीबीच प्रभावकारी बन्दै गएको विद्यालयका प्रधानाध्यापक अर्जुनप्रसाद पौडेलले बताउनुभयो । “कावासोती नगरपालिकाले करेसाबारी कार्यक्रमअन्तर्गत रु २५ हजार बजेट विनियोजन गरेपछि विद्यालयको चार कट्ठा जग्गामा उक्त कार्यक्रम सुरु गरेका हौँ”, उहाँले भन्नुभयो, “विद्यालयमा यो कार्यक्रम सुरु भएपछि विद्यार्थीको सिकाइमा थप प्रभाव देखिएको पाएका छौँ ।”
विद्यार्थीले विद्यालय परिसरमा रहेको करेसाबारीमा मौसम अनुसारका तरकारी लगाउने गरेका छन् । उत्पादित तरकारी विद्यालय हाताभित्रबाटै बिक्री गर्ने वातावरण्त मिलाइएको प्रअ पौडेलले जानकारी दिनुभयो । “विद्यार्थी अहिले पढेका कुरा अभ्यास गर्ने र व्यावसायिक रुपमा खेतीसम्बन्धी प्राविधिक ज्ञान आर्जन गरिरहेका छन्”, उहाँले भन्नुभयो ।
विद्यार्थीलाई सुरुमा यस कार्यक्रममा सहभागी गराउन मुस्किल भए पनि विस्तारै चासो दिन थालेका विद्यालयकी पढ्दै कमाउँदै कार्यक्रम संयोजक अनिता थनेतले बताउनुभयो । “विद्यार्थीको अथाह मेहनतले आज राम्रो नतिजा प्राप्त भएको छ”, उहाँले भन्नुभयो, “बालबालिकालाई सानै उमेरदेखि मेहनत र सीपको महत्त्व देखाउँदै अर्थ उपार्जनका क्षेत्रमा जागरुक बनाउन यस्तो कार्यक्रम फलदायी हुने देखिएको छ ।”
विद्यार्थीले कक्षामा गर्नु पर्ने परियोजना कार्यसँगै तरकारी खेतीलाई जोडिएको विद्यालयका इन्चार्ज हिरा महतोले बताउनुभयो । “यो सिजनमा तिल र भिन्डी उत्पादन गरिएको छ, विद्यार्थीले रु तीन हजार पाँच सयको तरकारी बिक्री गरिसकेका छन् भने तिल बिक्री गर्न बाँकी छ”, उहाँले भन्नुभयो ।
नगरपालिकाले गत आर्थिक वर्षदेखि २० वटा सामुदायिक विद्यालयमा उक्त कार्यक्रम सञ्चालन गरेको शिक्षा शाखाका अधिकृत राजन पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यालयको करेसाबारीमा विद्यार्थीद्वारा उत्पादित तरकारीलाई विद्यालयको दिवा खाजामा प्रयोग गर्ने गरिएको छ ।
“दिवा खाजालाई अर्गानिक तरिकाले अगाडि बढाउने, विद्यालयको परिसरलाई हराभरा बनाउने र विद्यालयमा खेर गएको स्रोतसाधनलाई प्रयोग गर्ने मुख्य उद्देश्यसहित यो कार्यक्रम सञ्चालन गरी सामुदायिक विद्यालयमा लागू गरिएको हो”, पाण्डेले भन्नुभयो । कार्यक्रम प्रभावकारी बन्दै जानुका साथै विद्यार्थीमा प्रविधिक ज्ञान वृद्धि हुने भएकाले अन्य पालिकाले पनि यसलाई अनुसरण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।





























