मङ्गलबार, २६ साउन २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01J7GTVD34S0ZZP2WPGX1WXF18.jpg

काठमाडौँमा पानीको थप स्रोत खोजी गर्न मन्त्री यादवको निर्देशन

Advertisement

काठमाडौँ, २६ भदौः खानेपानीमन्त्री प्रदीप यादवले वर्षायाममा मेलम्चीको पानी नआउँदासम्म काठमाडौँ उपत्यकामा पानीको आपूर्ति सुधार्न र थप स्रोत खोजी गर्न निर्देशन दिनुभएको छ ।   
 
काठमाडौँको तारकेश्वर नगरपालिकास्थित अल्ले र बौडे तथा टोखा नगरपालिकास्थित भण्डारे मुहानको अनुगमन तथा निरीक्षण पश्चात उहाँले यस्ता स्रोतहरुको संरक्षण र सुधारलाई प्राथमिकता दिइ पानीको चुहावट रोक्न निर्देशन दिनुभएको हो ।   
 
उहाँले मन्त्रालयका कर्मचारीलाई हाल अल्ले, बौडे, भण्डारे र तारकेश्वरलगायतमा रहेका मुहानबाट आपूर्ति भइरहेको ६५ लाख लिटर पानी अपुग रहेको बताउनुभयो । ती मुहानबाट दैनिक एक करोड २१ लाख लिटर पानी आपूर्ति हुनसक्ने सम्भावना रहेकाले सोहीअनुसार काम अगाडि बढाउन निर्देशन दिनुभयो ।   
 

Advertisement


यसैगरी मन्त्री यादवले उपत्यकाका पानीका स्रोतलाई दीर्घकालीन रुपमा संरक्षित गर्नु मन्त्रालयको प्रमुख दायित्व भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “यस्ता स्रोतहरुको पानी नजोगिने गरी चुहावट भइरहेकाले त्यसलाई रोक्न अत्यावश्यक छ ।”   
  
मन्त्री यादवले खानेपानी समस्याको दीर्घकालीन समाधान गर्न मन्त्रालयबाट आफूले प्राथमिकताका साथ ठोस योजना अघि सारिरहेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “खानेपानीको समस्याबाट देशभरिका जनताले दुःख पाइरहेका छन्, म यो विषयमा गम्भीर छु ।”   
  

Advertisement


अनुगमनका क्रममा स्थानीयवासीसँग छलफल गर्दै मन्त्री यादवले उक्त क्षेत्रमा भएका चुनौती र सम्भावनाबारे थप जानकारी लिनुभयो । समस्या समाधानका लागि सरकार दृढतापूर्वक काम गरिरहेको उहाँले स्पष्ट पार्नुभयो । खानेपानीको दिगो व्यवस्थापनका लागि दीर्घकालीन समाधानमा ध्यान दिइरहेको बताउँदै मन्त्री यादवले भन्नुभयो, “हामी उपत्यकाका बासिन्दालाई सुरक्षित र गुणस्तरीय पानीको आपूर्ति सुनिश्चित गर्न निरन्तर लागिरहेका छौँ ।”   
  
खानेपानीका लागि जनताको आशा र अपेक्षा सम्बोधन गर्न आगामी दिनमा थप प्रभावकारी योजना अघि बढाइने मन्त्री यादवले जानकारी दिनुभयो । उक्त अनुगमन टोलीमा मन्त्रालयका सचिव प्रमीलादेवी शाक्य बज्राचार्य, खानेपानी तथा व्यवस्थापन विभागका महानिर्देशक रामकुमार श्रेष्ठ, काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक पौडेललगायतको सहभागिता रहेको थियो ।  


Advertisement

प्रकाशित मितिः बुधबार, २६ भदौ २०८१
https://jawaaf.com/storage/01J7GKDGBJ741H510RA05PMGPB.jpg

टी–ट्वान्टी विश्वकप एसिया छनोटका लागि खेलाडी छनोट

ADVERTISEMENT

काठमाडौँ, २६ भदौ : आइसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटका लागि पहिलो चरणमा २९ खेलाडी छनोट भएका छन् ।

नेपाल  क्रिकेट सङ्घ (क्यान) ले आज सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार पूजा महतो, सोनी पाख्रिन, ऐली यादव, किरणकुमारी कुँवर, त्रिशना विक, मनिषा उपाध्याय, रिया शर्मा, करिश्मा गुरुङ, पूजा साउद, विपसा शाही, साना प्रविण, प्रतिमा शाह, स्नेहा महरा र सावित्रा धामी छनोटमा परेका छन् ।

त्यस्तै अनु कडायत, मनिषा बोहोरा, करिश्मा थापा, रविना साउद, सुस्मिता भुसाल, अलिशाकुमारी यादव, भवानी कमाती, आरती महतो, पुजा महतो, कुशम गोदार, सीमाना केसी, ज्योत्सनिका मरासिनी, निरु जीटी, सेरिना थापा, रचना चौधरी र आस्मा पुलामी मगर पहिलो चरणमा छनोटमा भएका छन् । 

टि–ट्वान्टी विश्वकप एसिया छनोट आगामी नोभेम्बरमा युएईमा हुने क्यानले जनाएको छ ।  


ADVERTISEMENT

प्रकाशित मितिः बुधबार, २६ भदौ २०८१
https://jawaaf.com/storage/01J7G20WCM7CFHTGY6SDQG5D70.jpg

ताप्लेजुङ गोल्ड कपबाट ५५ लाख आम्दानी

advertisement

फुङ्लिङ (ताप्लेजुङ), २६ भदौः ताप्लेजुङ गोल्ड कप २०८१ को आज पत्रकार सम्मेलनमार्फत आयव्यय विवरण सार्वजनिक गरिएको छ । सहयोग तथा टिकट बिक्रीबाट रु ५५ लाख ६४ हजार एक सय २९ आम्दानी भएको हो । 

कोषाध्यक्ष निरोज श्रेष्ठका अनुसार कार्यक्रम सम्पन्न गर्न रु ७३ लाख २० हजार सात सय ४८ खर्च भएको छ । हाल समितिले रु १७ लाख ५६ हजार छ सय १९ तिर्न बाँकी रहेको छ । त्यो रकम स्थानीय तह, हाइड्रोपावर कम्पनी, सङ्घसंस्था तथा बास बिक्रीमार्फत सङ्कलित आम्दानीबाट तिर्ने योजना रहेको आयोजकले जनाएको छ ।

फुङलिङ नगरपालिकाले रु पाँच लाख सहयोग गरेको छभने मेरिङदेन र मैवाखोला गाउँपालिकाले रु एक–एक लाखका दरले सहयोग गर्ने निर्णय गरेका छन् । अन्य पालिकाहरूले पनि सहयोगको प्रतिबद्धता जनाएका छन् । जिल्ला समन्वय समितिले रु ५० हजार सहयोग गर्ने निर्णय गरेको छभने स्पार्क हाइड्रोपावर, पाथीभरा केबलकार र सानिमा मध्यतमोर हाइड्रोपावर लगायतका संस्थाबाट रकम उठ्न बाँकी रहेको आयोजकले जनाएको छ ।

 खेल अवधिभर टिकट बिक्रीबाट रु २३ लाख ७६ हजार छ सय र विभिन्न सङ्घसंस्था तथा व्यक्तिबाट रु ३१ लाख ८७ हजार पाँच सय २९ सङ्कलन गरिएको छ । यस रकमले प्रतियोगिताको पुरस्कार वितरण, खेलमैदान तयारी, स्टेज व्यवस्थापन, ट्रफी, मेडल, टिम व्यवस्थापनलगायत विभिन्न खर्च धानिएको छ ।

 पूर्वखेलाडीहरूको सम्मान, रेफ्री र अफिसियल व्यवस्थापन, यातायात, मिडिया, मेडिकल, तथा खाजा खर्च लगायतका विभिन्न शीर्षकमा पनि उल्लेखनीय खर्च भएको छ । साथै लाखेजात्रा सञ्चालन समितिले रु पाँच लाख ८८ हजार आठ सय १० को अचल सम्पत्ति जोडेको छ र रु १८ लाख ५० हजार बैङ्क खातामा राखेको छ । त्यसलाई आगामी योजनाका लागि सुरक्षित गरिएको कोषाध्यक्ष श्रेष्ठले बताउनुभयो ।


advertisement

प्रकाशित मितिः बुधबार, २६ भदौ २०८१
https://jawaaf.com/storage/01J7F9ZD2QA1PMR9530K3JCRF7.png

अब कार्यालय समयमा टिएमएस चलाउन नपाइने

advertisement

काठमाडौँ, २६ भदौ : सेवाग्राहीलाई प्रभावकारी सेवा दिनुपर्ने सरकारी कर्मचारी शेयर कारोबारमा व्यस्त भई नाफा घाटाको हिसाब गर्न थालेपछि सरकारले कार्यालयमा त्यस्तो कार्यमा प्रतिबन्ध लगाएको छ ।   
 
विशेष गरी प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र कार्यालय समयमा आवश्यक काम छाडेर कर्मचारी शेयर कारोबारमा व्यस्त भएको भनी लिखित तथा मौखिक उजुरीपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुमगन गरेको थियो ।   
 
आयोगको अनुमगनपछि यही भदौ २१ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई पत्राचार गरेको थियो । आयोगको निर्देशनका आधारमा मन्त्रिपरिषद् कार्यालयले कार्यालय समयमा शेयर कारोबार गर्ने प्रणाली (टिएमएस) सञ्चालन नगर्न आग्रह गरेको छ । कार्यालयमा बसेर शेयर बजारमा निजी कारोबार गर्नु जायज नभएको ठहर गर्दै सबै मन्त्रालय, आयोग, सचिवालय, सात वटै प्रदेशका प्रमुख सचिव, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गरिएको हो ।   
 
“नेपाल सरकारका सबै सरकारी तथा सार्वजनिक निकायमा कार्यालय समयमा टिएमएस नचलाउने व्यवस्था हुन र सो समयमा टिएमएस चलाएको वा नचलाएको सम्बन्धमा सूचना प्रविधिको प्रयोग गरी आवश्यक जाँच गर्न सकिने व्यवस्था मिलाउनु”, पत्रमा उल्लेख गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आयोगले गरेको पत्राचारको छायाप्रति राखेर सबै मन्त्रालय, आयोग र सचिवालयलाई आग्रह गरेको छ ।   
 
मङ्गलबार प्रधानमन्त्री केपी शर्मा ओलीले समेत सामाजिक सञ्जालमार्फत सरकारी कार्यालयमा टिएमएस प्रतिबन्ध लगाएको जानकारी दिनुभएको थियो । उहाँले उल्लेख गर्नुभएको थियो,“सरकारी कार्यालयमा बसेर शेयर बजारमा निजी कारोबार गर्नु कानुनी दृष्टिले पनि अमान्य छ । यसले सरकारी कामकाजमा प्रतिकूल प्रभाव परेको छ र सेवाग्राहीको काम प्रभावित भएको गुनासो आइरहेको छ । यही जनगुनासोलाई सम्बोधन गर्दै अब सरकारले देशभरिका सबै सरकारी कार्यालयमा शेयर कारोबार गर्ने प्रणाली (टीएमएस) प्रतिबन्ध लगाएको छ । सबै मन्त्रालय, आयोग, सचिवालय, स्थानीय तहका कार्यालयमा टीएमएस नचल्ने बनाउन निर्देशन दिइएको छ । सरकारी कार्यालयमा अब सरकारी काम मात्र गर्न अनुरोध गर्दछु ।”  


advertisement

प्रकाशित मितिः बुधबार, २६ भदौ २०८१
https://jawaaf.com/storage/01J7DZ289V0H2NTAWYVXKTBZ8H.jpg

अर्थ समितिको प्रतिवेदनसहित बैंकिङ कसुर विधेयक प्रतिनिधिसभामा पेस

advertisement

काठमाडौँ, २५ भदौः प्रतिनिधिसभाको आजको बैठकमा अर्थ समितिका सभापति सन्तोष चालिसेले ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेस गर्नुभएको छ ।

उक्त विधेयकलाई अर्थ समितिको सोमबारको बैठकले संशोधनसहित पारित गरेको थियो । चेक अनादर (चेक बाउन्स)सम्बन्धी मुद्दामा रु १५ लाखसम्मको बिगो भए एक महिना कैद, रु १५ लाखदेखि रु ५० लाखसम्मको बिगो भए एक महिनादेखि तीन महिनासम्म कैद, रु ५० लाखदेखि रु एक करोडसम्म बिगो भएमा तीन महिनादेखि एक वर्षसम्म कैद, रु एक करोडदेखि रु १० करोडसम्मको बिगो भए दुई वर्षसम्म कैद र रु १० करोडभन्दा माथिको बिगो भएमा दुई वर्षदेखि चार वर्षसम्म कैद सजाय हुने व्यवस्था राखिएको छ । त्यस्तै चेकअनादरसम्बन्धी मुद्दा सरकारवादी हुने व्यवस्था पनि विधेयकमा राखिएको छ ।

गतवर्ष साउन २३ गतेको मन्त्रिपरिषद् बैठकले बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक, २०८० को मस्यौदा स्वीकृत गरेको थियो भने तत्कालिन अर्थमन्त्री अर्थमन्त्री डा प्रकाशशरण महतले २०८० असोज १६ गते यो विधेयक संसदमा दर्ता गर्नुभएको थियो । 

advertisement


 चेक अनादरसम्बन्धी मुद्दामा फरक–फरक खालको कानूनी उपचारको अवस्था देखिएकाले यसलाई एकरुप बनाउनुपर्ने बेहोराको सर्वोच्च अदालतको आदेश र महान्यायाधिवक्ताको कार्यालयको अध्ययनबाटसमेत बैंकिङ कसुर तथा सजाय ऐनलाई संशोधन गर्नुपर्ने सुझावका आधारमा सरकारले यो विधेयक तयार पारेको थियो । विधेयकमाथि २० वटा संशोधन प्रस्ताव परेका थिए ।

कुनै व्यक्तिले आफ्नो खातामा रकम मौज्दात नभई चेक जारी गर्न नहुने व्यवस्था विधेयकमा राखिएको छ । “कसैले पनि आफ्नो बैंक खातामा रकम मौज्दात नभएको वा मौज्दात भएपनि भुक्तानीका लागि पर्याप्त छैन भन्ने जानाजान कसैलाई चेक जारी गरी दिन वा बैंकसँग त्यस्तो चेकको भुक्तानी माग गर्नुहुँदैन”, विधेयकमा भनिएको छ ।

 चेकको भुक्तानी गर्न आवश्यक पर्ने रकम खातामा मौज्दात नदेखिएमा त्यस्तो चेक बैंक तथा वित्तीय संस्थाले धारकलाई नै फिर्ता दिनुपर्नेछ । यही चेक साट्न चाहने व्यक्तिले त्यस्तो चेक अनादर भएको प्रमाणित गराउन चाहेमा बैंकले बढीमा ३० दिनको म्याद दिई आफ्नो खातामा आवश्यक रकम जम्मा गर्न सम्बन्धित खातावालालाई सूचना दिई सोको अभिलेख राख्नुपर्ने व्यवस्था विधेयकमा राखिएको छ । 

 त्यसरी सूचना दिएको जानकारी खुलाई बैंकले चेक फिर्ता गर्नुपर्नेछ । तीस दिनसम्ममा पनि खातामा पैसा उपलब्ध नभएमा चेक अनादर भएको प्रमाणित गर्नेसम्बन्धी प्रक्रिया अघि बढ्ने विधेयकमा उल्लेख छ ।


प्रकाशित मितिः मङ्गलबार, २५ भदौ २०८१
https://jawaaf.com/storage/01J7CT793754X6AB9F7METQF8G.jpg

जापानिज येनको भाउ घट्यो, अन्य विदेशी मुद्राको कति छ विनिमय दर ?

advertisement

काठमाडौँ, २५ भदौः नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकका अनुसार सोमबारको तुलनामा मङ्गलबार जापानिज येनको भाउ घटेको छ । सोमबार जापानिज येन १० को खरिददर ९ रुपैयाँ ४२ पैसा र बिक्रीदर ९ रुपैयाँ ४६ पैसा रहेकामा आजका लागि खरिददर ९ रुपैयाँ ३२ र बिक्रीदर ९ रुपैयाँ ३६ पैसा रहेको छ । 

आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ०४ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६४ पैसा, युरोपियन यूरो एकको खरिददर १४७ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ६२ पैसा र युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७५ रुपैयाँ ३६ पैसा र बिक्रीदर १७६ रुपैयाँ १४ पैसा कायम छ । 

advertisement


स्वीस फ्रयाङ्क एकको खरिददर १५७ रुपैयाँ ८७ पैसा र बिक्रीदर १५८ रुपैयाँ ५८ पैसा, अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ २२ पैसा र बिक्रीदर ८९ रुपैयाँ ६२ पैसा निर्धारण गरिएको छ । क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ८५ पैसा र बिक्रीदर ९९ रुपैयाँ २९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०२ रुपैयाँ ५४ र बिक्रीदर १०३ रुपैयाँ ०० पैसा कायम भएको छ ।

चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १८ रुपैयाँ ९२ पैसा कायम छ । राष्ट्र बैंकका अनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८७ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९४ पैसा कायम भएको छ । 

थाई भाट एकको खरिददर ३ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३ रुपैयाँ ९६ पैसा कायम छ । साथै युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६६ पैसा रहेको छ ।

advertisement


मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ६६ पैसा र बिक्रीदर ३० रुपैयाँ ८० पैसा, साउथ कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ९५ पैसा र बिक्रीदर ९ रुपैयाँ ९९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ९२ पैसा र बिक्रीदर १२ रुपैयाँ ९८ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ८३ पैसा र बिक्रीदर १९ रुपैयाँ ९२ पैसा छ ।

हङकङ डलर एकको खरिददर १७ रुपैयाँ १९ पैसा र बिक्रीदर १७ रुपैयाँ २७ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ ७३ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ६९ पैसा छ भने बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ ६१ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ २० पैसा कायम भएको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाइएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।


advertisement

प्रकाशित मितिः मङ्गलबार, २५ भदौ २०८१
https://jawaaf.com/storage/01J7B4JTA3ZX24BZTD4G62K8D0.jpg

नेप्से परिसूचक पछिल्लो चार कारोबार दिनदेखि निरन्तर ओरालो

advertisement

काठमाडौँ, २४ भदौ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा पछिल्लो चार कारोबार दिन लगातार गिरावट देखिएको छ । गत साताको बुधबार ९० दशमलव ७३ र बिहीबार १२ दशमलव १० अङ्कले घटेको नेप्से परिसूचक यो साता कारोबारको पहिला दिन हिजो २५ दशमलव ४६ अङ्कले घटेको थियो । पुँजीबजारको ओरालो यात्राले आज पनि निरन्तरता पाएको छ । आज नेप्से परिसूचक ५५ दशमलव ८६ अङ्कले घटेर दुई हजार छ सय ४६ दशमलव ०३ को बिन्दुमा कायम भएको हो । यो दुई दशमलव ०६ प्रतिशतको गिरावट हो ।

नेप्से परिसूचक घटेसँगै कारोबार रकममा पनि उल्लेख्य गिरावट देखिएको छ । कारोबार रकम गत असार मसान्तको हाराहारीमा खुम्चिएको छ । आज तीन सय २७ कम्पनीको दुई करोड १० लाख ४८ हजार नौ सय ११ कित्ता शेयर एक लाख ११ हजार नौ सय ८६ पटक खरिदबिक्री हुँदा रु नौ अर्ब ४३ करोड ९१ लाख छ हजार बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आजको कारोबारमा सबै समूहको उपसूचक रातो देखिएको छ । सबैभन्दा धेरै होटल तथा पर्यटन समूह दुई दशमलव ६७, जीवन बीमा दुई दशमलव ४९, निर्जीवन बीमा दुई दशमलव ४५, लघुवित्त दुई दशमलव ३३, बैंकिङ दुई दशमलव २८ र वित्त समूह दुई दशमलव २७ प्रतिशतले घटेको छ । 

advertisement


 त्यस्तै विकास बैंक एक दशमलव ८७, जलविद्युत् दुई दशमलव ४४, लगानी शून्य दशमलव ३४, उत्पादन तथा प्रशोधन एक दशमलव २५, म्युचुअल फन्ड शून्य दशमलव ९४, व्यापार शून्य दशमलव ३५ र अन्य समूह एक दशमलव ८३ प्रतिशतले घटेको छ । हाथवे इन्भेस्टमेन्ट नेपाल लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै आठ दशमलव ९८ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा भने उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सात दशमलव ७८ प्रतिशतले घटेको छ ।

 कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सिइडिबी हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको रु ३७ करोड पाँच लाख ५७ हजार बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने हाईड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड प्रमोटर शेयर १३ लाख ८२ हजार नौ सय छ कित्ता शेयर किनबेच भएको छ ।


प्रकाशित मितिः सोमबार, २४ भदौ २०८१
https://jawaaf.com/storage/01J7AYCK614F77S9WM0AGV4GPB.jpg

गायक अमात्यले गाउनुभयो, तीन दशक थन्किएको ‘कुनै दिन अवश्य पाउने छौँ...’

advertisement

काठमाडौँ, २४ भदौ : ‘कुनै दिन अवश्य पाउने छौँं, कुनै दिन अवश्य रुनेछौँ’ सरोज बाँस्तोलाले रचेको यो गीत तीन दशकअघि सङ्गीतकार ओमविक्रम विष्टको हातमा परेको थियो । उहाँले उक्त गीत आफ्नै आवाजमा रेकर्ड गर्नुभयो । तर, सार्वजनिक भने गर्न पाउनुभएन । 

यत्तिकै थन्किएर बसेको तीस वर्ष पुरानो गीतलाई अर्का गायक योगेश्वर अमात्यले जीवन्त बनाउन चाहनुभयो । गीत सङ्गीतको क्षेत्रबाट १२ वर्षसम्म मौन बस्नुभएका गायक अमात्यले यही थन्किएको गीत आफ्नो आवाजमा रेकर्ड गर्नुभएको छ ।  



advertisement



आफ्नै युट्युबमा गीत सार्वजनिक गर्नुभएका गायक अमात्यले रासससँग भन्नुभयो, “ओम दाईले मेरै लागि थाति राखे जस्तो लागेको छ ।” गीतलाई गायक अमात्यले पुनः एरेन्ज गरी आफ्नो आवाजमा रेकर्ड गर्नुको साथै श्रव्यदृश्यसहित प्रस्तुत गर्नुभएको छ । गायक अमात्यका ‘जब सन्ध्या हुन्छ,’ ‘लैजा चरी,’ ‘सिन्धुली गढी,’ ‘म मरे पनि मेरो देश,’ ‘मलाई प्यारो लाग्छ’ जस्ता कालजयी गीत लोकप्रिय छन् । गायक अमात्यको यस नयाँ गीतले दर्शकलाई पुनः उहाँप्रति आकर्षित गराउने विश्वास व्यक्त गर्नुभएको छ । सङ्गीतकार विष्टले अमात्यको गीत सार्वजनिक भएपछि तीस वर्ष निर्जीव भएको गीतले जिवन्तता महसुस गरेको बताउनुभयो । 

‘कुनै दिन’ गीतको श्रव्यदृश्यमा सुव्रत आचार्यको कन्सेप्ट र निर्देशन रहेकोछ भने क्रिएटिभ निर्देशक जया शर्मा रहनुभएको छ । श्रव्यदृश्यमा कलाकार प्रवीण खतिवडा, करुणा श्रेष्ठ र विकाश लामिछानेले अभिनय गर्नुभएको छ । श्रव्यदृश्यमा  आशिम रानाभाटको विशेष उपस्थिति रहेको छ । श्रव्यदृश्यको निर्माण व्यवस्थापन दीपेन्द्र गौतमले गर्नुभएको छ । यसमा सह निर्देशन साईव्रत आचार्यको छ । उत्सव दाहालले छायाङ्कन गर्नुभएको श्रव्यदृश्यका सम्पादक तथा रङ संयोजक विकास दाहाल हुनुहुन्छ । गीतमा गोपाल रसाइलीले सङ्गीत संयोजन रहेको छ । 




advertisement

प्रकाशित मितिः सोमबार, २४ भदौ २०८१
https://jawaaf.com/storage/01J7AV0BFR84G1EQBBNVDZBFFC.jpg

श्रमदानद्वारा सडक मर्मत गर्दै भोजपुरका सिके्रटारबासी

Advertisement

भोजपुर, २४ भदौः भोजपुरको अरुण गाउँपालिका–७ सिक्रेटारका स्थानीयवासीले श्रमदान गरेर सडक मर्मत गरेका छन् । वर्षात्का कारण सडक हिलाम्मे भएर आवतजावतमा समस्या भएपछि उनीहरूले श्रमदानमार्फत सडक मर्मत गरेका हुन् ।
 
वडा कार्यालयको अगुवाइमा भइरहेको यो अभियानमा गाउँले भेला भएर यहाँका विकास निर्माणका क्षेत्रमा काम गरिहेका छन् । सडक अवरुद्ध भएपछि  स्थानीयवासीको सक्रियतामा श्रमदान गरेर बाटो मर्मत गर्ने, हिलो भएको स्थानमा ढुङ्गा बिछ्याउने, सडकको नाली कटाउनेलगायत काम गरिएको वडासचिव अशोक अधिकारीले जानकारी दिनुभयो ।

 

advertisement


वडा कार्यालयको अनुरोध तथा स्थानीयवासीको सक्रियतामा सिक्रेटार बजारबाट लुङछुङसम्मको बाटो मर्मत गरिएको अरुण गाउँपालिका–७ सिक्रेटारका वडाध्यक्ष कुमार थापाले बताउनुभयो । श्रमदानमार्फत विभिन्न सडक मर्मतसँगै सरसफाइको काम भइरहेको उहाँ बताउनुहुन्छ ।

“हामीले श्रमदानमार्फत सडक मर्मतसँगै विभिन्न काम गर्दै आएका छौँ”, वडाध्यक्ष थापाले भन्नुभयो, “सडक बिग्रिएर आवतजावतमा समस्यापछि वडाको अगुवाइमा श्रमदान अभियान सञ्चालन गरिरहेका छौँ । सबै काम वडाको सीमित बजेटले गर्न सम्भव नभएपछि हामीले श्रमदान अभियान सञ्चालन गरिरहेका छौँ ।”

श्रमदान अभियानलाई निरन्तर रूपमा अघि बढाउने हाम्रो योजना रहेको वडाध्यक्ष थापाको भनाइ छ । श्रमदानमार्फत जरायोटार प्रहरी चौकीबाट पाडेखोलासम्मको सडक मर्मत गरिएको छ । त्यस्तै सिक्रेटार बजारसहित वडा तथा स्वास्थ्य कार्यालय आसपास क्षेत्रको सरसरफाइ गरिएको वडा कार्यालयले जनाएको छ ।


प्रकाशित मितिः सोमबार, २४ भदौ २०८१
https://jawaaf.com/storage/01J7ANNGH04NDYADT72G72YG6Q.jpg

खुला मिनीम्याराथन प्रतियोगितामा इटहरीका धनु मानन्धर प्रथम

advertisement

भैरहवा (रुपन्देही), २४ भदौः एक सय ११औँ बिपी जयन्तीको अवसरमा नेपाली कांग्रेस रुपन्देहीद्वारा आयोजित खुला सडक दौड प्रतियोगितामा इटहरीका धनु मानन्धरले प्रथम स्थान प्राप्त गर्नुभएको छ ।     
     
पाँच किलोमिटरको सो प्रतियोगितामा उहाँले १५ मिनेट ५२ सेकेण्डमा उक्त दूरी पूरा गर्दै प्रथम हुनुभएको हो । यसैगरी रुपन्देही गैडहवाका उमेश बरईले १६ मिनेट चार सेकेण्ड र रुपन्देही सियारीका अजय पाण्डेले १६ मिनेट २५ सेकेण्डमा उक्त दूरी पूरा गर्दै क्रमशः दोस्रो र तेस्रो स्थान हासिल गर्नुभयो ।     
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अगाडिबाट सुरु भएको दौड लुम्बिनी रोड, नारायणपथ हुँदै मिलनचोकमा समापन भएको थियो ।     
     
यसैगरी प्रतियोगिताको महिलातर्फ भने नेपाली सेनाको वर्चस्व रह्यो । महिलातर्फ दोस्रोबाहेक सबै पुरस्कार सेनाले हात पारेको छ । कालीभक्ती गणका सरिताकुमारी बस्नेतले पाँच किमीको दूरी २१ मिनेट २९.४४ सेकेण्डमा पूरा गर्दै प्रथम हुनुभयो भने कुसुम ठगुन्नाले २१ मिनेट २९.७३ सेकेण्ड र विपना केसी २१ मिनेट ४४ सेकेण्डमा पूरा गर्दै क्रमशः दोस्रो र तेस्रो हुनुभयो ।क     
     
पुरुषतर्फ मनोज केवट र महिलातर्फ विन्दु थापाले सान्त्वना पुरस्कार प्राप्त गर्नुभएको प्रतियोगिता संयोजक ओमकुमार श्रेष्ठले बताउनुभयो ।     
     

advertisement

प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्नेलाई रु १० हजार र प्रमाणपत्र, दोस्रोलाई नगद रु पाँच हजारसहित प्रमाणपत्र, तेस्रो हुनेलाई रु तीन हजार नगदसहित प्रमाणपत्र र सान्त्वना हुनेलाई रु एक हजार पाँच नगदसहित प्रमाणपत्र प्रदान गरिएको खेल संयोजक श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगितामा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र सर्वसाधारण गरी चार सय ५० जना बढी धावकको सहभागिता रहेको उहाँले बताउनुभयो ।     
     
‘खेलको विकास गर्नुपर्छ’ भन्ने बिपीको भनाइलाई आत्मसात् गर्दै प्रतियोगिताको आयोजना गरिएको कांग्रेसका जिल्ला सभापति रामकृष्ण खाणले बताउनुभयो । “खेलले नागरिकलाई स्वस्थ बनाउँछ, राष्ट्रलाई बलियो बनाउँछ । राष्ट्रियतालाई बलियो बनाउँछ । त्यही सिलसिलामा हामीले पनि खेलको विकास र युवालाई सङ्गठित बनाउने उद्देश्यसहित प्रतियोगिताको आयोजना गरेका हौँ”, उहाँले भन्नुभयो, “खेलको विकासबाट राष्ट्रकै विकास गर्न सकिन्छ र यसमा पार्टीहरू पनि लाग्नुपर्ने सन्देशसहित मिनी म्याराथनको आयोजना गरेका हौँ ।” प्रतियोगिताको शुभारम्भ नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेशसभा सदस्य अब्दुल रज्जाकले गर्नुभएको थियो ।     


advertisement


प्रकाशित मितिः सोमबार, २४ भदौ २०८१