बुधबार, २७ साउन २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01J4698ADADVC7BBB3PE8HYEGE.jpg

तोलामा एक हजार छ सयले बढ्यो सुनको मूल्य

काठमाडौँ, १७ साउन :  स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु एक हजार छ सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला रु एक लाख ४७ हजार आठ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ४९ हजार चार सय निर्धारण भएको छ । 

आजको मूल्यपछि सुनको मूल्य पुनः रेकर्ड नजिक पुगेको छ । चाँदीको मूल्य तोलामा रु २० ले बढेको छ । बुधबार प्रतितोला रु एक हजार सात सय ८० मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार आठ सय  निर्धारण भएको छ । 

प्रकाशित मितिः बिहिबार, १७ साउन २०८१
https://jawaaf.com/storage/01J46235EBFX8F56X560GJKYNJ.jpg

सङ्क्रमणकालीन न्यायसम्बन्धी विधयेकमा सहमति जुटाउन संयन्त्रको बैठक जारी

काठमाडौँ, १७ साउनः सङ्क्रमणकालीन न्यायसम्बन्धी विधयेकमा सहमति जुटाउन गठित संयन्त्रको बैठक गृह मन्त्रालयमा जारी छ । 

बैठकमा संयन्त्रका सदस्यहरू गृहमन्त्री रमेश लेखक, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का मुख्य सचेतक महेश बर्तौला र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्मा हुनुहुन्छ । बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया र कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति विमला सुवेदी पनि  सहभागी हुनुहुन्छ ।

प्रकाशित मितिः बिहिबार, १७ साउन २०८१
https://jawaaf.com/storage/01J461QK1T4R2CK1XV0Q9ZHC4J.jpg

सरकारी निवासमा पार्टीको बैठक नगर्ने प्रधानमन्त्रीको उद्घोष

काठमाडौँ, १७ साउन : प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टीको कुनै पनि बैठक नगर्ने घोषणा गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो स्वास्थ्यले साथ दिएसम्म सरकारी निवासमा पार्टीका कुनै पनि बैठक नगर्ने घोषणा उहाँले गर्नुभएको हो ।

प्रधानमन्त्रीले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “शुभ बिहानी! सामाजिक सञ्जालमार्फत तपाईँहरूले दिनुभएको सुझावअनुसार मेरो स्वास्थ्य अवस्थाले साथ दिएसम्म सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराख्ने जानकारी गराउँछु । आज हाम्रो पार्टीको सचिवालय बैठक छ । मनोहरा खोलामा आएको बाढीको डुबानले बैठक पार्टी कार्यालयमा बस्न नसक्ने भएका कारण यसपटक बैठक अन्यत्र राखिएको छ । यसरी नै मलाई सुझाव दिँदै जानुहोला । धन्यवाद !’
 
राजधानीको एक होटलमा आज बिहान ११ बजे एमाले सचिवालय बैठक हुँदैछ । बैठकमा केन्द्रीय नेताहरूको कार्यविभाजन र समसायिक विषयमा छलफल हुने पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताउनुभयो । गत असार २६ गतेको सचिवालय बैठकले पार्टीका केन्द्रीय नेताहरुको कार्यविभाजन हेरफेरको निर्णय गरेको थियो । 

प्रकाशित मितिः बिहिबार, १७ साउन २०८१
https://jawaaf.com/storage/01J45WBZ4GGPK53A5ZE6KA46SY.jpg

इलाममा ३४ करोड ८७ लाखमा बने ५९ कुलो

फिक्कल (इलाम), १७ साउनः इलाममा आर्थिक वर्ष २०८०/८१ मा रु ३४ करोड ८७ लाख १६ हजार नौ सय ३४ लागतमा ५९ वटा पक्की कुलो निर्माण भएका छन् । माङसेबुङ गाउँपालिका–१ गजुरमुखीका किसान आसमान योङहाङलाई यस वर्ष धानखेती गर्न कुनै समस्या भएन । वर्षौँदेखि अकासे खेतीमा निर्भर उहाँ यस वर्षदेखि सिँचाइ सुविधा पाएर दङ्ग हुनुहुन्छ ।     
     
गजुरमुखीमा साना सिँचाइ कार्यक्रमअन्तर्गत व्यवस्थित सिँचाइ कुलो निर्माणपछि योङहाङसहित सयौँ किसान यतिबेला खुसी भएका हुन् । उहाँको टोलमा रु ३९ लाख २१ हजारको लागतमा फुङखोलाबाट घुमाउरो पाक्रुम्बा कुलो निर्माण भएको हो ।     
     
माईजोगमाई गाउँपालिका–२ लप्सीबोटेका किसान कुमार राई पनि खुसी हुनुहुन्छ । राईगाउँ–लाप्चागाउँ–निगालेगाउँमा रु ५० लाख ५५ हजार आठ सय ८३ लागतमा ५८ घरपरिवारका किसान प्रत्यक्ष लाभान्वित हुनेगरी बजुरखोलामा कुलो निर्माण भएको छ ।     
     
योङहाङ र राई प्रतिनिधि उदाहरण मात्र हुनुहुन्छ । इलामका विभिन्न पालिकामा सञ्चालितका साना सिँचाइ कार्यक्रमबाट हजारौँ किसान लाभान्वित भएका छन् । इलाममा आर्थिक वर्ष २०८०/८१ मा रु ३४ करोड ८७ लाख १६ हजार नौ सय ३४ लागतमा ५९ वटा पक्की कुलो निर्माण भएका छन् । सूर्योदय नगरपालिकामा रु चार करोड १९ लाख २६ हजार छ सय ३४ को लागतमा १०, इलाम नगरपालिकामा रु छ करोड ८६ लाख ५१ हजार ६४ को लागतमा नौ, माङसेबुङ गाउँपालिकामा रु तीन करोड ४२ लाख ९४ हजार छ सय ६४ को लागतमा आठ, माई नगरपालिकामा रु चार करोड पाँच लाख ९८ हजार चार सय ७५ को लागतमा सातवटा सिँचाइ योजना सम्पन्न भएको साना सिँचाइ कार्यक्रम प्रमुख केशव लामाले जानकारी दिनुभयो ।     
     
योजनाबाट इलामका एक हजार २९ हेक्टर क्षेत्रमा सिँचाइ सुविधा विस्तार भएको छ । सिँचाइ सुविधा विस्तारसँगै जिल्लाका दुई हजार एक सय ४२ परिवार लाभान्वित भएका छन् । योजना सञ्चालनका लागि स्वीस सरकारको ३० प्रतिशत, सङ्घीय सरकार, प्रदेश सरकार र सम्बन्धित पालिकाले २०-२० प्रतिशत र स्थानीय उपभोक्ताहरुको १० प्रतिशत लागत साझेदारी गरेको थियो ।  

प्रकाशित मितिः बिहिबार, १७ साउन २०८१
https://jawaaf.com/storage/01J44DZTYCNTHXVPN9CZ2H3EZ1.jpg

नेपालमा वैदेशिक लगानी बढाएर सहयोग गर्न स्वीस राजदूतलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौँ, १६ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको आर्थिक विकास र समृद्धिका लागि बढीभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानीकर्ता भित्र्याएर सहयोग गर्न स्वीट्जरल्याण्ड सरकारलाई आग्रह गर्नुभएको छ ।     
     
शिष्टाचार भेटका लागि आज प्रधानमन्त्री निवास बालुवाटार आउनुभएका नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत डानियल मेउल्ली मोन्टेलोनेसँग प्रधानमन्त्री ओलीले नेपालको विकासका लागि वैदेशिक सहयोग उत्प्रेरक हुने बताउनुभयो । उहाँले समावेशी लोकतान्त्रिक संरचनाको विकासका लागि स्वीट्जरल्याण्डको अभ्यास स्थापित भएको उल्लेख गर्दै नेपाल सरकारले लोकतन्त्रको सबलीकरण गर्दै राज्यका संरचनालाई भूइँतहका जनताप्रति उत्तरदायी बनाउने प्रयत्न गरिरहेको बताउनुभयो ।     
     
प्रधानमन्त्री ओलीले प्रत्यक्ष वैदेशिक लगानी बढाउन सरकारले आवश्यक सुधारात्मक कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दै हालै सम्पन्न नेपाल लगानी सम्मेलनमा ५० मुलुकबाट उत्साहजनक सहभागिता भएको उल्लेख गर्नुभयो । नेपाल सन् २०२६ सम्ममा अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने र सन् २०३० सम्ममा मध्यम आय भएको मुलुक बन्ने लक्ष्य लिएकाले विकास साझेदारबाट सहयोग अभिवृद्धिको अपेक्षा व्यक्त गर्नुभयो ।     
     
 सो अवसरमा प्रधानमन्त्री ओलीले नेपालको विकासमा निरन्तर सहयोग, कोभिड—१९ को रोकथाममा सहयोग तथा शान्ति प्रक्रियामा सहयोग र सद्भावका लागि स्वीट्जरल्याण्ड सरकारलाई धन्यवाद दिनुभयो । प्रधानमन्त्री ओलीले गत जुलाइमा राष्ट्रपति रामचन्द्र पौडेलबाट भएको स्वीट्जरल्याण्ड भ्रमण र सन् २०१९ मा आफू प्रधानमन्त्री हुँदा डाभोसमा सम्पन्न विश्व आर्थिक मञ्चमा सहभागिताको स्मरण गर्दै यस्ता उच्चस्तरीय भ्रमण र बैठक आदानप्रदानबाट आपसी सम्बन्धमा नयाँ आयाम थपिने बताउनुभयो ।     
     
 राजदूत डानियलले प्रधानमन्त्री ओलीलाई कार्यकाल सफलताको लागि बधाई र शुभकामना दिँदै दुई पक्षीय पारस्परिक हित तथा सहयोग र सहकार्यलाई निरन्तरता दिने विश्वास दिलाउनुभयो । भेटका अवसरमा प्रधानमन्त्री ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, परराष्ट्र मन्त्रालयका अधिकारीलगायत सहभागी हुनहुन्थ्यो । 

प्रकाशित मितिः बुधबार, १६ साउन २०८१
https://jawaaf.com/storage/01J43CSWDC60FB3X6XSSR3E69P.jpg

नेवाद्वारा बागलुङमा दुई वर्षमा एक हजार आठ सय १५ धारा जडान

ढोरपाटन (बागलुङ), १६ साउन : नेपाल स्वास्थ्यका लागि पानी (नेवा)ले उपभोक्ता र स्थानीय सरकारसँगको सहकार्यमा जिल्लाका विभिन्न भागमा एक हजार आठ सय १५ धारा जडान गरेको छ । दुई वर्षको अवधिमा उक्त संस्थाले ती धारा जडान गरेको हो ।   
 
खानेपानीको अभाव झेलिरहेका ढोरपाटन नगरपालिका, निसीखोला, बडिगाड, तमानखोला गाउँपालिकाका साथै बागलुङ नगरपालिका, जैमिनी नगरपालिकाका बासिन्दालाई स्वच्छ पेयजलको व्यवस्था उक्त संस्थाले गरेको हो । नेवाले ग्रामीण भेग र सहरी क्षेत्रमा एक घर एक धारा जडानलाई तीव्रगतिमा अघि बढाएको छ । नेवाको सहयोगमा १९ हजार एक सय १८ जनाले शुद्ध खानेपानी सुविधा पाएका छन् ।   
 
आर्थिक वर्ष २०७९/०८० मा नेवाले जिल्लाको निसीखोला, तमानखोला, बडिगाड, ताराखोला, ढोरपाटन नगरपालिका, बागलुङ नगरपालिका जैमिनी नगरपालिकाको ३० स्थानमा आयोजना सञ्चालन गरेको थियो ।   
 
तीस वटा आयोजना सम्पन्न गर्न नेवाले रु छ करोड २० लाख पाँच हजार सात सय २५, पालिकाहरुको रु एक करोड ६४ लाख ९५ हजार नौ सय १४, उपभोक्ताबाट रु ३४ लाख ८३ हजार पाँच सय १२ र रु दुई करोड पाँच लाख १२ हजार तीन सय १२ बराबरको श्रमदान भएको थियो ।  

प्रकाशित मितिः बुधबार, १६ साउन २०८१
https://jawaaf.com/storage/01J433JYFA68ZGF9CHS6PBAVQY.jpg

बितेकाघण्टामा देशभर वर्षा, केही प्रदेशमा आज पनि मुसलधारे वर्षा हुने

काठमाडौँ, १६ साउनः पछिल्लो १२ घण्टामा देशभर वर्षा भएको तथा विशेष गरी कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धैरै स्थानमा र बाँकी प्रदेशका केही क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा भारीदेखि धेरै भारी वर्षा मापन गरिएको विभागले बताएको छ ।   
 
हाल देशभर साधारणतया बदली रहेको बागमती र मधेस प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका केही भेगमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।   
विभागका अनुसार आगामी २४ घण्टामा सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।   
 
कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा बागमती, गण्डकी, र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरोबाट बच्न विभागले अनुरोध गरेको छ ।  

प्रकाशित मितिः बुधबार, १६ साउन २०८१
https://jawaaf.com/storage/01J41SGJ9W8X3SVPJKRV66P7WJ.jpg

नेपाली पौडीबाज एलेक्जेन्डरको राष्ट्रिय कीर्तिमान

काठमाडौँ, १५ साउन : नेपाली पौडीबाज एलेक्जेन्डर शाहले पेरिस ओलम्पिक–२०२४ को पुरुष एक सय मिटर फ्रिस्टाइलमा आज नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।

फ्रान्सको पेरिस ला डिफेन्स एरिनामा भएको खेलमा निर्धारित दूरी ५१.९१ सेकेन्डमा पूरा गर्दै आफ्नै नाममा रहेको ५२.१७ सेकेन्डको कीर्तिमानमा सुधार गरेका हुन् । आज पुरुष एक सय मिटर फ्रि–स्टाइलमा उनले प्रतिस्पर्धा गरेका आठ खेलाडीले प्रतिस्पर्धा गरेको हिट ३ मा उनले ५१.९१ सकेन्डको समय निकालेका हुन् । उनी हिट ३ मा तेस्रो भएका हुन् । सोही स्पर्धामा जम्मा ७९ खेलाडीले भाग लिएका थिए । जसमा एलेक्जेन्डर ५९औँ स्थानमा रहे ।

एलेक्जेन्डरसँगै ओलम्पिकमा टेबलटेनिसका श्यान्टु श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल, पौडीकी डुवाना लामा र जुडोकी मनिता श्रेष्ठ प्रधान पहिलो चरणबाटै बाहिरिएका छन् । 

प्रकाशित मितिः मङ्गलबार, १५ साउन २०८१
https://jawaaf.com/storage/01J41MC06S690X759FAWRTFM6Z.jpg

अत्यधिक वृद्धिभएको खानेपानीको महसुल फिर्ता हुनुपर्छ : जसपा अध्यक्ष नगेन्द्र पारघरी

धरान, १५ श्रावण l धरानको समसामयिक विषय खानेपानी मूल्य वृद्धि सम्बन्धी केन्द्रित रहेर जवाफ डिजिटल पत्रिकाले जनता समाजवादी पार्टीका धरान नगर अध्यक्ष नगेन्द्र पारघरी सँग गरिएको संक्षिप्त संवादको  सम्पादित अंश…

  • नगेन्द्र जी नमस्कार I

नमस्कार ।

  • भर्खरै जसपाको धरान नगर अध्यक्ष हुनु भएको छ बधाई छ कार्यकाल सफल रहोश शुभकामना पनि छ ।

धन्यवाद, राम्रो गर्ने कोसिस गर्छु ।

  • धरान उपमहानगरपालिकाले अत्यधिक खानेपानी महसुल बृद्धि गरेको छ । यस बारेमा तपाई र तपाई को दल को धारणा के हो?

धरान उपमहानगरपालिकाले खाने पानीको महसुल र जडान मूल्य अत्यधिक वृद्धि गरेको प्रति हाम्रो विरोध छ । यो फिर्ता गर्नु पर्छ । खानेपानी जस्तो घन्टा घन्टा मिनेट मिनेटमा आवश्यक पर्ने अति आवश्यक चिजको जडान र प्रयोग गरेबापत जसरी मूल्य वृद्धि गरिएको छ यो विरोध लायक छ । यसमा हाम्रो समर्थन हुदैन ।

  • अन्य दल हरूले सडक मै आयर महसुल वृद्धिको विरुद्ध आन्दोलन गरिरहेका छन । तपाइहरूको पनि विरोध छ भन्नु हुन्छ नगरपालिका ले तपाईहरूको विरोधले महसुल घटाउला त ?

अरू दलहरूले जे गर्छन् विरोधको शैली त्यही अपनाउनु पर्छ भन्ने छैन । जहाँ सम्म एमाले, काङ्ग्रेस, माओवादीको कुरा छ । वहाँ हरूको विरोधको के अर्थ रहला र ? किन कि यहाँ पानीको मात्र मूल्य वृद्धि गरिएको छैन स्थानीय तहले दिने विभिन्न सेवा सुल्कहरूमा पनि मूल्य वृद्धि गरीको छ त्यसमा एमाले, काङ्ग्रेस र माओवादी बाट निर्वाचित प्रतिनिधिको निर्णय प्रक्रियामा सहभागिता छ । त्यस कारण हाम्रो विरोधको विशेष अर्थछ ।

  • उच्च प्रतिशत र असमान ढंगले मूल्यवृद्धि गरिएको भन्ने छ । यस्तो अन्याय पूर्ण मूल्य वृद्धि प्रति तपाई के भन्नु हुन्छ ?

समग्रमा मूल्य वृद्धि प्रति हाम्रो विरोध छ । जहाँ सम्म असमानताको विषय छ हाम्रो प्रस्ट बिचार छ । सामान्य प्रयोजन र ब्यापारी प्रयोजन बिचमा फरक चाहिँ हुनु पर्छ । दैनिक उपभोग्य र स्विमिङ्ग पुल लाई वा दैनिक उपभोग्य भन्दा अन्य प्रयोजन लाई भिन्न भने हुनै पर्छ ।

  • धरानमा खानेपानीका लागि ए.डी.बि. सँग लिएको ऋण मूल्य नबढाई कसरी तिर्न सकिन्छ भन्ने भनाई पनि छ नि ?

यो चाहिँ तिर्ने बेलामा गर्ने तर्क होइन । यो ऋण लिने बेलानै सोच्ने विषय हो । आयोजना को सम्झौता हुँदाखेरिनै सोच्न पर्थ्यो । खाली दैनिक उपभोग्ता र धारा जडान बाट आएकोले मात्रै ऋण चुक्ता गर्छु् भन्ने सोच नै बेकार हो । खानेपानी व्यवस्थापन बोर्ड ले अलि फराकिलो ढंगले सोच्नु पर्यो पानीलाई बोटलिङ्ग गरेर वा अन्य व्यावसायिक योजना बनाएर खानेपानी व्यवस्थापन बोर्डले आय आर्जन गर्ने योजना पनि बनाउनु पर्यो ।

  • धरानमा खाने पानीकै समस्या छ । बोटलिङ्ग को सम्भावना छ र ?

यो बोर्डको इच्छा शक्तिको कुरामा भर पर्छ । नगरपालिकाले पनि बोर्डलाई काम काजी बनाउनु पर्यो । बोर्डले पनि आफ्नो दक्षता प्रदर्शित गर्नु पर्छ । खाने पानी व्यवस्थापन बोर्ड नाम चाहिँ दिने तर व्यवस्थापन नगर्ने हो भने त किन बोर्ड गठन गर्नु पर्‍यो र ।

प्रकाशित मितिः मङ्गलबार, १५ साउन २०८१
https://jawaaf.com/storage/01J41AMVP4GX12HAWFAENRGDAT.jpg

एक करोड अधिक खर्च भएको लेखनाथ रङ्गशाला घाँसेमैदानमा परिणत

रामबहादुर थापा
गण्डकी, १५ साउनः सोमबार साँझ केही युवा लेखनाथ रङ्गशालामा फुटबल खेलिरहेका थिए । खेलाडीले प्रहार गरेको बल घरी घाँसभित्र घरी हिलोमा पुग्थ्यो । यद्यपि उनीहरू उत्साहका साथ खेलिरहेका थिए । मैदानको छेउमा किशोरहरू पनि फुटबल अभ्यासमा रमाइरहेका थिए ।     
     
फुटबल, भलिबलदेखि सन्ध्याकालीन हिँडडुल र व्यायामका लागि पुगेकाहरूको चहलपहल रङ्गशालामा थियो । बिहानबेलुका करातेलगायत मार्सल आर्टका खेलाडी पनि अभ्यासका लागि त्यहाँ पुग्छन् । कभर्ड हल नभएका कारण उनीहरू खुला आकाशमुनि अभ्यास गर्न बाध्य छन् । वर्षा याममा रङ्गशालाको ‘ट्रयाक’ हिलाम्मे हुने भएकाले अभ्यासपूर्व खेलाडीहरू दौडनसमेत पाउँदैनन् ।     
     
आठ वर्षअघि निर्माण सुरू भएको बहुउद्देशीय कभर्ड हल बीचमै अलपत्र परेपछि ‘इन्डोर’ खेलको पनि चौरमै प्रशिक्षण गराउनुपर्ने बाध्यता छ । पोखरा महानगरपालिका– २९ स्थित यो रङ्गशालामा पूर्वाधार नहुँदा व्यवस्थित ढङ्गले खेल गतिविधि सञ्चालन गर्न कठिन भएको छ । पोखरा रङ्गशालाको विकल्प मानिएको लेखनाथ रङ्गशालामा भौतिक पूर्वाधार बनाउनुपर्नेमा स्थानीय खेलाडीले जोड दिएका छन् ।     
     
आदर्श युवा क्लबका अध्यक्ष पदम गुरुङले रङ्गशालामा बनेका संरचना अलपत्र परेकामा दुखेसो गर्नुभयो । रङ्गशालाको ट्रयाक मापदण्डअनुसारको नभएको उहाँले बताउनुभयो । प्यारापिट पनि लथालिङ्ग छ । “अहिले ठूला खेल प्रतियोगिता सञ्चालन गर्न सकिने अवस्था छैन”, उहाँले भन्नुभयो, “सामान्य खेल अभ्यासका लागि पनि पूर्वाधार अभाव छ ।”     
     
पोखरा महानगरको खेलकुद विकास समितिका पदाधिकारी बजेट अभावले रङ्गशाला बन्न नसकेको बताउँछन् । आठ वर्षअघि रङ्गशालाभित्र निर्माण थालिएको बहुउद्देश्यीय कभर्ड हल पनि बजेट नहुँदा अलपत्र परेको छ ।     
     
बजेट नहुँदा कभर्ड हल निर्माण तीन वर्षदेखि ठप्प छ । हालसम्म त्यसमा रु एक करोड १० लाख खर्च भइसकेको छ । आव २०७४ र २०७५ मा गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयबाट रु ११ लाख बजेटबाट कभर्ड हलको काम सुरु भएको थियो ।     
     
राष्ट्रिय खेलकुद परिषद्ले रु ५० लाख, प्रदेशको युवा तथा खेलकुद मन्त्रालयले रु २५ र तत्कालीन प्रदेशसभा सदस्य दीपक कोइरालाको निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट रु २५ लाख बजेट खर्च भइसकेको छ । उक्त बजेटबाट भुइँतलाको पिलर र पर्खाल बनाइएको छ । पोखरा–२९ का वडाध्यक्ष श्रीप्रसाद गुरुङले रङ्गशालामा पूर्वाधार तयार गर्न महानगर, प्रदेश र सङ्घ सरकारको लगानी चाहिने बताउनुभयो ।     
     
खेलकुद हेर्ने निकाय र खेल पदाधिकारीको उपेक्षामा लेखनाथ रङ्गशाला परेको उहाँको टिप्पणी छ । “राज्यको स्रोतसाधन जुटाएर लेखनाथ रङ्गशालालाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार विकास गर्नुपर्छ”, उहाँले भन्नुभयो । लेखनाथ रङ्गशालालाई पूर्वाधार सम्पन्न बनाउन पोखरा महानगरले अगुवाइ गर्नुपर्ने स्थानीयवासीको माग छ ।     
कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरणबहादुर बानियाँले पोखरालाई खेल पर्यटनको गन्तव्यका रुपमा विकास गर्नुपर्ने बताउनुभयो । “खेल क्षेत्र सरकारको कम प्राथमिकतामा छ, पोखराको खेलकुद विकासमा प्रदेश सरकारले पनि वेवास्ता गरिरहेको छ”, उहाँले भन्नुभयो । -रासस   

प्रकाशित मितिः मङ्गलबार, १५ साउन २०८१