बिहिबार, २८ साउन २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01J40PDKWGV8A2PQAZ15G3QXC7.jpg

नाचगान गरेर जुटाएको रकम सामाजिक सेवामा

म्याग्दी, १५ साउनः म्याग्दीको बेनी नगरपालिका–४ को उपल्लो तातोपानी बजारका बासिन्दाले नाचगान गरेर जुटाएको रकम सामाजिक काममा परिचालन गरेका छन् ।

उपल्लो तातोपानीमा रहेको टोल विकास संस्था र जलमाई भगवती आमा समूहले प्राकृतिक तातोपानी कुण्डमा स्नानका लागि र विदेशबाट जन्मथलो आएका लाहुरेहरूको स्वागतका लागि हरेक शुक्रबार सांस्कृतिक कार्यक्रम गर्छन् ।

नाचगान गरेर पाहुना र लाहुरेहरूबाट जुटाएको सहयोग रकमबाट सिसीटिभी क्यामेरा जडान, विश्रामस्थल, सडकबत्ती, फोहर व्यवस्थापनलगायत काममा खर्च गरिएको उपल्लो तातोपानी टोल विकास संस्थाका अध्यक्ष मुक्तिप्रसाद जुग्जालीले बताउनुभयो । 

“तातोपानीमा हरेक शुक्रबार साँझ हुने सांस्कृतिक कार्यक्रम नाचगान गरेर जुटाएको रकम सामाजिक कामका लागि सहयोगी बनेको छ”, उहाँले भन्नुभयो, “सांस्कृतिक कार्यक्रमले मौलिक लोक संस्कृतिको पुस्तान्तरण र संरक्षणमा पनि सहयोग पुगेको छ ।”

अध्यक्ष जुग्जालीका अनुसार नाचगान गरेर जुटाएको रु दुई लाख ८६ हजार र ७६ घरपरिवारबाट रु एक हजार पाँच सयका दरले सङ्कलन गरेको रकमबाट रु चार लाख खर्चेर उपल्लो तातोपानी बजारको सुरक्षाका लागि हालै १६ ठाउँमा सिसीटिभी क्यामेरा जडान गरिएको छ । 

सो सिसीटिभी क्यामेरामा एक महिनासम्मको आवाजसहितको भिडियोलाई भण्डारण गर्ने क्षमता रहेको छ । केही दिनअघि उपल्लो तातोपानीमा भएको चोरीको घटनामा संलग्नलाई सिसीटिभी क्यामेराको फुटेजका आधारमा तत्कालै पक्राउ गरेर प्रहरीलाई बुझाएको जलमाई भगवती आमा समूहका सचिव मीना जुग्जाली गर्बुजाले बताउनुभयो । 

आमा समूह र टोल विकास संस्थाले गत तिहारमा देउसीभैलो खेलेर जुटाएको रकमबाट उपल्लो बजारबाट तातोपानी कुण्डमा जाने सडकको डिलतर्फ रेलिङ र विश्रामस्थल बनाएका छन् । यसअघि सडक किनारामा फूलका बिरुवा रोपिएको र सडकबत्ती जडान गरेर उज्यालो पारिएको संस्थाका उपाध्यक्ष मीना पुन बुढाथोकीले बताउनुभयो । 

उपल्लो तातोपानीमा बसोबास गर्ने सेवानिवृत्त भूतपूर्व गोर्खा सैनिकहरूले हालै रु पाँच लाख खर्चेर दुईवटा प्रतिक्षालय बनाएका छन् । सो प्रतिक्षालयबाट स्थानीयवासी, तातोपानीमा आउने पाहुना र बेनी–दरवाङ सडकमा यात्रा गर्ने यात्री लाभान्वित भएका छन् । कुण्डचोकमा सार्वजनिक शौचालय बनाउने योजना रहेको उपाध्यक्ष बुढाथोकीले बताउनुभयो । 

बिरेनुनको गन्ध आउने पानी सङ्कलन गरिएको पोखरीमा स्नान गरेर छाला, ग्यास्ट्रिक, बाथ, चोटपटक लागेको स्वास्थ्य समस्या निको हुने जनविश्वासका साथ गत वर्ष नेपालका ५९ जिल्ला, भारत, रसिया, फ्रान्स र जापान ४४ हजार जनाभन्दा बढी स्नानका लागि तातोपानी आएका थिए ।

प्रकाशित मितिः मङ्गलबार, १५ साउन २०८१
https://jawaaf.com/storage/01J40KSZ63THFHCA2205BMAEN4.jpg

पेरिस ओलम्पिक– २०२४ : प्रिन्सले नतिजालाई आफ्नो पक्षमा ल्याउन सकेनन्

काठमाडाँै, १५ साउनः पेरिस ओलम्पिक– २०२४ को ब्याडमिन्टन प्रतियोगितामा नेपालका प्रिन्स दाहाल पराजित भएका छन् । फ्रान्सको पेरिसस्थित ला चापेला एरिनाको कोर्ट नं २ मा आज बिहान सम्पन्न भएको समूह ‘पी’को खेलमा विश्व वरियताको ४३औँ स्थानमा रहेका आयरल्याण्डका हात गुयेनले प्रिन्सलाई २१–७ र २१–५ को सोझो सेटमा पराजित गरे । गुयेनलाई नतिजा आफ्नो पक्षमा पार्न ३५ मिनेट लाग्यो । पहिलो सेटको नतिजा १७ मिनेटमा आफ्नो पक्षमा पारेका गुयेनले दोस्रो सेट जित्न १८ मिनेट खर्चेका थिए ।     
     
प्रिन्सको सर्भिसमा गुयेनले पहिलो सेटमा छ र दोस्रो सेटमा चार अङ्क जोडेका थिए । आफ्नो सर्भिसमा भने गुयेनले पहिलो सेटमा १५ र दोस्रो सेटमा १७ अङ्क बटुलेका थिए । गुयेनको ओलम्पिकमा यो लगातार दोश्रो सहभागिता हो । उनले टोकियो ओलम्पिक २०२० मा पनि खेलेका थिए ।     
     
विश्व वरियतामा एक सय ७२औँ स्थानमा रहेका प्रिन्सको यो लगातार दोस्रो हार हो । समूह चरणको पहिलो खेलमा पूर्वजुनियर नम्बर वान प्रिन्स विश्व वरियताको शीर्ष दुई स्थानमा रहेका डेनमार्कका भिक्टर एक्सेल्सेनसँग २१–८ र २१–६ को सोझो सेटमा पराजित भएका थिए । समूह चरणको अन्तिम खेलमा प्रिन्सले ५८औँ विश्व वरियताका इजरायलका मिसा जिल्बरम्यानसँग भोलि प्रतिस्पर्धा गर्नेछन् । कठिन मानिएको समूह ‘पी’मा प्रिन्ससहित चार खेलाडी छन् । ओलम्पिकमा ब्याडमिन्टन नेपालका लागि ‘डेब्यु’ खेल हो । सन् १९६४ को टोकियो ओलम्पिकदेखि नेपालले ओलम्पिकमा भाग लिन सुरु गरेयता ब्याडमिन्टनमा पहिलोपटक सहभागिता जनाएको हो ।     

प्रकाशित मितिः मङ्गलबार, १५ साउन २०८१
https://jawaaf.com/storage/01J3YWT6QBKT2BEFKNN6ZATB8K.png

प्रतिनिधिसभा : विद्यालय बसको गति नियमन गर्न सुझाव

काठमाडौँ, १४ साउन I सांसदहरुले कास्कीको पोखरा महानगरपालिका–२१ मा दुर्घटनामा परेको विद्यार्थी बोकेको स्कूल बसको विषयबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।   
  
प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसद शिव नेपालीले तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको निष्कर्ष रहेको उल्लेख गर्दै विद्यालयको बसको गति सीमित तुल्याउन र नियमन गर्न सरकारलाई सुझाव दिनुभयो ।   
  
उहाँले भन्नुभयो, “चालकले तीव्र गतिमा बस कुदाउने गर्दछन्, त्यसकारण नेपाल सरकारले कडाईका साथ विद्यालयका बसको गति सीमिततालाई कार्यान्वयन गर्न जरुरी छ ।”   
  
कास्कीको पोखरा महानगरपालिका–२१ मटिखान नजिकै एलपी देवकोटा मेमोरियल इङ्लिस बोर्डिङ स्कूलको बस आज बस दुर्घटनामा परेको थियो । दुर्घटनामा ६ वर्षीय प्रिन्स विक र ३३ वर्षीया आरती विकको मृत्यु भएको थियो ।   
  
सांसद नेपालीले भन्नुभयो, “पछिल्लो समयमा सडक तथा हवाई दुर्घटना बढेको छ, उड्नेबाट यात्रा गरे शव नै नचिनिने र गुड्नेबाट यात्रा गरे शव नै नभेटिने अवस्था छ, दुर्घटना न्यूनीकरणमा सरकारको ध्यान जानुपर्छ ।”   
  
सांसद नेपालीले बिपी कोराइलाको ‘उत्पादन र उद्यमशीलतामा जोड दिनुपर्छ’ भन्ने भनाइलाई स्मरण गर्दै नेपालमा प्रजातन्त्र तथा गणतन्त्र आए पनि तीनै तहका सरकारले सही ढङ्गबाट काम गर्न नसकेको आरोप लगाउनुभयो । गण्डकी प्रदेश सरकारले प्रदेशस्तरीय यातायातसम्बन्धी ऐन, कानून तथा नियमावली जारी गरे पनि सो ऐन, कानुन तथा नियमावली यातायात व्यवसायी विरुद्ध भएको उहाँको भनाइ थियो ।   
  
“कानुनका कयौँ बुँदा यातायात व्यवसायीका विरुद्धमा छन्, यातायात महासङ्घ, स्थानीय समितिसँग छलफल नै नगरी ऐन ल्याएको देखिन्छ,” सांसद नेपालीले भन्नुभयो ।   
  
सांसद रोशन कार्कीले महिला हिंसाको उजुरी परेका प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानलाई कुनै पनि सरकारी निकायमा नियुक्त गर्न नहुने जिकिर गर्नुभयो ।   
  
सांसद अब्दुल खानले वर्षाका कारण अवरुद्ध बनेको कर्णाली राजमार्ग पुनः सञ्चालनमा ल्याउन आग्रह गर्नुभयो । उहाँले दैलेखको आठबिस नगरपालिका–१ असारघाट नजिकै पहिरो जाँदा सडक अवरुद्ध भएकाले सुर्खेतबाट माथिलो कर्णाली र माथिलो कर्णालीबाट सुर्खेततर्फ आवतजावत गर्ने यात्री अलपत्र परेको सदनलाई जानकारी गराउनुभयो ।   
  
सांसद खानले कास्कीको पोखरामा भएको स्कूल बस दुर्घटनामा परेका विद्यार्थीको उपचारमा ध्यान दिन सरकारसँग माग गर्नुभयो । उहाँले हवाई तथा सडक यातायात असुरक्षित बन्दै गएकामा चिन्ता व्यक्त गर्दै सुरक्षित यात्राको प्रबन्ध मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।   
  
सांसद डा अमरेशकुमार सिंहले पछिल्ला दिनमा सडक दुर्घटना बढ्दै गएको भन्दै सडक पूर्वाधारको गुणस्तरमाथि प्रश्न उठेको टिप्पणी गर्नुभयो ।   

प्रकाशित मितिः सोमबार, १४ साउन २०८१
https://jawaaf.com/storage/01J3YREF74400HMV45JFGVFE08.jpg

जब प्रधानमन्त्रीलाई तेह्रथुमका जनप्रतिनिधिले भेटे...

काठमाडौँ, १४ साउन : आफ्नो गाउँठाउँको व्यक्ति मुलुकको शासनसत्ता सञ्चालनको मुुख्य जिम्मेवारीमा पुुग्दा त्यहाँका जनप्रतिनिधि र बासिन्दालाई खुसी र गौरव लाग्नुु स्वभाविकै हो । प्रधानमन्त्री केपी शर्मा ओली चौथो पटक गत असार ३० गते उक्त पदमा नियुक्त भएपछि उहाँ जन्मेको जिल्ला तेह्रथुमका सङ्घीय सांसद, स्थानीय तहका जनप्रतिनिधिसहित सत्तारुढ नेपाली कांग्रेस र नेकपा (एमाले) का नेता–कार्यकर्ताले आज त्यस्तै प्रकारको खुसी र गौरव अभिव्यक्त गरेका छन् । उहाँहरुले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीलाई सामूूहिकरुपमा भेटेर कार्यकाल सफलताको बधाई र शुभकामना दिनुभयो ।   
  
प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री सीता गुरुङसहितको टोलीले जिल्लामा विकास निर्माणका कामले गति पाउने आशा र विश्वास व्यक्त गर्नुभयो । तेह्रथुमको आठराई गाउँपालिका–४, इवामा २००८ फागुन ११ गते जन्मनुभएका प्रधानमन्त्री ओलीको परिवार २०२० सालमा झापा बसाइ सरेको हो ।   
  
“हाम्रै धुलो माटोमा जन्मिएर चार चार पटकसम्म मुलुकको प्रधानमन्त्री हुनु हामी जिल्लावासीका लागि गौरवको विषय हो । संयोगले यस पटक विश्वासको मत दिने क्रममा म पनि तपाईँको पक्षमा उभिन पाएँ । एक पटक जिल्ला र जन्मस्थल आठ्राई आएर त्यहाँको अवस्थाबारे बुझिदिनुहोला”, कांग्रेस सांसद गुरुङको सो आग्रहलाई प्रधानमन्त्री ओलीले हँसिलो मुुद्राका साथ श्रवण गर्नुभएको थियो । प्रधानमन्त्री ओलीले सांसद गुरुङ र आठ्राई गाउँपालिकाका अध्यक्ष दिलकुमार पाहिमले दिएको विकास निर्माण सम्बन्धि लिखित मागपत्रलाई आवश्यक कारवाहीका लागि आफ्नो सचिवालयलाई जिम्मा दिनुुभयो ।   
  
लाँलीगुराँस नगरपालिकाका प्रमुख अर्जुन माबुहाङको चाहना पनि ती माग कार्यान्वयन हुनुपर्छ भन्ने रहेको छ । यस्तै सांसद गुरुङले प्रधानमन्त्री ओली पढेको पोखारी माध्यमिक विद्यालयको भवन जीर्ण अवस्थामा रहेको, १५ शय्याको गाउँपालिका अस्पताल निर्माणमा ढिलाइ भइरहेको, सुकेपोखरी–प्रणामी मावि–ढङु्गेसाँघुु सडक, लुम्बुघाट मोटरपुल आदि ठेक्का लागेका योजना अलपत्र परेकाबारे प्रधानमन्त्री ओलीलाई अवगत गराउनुुभयो ।   
  
चुहानडाँडामा निर्माण हुने विमानस्थल लामो समयदेखि वातावरणीय प्रभावको अध्ययनमा मात्र सीमित भइरहेको हुँदा वातावरणीय अध्ययन कार्यलाई यथाशिघ्र सम्पन्न गरी निर्माणकार्य अगाडि बढाउन आवश्यक निर्देशन दिन गाउँपालिकाकाले आग्रह गरेको छ ।  

प्रकाशित मितिः सोमबार, १४ साउन २०८१
https://jawaaf.com/storage/01J3YQSA9V5SA558GPSEA9RAPN.jpg

बङ्गलादेशमा विद्यार्थीको अन्तिम चेतावनीलाई प्रशासनद्वारा बेवास्ता, थप आन्दोलनको घोषणा

ढाका १४ साउन (रासस/एएफपी) : बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाको नेतृत्वको सरकारले विदार्थी नेतालाई रिहा गर्ने र आन्दोलनका क्रममा शाहदत प्राप्त गरेका नागरिकका आफन्तसँग माफी माग्ने अन्तिम चेतावनीलाई बेवास्ता गरेपछि आन्दोलनरत बङ्गलादेशी विद्यार्थी समूहले सोमबारका लागि सडक प्रदर्शनको नयाँ आन्दोलनको घोषणा गरेको छ ।   
 
एएफपीलाई प्रहरी र अस्पतालबाट प्राप्त नयाँ तथ्याङ्कअनुसार यस महिना निजामती सेवाको भर्नामा आरक्षण (कोटा) प्रणालीको विरोधमा विद्यार्थीहरूले जुलाइमा गरेको प्रदर्शनका क्रममा भएका हिंसात्मक घटनाहरूमा कैयौँ प्रहरी अधिकारीसहित कम्तीमा २०५ जनाको मृत्यु भएको थियो ।   
 
यो भिडन्त हसिनाको १५ वर्षे कार्यकालको सबैभन्दा खराब घटना थियो तर सरकारले सेना परिचालन गरेर, कर्फ्यु लगाएर र देशव्यापी रूपमा इन्टरनेट बन्द गर्दै सम्भावित उथलपुथल हुनबाट रोकेको छ ।   
 
सुरुमा विरोध प्रदर्शन गर्ने समूह ‘स्टुडेन्ट्स अगेन्स्ट डिस्क्रिमिनेसन’का कम्तीमा आधा दर्जन नेतालाई प्रहरीले हिरासतमा लिएपछि हजारौँ विद्यार्थीले उनीहरूको आन्दोलनमा सहभागिता जनाएका थिए ।   
“सरकारले हाम्रो आन्दोलनप्रति पूर्ण असंवेदनशीलता देखाइरहेको छ,” समूहका संयोजक अब्दुल कादरले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।   
 
उहाँलेले भन्नुभयोे, “हामीले देशभर विरोध ¥यालीको आह्वान गरेका छौं । हामी बङ्गलादेशका सबै नागरिकलाई हाम्रो मागप्रति ऐक्यबद्धता जनाउन र हाम्रो आन्दोलनमा सहभागी हुन अनुरोध गर्दछौं ।”   
 
विद्यार्थी अगेन्स्ट डिस्क्रिमिनेसनका नेताहरूले आइतबार साँझसम्म प्रहरीले आफ्ना नेताहरूलाई रिहा नगरे एक हप्ता लामो आन्दोलन स्थगनको कार्यक्रमलाई सोमबारदेखि नै जारी राख्ने अन्तिम चेतावनी दिएका थिए ।   
 
यस समूहको मागमा हिंसाका लागि हसिनाले सार्वजनिक रूपमा माफी माग्नुपर्ने, उहाँका कैयौँ मन्त्रीहरूलाई बर्खास्त गर्नुपर्ने र अशान्तिको उत्कर्षमा रहेका देशभरका विद्यालय र विश्वविद्यालयहरू पुनः खोल्नुपर्ने पनि समावेश छ ।   
 
बङ्गलादेशको दैनिक पत्रिका प्रोथोम आलोका अनुसार अशान्ति सुरु भएयता देशभर कम्तीमा नौ हजार व्यक्तिलाई पक्राउ गरिएको छ ।   
 
सैनिकहरूले अझै पनि सहरी क्षेत्रमा गस्ती गरिरहेका छन् र राष्ट्रव्यापी कर्फ्यु जारी छ तर गत हप्ताको सुरुदेखि यसलाई क्रमिक रूपमा खुकुलो पारिएको छ ।   
 
बङ्गलादेशमा जारी अशान्तिको चरमोत्कर्षमा रहेको बेला देशव्यापी रूपमा अवरूद्ध गरिएको मोबाइल इन्टरनेट सञ्जाल ११ दिनपछि आइतबार पुनः सञ्चालनमा आएको छ ।   
 
सबै सरकारी जागिरको आधाभन्दा बढी हिस्सा निश्चित समूहका लागि आरक्षित गर्ने योजना पुनः लागू गरिएको विरोधमा यसै महिना प्रदर्शन सुरु भएको थियो ।   
 
सरकारी आँकडाअनुसार करिब एक करोड ८० लाख युवा बङ्गलादेशीहरू बेरोजगार रहेको समय आएको यस कदमले गम्भीर रोजगारी सङ्कटको सामना गरिरहेका स्नातकहरूलाई गम्भीररूपमा दुःखी बनाएको छ ।   
 
आलोचकहरूका अनुसार यो योजना सत्तारुढ अवामी लिगका वफादारहरूलाई भर्ना गर्न दुरूपयोग गरिएको छ ।   
 
सर्वोच्च अदालतले गत हप्ता आरक्षित जागिरको सङ्ख्या कटौती गरेको थियो तर कोटा पूर्ण रूपमा खारेज गर्ने प्रदर्शनकारीहरूको मागलाई बेवास्ता गरेको थियो ।   
 
सन् २००९ देखि बङ्गलादेशमा शासन गर्दै आएकी ७६ वर्षीया हसिनाले ‘वास्तविक विपक्षी दल’को सहभागिता नभएको गत जनवरीमा भएको चुनावमा लगातार चौथो कार्यकालका लागि अनुमोदित हुनुभएको थियो ।   
 
उहाँको सरकारमाथि अधिकारवादी समूहहरूले राज्यका संस्थाहरूको दुरुपयोग गरी सत्तामा आफ्नो पकड बलियो बनाउन र विपक्षी कार्यकर्ताहरूको गैरन्यायिक हत्यालगायत असहमतिलाई निस्तेज पार्न प्रयोग गरेको आरोप लगाउँदै आएका छन् ।  

प्रकाशित मितिः सोमबार, १४ साउन २०८१
https://jawaaf.com/storage/01J3YQ0K9XVBR864MHSYEKZQQ0.jpg

बस दुर्घटनामा आमा–छोराको मृत्यु

कास्की, १४ साउन I कास्कीको पोखरामा आज भएको विद्यालयको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा २८ जना घाइते भएका छन् । 

 पोखरा–१७ बिरौटास्थित एलपी देवकोटा मेमोरियल स्कुलको ग१क ६२१९ नम्बरको विद्यार्थी बोकेको बस पोखरा–२१ गुड्कुस्थित भित्री सडकमा अनियन्त्रित हुँदा सडकबाट ५० मिटर तल खसेको थियो । सो घटनामा पोखरा–२१ बस्ने उक्त विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र विद्यालयमा अध्ययनरत उनका छोरा ६ वर्षीय प्रिन्स विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिनुभयो । दुवैजनाको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।  

दुर्घटनामा घाइते भएका विद्यार्थी, शिक्षक, अभिभावक तथा चालकमध्ये १३ जनाको गण्डकी मेडिकल कलेजमा, १२ जनाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र तीन जनाको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मितिः सोमबार, १४ साउन २०८१
https://jawaaf.com/storage/01J3YJ7DKQG400D1R7CGJ828E7.jpg

सङ्क्रमणकालीन न्यायसम्बन्धी संयन्त्रको बैठक सम्पन्न

काठमाडौँ, १४ साउन : सङ्क्रमणकालीन न्यायसम्बन्धी गठित संयन्त्रको बैठक सकिएको छ । आज बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको संयन्त्रको बैठक आगामी बिहीबार बस्ने गरी सकिएको हो । आजको छलफलमा संयन्त्रका सदस्य नेपाली कांग्रेसका तर्फबाट गृहमन्त्री रमेश लेखक, एमालेका मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा सहभागी हुनुहुन्थ्यो । 

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, संसद्को कानुन, न्याय तथा मानव अधिकार समिति सभापति बिमला सुवेदी, महान्यायाधिवक्ता रमेश बडाललगायतको उपस्थिति रहेको थियो । एमालेका मुख्य सचेतक बर्ताैलाले आगामी बिहीबार फेरि बैठक बस्ने गरी आजको बैठक सकिएको जानकारी दिनुभयो ।  

उहाँले भन्नुभयो, “मूल ऐन, विधेयक र उपसमितिको प्रतिवेदन हेर्ने कुरा भएको छ । त्यसलाई एकीकृत गरी उठेका प्रश्नलाई पनि एकीकृत गर्ने कुरा भएको छ । सबै तयारी गरेर आगामी बिहीबार ८ बजे गृह मन्त्रालयमै बैठक बस्छौँ ।” अहिलेसम्म भएका छलफलको मस्यौदा तयार पारेर आगामी दिनमा त्यसमाथि छलफल केन्द्रित गर्ने उहाँको भनाइ छ । 

यसअघि गत शुक्रबार गृह मन्त्रालयमा बसेको संयन्त्रको बैठकमा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमाथि सहमति जुटाउने विषयमा छलफल भएको थियो ।

प्रकाशित मितिः सोमबार, १४ साउन २०८१
https://jawaaf.com/storage/01J3YFGA1Q37R98HHBM4DTBKRF.webp

बस खोज्ने क्रममा हराएको भारतीय टोलीको चुम्बक फेला

मुग्लिन (चितवन), १४ साउनः सिमलताल दुर्घटनामा बेपत्ता बसको खोजी गर्ने क्रममा हराएको भारतीय टोलीको चुम्बक (म्याग्नेट) फेलापरेको छ । बस खोजी गर्ने क्रममा गत शनिबार १९ किलोको चुम्बक र लाइफ ब्वाइ ट्युब त्रिशूली नदीले बगाएर हराएको थियो । 
 
उक्त चुम्बक आज बिहान काभ्रेघाटस्थित नारायणी नदीमा फेलापरेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । चुम्बकसँगै लाइफ ब्वाइ ट्युब पनि फेला परेको उहाँले बताउनुभयो ।  

गत असार २८ गते वीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००६ख १५१६ नम्बरको एञ्जल डिलक्स र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–२४९५ख ००१ नम्बरको गणपति डिलक्स बस चितवनको सिमलतालमा पहिरोसँगै  त्रिशूली नदीमा बेपत्ता भएको थियो ।

बसमा सवार ६५ जनामध्ये तीनजना हामफालेर बाँच्न सफल भएका थिए भने ६२ जना बेपत्ता भएका थिए । हालसम्म २४ जनाको शव भेटिएको छ । तीमध्ये १८ जनाको पहिचान खुलेर परिवारलाई बुझाइसकिएको छ । अन्य छ शवको पहिचान खुल्न सकेको छैन । अझै ३८ यात्रु र बस भेटिएका छैनन् ।  

हराइरहेको बस खोज्न भारतीय टोली चितवन आएका थिए । उक्त टोलीले बस खोज्नका लागि १९ र १४ किलोका दुईवटा चुम्बक (म्याग्नेट) ल्याएका थिए । जसमध्ये शनिबार बस खोज्ने क्रममा १९ किलोको चुम्बक हराएको थियो । बस खोजी गर्नका लागि नेपाल आएको भारतीय टोली भने आइतबार नै फर्किसकेका छन् । 

प्रकाशित मितिः सोमबार, १४ साउन २०८१
https://jawaaf.com/storage/01J3YE1QXK29GRSFFXCYX7W5KW.jpg

बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या एक सय २५ पुग्यो

गुलरिया (बर्दिया), १४ साउन I बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघको सङ्ख्या एक सय २५को हाराहारीमा पुगेको छ । यो निकुञ्ज पाटेबाघका लागि दोस्रो ठूलो बासस्थान मानिन्छ । चितवन राष्ट्रिय निकुञ्जमा एक सय २८ पाटेबाघ रहेको बताइएको छ ।     
     
     
जैविक विविधता संरक्षणमा समुदायसँगको सहकार्यमा सफलता पाएसँगै सन् २०१० मा १८ पाटेबाघ रहेको बर्दियामा सन् २०२२ सम्म तीन गुणा बढेको निकुञ्जका संरक्षण अधिकृत पुरुषोत्तम वाग्लेले जानकारी दिनुभयो । उहाँका अनुसार बर्दिया राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा विगत दुई वर्षदेखि बाघ आक्रमणको घटना भने न्यून छ ।     
     
‘अबचाहिँ बाघ संरक्षणका लागि कदम चाल्ने समय आयो’ भन्ने नारासहित आज बाघ दिवस विविध कार्यक्रम आयोजन गरी मनाइँदै छ ।     
अधिकृत वाग्लेले बाघलगायत वन्यजन्तु बृद्धिसँगै यिनीहरूको बासस्थान व्यवस्थापन, समुदायमा सचेतना, मानव वन्यजन्तुबीच द्वन्द्व रोक्न विद्युतीय तारबार, कङ्क्रिट पर्खाललगायत पूर्वाधारसँगसँगै व्यवस्थापनमा जोड दिइराखेको बताउनुभयो । वनजङ्गलको संरक्षण भएपछि बर्दियामा उल्लेख्य मात्रामा बाघको सङ्ख्या बढेसँगै खाता जैविकमार्ग एवं वन क्षेत्रमा बाघको विचरण पनि बढेको छ ।     
     
गत वर्ष वनक्षेत्रमा बाघ र चितुवाको आक्रमणमा परी पाँचजनाको मृत्यु भएको डिभिजन वन कार्यालय बर्दियाका वरिष्ठ अधिकृत टङ्क गुरुङले बताउनुभयो । बाघबाट वनक्षेत्रमा मानवीय क्षतिको परिमाण बढ्दै गएको छ । उहाँले भन्नुभयो, “ वन्यजन्तु भएका क्षेत्रमा मानवीय गतिविधि रोक्न वन कार्यालयले विभिन्न क्याम्प गर्दै आएकाले चालु वर्षमा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न विभिन्न तयारी गरेको छ ।”     

प्रकाशित मितिः सोमबार, १४ साउन २०८१
https://jawaaf.com/storage/01J3Y0ZSXJW97DT30ZAA79Y3V9.jpg

प्यारीमायालाई ढाका उद्यम प्यारो लाग्दा...

भद्रपुर (झापा), १४ साउन I  पछिल्लो समय युवाहरूमा विदेश जानेमात्र होइन, स्वदेशमै उद्यम गर्नुपर्छ भन्ने मानसिकता पनि विकसित हुँदै गएको छ । विभिन्न तालिम प्रदायक संस्थाबाट तालिम लिई व्यावसाय सञ्चालन गर्दै आएका व्यक्तिहरूको सङ्ख्या पनि बढ्दै गएको छ ।     
      
 प्यारीमाया लिम्बू झपाको बुद्धशान्ति–४ मन्दिरचोकमा ढाकाको उद्यम गर्नुहुन्छ । एपिएस ढाका ट्रेनिङ सेन्टरका नाममा घरेलु तथा साना उद्योग चन्द्रगढी झापामा उद्योग दर्ता गराएर उहाँले व्यवसायसँगै ढाकाको क्षेत्रमा काम गर्ने नयाँ व्यक्तिलाई तालिम प्रदान गर्दै आउनुभएको छ । हालसम्ममा उहाँले आफ्नो उद्योग र स्थानीय तह, घरेलुलगायत विभिन्न सङ्घसंस्थामार्फत तीन सयभन्दा बढी मानिसलाई ढाकासम्बन्धी तालिम दिइसक्नुभएको छ । उहाँ भन्नुहुन्छ, “तालिम लिएका अधिकांश व्यक्ति सानोतिनो जस्तो भए पनि उद्यम गरिरहेका छन्, कसैले पनि खाली हात बस्नुपरेको छैन ।”     
      
 बजारको माग धेरै रहेकाले आफूले पनि मागअनुसार ढाकाका कपडा बनाउन नसकेर कहिलेकाहीँ माग नै स्थगन नै गर्नुपरेको उहाँ बताउनुहुन्छ । ढाकासम्बन्धी सीप सिकेपछि कोही पनि बेरोजगार बस्नुपरेको छैन । घरको सबै काम गरेर आफ्नै घरमा यो उद्यम गर्न सकिने भएकाले धेरैजसो महिला यसमा लागेका उहाँ बताउनुहुन्छ ।     
      
 उहाँले घरकै छतमा बाँसको घेरबार हालेर त्यहीँ ढाकासम्बन्धी उद्योग चलाउँदै आउनुभएको छ । उहाँले भन्नुभयो, वार्षिक रु चार लाखभन्दा बढी रकम मुनाफा हुन्छ । ” तीनजना बहिनीलाई काम पनि दिएको छु, यो काम आफ्नो फुर्सदको समयमा गर्ने हो, घरको अन्य काम सकेर जतिबेला मन लाग्छ उतिबेला गर्न मिल्ने खालको भएकाले आफू एकदमै सन्तुष्ट रहेको उहाँले बताउनुभयो । उहाँ भन्नुभयो, “साथीभाइ, आफन्तको विवाह समारोह, व्रतबन्ध, जन्मदिन समारोह, घुमफिर सबैतिर गएर जिन्दगी रमाइलोसँग विताएर यतिको आम्दानी घरमै बसेर गरिरहेकी छु, यो भन्दा के चाहियो । ”     
      
 उहाँको एपिएस ढाका ट्रेनिङ सेन्टरमा ढाकाको दौरा सुरुवाल, सारी, टोपी, चोली, पछ्यौरी, हाफसल, कोट, गलबन्दी, खाँडीका कपडा तान लगाउनका साथै ढाकासम्बन्धी उद्यम गर्ने मानिसलाई तालिमका साथ कामसमेत दिने गरेको प्यारीमाया बताउनुहुन्छ ।     
      
 ढाका उद्यमको सुरुआत     
      
 विसं २०६१ तिर झापाको दमकमा सञ्चालित सानो उद्योगमा ढाकासम्बन्धी तालिम लिनुभएकी प्यारीमायाले त्यहीबाट रु पाँच हजारमा तान किनेर ल्याई आफ्नै घरमा ढाकाको काम सुरु गर्नुभयो । “सुरु समयमा गाउँकै दिदी नाता पर्नेलाई व्यवसायमा साझेदारी गरी बुद्धशान्तिमा उद्यम सुरु हुन्छ । दुवैजना मिलेर विस्तारै व्यावसाय पनि बढाउँदै लगेर चार वर्षएसम्म साझेदारीमा काम गरेँ । पाँच हजारको एउटा तान किनेर सुरु भएको उद्यमबाट कमाएको रकमबाहेक लगानीका लागि अन्य स्रोत खोज्नु परेन । त्यहीबाट भएको आम्दानीले अन्य स्रोतहरु जोड्दै गयौँ”, प्यारीमायाले भन्नुभयो ।     
      
 विसं २०६५ तिर घरबाट अनमी पढ्नुपर्छ भन्ने कुरा उठेपछि मैले पढ्ने सोच बनाएको प्यारीमायाले बताउनुभयो । चार वर्षमा खर्च कटाएर दुवैजनालाई रु दुई लाख र चारवटा तान भागमा पर्यो । आफ्नो भागमा परेको चारमध्ये तीनवटा तान बिक्री गरी एउटा घरमै छाडी करिब दुई वर्ष अनमी पढाइका लागि काठमाडाँै गएको प्यारीमाया बताउनुहुन्छ । उहाँका अनुसार अनमी पढ्ने बेलामा लागेको सबै खर्च आफैँले ढाकाको काम गर्दा बचत भएको पैसाबाट पूर्ति भयो ।     
      
 अनमीको पढाइपश्चात झापा फर्किएपछि सुवासचन्द्र राईसँग बिहे भयो । बिहेपश्चात कन्काई अस्पतालमा प्यारीमायाले जागिर सुरु गर्नुभयो । तर त्यसबाट सन्तुष्ट हुन नसकिएको उहाँ बताउनुहुन्छ । “बिहानदेखि सँझसम्म काम गर्यो, आवतजावत गर्न बसभाडा अनि खाजा खर्च कटाउँदा महिनामा एक–दुई हजारमात्र बचत हुनथाल्यो । घरबाट पनि कस्तो जागिर गरेको भनेर दबाब आउन थाल्यो, आफूलाई पनि चित्त नबुझेपछि पुनः आफ्नो पुरानै पेशामा फर्र्किनुपरेको हो”, प्यारीमायाले भन्नुभयो ।     
      
 आफैँले घरमा राखेको एउटा तानबाट फेरि काम सुरु गर्नुभएकी प्यारीमायाले घरेलु, स्थानीय पालिकाअन्तर्गत लघुउद्यममा ढाकासम्बन्धी थप तालिम लिने र दिने अवसर जुट्दै गएको बताउनुभयो । विसं २०७३ मा घरेलु तथा साना उद्योग कार्यालयमा उद्योग दर्ता नै गराएर काम सुरु गरेँ । यो काममा मेरा श्रीमान्को पूर्ण सहयोग प्राप्त भएको प्यारीमायाको भनाइ छ । उद्योगमा दर्ता भएपछि घरेलु तथा गाउँपालिकाले तानहरू अनुदानमा दिएकाले त्यसले झनै उद्यम गर्न प्रेरित गरेको प्यारीमाया बताउनुहुन्छ । घरको काम, समाजिक कामसँगै घरमै बसीबसी पैसा कमाउन सकिन्छ भने यो पेसा किन नगर्ने भन्दै प्यारीमाया प्रश्न गर्नुहुन्छ । आफूले तालिम दिएका सबै दिदीबहिनीले आफूले जस्तै घरमै ढाकासम्बन्धी उद्यम गरिरहेको र यसबाट मनग्य आम्दानी भइरहेको प्यारीमाया बताउनुहुन्छ । 

प्रकाशित मितिः सोमबार, १४ साउन २०८१