पौडीबाज डुवाना पेरिस ओलम्पिकबाट बाहिरिन
काठमाडौ १३ साउन I डुवाना लामा पेरिस ओलम्पिक– २०२४ आन्तर्गत पौडी खेलको हिट चरणबाटै बाहिरिएकी छन् । नेपाली पौडीबाज डुवानाले दुई सय मिटर फ्रि–स्टाइलमा निर्धारित दूरी पार गर्न २ मिनेट २०.४७ सेकेन्ड खर्चिइन् । सात खेलाडी भएको हिट वानमा डुवाना अन्तिम स्थानमा रहिन् ।
यससँगै तीन नेपाली खेलाडीको ओलम्पिक यात्रा समाप्त भएको छ । यसअघि टेबलटेनिसका स्यान्टु श्रेष्ठ र सुटिङकी सुम्मिता नेपाल पहिलो चरणबाटै बाहिरिएका थिए । वाइल्ड कार्डमार्फत डुवानाले पेरिस ओलम्पिकको यात्रा तय गरेकी हुन् । त्यस्तै अब ओलम्पिकमा जुडोकी मनिता श्रेष्ठ प्रधान, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ र पौडीका एलेक्स शाहले आ आफ्नो खेल खेल्न बाँकी छ ।
सिमलताल घटना : सोह्र दिनसम्म पनि फेला परेनन् बस र ३८ यात्रु
चितवन, १३ साउन I भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरासहित त्रिशूलीमा खसेर बेपत्ता दुई बस अझै फेला पर्न सकेका छैनन् । नारागणगढ–मुग्लिन सडकखण्डको सिमलतालबाट पहिरासँगै त्रिशूलीमा खसेका बस र यात्रुको खोज तथा उद्धार कार्य सुरू भएको १६ दिनसम्म पनि बस तथा धेरै यात्रु अझै फेला पर्न नसकेका हुन् ।
नेपाल सरकारले खोजीका लागि बोलाएको भारतीय गोताखोरसहितको टोली परिचालन गर्दासमेत बसको अवस्थाबारे जानकारी लिन नसकिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । साउन ५ गतेदेखि यहाँ आएर खोजी कार्यमा लागेको भारत सरकारको नेशनल डिजास्टर रेस्पोन्स फोर्स (एनडिआरएफ) को १२ सदस्यीय टोलीले आजबाट फर्किएको छ । खोज तथा उद्धारका क्रममा आफूहरूले पाएको प्रारम्भिक जानकारी जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल सरकारलाई उपलब्ध गराउने गरी टोली फिर्ता भएको हो ।
प्रमुख जिल्ला अधिकारी यादवले साउन ४ गतेपछि हालसम्म शव र बसका अवशेषसमेत फेला पर्न नसकेको बताउनुभयो । त्यसअघि विभिन्न ठाउँमा गरी २४ जनाको शव भेटिएको भए पनि अन्यको शव भेटिन नसकेको उहाँले जानकारी दिनुभयो ।
भारतीय गोताखोरसहितको टोलीले घटनास्थल सिमलतालदेखि गाईघाटसम्मको तीन दशमलव पाँच किलोमिटर क्षेत्रफलमा बस हुन सक्ने अनुमान गरेको प्रजिअ यादवले बताउनुभयो । उहाँले भन्नुभयो, “बस नै हो भन्ने एकीन नभए पनि केही वस्तु छ भन्ने अनुमान उहाँहरूको छ । त्यहीअनुसार खोजी कार्य जारी राखेका छौँ । भारतीय टोली फर्किए पनि नेपालको टोलीले खोजी जारी राखेको छ । नदीको गहिराइ, पानीको बहावअनुसारका उपकरण अभावका कारण खोजीमा कठिन भएको छ ।”
प्रजिअ यादवले माटोमा पुरिएको अवस्थामा अहिले प्रयोग भएको सोनाल क्यामेरालगायतका अन्य उपकरणले सवारी साधन र शवको पहिचान गर्न कठिन हुने बताउनुभयो । भारतीय टोलीले ल्याएको उपकरणबाट पानीभित्र ३० फिट तलसम्म हेर्न मिल्ने भए पनि नदीको गहिराइका कारण केही पत्ता लाग्न नसकेको उहाँको भनाइ छ ।
यही असार २८ गते शुक्रबार वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स र काठमाडौँबाट गौर जान आउँदै गरेको बागमती प्रदेश ०३–२४९५ ख ००१ नम्बरको गणपति डिलक्स बस चितवनको सिमलतालमा खसेको पहिरासँगै त्रिशूली नदीमा यात्रुसहित बेपत्ता भएका थिए ।
बसमा सवार ६५ जनामध्ये तीन जना सकुशल निस्किएका थिए भने ६२ जना बेपत्ता भएका थिए । हालसम्म २४ जनाको शव भेटिएकामा तीमध्ये १८ जनाको पहिचान खुलेर परिवारलाई बुझाई सकिएको छ । अन्य छ शवको पहिचान खुल्न सकेको छैन । अझै ३८ यात्रु र बसको अवस्था पत्ता लाग्न बाँकी छ ।
प्रमुख जिल्ला अधिकारी यादवका अनुसार नदीमा बेपत्ता भएका यात्रुहरूलाई मृत सरह घोषण गरी राहतका लागि गृह मन्त्रालयसँग अनुरोध गरिएको छ । राहतका लागि पत्र पठाइए पनि अर्को निर्देशन नभएसम्म खोजी कार्य जारी राखिने उहाँले बताउनुभयो ।
निजीभन्दा अब्बल बन्दै सरकारी विद्यालय
गलकोट (बागलुङ), १३ साउन I कुनै समय ओझेलमा परेको बागलुङ नगरपालिका–८ सिगानाको सिगाना माध्यामिक विद्यालय लामिचौर तीन वर्ष यता चर्चामा छ । झट्ट हेर्दा जिल्ला सदरमुकाको निजी विद्यालयभन्दा राम्रो देखिने त्यही विद्यालयमा तीन वर्ष अघि शौचालय र खानेपानीको समेत अभाव थियो । तर पछिल्लो समय सुविधासम्पन्न भवन, कक्षाकोठा, बाल उद्यान, बालमैत्री शौचालय, बगैँचाले सिङ्गारिएको प्राङ्गणले विद्यालयको वातापरण मनमोहक बनेको छ ।
विद्यालयको शैक्षिक गुणस्तरका लागि सुविधासम्पन्न भौतिक पूर्वाधार पहिलो प्राथमिकता भएकाले विद्यालयले तीन वर्षयता पूर्वाधार निर्माणमा जोड दिएको छ । विद्यालयको पूर्वाधारसँगै प्रविधिमैत्री शिक्षण सिकाइ, अतिरिक्त कक्षा, बाल उद्यान, प्रयोगशाला, कम्प्युटर ल्याबलगायत सुविधाका कारण विद्यार्थीको शैक्षिक गुणस्तरमा समेत वृद्धि भएको छ ।
शैक्षिक गुणस्तर बढाउन अतिरिक्त कक्षा र प्रविधिमैत्री शिक्षामा जोड दिइएको छ । जस्तापाताले छाएर छाप्रामा अध्ययन–अध्यापन गर्ने समयमा उक्त विद्यालयमा शौचालय अभाव थियो । विद्यालयले तीन वर्षमै पूर्वाधारमा मात्र होइन बागलुङ नगरकै पहिलो बालमैत्री विद्यालयको परिचय बनाएको छ । विसं २०१० सालमा चन्द्रबहादुर थापाले स्थापना गर्नुभएको उक्त विद्यालयलाई अहिले उहाँकै छोरा टीकाराम थापाले हाँकिरहनुभएको छ । बुबाले स्थापना गरेको विद्यालयलाई नमूना बनाउन सहरबाट गाउँ फर्केर विद्यालय व्यवस्थापन समितको अध्यक्षकशो जिम्मेवारी बहन गरेको उहाँको भनाइ छ । थापाले आफ्नो तीनवर्षे कार्यकालमा रु एक करोड ३२ लाख खर्चेर विद्यालयलाई भौतिक पूर्वाधारमा नमूना बनाउँदै प्रविधिमैत्री शिक्षालाई जोड दिएको बताउनुभयो ।
भौतिक पूर्वाधार थपिएपछि विद्यार्थीको सङ्ख्यामा वृद्धि भएको छ । तीन वर्षमा राष्ट्रपति शैक्षिक सुधारअन्तर्गत रु ५० लाख लागतमा चारकोठे भवन निर्माण, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत रु १८ लाखमा दुईकोठे भवन निर्माण, पुनःनिर्माण प्राधिकरणबाट पाप्त रु १५ लाखको लागतमा अपाङ्ग र बालमैत्री शौचालय निर्माण, पुनःनिर्माण प्राधिकरणकै रु सात लाखमा शुद्ध खानेपानीको व्यवस्था गर्न सफल भएको थापाको भनाइ छ ।
यस्तै, गण्डकी प्रदेश सरकारको सहयोगमा रु सात लाखमा कक्षा कोठामा स्मार्ट टिभीसहितको अध्यापनको व्यवस्था, बागलुङ नगरपालिकाको रु आठ लाख लागतमा एक शिक्षक एक ल्यापटप, कम्प्युटर र विज्ञान प्रयोगशाला र देउसीभैलोबाट सङ्कलन भएर बचत भएको रु २७ लाखबाट बाल उद्यान, प्रवेशद्वार, तारबार, खानेपानीलगायतको व्यवस्था गरिएको अध्यक्ष थापाले बताउनुभयो ।
“विद्यालय ऋणमा डुबेको थियो, भौतिक पूर्वाधारको अभाव थियो, खानेपानी र शौचालयको राम्रो व्यवस्था थिएन, बसाइँसराइको प्रभावले विद्यार्थी घट्दै थिए, दलित समुदायका विद्यार्थी पोसाकबिना आउने गर्दथे,” उहाँले भन्नुभयो, “एक पटक गाउँ फर्केर विद्यालयमा सुधार गर्नुप¥यो भन्ने सोच आयो, सबैले साथ दिए, देउसीभैलो खेलेर सङ्कलन गरेको रकमले विद्यालयको भौतिक र शैक्षिक सुधारमा खर्च गरियो ।”
अधिकांश दलित समुदायका विद्यार्थीले अध्ययन गर्ने विद्यालयलाई नमूना बनाउन थापाको अभियानलाई शिक्षक अभिभावक सङ्घका अध्यक्ष गोविन्दप्रसाद गौतम, स्थानीय जनप्रतिनिधि, बागलुङ नगरपालिका र अभिभावकको आर्थिक, भौतिक र नैतिक सहयोग रहेकाले विद्यालयले मुहार फेर्न सफल भएको वडा सदस्य मनबहादुर नेपालीले बताउनुभयो ।
स्ववियु पदस्थापन कार्यक्रम : उपसभापति मा विजय राई निर्वाचित
धरान (सुनसरी) । विद्यार्थीहरूको साझा संस्था स्वतन्त्र विद्यार्थी युनियन महेन्द्र बहुमुखी क्याम्पस धरानको उपसभापति मा विजय राई निर्वाचित भएका छन् । उपसभापति राई समाजवादी विद्यार्थी युनियनको तर्फ बाट २०७९ चैत्र ५ को स्ववियु निर्वाचनमा सदस्य पदमा निर्वाचित भएका थिए ।
त्रि.वि. को स्ववियु मिश्रित निर्वाचन प्रणाली अनुसार उपसभापति पद स्ववियु सदस्यहरूबाट पदस्थापन गर्ने नियम रहेको छ । पदस्थापन गर्दा स्ववियुमा निर्वाचित पदाधिकारी र सदस्यहरूको सहमति वा बहुमतका आधारमा चयन/निर्वाचित गर्ने व्यवस्था रहेको छ । उपसभापति राई बहुमतीय प्रणाली अन्तर्गत निर्वाचित भएका हुन ।
उक्त पदस्थापन कार्यक्रममा समानुपातिक तर्फ विभिन्न सङ्गठनको खालिरहेको सदस्य पदका लागि पनि पदपूर्ति गरिएको थियो । विशाल राई (समाजवादी विद्यार्थी युनियन), भविष्य राई (अनेरास्ववियु एमाले), भूपेन्द्र देवान (अनेरास्ववियु क्रान्तिकारी) लाई रिक्त सदस्य पदमा संगठनहरू को तर्फबाट सिफारिस गरी पद पूर्ति गरिएको थियो।

त्रि.वि. स्ववियु निर्वाचन प्रणाली अनुसार, क्याम्पसको विद्यार्थी सङ्ख्याका आधारमा स्ववियु सदस्य सङ्ख्या तोक्ने नियम छ । महेन्द्र बहुमुखी क्याम्पस धरानमा जम्मा २१ सदस्य पदका लागि निर्वाचन हुने गरेको छ । सभापति, कोषाध्यक्ष, सचिव र अन्य आठ सदस्य प्रत्यक्ष निर्वाचित र बाकी १० सदस्य मिश्रित निर्वाचन प्रणाली अन्तर्गत सङ्गठनले प्राप्त गरेको समानुपातिक मतका आधारमा बन्द सुचीमा समाहित सदस्यहरू निर्वाचित हुन्छन ।
चैत्र ५, २०७९ मा स्ववियु निर्वाचन सम्पन्न भएको थियो । महेन्द्र बहुमुखी क्याम्पस धरानको स्ववियु निर्वाचन समिति २०७९ ले निर्वाचनको समानुपातिक तर्फको अन्तिम मत परिणाम प्रकाशन गरे अनुसार समाजवादी विद्यार्थी युनियनको ६ सय नब्बे, ने.बि. संघ ६ सय छपन्न, अनेरास्ववियु (एमाले) चार सय उनन्चास, अनेरास्ववियु (कान्तिकारी) एक सय बिस र किरात खम्बुवान विद्यार्थी सङ्गठन एक सय एघार मत प्राप्त गरेका थिए ।
स्ववियु सभापति युवराज राई (अलौकिक) का अनुसार पदस्थापन कार्यक्रम श्रावण ४ मा सम्पन्न भएको र सबै साथीहरूले आ–आफ्नो जिम्मेवारी अनुसार कार्य गरि रहनु भएको छ भन्ने जानकारी दिएकाछन ।
नेप्सेमा दोस्रो सर्किट
काठमाडौँ, १३ साउन I नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोस्रोपटक सकारात्मक सर्किट लागेको छ ।
आजको कारोबार सुरु भएको एक मिनेट ३१ सेकेण्डमा नेप्से परिसूचक चार प्रतिशतले बढेसँगै कारोबार २० मिनेटका लागि बन्द भएको थियो । त्यस्तै, दोस्रोपटक कारोबार शुरु भएको एक मिनेटभित्रै परिसूचक एक प्रतिशत बिन्दुले बढेर पाँच प्रतिशत पुगेपछि ४० मिनेटका लागि कारोबार स्थगित गरिएको नेप्सेले जनाएको छ ।
चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको सकारात्मक प्रभाव पुँजीबजारमा देखिएको हो ।
पेरिस ओलम्पिकः ब्याडमिन्टनमा पराजय
काठमाडौँ, १३ साउन I ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल डेनमार्कका भिक्टर एक्सेल्सेनसँग पेरिस ओलम्पिकमा पराजित भएका छन् । फ्रान्सको पेरिसस्थित ला चापेला एरिनाको कोर्ट नं ३ मा गए राति सम्पन्न खेलमा उनी २–० को सोझो सेटमा पराजित भएका हुन् ।
कठिन समूहमा रहेका प्रिन्सलाई भिक्टरले २१–८ र २१–६ को सोझो सेटमा हराए । प्रिन्सको समूहमा उनी र भिक्टरसहित चार खेलाडी छन् । अब प्रिन्सले सोमबार आयरल्याण्डका हात गुयेनसँग खेल्नेछन् भने यही साउन १६ गते इजरायलका मिसा जिल्बरम्यानसँग खेल्नेछन् ।
सात वर्षको उमेरदेखि ब्याडमिन्टन खेल्न थालेका प्रिन्सको लक्ष्य सन् २०२८ मा लस एन्जलसमा हुने ओलम्पिकमा पदक जित्नु हो ।
सन् १९६४ को टोकियो ओलम्पिकदेखि नेपाल ओलम्पिकमा सहभागी भएको हो । ब्याडमिन्टनमा नेपाल पहिलोपटक कोर्टमा उत्रिएकोको हो । प्रिन्सले ‘इन्भिटेसन प्लेसेस’ कोटामा पेरिस यात्रा पक्का गरेका थिए । प्रिन्सलाई अलसाबाडरका प्रशिक्षकले प्रशिक्षकको रूपमा सहयोग गरिरहेका छन् ।
भिक्टर टोकियो ओलम्पिक–२०२० का स्वर्ण विजेता तथा रियो दि जेनेरिया ओलम्पिक– २०१६ का कास्य विजेता हुन् । दुईपटकका विश्व च्याम्पियन बनिसकेका भिक्टर बिडब्लु टुरमा १८ पटक विजेता भएका छन् । ३० वर्षीय भिक्टरले छ वर्षको उमेरदेखि ब्याडमिन्टन खेल्न सुरु गरेका थिए । टोकियो ओलम्पिकमा जितेको स्वर्ण रक्षा गर्नु उनको उद्देश्य रहेको छ ।
ओलम्पिक खेलअन्तगर्त सुटिङ खेलमा नेपालकी सुष्मिता नेपालले १० मिटर एयर राइफलमा प्रतिस्पर्धा गर्नेछिन्भने पौडीमा डुवाना लामाले दुई सय मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्नेछिन् ।
खोटाङ ट्राफिक प्रहरीबाट ५० लाख ३२ हजार राजस्व सङ्कलन
खोटाङ, १३ साउन I जिल्ला ट्राफिक प्रहरी कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा सवारी नियम उल्लङ्घन गरेका छ हजार सात सय २० जनाबाट रु ५० लाख ३२ हजार राजस्व सङ्कलन गरेको छ ।
बिनाअनुमतिपत्र सवारी साधन चलाएको, कागजपत्र साथ नभएको, मादक पदार्थ सेवनगरी सवारी चलाएको, पटके इजाजतपत्र नलिएको, सिट क्षमताभन्दा बढी यात्रु बोकेको, सिटबेल्ट नबाँधेको, हेलमेट नलगाएको तथा दर्ता नम्बर बिना सवारी साधान चलाउने उपर कारबाही गरेर उक्त रकम सङ्कलन भएको हो ।
दश स्थानीय तह रहेको जिल्लामा आव २०८०/८१ मा १५ वटा सवारीसाधन दुर्घटना हुँदा पाँचजनाले ज्यान गुमाएका थिएभने १६ जना घाइते भएका थिए ।
जिल्लाका ग्रामीण सडकमा सञ्चालन हुने अधिकांश साना तथा ठूला सवारी साधन बिना अनुमति सञ्चालन भइरहेका पाइएको जनाउँदै प्रहरीले त्यस्ता सवारीचालकलाई पनि कानुनको दायरमा ल्याइएको बताएको छ । यात्रुबाहक हरेक सवारी साधनले अनिवार्य ‘रुट परमिट’ (सम्बन्धित सडक सवारी अनुमतिपत्र) लिनुपर्ने कानुनी प्रावधान छ ।
विसं २०६४ मा नेपाली सेनाको हेलिकोप्टरमा बोकेर ल्याइएको सवारी साधनमार्फत यातायात सेवा सुरु गरिएको जिल्लामा सानाठूला गरी करिब सात सयको हाराहारीमा सवारीसाधन सञ्चालनमा छन् । मध्यपहाडी लोकमार्ग र सगरमाथा राष्ट्रिय राजमार्गले छोएको जिल्लाका सबै स्थानीय तह राष्ट्रिय सडक सञ्जालमा जोडिएका छन् ।
खाँदबारी बालविकास समाजलाई एक करोड सहयोग
काठमाडौँ, १३ साउन I समाजसेवी हीरामणि र सीता घिमिरेले सङ्खुवासभाको खाँदबारीस्थित बालबिकास समाजलाई रु एक करोड प्रदान गर्नुभएको छ ।
सङ्खुवासभा–काठमाडौँ जर्नालिष्ट एशोसिएसन र खाँदबारी बालविकास समाजले शनिबार यहाँ आयोजना गरेको कार्यक्रममा घिमिरे दम्पतीले प्रदान गर्नुभएको उक्त रकमको चेक ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले समाजका अध्यक्ष रामप्रसाद घिमिरेलाई हस्तान्तरण गर्नुभयो ।
त्यस अवसरमा अध्यक्ष घिमिरेले खाँदवारी बालविकास समाजका बालबालिकाको शिक्षा, स्वास्थ्य, पालनपोषण र उचित स्याहारलगायत समग्र व्यक्तित्व विकासमा उक्त रकमलाई खर्च गरिने बताउनुभयो ।
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, पूर्वप्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटा, पूर्वमुख्यसचिव डा विमल कोइराला, पूर्वसचिव सुशील जङ्गबहादुर राणा, दिनेशकुमार घिमिरे, काठमाडौँ महानगरपालिका वडा नं ४ का वडा सदस्य नवीन मैनालीलगायत उपस्थित हुनुहुन्थ्यो ।
साहित्य साधनाका लागि हाम्रो मुलुक ऊर्बर भूमि हो : प्रधानमन्त्री ओली
काठमाडौँ, १२ साउन I प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि कला– संस्कृतिका लागि ऊर्वर भूमि भएको बताउनुभएको छ । लेखक नेत्रप्रसाद गौतमद्वारा लिखित विभिन्न कृतिको आज यहाँ लोकार्पण गर्नुहुँदै उहाँले हाम्रो मुलुक साहित्य साधनाको ऊर्बर भूमि र ज्ञानको उद्भव स्थल हो भन्नुभयो । “मानिसका अनुभव र अनुभूतिहरू सङ्ग्रहित र परीक्षित भएपछि ज्ञान बन्छ । ज्ञानको सङ्ग्रह र वितरणको आरम्भ पृथ्वीको यही भागबाट भएको हो ।’’, प्रधानमन्त्री ओलीले भन्नुभयो, “नेपालका घाँस, पात र परिङ्गर, पँधेरामा पनि आँशु कविता प्रकट हुने वातावरण छ । यो वातावरणलाई विस्तार गरेर जाने सन्दर्भमा गौतमको लेखनी अघि बढ्दै जाओस् भन्ने चाहन्छु ।’’
उहाँले भानुभक्त आचार्य, मोतीराम भट्ट, लेखनाथ पौडेल, बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा जस्ता महान् साहित्यकारहरू नेपालमा जन्मिएको सन्दर्भ उल्लेख गर्दै रोधी घरमा बसेर तत्काल गीत बनाएर गाउने कला र प्रतिभा नेपालीहरुमा रहेको छ भन्नुभयो । कार्यक्रममा प्रधानमन्त्री ओलीले ८१ वर्षीय गौतमका ‘मेरो इतिहास’, ‘नेत्रका तीन खण्डकाव्य’ र ‘भूत पिसाचका कथा’ कृति लोकार्पण गर्नुभएको थियो ।
लेखक गौतमबाट अझै थप कृतिको आशा व्यक्त गर्दै प्रधानमन्त्री ओलीले उमेर ढल्केपनि स्वास्थ्यका लागि थुप्रै पद्धति, उपकरण र चिकित्सा विज्ञान विकास भइसकेकाले ज्येष्ठ नागरिकले रोगको चिन्ता गर्नु नपर्ने बताउनुभयो ।
आफू दुई पटक मिर्गाैला फेरेर पनि स्वस्थ्य नै रहेको सन्दर्भ उल्लेख गर्दै प्रधानमन्त्री ओलीले विज्ञान र प्रविधिले आविष्कार गरेका विधिलाई मानवीय हित र उपचारमा प्रयोग गर्न सक्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेल, उपमहासचिव प्रदीपकुमार ज्ञवाली, सल्लाहकार कमिटीका अध्यक्ष अमृतकुमार बोहरा, समीक्षक रवीन्द्र भट्टराईले लेखक गौतमका कृतित्व र व्यक्तित्वबारे चर्चा गर्नुभएको थियो ।
जनताले प्राप्त गरेको अधिकार कसैले खोस्न सक्दैन : अध्यक्ष प्रचण्ड
काठमाडौँ, १२ साउन I नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताले प्राप्त गरेको अधिकार खोस्ने जमर्काे भए त्यसको प्रतिवाद गरिने बताउनुभएको छ ।
नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको जन्म शताब्दीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संविधानसभाबाट निर्माण भएको संविधानमा प्राप्त भएका जनताका अधिकार कोही कसैले पनि खोस्न नसक्ने उल्लेख गर्नुभयो ।
उहाँले आदिवासी, जनजाति, महिला, दलित, अल्पसङ्ख्यक समुदायलाई थप अधिकार सम्पन्न बनाउन संविधान संशोधन गर्नुपर्ने आफूहरुको मत रहेको र पछिल्लोपटक संसद्मा सम्बोधन गर्दासमेत त्यही विषयलाई केन्द्रित गरेको बताउनुभयो ।
संविधन संशोधनको नाममा प्रतिगमनतिर लैजाने काम गरिए त्यो आफूहरूलाई सह्य नहुने अध्यक्ष दाहालको भनाइ छ । संविधान संशोधनको सैद्धान्तिक विरोध नभए पनि जुन तरिकाका साथ दुई दल (नेपाली कांग्रेस र नेकपा (एमाले) अगाडि बढ्न खोजेका छन् त्यसले भने आफूहरूलाई संशय पैदा गरेको उहाँको कथन छ ।
संविधानका मूलभूत प्रस्तावनालाई परिवर्तन गर्न खोज्ने, समावेशिता र समानुपातिक प्रतिनिधित्व, सङ्घीयता र गणतन्त्रको सकारात्मक पक्षलाई कमजोर पार्न खोज्ने प्रवृत्ति देखापरेको अध्यक्ष दाहालको भनाइ छ । उहाँले भन्नुभयो “संसद्को पहिलो र दोस्रो ठूलो दल मिल्नु स्वाभाविक मानिँदैन, लोकतन्त्रमा त झन् मानिँदैन तर त्यो अभ्यास गर्न खोजिएको छ ।”
पछिल्ला दिनमा ‘थ्रेसहोल्ड’ बढाएर साना पार्टीलाई निस्तेज पार्ने र ‘तथाकथित’ रूपमा दुई दलीय प्रणाली ल्याएर पश्चिमा देशको जस्तो जबर्जस्ती गर्न खोजिएको आरोप लगाउँदै अध्यक्ष दाहालले त्यहीमार्फत देशलाई अधिनायकवादतर्फ लैजाने कोसिस भइरहेको टिप्पणी गर्नुभयो । नेकपाका संस्थापक महासचिव पुष्पलालको योगदानलाई केन्द्रमा राखेर पुनः वामपन्थी शक्तिबीचको एकता प्रक्रियालाई अगाडि बढाउन उहाँले सबैलाई आह्वान गर्नुभयो ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका सवालमा वामपन्थीहरूबीचको एकता, सहकार्यलाई थप सक्रियताका साथ अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले कम्युनिष्ट आन्दोलनभित्र देखापरेको अराजकता र व्यक्तिकेन्द्रित अहङ्कार र जनताको अधिकार खोस्न खोज्ने प्रवृत्तिका विरुद्ध साझा प्रतिवादको जरुरी रहेको बताउनुभयो ।
एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले समाजवादी कार्यक्रमबाट मात्रै मुलुकमा देखापरेको राजनीतिक, आर्थिक, सामाजिक समस्याको समाधान हुने बताउनुभयो ।
नेकपा एकता अभियानका संयोजक वामदेव गौतमले शक्तिशाली कम्युनिष्ट पार्टी निर्माणको लक्ष्यसहित कार्यक्रम अगाडि बढाउन सबै वामपन्थी शक्तिलाई आह्वान गर्नुभयो ।
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले को सही र को गलत कम्युनिष्ट भन्ने छुट्याउन नै समस्या भएको टिप्पणी गर्नुभयो ।
कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता भीम रावल, जसपाका नेता राजेन्द्र श्रेष्ठलगायतले पुष्पलालको योगदान र नेपालको कम्युनिष्ट आन्दोलनका बारेमा आफ्नो धारणा राख्दै समसामयिक राजनीतिक विषयमा टिप्पणी गर्नुभयो ।
