बागलुङमा घर भत्काउने क्रममा एकको मृत्यु, ११ जना घाइते
ढोरपाटन (बागलुङ), २९ भदौ : बागलुङको बुर्तिबाङमा घर भत्काउनेक्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । जिल्लाको ढोरपाटन नगरपालिका–१ बुर्तिबाङ बजारमा घर भत्काउने क्रममा ५५ वर्षीय बेगबहादुर विकको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रताप पौडेलका अनुसार पुनः निर्माणका क्रममा एक्कासी घर भत्किँदा काम गरी रहेका घर धनी विक सहित अन्य ११ जना मजदुर घाइते भएका थिए । विकको उचारका क्रममा बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा निधन भएको प्रहरी निरीक्षक पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार घाइते हुनेमा रुपन्देहीको बुटवल उपमहानगरपालिका–९ का २६ वर्षीय शङ्कर पन्थी, काठमाडौँ महानगरपालिका–१० का २४ वर्षीय सुगान्त पौडेल, बागलुङको ढोरपाटन –४ का खडकप्रसाद विक, सोही ठाउँका २० वर्षीय ईन्द्र रसाइली ४० वर्षीया कोपिला छन्त्याल, ५० वर्षीय शुभ बुढामगर, ढोरपाटन –१ का ४० वर्षीया देवीसरा विक, सोही ठाउँकी ३० वर्षीया थम कुमारी विक, तमानखोला गाउँपालिका–१ ३८ वर्षीया खममाया घर्ती, ३५ वर्षीय टेकबहादुर विक र ५१ वर्षीया टेकमाया रसाइली छन् ।
घरले पुरिएका सबैको उद्धार गरी सो स्वास्थ्य केन्द्रमा लगिएको प्रहरी निरीक्षक पौडेलले जानकारी दिनुभयो ।
सङ्खुवासभामा स्क्रब टाइफस परीक्षण गर्ने किट अभाव
किमाथाङ्का (सङ्खुवासभा), २९ भदौ : जिल्ला अस्पताल सङ्खुवासभामा स्क्रब टाइफसको परीक्षण गर्ने कीटको अभाव भएको छ । अस्पतालमा एक सातादेखि स्क्रब टाइफस परीक्षण गर्ने किटको अभाव भएपछि बिरामी उपचारबाट वञ्चित भएका छन् ।
जिल्ला अस्पतालमा यही भदौ २१ गतेदेखि स्क्रब टाइफसको परीक्षण गर्ने कीट सकिएको अस्पतालका सूचना अधिकारी शेखर खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा गत वैशाख यता स्क्रब टाइफसका तीन सय ३२ र डेङ्गी सङ्क्रमित एक सय एक बिरामी भेटिएका छन् ।
अस्पतालमा किट नहुँदा उपचारका लागि आउने बिरामीले स्क्रब टाइफसको परीक्षण गर्न महँगो मूल्य तिरेर निजी अस्पताल र क्लीनिक जानुपर्ने बाध्यता भएको खत्रीले बताउनुभयो । जिल्ला अस्पतालमा निःशुल्क परीक्षण हुने स्क्रब टाइफसको निजी अस्पताल र क्लीनिकमा रु एक हजारदेखि रु एक हजार दुई सयसम्म तिर्नुपर्ने बाध्यता छ ।
स्क्रब टाइफस परीक्षण गर्ने किट उपलब्ध गराउन कोशी प्रदेशस्थित स्वास्थ्य मन्त्रालयमा माग गरिएको बताउँदै सूचना अधिकारी खत्रीले हालसम्म किट नआएकाले बिरामीलाई निजी अस्पताल पठाउने गरिएको बताउनुभयो । अस्पतालले पटकपटक आग्रह गर्दा पनि स्वास्थ्य मन्त्रालयबाट किट पठाउने विषयमा हालसम्म कुनै सुनुवाइ नभएको अस्पताल प्रशासनले जनाएको छ ।
“एक प्रकारको सङ्क्रमित किर्नाले टोकेमा यो रोग लाग्छ । यो रोग लागेमा टाउको दुख्ने, उच्च ज्वरो आउने, गर्दन र घाँटी वरिपरि मसिना तथा बिमिरा आउने, ग्रन्थी सुनिनेलगायत लक्षण देखिन्छ”, सूचना अधिकारी खत्रीले भन्नुभयो । अस्पतालमा दैनिक स्क्रब टाइफस र डेङ्गी सङ्क्रमित बिरामी बढ्दै गएकाले शय्याको समेत अभाव हुन थालेको उहाँले जानकारी दिनुभयो ।
विसं २०३३ मा निर्माण भएको अस्पतालमा अहिले ५० शय्या छन् । जिल्लाका १० स्थानीय तहका साथै छिमेकी जिल्ला भोजपुरका आधाभन्दा बढी भागका सेवाग्राही उपचारका लागि यहाँ आउने गरेका छन् ।
एकादशी र औँसीमा पशुपक्षी बध गर्न नपाइने
रामपुर (पाल्पा), २८ भदौः पाल्पाको रामपुर नगरपालिकाभित्र औँसी र एकादशीका दिन पशुपक्षी बध गर्न नपाइने भएको छ । धार्मिक आस्था, परम्परा तथा स्वास्थ्यका लागि उक्त निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले एक सूचना जारी गर्दै धार्मिक सहिष्णुता र सद्भाव कायम राखी धार्मिक आस्थामा असर नपुर्याउने उद्देश्यसहित औँसी र एकादशीका दिन पशुपक्षी बध नगर्न अनुरोध गरेको छ ।
“औँसी र एकादशीका दिनमा पशुपक्षी बध नगर्दा धार्मिक सहिष्णुता र सद्भाव पनि कायम हुने, धार्मिक आस्थामा कुनै असर नपर्ने र स्वास्थ्यको हिसाबले पनि फाइदाजनक हुने भएकाले उक्त दिनमा पशुपक्षी बध नगर्न/नगराउन यो सूचना प्रकाशन गरिएको छ”, सूचनामा भनिएको छ ।
नगर प्रमुख रमणबहादुर थापाले एकादशी र औँसीको दिन धार्मिक साँस्कृतिक परम्परा अनुसार पशुपक्षी बध गर्न नहुने भएकाले सोही धार्मिक मान्यतालाई निरन्तरता दिनका लागि सो दिन बध नगर्न नगरवासीलाई आग्रह गरिएको बताउनुभयो ।
उहाँका अनुसार एकादशी र औँसीमा पशुपक्षी बध गर्दा धार्मिक आस्थामा असर पुगेको नगरवासीबाट गुनासो आएपछि नगरपालिकाले बध नगर्ने निर्णय गरेको हो । नगरपालिकाको निर्णय र सूचनालाई बेवास्ता गरी एकादशी र औँसीमा पशुपक्षी बध गरेको पाइएमा कारबाही गरिने नगरपालिकाले जनाएको छ ।
डेङ्गी सङक्रमण बढ्दा पर्वत अस्पतालमा शय्या अभाव
पर्वत, २८ भदौः डेङ्गी सङ्क्रमितको सङ्ख्या बढेसँगै जिल्ला अस्पतालमा शय्या अभाव भएको छ । पर्वत अस्पतालमा परीक्षण गरिएकामध्ये छ सय ५० जनामा सङ्क्रमण पुष्टि भएको छ ।
पर्वत अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा हेमन्त बाँस्तोलाका अनुसार डेङ्गीबाट पर्वतमा एक महिलाको मृत्यु भइसकेको छ । अस्पताल सङ्क्रमितले भरिभराउ छ । साठी शय्याको अस्पतालमा बिरामी भरिभारउ भएपछि अतिरिक्त शय्या खडा गरेर उपचार गरिएको छ । ग्रामीण क्षेत्रमा भन्दा बजारमा बिरामीको सङ्ख्या अधिक छ । सदरमुकाम कुश्मामा मात्र पाँच सयभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमध्ये ४९ प्रतिशत पुरुष र ५१ प्रतिशत महिला छन् ।

नौवटा एम्बुलेन्स थन्किए
यसैबीच, बिरामीलाई सर्वसुलभ रूपमा आकस्मिक सेवा उपलव्ध गराउने उद्देश्यले जिल्लाका विभिन्न पालिकामा ल्याइएका नौवटा एम्बुलेन्स प्रयोगविहीन छन् । हाल जिल्लाभर १० वटा एम्बुलेन्स मात्र सञ्चालनमा छन् ।
विभिन्न दातृ निकाय, भारतीय राजदूतावास र सरकारी सुविधामा ल्याइएका एम्बुलेन्स नियमित मर्मतसम्भार नहुँदा थन्किएका हुन् ।
पाँच महिनादेखि चिकित्सक बेपत्ता
जलेश्वर, २७ भदौः भङ्गहा नगरपालिका–२ बखरी गाउँका स्थायी बासिन्दा ५० वर्षीय चिकित्सक प्रबोधकुमार यादव गत वैशाख ३ गतेदेखि बेपत्ता हुनुभएको छ ।
काठमाडौँमा बस्दै आउनुभएका उहाँ कामको सिलसिलामा जनकपुर पुगेपछि परिवारको सम्पर्कमा नआएपछि खोजीका लागि स्थानीय प्रशासनसमक्ष हारगुहार गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार उहाँले २०८१ वैशाख ३ गते श्रीमती पुनमकुमारीसँग टेलिफोनमा कुरा भएको थियो । सोही दिन अपराह्न ३ बजेदेखि उनको मोबाइल बन्द भएको उहाँकी श्रीमतीले बताउनुभयो ।
प्रहरीले बेपत्ता यादवको खोजतलास भइरहेको जनाएको छ ।
काठमाडौँमा पानीको थप स्रोत खोजी गर्न मन्त्री यादवको निर्देशन
काठमाडौँ, २६ भदौः खानेपानीमन्त्री प्रदीप यादवले वर्षायाममा मेलम्चीको पानी नआउँदासम्म काठमाडौँ उपत्यकामा पानीको आपूर्ति सुधार्न र थप स्रोत खोजी गर्न निर्देशन दिनुभएको छ ।
काठमाडौँको तारकेश्वर नगरपालिकास्थित अल्ले र बौडे तथा टोखा नगरपालिकास्थित भण्डारे मुहानको अनुगमन तथा निरीक्षण पश्चात उहाँले यस्ता स्रोतहरुको संरक्षण र सुधारलाई प्राथमिकता दिइ पानीको चुहावट रोक्न निर्देशन दिनुभएको हो ।
उहाँले मन्त्रालयका कर्मचारीलाई हाल अल्ले, बौडे, भण्डारे र तारकेश्वरलगायतमा रहेका मुहानबाट आपूर्ति भइरहेको ६५ लाख लिटर पानी अपुग रहेको बताउनुभयो । ती मुहानबाट दैनिक एक करोड २१ लाख लिटर पानी आपूर्ति हुनसक्ने सम्भावना रहेकाले सोहीअनुसार काम अगाडि बढाउन निर्देशन दिनुभयो ।
यसैगरी मन्त्री यादवले उपत्यकाका पानीका स्रोतलाई दीर्घकालीन रुपमा संरक्षित गर्नु मन्त्रालयको प्रमुख दायित्व भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “यस्ता स्रोतहरुको पानी नजोगिने गरी चुहावट भइरहेकाले त्यसलाई रोक्न अत्यावश्यक छ ।”
मन्त्री यादवले खानेपानी समस्याको दीर्घकालीन समाधान गर्न मन्त्रालयबाट आफूले प्राथमिकताका साथ ठोस योजना अघि सारिरहेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “खानेपानीको समस्याबाट देशभरिका जनताले दुःख पाइरहेका छन्, म यो विषयमा गम्भीर छु ।”
अनुगमनका क्रममा स्थानीयवासीसँग छलफल गर्दै मन्त्री यादवले उक्त क्षेत्रमा भएका चुनौती र सम्भावनाबारे थप जानकारी लिनुभयो । समस्या समाधानका लागि सरकार दृढतापूर्वक काम गरिरहेको उहाँले स्पष्ट पार्नुभयो । खानेपानीको दिगो व्यवस्थापनका लागि दीर्घकालीन समाधानमा ध्यान दिइरहेको बताउँदै मन्त्री यादवले भन्नुभयो, “हामी उपत्यकाका बासिन्दालाई सुरक्षित र गुणस्तरीय पानीको आपूर्ति सुनिश्चित गर्न निरन्तर लागिरहेका छौँ ।”
खानेपानीका लागि जनताको आशा र अपेक्षा सम्बोधन गर्न आगामी दिनमा थप प्रभावकारी योजना अघि बढाइने मन्त्री यादवले जानकारी दिनुभयो । उक्त अनुगमन टोलीमा मन्त्रालयका सचिव प्रमीलादेवी शाक्य बज्राचार्य, खानेपानी तथा व्यवस्थापन विभागका महानिर्देशक रामकुमार श्रेष्ठ, काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक पौडेललगायतको सहभागिता रहेको थियो ।
काँचो केरामै विषादीको मात्रा भेटियो
झापा, २६ भदौ : विर्तामोडस्थित कृषि थोक बजारमा इलामको दानाबारीबाट बिक्रीका लागि किसानले ल्याएको काँचो केरामा उपभोग अयोग्य पुष्टि हुनेगरी विषादीको मात्रा भेटिएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालय अन्तर्गत विर्तामोडमा रहेको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला इकाइमा आज बिहान इलामको दानाबारीका किसान कमल मगरले ल्याएको ७० घरी काँचो केराको तीन नमुना परीक्षण गरिएको थियो ।
ती नमुनामध्ये दुई नमुनामा कार्बामेट कीटनाशक विषादीको उच्च मात्रा फेला परेको प्रयोगशालाका प्राविधिक अम्बिका बोहोराले बताउनुभयो । उहाँका अनुसार काँचो केराको दुई नमुनामा कार्बामेटको रोकावट प्रतिशत ५२.८५ र ५३.११ पुष्टि भएको छ । अर्को एक नमुनामा भने ४४. ७६ प्रतिशत कार्बामेट भेटिएको छ ।
तरकारी तथा फलफूलमा कार्बामेटको रोकावट प्रतिशत ४५ भन्दा उच्च फेला परेमा उपभोग अयोग्य ठहरिने हुँदा त्यसलाई विसर्जन गरिनुपर्ने प्राविधिक बोहोराले बताउनुभयो । विषादीको मात्रा ३५ देखि ४५ प्रतिशतसम्म भेटिएको तरकारी तथा फलफूललाई केही दिन क्वारेन्टाइनमा राखेर पर्खेर हेर्नुपर्ने उहाँले जानकारी दिनुभयो । काँचो केराको विषादी अवशेष जाँच गर्दा अर्गानो फस्फेट कीटनाशक विषादीको मात्रासमेत उच्च पाइएको छ । अर्गानो फस्फेटको मात्रा २७ देखि ३५ प्रतिशतसम्म फेला परेको छ ।
विर्तामोड नगरपालिकाका उपप्रमुख तथा अनुगमन समितिका संयोजक नगेन्द्र सङ्ग्रौलाले उपभोग अयोग्य पुष्टि भएका तरकारी तथा फलफूललाई नष्ट गरिने र पर्खेर हेर्नुपर्ने भएमा कृषि थोक बजारकै क्वारेन्टाइनमा केही दिन राखेर पुनः विषादी अवशेष परीक्षण गरिने बताउनुभयो । केहीदिन अघि कृषि थोक बजारमा बेच्न ल्याइएको लट्टे सागमा पनि खान अयोग्य हुनेगरी विषादीको अवशेष पुष्टि भएको उहाँले जानकारी दिनुभयो ।
खुला मिनीम्याराथन प्रतियोगितामा इटहरीका धनु मानन्धर प्रथम
भैरहवा (रुपन्देही), २४ भदौः एक सय ११औँ बिपी जयन्तीको अवसरमा नेपाली कांग्रेस रुपन्देहीद्वारा आयोजित खुला सडक दौड प्रतियोगितामा इटहरीका धनु मानन्धरले प्रथम स्थान प्राप्त गर्नुभएको छ ।
पाँच किलोमिटरको सो प्रतियोगितामा उहाँले १५ मिनेट ५२ सेकेण्डमा उक्त दूरी पूरा गर्दै प्रथम हुनुभएको हो । यसैगरी रुपन्देही गैडहवाका उमेश बरईले १६ मिनेट चार सेकेण्ड र रुपन्देही सियारीका अजय पाण्डेले १६ मिनेट २५ सेकेण्डमा उक्त दूरी पूरा गर्दै क्रमशः दोस्रो र तेस्रो स्थान हासिल गर्नुभयो ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अगाडिबाट सुरु भएको दौड लुम्बिनी रोड, नारायणपथ हुँदै मिलनचोकमा समापन भएको थियो ।
यसैगरी प्रतियोगिताको महिलातर्फ भने नेपाली सेनाको वर्चस्व रह्यो । महिलातर्फ दोस्रोबाहेक सबै पुरस्कार सेनाले हात पारेको छ । कालीभक्ती गणका सरिताकुमारी बस्नेतले पाँच किमीको दूरी २१ मिनेट २९.४४ सेकेण्डमा पूरा गर्दै प्रथम हुनुभयो भने कुसुम ठगुन्नाले २१ मिनेट २९.७३ सेकेण्ड र विपना केसी २१ मिनेट ४४ सेकेण्डमा पूरा गर्दै क्रमशः दोस्रो र तेस्रो हुनुभयो ।क
पुरुषतर्फ मनोज केवट र महिलातर्फ विन्दु थापाले सान्त्वना पुरस्कार प्राप्त गर्नुभएको प्रतियोगिता संयोजक ओमकुमार श्रेष्ठले बताउनुभयो ।
प्रतियोगितामा प्रथम स्थान प्राप्त गर्नेलाई रु १० हजार र प्रमाणपत्र, दोस्रोलाई नगद रु पाँच हजारसहित प्रमाणपत्र, तेस्रो हुनेलाई रु तीन हजार नगदसहित प्रमाणपत्र र सान्त्वना हुनेलाई रु एक हजार पाँच नगदसहित प्रमाणपत्र प्रदान गरिएको खेल संयोजक श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगितामा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र सर्वसाधारण गरी चार सय ५० जना बढी धावकको सहभागिता रहेको उहाँले बताउनुभयो ।
‘खेलको विकास गर्नुपर्छ’ भन्ने बिपीको भनाइलाई आत्मसात् गर्दै प्रतियोगिताको आयोजना गरिएको कांग्रेसका जिल्ला सभापति रामकृष्ण खाणले बताउनुभयो । “खेलले नागरिकलाई स्वस्थ बनाउँछ, राष्ट्रलाई बलियो बनाउँछ । राष्ट्रियतालाई बलियो बनाउँछ । त्यही सिलसिलामा हामीले पनि खेलको विकास र युवालाई सङ्गठित बनाउने उद्देश्यसहित प्रतियोगिताको आयोजना गरेका हौँ”, उहाँले भन्नुभयो, “खेलको विकासबाट राष्ट्रकै विकास गर्न सकिन्छ र यसमा पार्टीहरू पनि लाग्नुपर्ने सन्देशसहित मिनी म्याराथनको आयोजना गरेका हौँ ।” प्रतियोगिताको शुभारम्भ नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेशसभा सदस्य अब्दुल रज्जाकले गर्नुभएको थियो ।
डेङ्गीबाट झापामा दुईजनाको मृत्यु, कोशीमा एक हजार ६५ जना सङ्क्रमित
झापा, २४ भदौः कोशी प्रदेशमा डेङ्गीबाट गत साउनदेखि हालसम्म एक हजार ६५ जना सङ्क्रमित भएका छन् । यस अवधिमा डेङ्गी सङ्क्रमणका कारण झापामा दुईजनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालयका डेङ्गी फोकल पर्सन वीरेन्द्र दासका अनुसार झापामा डेङ्गीबाट मृत्यु हुनेमा हल्दिबारी–३ की ४२ वर्षीया विमला दाहाल पौडेल र विर्तामोड–४ का आठ वर्षीय आलोकजङ्ग बस्नेत रहेका छन् । झापामा साउन १ गतेयता सङ्क्रमितको सङ्ख्या एक सय २८ पुगिसकेको छ ।
कोशी प्रदेशमा यस अवधिमा सबैभन्दा बढी मोरङमा सङ्क्रमितको सङ्ख्या पाँच सय ३२ पुगेको छभने त्यसपछि झापा, धनकुटा र सुनसरीमा डेङ्गीका सङ्क्रमित धेरै पाइएको छ । ताप्लेजुङमा भने डेङ्गीको एकजना पनि सङ्क्रमित पाइएको छैन ।
स्वास्थ्य निर्देशनालय धनकुटाका फोकल पर्सन सुरक्षा खत्रीका अनुसार धनकुटामा ८० र सुनसरीमा ७० जनामा डेङ्गीको सङ्क्रमण भएको छ । यसैगरी, उदयपुरमा ६९ जना, भोजपुरमा ६८, सङ्खुवासभामा ६७, ओखलढुङ्गामा २९, पाँचथरमा २१, सोलुखुम्बुमा ६, इलाममा पाँचजना, खोटाङमा चारजना र तेह्रथुममा दुईजनामा डेङ्गी सङ्क्रमण भएको पाइएको छ ।गत वैशाखदेखि नै कोशी प्रदेशका अधिकांश जिल्लामा डेङ्गीको सङ्क्रमण फैलिन थालेको थियो । वैशाखदेखि असारसम्म कोशीमा तीन सय ८६ जनामा डेङ्गी सङ्क्रमण भइसकेको थियो ।
झापामा साउन १ गतेयता सबैभन्दा धेरै विर्तामोडमा ८१ जनामा डेङ्गीको सङ्क्रमण भेटिएको छ । त्यसपछि दमकमा २२ जनामा सङ्क्रमण पुष्टि भयो भने हल्दिबारीमा सातजना र भद्रपुरमा पाँचजनामा डेङ्गीको सङ्क्रमण भेटिएको छ ।
ठेकेदारको लापर्बाहीले बृहत् हलेसी ‘पम्पिङ’ खानेपानी आयोजना अधुरै
खोटाङ, २३ भदौः सुक्खाग्रस्त क्षेत्रमा पर्ने हलेसी तुवाचुङ नगरपालिकाका चार हजार आठ सय ९७ उपभोक्तालाई दूधकोशीको पानी तानेर घरघरमा वितरण गर्ने उद्देश्यले सात वर्षअघि सुरु भएको ‘बृहत् हलेसी पम्पिङ खानेपानी आयोजना’को काम अलपत्र परेको छ ।
सरकारको रु ९६ करोड ४५ लाख चार हजार एक सय ३८ लागतमा सम्पन्न गर्नेगरी २०७४ सालदेखि निर्माण सुरु भएको आयोजनाको काम अन्तिम चरणमा पुगेपछि अलपत्र परेको हो ।
आयोजनाको एक नम्बर ‘प्याकेज’अन्तर्गत वडा नं ८ सल्लेको महादेवबँेसीबाट वडा नं ७ महादेवस्थानस्थित काभ्रेडाँडा र दुई नम्बर प्याकेजअन्तर्गत सोही नगरपालिकाको वडा नं १ बाहुनीडाँडाको कदुवास्थित लिलिमाबेँसीबाट भुम्जुडाँडामा लिफ्टिङ प्रविधिबाट पानी तान्न दिवा–महादेव–खिम्ती निर्माण कम्पनीले २०७६ साल मङ्सिरमा सक्नेगरी २०७४ असार २१ मा सम्झौता गरेको थियो । दुवै प्याकेजको काममा ठेकेदार कम्पनीले पटकपटक म्याद थपिए पनि काम नगरेपछि अलपत्र परेको हो ।
खानेपानी आयोजनाको काममा ठेकेदार कम्पनीको हेलचेक्र्याइँका कारण स्थानीयले पेयजल प्राप्तिमा दुःख पाउनुका साथै राज्यले ठूलो आर्थिकभार बेहोर्नुपरेको हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता एवं वडा नं ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले बताउनुभयो । “ठेकेदार कम्पनीले चारपटक म्याद थप गराइसकेको छ । ठेकेदारको हेलचेक्र्याइँका कारण दुई महिनादेखि काम ठप्प छ”, उहाँले भन्नुभयो, “ यसप्रति सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।”
महादेवबेँसीबाट काभ्रेडाँडामा निकालिएको पानी नगरका विभिन्न वडामा वितरण गर्न ल्याइएको पाइपलाइनको काम पनि अलपत्र छ । यसमध्ये एक नम्बर ‘प्याकेज’को ‘मेनलाइन’को कामअन्तर्गत पानी तान्ने छवटा पम्पमध्ये दुईवटा मात्र जडान गरिएको र अन्य चारवटा जडान गर्न बाँकी रहेको पाइएको छ । आयोजनाअन्तर्गत दुई नम्बर प्याकेजको मेनलाइनको काम भने सकिएको तर, शाखा लाइनको काम बाँकी छ । उक्त आयोजनाअन्तर्गत करिब एक सय परिवारलाई पानी वितरण गरिसकेको र तीन सय परिवारलाई पानी वितरण गर्न बाँकी छ ।
दुवै ‘प्याकेज’को काममा ८५ प्रतिशत आर्थिक प्रगति भएको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले जनाएको छ । शाखा लाइन विस्तारको ठेक्का पाएका निर्माण कम्पनीले पनि काम पूरा गरेका छैनन् ।
लिलिमाबेँसीबाट भुम्जुडाँडासम्म निकालिएको पानी वडा नं १, २, ३ का दुई हजार चार सय नौ घरपरिवारलाई वितरण गर्ने ठेक्का लामा कन्स्ट्रक्सनले लिएको थियो । उक्त कम्पनीले पनि कदुवा क्षेत्रमा पानी वितरण गर्न सकेको छैन । भुम्जुडाँडामा निकालेर वितरण गरिएको पानी तीन महिनादेखि आउन छाडेको वडा नं २ डिकुवाका उपभोक्ता सुदीप अधिकारीले बताउनुभयो ।
लामा कन्स्ट्रक्सनले रु ३७ करोड ९३ लाखको लागतमा २०७७ साल साउन १ गते आयोजना पूरा गर्नेगरी २०७५ साल साउन १ गते सम्झौता गरेको थियो । निर्माण कम्पनीले चार लाख लिटर क्षमताको तीनवटा ट्याङ्की, तीन लाख लिटरको एउटा, एक लाख लिटरका पाँचवटा ट्याङ्की र चार किलोमिटर पाइप लाइन विस्तार गर्ने सम्झौतामा भएको थियो ।
यस्तै, महादेवबेँसीबाट काभ्रेडाँडामा निकालिएको पानी वडा नं ५, ६ र ७ का दुई हजार चार सय ८८ घरपरिवारलाई वितरण गर्ने कामको ठेक्का रमण–सगरमाथाले लिएको थियो । रु २६ करोड ७५ लाख ५१ हजारको लागतमा २०७७ साल साउन १ गते काम सक्नेगरी २०७५ साल साउन १ गते सम्झौता गरेको थियो । आयोजनासँग गरिएको सम्झौताअनुसार ७३ वटा ट्याङ्की, डिसी÷डिपिटी ७३ वटा निर्माण गर्नुपर्ने थियो । निर्माण कम्पनीले अहिले आयोजना अलपत्र परेको स्थानीय बासिन्दाले बताएका छन् । पम्पिङ खानेपानी आयोजनाको काम छाडेर ठेकेदार निर्माणस्थलबाट हिँडेपछि स्थानीय उपभोक्ता निराश भएका छन् ।
आयोजनाले ठेकेदारलाई भुक्तानी दिन नसक्दा काम रोकिएको निर्माण उपभोक्ता समितिका अध्यक्ष इवन राईले जानकारी दिनुभयो ।
आयोजनाका लागि थप बजेटको व्यवस्था नहुँदा ठेकेदार कम्पनीलाई भुक्तानी दिन नसकिएको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका प्रमुख विपुलकुमारलाल दासले जानकारी दिनुभयो । अहिले वर्षाकाल भएकाले काम रोकिएको छ”, उहाँले भन्नुभयो, “दसैँअघि मेनलाइनको काम सम्पन्न गर्नेगरी ठेकेदार कम्पनीसँग समन्वय भइरहेको छ । ”




























