बुधबार, २० साउन २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01J0SY1E86CAXYSGEEZX4W7R1A.jpg

सर्लाहीको बागमतीमा सवारी दुर्घटना, तीन जनाको मृत्यु

बरहथवा (सर्लाही), ६ असार I बागमती नगरपालिकास्थित रायमाझी चोकमा आज बिहान भएको  सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्गस्थित बागमती नगरपालिक–११, रायमाझी चोकमा रोकेर राखेको लरीमा यात्रीबाहक बस ठोक्किँदा रुपन्देहीको मायादेवी गाउँपालिका निवासी हरिबहादुर चौधरी, ८५ वर्षका दशरथ कोहार र ५० वर्षका रामकरण केवटको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनालगत्तै उद्धार गरी उनीहरुलाई हरिवनस्थित नमूना अस्पताल पु¥याएकामा चिकित्सकले मृत घोषणा गरेका इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिलराज गिरीले जानकारी दिनुभयो । 

रुपन्देहीबाट जनकपुरतर्फ आइरहेको बस दुर्घटना भएको हो । बसमा ४० जना सवार रहेका प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएकाहरुको जनकपुर, वीरगञ्ज तथा स्थानीय अस्पतालमा उपचार भइरहेको छ । 

प्रकाशित मितिः बिहिबार, ०६ असार २०८१
https://jawaaf.com/storage/01J0RPEZE52TAA057M8RVMN9DE.jpg

योगले स्वस्थ र अनुशासित बनाउँछ : प्रदेश प्रमुख खापुङ

मोरङ, ५ असार I कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले समाजका सबै नागरिकले स्वस्थ एवं अनुशासित हुन योगाभ्यास दैनिक गर्नुपर्ने बताउनुभएको छ ।

इशा फाउण्डेशन आनन्दकुटी आश्रम कमल गाउँपालिका–२ झापाका योग गुरुहरुद्वारा आज प्रदेश प्रमुखको कार्यालय विराटनगरमा आयोजित एकदिने योगा शिविर कार्यक्रमको उद्घाटन गर्दै उहाँले दैनिक योग अभ्यासले रोग लाग्न नदिनुका साथै स्वस्थ शरीर निर्माण हुने बताउनुभयो । 

उहाँले यस प्रकारको योगाभ्यास शिविर मुलुकको दुर्गम र पहाडी क्षेत्रमासमेत गर्नुपर्ने जोड दिँदै यसले समाजमा भाइचारा र सामाजिक सद्भाव कायम गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । प्रदेश प्रमुख खापुङ, प्रदेश प्रमुख कार्यालयका सचिव खगेन्द्र पराजुली, कार्यालयका कर्मचारी एवं सर्वसाधारण सहभागी योगाभ्यास कार्यक्रममा मुख्य प्रशिक्षक चन्दा घिमिरेलगायतले अभ्यास गराउनुभएको थियो ।

प्रकाशित मितिः बुधबार, ०५ असार २०८१
https://jawaaf.com/storage/01J0R0M715XXYJZFWM5ZKM4J3V.jpg

घुँगी व्यापारबाट राम्रो आम्दानी

धरान (सुनसरी), ५ असार I सुनसरीको बराहक्षेत्र नगरपालिका–५ मा घुँगीको व्यापार गर्दै गर्दा भेटिएका रिता मुखिया घुँगीको व्यापारबाट राम्रै आम्दानी गरिरहनुभएको छ ।   
  
उहाँले सुनसरीको झुम्का, बराहक्षेत्र, कालाबन्जर लगायतका हतियामा घुँगीको व्यापार गर्दै आउनुभएको छ । मुखियाले आफैले खोलाबाट घुँगी खोजेर ल्याई हतिया बजारमा व्यापार गर्दै आएको बताउनुभयो । मेहनत अनुसारको राम्रै आम्दानीसँगै सहज पनि भएको उहाँको भनाइ छ ।   
  
उहाँले विगत एक वर्षदेखि हटिया बजारमा घुँगीको व्यापार गर्दै आउनुभएको छ । उहाँका लागि भने अहिले सुनसरीका झुम्का, कालाबन्जरका हटियाबजार भने घुँगीको व्यापार गर्ने थलो नै बनेका छन् । उहाँले घुँगी जतात्यतै नपाउने भएकाले खोलाबाट खोजेर घरमा ल्याएपछि परिवारसहित मिलेर घुँगीलाई पखालेर सफा बनाएपछि स्थानीय हाटबजारमा बिक्री गर्नेे गरेको बताउनुभयो ।   
  
घुँगीको व्यापारबाट उहाँले मासिक रु २५ देखि ३० हजारसम्म आम्दानी हुँदै आएको जानकारी दिनुभयो । आफूले खोलाबाट खोजेर ल्याई बिक्री गर्दै आएको घुँगी किन्न भने बराह क्षेत्र नगरपालिकालगायत झुम्का कालाबन्जरका ठाउँबाट किन्न आउने ग्राहकको घुइँचो नै लाग्ने गरेको उहाँ सुनाउनुहुन्छ ।   
  
उहाँले घुँगी प्रतिकिलो रु एक सयमा बिक्री गर्दै आउनुभएको छ । उहाँले दैनिक रुपमा १२ देखि १५ किलोसम्म बिक्री गर्दै आउनुभएको छ । उहाँले यहीँबाट परिवारका लागि खर्चसमेत जुटाउँदै आउनुभएको बताउनुभयो । उहाँले भन्नुभयो, “घँुगीमा भिटामिन पाइने हुनाले रुघा र चिसो लागेको बेला यसलाई सफा पानीले धोएर पकाएर रस पिउँदा स्वादिलो हुनका साथ रुघा र चिसो पनि ठिक हुने भएकाले धेरैजसो मानिसले घुँगी खाने गरेका छन् ।”   
  
गर्मी महिनाभन्दा जाडोमा घुँगीको व्यापार राम्रो हुने गरेको मुखियाले बताउनुभयो । जाडो महिनामा घुँगी बाहिर निस्किने भएकाले पुसको सुरुवातदेखि माघ–फागुनसम्म राम्रो व्यापार हुने गरेको उहाँको बुझाइ छ । 

प्रकाशित मितिः बुधबार, ०५ असार २०८१
https://jawaaf.com/storage/01J0QSKZVGK90NNNK9Q7X3EN0Q.jpg

सुदूरपश्चिममा डेङ्गु सङ्क्रमित बढ्दै

महेन्द्रनगर (कञ्चनपुर) ५ असार I  लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गुको सङ्क्रमण सुदूरपश्चिमका पहाडी जिल्लामा बढ्दै गएको छ । तराईका जिल्लामा अधिकांश देखिने मलेरिया, डेङ्गुलगायत रोगको सङ्क्रमण पछिल्लो समय पहाडी जिल्लामा पनि बढ्दै गएको देखिएको छ ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत हेमराज जोशीले पहाडी जिल्लामा लामखुट्टे बढेसँगै पछिल्लो समय डेङ्गुको सङ्क्रमण पनि बढ्दै गएको बताउनुभयो । उहाँका अनुसार गत माघ यता सुदूरपश्चिममा एक सय ४० जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । सबैभन्दा बढी डोटी जिल्लामा ४७ जना सङ्क्रमित फेला परेका उहाँले जानकारी दिनुभयो ।

निर्देशनालयको तथ्याङ्कअनुसार अछाममा २६, कञ्चनपुरमा २४, बाजुरामा १५, दार्चुलामा १०, कैलालीमा नौ, बझाङमा चार, डडेल्धुरामा तीन र बैतडीमा दुईजनामा सङ्क्रमण देखिएको छ । “पानी पर्न थालेपछि तराईमा समेत सङ्क्रमण बढ्ने जोखिम रहन्छ”, जोशीले भन्नुभयो, “अहिले तराईमा अत्यधिक गर्मीका कारण लामखुट्टे मरेका छन् । पानी परेर केही चिसो हुन थालेपछि सङ्क्रमणको जोखिम बढ्ने छ ।” उहाँले पछिल्ला केही वर्षयता सुदूरपश्चिमका पहाडीका साथै तराईका जिल्लामा एकैसाथ सङ्क्रमण देखिन थालेको बताउनुभयो ।

डेङ्गु नियन्त्रणका लागि सुदूरपश्चिम प्रदेश सरकारले किट र औषधि व्यवस्थापन, चिकित्सकसहित स्वास्थ्यकर्मीको क्षमता विकास एवं प्रशिक्षणका साथै यहाँका अस्पतालहरुमा सङ्क्रमति बिरामीका लागि छुट्टै वार्ड र शय्याको व्यवस्थापन गरेको निर्देशनालयका भेक्टर कन्ट्रोल अधिकृत जोशीले जानकारी दिनुभयो । स्थानीय तहले लामखुट्टेको लार्भा भएका ठाउँको पहिचान गरी ‘खोप र नष्ट गर’ सञ्चालन गरिरहेका उहाँको भनाइ छ ।

निर्देशनालयका अनुसार सन् २०२३ मा सुदूरपश्चिममा एक हजार एक सय ९४ जनामा डेङ्गु सङ्क्रमण देखिनाका साथै चारजनाको मृत्यु भएको थियो ।

प्रकाशित मितिः बुधबार, ०५ असार २०८१
https://jawaaf.com/storage/01J0P159C9KYW9JRQR2XKTJ5BR.jpg

गर्मीले बेहोस भएका एक व्यक्तिको मृत्यु

सुदूरपश्चिम, ४ असार I अत्यधिक गर्मीपछि बेहोस भएका धनगढी उपमहानगरपालिका–१६ का ५३ वर्षीय बलराम मग्राठीको आज अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।
  
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कविन्द्रसिंह बोहराले अत्यधिक गर्मीका कारण बेहोस भएका ५३ वर्षीय मग्राठीको सेती प्रदेशिक अस्पतालमा उपचारका क्रममा निधन भएको जानकारी दिनुभयो ।
  
गङ्गादशहरा पर्वको अवसरमा यही असार २ गतेदेखि धनगढीको बेहडाबाबा धाममा लागेको मेलामा सञ्चालित होटेलको स्टलमा काम गरिरहेका मग्राठी गर्मीले बेहोस भएका थिए । उपचारका लागि सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएकामा चिकित्सकले मृत घोषणा गरेको प्रवक्ता बोहराले जानकारी दिनुभयो ।
   
गर्मी बढेपछि धनगढी उपमहानगरपालिका क्षेत्रका विद्यालयमा आजबाट थप तीन दिन बिदा दिइएको छ । धनगढी उपमहानगरपालिकाले आज सार्वजनिक गरेको सूचनामा गर्मीले विद्यार्थीको स्वास्थ्यमा पर्न सक्ने असरलाई मध्यनजर गरी असार ७ गतेसम्मका लागि बिदा दिइएको उल्लेख छ । गर्मी बढेपछि यसअघि गत जेठ महिनामा पनि केही दिन विद्यालयमा बिदा दिइएको थियो ।
   
पश्चिम तराईका कैलालीसहितका जिल्लामा पहिलोपटक लगातार अत्यधिक गर्मीको महसुस भएको स्थानीयवासीले बताएका छन् ।  “विगत वर्षहरूमा यति धेरै समयसम्म चर्को गर्मीको महसुस भएको थिएन”, स्थानीय राजेश भट्टले भन्नुभयो, “तराई क्षेत्रमा बर्सेनि गर्मी बढ्दै जाँदा तराईको बसाइँ असहज हुन थालेको छ ।” झण्डै एक महिनादेखि धनगढीको तापक्रम निरन्तर उकालो लागिरहेको छ । 

  “यो वर्ष गएको जेठ १७ गते धनगढीमा यो वर्षकै सबैभन्दा बढी अधिकतम तापक्रम ४४ दशमलव एक डिग्री सेल्सियस मापन भएको थियो”, अत्तरियास्थित जल तथा मौसम विज्ञान विभागको महाकाली बेसिन फिल्ड कार्यालयका प्रमुख सञ्जय साहले भन्नुभयो, “गर्मी बढ्दै जाँदा अधिकतम् तापक्रम र न्यूनतम तापक्रमको अन्तर घट्दै गएको छ ।” अधिकतम तापक्रम र न्यूनतम तापक्रमको अन्तर घट्दै जाँदा गर्मी बढी महसुस हुने गरेको साहले बताउनुभयो । 

आज धनगढीको अधिकतम तापक्रम ४३ दशमलव एक डिग्री सेल्सियस मापन भएको छ । गर्मी बढ्दै जाँदा रोपाइँका लागि खेतमा राखिएका धानका ब्याड (बीउ) सुक्न लागेको किसानले बताएका छन् । 

गर्मी बढेसँगै धनगढीसहितका बजारमा चहलपहल घटेको छ । 

प्रकाशित मितिः मङ्गलबार, ०४ असार २०८१
https://jawaaf.com/storage/01J0P0CRAZ3G89MRAJ0CSAPT6M.jpg

बराहपोखरी पूर्ण खोप सुनिश्चितता गाउँपालिका

खोटाङ, ४ असार I बराहपोखरी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको छ । नेपाल सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको १३ वटा रोगविरुद्धको खोप गाउँपालिकाभित्रका सबै बालबालिकाले पाएको सुनिश्चित भएपछि आज औपचारिकरुपमा पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको हो ।   
  
गाउँपालिकाभित्रका १६ महिनादेखि ५९ महिना उमेर समूहका पाँच सय ५७ जना बालबालिकालाई नेपाल सरकारबाट निःशुल्क प्राप्त हुने सबै प्रकारका खोप पाएसँगै पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको गाउँपालिका प्रमुख शालिकराम बञ्जराले जानकारी दिनुभयो ।   
  
जिल्ला खोप समन्वय समिति खोटाङले परीक्षण गर्दासमेत गाउँपालिकाका सबै बालबालिकाले पूर्ण खोप पाएको सुनिश्चित भएको जनाएको छ । गाउँपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको कार्यक्रममा जिल्ला खोप समन्वय समिति खोटाङका संयोजक एवं जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले उक्त गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गर्नुभएको हो ।   
  
यसअघि साकेला गाउँपालिका, हलेसी तुवाचुङ तथा दिक्तेल रुपाकोट मझुवागगढी नगरपालिका, केपिलासगढी, ऐसेलुखर्क, खोटेहाङ र रावाबेँसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा भइसकेका छन् ।   
  
नेपाल सरकारको राष्ट्रिय कार्यक्रमअन्तर्गत खोटाङ जिल्लालाई आगामी असार १० गतेभित्र पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गर्ने तयारी गरिएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा नियमित खोप लगाउने १२ हजार बालबालिका रहेको स्वास्थ्य कार्यालय खोटाङले जनाएको छ ।   
  
सरकारले जन्मेदेखि दुई वर्षभित्र हरेक बालबालिकाले बिसिजी, दादुरा–रुबेला, पोलियो, जापनिज इन्सेफइटिस लगायतका १३ रोगविरुद्धको खोप निःशुल्क उपलब्ध गराउँदै आएको छ । जन्मेदेखि दुई वर्षभित्रका ९५ प्रतिशत बालबालिकाले सबै प्रकारका खोप पाएको खण्डमा सरकारले पूर्ण खोप सुनिश्तिता घोषणा गर्ने गरेको छ ।  

प्रकाशित मितिः मङ्गलबार, ०४ असार २०८१
https://jawaaf.com/storage/01J0G78KK9A9AH8J99WZ0YAD9D.jpg

कोशी प्रदेशः स्वास्थ्य क्षेत्रमा रु तीन अर्ब ५८ करोड बजेट

झापा, २ असार I कोशी प्रदेश सरकारले ‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’ भन्ने नारासहित स्वास्थ्य सेवाको क्षेत्रमा रु तीन अर्ब ५८ करोड बजेट विनियोजन गरेको छ । आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले शनिबार प्रदेशसभामा प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८१/८२ को बजेटमा उक्त रकम विनियोजन गरिएको हो ।     
      
 ‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’ निर्माण गर्ने उद्देश्यसहित बहुआयामिक विकासलाई तीव्र रुपमा अघि बढाउने सङ्कल्प गरिएको उक्त बजेटमा झापाको प्रादेशिक अस्पताल भद्रपुरलाई ‘उत्कृष्ट सेवा केन्द्र’का रुपमा विकास गरिने घोषणा गरिएको छ ।     
      
 प्रादेशिक अस्पताल भद्रपुर र जिल्ला अस्पतालहरु पाँचथर, धनकुटा, उदयपुर, सङ्खुवासभा र खोटाङमा सघन उपचार कक्ष (आइसीयु) र नवजात शिशु सघन उपचार कक्ष (एनआइसीयु) सहितको सेवा प्रवाह गर्न रु ६० करोड ५५ लाख बजेट विनियोजन गरिएको छ ।     
      
झापाको प्रदेश आयूर्वेद अस्पताल लखनपुरलाई कोशी आयुर्वेद प्रतिष्ठानको रुपमा विकास गरिने बजेटमा घोषणा गरिएको छ । स्वस्थ जीवनशैली, आहारविहार, योग, ध्यान, व्यायाम प्रबद्र्धनका लागि बजेटमा रु १८ करोड ५० लाख विनियोजन भएको छ ।     
      
प्रदेश मातहतका सबै अस्पतालबाट विशेषज्ञ सेवा सुनिश्चित गर्न स्वास्थ्यकर्मीलाई विशेष भत्ताको व्यवस्था गरिने र त्यसका लागि रु छ करोड ८४ लाख बजेट विनियोजन गरिएको छ । उदयपुर, धनकुटा, सङ्खुवासभा र प्रादेशिक अस्पताल भद्रपुरबाट निःसन्तान दम्पत्तिका लागि निःशुल्क उपचार सेवा सुरु गर्न एक करोड १० लाख बजेट विनियोजन गरिएको छ ।     
      
प्रदेश सरकारले १० वर्षमुनिका बालबालिकाको निःशुल्क उपचारका लागि रु चार करोड २९ लाख बजेट छुट्याएको छ । वृद्धवृद्धा तथा असहाय स्वास्थ्य कार्यक्रमअन्तर्गत वृद्धाश्रम, मठमन्दिर, धर्मशाला, मानवसेवा आश्रम, निरन्तर आश्रित नागरिक, द्धन्द्धप्रभावित, एम्बुलेन्स चालक र महिला स्वास्थ्य स्वयंसेविकालगायतलाई निःशुल्क स्वास्थ्य बिमाका लागि रु दुई करोड २० लाख बजेट विनियोजन गरिएको बजेट वक्तव्यमा मन्त्री मगरले उल्लेख गर्नुभयो ।     
      
प्रदेश सरकारले नागरिक स्वास्थ्य सूचना सहायता प्रणाली सञ्चालन गर्न रु दुई करोड ५० लाख बजेट छुट्याएको छ । एचआइभी, क्यान्सर, थालसेमिया, हेमोफिलिया, सिकलसेल एनेमिया भएका व्यक्ति, ज्येष्ठ नागरिक, अपाङ्गता भएका, सीमान्तकृत, अतिविपन्न तथा विभिन्न हिंसामा परेका नागरिकको प्रयोगशाला परीक्षणमा ९० प्रतिशत छुट दिने घोषणा गरेको छ । गुणस्तरीय प्रयोगशाला सेवाका लागि रु पाँच करोड ४६ लाख बजेट विनियोजन गरिएको छ ।     
      
प्रदेश सरकार मातहतका अस्पताल र स्थानीय तहका स्वास्थ्य संस्थाहरुका लागि औँजार उपकरण तथा औषधि व्यवस्थापन गर्न रु २६ करोड र घुम्ती बसमार्फत आयूर्वेद तथा होमियोप्याथी सेवासहितको विशेषज्ञ सेवा सञ्चालन गर्न रु दुई करोड ८० लाख बजेट विनियोजन गरिएको छ ।     
 

प्रकाशित मितिः आइतबार, ०२ असार २०८१
https://jawaaf.com/storage/01J0DZMMHXZ0E7GCPWNCJB6T6W.jpg

गर्मीमा महीको व्यापार

चितवन, १ असार I चर्को गर्मीसँगै यहाँका दुई सहकारी संस्थाले दुधबाट मही उत्पादन गरेर बजारीकरण गरिरहेका छन् । अन्नपूर्ण र गङ्गानगर दुग्ध उत्पादक सहकारी संस्थाले आफ्नो नयाँ उत्पादनका रुपमा महीलाई बजारमा ल्याएका हुन् ।   
 
परीक्षण स्वरुप अहिले दुवै सहकारीले दैनिक एक–एक हजार बोटल मही उत्पादन गरेर बजारमा बिक्री गर्न थालेका छन् । अन्नपूर्ण सहकारी संस्थाले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने गरी मही उत्पादन गरी बजारमा ल्याएको संस्थाका अध्यक्ष प्रदीप तिमिल्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले दैनिक आधा लिटर र एक लिटरका बोटलमा उत्पादन हुँदै आएको छ ।   
 
पछिल्लो समय मानिसले पिउने कोकाकोलालगायत पेयपदार्थको सट्टा मानव शरीर स्वास्थ्यलाई लाभ उपयुक्त हुनाका साथै कम खर्चिलो हुने भएकाले यसको बजारीकरण गर्न थालिएको तिमिल्सिनाले बताउनुभयो । उहाँले भन्नुभयो, “महीको प्रवर्द्धन गर्न सके अन्य पेयपदार्थको सेवन घटाउन सकिन्छ । महीको उत्पादन र बजारीकरण हुँदा किसान पनि प्रत्यक्ष लाभान्वित हुनेछन् ।”   
 
अहिले आधा लिटरलाई रु ३० र एक लिटरलाई रु ५० मा बिक्री गरिँदै आइएको अध्यक्ष तिमिल्सिनाले जानकारी दिनुभयो । “कम मूल्य निर्धारण गरेर भए पनि महीको ‘ब्राण्ड’ बनाउन खोजेका छौँ”, उहाँले भन्नुभयो, “बजारको व्यवस्थापन हुन सके यसको व्यवसाय राम्रोसँग हुने र किसान पनि लाभान्वित हुने आशा गरेका छौँ ।”   
 
भरतपुर महानगरपालिका–१३ मा रहेको गङ्गानगर दुग्ध उत्पादक संस्थाले पनि मही उत्पादन गरेर बिक्री वितरण गरिरहेको छ । दैनिक एक हजार बोटल र ८० लिटर खुला मही बिक्री गर्ने गरिएको अध्यक्ष कृष्णप्रसाद सापकोटाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यो हाम्रो सुरुवाती काम हो । अहिले परीक्षणको रुपमा बजारमा पठाएका छौँ । यसको प्रतिक्रिया सकारात्मक आए ब्राण्ड बनाउने योजनामा छौँ ।”   
 
प्रतिलिटर एक रुपैयाँँ ५० पैसा नोक्सानी बेहोरेर पनि मही बजारमा पठाएको अध्यक्ष समपकोटाले बताउनुभयो । स्वास्थ्यका लागि फाइदा दिने मही किनेर खानेबानी बसाल्नका लागि घाटा हुँदाहुँदै पनि बजारमा पठाइएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “अन्य पेयपदार्थभन्दा मही फाइदाजनक छ भन्ने देखाउन पहल थालेका छौँ ।”   
 
चितवनसहित अन्य जिल्लाले पनि महीको व्यवसाय सुरु गर्न थालेका जनाउँदै सापकोटाले यसलाई राष्ट्रिय मान्यता दिएर बजारीकरण गर्न आवश्यक रहेकामा जोड दिनुभयो । उहाँले भन्नुभयो, “अहिले हामीले बजारमा स्थानीय उत्पदनलाई प्रवर्द्धन गर्ने उद्देश्यले मही पठाएका छौँ । यसलाई राज्यले बजारीकरणमा सहयोग गरेर सकारात्मक पहल गर्नुपर्ने आवश्यकता छ ।” राज्यले दूधमा तोकेको मापदण्डअनुसार नै मही उत्पादन गर्दै आएको उहाँको भनाइ छ ।   
 
चितवन दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेले महीको बजारीकरणमा स्थानीय सरकारले सहजीकरण गरेर किसान तथा व्यापारीलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “गर्मी समयमा अन्य पेयपदार्थ भन्दा यो उत्तम हुन्छ र सस्तो पनि पर्छ । यसलाई राज्यले सहयोग गर्न सके किसान, व्यावसायीका साथै जनस्वास्थ्यमा सकारात्मक प्रभाव पर्नेछ ।”   
 
अहिले उत्पादन गर्दै आएका संस्थालाई राज्यका तर्फबाट सहयोग हुनसके स्थानीय उत्पादनले बजार पाउने सङ्घका अध्यक्ष बगालेको भनाइ छ । अहिले यहाँका उत्पादनले आफँै बजार खोज्नुपर्ने समस्या राज्यले हटाउनुपर्नेमा उहाँले जोड दिनुभयो । यहाँ उत्पादित मही अहिले चितवनसहित नवलपरासी (वर्दघाट–सुस्ता पूर्व), गोरखा र लमजुङ जाने गरेको उहाँले जानकारी दिनुभयो ।   
 
भरतपुर महानगर क्षेत्रभित्रका डेरी उद्योग र दुग्ध उत्पादक किसानलाई महानगरले सहयोग गर्दै आएको छ । यहाँका किसानले दुधमा प्रतिलिटर रु तीन अनुदान पाउँदै आएका छन् भने डेरी उद्योगलाई महानगरले साझेदारीमा अनुदान सहयोग गर्दै आएको महानगर प्रमुख रेनु दाहालले जानकारी दिनुभयो ।

प्रकाशित मितिः शनिबार, ०१ असार २०८१
https://jawaaf.com/storage/01J0CXSR414CTQXXTDMC1YHXZ5.jpg

७१ जिल्लामा फैलियो डेङ्गु सङ्क्रमण

काठमाडौँ, १ असार: डेङ्गु रोगको सङ्क्रमण ७१ वटा जिल्लामा फैलिएको छ । गत जेठ ११ गतेसम्म ५७ जिल्लामा फैलिएको डेङ्गु हाल ७१ जिल्लामा पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।   
  
मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा गोकर्णप्रसाद दाहालले मौसम परिवर्तनसँगै गर्मीका कारणले डेङ्गुको सङ्क्रमण बढेको बताउनुभयो ।   
  
उहाँले गर्मीमा मानिसले पानी सङ्कलन गरेर राख्ने र सङ्कलन गरिएको पानीमा लामखुट्टे रहने भएकाले डेङ्गुको जोखिम बढेको बताउनुभयो । “गर्मीमा पानी सङ्कलन गरेर राख्ने गरिन्छ । त्यसरी सङ्कलन गरिएको पानीमा लामखुट्टेले फुल पार्दछ । सफा पानीमा त्यही लार्भा बन्ने र मानिसलाई टोक्ने गर्दछ”, उहाँले भन्नुभयो ।   
  
उहाँका अनुसार ७१ जिल्लामा एक हजार एक सय ३० जनामा सङ्क्रमणमा देखिएको छ । गत वर्ष ७७ जिल्लामा ५१ हजार एक सय ४३ जनालाई डेङ्गु रोगको सङ्क्रमण देखिएको थियो । उहाँका अनुसार कोशी प्रदेशमा दुई सय ७२, मधेस प्रदेशमा ३०, बागमती प्रदेशमा तीन सय ९०, गण्डकी प्रदेशमा एक सय ७५, लुम्बिनी प्रदेशमा एक सय ३२, कर्णाली प्रदेशमा १६ र सुदूरपश्चिम प्रदेशमा एक सय १५ जनामा सङ्क्रमण देखिएको छ ।   
  
उपत्यकामा एक सय ५९ जनामा सङ्क्रमण   
  
काठमाडौँमा एक सय १४ जना, भक्तपुरमा २७ जना र ललिपतुरमा १८ जनामा सङ्क्रमण देखिएको छ । डेङ्गु पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ । ती फुलबाट लार्भा निस्कने र त्यही लार्भा बयस्क भएपछि टोकेपछि डेङ्गु रोग लाग्दछ ।   
  
डेङ्गु सङ्क्रमण हुँदा उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्ने आदिजस्ता लक्षण देखा पर्दछन् । लामखुट्टेबाट बच्नका लागि सधँै झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न मन्त्रालयले अनुरोध गरेको छ ।   
  
यस्तै सम्भव भएसम्म लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित ढङ्गले पाल्न र घर वरिपरी गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न दिन हुँदैन ।  

प्रकाशित मितिः शनिबार, ०१ असार २०८१
https://jawaaf.com/storage/01J0B1CEEP0MS5K2ZRYBGCP58Z.jpg

ताप्लेजुङ पहिरो अपडेटः मृतकलाई सुरक्षित स्थानमा ल्याइयो

फुङ्लिङ (ताप्लेजुङ), ३२ जेठ I ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजिनिममा तिङ्दुमा गाउँमा गएराति गएको पहिरोमा परी मृत्यु हुनेलाई सुरक्षित स्थानमा ल्याइएको छ । नेपाल प्रहरी र स्थानीयले पहिरोले पुरिएर मृत्यु भएकालाई सुरक्षित स्थानमा ल्याएको हो ।     
      
पहिरोमा पुरिएर फक्ताङलुङ–२ का ७० वर्षीय रामबहादुर साम्रा, ५१ वर्षीया जसमाया लिबाङ साम्रा, १० वर्षीया जुम्लिया गङ्गा र जमुनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक एवं सूचना अधिकारी कमलकुमार लुङ्गेलीले जानकारी दिनुभयो । घाइते ४० वर्षीय का युगेन लिम्बू र उहाँका ३ वर्षीया छोरीलाई सिंवालाई स्वास्थ्य चौकीमा सामान्य उपाचारपछि थप उपचारका लागि जिल्ला अस्तालमा पठाइएको छ ।     
      
फक्ताङलुङ गाउँपालिका उपाध्यक्ष विकास साम्राका बुबाआमा र दुई जुम्लिया बहिनीको पहिरोले पुरिएर मृत्यु भएको प्रहरी निरीक्षक लुङ्गेलीले बताउनुभयो ।     
      
घरमा सुतिरहेका अवस्थितमा गएराति करिब १ः३० बजेको समयमा घर माथिबाट आएको पहिरोले घरसँगै एकै परिवारका चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । फक्ताङलुङ–२ वडाध्यक्षका अनुसार मृत्यु भएकालाई पहिरोबाट सुरक्षित स्थानमा निकालिएको छ ।     
      
थप उद्धार गर्न फुङलिङ नगरपालिका–१० मित्लुङ हाइड्रोपावर सुरक्षाका लागि नेपाली सेनाको सुरक्षा बेस टोली र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक लुङ्गेलीको टोली खटिएको जिल्ला प्रहरीले कार्यालयले जनाएको छ ।     
      
ढुङ्गा माटोले बनेको टिनको छानो भएको दुई तलेघर माथिबाट झरेको पहिरोले घर पुरेपछि सुतेको अवस्थामा एकै परिवारका चार जनाको मृत्यु भएको प्रहरी निरीक्षक लुङ्गेलीले जानकारी दिनुभयो । उहाँका अनुसार मृत्यु हुने मानिसका साथै चौपाया पनि निकाली सुरक्षित स्थानमा राखिएको छ ।     
      
बुधबार राति आएको वर्षासँगैको बाढीले फक्ताङलुङ गाउँपालिका क्षेत्रका छ वटा स्थायी मोटर पुल बगाएपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।     
   

प्रकाशित मितिः शुक्रबार, ३२ जेठ २०८१